नेभिगेसन
समानुभूतिसहित भोटेकोशी बाढीको रिपोर्टिङबारे निमजिनको अन्तर्क्रिया NIMJN बुधबार, असोज १४, २०८३

निमजिनले ‘भोटेकोशी बाढी: समानुभूतिसहित विपत्तिको रिपोर्टिङ’ विषयक अन्तर्क्रिया कार्यक्रम गरेको छ ।

नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (निमजिन)ले ‘भोटेकोशी बाढी: समानुभूतिसहित विपत्तिको रिपोर्टिङ’ विषयक छलफल कार्यक्रममा गरेको छ ।  गत असोज १२ गते काठमाडौंमा भएको कार्यक्रममा २० जना पत्रकार सहभागी थिए । 

कार्यक्रममा लाङटाङ लिरुङ हिमालको उत्तरमा आएको हिमचट्टानसहितको पहिरो र त्यसबाट उत्पन्न बाढीले प्रभावित रसुवा, नुवाकोट र धादिङका बासिन्दाको पीडा नबढ्ने गरि के-कसरी रिपोर्टिङ गर्न सकिन्छ भन्नेबारेमा छलफल गरियो । 

कार्यक्रममा निमजिनका प्रधान सम्पादक रजनीश भण्डारीले बाढीका बारेमा अझै धेरै अनुसन्धानात्मक स्टोरीहरू आउन बाँकी रहेको भन्दै पत्रकारहरूलाई सहकार्यका लागि आह्वान गरे । 

किनोट : प्रकोप पछाडिको विज्ञान

Dr-Basanta-Raj-Adhikari-NIMJN-1790755072.png
 किनोट प्रस्तुत गर्दै डा. बसन्तराज अधिकारी । तस्बिर : निमजिन

इन्जिनियरिङ संस्थान पुल्चोकस्थित विपद् अध्ययन केन्द्रका निर्देशक तथा डीपीनेट नेपालका अध्यक्ष डा. बसन्तराज अधिकारीले हिम चट्टानसहितको हिमपहिरो र त्यसबाट उत्पन्न अकल्पनीय बाढीलाई बुझाउन भू-उपग्रहबाट प्राप्त तस्बिर र भिडियोसहितको प्रस्तुति गरे । 

उनले कुनै पनि विपद्को घटनामा आएको प्रारम्भिक विवरणहरूको तथ्य गलत पनि हुन सक्ने हुँदा पत्रकारले तथ्य पत्त लगाउन धेरै भन्दा धेरै श्रोतहरूको परीक्षण गर्नु पर्ने बताए । 

उनले उच्च जोखिम भएका हिमाली क्षेत्रको पहिचान गर्न, नयाँ प्रारम्भिक चेतावनी प्रणालीहरू अपनाउन र परम्परागत ज्ञान र सीपबाट फाइदा उठाउन सरकारलाई आग्रह गरे ।  "सबै कुरामा जोखिमहरू हुन्छन्, र तिनीहरूलाई कम गर्न सकिन्छ तर कहिल्यै शून्य बनाउन सकिँदैन," अधिकारीले भने। 

उनले जोखिम-संवेदनशील भू-उपयोग योजना बनाउन पनि आग्रह गरे । विपद्‍बाट प्राप्त पाठहरू सरकारको संस्थागत स्मृतिमा रहनुपर्नेमा डा. बसन्तराजले जोड दिए । 

ग्राउण्ड जिरोमा पुगेका पत्रकारबीचको प्यानल डिस्कसन 

बाढीको रिपोर्टिङका लागि रसुवा र नुवाकोटमा पुगेर फर्किएकी फोटो पत्रकार बर्षा शाह र नुवाकोटमै बसेर पत्रकारिता गर्दै आएका देवचन्द्र भट्टले अनुभव सुनाएका थिए । 

फोटो पत्रकार बर्षाले  कतिपय पत्रकारहरूले पीडितहरूको पीडा नबुझी प्रश्न गरिरहेको देख्दा आफूलाई दु:ख लागेको बताइन् ।  "हामीले गर्न सक्ने भनेको उनीहरूलाई टाढाबाट हेर्नु, उनीहरूसँग सम्बन्ध निर्माण गर्नु र त्यसपछि सोधपुछ गर्नु हो," उनले भनिन्, “तर कतिपय पत्रकारले उनीहरूलाई थप पीडा हुनेगरि प्रश्न सोधेका थिए ।”

आफूले खिचेका सबै तस्बिरहरू प्रकाशित गर्नुअघि सम्बन्धित व्यक्तिको अनुमति लिएको उनले सुनाइन् । 

Dr-Basanta-Raj-Adhikari-Barsha-Shah-Dev-Chandra-Bhatta-Rajneesh-Bhandari-NIMJN-1790755074.jpg
प्यानल डिस्कसनमा सहभागीहरू । तस्बिर : निमजिन

जतिबेला बाढी बएको थियो, त्यतिबेला देवचन्द्र नुवाकोटमा नै थिए । बाढीको बितण्डा प्रत्यक्ष देखेका उनले तत्कालैबाट रिपोर्टिङ सुरु गरेका थिए । बाढी आउँदा भट्ट नुवाकोटमा थिए र त्यसबेलादेखि नै समाचार सम्प्रेषण गर्दै आएका छन्। “पत्रकारको सुरक्षा सबैभन्दा महत्त्वपूर्ण कुरा हो, आफ्नो सुरक्षालाई प्राथमिकतामा राख्दै हामी रिपोर्टिङमा अगाडि बढ्न सक्छौं," उनले भने । 

बाढी आउँदा स्थानीयहरूले के गरे भन्ने कुराको कभरेज धेरै भएको भन्दै उनले अब बाँचेकाहरूलाई आघातबाट कसरी बाहिर निकाल्ने, उनीहरूका आवश्यकता के हुन् र सरकारले अब गर्नुपर्छ भन्ने बारेमा थोरै मात्र रिपोर्टिङ भएको सुनाए ।

प्यानलमै सहभागी डा. बसन्तराजले पत्रकारले अपनाउनु पर्ने सावधानी र रिपोर्टिङ गर्नु पर्ने बाँकी विषयवस्तुबारे बताए । बाढीमा केही नभएका व्यक्तिलाई पनि आघात पर्ने भन्दै विपद्‍को रिपोर्टिङपछि पत्रकारहरूले आराम गर्नु पर्ने बताए । 

प्यानल डिस्कसन निमजिनका प्रधान सम्पादक रजनीशले सञ्चालन गरेका थिए । सहभागीहरूले फरक फरक श्रोतबाट आउने फरक फरक तथ्य र तथ्यांकलाई कसरी पुष्टि गर्ने भन्ने बारेमा जिज्ञासा राखेका थिए । त्यसको जवाफमा डा. बसन्तराजले सरकारी निकायबाट प्राप्त तथ्यांकलाई नै आधिकारिक मान्न सुझाव दिए । 

Dinesh-Regmi-NIMJN-1790755072.png
अन्तर्क्रियामा सहभागी हुँदै पत्रकार दिनेश रेग्मी । तस्बिर : निमजिन
​​​

पत्रकार भागिरथी पण्डितले प्रभावित क्षेत्रमा पुग्दा आफूले सामान्य मानेका विषयमा पनि रिपोर्टिङ आवश्यक रहेछ भन्ने यो कार्यक्रमबाट बुझेको बताइन् ।

अर्का सहभागी पत्रकार पंकज महरा चमारले बाढी र त्यसले गरेको मानवीय क्षतिलाई गहिरो गरि बुझ्न यो कार्यक्रमले मद्दत गरेको बताए । उनले मानव हितलाई ध्यानमा राख्दै भोटेकोशीको विपद्‍का बारेमा थप रिपोर्टिङ गर्ने विषयहरू थाहा पाएको बताए ।

टिप्पणीहरू