गैरकानुनी रूपमा अमेरिका जाने क्रममा क्यारेबियन सागरमा करिब पाँच वर्षअघि डुंगा दुर्घटनामा परेर हराएका ७ जना नेपाली युवकको अवस्था अझै पत्ता लागेको छैन । कुनै निकायबाट खोजी नभएपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टिसमेत गरेका छन् । ती युवकलाई अमेरिका पठाउनेमाथि मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा मुद्दा चलाए पनि उनी जेल पर्दै छुट्दै गरेका छन् । उनले त्यो दुर्घटनापछि पनि गैरकानुनी रूपमा अमेरिका पठाउने गरेको पाइएको छ ।
अमेरिका जाने क्रममा क्यारेबियन सागरमा डुंगा पल्टिएर ७ जना नेपाली युवा बेपत्ता भएको झन्डै ५ वर्ष भएको छ । गैरकानुनी बाटोबाट अमेरिका जाने क्रममा बाँके घर भई दाङको तुलसीपुर बस्ने एक युवकसहित दाङका तीन जना, पर्वतका दुई जना, स्याङ्जाका एक जना र नाम–ठेगाना नखुलेका अर्का एक जना डुंगा दुर्घटनामा परेर हराइरहेका छन् ।
८ नेपाली र १० बंगलादेशी चढेको डुंगा कोलम्बियाको निकोक्लीबाट कपुरगाना जाने क्रममा जुन २१, २०२१ (असार ७, २०७८) को राति आँधीमा परेर समुद्रमा डुबेको थियो । त्यसमध्ये ५ बंगालादेशी र एक नेपालीको उद्धार भए पनि अरू हराएका थिए । हराएकाहरूका बारेमा परिवारले अहिलेसम्म आधिकारिक जानकारी पाउन सकेका छैनन् । उनीहरूका बारेमा न त स्वदेशी निकाय, न त विदेशी निकाय, कहीँ कतै पनि कुनै जानकारी छैन ।
हराउनेमध्येका दाङका तीन युवकलाई अमेरिका लैजाने दाङकै ४५ वर्षीय एक एजेन्ट टोपबहादुर जीसी मानव बेचबिखन तथा ओसारपसार कसुरमा दुईपटक जेल परेर छुटिसकेका छन् । अरू युवकहरूलाई लैजाने एजेन्टहरूबारे न कुनै निकायले खोजी गरेका छन्, न त उजुरी नै परेको छ ।
अमेरिका जाने क्रममा दुर्घटनामा परेर बेपत्ता हुनेमा दाङको बबई गाउँपालिका– ५, हापुरे निवासी रेशम ढेंगा मगर (२६) पनि रहेका उनका काका जितबहादुरले बताए । उनका अनुसार रेशमलाई अमेरिका लैजाने भनेर टोपबहादुरले पुग–नपुग दुई वर्ष विभिन्न देशहरूमा घुमाएका थिए । रेशमलाई टोपबहादुरले सबैभन्दा बढी डेढ वर्ष युक्रेनमा राखेका थिए ।
“पैसा नहालेसम्म एजेन्टले हिँडाएन, अघिल्लो दिन मात्र मैले टोपबहादुरलाई साढे ४ लाख रुपैयाँ हालिदिएको थिएँ, हिँडेको भोलिपल्ट त दुर्घटनामा पर्यो भन्ने खबर आयो,” जितबहादुरले भने, “हालसम्म रेशमको कुनै अत्तोपत्तो छैन । कुनै पनि सरकारी निकायले उसको अवस्था के छ भनेर अहिलेसम्म हामीलाई सोधेका पनि छैनन् ।”
रेशम दुर्घटनामा पर्नुअघिसम्म आफैँले रकमको जोहो गरी टोपबहादुरलाई साढे २८ लाख रुपैयाँ दिएको जितबहादुरले बताए । “रेशमले मैले कमाएर तिर्छु, रकम खोजिदिनुस्, विदेश जान पर्यो भनेपछि म उसलाई रकम खोज्न जुटेको थिएँ,” उनले भने ।
दुर्घटनामा परेका बाँकेको खजुरा गाउँपालिका–२, के गाउँ घर भई दाङ, तुलसीपुर बस्दै आएका ४३ वर्षीय हेमराज अधिकारीका परिवारले भने कुशको शव बनाएर उनको मृत्युपछिको कर्म गरिसकेका छन् । चिनेका व्यक्तिमार्फत नेपाली दूतावासमा बुझ्न लगाउँदा दुर्घटनामा घाइते अवस्थामा भेटिएका बाहेक अरूको मृत्यु भएको भन्ने खबर आएपछि दाहसंस्कार गर्ने निधो गरेको हेमराजका भाइ ताराले बताए । “हामीले मृत्यु भएको भन्ने खबर पायौँ तर शव भेटिएन र कुशको शव बनाएर किरण खोलामा दाहसंस्कार गर्यौँ,” ताराले भने, “बुबा र भाउजू १३ दिन किरियामा बस्नुभयो, हामी अरूले ठाडो किरिया गर्यौँ ।” हेमराजकी श्रीमती छाया भुसाललाई टोपबहादुरले नै दुर्घटनाबारे पहिलो अपुष्ट खबर सुनाएका थिए ।
सोही डुंगा दुर्घटनामा परी बेपत्ता भएका दाङका २१ वर्षे एन्जल बुढामगरको पनि अहिलेसम्म कुनै अत्तोपत्तो छैन । एन्जलका परिवारका सदस्यहरूले जोखिमपूर्ण रूपमा अमेरिका पठाउने टोपबहादुर र त्यस्तै गिरोहका सदस्यहरूलाई पक्रेर कारबाही गर्नुपर्ने माग गर्दै आएका छन् ।
“हामीले परराष्ट्र मन्त्रालय, मानव बेचबिखन अनुसन्धान ब्युरोलाई भनियो, तर भतिज (एन्जल) को अवस्था के छ भनेर अहिलेसम्म केही थाहा पाएका छैनौँ,” एन्जलका ठूलो बुबा पूर्णबहादुरले भने, “अब त भाइ (एन्जलका बुबा) ले दुनियाँदारी गर्दा पनि केही भएन, मेरो छोरा पनि फर्केर आउने होइन, छोडिदेऊ भन्न थाले । तर, म अझै पनि भन्छु– जुन खालको क्षति परिवारले भोगेको छ, त्यस्तो बनाउने गिरोहलाई ठिक पारेर जानुपर्छ ।”
दुर्घटनाको खबर एन्जलका काका जनकले असार १०, २०७८ (जुन २४, २०२१ ) मा पाएका थिए । अमेरिका जाने क्रममा मेक्सिकोमा पुगेका दाङकै अर्का एक युवकले फोन गरेर ‘स्पेनिस न्युजमा बाबुहरू चढेको बोट दुर्घटनामा परेको खबर आएको छ’ भनेपछि थाहा पाएको उनले बताए ।
दुर्घटनापछि जनकले असार १३, २०७८ मा पानामाको अस्पतालमा उपचाररत बंगलादेशीहरूलाई फोन गरेर बुझेका थिए । तर, उनीहरूले दुर्घटनाबारे भने पनि एन्जललगायतको अवस्था बताउन सकेनन् ।
जनकले दुर्घटना थाहा पाएलगत्तै असार १० मा के भएको हो भनेर सोध्दा टोपबहादुरले एन्जल परेको होइन भनेका थिए । एन्जलका काका जनकलाई टोपबहादुरले ह्वाट्सएपमा सन्देश पठाएका थिए, ‘अँ दाइ योचाहिँ नेपाली हो कि नाइँ, हाम्रो केटा त होइन, त्यो नारायणको रहेछ, मैले नारायणलाई पठाइदिएको छु, अहिले त सुत्या छ । अब, भोलि बिहान तपाईंलाई कल गर्छु । जहाँसम्म लाग्छ, नेपाली होइन ।’ नारायण अमेरिका पठाउने अर्का एजेन्ट हुन् भन्ने बुझिए पनि उनको बारेमा थप विवरण फेला परेन ।
सोही दुर्घटना परेर बेपत्ता भएका पर्वतका एक युवकका बुबाले भने यस विषय आफूले केही पनि नबोल्ने बताए । उनले भने, “मैले पहिला नै भो भनेँ, यो विषयमा फोन नगर्नुहोला ।” ती युवकलाई अमेरिका लैजान हिँडाएका एजेन्टविरुद्ध उजुरी परेको पनि भेटिएको छैन ।
खोजबिनमा उदासीन
दुर्घटनामा परेका ती युवककाबारेमा मात्र होइन, उनीहरू पठाउने एजेन्टका बारेमा पनि खोजी नीति गर्न सरकारी निकायले चासो दिएको पाइँदैन । परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभाग र नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा सम्पर्क गर्दा उनीहरूको अवस्थाबारे अद्यावधिक जानकारी भेटिएन ।
नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (निमजिन) ले बेपत्ता नेपालीहरूको खोजतलास तथा उद्धारका लागि कन्सुलर सेवा विभागबाट के भएको छ भनेर साउन ३०, २०८२ मा जानकारी मागेको थियो ।
जवाफमा विभागले उनीहरूको अवस्थाबारे कुनै अद्यावधिक जानकारी नरहेको बताएको छ । “मिडियामा आएको बाहेक कन्सुलर सेवा विभागमा कुनै आधिकारिक जानकारी छैन र खोजतलास तथा उद्धारका लागि कसैले निवेदन पनि दिएको छैन,” विभागका तत्कालीन प्रवक्ता लेखनाथ गौतमले भने, “यो पत्र (निमजिनले सूचना मागेको निवेदनपत्र) हामीले दुर्घटनास्थल भएको देश हेर्ने नेपाली दूतावासमा पठाएर जानकारी लिने छौँ ।”
त्यसपछि विभागले ब्राजिलस्थित नेपाली दूतावासलाई निमजिनको पत्र फरवार्ड गरेको थियो । ब्राजिलस्थित नेपाली दूतावासले भदौ ४, २०८२ मा कन्सुलर सेवा विभागमार्फत निमजिनलाई पठाएको जवाफमा दुर्घटनाको बेला मिडियामा आएका खबरहरूबाहेक कुनै थप जानकारी नरहेको उल्लेख छ ।
“सूचना माग गर्नुहुने संवाददाताले उल्लेख गर्नुभएझैं अवैध बाटो हुँदै अमेरिका जाने नेपालीहरूले बाटोमा विभिन्न प्रकारका समस्याहरू भोग्नुपरेको जानकारी विभिन्न स्रोतहरूबाट आउने गरेको छ,” ब्राजिलस्थित नेपाली दूतावासले भनेको छ, “जुन २१ (असार ७) मा कोलम्बिया आसपास समुद्री क्षेत्रमा भएको दुःखद् डुंगा दुर्घटनामा नेपालीहरूले ज्यान गुमाएको समाचार प्राप्त भएपछि यस दूतावासबाट सम्बन्धित मुलुकहरूमार्फत जानकारी हासिल गर्ने प्रयास गरेको थियो । लामो प्रयासपछि पनि कतैबाट आधिकारिक जानकारी हासिल हुन सकेको छैन ।”
निमजिनले वेपत्ता व्यक्तिबारे कन्सुलर सेवा विभागमा चैत १७, २०८२ मा पुन अद्यावधिक जानकारी मागेको थियो । तर विभागले अद्यावधिक जानकारीका लागि सम्बन्धित दूतावासमा खबर गरिएको र त्यताबाट थप केही जानकारी नआएको बताएको छ ।
यो दुर्घटनामा परेर घाइते अवस्थामा उद्धार भएका म्याग्दीका प्रकाश विक पछि अमेरिका पुगिसकेको पाइएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । ब्युरोले अरुहरूको खोजतलासका लागि असार २८, २०७८ मा इन्टरपोल शाखा, नक्साललाई पत्रसमेत पठाएको थियो । त्यसबारे अहिलेसम्म अद्यावधिक कुनै जानकारी प्राप्त हुन सकेको छैन ।
“ तिनीहरु हराएको हराएै भए, अहिलेसम्म कुनै कुनै खबर छैन,” ब्युरो प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद पँगेनीले भने ।
कोलम्बियाको कार्टाजेना डे इन्डियास डीटी एन्ड सी महानगरपालिकास्थित प्रहरी निरीक्षण कार्यालयले दिएको जानकारीअनुसार नेपाल र बंगलादेशका विभिन्न ठाउँका पुरुष, महिला र बालबालिकाले डारियन तट हुँदै अमेरिका प्रवेश गर्नका लागि यो डुंगामा यात्रा गरेका थिए । तर समुद्रमा छालहरूको ठूलो प्रहारका कारण डुंगा दुई दुक्रा भएर दुर्घटना भएको थियो । “यस दुर्घटनामा धेरै व्यक्तिहरूले ज्यान गुमाएका थिए । अझै धेरै जानकारी अज्ञात नै छ,” प्रहरी इन्सपेक्टर इरेने बार्रिओस पाजको हस्तक्षरमा निमजिनले प्राप्त गरेको स्पानिस भाषा लेखिएको पत्रमा भनिएको छ, “बाँचेका व्यक्तिले अनुवादकमार्फत बताएको कुरा र माछा मार्नेहरूको बयानबाट थोरै जानकारी मात्र ज्ञात भएको छ ।”
त्यही ढुंगा दुर्घटनामा परेका एन्जलका बारेमा कुनै जानकारी नपाउँदा उनका ठूलो बुबा पूर्णबहादुरले असार २८, २०७८ मा मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी गरेका थिए । “खै ! कति लाग्दा पनि भतिजको बारे केही पत्ता लाग्न सकेको छैन,” पूर्णबहादुरले भने, “हामीले मानव बेचिबिखन अनुसन्धान ब्युरोमा जानकारी पनि गरायौँ, टोपबहादुरविरुद्ध मानव बेचबिखनको मुद्दा पनि गर्यौं, तर केही पनि भएन ।”
टोपबहादुरले छाडेनन् अमेरिका पठाउन
आफूले अमेरिका पठाउन लागेका युवा डुंगा दुर्घटनामा परेपछि पनि टोपबहादुरले गैरकानुनी रूपमा अमेरिका पठाउने काम जारी राखेको पाइएको छ । एन्जलका परिवारले साउन २४, २०७८ मा दायर गरेको मानव बेचबिखन मुद्दामा जिल्ला अदालत, काठमाडौंबाट सफाइ पाएका टोपबहादुरले त्यसपछि त्यो दुर्घटनामा परेका परिवारका सदस्यलाई नै अमेरिका पठाएका छन् ।
‘जे हुने भइहाल्यो, अब अरू कुरामा नलाग्नु’ भन्दै टोपबहादुरले आफूलाई अमेरिका पठाउने आश्वासन दिएको दुर्घटनामा बेपत्ता भएका हेमराजकी श्रीमती छायाले बताएकी थिइन् । उनै छाया डेढ वर्षअघि टोपबहादुरमार्फत नै अमेरिका पुगिसकेको परिवारका सदस्यले जानकारी दिए । छायासँग भने हाल निमजिनको कुराकानी हुन सकेको छैन । उनले ३ वर्षअघि दिएको मोबाइल नम्बर प्रयोगमा छैन ।
छायाकी बहिनीज्वाइँ गोविन्द अधिकारीलाई पनि टोपबहादुरले अवैधानिक बाटोबाट अमेरिका पठाएको हेमराजको परिवारले जनाएको छ ।
रेशम ढेंगा मगरका काकाका छोरालाई पनि उनले त्यसरी नै अवैधानिक बाटोबाट अमेरिका पठाएका छन् । छोरालाई अमेरिका पठाउन टोपबहादुरले साढे ६२ लाख रुपैयाँ लिएको रेशमका काका जितबहादुरले बताए ।
अमेरिका पठाउने टोपबहादुर को हुन् ?
दाङको घोराही उपमहानगरपालिका–१४, मिलनटोल निवासी ४५ वर्षीय टोपबहादुर जिसीले सुरुमा दाङबाट प्रकाशित हुने गणतन्त्र दैनिकको छापाखानामा काम गर्थे ।
उनी २०७० देखि ०७६ सम्म नेपाल पत्रकार महासंघ दाङका साधारण सदस्यसमेत थिए । पत्रकार महासंघ, दाङ शाखाबाट २०७१ वैशाखमा प्रकाशित सञ्चार डायरीमा उनको फोटोसहित नाम, पत्रिकाको नाम, मोबाइल नम्बर र इमेल छ ।
मिडियामा काम गर्दै उनी दाङ क्षेत्र नं. ३ (ख) मा एमालेको तर्फबाट निर्वाचित तत्कालीन लुम्बिनी प्रदेश सांसद उत्तरकुमार ओली, जो युवालाई विदेश पठाउने एजेन्ट पनि थिए– सँग जोडिए ।
माघ २४, २०७५ मा गाडी दुर्घटनामा परेर गम्भीर भएका उत्तर ओलीको फागुन १० गते निधन भएको थियो । उनको निधन भएपछि टोपबहादुर आफैँले युवाहरूलाई गैरकानुनी र जोखिमपूर्ण बाटोबाट अमेरिका पठाउन थालेको उनलाई चिन्नेहरू र पीडितका आफन्तहरू बताउँछन् । टोपबहादुर २०७४ को स्थानीय निर्वाचनमा घोराही उपमहानगरपालिका, वडा नं. १४ को वडा सदस्यमा एमालेका तर्फबाट उम्मेदवार भएर पराजित भएका थिए ।
एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीले टोपबहादुर पहिला एमाले पार्टी सदस्य भए पनि मुद्दा मामिला भएपछि आफूहरुको सम्पर्कमा नरहेको र अहिले कहाँ छन् भन्ने थाह नभएको बताए । “मुद्दा भएको बेला उहाँले सदस्यता नवीकरण गर्नुभएन, अहिले उहाँ सदस्यको रेकर्डमा हुनुहुन्न,” बुढाथोकीले भने, “पहिला मान्छे सम्पर्कमा आउँथे म ठगिएँ भनेर, म जाँदै छु भन्ने मान्छे पनि हुन्थे दाङका । अहिले आएका छैनन् ।”
पहिलो पटक टोपबहादुर, तत्कालीन प्रदेश सांसद उत्तर ओली र दाङकै मुकुन्दराज जिसीविरुद्ध असार २, २०७६ मा जिल्ला अदालत काठमाडौंमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा दायर भएको थियो । त्यसअघि वैशाख ६, २०७६ मा पक्राउ परेका टोपबहादुर असार ४, २०७६ मा १५ लाख रुपैयाँ धरौटी राखेर तारेखमा छुटेका थिए ।
जिल्ला अदालत, काठमाडौंका न्यायाशीश बद्रीप्रसाद ओलीको इजलासले पुस १९, २०७७ उक्त मुद्दामा दोषी ठहर गर्दै टोपबहादुरलाई २ वर्ष कैद र १२ लाख रुपैयाँ जरिवाना फैसला गरेको थियो । पहिलो मुद्दाअनुसार उनीसहित तीन जनाले एक युवकलाई अमेरिकामा मासिक ५ हजार डलर तलब र ग्रिन कार्डसम्म दिलाउने आश्वासन दिएर ७५ लाख ९७ हजार रुपैयाँ लिएका थिए ।
चैत २८, २०७३ मा नेपालगन्जबाट बसबाट दिल्ली पुर्याएर चार महिना राखेपछि ती युवकसँग पटक–पटक रकम माग्दै दिल्लीबाट रुस, स्पेन, बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकाराग्वा, होन्डुसर, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका पठाएका थिए । अमेरिका प्रवेश गरेलगत्तै अमेरिकी प्रहरीले पक्राउ गरी १७ महिना जेल राखेको थियो । ती युवक अमेरिकाको जेलमा बसेर स्वदेश फर्किएपछि आएपछि टोपबहादुरसहित तीन जनाविरुद्ध असार २, २०७६ मा मुद्दा हालेका थिए ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासले दुर्घटना गराउन प्रतिवादीको कुनै संलग्नता नदेखिएको, ती युवकलाई बिक्रीवितरण गरेको र ठगी गरेको भन्ने कुनै पुष्टि नभएको ठहर गर्दै सफाइ दिएको थियो ।
टोपबहादुरले आफ्नी छोरीलाई अमेरिका पठाउन बैंक ब्यालेन्स देखाउनुपर्ने हुँदा एन्जलको परिवारका सदस्यबाट ३० लाख रुपैयाँ लिएको दाबी गर्दै पछि फिर्ता गरेको बयान दिएका थिए । एन्जलको परिवारले नगद र बैंकमार्फत गरी टोपबहादुर र गोमालाई ३२ लाख रुपैयाँ बुझाएका थिए ।
“जाहेरवालाको भतिजालाई अमेरिका पठाइदिन्छु भनी निजले मेरो श्रीमतीको खातामा १९ लाख ९८ हजार पठाएको होइन, सो रकम मेरो छोरी अमेरिकामा अध्ययन गर्न जानका लागि बैंकमा ४० लाख रुपैयाँ देखाउनुपर्ने भएकाले जाहेरवालाले मेरो श्रीमती गोमा जिसीको खातामा पठाउन लगाएको हो अन्यथा होइन,” टोपबहादुरले अदालतको बयानमा भनेका छन्, “मैले यी जाहेरवालाको भतिजलाई अमेरिका पठाइदिन्छु भनी मानव बेचबिखन ओसारपसार र ठगी गरेको होइन ।”
मानब बेचबिखन अनुसन्धान ब्युरो बबरमहलका तत्कालीन अनुसन्धान अधिकृत प्रहरी नीरिक्षक दीपककुमार साहले टोपबहादुरकी श्रीमती गोमासँग साउन ५, २०७८ मा काठमाडौंका जिल्ला न्यायाधिवक्ता सुदीपकुमार दंगालसमक्ष लिएको बयानको अंश ।
टोपबहादुरविरुद्ध जाहेरी परेपछि इन्टरपोलबाट अगस्ट ४, २०२१ (साउन २०, २०७८ )मा फ्युगिटिभ वान्टेड (फरार खोजी) जारी भएको थियो । उनलाई प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको च.नं. ८१, अगस्ट ५, २०२१ (साउन २१, २०७८) को पत्रअनुसार ब्ल्याक लिस्टमा राखी त्रिभुवन विमानस्थलको आवागमनमा रोक लगाएको थियो । उनी अदालतमा हाजिर भएपछि त्यो हटेको छ ।
दुई पटक मानव बेचबिखनको मुद्दा खेपेका टोपबहादुरलाई जिल्ला प्रहरी कार्यालय दाङले बैंकिङ कसुरअन्तर्गत चेक अनादर मुद्दामा वैशाख २७, २०८० मा भिंग्रेली रिसोर्ट, घोराहीबाट पक्राउ गरेको थियो । पछि उनी चेक रकम भरेपछि मुद्दा नचली छुटेका थिए ।
टोपबहादुरविरुद्ध लागेका मुद्दा, आरोप, उनले अमेरिका पठाउने क्रममा दुर्घटनामा परी हालसम्म बेपत्ता तीन युवकको अवस्था, मिडिया र दलमा उनको आबद्धता तथा फेरि युवकलाई अमेरिका पठाएको बारे प्रतिक्रिया लिन निमजिनले उनलाई माघ ६, २०८२ मा इमेल पठाएको थियो । तर, उनले अहिलेसम्म कुनै ‘रिप्लाई’ गरेका छैनन् । उनको नेपालको फोन नम्बरमा पनि सम्पर्क हुन सक्दैन ।
निमजिनलाई प्राप्त पछिल्लो विवरणअनुसार टोपबहादुरले यूएईको प्राइम डेस्टिनेसन टुरिजम एलएलसी नामक कम्पनीमा सेल्स म्यानेजरका रूपमा नेपालबाट श्रम स्वीकृति लिएको देखिन्छ । वैदेशिक रोजगार विभागको रेकर्डअनुसार उनले अगस्ट २५, २०२३ मा दुई वर्षका लागि श्रम स्वीकृति लिएका थिए । रेकर्डले उनको म्यादी जीवन बिमाको अवधि फेब्रुअरी २२, २०२६ सम्म देखाउँछ ।
- कोलम्बियाबाट ओसीसीआरपीकी पत्रकार डेनियला क्यास्ट्रोको सहयोगमा ।
यो सामग्री हाम्रो पुन: प्रकाशन नीतिअनुसार तपाईँले पनि आफ्नो सञ्चार माध्यममा प्रकाशन गर्न सक्नुहुने छ । पुन: प्रकाशन नीति यहाँ छ ।
टिप्पणीहरू