कपिलवस्तुका पत्रकारका लागि एआई सम्बन्धीका २ वटा तालिम आयोजना गरिएको छ ।
जेठ २३ गते चन्द्रौटामा र जेठ २३ गतेदेखि २५ गतेसम्म गोरुसिंगेमा भएका छुट्टा छुट्टै तालिमका सहभागीलाई नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क निमजिनका रजनीश भण्डारी र सुफल काफ्लेले सहजिकरण गरेका थिए ।
तालिममा एआईको सुरुवात र विश्वमा यसको प्रयोग, नेपालका मिडियामा भइरहेको एआईको प्रयोगका उदाहरण प्रस्तुत गर्दै पत्रकारले नैतिकतालाई आत्मसाथ गर्दै खोज तथा अनुसन्धानमा एआईलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारेमा सीप सिकाइएको थियो । यस्तै एआईबाट बनाइएको सामग्रीको पहिचान गर्ने विधि र तरिकाकाबारे पनि सिकाइएको छ । 
तालिमका सहभागीहरूले एआईका बारेमा यसअघि नै सुनेको भए पनि यो तालिमबाट नैतिक र मर्यादित भएर एआईलाई कसरी खोज र अनुसन्धानमा प्रयोग गर्ने भन्नेबारेमा सिक्न पाएको बताए ।
“यो तालिम समयअनुकुल, आवश्यक र महत्त्वपूर्ण रह्यो,” ४० वर्षदेखि पत्रकारिता गर्दै आएका नारायणप्रसाद पौडेलले भने, “अहिलेको पुस्ताको आवश्यकता र प्रविधिलाई बुझ्ने र प्रविधि प्रयोग गरेर पत्रकारितामा टिक्ने अवसर तालिमले दिएको छ ।”
तालिममा सहभागी दीपा महतले तालिममा सिकेका कुरालाई प्रयोग गर्दै अघि बढ्ने बताइन् ।
“एआईको बारेमा धेरै जानकारी थिएन, एआईले हामीलाई चलाउथ्यौँ,” तालिममा सहभागी जानु पाण्डेले भने, “अब हामीले एआईलाई चलाउन सिक्यौँ ।”
नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (निमजिन)को प्राविधिक सहयोग रहेको यो तालिम नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले आयोजना गरेको थियो ।
निमजिनले तथ्यांक पत्रकारितासहित मल्टिमिडियाको प्रयोग, खोज पत्रकारिता, आर्टिफिसियल इन्टेलिजेन्स, जलवायु परिवर्तन, विपद्, मानव बेचबिखनलगायतका विषयमा पत्रकारहरूलाई तालिम, अभिमुखीकरणका साथै स्टोरी उत्पादनका लागि फेलोसिप पनि प्रदान गर्दै आएको छ । निमजिन पत्रकारहरूद्वारा स्थापित गैरनाफामुलक संस्था हो ।
टिप्पणीहरू