नेभिगेसन
९ बजे बाढी आयो  Rajneesh Bhandari बिहीबार, भदौ १८, २०८३

भोटेकोशी बाढीको नवौँ दिन भदौ १८ गते बिहानसम्म १२ सय बढी शव फेला परेको र ४ हजार २ सय १६ जना अझै सम्पर्कविहीन रहेको तथ्याङ्क सरकारसँग छ । भोटेकोशी बाढीका कारण कति जनाको ज्यान गयो भन्ने पूर्ण विवरण अझै आइसकेको छैन । विभिन्न जलविद्युत् आयोजनाका मात्रै करिब ६ सय जना सम्पर्कविहीन छन् । र, वैज्ञानिकहरू हिमालमा दोस्रो बाढी अझै अड्किएर बसेको बताउँछन् । 

भदौ १०, २०८३ (अगस्ट २६) को बिहान गीतामाया डंगोल नुवाकोटको उत्तरगया पब्लिक स्कुलको क्यान्टिनमा थिइन् । त्यही बेला विद्यार्थी दौडँदै आए र भने– बाढी आयो । 

उनले पत्याइनन् । ती विद्यार्थीलाई भनिन्, “पहिलेजस्तै सानै आएको होला, तिमीहरू झुक्याउँदै छौ ।”

बच्चाहरूले भने, “यो पहिलेभन्दा ठूलो हो । सरले भन्नुभएको हो ।”features-1719398032.png

गीतामाया नदीको एकदमै छेउमा उभिएकी थिइन् । “यता दौडिएको भए म बाँच्दिनथेँ,” उनले अर्को छेउ देखाउँदै भनिन् ।

उनी विद्यालय भवनपछाडि डाँडोतिर उक्लिइन् । ३–४ घण्टा हिँडेर सुरक्षित ठाउँ पुगिन् । २ दिन पहाडमै बसिन्, त्यसपछि नुवाकोट झरिन् । ५ दिनपछि उनी आफू बसेको ठाउँ हेर्न फर्किइन् । केही सामान झिक्न होइन, उनी भन्छिन्, “हेर्न मात्रै ।”

घर अझै उभिएकै छ तर सकिइसकेको छ । ओछ्यान बगेर गयो । गोठ छैन । भुइँतलामा रहेको लघुवित्तको कार्यालयका सामान बाहिर हिलोमा छरिएका छन् । उनको परिवारका ५ जनाको अत्तोपत्तो छैन ।

“यो ठाउँ त मसानघाटजस्तै भयो,” उनी भन्छिन्, “अहिले हिँड्दा पनि म काँपिरहेकी छु ।” 

विदुर नगरपालिकाका शिक्षा शाखाका विद्यालय निरीक्षक नवराज सापकोटाका अनुसार पालिकाका विद्यालयका २ सय ५० भन्दा बढी विद्यार्थी बेपत्ता छन् । तीमध्ये उत्तरगया स्कुलका १ सय ५० र रामचन्द्र आधारभूत विद्यालयका १ सय विद्यार्थी छन् । शिक्षक विभागको तथ्यांक अनुसार उत्तरगया स्कूलमा ३ सय ६५ र रामचन्द्र स्कूलमा १ सय ४८ विद्यार्थी छन् । पालिकाका शिक्षक–कर्मचारी १० जना सम्पर्कमा छैनन् ।

School-Bus-Betrawoti-NIMJN-1788405011.png
बाढीले बगाएको बेत्रावती स्कुलको बस । तस्बिर : रजनीश भण्डारी/निमजिन

त्यही बिहान करिब ८ बजेर ३७ मिनेटमा रसुवागढी नाकाबाट २० किलोमिटरमाथि र मानिस बस्ने कुनै पनि बस्तीभन्दा १ हजार मिटर उचाइमा लाङटाङ लिरुङ हिमशृंखलाको उत्तरी भागबाट चट्टान र हिउँको ठूलो पिण्ड टुक्रियो ।

त्यो करिब ५,२०० मिटरबाट खस्यो, ३,८०० मिटरमा रहेको हिमनदीको छेउमा ठोक्कियो अनि बाटामा जे–जे भेट्यो, सबै बटुल्यो र २,९०० मिटरमा रहेको ल्हेन्दे खोलामा पुग्यो । 

युथ अलायन्स फर इन्भाइरोमेन्ट र काठमाडौं विश्वविद्यालयको प्रारम्भिक अध्ययनअनुसार १४ करोड २० लाख घनमिटरभन्दा बढी हिउँ, चट्टान, गेग्य्रान र माटो तल झरेको थियो– प्रतिसेकेन्ड १५ मिटरको गतिमा । अर्थात् बस्तीभित्र गुड्ने कारभन्दा चाँडो । ल्हेन्दे खोलामा त्यो केहीबेर आफ्नै गेग्य्रानले थुनियो । अनि फुट्यो ।

लाङटाङ नजिकैको भूकम्प मापन केन्द्रले ५ म्याग्निच्युडभन्दा माथिको कम्पन रेकर्ड गर्‍यो । केही दिनसम्म यो ‘भूकम्पले पहिरो गयो’ भनियो । तर त्यो सही होइन । सरकारले पछि पुष्टि गर्‍यो– त्यो कम्पन पहिरो आफैँले उत्पन्न गरेको थियो । हिउँसहितको चट्टान यति भारी थियो कि तल झर्दा ठूलो कम्पन पैदा भयो । 

Nepal_Flood_Syafrubesi_Rajneesh_Bhandari-1788338841.jpg
बाढीपछिको स्याफ्रुबेँसी बजार । तस्बिर : रजनीश भण्डारी/निमजिन 

नेपाल र चीनका संस्थासँग मिलेर यो घटना अध्ययन गरिरहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) कारणबारे सतर्क छ । “ल्हेन्दे खोलामा गएको हिमपहिरो नै मुख्य कारण भएको आशंका गरिएको छ तर पुष्टि भइसकेको छैन,” केन्द्रका जलवायु तथा वातावरणीय जोखिम शाखाका प्रमुख छ्याङगोङ झाङ भन्छन् । 

यो विशेष घटनामा जलवायु परिवर्तनको कति भूमिका छ भन्ने बताउन अझै हतार हुने केन्द्रको भनाइ छ । एउटा कुरा भने उनीहरू स्पष्ट भन्छन्– ल्हेन्दे खोलामा १४ महिनामा दुई पटक आकस्मिक रूपमा बाढी आएको छ । 

भदौ १० गतेको बाढीको विवरण :

बिहान ८ः३७ — पहिरो । ३ मिनेटभित्रै बाढी बग्न सुरु ।

बिहान ८ः५० — स्याफ्रुबेँसीको जलमापन केन्द्रले तथ्यांक पठाउन बन्द गर्‍यो । अन्तिम रेकर्ड गरिएको पानीको सतह बाट १.६२ मिटर ।

बिहान १०ः२८ — धादिङको गल्छी । 

११ः५० — मलेखु । 

१ः०० — मुग्लिन 

३ः२० — देवघाट ।

तल्लो तटीय क्षेत्रमा सूचना प्रणालीले काम गर्‍यो । गल्छीले बाढी आइपुग्नुभन्दा ७३ मिनेटअघि चेतावनी पायो र त्यो समय सदुपयोग गर्‍यो । देवघाटले ६ घण्टा पायो ।

रसुवाले केही पाएन । हिमाल टुक्रिएदेखि पानी टिमुरे पुग्दासम्म करिब ३५ मिनेट थियो । त्यसमध्ये अधिकांश समय काठमाडौँमा कसैलाई केही थाहा थिएन । चेतावनी जारी हुँदा पानी त्यही बस्तीमा पुगिसकेको थियो, जसलाई चेतावनी दिनुपर्ने थियो । त्यसपछि बिजुली गयो । र, फोन पनि ।

भदौ १७ मा संघीय संसद्‍मा बोल्दै प्रधानमन्त्री वालेन्द्र शाहले सरकारलाई बाढीको सूचना बिहान ८:४५ मा आएको र नागरिकको मोबाइलमा सतर्कताको सन्देश ९ः३५ मा गएको जानकारी दिए । 

बीचमा ५० मिनेट थियो । त्यस अवधिमा बाढी रसुवागढी नाका ध्वस्त पार्दै टिमुरे हुँदै स्याफ्रुबेँसी पुगिसकेको थियो ।

समयमै सूचना किन भएन भन्ने प्रश्नमा प्रधानमन्त्रीले भने, “यो विपद् पूर्वानुमानभन्दा बाहिरको कुरा हो ।”

उनले थपे, “बाढी आउँदै गरेको सूचना पाएलगत्तै हाम्रा सुरक्षाकर्मी स्थानीयलाई सतर्क बनाउन खटिनुभएको थियो । त्यसैबेला उहाँहरूसमेत बेपत्ता हुनुभएको छ ।”

प्रधानमन्त्रीको सम्बोधनमा असार २४, २०८२ मा यही नदी प्रणालीमा आएको आकस्मिक बाढी र त्यसपछि नेपाल र चीनबीच हिमताल विस्फोटको जोखिमसम्बन्धी सूचना आदानप्रदान गर्न भएको सहमतिबारे उल्लेख थिएन । स्याफ्रुबेँसीको जलमापन केन्द्रबारे पनि उनले कुरा गरेनन् ।

गत वर्ष असार २४ (जुलाई ८, २०२५) मा यही नदी प्रणालीमा आकस्मिक बाढी आएपछि नेपाल र चीनबीच हिमताल विस्फोटको जोखिमसम्बन्धी सूचना आदानप्रदान गर्ने सहमति भएको थियो ।

१४ महिनापछि, त्यही उपत्यकामा, माथिका मानिसले बाढी आउँदै छ भन्ने कुरा त्यसलाई देखेर मात्र थाहा पाए ।

“९ बजे आयो” 

मेन्दो ग्याल्मो स्याफ्रुबेँसीभन्दा माथि बस्छिन् । त्यो दिन उनी बजार झर्ने तयारीमा थिइन् ।

“९ बजे आयो,” उनले भनिन्, “९ बजे बाढी आएपछि केही देखिएन ।”

कसैले भनेको थियो ? कुनै सूचना आएको थियो ?

“थाहै थिएन । एक्कासि आयो । के आयो होला जस्तो भयो । बाढी आउँदै छ भन्ने त हामीलाई कत्ति पनि थाहा थिएन ।”

उनी डाँडो कटेर उकालो दौडिइन् । “अनि म त रोएँ पनि । यता जाऊँ कि उता जाऊँ, कता जाने भनेर रोएँ,” उनले सुनाइन् । उनका नाति विद्यालयमा थिए । हेलिकोप्टर आएपछि उनले नाम टिपाइन्, हात जोडिन् र धुन्चेसम्म पुर्‍याइदिन अनुरोध गरिन् । पुर्‍याइदिए । उनी हिँडेरै फर्किइन् ।

भदौ १५ सम्म पनि उनी आफ्नै घरमाथिको डाँडामै थिइन्, घरतिर सर्दै गरेको पहिरो हेर्दै । एक छाक पनि राम्ररी खान पाएकी थिइनन् ।
“चामल छैन, नुन छैन, ग्यास छैन,” उनी भन्छिन्, “यो झरीमा दाउरा लिन जंगल जान पनि सकिँदैन ।”

राहत पुग्यो ?

“पुगेको छैन, छैन । अहिलेसम्म केही पाएका छैनौँ । केही पनि ।”

सरकारले माथि सर्न भनेको छ ?

“छैन । हामीलाई केही भनेको छैन ।”

आफ्नो क्षेत्रबाट कति जना हराए भनेर सोध्दा उनले केहीबेर औँला भाँचिन्, त्यसपछि गन्न छाडिन् ।

“यहाँबाट धेरै हराए । भन्नै सकिँदैन । कुनै घरमा त एक जना मात्र बाँकी छन् । अरू सबैलाई बगायो ।”

Police-rescue-NIMJN-1788411424.png
बाढीपछि घाइतेलाई उद्धार गर्दै सुरक्षाकर्मी । तस्बिर : रजनीश भण्डारी/निमजिन

सरकारकै प्रतिवेदनअनुसार रसुवाका सर्वाधिक प्रभावित दुई गाउँपालिकामा १४ हजार ४ सय ६१ जना सडक, बिजुली र टेलिफोनबाट ६ दिनसम्म टाढा रहे । यसरी सम्पर्कविहीन हुनेमा ३ हजार ६ सय ५० बालबालिका छन् । 

प्रधानमन्त्रीका अनुसार प्रधानमन्त्री राहत कोषमा ७ अर्ब रुपैयाँभन्दा बढी जम्मा भइसकेको छ । त्यसबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई १ अर्ब निकासा भएको छ । त्यसमध्ये ६ करोड ७५ लाख रुपैयाँ प्रभावित १५ पालिकामा पठाइएको छ — प्रतिपालिका औसत ४५ लाख । कोषमा रकम आउने क्रम जारी छ ।

बाढीसँगै जे बगे

बाढीसँगै ६८ वटा पुल गए । बेत्रावती–रसुवागढी सडकको ४०–४५ किलोमिटर खण्ड अब छँदै छैन । रसुवाका सबै मुख्य सडक अर्को सूचना नआएसम्म पूर्ण रूपमा अवरुद्ध छन् । १३ वटा जलविद्युत् आयोजना क्षतिग्रस्त भए र ४ सय ३१ मेगावाट उत्पादन ठप्प भयो, जुन राष्ट्रिय प्रसारण क्षमताको करिब १० प्रतिशत हो । १६ विद्यालय क्षतिग्रस्त वा ध्वस्त भए । चीनसँग जोडिने नेपालको मुख्य स्थलमार्ग रसुवागढी–केरुङ नाका अवरुद्ध छ । टिमुरेको भन्सार कार्यालय छैन ।

चार स्वास्थ्य संस्था पूर्ण रूपमा नष्ट भए– स्याफ्रुबेँसी र टिमुरेका स्वास्थ्य चौकी, रसुवागढीको स्वास्थ्य डेस्क र मैलुङको आधारभूत स्वास्थ्य इकाइ । अर्थात् लाङटाङ उपत्यकाको फेदमा रहेको सम्पूर्ण आधारभूत स्वास्थ्य प्रणाली ।

एक अन्तर्राष्ट्रिय राहत संस्था एडब्लू इन्टरनेसनलका क्षेत्रीय निर्देशक सुरेन्द्र गौतम भदौ १४ मा स्याफ्रुबेँसीको छेउसम्म पुगे ।
“स्याफ्रुबेँसीमा एउटा मात्र भवन बाँकी भेट्यौँ,” उनले निमजिनलाई भने, “त्यसबाहेक त्यहाँ केही छैन ।”

त्यही फेदमा पसल नचलाउने र अब त्यहाँ नफर्कने योजना बनाएका छन्– कान्छा तामाङले । 

“पुलहरू गए, बाटो गयो,” उनले भने । 

“यहाँ पुल नभएकाले ठूलो हेलिकोप्टर पठाए मात्रै स्याफ्रुबेँसीभन्दा माथिका मान्छेलाई ल्याउन सकिन्छ,” उनी भन्छन्, “ती मान्छेसँग अरू कुनै उपाय छैन । कत्ति पनि छैन ।”

के चाहियो भनेर सोध्दा उनले खाना, पैसा वा छानबिन भनेनन् ।

“जतिसक्दोे चाँडो पुल राखिदिए यस क्षेत्रका सबै मान्छेलाई राहत हुन्छ, खानपिनको समस्या पनि हल हुन्छ ।”

सरकारका अनुसार ८ दिनमा ११ हजार ९ सय ९३ जनाको उद्धार भएको छ । अस्पताल भर्ना भएका ३ सय ९ घाइतेमध्ये १ सय ९५ जना डिस्चार्ज भइसकेका छन् ।

सुरुङभित्र जीवनको आशा

बागमती प्रदेशसभाका सदस्य इन्द्रप्रसाद गोतामे भदौ १४ मा रसुवामा थिए ।

“ती सुरुङभित्र ३ सयभन्दा बढी मानिस छन् भनिएको छ,” उनले भने, “उनीहरू जीवितै होलान् भन्ने आशा छ । तर हामीसँग भित्र पस्ने प्राविधिक जनशक्ति छैन । र, आफन्तहरूको ठूलो दबाब छ किनभने उनीहरू अझै बाँचेकै होलान् भन्ने विश्वास छ ।”

रसुवागढीको सुरुङबाट ४ जनालाई जीवितै निकालिएको थियो । उनले भने, “आशा त्यहीँबाट जन्मिएको हो ।”

उनले थपे, “बाहिरबाट प्राविधिक आए भन्ने सुनिन्छ । तर यहाँ कोही आइपुगेको छैन ।”

Indra-Prasad-Gotame-NIMJN-1788405459.jpg
इन्द्रप्रसाद गोतामे । तस्बिर : रजनीश भण्डारी/निमजिन 

दुई दिनपछि सरकारले गोतामेले भनेको भन्दा दोब्बर संख्या सार्वजनिक गर्‍यो– सम्पर्कविहीन सूचीमा रहेका ३ हजार ९ सय १६ जनामध्ये ६ सय ३९ जना जलविद्युत् आयोजनाका छन् ।

अर्को दिन भदौ १७ मा सार्वजनिक गरिएको विवरणअनुसार विभिन्न जलविद्युत् आयोजनाबाट करिब ९ सय जना सम्पर्कविहीन छन् । कुल सम्पर्कविहीन संख्या ४ हजार २ सय १६ पुगेको छ । जलविद्युत् आयोजनाबाट बेपत्ता भएकामध्ये कति जना सुरुङमा थिए, कति भूमिगत विद्युत् गृहमा, बाहिरैबाट बाढीमा कति बगे भन्ने विवरण खुलेको छैन । 

त्यही प्रतिवेदनअनुसार भारत, चीन, कोरिया र नेपालका उद्धार टोली चिलिमेसहित ४ जलविद्युत् आयोजना स्थलमा संयुक्त खोज तथा उद्धार कार्यमा परिचालित छन् ।

चिलिमेमा कान्छा तामाङ औँला गन्दै भन्छन्, “आफ्नै बस्तीका कति जना भित्र छन्– कालाथानका ५, सानो भर्खुका १ ।” सुरुङभित्र सय मिटरसम्म पानी र हिलो पसेको उनले सुनेका छन् । परिवारले माग गरेपछि हेलिकोप्टरले मान्छे झारेर एउटा शव निकालेको थियो ।
“त्यो सुरुङको मुख देखिन्छ नि,” उनी भन्छन्, “हो, सानो प्वाल मात्रै हो त्यो ।”

यकिन तथ्यांक कति ?

भदौ १८ गते बिहानसम्मो सरकारी तथ्यांकअनुसार शव फेलासम्बन्धी जिल्लागत विवरण यस्तो छ– चितवन ३४८ । नवलपरासी पूर्व २१७ । नवलपरासी पश्चिम २०२ । नुवाकोट १५५ । रसुवा ११५ । गोरखा ६९ । धादिङ ६० । तनहुँ ३८ । 

बाढी आएको रसुवामै हो । बजार नै एउटा भवनमा खुम्चिएको, नाका ध्वस्त भएको जिल्ला रसुवा नै हो । तर प्रभावित जिल्लामध्ये मृत्यु संख्याका हिसाबले रसुवा पाँचौँ स्थानमा देखिन्छ । त्यसैले रसुवा अन्य चार जिल्लाभन्दा कम प्रभावित भयो भन्ने हुँदै होइन ।

कारण यो हो– बाढीले मृतकलाई २ सय किलोमिटर दक्षिण बगाएर तराईमा पुर्‍यायो, जहाँ पानीको वेग सुस्तायो, र जहाँ अहिले उनीहरूलाई चिन्दै नचिन्ने मानिसले निकालिरहेका छन् । देशभरका २१ अस्पतालमा नचिनिएका शव राखिएका छन् । नेपाल प्रहरीले तिनको सार्वजनिक अभिलेख राखेको छ । सरकारी ढुवानी विवरणअनुसार त्रिभुवन विमानस्थलको आपत्कालीन गोदामबाट शव राख्ने १ हजार १ सय ४६ थान झोला पठाइएको छ ।

Police_Recover_Bodies_Nepal_Flood-1788339040.jpg
बाढी प्रभावित क्षेत्रबाट शव संकलन गरिँदै। तस्बिर : रजनीश भण्डारी/निमजिन ।

भदौ  १८ गते बिहानसम्म १ हजार २ सय ४ शव फेला परेका छन् । तीमध्ये ९५ को सनाखत भएको छ । पहिचान हुन नसकेका शवलाई भने डीएनए नमुना सुरक्षित राखेर जमिनमुनि व्यवस्थापन गर्ने प्रबन्ध मिलाइएको प्रधानमन्त्रीले संसद्मा जानकारी दिएका छन् । 

जर्मन सहयोग संस्था भेल्टहुंगरहिल्फेका नेपाल प्रमुख शकेब नबी प्रभावित क्षेत्रमै थिए । र, उनले भने, “यो मानवीय संकटमा मैले देखेको सबैभन्दा ठूलो चुनौती हो– हामीलाई मानिसको संख्या नै थाहा छैन । यो दुःखद् हो, दुर्भाग्यपूर्ण हो ।”

उनको भनाइको आशय गन्ने आधारहरू नै भत्किए भन्ने थियो । बिजुलीसँगै फोन बन्द भए । त्यसैले हप्ता दिनपछि पनि परिवारहरूले मानिस हराएको खबर गरिरहेकै थिए । 

विपद्पछिको बेत्रावती

४० किलोमिटर तल काठमाडौँ जाने बाटामा थिए– मदनलाल लावत । त्यही बेला खबर आयो । उनी बाटैबाट फर्किए र जंगलको बाटो हिँडेर आए । नदीपारि बेलटारीमा पुगेपछि उनी उभिए र हेरे ।

तीन घर । आफ्नै घर, जसको भुइँतलामा लघुवित्तको कार्यालय थियो । दाजु सोमलालको घर, जहाँ कृषि कार्यालय थियो । दिदी शान्तामायाको घर ।

“यो बस्ती सयौँ वर्ष पछाडि धकेलियो,” उनी भन्छन्, “यहाँ बस्नलायक जमिन नै बाँकी छैन ।”

उनका ५ जना आफन्त सम्पर्कविहीन छन्– २ भाउजू, १ दाजु र २ फुपू ।

बेत्रावती बजार मात्र थिएन । यो उत्तरगयाको धाम हो । नदीपारि राममन्दिर छ । यहाँ हरेक वर्ष पौषेऔँसीमा ठूलो मेला लाग्छ ।

तीर्थयात्री आउँथे, पदयात्री आउँथे । र, चीनतर्फ जाने ट्रकहरू यहीँबाट उकालो लाग्थे ।

पशु कल्याणसम्बन्धी काम गर्ने संस्थासँग आएकी, नेपालका धेरै विपद्‍मा काम गरिसकेकी स्नेहा श्रेष्ठ भन्छिन्, “यो विपद् फरक छ ।” र, फरकपन गन्धबाटै थाहा हुन्छ ।

“नदी नै पशुचौपायाले भरिएको छ । र, ती पूरै गन्हाइसके,” उनी भन्छिन् ।

उनको डर स्वास्थ्य समस्याको जोखिमलाई लिएर हो । मानिसको शवसँगै मरेका पशुलाई छिटो व्यवस्थापन नगरे आसपासका मानिसमा हैजा फैलिन सक्ने उनी बताउँछिन् । भन्छिन्, “यहाँ सास फेर्नै गाह्रो छ । बाँचेकाहरू यहीँ बस्नुपर्ने अवस्था छ । उनीहरूसँग जाने ठाउँ छैन ।”

त्यो डर अहिले सरकारी कागजको एउटा हरफ बनिसकेको छ । नुवाकोटको विदुरका लागि आवश्यकता र प्राथमिकताअन्तर्गत राज्यले लेखेको छ– मृत पशु र मानव अवशेषको दुर्गन्ध नियन्त्रण गर्न कीटाणुनाशक र रसायन ।

दोष कसलाई दिने भनी सोध्दा श्रेष्ठले मौसमलाई इंगित गरिनन् । 

Betrawoti-Bazar-NIMJN-1788405029.jpg
बाढीले बिनास गरेको बेत्रावती बजार । तस्बिर : रजनीश भण्डारी/निमजिन

“विपद् त प्राकृतिक हो तर यसको दोष मानिसलाई नै दिनुपर्छ जस्तो लाग्छ,” उनी भन्छिन्, “जमिनमा पानी सोस्ने ठाउँ नै छाडेका छैनौँ । जताततै घर बनाइरहेका छौँ । अनि नदीबाट ढुंगा र बालुवा निकाल्ने जुन तरिका छ — गैरकानुनी पनि, कानुनी पनि — त्यसमा सरकारले ध्यान दिनुपर्छ ।”

माथि अझै के छ ?

बाढी सकिएको छैन ।

पहिरोले नदीलाई एकभन्दा बढी ठाउँमा थुनेको थियो । ती अस्थायी तालमध्ये केही रित्तिइसके । केही रित्तिएका छैनन् । भूउपग्रह तस्बिरहरूले ५,२०० मिटरमा खनिएको खाल्डोमा नयाँ ताल बन्दै गरेको देखाउँछन् ।

“केरुङ नाकामाथि ल्हेन्दे खोलामा अझै अवरोध रहेकाले अर्को बाढीको जोखिम रहेको अधिकारीहरूले चेतावनी दिएका छन्,” इसिमोडका छ्याङगोङ झाङ भन्छन् ।

Trishuli_NIMJN-1788406564.png
बाढीपछिको  त्रिशूली नदी । तस्बिर : रजनीश भण्डारी/निमजिन

सरकारकै मूल्यांकनले नदी अचानक थुनिने, ताल फुटेर बाढी आउने, थप पहिरो जाने र त्यसले बाढीको तीव्रता नै बढाउने जोखिम रहेको औँल्याएको छ । र, भनिएको छ– एकपटक भासिइसकेको पहाडमा थप वर्षाले त्यो शृंखला फेरि सुरु गर्न सक्छ ।

त्यस्तो विपद्ले प्रभाव पार्ने मानिस ती हुन्, जो अहिले डाँडामै बसिरहेका छन्– किनभने उपत्यकाको फेद छँदै छैन । 

भदौ १५ को बिहान ४ बजे मेन्दो ग्याल्मो ब्युँझिइन्, र फेरि दौडिइन् । “आज पनि साह्रै डर लाग्यो,” उनी भन्छिन् ।

बेत्रावतीमा भदौ १० को बिहान सूचना तीन विद्यार्थीबाट आयो । सूचना सही थियो तर एक वयस्कले पत्याइनन् ।

गीतामाया डंगोल जे भए पनि बाँचिन् । उनले घर गुमाइन्, जीविका गुमाइन् । परिवारका ५ जनालाई बाढीले कहाँ पुर्‍यायो, केही थाहा छैन । 

“हाम्रो बाँच्ने आस सरकारसँगै छ,” उनी भन्छिन्, “हामीसँग आफ्नो केही बाँकी छैन । बच्चाहरू पढ्दै छन् । बच्चाहरूलाई सुविधा दिइयोस्, पढाइ निःशुल्क होस्, उनीहरूले राम्ररी पढून् । मेरो चाहना यत्ति हो ।”

गीतामाया डंगोल र मदनलाल लावतले हराएका ५–५ जना आफन्त बितेको मानेर बुधबार दिउँसो पशुपतिमा दागबत्ती दिएका छन् । 

कभर तस्बिर : बाढीले बगाएको रसुवा र नुवाकोट सिमानाको बेत्रावती बजार । तस्बिर : रजनीश भण्डारी/निमजिन

यो सामग्री पुन: प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो पुन:प्रकाशन नीति अनुसार प्रकाशन गर्नुहोस् । पुन:प्रकाशन निर्देशिका यहाँ छ । 

टिप्पणीहरू