नेभिगेसन
१७ लाख नेपालीको सपनामा युद्धको धूँवा Radhika Adhikari सोमबार, चैत १६, २०८२

अमेरिका र इजरायले इरानमाथि आक्रमण सुरु गरेपछि खाडीका देशमा बढेको तनावले नेपाली पनि प्रभावित भएका छन् । युद्धकै कारण एक नेपालीको ज्यान गएको छ । युद्ध लम्बिँदै जाँदा खाडीमा रहेका १७ लाख नेपालीको घरपरिवारमाथि चिन्ता पनि थपिँदो छ । 

गोरखाको भीमसेन थापा गाउँपालिका–७, बोर्लाङको एउटा सानो घर अहिले शोकमा डुबेको छ । अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेको दोस्रो दिन फागुन १७ मा संयुक्त अबर इमिरेट्सको आबुधाबीमा २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएपछि यो परिवार आँसुमा डुबेको छ । 

features-1719398032.pngआबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा गार्डका रूपमा कार्यरत उनलाई इरानले हानेको मिसाइलका टुक्राले लागेको थियो । अमेरिका र इजरायलले गरेको आक्रमणको बदलामा इरानले खाडीका देशमा रहेका अमेरिकी सैन्य बेसलाई लक्षित गर्दै मिसाइल हानेको थियो । त्यस्तै एउटा मिसाइल दिवस कार्यरत विमानस्थलमा खसेको थियो । 

आक्रमणमा पर्नुभन्दा केही समयअघि मात्र दिवसले आफ्नो परिवारसँग कुरा गरेका थिए । युद्धको समाचारले त्रसित बनेका बुबा, आमालाई उनले ढाडस दिँदै दिवसले ‘यहाँ केही हुन्न, म सुरक्षित ठाउँमा छु, तपाईंहरू चिन्ता नगर्नुस् ।’ भन्दै फोन गरेको उनका काका रमेश श्रेष्ठले जानकारी दिए । 

आफू सुरक्षित छु भनेका दिवस बाकसमा फर्किए । उनको यो मृत्युले एउटा परिवार मात्र होइन, खाडीमा पसिना बगाइरहेका १७ लाख २९ हजार नेपालीका घरमा सन्त्रास फैलिएको छ । नेपालमा इन्जिनियरिङ पढेर उज्ज्वल भविष्यको खोजीमा ४ वर्षअघि परदेसिएका उनी पछिल्लो पटक २०८१ सालको दसैँ मानेर यूएई गएका थिए । 

युद्धमा परेर नेपालीकै मृत्यु भएपछि खाडीमा रहेका अरू नेपालीले आफू सुरक्षित रहेको भन्दै बारम्बार परिवारलाई सम्झाइरहनुपरेको झापा गौरीगन्जका सोमबहादुर (परिवर्तित नाम) ले बताए । १० वर्षदेखि संयुक्त अरब इमिरेट्सको जेबल अली सहरमा ट्याक्सी चलाउँदै आएका उनी अहिलेको दिनचर्या ट्याक्सीको स्टेरिङ घुमाउनभन्दा पनि नेपालमा रहेकी श्रीमतीलाई ‘म सुरक्षित छु’ भनेर सम्झाउनमा बित्ने गरेको बताउँछन् । 

“सोसल मिडियामा बुर्ज खलिफा चकनाचुर भएको भिडियो हालियो, तर खासमा यहाँ केही भएकै छैन” सोमबहादुर भन्छन् । सोसल मिडियामा फैलाइएका ‘फेक इन्फरमेसन’ र पुराना युद्धका भिडियोहरूले नेपालमा रहेका परिवारलाई कतिसम्म त्रसित बनाएको छ भन्ने सोमबहादुरको भोगाइले प्रस्ट पार्छ । उनी थप्छन्, “श्रीमती आत्तिएर फोन गर्छिन् । म यहाँ अवस्था सामान्य छ भन्छु । तर गाउँका अरूले अवस्था भयावह छ भनिदिँदा रहेछन्, मेरो कुरामा विश्वासै गर्दिनन् ।”

कुवेतमा रहेका नुवाकोट दुप्चेश्वरका सुनबहादुर (नाम परिवर्तित) कै अवस्था पनि सोमबहादुरको जस्तै छ । कुवेतको फरवानिया सिटीमा १० वर्षदेखि ट्याक्सी चलाउँदै आएका उनका लागि बालुवाको राप र परदेशको संघर्ष नयाँ होइन, तर अहिलेको परिस्थिति भने पहिलेभन्दा निकै फरक र भयावह छ । कुवेतको सडकमा ट्याक्सी गुडाउँदा उनको नजर सधैं आकाशतिर हुन्छ— कतै कुनै ‘ड्रोन’ त खसेन ?

“पहिलेभन्दा अहिले माहोल अलि डरलाग्दो छ । बेलाबेला सहरमा साइरन बज्छ, विशेषगरी राति र बिहानपख सातो जाने गरी साइरन बज्दा मुटु काँप्छ” निमजिनसँगको टेलिफोन सम्पर्कमा सुनबहादुरले बोलेका शब्दमा खाडीमा रहेका लाखौं नेपालीको साझा मनोविज्ञान सुनिन्छ ।

इरान र इजरायलबीचको बढ्दो तनावको बाछिटा खाडीका अन्य देशमा पनि पर्न थालेपछि श्रमिकहरूमा मानसिक तनाव चुलिएको छ । सुनबहादुर भन्छन्, “म बसेको ठाउँ नजिकै ड्रोन खस्यो भन्ने हल्ला चल्छ । समाचारमा हेर्दा आङ नै जिरिङ हुन्छ । आँखाले प्रत्यक्ष नदेखे पनि त्रासले छोडेको छैन ।”

गवान् बुद्धको देशबाट शान्तिको सन्देश बोकेर खाडी पुगेका नेपालीहरू अहिले मिसाइल र ड्रोनको बीचमा उभिएर आफ्नै ज्यानको सुरक्षाका लागि प्रार्थना गरिरहेका छन् । “हाम्रो प्रार्थना त एउटै छ— सबै कुरा चाँडै सामान्य होस्, भगवान्ले सबैको रक्षा गरून्,” हामीसँगको कुराकानीको अन्त्यमा सुनबहादुरले प्रार्थना गरे । 

दुबईमा रहेकी सुजता लामिछानेको अनुभव भने अलि फरक छ । उनी खाडीको आकाशमा मिसाइलको गर्जन सुनिए पनि जमिनमा रहेका नेपालीहरूका लागि त्यति धेरै खतरा नरहेको बताउँछिन् । उनका अनुसार नेपालमा सुनिएको जस्तो भयावह अवस्था उनी बसेको ठाउँमा छैन । उनी भन्छिन्, “बेलाबेला बम पड्केको आवाज त सुनिन्छ, तर यता आउने वस्तुहरू आकाशमै डिस्पोज पारिन्छ ।”

गुम्दै रोजगारी र अन्योलको भविष्य

नेपाली कार्यरत खाडीका यूएई, कतार, बहराइन, कुवेत, साउदी अरेबिया प्रत्यक्ष युद्धमा छैनन् । तर ती देशमा अमेरिकी सैन्य बेस छ । इरानले तिनै बेसलाई लक्षित गर्दै मिसाइल प्रहार गरिरहेको छ । 

आक्रमणको प्रत्यक्ष असर भौतिक क्षतिमा भन्दा बढी त्यहाँको जनजीवन र रोजगारीमा देखिएको छ । सोमबहादुरका अनुसार सरकारी र निजी कार्यालयहरू बन्द हुँदा सडकमा मानिसहरूको आवतजावत शून्यप्रायः छ । “मानिसहरू घरबाहिर ननिस्किएपछि ट्याक्सी चलाउने काम पनि ठप्प भएको छ,” उनी भन्छन् ।

एकातिर काम नहुँदा कमाइ रोकिने पीर छ भने अर्कोतिर यो अन्योल कहिलेसम्म रहन्छ भन्ने कुनै निश्चित छैन । झापामा रहेकी श्रीमती र दुई छोराछोरी तथा काठमाडौंमा रहेका वृद्ध आमाबुवाको जिम्मेवारी बोकेका सोमबहादुरजस्ता श्रमिकका लागि ‘घर फर्कूँ कि यतै बसूँ’ भन्ने प्रश्न पहाड बनेर उभिएको छ ।

रौतहटका सन्देश (परिवर्तित नाम) पनि कतारमा यस्तै अन्योलको समय गुजारिरहेछन् । कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सन्देशको अहिले नियमित काम छैन् । “केही दिन त ठिकै हो, तर अवस्था लम्बिए कोठामै बसेर कसरी गुजारा चलाउने ?” सामाजिक सञ्जाल फेसबुकमार्फत सम्पर्कमा आएका सन्देशले प्रश्न गरे ।

घर फर्कनेलाई आहात भयो ‘साउदी ट्रान्जिट’ 

मध्यपूर्वमा जारी तनावका कारण ८२ हजार १ सय जनाभन्दा बढी नेपाली नागरिकले स्वदेश फर्किनका लागि आफ्नो विवरण टिपाएका छन् । 

परराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार परराष्ट्र मन्त्रालयको अनलाइन दर्ता प्रणालीमा विवरण बुझाउने यी श्रमिकहरूमध्ये कोही भिसा सकिएर त कोही युद्धको डरले घर फर्कन आतुर छन् । जसमध्ये ६ हजार जना जतिले असुरक्षित रहेको उल्लेख गरेका उनले बताए । तर असुरक्षित रहेको भनेर गुनासो गर्नेहरू घट्दै गएको उनले बताए ।

ट्रान्जिटमा रहेका श्रमिकलाई विभिन्न उपाय लगाएर गन्तव्यमा पठाएको भए पनि सरकारले आपत्मा परेकालाई उद्धारको काम भने सोचेअनुसार गर्न सकेको छैन । विदेशमा कार्यरत श्रमिकको क्षेत्रमा काम गरिरहेको संस्था श्रमिक सञ्जालका सदस्य हरिकृष्ण न्यौपाने भन्छन्, “भिसा सकिएका, बिरामी परेका, नेपालमा पारिवारिक समस्यामा परेकाहरूलाई वैकल्पिक व्यवस्था गर्ने तयारी भइरहे पनि त्यो अझै पुगेको छैन ।” 

nepali-nimjn-socialmedia-1770359694.pngकुवेत, कतार तथा बहराइनबाट नेपाल फर्कन चाहनेहरूलाई स्थलमार्ग हुँदै साउदी अरब पुग्ने र त्यहाँबाट हवाई मार्गबाट नेपाल आउने र जाने व्यवस्थाका लागि सरकारले भिसालगायतमा सहजीकरण गरेको छ । 

तर ‘साउदी ट्रान्जिट’ को विकल्प श्रमिकहरूका लागि राहतभन्दा बढी आहत बनेको छ । सरकारले साउदी हुँदै यात्रा गर्नका लागि सूचना सार्वजनिक भएलगत्तै खाडीमा रहेका नेपालीहरूले यसलाई ‘उद्धारका नाममा लुट’ को संज्ञा दिएका छन् । दूतावासको सूचनाअनुसार कुवेतबाट नेपाल फर्किन मात्रै करिब ४ सय कुवेती दिनार (करिब १ लाख ७५ हजार रुपैयाँ) खर्च हुने देखिन्छ ।

कुवेतबाट हाम्रो टेलिफोन सम्पर्कमा आएका विकास भट्टराई आक्रोश पोख्छन्, “खाने पैसा नभएका बेला ४ सय केडी तिरेर कसरी नेपाल फर्कनु ?” श्रमिकहरूका अनुसार सामान्य अवस्थामा २०–३० हजार रुपैयाँ लाग्ने टिकटको मूल्य अहिले १ लाख नाघेको छ । त्यसमाथि साउदीको भिसा शुल्क, यातायात खर्च र सीमा पार गर्ने झन्झटले श्रमिकलाई थप मानसिक पीडा दिएको सुनबहादुर बताउँछन् । 

प्रवासी नेपाली समन्वय समितिका सल्लाहकार कुलप्रसाद कार्की दूतावासहरू आफ्नो जिम्मेवारीबाट पन्छिन यस्तो निर्णय गरिएको बताउँछन् । “मासिक ७०–८० केडी तलब हुने श्रमिकले ४ सय केडी तिरेर कसरी नेपाल आउन सक्छन् ?” प्रश्न गर्दै उनी थप्छन् “यो प्रक्रियामा एउटा श्रमिकको ६ देखि १० महिनाको कमाइ सकिन्छ ।” 

विदेशमा भएकाले आउन पाएनन्, स्वदेशकाले जान

युद्ध र तनावको प्रत्यक्ष असर अहिले नेपालको वैदेशिक रोजगार क्षेत्रमा प्रस्टै देखिन थालेको छ । हवाई उडानहरू प्रभावित हुनुका साथै सुरक्षा जोखिम बढेपछि सम्पूर्ण प्रक्रिया पूरा गरी भिसा आइसकेका करिब २० हजार नेपाली कामदार विदेश उड्न नपाई नेपालमै रोकिएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष राजेन्द्र भण्डारीका अनुसार मध्यपूर्वको तनावले दैनिक सयौँ नेपालीले वैदेशिक रोजगारीको अवसर गुमाइरहेका छन् ।

सामान्य अवस्थामा वार्षिक करिब साढे ३ लाख नेपाली कामदार खाडी मुलुक जाने गर्थे । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार मासिक २५ हजार र दैनिक ८ सयदेखि ९ सयको हाराहारीमा नेपालीहरू रोजगारीका लागि उड्ने गर्थे । तर, पछिल्लो २० दिनको अवधिमा १८ देखि २० हजार मानिस भिसा हातमा भएर पनि जान पाएका छैनन् ।

राजेन्द्र भन्छन्, “युद्ध लम्बिने देखिएको छ र सुरक्षाका कारण अहिले कामदार पठाउन सक्ने अवस्था छैन ।” यद्यपि रोजगारदाता कम्पनीहरूले अहिलेसम्म सम्झौता तोडेर कामदार फिर्ता पठाउने औपचारिक निर्णय भने गरिसकेका छैनन् । उड्न नपाएर नेपालमै रोकिएका युवाहरू आर्थिक भारमा परेका छन् ।

सरकारी चेतावनी र सूचना

खाडीका देशमा तनाव बढेसँगै अफवाह र भ्रामक सूचनाको जोखिम पनि बढेको छ । यूएई सरकारले सामाजिक सञ्जालमा अपुष्ट सूचना, फोटो वा भिडियो नफैलाउन स्पष्ट चेतावनी दिँदै त्यसो गरेमा कडा कानुनी कारबाही हुने बताएको छ ।

यूएई सरकारको आग्रहलाई अटेरी गर्दै सामाजिक सञ्जालमा फोटो भिडियो राख्ने ७ जना नेपाली पक्राउ परेका प्रवक्ता लोकबहादुरले बताए । यूएईले युद्धका क्रममा खसेका मिसाइल, विस्फोट तथा आगलागी र भत्केका भवन तथा संरचनाको फोटो भिडियो सामाजिक सञ्जालमा नराख्न भनेको छ । 

यूएईस्थित नेपाली दूतावासले ‘एडभाइजरी–२’ जारी गर्दै नेपाली समुदायलाई संयमित र जिम्मेवार बन्न अपिल गरेको छ । यूएई मात्र होइन, कतार, साउदी अरब, इजरायल र कुवेतस्थित नेपाली दूतावासहरूले पनि उच्च सुरक्षा सतर्कता अपनाउन र आधिकारिक सूचना मात्र विश्वास गर्न अनुरोध गरेका छन् ।

यो सामग्री हाम्रो पुन: प्रकाशन नीति अनुसार तपाईँले पनि आफ्नो सञ्चार माध्यममा प्रकाशन गर्न सक्नुहुने छ । पुन: प्रकाशन नीति यहाँ छ । 

टिप्पणीहरू