नेभिगेसन
जेन—जी आन्दोलनमा जलेका १२ हजार सवारीसाधनले थपियो पर्यावरणीय जोखिम  Anita Bhetwal शुक्रबार, चैत २७, २०८२

जेन—जी आन्दोलनमा जलेका सवारीसाधन समयमै व्यवस्थापन नहुँदा त्यसबाट निस्किने विषाक्त रसायन र खरानीले स्वास्थ्य र वातावरणमा दीर्घकालसम्म गम्भीर असर पार्ने जोखिम छ । 

भक्तपुर, दत्तात्रयका प्रकाशमान अमात्य (७२) लाई गत भदौमा भएको जेन–जी आन्दोलनको खासै भेउ छैन । तर, भदौ २३ र २४ मा भएको त्यही आन्दोलनले उनलाई अस्पताल पुर्‍यायो । investigation-1719398034.png

दत्तात्रय चोकनजिकै प्रकाशमान अमात्यको पूजा सामग्री बेच्ने सानो पसल छ । उनी भदौ २४ गते उनी बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म पसलमै थिए । त्यो दिन बिहान १० बजेदेखि नै भक्तपुर दरबार स्क्वायर आसपासको आकाश एक्कासि कालो धूवाँले ढाकिँदै थियो ।

भक्तपुरको जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र भक्तपुर दरबार स्क्वायर आसपासका क्षेत्रमा सवारीसाधन जलाइएको थियो । जहाँबाट मात्र ३ सय ५० मिटर आसपासको दूरीमा उनको पसल छ । सवारीसाधनमा लगाइएको आगो र जलाइएका संरचनाको धूवाँले उनी वरपरको वातावरण कुइरिमण्डल बन्यो । प्राचीन मन्दिरहरूले भरिएको भक्तपुर धूवाँले भरियो । वर्षौंदेखि मिर्गी (एपिलेप्सी) को समस्या झेलिरहेका अमात्य धूवाँको निस्सासिने वातावरणमा परे । 

उनी न प्रदर्शनमा सहभागी थिए, न त आन्दोलनबारे खासै जानकार । आफू बसेको क्षेत्र वरपर फैलिएको गम्भीर धूवाँ र प्रदूषणले उनलाई सास फेर्न गाह्रो भयो र अन्ततः अर्धचेत अवस्थामा पुगे । प्रकाशमानकी श्रीमती बृन्दा भन्छिन्, “उहाँलाई पहिलेदेखि नै केही श्वासप्रश्वाससम्बन्धी समस्या त थियो, तर यस्तो अर्धचेत हुने गरी पहिलो पटक गम्भीर हुनुभयो । त्यति धेरै आगलागी भएर धूवाँ उड्छ भन्ने थाहा भएको भए त्यस दिन पसल पठाउने थिएनौँ ।”

Prakashman-Brinda-Amatya-NIMJN-1775731141.JPG
प्रकाशमान अमात्य र उनकी श्रीमती बृन्दा । तस्बिर : अनिता भेटवाल/निमजिन

प्रकाशमानलाई भोलिपल्ट बिहानै परिवारले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा लगे । त्यसरी अस्पताल पुग्ने उनी एक्ला व्यक्ति होइनन् । आन्दोलन भएको दिन र त्यसको भोलिपल्ट आँखा पोल्ने, नाक बन्द हुने तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको संख्या उल्लेख्य रूपमा बढेको चिकित्सकहरू बताउँछन् । 

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बमका अनुसार सामान्यतः दैनिक करिब २ सय बिरामी हेर्ने अस्पतालमा ती दिनपछि झन्डै २ सय ८० जना बिरामी पुगेका थिए । भदौ २३ र २४ गतेको आन्दोलनको प्रभाव भदौ २९ गतेसम्म पनि ओपीडी र इमर्जेन्सीमा श्वासप्रश्वाससम्बन्धी बिरामी बढेको उनी बताउँछन् । 

प्रदर्शनमा सहभागी युवायुवती, वृद्धवृद्धासहित सुरक्षाकर्मी र प्रभावित क्षेत्रका बासिन्दाहरू उपचारका लागि अस्पताल पुगेका थिए । डा. निरजलाई उपत्यकाका अन्य अस्पतालका सहकर्मीले पनि यस्तै प्रकृतिका बिरामी बढेको सुनाएका थिए । 

“पेट्रोलियम पदार्थबाट चलेर निस्किएको कालो धूवाँमा रहेका कार्बन कण, ओजोन ग्यास तथा अन्य हरितगृह ग्यासहरूले श्वास नलीमा एलर्जी गराउनेदेखि सास रोकिएजस्तो हुने समस्या थियो,” उनी भन्छन्, “यस्ता धेरै बिरामी अझै औषधि सेवन गर्दै फलोअपमा आइरहनुभएको छ ।” 

७६ जनाको ज्यान गएको जेनजी आन्दोलनमा देशभर १२ हजारभन्दा धेरै सवारीसाधन जलेका छन् र जसमध्ये बागमती प्रदेशमा जलेका सवारीसाधन ६ हजार ८ सय छन् । आन्दोलनमा जलेका गाडीको धूवाँ र त्यसबाट निस्कएको विषाक्त रसायनको प्रदूषण बढाएकै कारण अस्पतालमा श्वासप्रश्वास, आँखा र छालासम्बन्धीका बिरामी बढेका थिए । त्यतिबेला जलेका सवारीसाधन समयमै व्यवस्थापन पनि गरिएको छैन । यसले जलेका सवारीसाधनबाट निस्किने रसायन र खरानीले दीर्घकालसम्म स्वास्थ्य र वातावरणमा गम्भीर असर पार्न सक्ने जोखिम छ ।

वातावरण विभागका अनुसार भदौमा काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको थियो । विभागका वातावरण निरीक्षक गोविन्द लामिछानेका अनुसार भदौको २० गतेदेखि नै उपत्यकाका विभिन्न स्थानमा छिटफुट वर्षा भए पनि आन्दोलनमा आगलागी भएकाले प्रदूषणको तह बढाएको थियो । 

भदौ वर्षाको महिना भएकाले सामान्यतः प्रदूषण कम हुने समय मानिन्छ । तर, वातावरण विभागको तथ्यांकले उल्टै प्रदूषणको तह बढेको देखाउँछ । भदौ २१ गते काठमाडौंको रत्नपार्क स्टेसनमा पीएम २.५ को स्तर १३.२ थियो । आन्दोलन सुरु भएको भदौ २३ र २४ र त्यसको अर्को दिन २५ गते क्रमशः बढेर २०.२, २५.८ र ३३.० पुग्यो । जबकि ती दिनहरूमा उपत्यकामा छिटफुट वर्षा पनि भइरहेको थियो ।

“यो त एक स्थानको मात्र तथ्यांक हो, मुख्य आगलागी भएको क्षेत्रमा प्रदूषण अझ बढी हुन सक्छ,” विभागका प्रदूषण निरीक्षक गोविन्द भन्छन्, “त्यस दिन सेटलाइट इमेजले पनि नेपाल, विशेषगरी उपत्यकामा ठूलो आगलागी भएको देखाउँछ ।”

विश्व स्वास्थ्य संगठनका अनुसार २४ घण्टामा पीएम २.५ को स्तर १५ माइक्रोग्राम प्रति घनमिटरभन्दा बढी भए स्वास्थ्य जोखिम बढ्न थाल्छ । जसलाई अस्वस्थकर हावा भनिएको छ ।

आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतलगायतका संरचना जलाउन पेट्रोलियम पदार्थको प्रयोग भएको नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (निमजिन) को खोजमा पाइएको छ । २४ गते आगजनी भएका यीसहित अन्य निजी भवन तथा व्यापारिक प्रतिष्ठानको आगो २६ गतेसम्म पनि निभेको थिएन । 

त्यतिबेला भवन तथा सवारीसाधनमा भएको आगलागीबाट उत्पन्न प्रदूषणको मापन भने अहिलेसम्म नभएको गोविन्द बताउँछन् । एकै दिन १२ हजारभन्दा बढी सवारीसाधन जलेपछि त्यसबाट निस्किएको प्रदूषण, वातावरण र मानव स्वास्थ्यमा पर्ने असरबारे अध्ययन आवश्यक रहेको उनी बताउँछन् । भन्छन्, “गाडी जल्दा निस्किने विषादी रसायन झन् खतरनाक हुन्छ । यसको खरानी मात्र माटोमा पर्दा पनि त्यहाँ केही उम्रिँदैन ।” 

प्रदूषित ग्यास र रसायनको असर 

सवारीसाधन जल्दा रबर, प्लास्टिक, पेट्रोल, ब्याट्री, फलाम, तार र पेन्टजस्ता पदार्थ बल्छन् । जसबाट कार्बनडाइअक्साइड, कार्बन मोनोअक्साइड, नाइट्रोजन अक्साइड, सल्फर डाइअक्साइड र लिडजस्ता हानिकारक ग्यास र रसायन उत्सर्जन हुने गर्छ ।

यिनै ग्यासहरू हावा, पानी र बाफमा मिसिँदै वातावरण र मानव स्वास्थ्यलाई तत्काल र दीर्घकालमा असर गर्ने गरेको काठमाडौं विश्वविद्यालयका मेकानिकल इन्जिनियर विभागका प्रा. ड्यानियल तुलाधर बताउँछन् । Burnt-Vehicles-in-the-Gen-Z-Movement-NIMJN-(1)-1775730541.JPG

२०८२ भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षति मूल्यांकन र सार्वजनिक संरचनाको पुनर्निर्माण योजनासम्बन्धी प्रतिवेदन, २०८२ का अनुसार आन्दोलनमा १२ हजार ६ सय ५९ वटा सवारीसाधन जले । 

जलेका गाडीको आगो निभाउन पानी प्रयोग गर्दा त्यसबाट पेट्रोल, प्लास्टिक, रबर, तेल, तार, पेन्ट, ब्याट्रीलगायतका पदार्थ पानीसँग मिसिएर विभिन्न विषालु रसायन बन्ने अनुसन्धानहरूले देखाएको छ । 

सन् २०२४ मा साइन्स अफ द टोटल इन्भाइरोन्मेन्ट नामक जर्नलमा प्रकाशित ‘द इकोटक्सिसिटी एन्ड म्युटाजेनिसिटी अफ फायर वाटर रनअफ फ्रुम स्मल–स्केल फर्निसिङ मटेरियल्स फायर टेस्ट्स,’ शीर्षकको अध्ययनले आगो निभाउँदा बग्ने यस्तो प्रदूषित पानीलाई ‘फायर–वाटर रनअफ’ भनेको छ । जसबाट कार्बन मोनोअक्साइड, सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड, बेंजिन, बोलाटाइल अर्गानिक कम्पाउन्ड, पोलिसाइक्लिक एरोमेटिक हाइड्रोकार्बनजस्ता विषालु ग्यास र रासायनिक पदार्थ निस्किन्छ । धातुहरूबाट सिसा, तामा, जिंक, क्याडमियम र अन्य विषालु कार्बनिक रसायनमा टोलुइन, स्टाइरिन, नाफ्थालिन, फर्माल्डिहाइडलगायत निस्किँदा यसले माटोको उर्वराशक्तिदेखि माटोका सूक्ष्म जीवाणुहरू नष्ट गर्ने अध्ययनले देखाएको छ । 

यसबाट उत्पन्न धूवाँले फोक्सोदेखि दीर्घकालमा क्यान्सरको जोखिम बढाउने भनेको छ । यसरी यति धेरै सवारीसाधन एकैपटक जल्दा कति रसायनहरू उत्पादन भए भन्ने नेपालमा कुनै अध्ययन त भएको छैन । तर, सन् २००६ मा केमोस्फियर जर्नलमा प्रकाशित ‘इमिसन्स फ्रम एन अटोमोबाइल फायर’ शीर्षकको अध्ययनअनुसार एउटा चारपांग्रे गाडी जल्दा कार्बनडाइअक्साइड २६५ केजी, कार्बन मोनोअक्साइड ६.५ केजी, हाइड्रोजन साइनाइड ०.१७ केजी, हाइड्रोजन क्लोराइड १.४ केजी र सल्फर डाइअक्साइड ०.५४ केजी उत्पादन हुन्छ ।

यो अध्ययनको आधारमा भदौ २४ गते एकै दिन जलेका १ हजार ६ सय ७६ वटा चारपांग्रे गाडीले मात्र उत्सर्जन गरेको रसायनको मात्रा हेर्दा, कार्बन डाइअक्साइड ४ लाख ४३ हजार ८ सय ७५ केजी उत्पादन भएको छ । 

त्यस्तै, कार्बन मोनोअक्साइड १० हजार ८ सय ८७.५ केजी, हाइड्रोजन साइनाइड २ सय ८४.७५ केजी, हाइड्रोजन क्लोराइड २ हजार ३४५ केजी र सल्फर डाइअक्साइड ९ सय ४.५ केजी उत्पादन भएको छ । 

अध्ययनहरूका अनुसार यी ग्यासहरूले मानव स्वास्थ्यको फोक्सो, मस्तिष्कमा असर, रगतको हेमोग्लोबिनसँग घुलेर शरीरमा अक्सिजनको कमी, आँखा, छाला र श्वासनलीमा जलन गर्छ । 

वातावरणमा भने यसले हरितगृह ग्यास उत्पादन गरेर जलवायु परिवर्तन गर्ने, ओजन प्रदूषण बढाउने, पानीमा मिसिए अम्लीय प्रदूषण गर्ने, जीवजन्तुका लागि विषालु हुने, एसिड वर्षा गराउने, वनस्पति र माटोको उर्वरा घटाउने असर गर्छ । यस विषयमा अध्ययन गरेका त्रिवि वातावरण विभागका सह–प्राध्यापक तथा वातावरण अनुसन्धाता सुदीप ठकुरीका अनुसार एउटा कारमा करिब ११५ केजी पोलिमर (प्लास्टिकजन्य पदार्थ), करिब ५० केजी पेट्रोल तथा तेल र झन्डै १०० केजी प्लास्टिकसहित करिब २०० केजीसम्म जल्न सक्ने पदार्थ हुन्छ, जसको धूवाँ अन्ततः हावामा मिसिन्छ ।

“त्यसैले १२ हजारमध्ये करिब ६ हजार सवारी उपत्यकामा मात्र जल्दा अस्पतालमा बिरामी बढ्न स्वाभाविक पनि हो,” सुदीप भन्छन्, “तर त्यो तत्काल देखिएको समस्या मात्र हो । दीर्घकालीन असर कहिले र कसरी देखिन्छ भन्नेबारे कुनै अध्ययन भएको छैन । तर, यसको असर अहिलेभन्दा पछि हुन्छ ।”

स्टेट अफ ग्लोबल एयरका अनुसार नेपालमा वायु प्रदूषणकै कारण लाग्ने रोगबाट बर्सेनि ४१ हजार मानिसको मृत्यु हुने गरेको छ । वातावरणविद् भूषण तुलाधरका अनुसार एकै दिन हजारौँ सवारीसाधनमा भएको आगलागीमा प्रत्यक्ष सहभागी भएका आन्दोलनकारीहरू सबैभन्दा धेरै प्रभावित हुन सक्ने बताउँछन् । तत्काललाई उनीहरूको आँखा, छाला र श्वासमा देखिए पनि दीर्घकालमा कुनै रोग लाग्ने कारण त्यस दिनभरको प्रदूषणले पनि हुन सक्ने उनी बताउँछन् । 

त्यो दिन विद्युतीय सवारीसाधन पनि जलेका थिए । त्यस्ता गाडी जल्दा लेड एसिडबाट निस्किने सिसाका कण धूवाँमा मिसिएर शरीरमा पुगेमा स्मरणशक्ति कमजोर हुने, मिर्गौलामा क्षति पुग्ने र स्नायु प्रणालीमा असर पर्ने उनले बताए । “त्यसैले त्यस दिनको आन्दोलनले सबै पक्षबाट घाटा मात्रै भयो,” भूषण भन्छन् ।

व्यवस्थापनको छैन टुंगो 

बेवारिसे काम नलाग्ने सरकारी गाडीहरू व्यवथापनका माग राखेर २०७५ मा वातावरण अधिवक्ता पदमबहादुर श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २३ वटा मन्त्रालय र निकायविरुद्ध सर्वोच्च अदालतमा रिट हालेका थिए । २०७७ सालमा अदालतले उनकै पक्षमा आदेश दियो । त्यसपछि सरकारी स्वामित्वमा रहेका सवारीसाधन तथा अन्य बेकम्मा सामग्रीको तथ्यांक तथा व्यवस्थापन गर्न समिति पनि बन्यो । तर, बिग्रिएका गाडीको मर्मत वा पुनःप्रयोग भएन । गाडी राखेकै ठाउँमा सडे ।

त्यसमाथि अहिले भदौमा जलेका गाडी थपिएका छन् । देशभरि जलेको हजारौँ सवारीसाधन अहिले पनि चौरमा, अफिस कम्पाउन्डमा, पार्क, बाटो, सार्वजनिक स्थलहरूमा राखिएको छ । ती सवारीसाधनलाई सही स्थानमा तुरुन्तै व्यवस्थापन गर्न जरुरी रहेको वातावरणकर्मीहरू बताउँछन् । “अब जलिसकेको वस्तुको व्यवस्थापनमा ध्यान दिनुपर्छ,” वातावरणविद् भूषण भन्छन्, “तर, ती सामग्री बाटो, पार्क र झाडीमै फालिएको छ । त्यसले अर्को असर गरिरहेको छ ।”

Burnt-Vehicles-in-the-Gen-Z-Movement-NIMJN-(3)-1775730543.JPG
संसद भवन नयाँ बानेश्वरमा आगजनी पछिको खरानी । तस्बिर : अनिता भेटवाल/निमजिन

सवारीसाधनबाट निस्किएको खरानीको पनि व्यवस्थापन हुनुपर्नेमा विज्ञको जोड छ । यो खरानी परेको ठाउँ त्यति हानिकारक छ कि यहाँ केही पनि उम्रिँदैन । त्यसैले यसलाई उठाएर पानीको मुहानभन्दा टाढा विशेष ठाउँमा गाड्नुपर्ने वातावरण अनुसन्धाता सुदीप बताउँछन् । भन्छन्, “आंशिक जलेकाहरूमा रहेको धातु, बाँकी रहेको पेट्रोलहरूहरू पानी पर्दा ढल हुँदै नदीमा मिसिने जोखिम हुन्छ ।” 

उपत्यकामा जलेका सवारीहरूको सहरी विकास मन्त्रालयको नेतृत्वमा संसद् भवन, नयाँ बानेश्वरको पार्किङस्थलमा जम्मा गर्नेक्रम जारी छ । तर, यसरी जम्मा गरिएको स्थलनजिकै बानेश्वरमा खानेपानीको ट्यांकी पनि छ । जुन वातावरण र स्वास्थ्यको हिसाबले जोखिममा भएको अनुसन्धाताहरू बताउँछन् । वातावरणविद् भूषण तुलाधर भन्छन्, “जलेका सवारीको खरानी, उब्रिएको पेट्रोल र अन्य धातुहरू पानी परेको बेला पखालिँदै माटोमा सोसिँदा खानेपानी ट्यांकी नजिकै हुँदा त्यो रसाउन सक्छ । त्यसैले यो व्यवस्थापन चाँडो गर्नुपर्‍यो ।”

जलेका सरकारी गाडीहरू सम्बन्धित मन्त्रालय आफैंले व्यस्थापन गर्ने र त्यसमा सहरी विकास मन्त्रालयले सघाउने जिम्मेवारी छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीका अनुसार अहिलेसम्म १७ वटा मन्त्रालय र ८ वटा विभागका पूर्णरूपमा जलेका सवारीसाधन संकलन गरेर संघीय संसद् भवन, नयाँ बानेश्वरमा राखिएको छ । 

तर, त्यहाँबाट सही स्थानमा व्यवस्थापन गर्न वा लिलामी गर्र्न भने सम्बन्धित मन्त्रालयहरूले नै ढिलो गरिरहेको उनी बताउँछन् । अहिलेसम्म जम्मा तीनवटा निकायबाट मात्र लगत कट्टा भएर आएको र ६ महिना बित्दा पनि २१ वटा मन्त्रालयहरूले लगत कट्टा गरेर विवरण सहरी विकासमा नबुझाएको उनी बताउँछन् । “फेरि सबै मन्त्रालयको लगट कट्टा भएर आएपछि मात्र लिलामी प्रक्रिया हुन्छ,” उनी भन्छन् । 

Burnt-Vehicles-in-the-Gen-Z-Movement-NIMJN-(5)-1775730545.JPG
संसद भवन नयाँ बानेश्वरमा थुपारिएका गाडी । तस्बिर : अनिता भेटवाल/निमजिन

उपत्यकाबाहिर जलेका सवारीहरूको व्यवस्थापनबारे सरकारबाट अहिलेसम्म कुनै पहल भएको छैन । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मकवानपुरको कम्पाउन्डमा जलेका दुईवटा विद्युतीय सवारीसहितका १० वटा गाडी त्यहीँ कुनामा राखिएका छन् । मन्त्रालयका सूचना अधिकारी वासुदेव दाहालका अनुसार व्यवस्थापन गर्ने भनेर एउटा समिति नै बनेको भए पनि हालसम्म लगत कट्टा भएको छैन । “कहिले हुन्छ भनेर भन्न पनि सकिँदैन,” उनी भन्छन्, “यसको प्रक्रिया झन्झटिलो नै भएर होला ।” 

नेपाल नगरपालिका संघका अध्यक्ष तथा धादिङको नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानाका अनुसार पालिकाहरूले प्रयास गरिरहेका छन् तर धेरै स्थानमा व्यवस्थापन हुनै बाँकी छ । उनी भन्छन्, “सरकारले उपत्यकाको हकमा एउटा निकायलाई जिम्मेवारी दियो । प्रदेश र स्थानीय तहको हकमा सम्बोधन पनि गरेन ।”

वातावरणीय असरको हिसाबमा हेर्दा उपत्यका बाहिरका जिल्लाहरूमा जलेर रहेका गाडीहरूले अझ धेरै असर गर्ने त्रिवि वातावरण केन्द्रीय विभागकी प्राध्यापक रेजिना मास्के बताउँछिन् । गाडी चल्दाको खरानी नजिकैको खेतीयोग्य जमिन वा पानीको स्रोतमा पुग्न सक्ने र यसले माटोको पूरै उर्वरा नै घटाउने जोखिम रहेको उनी बताउँछिन् । 

- यो स्टोरी रिपोर्ट  फर द वर्ल्डसँगको सहकार्यमा तयार पारिएको हो । यो सामग्री निमजिनको पुन: प्रकाशन नीतिअनुसार तपाईँले पनि आफ्नो सञ्चार माध्यममा प्रकाशन गर्न सक्नुहुने छ । पुन: प्रकाशन नीति यहाँ छ । 

टिप्पणीहरू