नेभिगेसन
जलवायु संकट रिपोर्टिङमा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी तालिम NIMJN बुधबार, मंसिर ९, २०८३

नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (निमजिन)ले श्रीलंकाको सेन्टर फर इन्भेस्टिगेटिभ रिपोर्टिङ (सीआईआर)सँगको सहकार्यमा महिला पत्रकारहरूका लागि "रिपोर्टिङ फ्रम द फ्रन्टलाइन्स: क्लाइमेट क्राइसिस सेफ्टी ट्रेनिङ फर वुमन जर्नलिस्ट्स" शीर्षकमा तालिम प्रदान गरेको छ । 

गत कात्तिक ११ गते भएको तालिममा तालिममा विपद् प्रभावित क्षेत्रहरूमा रिपोर्टिङका लागि जाँदा अपनाउनु पर्ने सुरक्षा र आवश्यक तयारीका बारेमा प्रशिक्षण दिइएको छ । महिला नेताहरूका लागि संकट-तयारी प्रशिक्षण शृंखलाको एक भागको रूपमा यो तालिमलाई भाइटल भ्वाइसेस ग्लोबल पार्टनरशिपले सहयोग गरेको थियो । 

निमजिनका प्रधान सम्पादक रजनीश भण्डारी र सीआईआर श्रीलंकाकी सहसंस्थापक दिलरुक्षी हान्डुनेट्टीले संयुक्त रूपमा सञ्चालन गरेका सत्रहरूमा आपतकालीन अवस्थालाई सुरक्षित रूपमा व्यवस्थापन गर्ने, कामको तनाव र रिपोर्टिङका क्रममा पर्न सक्ने माध्यमिकस्तरका आघातलाई व्यवस्थापन गर्ने तरिकाहरू सिकाइएको छ । 

Bhagirathi-Sabina-Anita-Swekshya-NIMJN-1795516131.png
तालिमका सहभागीहरू । तस्बिर : निमजिन

प्रशिक्षणको उद्देश्य जोखिम-सूचित संकट रिपोर्टिङको लागि महिला पत्रकारहरूको क्षमतालाई बलियो बनाउनु रहेको  सीआईआर श्रीलंकाकी सहसंस्थापक दिलरुक्षीले बताइन् । 

समूह अभ्यास र छलफलमार्फत सहभागीहरूले संकट तयारीको काम गरे र आफ्नै आवश्यकताहरू अनुरूप व्यक्तिगत सुरक्षा योजना बनाए । उनीहरूका योजनामा जोखिम मूल्याङ्कन, वास्तविक-समय संकट प्रतिक्रिया र पुनर्लाभका विषय समावेश थिए । सहभागीहरूले आफ्नो व्यक्तिगत शक्ति र कमजोरीहरू, अनुभवहरू साझा गरे र तनाव, आघात, आत्म-हेरचाह र समग्र सुरक्षाको बारेमा पनि छलफल गरे ।

फोटो पत्रकार वर्षा शाहले पत्रकारहरू काममा ध्यान केन्द्रित गर्ने र आफ्नो सुरक्षाको बारेमा विरलै कुरा गर्ने बताइन्। "हामीले महिला पत्रकारहरूले क्षेत्रमा जाँदा आफ्नो व्यक्तिगत सुरक्षाको लागि के मनमा राख्नु पर्छ भनेर सिक्ने अवसर पायौं," उनले भनिन्।

विपद् क्षेत्रका फुटेज र तस्बिरहरू अब पत्रकारहरूको स्क्रिनमा आइरहेको र त्यसलाई देखेर नै मान्छेहरू डराएको स्थितिमा सम्बन्धित क्षेत्रमै पुगेका पत्रकारले कस्तो स्थितिको सामना गर्नुपर्छ होला भन्ने प्रश्न पत्रकार पुष्पा थपलियाले गरिन् । “हामीले विपद् प्रभावित क्षेत्रमा जानुअघि हामीले के तयारी गर्न सक्छौं भनेर पनि सिक्यौं," उनले भनिन् ।

Rajneesh-Dilrukshi-kalika-NIMJN-1795516130.JPG
निमजिनका प्रधान सम्पादक रजनीश भण्डारी, सीआईआर श्रीलंकाकी सहसंस्थापक दिलरुक्षी हान्डुनेट्टी र पत्रकार कालिका खड्का तालिम समापनका अवसरमा । तस्बिर : निमजिन

पत्रकार रीता लम्सालले तालिमले आधारभूत सुरक्षा अभ्यासहरूको सम्झना गराएको बताइन्  । "यस तालिमले हामीलाई विपद् रिपोर्टिङको लागि आफूलाई कसरी तयार गर्ने र आत्म-हेरचाह अभ्यास गर्ने तरिकाहरू सिकायो। हामीलाई सुरक्षा सुझावहरूको सम्झना गराइयो जुन हामी बेवास्ता गर्छौं," उनले भनिन् ।

निमजिन काठमाडौंमा रहेको गैरनाफामुखी संस्था हो, जुन पत्रकारहरूद्वारा स्थापित र सञ्चालित छ । र उसले तालिम, कार्यशाला र इन्भेस्टिगेटिभ मल्टिमिडिया स्टोरी उत्पादन गर्दै आएको छ ।

टिप्पणीहरू