नेभिगेसन
पत्रकारको सुरक्षाका लागि निमजिन र फरबिडेन स्टोरिजबीच सहकार्य NIMJN बुधबार, जेठ ६, २०८३

निमजिनले पत्रकारको सुरक्षा लागि फरबिडेन स्टोरिजसँग साझेदारी गरेको छ । 

फरबिडेन स्टोरिज (Forbidden Stories) एक अन्तर्राष्ट्रिय सञ्जाल हो । जसले धम्की, हमला वा हत्या गरिएका पत्रकारहरूको कामलाई निरन्तरता दिन सहयोग गर्ने गरेको छ । यो साझेदारी निमजिन (NIMJN) को प्रतिबद्धतालाई अझ मजबुत बनाउँदै पत्रकारहरूलाई संरक्षण गर्ने दिशामा महत्वपूर्ण कदम हो ।

यो साझेदारीमार्फत निमजिन (NIMJN) का सदस्यहरूले फरबिडेन स्टोरिज (Forbidden Stories) को सुरक्षित प्लेटफर्म सेफबक्स नेटवर्क (SafeBox Network) मा पहुँच प्राप्त गर्नेछन् । 

पत्रकारहरूले संकलन गरेका संवेदनशील सामग्रीहरूलाई डिजिटल खतरा र हस्तक्षेपबाट जोगाउनका लागि विशेष रूपमा यो प्लेटफर्म तयार गरिएको छ। 

यसका साथै निमजिनले सेफबक्स नेटवर्क (SafeBox Network) मा रहेका नेपालका पत्रकारहरूलाई मार्गदर्शन तथा उपयुक्त अवसरहरू उपलब्ध गराउने छ। 

दुवै संस्थाहरूले खोजमूलक पत्रकारितामा सहकार्य पनि गर्ने सहमति गरेका छन्, जसले नेपालका पत्रकारहरूको सञ्जाललाई फरबिडेन स्टोरिज (Forbidden Stories) को अन्तर्राष्ट्रिय  पहुँचसँग जोड्नेछ । “निमजिन (NIMJN) सधैँ व्यावसायिक, नैतिक र साहसी पत्रकारिताको पक्षमा उभिएको छ। विश्वभर पत्रकारहरूमाथि बढ्दै गएका डिजिटल खतराहरूलाई मध्यनजर गर्दै हामीले हाम्रो सम्पादकीय टोलीलाई अत्याधुनिक सुरक्षा उपकरणहरूबाट सुसज्जित गर्नुपर्ने आवश्यकता महसुस गरेका छौँ। सेफबक्स नेटवर्कले शक्तिलाई जवाफदेही बनाउने हाम्रो मिशनसँग पूर्ण रूपमा मेल खान्छ। यस साझेदारीका लागि हामी गर्व गर्दछौँ,” निमजिनका संस्थापक तथा प्रधान सम्पादक रजनीश भण्डारी भन्छन् ।Rajneesh-Bhandari-NIMJN-1779298199.png

“सेफबक्स नेटवर्क विश्वभरका पत्रकारहरूका लागि अत्यन्त महत्वपूर्ण स्रोत हो। निमजिन जस्ता सम्मानित अनुसन्धानात्मक सञ्जालहरूसँग साझेदारी गर्नु प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाप्रतिको हाम्रो साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। कुनै पनि पत्रकारको आवाजलाई बन्द गर्ने प्रयास गरिनु हुँदैन भन्ने सिद्धान्तलाई आत्मसात गर्दै हामी सँगै उभिएका हौँ । यो साझेदारीमार्फत हाम्रा संयन्त्रहरूलाई थप मजबुत बनाएर नेपालका पत्रकारहरूका लागि भरपर्दो सुरक्षा कवच कायम राख्न  सहयोग गर्न सक्छौँ,”  सेफबक्स नेटवर्ककी एसिया संयोजक हेलेन ग्रेटाले भनिन् ।

निमजिन (NIMJN)का बारेमा

निमजिन नेपालका खोज पत्रकारहरूको सबैभन्दा ठूलो सञ्जाल हो । जसले सामाजिक न्याय र जवाफदेहिताका विषयमा मल्टिमिडिया सामग्री उत्पादन गर्दछ ।

थप जानकारीका लागि :  https://www.nimjn.org/en

फरबिडेन स्टोरिज (Forbidden Stories)का बारेमा

Forbidden Stories विश्वका विभिन्न देशका पत्रकारहरूको सञ्जाल हो जसको एकमात्र उद्देश्य धम्की वा दबाबमा पारिएका/मारिएका पत्रकारहरूको अनुसन्धानलाई निरन्तरता दिनु हो ।

#SafeBoxNetwork को बारेमा थप जानकारीका लागि : https://forbiddenstories.org/safebox/

टिप्पणीहरू