कुनै बेला आकर्षक बनेको मनाङको ङिस्याङ गाउँपालिकामा रहेको गंगापूर्ण ताल जलवायु परिवर्तन र हिमाली क्षेत्रको तापक्रम वृद्धि र हिमाली क्षेत्रमा बढ्दो वर्षाका कारण अहिले संकटमा परेको छ ।
मनाङको ङिस्याङ गाउँपालिकाको मनाङ गाउँका मीनबहादुर गुरुङलाई गंगापूर्णको तालको पुरानो स्वरूप अझै याद छ । “नीलो पानी, सुन्दर ताल,” पहिलाको ताल सम्झँदै उनी भन्छन्, “एकदम राम्रो, नीलो, सर्लक्क परेको ।” मनाङ गाउँबाट पैदल १० मिनेटको दूरीमा रहेको यो ताल उनले देख्दादेख्दै पुरिएर हराउन लागेको छ । 
पहिला नीलो र तिलिचोजस्तै सुन्दर देखिने ताल अहिले माटो र गेग्रानले पुरिँदै गएकोमा उनी चिन्तित छन् । “अहिले त धमिलो पानी । माथि हिउँ बिल्यो, पानी धमिलो आयो ।” उनी भन्छन्, “पानीले माटो लिएर आयो र ताला पुरिँदै गयो ।”
मीनबहादुरले देख्दादेख्दै गंगापूर्ण तालको मुहानमा रहेको हिमनदी पछिपछि धकेलिँदै गयो । “पहिला त्यो हिमनदी तालको माथि कुनामा छेउमा नै थियोे, अहिले बिल्दाबिल्दा पारि पुग्यो,” मीनले माथि हिमालतिर देखाउँदै भने ।
गंगापूर्ण ताल आफ्नो निलाम्मे अस्तित्वमा आएको त्यति लामो समय भएको छैन । जति छिटो गंगापूर्ण ताल बन्यो, उति छिटो नै यसको अस्तित्व पनि संकटमा परेको छ । कुनै बेला आकर्षक बनेको यो ताल जलवायु परिवर्तन र हिमाली क्षेत्रको तापक्रम वृद्धि र हिमाली क्षेत्रमा बढ्दो वर्षाका कारण अहिले संकटमा परेको हो । बढ्दो तापक्रमका कारण हिमनदी पग्लने क्रम बढेपछि तालको आकार फैलियो र ताल सुन्दर देखियो । जब हिमनदी माथिमाथि सर्दै गयो, त्यसपछि तालमा गेग्रान भरिन थाल्यो । त्यसमाथि २०७८ सालमा भारी वर्षा हुँदा तालको प्राकृतिक बाँध भत्कियो र तालमा पानी घट्न थाल्यो । त्यसयता स्थानीय तहले संरक्षणको प्रयास गरे पनि त्यो पर्याप्त हुन सकेको छैन ।
भूगर्भविद् टोनी हेगनले सन् १९५७ मा र जेडेनेक थोमाले सन् १९७९ मा खिचेका तस्बिरहरूको तुलनात्मक अध्ययन गर्दा त्यतिबेला गंगापूर्ण ताल निकै सानो थियो ।
‘रिट्रिटिङ ग्ल्यासियर एन्ड एड्भान्सिङ फरेस्ट ओभर द पास्ट २०० इअर्स इन द सेन्ट्रल हिमालयज’ शीर्षकको अध्ययनअनुसार सन् १९७९ पछि हिमनदी वार्षिक २४.४ मिटरका दरले (कुल ९०३ मिटर) तीव्र गतिमा पग्लियो र तालको आकार एकाएक फैलियो ।
तर हिमनदीको निकास नहरबाट बगेर आएका गेग्रानहरू तालको मुखमा थुप्रिन थाले । यो अध्ययन प्रतिवेदनअनुसार हिमनदीको अन्तिम मुखको उचाइ सन् १९५७ मा ३ हजार ५ सय २९ मिटर रहेकोमा सन् २०१६ सम्म आइपुग्दा माथि सरेर ३ हजार ७ सय १ मिटरकोे उचाइमा पुगिसकेको छ । अर्थात् हिउँको सतह १ सय ७२ मिटर माथि धकेलिएको छ ।
यसको प्रत्यक्षदर्शी हुन्— मनाङ गाउँका कर्म गुरुङ (६५) । “पहिला हिमनदी अलि तलसम्मै थियो । अहिले माथि गइरहेको छ । हिमनदी बिलाउँदै गयो, माथिबाट माटोे बग्दै आयो, त्यसपछि ताल त्यत्तिकै पुरिँदै आयो,” उनले भने ।
कर्म र मीनले उल्लेख गरेको हिमनदी माथि–माथि सर्दै गएको विषयलाई अध्ययनले पनि पुष्टि गरेको छ । अध्ययनका अनुसार सन् १९५७ देखि २०१६ सम्मको ६ दशकको अवधिमा गंगापूर्ण तालको पानीको मुख्य स्रोत मानिएको हिमनदी १ हजार २ सय ८९ मिटर (करिब १.३ किलोमिटर) पछाडि हटेको छ ।
२०७८ सालको बाढीले ल्यायो गेग्रान
कर्मका अनुसार हिमनदी पग्लेर माथिमाथि सर्दै गएको तालको स्वरूप २०७८ सालमा आएको बाढीले माटो र गेग्रान थुपारेपछि झनै बिग्रियो । “आकाशबाट पानी पनि पर्यो । यता, पाखा उता पाखा सबै भत्किएर आएपछि ताल सबै पुरियो,” उनले भने ।
मनाङ गाउँकै पेमा छिरिङ गुरुङ पनि मनाङमा बाढी गएको वर्षदेखि गंगापूर्ण तालको स्वरूप तीव्र रूपमा परिवर्तन भएको सुनाउँछन् । “ठूलो पानी परेर जताततै बाढी गयो नि ! चामेमा, धारापानीमा,” उनी भन्छन्, “होे । त्यै बेला पुरिएको हो यो ताल ।” पानी परेपछि चारैतिरबाट हिलो, लेदो र गेग्रानले ताल भरिएको उनले सुनाए ।
गत असोजमा बाढीले थलिएको मनाङ २०७८ सालमा पनि बाढीले प्रभावित भएको थियो । गत असोजमा ताल गाउँ र चामेमा आएको जस्तै बाढीपहिरो विपद् २०७८ सालमा पनि आएको थियो ।
सन् २०२१ को क्यालेन्डरअनुसार त्यो वर्ष गंगापूर्ण तालभन्दा केही तल रहेको हुम्दे वर्षा मापन केन्द्रमा ८ सय ४८ दशमलव ५७ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान कार्यालयको तथ्यांक छ । हिमाल पारिका ‘रेन स्याडो’ क्षेत्रमा यो अत्यधिक वर्षा हो ।
सन् २०२४ र २०२५ मा पनि कीर्तिमानी वर्षा रेकर्ड भएको छ । अक्टोबर ३०, २०२५ मा ८५ मिलमिटर वर्षा मापन भएको हुम्देमा सेप्टेम्बर २८, २०२४ मा ८४.२ मिलिमिटर वर्षा मापन भएको थियो । सन् २०२५ मा हुम्देमा ५ सय ४९ दशमलव २४ मिलिमिटर र सन् २०२४ मा ४ सय ८४ दशमलव ९३ मिलिमिटर वर्षा भएको छ ।
हिमनदीले बनायो, हिमनदीकै कारण पुरिँदै
वैज्ञानिकका अनुसार गंगापूर्ण ताल जलवायु परिवर्तनका कारण हिमनदी पग्लिएर बनेको र हिमनदीकै गेग्रान थुप्रिएर पुरिँदै गएको वर्तमान प्रमाण हो । रूखका घेराहरू र भू–उपग्रहको तथ्यांक विश्लेषण गरी अनुसन्धानकर्ता शालिकराम सिग्देलसहितको टोलीले गरेको अध्ययनले सन् १९८८ देखि २०१९ सम्मको तीन दशकमा मात्रै गंगापूर्णको हिमनदीको लम्बाइ वार्षिक ३०.६४ मिटरका दरले कुल १०.५६ प्रतिशत खुम्चिएको देखाएको छ ।
हिमनदी पछाडि हट्दै जाँदा कमजोर बनेका मोरेन (माटोढुंगा) का ढिस्काहरूबाट पहिरो खस्ने र मुहानबाट निरन्तर ढुंगामाटो बगेर आउने भएकाले तालमा गेग्रान भरिने क्रम झन् तीव्र बनेको अध्ययनको निष्कर्ष छ ।
एकातिर हिमनदी पग्लिएर माथिल्लो भेगबाट गेग्रानको बाढी आइरहने र अर्कातिर कमजोर भूगोलका कारण ताल पुरिँदै जाने प्राकृतिक प्रक्रिया चलिरहेको छ । यस्तो स्थितिमा सामान्य पर्खाल वा तटबन्ध बनाएर मात्र गंगापूर्ण ताललाई जोगाउनु प्राविधिक रूपमै निकै चुनौतीपूर्ण रहेको हिमनदी विशेषज्ञ मोहन चन्द बताउँछन् ।
पालिकाको असफल प्रयास
ताल जोगाउन ङिस्याङ गाउँपालिकाले बाँध बनाएको पनि थियो । बाँध बनाएपछि तालको स्वरूप पुरानै लयमा फर्किने क्रममा थियो । तर पछि फेरि गेग्रानले पुरियो । “पोहोर त बनाएको थियो, फेरि बस्यो, बालुवाभन्दा पनि माटो र गेग्रान आएर पुरियो,” मिनले सुनाए ।
फरकफरक परिवर्तन सामना गरिरहेको गंगापूर्णमा तालमा मानव निर्मित ड्याम संरक्षणका लागि पर्याप्त नभएको हिमनदी विशेषज्ञ मोहन बताउँछन् । “गंगापूर्ण तालले फरकफरका खालका परिवर्तनको सामना गरिरहेको छ,” उनले भने, “तालकै रुपमा रहोस् भनेर र पर्यटकीय हिसाबले पनि आकर्षित होस् भनेर बाँध बनाएको जस्तो लाग्छ मलाई, तर यो पर्याप्त भएन ।” गंगापूर्ण ताल मनाङ घुम्न जाने पर्यटकको बसाइँ एक दिन लम्ब्याउने गन्तव्य होे । तर २०७८ सालको बाढीले तालको प्राकृतिक बाँध पूरै भत्काएर ताल पुरिएपछि यहाँ पर्यटकको अगमन घटेको स्थानी बासिन्दा बताउँछन् ।
प्राकृतिक बाँध फुटेपछि तालको पानी सबै निकास भएको र गेग्रान आएर थुप्रिएकाले ताल नै लोप हुने स्थितिमा पुगेको हिमनदी विशेषज्ञ मोहन सुनाउँछन् । “हिउँको ढिस्को जसरी माथिमाथि सर्दै गएको छ,” उनी भन्छन्, “त्यसरी नै हिउँ पग्लिँदै गए दीर्घकालमा कुनै दिन माथिको हिमनदी सकिने सम्भावना छ ।” हिमनदी नै सकिएपछि त्यहाँ जतिसुकै ठूलो बाँध बनाए पनि तालमा पानी नहुने खतरा रहेको उनले बताए ।
ठेकदारले बीचमै काम छाडे
२०७८ सालको बाढीले तालमा असर गरेपछि पालिकाकाले असोज २४, २०७८ मा जलजला शिवशक्ति/अधिकारी जेभीसँग गंगापूर्ण ताल संरक्षणका लागि ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार पुस, २०७९ मा काम सकिनुपर्ने थियो । तर त्यसको काम अहिलेसम्म सकिएको छैन ।
ङिस्याङ गाउँपालिकाका उपाध्यक्ष छिरिङ गुरुङका अनुसार निर्माण व्यवसायीले काम पूरा नगरी बीचमै छाडेर हिँडेपछि योजना लामो समयदेखि अलपत्र परेको हो । “कन्स्ट्रक्सनवालाले काम पूरै गरिदिएन, बिनाकारण काम छोडेर गयो । त्यसपछि त्यो काम त्यत्तिकै होल्डमै छ,” उनले भने, “यसपालिदेखि फेरि सोही ठेकेदारलाई नै काम गराउने भनेर कार्यपालिकामा पनि कुरा भएको छ ।”
ठेक्का तोड्दा कानुनी झन्झट रहेकाले अन्य विकल्पको खोजीमा रहेको उनी बताउँछन् । “त्यतिबेला उहाँले पेस्की अलि धेरै लैजानुभएको थियो । ठेक्का तोड्दाखेरि पेस्की फेरि फिर्ता आउन समय लाग्छ, गाह्रो हुन्छ भनेर हामीले तोडेनौँ,’ कानुनी झन्झट खुलाउँदै उपाध्यक्ष छिरिङले भने, “त्यसैले अब त्यही ठेकेदारलाई काम छिटो गराउने भन्ने कुरा भएको छ ।”
उपाध्यक्षले उही निर्माण व्यवसायीलाई काम लगाउने भने पनि अध्यक्ष कान्छा गुरुङ ठेक्का पाएका निर्माण व्यवसायी सम्पर्कमा नआएको बताउँछन् । “टेन्डरमा गएको हो, ठेकदार नै आउनुभएन,” उनले भने, “बोलाइरहेको छौँ, अहिलेसम्म केही भएको छैन ।”
गाउँपालिकाका अनुसार निर्माण व्यवसायीले ५२ लाख ३४ हजार रुपैयाँ पेस्की लगेका थिए । उपाध्यक्ष छिरिङ सुरुमा ठेकेदारले अलिअलि काम पनि गरेको तर ग्रेगान निकाल्नका लागि तालभित्र हालिएको जेसिबी त्यही फसेपछि काम रोकेको बताउँछन् ।
निर्माणको जिम्मा पाएको जलजला शिवशक्ति/अधिकारी जेभीका पंकज अधिकारी पनि तालमा जेसीबी अड्किएपछि काम अलमलिएको स्वीकार गरे । योजनाको डिजाइनमा समस्या र भौगोलिक जटिलताका कारण काम रोकिन पुगेको उनी बताउँछन् । “तालको एकातिरबाट माटो निकालियो । मेसिन फस्यो । मेसिन फसेपछि मैले ‘यसरी माटो निकाल्न त सकिँदैन’ भनेँ,” पंकजले सुनाए ।
काम गर्दागर्दै समस्या देखेपछि योजनको डिजाइन परिवर्तन गर्नुपर्ने प्रस्ताव राखेको तर त्यो प्रस्तावलाई पालिकाले नसुनेको उनको आरोप छ । “डिजाइन चेन्ज गरौँ, माटो झिक्ने कुरा सकिँदैन, प्राविधिक लगाएर डिजाइन पनि चेन्च गर्नुपर्छ, म काम गर्न तयार नै छु,” उनले भने । तालको तलपट्टि रूख रहेकाले ती रूख हटाएर त्यहाँ बाँध बनाउनु विकल्प भए पनि पालिकाले आफ्नो प्रस्ताव नसुनेकोे उनी बताउँछन् ।
त्यसो त महालेखा परीक्षकले पनि यो ठेक्का प्रक्रिया र भौतिक प्रगतिमा प्रश्न उठाएको छ । महालेखाले गरेको आर्थिक वर्ष २०७९/८० को लेखा परीक्षण प्रतिवेदनमा भौतिक प्रगति जम्मा ७ प्रतिशत मात्र देखिएको उल्लेख छ । पालिकाले निर्माण व्यवसायीलाई काममा भएको ढिलाइको विवरण पेस गर्न ताकेता गरेको, म्याद थपको निर्णय, पेस्की तथा बैंक ग्यारेन्टीको म्यादसमेत थप गरेको देखिएन भन्दै महालेखाले प्रश्न उठाएको थियो ।
त्यतिबेला महालेखाले व्यवसायीलाई काम गराउन वा कानुनबमोजिम कारबाही गर्ने निर्णय गर्न सुझाव दिएको थियो । सार्वजनिक खरिद ऐन २०६३ को दफा १२१ वमोजिम निर्माण व्यवसायीको ढिलाइको कारणले खरिद सम्झौताबमोजिमको काम तोकिएको म्यादमा सम्पन्न हुन नसकेमा जति ढिलो हुन्छ कबोल अंकको प्रतिदिन ०.०५ प्रतिशत पूर्वनिर्धारित क्षतिपूर्ति लगाउनुपर्ने व्यवस्था छ ।
तर सम्झौताको म्यादभित्र पनि कार्य नसकेको ठेक्काको म्याद थप नभएको र कार्य प्रगति ७ प्रतिशत मात्र भएको अवस्थामा परीक्षण अवधिसम्म ८ महिना ढिला भइसकेका कारणले प्रतिदिन ठेक्का अंकको ०.०५ प्रतिदिनको दरले वा १० प्रतिशत नघट्ने गरी असुल गर्न मिल्ने व्यवस्था छ । निर्माण व्यवसायीसँग २९ लाख ५७ हजार ४ सय ४८ रुपैयाँ असुल हुनुपर्ने महालेखाको २०७९/८० को प्रतिवेदनमा उल्लेख छ ।
महालेखाले त्यसअघि आर्थिक वर्ष २०७८/७९ कै लेखा परीक्षण प्रतिवेदनमा पनि कार्यसम्पादन जमानतमा कम रकम लिएको विषय उठाएको थियो । पालिकाले गंगापूर्ण ताल संरक्षण योजनाका लागि ४ करोड ७ लाख ११ हजार ३ सय ८५ रुपैयाँ ६६ पैसाको लागत अनुमान तयार गरी बोलपत्र आह्वान गरेकोमा जलजला शिवशक्ति/अधिकारी जेभीले २ करोड ९५ लाख ७४ हजार ४ सय ८५ रुपैयाँ ५७ पैसामा कार्य सम्पन्न गर्ने गरी ठेक्का पाएको थियो । तर महालेखाले त्यो सम्झौतामा प्रश्न उठाउँदै प्रतिवेदनमा लेखेको छ, “सम्झौता बमोजिम ३९ लाख ९३ हजार ८ सय २० रुपैयाँ कार्यसम्पादन जमानत लिनुपर्नेमा ३२ लाख ६७ हजार ६ सय रुपैयाँ मात्र लिएकोले नपुग रकम ७ लाख २६ हजार २ सय २० रुपैयाँ ३८ पैसा थप जमानत लिनुपर्ने ।”
कभर तस्बिर : गंगापूर्ण ताल । तस्बिर : रिना थापा/निमजिन
यो सामग्री पुन: प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो पुन:प्रकाशन नीति अनुसार प्रकाशन गर्नुहोस् । पुन:प्रकाशन निर्देशिका यहाँ छ ।
टिप्पणीहरू