नेभिगेसन
खोज पत्रकारको सम्मेलनमा उठेको सहकार्यको आवाज Shuphal Kafle बिहीबार, माघ २९, २०८२

जोखिमसँगै समय र खर्च पनि धेरै लाग्ने गहन तथा खोजपूर्ण रिपोर्टिङमा साझेदारी र सहकार्य गरेमा जोखिम र खर्च घटाएर समयमै काम पूरा गर्न सकिन्छ ।

मलेसियाको राजधानी क्वालालम्पुरमा मंसिर ४, २०८२ विश्वभरबाट १ हजार ६ सयभन्दा धेरै खोज पत्रकार भेला भएका थिए । ग्लोबल इन्भेस्टिगेटिभ जर्नालिज्म नेटवर्क र मलेसियाकिनीको संयुक्त आयोजनामा ५ दिनसम्म चलेको ग्लोबल इन्भेस्टिगेटिभ जर्नालिज्म कन्फ्रेन्समा पत्रकारहरुले सहकार्यमा जोड दिए । 

जोखिमसँगै समय र खर्च पनि धेरै लाग्ने गहन तथा खोजपूर्ण रिपोर्टिङमा साझेदारी र सहकार्य गरेमा जोखिम र खर्च घटाउन सकिने मात्र नभएर समयमै काम पूरा गर्न सकिनेमा उनीहरु सहमत भए । 

सम्मेलनकी मुख्य वक्ता रहेकी नोबेल शान्ति पुरस्कार विजेता तथा इन्डोनेसियाको अनलाइन र्‍याप्लरकी सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मारिया रेस्साले मात्र नभई अन्य सत्रका वक्ता र सम्मेलनका सहभागीको एउटै जोड रह्यो— सहकार्य । उनले अहिले संसारभर नै पत्रकार र सञ्चारमाध्यय जोखिममा रहेको भन्दै यो संकटमा नै अवसर हुने हुँदा सहकार्य आवश्यक रहेको बताइन् ।

GIJC-Maria-Ressa-NIMJN-1770698181.jpeg
सम्मेलनमा आफ्नो प्रवचन दिँदै मारिया रेस्सा । तस्बिर : निमजिन

सन् २०१६ देखि सन् २०२२ सम्म रोड्रिगो डुटेर्टोको फिलिपिन्सको राष्ट्रपति रहँदा र्‍याप्लर बन्द गर्ने प्रयास भएको थियो भने मारियाविरुद्ध मुद्दा हालेर पक्राउ पुर्जी जारी गरिएको थियो । सन् २०१९ मा आफूविरुद्ध ११ वटा पक्राउ पुर्जी जारी भएको र त्यही वर्ष र्‍याप्लर नाफामा गएको सुनाउँदै उनले यो सबै सहकार्यबाटै सम्भव भएको बताइन् । 

सन् २०२५ पत्रकारका लागि खतरापूर्ण वर्षका रूपमा रह्यो । गाजामा मात्रै २ सय ५० जना पत्रकार मारिए । आगामी दिन पनि पत्रकारिताका लागि अझै खतरापूर्ण नै छन् । यस्तो स्थितिमा खोज पत्रकारहरुका लागि अन्तरदेशीय सहकार्य झनै महत्त्वपूर्ण हुन्छ । 

सम्मेलनमा आयोजक ग्लोबल इन्भेस्टिगेटिभ जर्नालिज्म नेटवर्क (जीआईजीएन)ले विश्वभरका डेढ सय पत्रकारलाई फेलोका रूपमा सम्मेलनमा सहभागी गराएको थियो । फेलोहरुलाई सम्मेलनमा स्वागत गर्दै जीआईजेएनकी कार्यकारी निर्देशक इमिलिया डियाज स्ट्रुस्कले फरक–फरक देशका पत्रकारबीच अन्तरदेशीय सहकार्यलाई सहज गराउन आफूहरुले धेरैभन्दा धेरै पत्रकारलाई सम्मेलनमा सहभागी गराउन चाहेको बताइन् । “यहाँ आयोजक देश मलेसियाकै पत्रकारदेखि ३० घण्टाको यात्रा गरेर आएका पत्रकारसमेत हुनुहुन्छ,” उनले आग्रह गरिन्, “तपाईँहरुले सहकार्य गरेर रिपोर्टिङ गर्नुस्, स्टोरी तयार पानुहोस् ।” 

सम्मेलनकै ‘एडिटोरियल लिडरसिप बेस्ट प्राक्टिसेस फर क्रसबोर्डर कोलाब्रेसन्स’ सत्रका सञ्चालक जोस्टस भन ड्यानियल्सले जानकारी तथा तथ्यांकहरु साझेदारी गर्नुमात्र सहकार्य नभएको भन्दै सांस्कृतिक, कानुनी र पेसागत सीमाहरू पार गर्ने कला नै साझेदार रहेको बताए । 

GIJC-collaboration-NIMJN-1770698179.jpeg
एडिटोरियल लिडरसिप बेस्ट प्राक्टिसेस फर क्रसबोर्डर कोलाब्रेसन्स सत्र । तस्बिर : निमजिन

जर्मनीको गैरनाफामूलक मिडिया कोरेक्टिभका प्रधान सम्पादकसमेत रहेका उनले व्यक्तिगत र कुनै एउटा समाचार संस्थाले मात्रै उजागर गर्न नसक्ने विषयलाई उजागर गर्न सकिने भएकाले सहकार्यको महत्त्व धेरै रहेको बताए । 

यो सत्रकी अर्का वक्ता एरिना फर जर्नालिज्म इन युरोपकी सहसंस्थापक ब्रिगिट अल्फ्टर र इन्टरनेसनल कन्सोर्टियम अफ इनभेस्टिगेटिभ जर्नालिस्ट्स (आईसीआईजे) का कार्यकारी निर्देशक जेरार्ड राइलले सामूहिक रूपमा उजागर भएका प्यान्डोरा पेपर्स र पनामा पेपर्सजस्ता ठूला अन्तर्राष्ट्रिय अनुसन्धानहरूको अनुभव सुनाउँदैै साझेदारीको महत्त्वबारे बताएका थिए । 

आईसीआईजेले प्यान्डोरा पेपर्स परियोजना सञ्चालन गर्दा १ सय १७ देशका १ सय ५० भन्दा बढी सञ्चारमाध्यमका ६ सयभन्दा बढी पत्रकारसँग सहकार्य गरेको थियो । “हामीले १ सय १७ देशका ६ सयभन्दा बढी पत्रकारहरूलाई समावेश गरेर काम गरेका थियौँ,” उनले भने, “फरक फरक कार्यालय समय, भाषा र सुरक्षाको चुनौती थियो, तर साझा सम्पादकीय मार्गचित्रले सबैलाई एकतावद्ध बनायो ।”

आईसीआईजले गरेको विश्वव्यापी कर छलीबारेको खोजले राजनीतिज्ञ र धनी व्यक्तिहरूलाई छानबिनको दायरामा ल्याएको थियो । 

“एउटा पत्रकारको समाचार अन्तर्राष्ट्रिय टिममा परिवर्तन हुँदा यसको प्रभाव दस गुणा बढ्छ,” जेरार्डको अनुभवमा ब्रिगिट अल्फ्टरले थपिन्, “तर, यसका लागि विश्वास र स्पष्ट भूमिकाहरू आवश्यक पर्छ ।”

स्थानीय सन्दर्भबिना अन्तर्राष्ट्रियस्तरको सहकार्य असफल हुनेमा पनि सहभागीले सचेत गराए । ल्याटिन अमेरिकन सेन्टर फर इन्भेस्टिगेटिभ जर्नालिज्मकी निर्देशक मारिया टेरेसा रोन्डेरोजले कोलम्बिया र छिमेकी देशमा रहेका हिंसात्मक समूहहरूका बारेमा गरेको खोजको उदाहरण दिँदै उनले को अनुसन्धानबाट सिकेको बताउँदै भनिन्, “सहकार्यलाई सफल पार्न हामीले सांस्कृतिक संवेदनशीलता र जोखिम व्यवस्थापनलाई प्राथमिकता दिन्छौँ ।” 

नोर्बट जोङ्गो सेल फर इन्भेस्टिगेटिभ जर्नालिज्म इन वेस्ट अफ्रिका (सेनोजो) का संयोजक अर्नुड ओउड्रोगोले सम्पादकीय निर्णयहरूमा समावेशिता नहुँदा खोज अधुरो रहने भएकाले साझा एजेन्डा बनाएर काम गर्ने गरेको बताए । 

दक्षिण एसियाका पत्रकारको पहल

SAJC-at-GIJN-1764333372.jpeg
दक्षिण एसियाका पत्रकार सहभागी एउटा सत्र ।  यही सत्रमा साउथ एसिया जर्नालिज्म कलेक्टिभ घोषणा गरिएको थियो । तस्बिर : निमजिन

सम्मेलनमा आफूले गरेका सहकार्यका अनुभवहरु सुनाउँदै केही पत्रकारहरुले अन्तरदेशीय साझेदारीका केही नयाँ योजनाहरु पनि सार्वजनिक गरे । दक्षिण एसियाका पत्रकारहरुले सार्वजनिक गरेको साउथ एसिया जर्नालिज्म कलेक्टिभ (एसएजेसी) यस्तै एउटा योजना हो । 

दक्षिण एसियामा सीमापार खोज पत्रकारितालाई प्रवद्र्धन गर्नका लागि घोषणा गरिएको एसएजेसीमा नेपालको नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (निमजिन) सहित भारतको रिपोर्टर्स कलेक्टिभ्स, श्रीलंकाको सेन्टर फर इन्भेस्टिगेटिभ जर्नालिज्म, बंगलादेशको डिजिटल राइट्स र पाकिस्तानको मिडिया अल्टिमेट्स संस्थापक सदस्य छन् ।

दक्षिण एसियाका पत्रकारहरू र सञ्चारमाध्यमबीच सहकार्य बढाउने, स्रोत र क्षमता साझा गर्ने, खोज पत्रकारितालाई सशक्त बनाउने तथा प्रेस स्वतन्त्रताको रक्षा गर्नु यो संस्थाको उद्देश्य रहेको एसएजेसीले विज्ञप्तिमा स्पष्ट पारेको छ ।

सजिलो छैन सहकार्य

सम्मेलनले पत्रकार र फरक फरक पेसाका व्यक्तिसँग सहकार्यमा जोड दिए पनि पत्रकारबीच सहकार्य निक्कै कठिन रहेको अनुभव पनि छ । भाषा, संस्कृति र पत्रकारिताको शैली देशअनुसार फरक छ । एउटै देशका फरक सञ्चारमाध्यमबीच त सहकार्य हुन नसकेको स्थितिमा अन्तरदेशीय सहकार्य झनै चुनौतीपूर्ण रहेकोमा सम्मेलनका सहभागी सहमत भए । 

विश्वासको अभावले पनि सहकार्य हुन नसकेको तितो सत्यलाई स्विकार्दै नोर्बट जोङ्गो सेल फर इन्भेस्टिगेटिभ जर्नालिज्म इन वेस्ट अफ्रिकाका संयोजक रहेका अर्नुड ओउड्रोगाले पत्रकारले अरूलाई विश्वास नै नगर्ने र एक्लै काम गर्न खोज्ने गरेको अनुभव सुनाए । 

‘एडिटोरियल लिडरसिप बेस्ट प्राक्टिसेस फर क्रसबोर्डर कोलाब्रेसन्स’ सत्रमा अनुभव सुनाउँदै अर्नुड ओउड्रोगाले आफूले सहकार्य गर्ने पत्रकार नै नपाएको बताए । “हामीले सहकार्यका लागि पत्रकार खोजी रहेका हुन्छौँ, तर भेट्टाउन सक्दैनौँ,” उनले भने, “सहकार्यका लागि योग्य पत्रकार भेट्नै गाह्रो छ, कोही भेटिइहालेमा पनि ऊ एक्लै काम गर्न चाहन्छ ।” 

यस्तो समस्या अन्य महादेशका पत्रकारमा पनि छ । ल्याटिन अमेरिकन सेन्टर फर इन्भेस्टिगेटिभ जर्नालिज्मकी निर्देशक मारिया टेरेसा रोन्डेरोज सहकार्यका लागि पत्रकार जिम्मेवार नबनेको आरोप लगाउँछिन् । अर्नुड ओउड्रोगोसँग सहमत हुँदै उनले थपिन्, “ल्याटिन अमेरिकी पत्रकारले सहकार्य गर्छु भन्छन्, तर उनीहरुको गर्छुलाई गर्दिनँको अर्थमा बुझ्नुपर्छ ।” 

नोट : सुफल काफ्ले ग्लोबल इन्भेस्टिगेटिभ जर्नालिज्म नेटवर्क (जेआईजीएन)को फेलोसिपमा नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (निमजिन)बाट सम्मेलनमा सहभागी भएका हुन् ।

यो सामग्री हाम्रो पुन: प्रकाशन नीति अनुसार तपाईँले पनि आफ्नो सञ्चार माध्यममा प्रकाशन गर्न सक्नुहुने छ । पुन: प्रकाशन नीति यहाँ छ । 

टिप्पणीहरू