ओसिन्ट (OSINT),एआई र डेटा आधारित रिपोर्टिङ सम्बन्धी दुई समूहमा भएको दुईदिने भर्चुअल तालिममा देशभरका ५५ जना पत्रकारको उपस्थिति थियो ।
नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (निमजिन) ले डिजिटल अनुसन्धानसम्बन्धी दुईदिने भर्चुअल तालिम आयोजना गरेको छ। पहिलो समूहका २८ र दोस्रो समूहका २७ गरी तालिममा नेपालभरका कुल ५५ पत्रकार सहभागी थिए । पहिलो समूहको तालिम जेठ २७–२८ मा र दोश्रो समूहको तालिम असार ३१– ३२ गते भएको थियो ।
डिजिटल अनुसन्धान, तथ्य र डेटामा आधारित पत्रकारिताको बढ्दो आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा ओसिन्ट (Open-Source Intelligence–OSINT), डेटा पत्रकारिता, कृत्रिम बुद्धिमत्ता (एआई) आधारित रिपोर्टिङ, मेटाडाटा विश्लेषण तथा छोटो अवधिका मल्टिमिडिया स्टोरीटेलिङ र स्याटलाइट इमेजरीलगायतका विषय समावेश गरिएको थियो ।
निमजिनका प्रधान सम्पादक रजनीश भण्डारीले अनुसन्धानात्मक पत्रकारिताको पद्धति, ओसिन्ट तथा एआई-आधारित उपकरणहरूको प्रयोगसम्बन्धी सत्र सञ्चालन गरेका थिए । उनले प्रमाणमा आधारित अनुसन्धान, जोखिम मूल्याङ्कन र प्रभावकारी समाचारको महत्त्वबारे जोड दिँदै अनुसन्धानात्मक पत्रकारिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै तहमा दीर्घकालीन प्रभाव पार्न सक्ने बताए।
तालिमका क्रममा सहभागीहरूले अनुसन्धानात्मक पत्रकारिता दैनिक समाचार सङ्कलनभन्दा फरक विधा भएको उल्लेख गर्दै यसका लागि व्यवस्थित तथ्यमा आधारित अनुसन्धान, विश्वसनीय स्रोत तथा मौलिक रिपोर्टिङ गर्ने प्रतिबद्धता जनाएका छन् ।
निमजिनका कपि-इडिटर सुफल काफ्लेले अनुसन्धानात्मक परिकल्पना (Investigative Hypothesis) निर्माणसम्बन्धी सत्र सञ्चालन गर्दै स्टोरी पिचिङ, प्रमाण सङ्कलन तथा सूचनाको प्रमाणीकरण प्रक्रियाबारे सहभागीहरूलाई प्रशिक्षण दिए।
त्यसैगरी, निमजिनका फेलो पत्रकार मकर श्रेष्ठले डेटा पत्रकारिताका आधारभूत पक्षहरू - तथ्याङ्क सङ्कलन, डेटा क्लिनिङ र विश्लेषण बारे जानकारी गराए। उनले तथ्याङ्कसँग काम गर्दा देखिने सामान्य चुनौतीहरू तथा प्रमाणमा आधारित रिपोर्टिङका लागि डेटा दृश्याङ्कन (Data Visualization) को पनि छलफल गराए।
प्रियंका हमाल र अदिती श्रेष्ठले सञ्चालन गरेको मल्टिमिडिया सत्र ६० सेकेन्डमा प्रभावकारी स्टोरी टेलिङ, सामाजिक सञ्जालका लागि भिडियो छायाङ्कन तथा सम्पादनमा केन्द्रित थियो । यो सत्रमा परम्परागत प्रसारणबाट आधुनिक प्रणालीतर्फ भइरहेको परिवर्तनबारे छलफल गरिनुका साथै स्क्रिप्ट लेखन, सामग्री सङ्कलनदेखि मोबाइल भिडियो सम्पादनसम्मका सम्पूर्ण चरणहरू समेटिएको थियो।
साथै तालिममा फोटो तथा सामाजिक सञ्जाल सामग्रीको विश्लेषणका लागि डिजिटल फरेन्सिक उपकरणहरूको प्रयोग तथा Reddit र Discord जस्ता प्लेटफर्ममार्फत अनुसन्धानात्मक स्रोतहरूको पहिचानबारे पनि समावेश गरिएको थियो।
सहभागीहरूको प्रतिक्रिया
सहभागीहरूले यस्ता तालिमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिए । प्रकाश बीसीले आफूले यसअघि सहभागी भएका अनलाइन तालिमहरूको तुलनामा यो तालिम अझ विस्तृत र व्यावहारिक भएको बताए। “हामीले साना–साना पक्षसमेत सिक्ने अवसर पायौँ। तालिमको अवधि अझ लामो भएको भए थप विषय सिक्न सकिन्थ्यो,” उनले भने।
सहभागी पंकज महरा चमारले तालिमका सत्रहरू उपयोगी र जानकारीमूलक रहेको उल्लेख गर्दै आगामी दिनमा निमजिनले सञ्चालन गर्ने व्यावहारिक अभ्याससहितका तालिममा सहभागी हुन इच्छुक रहेको बताए। उनले डिजिटल सीप अभिवृद्धिका लागि प्रत्यक्ष (फिजिकल) तालिम अझ प्रभावकारी हुने सुझाव पनि दिए।
राधा (अजबी) पौडेलले भनिन्, “अनलाइन तालिम कस्तो होला भन्ने लागेको थियो, तर निकै राम्रो अनुभव रह्यो।”
नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (निमजिन) पत्रकारहरूले स्थापना तथा सञ्चालन गरेको काठमाडौंमा - आधारित गैरनाफामूलक संस्था हो। संस्थाले तालिम, कार्यशाला तथा अनुसन्धानात्मक मल्टिमिडिया सामग्री उत्पादनमार्फत नेपालको सञ्चार क्षेत्रको क्षमता अभिवृद्धि गर्दै आएको छ ।
टिप्पणीहरू