नेभिगेसन
कानुनले निषेध गरेको यौन व्यवसायमा धकेलिएका छन् बादी किशोरी Sonam Lama सोमबार, भदौ १७, २०८१

कुनै पनि व्यक्तिलाई एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्न वा यौन व्यवसायमा लगाउन नपाइने कानुनी व्यवस्था छ ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ ले  आर्थिक लाभ लिई वा नलिई मानव ओसारपसार गर्ने र यौन व्यवसायमा लगाउनेलाई कडा सजायको व्यवस्था गरेको छ । ऐनले १० देखि १५ वर्षसम्म कैद र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ ।investigation-1719398034.png

यस्तै, विदेश लैजानेलाई १० वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनेछ । बालबालिकालाई विदेश लगेको भए १५ वर्षदेखि २० वर्षसम्म कैद र १ लाख रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।

ऐनको दफा १५ को उपदफा ४ अनुसार आफ्नो संरक्षणमा वा अभिभावकत्वमा रहेको व्यक्तिलाई ओसारपसार गरेमा तथा यौन व्यवसायमा लगाएमा माथि तोकिएकोमा थप १० प्रतिशत सजाय हुनेछ ।  

यो कानुनलाई आधार मान्ने हो भने कैलालीका बादी किशोरीलाई बेचबिखन गर्ने र यौन व्यवसायमा लगाउने आफन्त र अभिभावकलाई कडाभन्दा कडा सजाय हुनुपर्ने हो । तर यो कानुन बादी समुदायका लागि होइनजस्तो व्यवहारमा देखिन्छ । बादी किशोरीहरू आफ्ना आमाबुबाको प्रभावमा बेचबिखनमा परेका छन् । तर उनीहरू बेचबिखनमा परेको देख्ने र उनीहरूलाई बेचबिखनबाट जोगाउने कुनै पनि संयन्त्र छैन ।

प्रहरी इन्स्पेक्टर महेशविक्रम शाही (हामीले कुराकानी गर्दा कैलालीको बौनिया प्रहरी चौकीमा कार्यरत) यो क्षेत्रका नाबालिक किशोरीहरूलाई जबर्जस्ती यौन व्यवसायमा लगाएका र भारत लैजाने गरेको स्विकार्छन् । पीडितका तर्फबाट उजुरी परेपछि वा प्रहरी आफैंले स्टिङ अप्रेसनबाट प्रमाण जुटाएपछि मात्र यसमा अनुसन्धान गर्ने विकल्प आफूहरूसँग रहेको उनी बताउँछन् ।

यसअघि दलित आयोग मातहतको दलित समितिले बादी समुदायसँगै हातेमालो गरेर अनुसन्धान तथा विकासका कार्यक्रमहरू गर्ने गरेको थियो । तर देश संघीयतामा गइसकेपछि स्थानीय तहलाई यो समस्या समाधान गर्ने जिम्मेवारी दिइएको छ । तर दलितका मुद्दा र समस्या समाधान गर्ने दलित समिति गठन नगर्दा स्थानीय तहको भूमिकामाथि नै प्रश्नहरू उठेका छन् ।

Defunct-police-beat-located-opposite-Badi-community-in-Muda-was-established-for-patrolling-13-years-ago-1724322564.JPG
मुढा बजारमा रहेको  प्रहरी बिट । तस्बिर : सोनाम लामा/निमजिन

२०६८ सालमा मुढा बजार विकास समितिको पहलमा कैलालीको मुढा बजारमा प्रहरी बिट स्थापना गरिएको थियो । बादी समुदायको बसोबास रहेको यो ठाउँमा यौन व्यवसाय पनि हुने गरेकाले त्यसलाई रोक्न प्रहरी बिट राखिएको थियो । प्रहरीले नियमित गस्ती गर्ने गरेपछि गैरकानुनी गतिविधि रोकिने स्थानीय बासिन्दाको अपेक्षा अहिलेसम्म पूरा भएको छैन ।

मानव बेचबिखन नियन्त्रण ब्युरोका पूर्वप्रवक्ता कृष्ण पँगेनी स्रोतसाधनको अभाव र पहुँचको अभावका कारण बालिकाहरूको बेचबिखन र वेश्यावृत्तिलाई रोक्न कठिन भएको बताउँछन् ।

पीडितहरू अगाडि आउन र उनीहरूले आफूमाथि भइरहेको अपराधका बारेमा बोल्न साक्षी संरक्षण नीति महत्त्वपूर्ण छ । यो नीतिमा पीडितहरूलाई सुरक्षित स्थानमा सार्ने र उनीहरूको परिचय र अन्य व्यक्तिगत विवरण गोप्य राख्ने संयन्त्र हुनुपर्छ । आवश्यक परेमा पीडितलाई नयाँ परिचय र ठेगाना दिनुपर्छ ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को दफा १५ को उपदफा ६ मा उजुर गर्ने व्यक्तिले एकपटक दिएको बयान विपरीत हुने गरी मुद्दाको पुर्पक्षका सिलसिलामा कुनै बयान दिएमा, मुद्दा चलेपछि तथ्य ढाँटेमा, नियतवश बयान परिवर्तन गरेमा ३ महिनादेखि १ वर्षसम्म जेल सजाय हुन सक्ने व्यवस्था छ ।

अधिकारको क्षेत्रमा काम गर्नेहरूले ऐनको यो व्यवस्थाको आलोचना गर्दै आएका छन् । कानुन तथा नियमहरूलाई पीडित केन्द्रित बनाउनका लागि सरकारले पालेर्मो प्रोटोकल भनेर चिनिने संयुक्त राष्ट्र मानव बेचबिखन प्रोटोकल (टीआईपी) लाई सन् २०२० मा अनुमोदन गरेको छ । तर प्रोटोकलले वेश्यावृत्तिमा धकेलिने र आमाबाबुबाटै बेचबिखनमा पर्ने बादी किशोरीहरूलाई समेट्न सकेको छैन ।

मौन विद्रोह

कैलालीको मुढा बजारबाट करिब ३४ किलोमिटर दक्षिणमा बादी समुदायको बसोबास रहेको पुरानो सत्ती बजार छ । यहाँकी फूलमती बादी ४० वर्षअघि बेचबिखनमा परेकी थिइन् । लामो समयको बन्धक जीवनबाट मुक्त भएर खुल्ला समाजमा पुगौँला भन्ने कहिल्यै नसोचेको बताउने उनी अहिले आफ्नै पीडा सम्झेर भावुक हुन्छिन् ।

श्रवणशक्ति कम भएकी उनकी छोरी सजना चिसापानीको एउटा रेस्टुरेन्टमा काम गर्छिन् । रेस्टुरेन्टको काम भए पनि उनले ग्राहकलाई खुसी पार्न जे पनि गर्नुपर्छ ।

सजनालाई आफन्तले भारतमा लगेर वेश्यालयमा बेचेका थिए, जहाँ उनीमाथि दुव्र्यवहार भएको थियो । सजनाले विवाह गरेर छोरी पनि जन्माएकी थिइन् । तर उनका पति सानी छोरी र श्रीमतीलाई छाडेर हिँडे । आफ्नी छोरीको पालनपोषणका लागि उनी यौन व्यवसाय गर्न बाध्य छिन् ।

यौन व्यवसाय चलाउने व्यक्तिको हातबाट सिकार हुने सयौं युवतीमा सजना एक हुन् । यो एउटा तितो सत्य हो कि उनले आफ्नी छोरीलाई पनि सँगै राखेर यौन व्यवसाय गरिरहेकी छन् । जुन फूलमतीलाई मन परेको छैन । “जीवनमा मैले भागेको जस्तो नियति मेरी नातिनीलाई भोग्न दिने छैन,” फूलमती संकल्प गर्छिन् । 

Nepal_Badi_NIMJN-1725262041.jpg
फूलमती घरको झ्यालबाट बाहिर चियाउँदै । तस्बिर : सोनाम लामा/निमजिन

नातिनीले आफ्नोजस्तै नियति भोग्नबाट बचाउन दृढ संकल्प गरे पनि फूलमती समाजप्रति उदास छिन् । उनी भन्छिन्, “म यो प्रथाविरुद्ध विद्रोह गर्न सक्छु किनभने उनी उनलाई यौनकर्मीको रूपमा हेर्ने समाजमा हुर्किरहेकी छन् ।”

फूलमतीले सत्तीमा दुइटा बाख्रा पालेकी छन् । उनी मुस्कुराउँछिन् तर छोरीलाई त्यो दलदलमा फस्नबाट जोगाउन नसकेको पछुतो उनलाई छ । उनको चाउरी परेको अनुहारमा देखिएको निराशाले नै यसलाई बताउँछ । “मैले गरिरहेको कामलाई सधैँ घृणा गर्थे तर मैले छोरीलाई यसमा लाग्नबाट जोगाउन सकिनँ, म यति धेरै वर्षदेखि यो बोझ बोकेर बाँचिरहेकी छु,” उनी भावुक बनिन्, “म आमाको भूमिकामा असफल भएँ ।” फूलमतीले आँखाबाट झरेको आँसु रोक्न सकिनन् ।

बादी समुदायमा प्रचलित यो प्रथाको विरोधमा समुदायकै सदस्यहरूबाट आवाज उठिरहेको छ । जुन कालो बादलमा हुने चाँदीको घेराजस्तो हो । यशोदा बादी (परिवर्तित नाम) जस्ता अभियानकर्ताहरूको अभियानले यो सुमदायमा सकारात्मक परिवर्तन देख्न धेरै समय लाग्दैन ।

Nepal_Badi_NIMJN-5-1725262038.jpg
यशोदा हातमा राखेर  परेवालाई चारो खुवाउँदै । तस्बिर : सोनाम लामा/निमजिन

यशोदालाई उनकै काकाकी छोरीले भारतमा बेचेकी थिइन् । भारतको एउटा अञ्जान गाउँमा छ वर्षसम्म यातनाको सामना गरेकी उनलाई एक जना पुरुषले उद्धार गरेका थिए ।

यशोदाले उनै पुरुषसँग जीवन बिताउने निर्णय गरिन् । उनीहरू दुवैले नेपालका सुदूरपश्चिमका गाउँहरूमा बेचबिखन र यौन व्यवसायको विरोधमा कामहरू गरे । उनीहरू पुस्तौंदेखि चल्दै आएको प्रथाको विरोधमा सडकमै उत्रिए । उनीहरूले थालेको अभियानकै कारण कैलालीको बलचौरका बासिन्दाले बेचबिखन र यौन व्यवसाय उन्मूलन गर्ने घोषणा गरे ।

यौन व्यवसाय पूर्ण रूपमा उन्मूलन नभए पनि सत्तीबाट करिब १० किलोमिटर टाढाको राजापुर, जुन कुनै बेला देहव्यापारका लागि कुख्यात थियो, त्यहाँ अहिले सकारात्मक परिवर्तन देखिएको छ ।

विभिन्न गैरसरकारी संस्थाको सहयोगमा यस क्षेत्रका ४० जना महिलाहरूले एउटा समूह बनाएका छन् । समूहसँग एउटा कोठा छ जहाँ उनीहरू भेटघाट र विभिन्न विषयमा छलफल गर्छन् । उनीहरूले आवश्यक परेको बेलामा सहयोग गर्न बचत कोष पनि स्थापना गरेका छन् ।

उनीहरूको कोठाको भित्तामा सरस्वतीको ठूलो पोस्टर टाँसिएको छ । भित्तामा नै ठुल्ठूला अक्षरमा सबै सदस्यहरूको नाम पनि लेखिएको छ । नाम फरक भए पनि भित्तामा लेखिएको सबै सदस्यको थर एउटै छ ‘नेपाली’ । जसले उनीहरूले परिवर्तन चाहेको बुझ्न सकिन्छ ।

यो सामग्री पुन: प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो पुन:प्रकाशन नीति अनुसार प्रकाशन गर्नुहोस् । पुन: प्रकाशन निर्देशिका यहाँ छ ।

टिप्पणीहरू