नेभिगेसन
गुरुकुलमा तीन वर्षअघि दुर्व्यवहार, अहिलेसम्मै मानसिक असर Kalpana Bhattarai शुक्रबार, असोज ३०, २०८३

इस्कोनले बूढानीलकण्ठमा सञ्चालन गरेको भक्तिवेदान्त गुरुकुलमा आफ्ना छोराछोरी दुर्व्यवहारमा परेको थाहा पाएर एक अभिभावकले उजुरी दिएपछि अदालतमा मुद्दा चल्यो, इस्कोनका पदाधिकारी निलम्बित भए । अनुसन्धानका क्रममा गुरुकुल दर्ताबिनै सञ्चालन गरिएको खुल्यो । 

पाँच वर्षका ऋषि (परिवर्तित नाम) लाई हरेक बिहान ४ः३० मै बुबा हरि (परिवर्तित नाम) ले काठमाडौंको बूढानीलकण्ठस्थित भक्तिवेदान्त गुरुकुल पुर्‍याउँथे । त्यहाँ ‘मंगल आरती’ मा सरिक भएर ऋषि धार्मिक तथा आध्यात्मिक कक्षा र अन्य गतिविधिमा सहभागी हुन्थे । उनलाई साँझ ७ः३० बजे घर ल्याइन्थ्यो । investigation-1719398034.png

वैशाख ५, २०८० मा गुरुकुलमा भर्ना भएका ऋषिको स्वभाव समय बित्दै जाँदा बेग्लै हुन थाल्यो । उनी टोलाउने, डराउने, तर्सिने गर्न थाले । साथीसँग समूहमा पनि घुलमिल हुन छाडे । बिरामी पनि भइरहन थाले । छोरालाई गुरुकुलमा केही भयो कि भनेर हरिले सोध्दा ‘भन्न पाइँदैन’ भन्ने जवाफ पाउँथे । 

पुस ३०, २०८० बाट जब ऋषिलाई गुरुकुल नै पठाउन छाडियो, उनले खोले समस्याको कारण । गुरुकुलका प्रिन्सिपल सुन्दरगोपाल दास अर्थात् सुरजकृष्ण श्रेष्ठबाट कुटपिट, यातना र दुर्व्यवहारमा परेका रहेछन् उनी । त्यही घटनाका कारण उनमा मानसिक समस्या देखिएको हरिले थाहा पाए । यो विषय हरिले गुरुकुलका प्रिन्सिपल र व्यवस्थापन पक्षसँग उठाए । उनीहरूले गल्ती महसुससम्म पनि गरेनन्, उल्टै गुपचुप राख्न दबाब दिएको हरि बताउँछन् । 

भक्तिवेदान्त गुरुकुल इस्कोन नेपालले सञ्चालन गर्छ । हरि दम्पती आफैँ पनि इस्कोन नेपालका स्वयंसेवक थिए । उनीहरू मन्दिरमा सेवा मात्रै गर्दैनथे, त्यहीँ बस्थे । त्यसैले हरि चुप नै बसे । 

ऋषिकी दिदी ऋतिका (परिवर्तित नाम) पनि त्यही गुरुकुलमा पढ्थिन् । उनी पनि कम बोल्ने हुँदै गएकी थिइन्, चिन्तामा रहेजस्तो देखिन्थिन् । केही भयो कि भनेर सोध्दा उनले केही कुरा खोलिनन् । हरिले छोरीलाई पनि चैत, २०८० को पहिलो साता गुरुकुलबाट निकाले । त्यति मात्र होइन, उनीहरूले काठमाडौं नै छाडे । र, फर्किए पुर्ख्यौली गाउँ । 

ऋषि र ऋतिका वैशाख, २०८१ देखि पुर्ख्यौली गाउँकै विद्यालयमा पढ्न थाले । तर उनीहरूको व्यवहार सामान्य लयमा फर्कन सकेन । 
जेठ, २०८२ को एक दिन ऋतिकाले आफ्नी साथीलाई आफूमाथि गुरुकुलमा पढ्ने एक विद्यार्थी (घटना हुँदा ती विद्यार्थी १५-१६ वर्षका नाबालग भएकाले नाम नखुलाइएको)ले यौन दुर्व्यवहार गरेको सुनाइन् । त्यसपछि परिवारले पनि थाहा पायो । शिक्षिकामार्फत थप बुझ्दा उनीमाथि गुरुकुलमा भर्ना भएकै साल २०७८ देखि करिब एक वर्षसम्म पटक–पटक यौन दुर्व्यवहार भएको खुल्यो । गुरुकुल जान थाल्दा ऋतिका मात्र ७ वर्षकी थिइन् । 

छोरीमाथि यौन दुर्व्यवहार भएको सुनेपछि हरिलाई असह्य भयो, चुप लागेर नबस्ने निष्कर्षमा पुगे । छोरा र छोरीमाथि भक्तिवेदान्तमा भएको दुर्व्यवहारबारे खुलाउँदै उनले अगस्ट ५, २०२५ (साउन २०, २०८२) मा दिल्लीस्थित इस्कोनको बाल संरक्षण कार्यालय (सीपीओ) भारतलाई इमेल पठाए । 

सीपीओ भारतको अनुसन्धान टोलीले असोज १० र मंसिर १४, २०८२ र वैशाख १३, २०८३ मा आएर घटनाबारे बुझ्यो । त्यसपछि पीडित परिवार जिल्ला प्रहरी परिसर काठमाडौं पुग्यो । 

ऋतिकामाथि भएको यौन दुर्व्यवहारमा कारबाही माग गर्दै वैशाख १७, २०८३ र ऋषिमाथि भएको कुटपिट तथा दुर्व्यवहारमा वैशाख २९, २०८३ मा जाहेरी दर्ता गरियो । करिब एक महिनापछि जेठ २७ मा भक्तिवेदान्त गुरुकुलका प्रिन्सिपल सुरजकृष्ण पक्राउ परे । 

बूढानीलकण्ठस्थित भक्तिवेदान्त गुरुकुलमा इस्कोन नेपालमा हरि दम्पतीले झैँ स्वयंसेवा गरिरहेका अरूले पनि आफ्ना छोराछोरीलाई पढाउने गरेका थिए । सीपीओ भारतबाट अनुसन्धानका लागि आएको टोलीलाई अन्य बालबालिकाले पनि प्रिन्सिपल सुरजकृष्णबाट कुटपिट भएको बताएका थिए । 

हरिले प्रहरीमा उजुरी दिएपछि महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले पनि अध्ययन गरेको थियो । मन्त्रालयका बाल संरक्षण शाखाका प्रमुख दुर्गाप्रसाद चालिसेका अनुसार त्यस गुरुकुलमा अध्ययनरत अन्य ८ जना बालबालिका पनि कुटपिट र दुर्व्यवहारमा परेको पाइएको छ । कुटपिट र दुर्व्यवहारमा परे पनि अरूले कुनै निकायमा उजुरी नगरेको उनले बताए । 

गुरुकुलमा अन्य बालबालिकामाथि पनि कुटपिट र दुर्व्यवहार भएको सार्वजनिक भएपछि निमजिनले दुई अभिभावकसँग बुझ्ने प्रयास गरेको थियो । तर उनीहरूले यस विषयमा कुरा गर्नै चाहेनन् । 

इस्कोनको स्थापना सन् १९६६ मा अमेरिकाको न्युयोर्कमा भक्तिवेदान्त स्वामी प्रभुपादले गरेका हुन । इस्कोन नेपाल भने वैशाख १, २०५४ मा स्थापना भयो । भक्तिवेदान्त गुरुकुल भने २०७६ सालमा खुलेको हो । धार्मिक तथा आध्यात्मिक शिक्षासँगै अनुशासन र संस्कार सिकाउन भनी भक्तिवेदान्त गुरुकुलहरू सञ्चालन गरिएको इस्कोनले जनाएको छ । 

आफूले पनि आफ्ना छोराछोरीले राम्रो संस्कार र संस्कृति सिकून्, आध्यात्मिक शिक्षा बुझून् भनेर भक्तिवेदान्तमा भर्ना गरिदिएको हरि बताउँछन् । “तर गुरुकुलमै मेरा दुवै छोराछोरीमाथि त्यस्तो व्यवहार भएको थाहा पाउँदा म छाँगाबाट खसेजस्तै भएँ,” हरिले भने । 

हरिले प्रहरीमा जाहेरी दिएपछि पक्राउ परेका प्रिन्सिपल सुरजकृष्ण असार १२, २०८३ मा छुटिसकेका छन् । उनकी पत्नीले दिएको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले आवश्यक परेको अवस्थामा उपस्थित हुने गरी उनलाई छाड्ने आदेश दिएको थियो । यौन दुर्व्यवहारको आरोप लागेका विद्यार्थी (अहिले बालिग भए पनि) पक्राउ परेका छैनन् । प्रहरी अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालले असार ३१, २०८३ मा काठमाडौं जिल्ला अदालतमा बालबालिका विरुद्धको कसुरमा मुद्दा चलाएको छ । 

सीपीओ भारतको टोलीले तीन पटक आएर भक्तिवेदान्तमा छानबिन गरेको थियो । पछिल्लो पटक आउँदा टोलीमाथि आक्रमण भएको सीपीओ भारतको प्रतिवेदनमा उल्लेख छ ।

सीपीओ भारतको प्रतिवेदनपछि स्कोनको गभर्निङ बडी कमिसन (जीबीसी)का जोनल सेक्रेटरी जयपताका स्वामी र को-जोनल सेक्रेटरी रेवती रमण दासले सेप्टेम्बर १४ (भदौ २९) मा भक्तिवेदान्त गुरुकुलका प्रिन्सिपल सुरजकृष्णसहित इस्कोन नेपालका ८ जना पदाधिकारीलाई अनुसन्धान नसकिएसम्मका लागि निलम्बन गरेको सूचना जारी गरेका छन् ।  

निलम्बनमा पर्ने अन्यमा क्षेत्रीय सचिव इगोर अब्लोन्कोभ (पत्री दास), इस्कोन नेपाल कार्यकारी समितिका सचिव रुपेश जोशी (रुपेश्वर गौर दास), इस्कोन बूढानीलकण्ठकी उपाध्यक्ष सोएन्जा श्रेष्ठ (सुचारुदेवी दास) छन् । त्यस्तै, इस्कोन नेपालका कोषाध्यक्ष देविना साख, सदस्य प्रेमा चन्द, इस्कोन बूढानीलकण्ठका अध्यक्ष तथा इस्कोन नेपाल उपाध्यक्ष सविन रेग्मी, इस्कोन बूढानीलकण्ठका सचिव तथा इस्कोन नेपालका सहसचिव हरेन्द्र ठाकुर पनि निलम्बनमा छन् । 

ISKON-Press-Release-NIMJN-1792142089.png
निलम्बनप्रति आपत्ति जनाउँदै जारी गरिएको विज्ञप्ति ।

निलम्बनका विषयमा प्रतिक्रिया बुझ्न निमजिनले पटक–पटक कोसिस गर्दा पनि इस्कोन नेपालका अध्यक्ष प्रदीप भण्डारीको फोन उठेन । इस्कोन नेपाल साधारण सभाको नामबाट जारी विज्ञप्तिमा भने काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको मुद्दा र इस्कोन नेपाल केन्द्रिय कार्य समितिले कारबाहीको प्रक्रिया थालिसकेको अवस्थामा भारतीय नागरिकले इस्कोन नेपाल केन्द्रिय कार्य समितिका केही सदस्यलाई गरिएको निलम्बन गैरकानुनी रहेको दाबी गरिएको छ । 

बच्चालाई बेलैमा बुझ्न नसकेकामा पछुतो

ऋषि र ऋतिकाका बुबा हरि गुरुकुलमा छँदा छोराछोरीमा देखिएको परिवर्तनलाई बेलैमा बुझ्न नसकेकामा पश्चात्ताप मान्छन् । “म भक्तिवेदान्त गुरुकुललाई बालबालिकाका लागि धार्मिक, आध्यात्मिक र भौतिक ज्ञान सिकाउने सुरक्षित स्थानका रूपमा हेर्ने गर्थें,” उनी भन्छन्, “उनीहरूकै विश्वासमा छोराछोरी छाडेका थियौँ । तर यसरी ढुक्क बस्नु नहुने रहेछ । मेरो छोरालाई कतिसम्म दुर्व्यवहार गरिएछ भन्ने ढिला मात्रै थाहा पाएँ ।” 

हरिका अनुसार प्रिन्सिपल सुरजकृष्णले ऋषिलाई कान समातेर कुखुरा बन्न लगाउने, घोप्ट्याएर खुट्टा, पिडुँला र पैतालामा फलामको पिनले घोच्ने, रेलिङमा छाती दबाउने तथा गोरुको छेउमा लगेर डर देखाउनेजस्ता सजाय दिने गरेको पाइएको छ । “ससाना गल्तीमा पनि सजाय दिइँदो रहेछ,” हरिले निमजिनलाई भने, “एक पटक बेलुकाको खानामा चिउरा खान नमानेपछि लगातार ७ दिनसम्म बिहान र बेलुका सुक्खा चिउरा मात्र खान दिइयो रे । त्यति बेला बेहोस् भएपछि हामीलाई जानकारी नै नदिई अस्पताल लगेर उपचार गरिएछ ।” 

वृन्दावनको तीर्थयात्रामा गएको बेला ऋषिले ओछ्यानमा पिसाब गरेपछि उनै प्रिन्सिपलबाट दुर्व्यवहार गरिएको हरिले सुनाए । “हामीले त छोराछोरी सानै छन् भनेर तीर्थयात्रामा पठाउन मानेका थिएनौँ । तर गुरुकुलबाट दबाब आएपछि पठाउन बाध्य भयौँ,” हरिले भने, “तीर्थयात्राबाट फर्किएपछि ऊ गुरुकुल जान मान्न छाडेको थियो ।” 

ऋषिलाई सजायस्वरूप शौचालयनजिक सुताउने, आफूले प्रयोग गरेको बेडसिट धुन लगाउने र कुटपिट गर्ने गरिएको हरिको भनाइ छ, जुन उनले पछि थाहा पाएका हुन् । हरिका अनुसार वृन्दावनको तीर्थयात्राबाट फर्किएपछि ऋषि शारीरिक रूपमा निकै कमजोर भएका थिए । 

गुरुकुलमा अन्य बालबालिकाको तुलनामा ऋषिलाई बढी कुटपिट र सजाय दिने गरिएको त्यहाँ पढ्ने अन्य बालबालिकाले समेत देखेको अभिभावकको भनाइ छ । ती अभिभावकका अनुसार ऋषिमाथि भएको कुटपिटबारे उनका साथीहरूले घरमा सुनाएका थिए । तर ती अभिभावकले गुरुकुलको त्यस्तो व्यवहारविरुद्ध बोलिदिन जरुरत ठानेनन् ।

शारीरिक रूपमा कमजोर बनेका ऋषिलाई गुरुकुलबाट निकालेर पुर्ख्यौली गाउँ फर्किएपछि चैत १७, २०८० मा नजिकैको ठूलो अस्पताल लगिएको थियो । उनको शरीरमा रगतको मात्रा निकै कम (रक्तअल्पता) पाइएपछि १० दिनसम्म अस्पतालमा राखेर उपचार गरिएको थियो । 

रक्तअल्पता हुँदा शरीरमा पर्याप्त अक्सिजन पुग्न नसक्ने भएकाले कमजोरी, थकान, चक्कर लाग्ने, सास फेर्न गाह्रो हुने तथा पटक–पटक बिरामी पर्नेजस्ता समस्या देखिन सक्छन् । उपचारमा संलग्न चिकित्सकका अनुसार ऋषिको शरीरमा पोषणको कमी पनि देखिएको थियो । 

धार्मिक संस्था, विद्यालय वा अन्य संस्थामा शारीरिक वा मानसिक हिंसा हुनुलाई संस्थाको आन्तरिक अनुशासनको विषयमा सीमित राख्नु हुँदैन । बालबालिकालाई अनुशासन सिकाउने नाममा शारीरिक तथा मानसिक सजाय दिन मिल्दैन ।  – कपिल अर्याल, बाल अधिकारकर्मी

प्रिन्सिपल सुरजकृष्णले ऋषिलाई अन्य बालबालिकालाई जस्तै सरसफाइ गर्न, आफूले खाएको भाँडा माझ्न लगाइएको बयान अदालतमा दिएका छन् । ती बालक अरूभन्दा चकचके र अटेरी भएकाले अनुशासनमा राख्न कहिलेकाहीँ कान तान्ने, मुर्गा बनाउने, लठ्ठी देखाउने गरेको उनले स्विकारेका छन् । 

गोरुले हान्ने धम्की दिएको, फलामको पिनले घोचेको, फलामको रेलिङमा छाती दाबिदिएको आरोप भने उनले अस्वीकार गरेका छन् । खाना नखाँदा यातना दिएको र ७ दिनसम्म चिउरा मात्रै खान दिएको आरोप पनि स्वीकार गरेका छैनन् । 

वृन्दावन तीर्थयात्राका क्रममा ऋषिले ओछ्यानमा पिसाब गरेपछि तन्ना पानीमा भिजाउन लगाएको तर ठूलो उमेरकालाई धुन दिएको उनको बयान छ । बालक बिरामी भएर अस्पताल लगिएको बारे आफूलाई जानकारी नभएको उनले बताएका छन् । निमजिनले उनै प्रिन्सिपल सुरजकृष्णसँग घटनाबारे बुझ्न पटक पटक फोन गर्दा पनि सम्पर्क हुन सकेन । 

ISKON-Press-Release1-NIMJN-1792142088.png
इस्कोन नेपालका अध्यक्ष प्रदीप भण्डारीले जारी गरेको विज्ञप्ति ।

गुरुकुलमा बालबालिकामाथि दुर्व्यवहार भएको भन्दै सञ्चार माध्यममा समाचार आउन थालेपछि इस्कोन नेपालका अध्यक्ष प्रदीप भण्डारीले ३१ जेठ, २०८३ मा विज्ञप्ति निकालेर अनुसन्धानबाट जोकोही दोषी ठहरिएमा आवश्यक कानुनी कारबाही गरिने भन्दै व्यक्तिगत अनुसन्धान तथा आक्षेपका विषयलाई संस्थासँग नजोड्न आग्रह गरेका थिए ।

समस्या भक्तिवेदान्तमा मात्र छैन

गुरुकुल प्राचीन एवं परम्परागत शिक्षा प्रणाली हो । जहाँ आवासीय रूपमै गुरुको सान्निध्यमा राखेर बालबालिकालाई शिक्षा प्रदान गरिन्छ । भक्तिवेदान्त भने आवासीय गुरुकुल होइन । 

नेपालमा थुप्रै गुरुकुल छन् । अन्य विभिन्न धार्मिक संस्थाले पनि गुरुकुलकै जस्तो परम्परागत शैलीमा ज्ञान प्रदान गर्ने शिक्षालय खोलेका छन् । तिनले बालबालिकालाई आवासीय रूपमा समेत राखेका हुन्छन् । तर त्यस्ता शिक्षालयमा सरकारको नियमन कमजोर देखिन्छ । ऋषिले जस्तै दुर्व्यवहार भोगेका घटना बेला–बेला सार्वजनिक हुने गरेका छन् । 

एक वर्षअघि काठमाडौंको बौद्धस्थित खवालुङ गुम्बामा एक बालकलाई शिक्षिकाले कुटेको भिडियो सार्वजनिक भएको थियो । भिडियो सार्वजनिक भएपछि शेर्पा विद्यार्थी संघले विद्यालय तथा गुम्बा जुनसुकै प्रकारको शैक्षिक संस्था भए पनि बालबालिकाको संरक्षण गर्नुपर्ने माग राखेको थियो । संघले अनुशासनका नाममा दिइने शारीरिक र मानसिक यातना स्वीकार्य नहुने बताएको थियो । 

राष्ट्रिय बाल अधिकार परिषद्का बाल संरक्षण अधिकृत लोचन रेग्मी गुरुकुल, गुम्बा, आश्रम, चर्च र मदरसामा अनुगमनमा जान अनुमति नै नमिल्ने बताए । कुटपिट तथा यातना सहन नसकेर भागेका बालबालिकालाई उद्धार गरिएको उनले जानकारी दिए । 

यातना सहन नसकेर हिँडेका बालबालिका ती संस्थामा पुनः जान नचाहने गरेको रेग्मीको भनाइ छ । “धार्मिक संस्था आस्थासँग जोडिएको विषय र ठाउँ भएकाले त्यसमा हात हाल्न धेरै कुरा सोच्नुपर्ने हुन्छ,” उनले भने, “त्यसैले उजुरी आएका घटनामा मात्रै कारबाही प्रक्रिया अगाडि बढाउने गरिएको छ ।”

बाल अधिकारकर्मी तथा काठमाडौं स्कुल अफ लका उपप्राध्यापक कपिल अर्याल परम्परागत शैक्षिक संस्थामा हुने यस्ता घटना समयमा थाहा नहुन सक्ने बताउँछन् । गुनासो वा उजुरीपछि पनि घटना बाहिर नआओस् भनेर संस्थाले दबाब दिन सक्छ । “घटना बाहिर ल्याइएन भने पीडित बालबालिका र परिवारलाई न्याय पाउन कठिन हुन्छ,” उनी भन्छन् । 

बालबालिकाले आफूमाथि भएको हिंसा वा यौन दुर्व्यवहार तत्काल भन्न नसक्ने, डराउने भएकाले घटना ढिलो मात्रै थाहा हुने गरेको बाल अधिकारकर्मी कपिल बताउँछन् । “तर ढिलो गरी उजुरी परेको तथ्य मात्रैका आधारमा आरोप झूटो वा सत्य ठहर गर्न मिल्दैन,” उनले भने ।

लामो समयसम्म डर, धम्की, हिंसा तथा यौन दुर्व्यवहार सहनुपर्दा बालबालिकाको व्यक्तित्व विकासमा पनि असर पर्छ । त्यसैले बालबालिकालाई विद्यालयमा मात्रै नभई घरमा पनि सुरक्षित, सम्मानजनक र भयरहित वातावरण दिनुपर्छ । – डा. ऋषभ कोइराला, मनोचिकित्सक

बूढानीलकण्ठ नगरपालिकाका शिक्षा तथा युवा खेलकुद महाशाखाका प्रमख ललितविक्रम सिंह धार्मिक संस्थाहरूमा कडा अनुशासनमा राख्नका लागि बालबालिकालाई डर, त्रास देखाउने प्रवृत्ति रहेको र त्यसका कारण बालबालिकाले पढाइमा ध्यान दिन, नयाँ कुरा सिक्न र प्रतिस्पर्धा गर्न नसक्ने बताउँछन् । “बालबलिकालाई धर्म र संस्कृतिका नाममा दण्ड र सजाय दिनु अपराध हो,” उनी भन्छन् ।

बाल अधिकारकर्मी कपिल पनि धार्मिक संस्था, विद्यालय वा अन्य संस्थामा भएको शारीरिक वा मानसिक हिंसा हुनुलाई संस्थाको आन्तरिक अनुशासनको विषयमा सीमित राख्नु नहुने बताउँछन् । “बालबालिकालाई अनुशासन सिकाउने नाममा शारीरिक तथा मानसिक सजाय दिनु हुँदैन, यो कानुनले दण्डनीय छ,” उनले भने ।  

बालबालिकासम्बन्धी ऐनको २०७५ को दफा १५ (२) मा प्रत्येक बालबालिकालाई बालमैत्री वातावरणमा शिक्षा पाउने अधिकार हुनेछ भनिएको छ । ऐनको दफा ६६ ले बालबालिकामाथि हुने शारीरिक वा मानिसक दण्ड, धम्क्याउने, क्रूर अमानवीय तथा अमर्यादित व्यवहार तथा यौन दुर्व्यवहारलाई बालबालिकाविरुद्धको कसुर मानेको छ । 

दफा ७२ मा कसुरको प्रकृतिअनुसार सजायको व्यवस्था गरिएको छ । त्यस्तै, मुलुकी अपराध संहिता, २०७४ को दफा १९१ ले कसैलाई कुटपिट गर्न र शारीरिक पीडा पुर्‍याउने कार्य गर्न नहुने भनेको छ । कुटपिटको कसुर गरे ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्ने कानुनी व्यवस्था छ । 

बालबालिकासम्बन्धी ऐनको दफा ६४ ले बाल अधिकार उल्लंघन भए स्थानीय तहको न्यायिक समितिमा निवेदन दिन सकिने व्यवस्था गरेको छ । दफा ६८ मा बालबालिकामाथि हिंसा वा बाल यौन दुर्व्यवहार भएको, भइरहेको वा हुन लागेको थाहा पाए बाबु–आमा, संरक्षक, शिक्षक, स्वास्थ्यकर्मी तथा बालबालिकासँग प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिले नजिकको प्रहरी कार्यालयमा सूचना दिनुपर्ने व्यवस्था छ ।

भक्तिवेदान्त गुरुकुलमा अध्ययनरत बालबालिकाको सुरक्षाका लागि इस्कोनको आफ्नै बाल संरक्षण नीति पनि छ । सन् २०२३ मा जारी गरिएको यस नीतिले बालबालिकालाई सबै प्रकारका दुर्व्यवहारबाट जोगाउनु मुख्य उद्देश्य राखेको छ ।

नीतिमा बालबालिकामाथि शारीरिक, मानसिक, अपमानजन्य व्यवहार र यौन दुर्व्यवहार भएको शंका तथा जानकारी पाए स्थानीय प्रहरी तथा सम्बन्धित सरकारी निकायलाई अनिवार्य जानकारी गराउनुपर्छ भनिएको छ । त्यसपछि इस्कोनको बाल संरक्षणा कार्यालय (चाइल्ड प्रोटेक्सन अफिस - सीओपी) र स्थानीय बाल संरक्षणा समुह (चाइल्ड प्रोटेक्सन टिम - सीपीटी) लाई पनि जानकारी दिनुपर्छ । 

त्यस्ता घटनाको छानबिन गर्न तीन सदस्यीय निष्पक्ष समिति बनाइन्छ । आरोप प्रमाणित भए दोषी व्यक्तिलाई इस्कोनभित्र पद सम्हाल्न, प्रवचन तथा कीर्तन गर्न तथा बालबालिकासँग काम गर्न रोक लगाइन्छ । गम्भीर अपराध भए आजीवन प्रतिबन्ध वा संस्थाबाट निष्कासनसमेत हुन सक्ने व्यवस्था छ । समितिको निर्णयमा चित्त नबुझे ६० दिनभित्र पुनरावेदन गर्न सकिने व्यवस्था पनि रहेको छ । 

मनोचिकित्सक भन्छन्– दुर्व्यवहारले व्यक्तित्व विकासमै असर पुग्न सक्छ

उजुरीका लागि काठमाडौं आएका बेला ऋषिलाई जेठ १, २०८३ मा पाटन अस्पताल लगेर मनोचिकित्सकलाई देखाइएको थियो । मनोचिकित्सकले रिपोर्टमा उनी शान्त भएर बस्न नसक्ने, पढाइमा ध्यान दिन नसक्ने, झस्किने र एक्लै बस्न खोज्ने स्वभावको भएको उल्लेख छ । रिस उठ्दा सामान फाल्ने, रुने र लामो समयसम्म शौचालयमा बस्नेजस्ता व्यवहार पनि देखिएको रिपोर्टमा भनिएको छ । 

ऋषिलाई काठमाडौं महानगरपालिकामा समेत लगेर काउन्सिलिङ गरिएको थियो । बाल मनोपरामर्शकर्ता ललिता बानियाँले दिएको रिपोर्टमा पनि ऋषिमा डर, तनाव रहेको, एक्लोपन महसुस गर्ने र पढाइप्रति रुचि घटेको देखिएको उल्लेख छ ।

ऋतिकाका विषयमा मनोचिकित्सकले जेठ १८, २०८३ मा दिएको रिपोर्टमा यौन दुर्व्यवहारले उनको मानसिक स्वास्थ्यमा असर परेको भनिएको छ । उनलाई टाउको र छाती दुख्ने, एक्लोपन महसुस हुने तथा अपरिचित पुरुष देख्दा असहज र असुरक्षित महसुस गर्ने समस्या देखिएको पनि रिपोर्टमा उल्लेख छ । 

Gurukul-Abuse-Health-Report-NIMJN-1792066081.png
ऋतिकाका विषयमा मनोचिकित्सकले जेठ १८, २०८३ मा दिएको रिपोर्टको अंश । 

मनोचिकित्सक डा. ऋषभ कोइरालाका अनुसार लामो समयसम्म डर र त्रासको वातावरणमा बस्दा बालबालिकाको आत्मविश्वासमा कमजोर हुन्छ । त्यसले मानसिक विकासमा पनि असर पर्छ । त्यस्तो वातावरणमा हुर्किएका बालबालिका सानो कुरामा पनि डराउने, आत्तिने र आफूलाई असुरक्षित महसुस गर्ने हुन्छन् । उनीहरूको सामाजिक व्यवहारसमेत बेग्लै हुन्छ । “लामो समयसम्म डर, धम्की, हिंसा तथा यौन दुर्व्यवहार सहनुपर्दा बालबालिकाको व्यक्तित्व विकासमा पनि असर पर्छ,” डा. ऋषभ भन्छन्, “त्यसैले बालबालिकालाई विद्यालयमा मात्रै नभई घरमा पनि सुरक्षित, सम्मानजनक र भयरहित वातावरण दिनुपर्छ ।”

बालबालिकालाई अनुशासन सिकाउने नाममा शारीरिक वा मानसिक सजाय दिन नहुने पनि उनी बताउँछन् । “बालबालिकाको उमेर र क्षमताअनुसार जिम्मेवारी सिकाउनुपर्छ तर संस्कार र अनुशासनका नाममा उनीहरूको क्षमताभन्दा बढी शारीरिक श्रम गराउनु हुँदैन,” उनले भने । 

अस्ट्रेलिया सरकारले गठन गरेको ‘रोयल कमिसन’ को अध्ययन प्रतिवेदनले पनि बालबालिकामाथि हुने दुर्व्यवहारको असर लामो समयसम्म रहने देखाएको छ । सन् २०१७ मा सार्वजनिक गरिएको प्रतिवेदनअनुसार बाल्यकालमा भएको यौन दुर्व्यवहारले मानसिक तथा शारीरिक स्वास्थ्यसँगै शिक्षा, रोजगारी र आर्थिक जीवनमासमेत दीर्घकालीन असर पार्न सक्छ । 

बाल्यकालमै दुर्व्यवहार भोगेका व्यक्तिमा निराशा, चिन्ता, मानसिक तनाव, डर र हीन भावनाजस्ता समस्या देखिन सक्छन् । यसको असर उनीहरूको पढाइ, रोजगारी र आर्थिक जीवनमा समेत पर्न सक्ने प्रतिवेदनमा उल्लेख छ । 

धार्मिक संस्थासँग सम्बन्धित घटनालाई बेवास्ता गर्ने, ढाकछोप गर्ने वा पीडितलाई नै दोष दिने व्यवहारले बालबालिकामा थप मानसिक असर पार्न सक्छ । त्यस्तो व्यवहारका कारण उनीहरूमा धार्मिक संस्था र आफ्नो आस्थाप्रति समेत लामो समयसम्म अविश्वास हुन सक्ने अध्ययनले देखाएको छ ।

धार्मिक संस्थाले उजुरीलाई बेवास्ता गर्ने, आरोपित व्यक्तिलाई स्थानान्तरण गर्ने र संस्थाको प्रतिष्ठालाई पीडितको हितभन्दा माथि राख्ने प्रवृत्ति देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । यसको असरमा बालबालिकालाई जीवनभरि नै रहन सक्ने पनि प्रतिवेदनले जनाएको छ ।

धार्मिक संस्थामा सुरक्षित हुन्छन् भन्ने विश्वास गरेर अभिभावकले आफ्ना छोराछोरी पठाएका हुन्छन् । विश्वास गरेको व्यक्तिबाटै दुर्व्यवहार हुँदा त्यसको असर झन् गम्भीर हुन सक्ने विभिन्न अध्ययनले देखाएका छन् । अध्ययनअनुसार घटनालाई बेवास्ता गर्ने, ढाकछोप गर्ने वा पीडितलाई नै दोष दिने व्यवहारले यस्तो असर थप बढाउन सक्छ । यस्तो घटनाले उनीहरूको आत्मविश्वास र धार्मिक विश्वासलाई समेत कमजोर बनाउने अध्ययनको निष्कर्ष छ ।

सन् २००३ मा प्रकाशित ‘धर्मसँग जोडिएको बाल शारीरिक हिंसा : यसको स्वरूप र मानसिक असर’ नामक अध्ययनले धर्मका नाममा हुने शारीरिक हिंसाले बालबालिकामा दीर्घकालीन मानसिक समस्या निम्त्याउन सक्ने देखाएको थियो । अध्ययनमा धर्मका नाममा हिंसा भोगेका बालबालिकामा डर, निराशा, अत्यधिक चिन्ता र आक्रोश बढी देखिएको थियो । धािर्मक ग्रन्थको गलत अर्थ लगाउँदै गरिने हिंसा अन्यको तुलनामा बढी देखिएको अध्ययनमा उल्लेख छ । 

अध्ययनअनुसार धर्मकै नाममा बालबालिकामाथि हिंसा हुँदा उनीहरूमा शारीरिक पीडासँगै मानसिक आघात, अन्योल र आफू नै दोषी भएको भावना पनि विकास हुन सक्छ । 

इन्डोनेसियाका इस्लामिक आवासी विद्यालयमा हुने बुलिङबारे सन् २०२५ मा गरिएको अध्ययनले विद्यार्थीमाथि हुने कुटपिट, गालीगलौज, अपमान र एक्ल्याउने व्यवहारले उनीहरूको मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्ने देखाएको छ । यस्ता घटनाले विद्यार्थीमा डर, तनाव, एक्लोपन र पढाइप्रति रुचि घट्ने समस्या देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । 

विज्ञहरूका अनुसार बालबालिकाका लागि धर्म, संस्कृति र आस्था आफैँमा हानिकारक होइनन् । धार्मिक तथा आध्यात्मिक शिक्षाले एकता, सद्भाव, सहिष्णुता र नैतिक बन्न प्रेरित गर्छ । बालबालिकामाथि हुने हिंसा वा दुर्व्यवहारलाई अनुशासन, संस्कार वा धार्मिक आवश्यकताको नाम दिएर सामान्य अथवा उचित ठहर्‍याउने प्रयासले भने गम्भीर समस्या निम्त्याउन सक्ने अन्तर्राष्ट्रिय अध्ययनहरूले देखाएका छन् ।

बाल अधिकारकर्मी तथा राष्ट्रिय बाल अधिकार परिषद्का पूर्वनिर्देशक मिलन धरेलका अनुसार हिंसाको अनुभव गरिरहेका बालबालिकाले आफूले भोगेको व्यवहार सही हो कि गलत भनेर छुट्याउन सक्दैनन् । गुरुकुल, आश्रम, गुम्बा, मदरसा, चर्च तथा अन्य धार्मिक संस्थामा बालबालिका आवासीय वा गैरआवासीय रूपमा अध्ययन गर्ने भए पनि उनीहरूको सुरक्षा, शिक्षा, स्वास्थ्य र संरक्षण सुनिश्चित गर्ने जिम्मेवारी सम्बन्धित संस्थाको हुन्छ । धार्मिक संस्था भएकै कारण बाल संरक्षणका आधारभूत मापदण्डबाट त्यस्ता संस्थालाई अलग राख्न सकिँदैन ।

बाल अधिकारकर्मी मिलन धार्मिक तथा परम्परागत विद्यालयलाई समेत राज्यले नियमित नियमन गर्नुपर्ने बताउँछन् । “हिंसा भइसकेपछि कारबाही गर्नेभन्दा पनि बालबालिकाका लागि सुरक्षित तथा बालमैत्री वातावरण सुनिश्चित गर्नुपर्छ,” उनले भने, “संस्थाभित्र स्पष्ट बाल संरक्षण नीति, नियमित निगरानी, सहज उजुरी प्रणाली र स्वतन्त्र छानबिनको व्यवस्था हुनुपर्छ ।” पीडित बालबालिकालाई उपचार र मनोसामाजिक परामर्शको व्यवस्था हुनुपर्ने पनि उनी बताउँछन् ।

धार्मिक संस्थाको स्वतन्त्रता महत्त्वपूर्ण भए पनि त्यो बालबालिकाको अधिकार र सुरक्षाभन्दा माथि हुन नसक्ने राष्ट्रिय बाल अधिकार परिषद्का बाल संरक्षण अधिकृत लोचन रेग्मी बताउँछन् । अभिभावकले पनि बालबालिका धार्मिक संस्थामा बस्दा त्यहाँका गतिविधिबारे नियमित जानकारी लिनुपर्ने उनको भनाइ छ ।

बालबालिकासम्बन्धी ऐन, २०७५ ले बालबालिकासँग प्रत्यक्ष काम गर्ने सार्वजनिक निकाय, निजी क्षेत्र तथा सामाजिक संस्थालाई बाल हिंसा र बाल यौन दुर्व्यवहार रोकथामका लागि संस्थागत बाल संरक्षणका मापदण्ड निर्माण तथा लागू गर्नुपर्ने व्यवस्था गरेको छ ।

बालबालिकाको हेरचाह तथा पालनपोषणको जिम्मेवारी लिएका संस्थाको अनुगमन र निरीक्षण गर्ने व्यवस्था पनि कानुनमा छ । यसले बाल संरक्षणलाई संस्थाको आन्तरिक विषय मात्र नभई राज्यको नियमन र जवाफदेहितासँग जोडिएको हुुन्छ भन्ने प्रस्ट्याउँछ । 

संयुक्त राष्ट्रसंघको बाल अधिकार समितिको सन् २०११ मा भएको ५६ औँ सत्रको ‘कमेन्ट नम्बर १३’ ले पनि बालबालिकालाई सबै प्रकारका हिंसा, दुर्व्यवहार र शोषणबाट संरक्षण गर्न राज्यले आवश्यक कदम चाल्नुपर्नेमा जोड दिएको छ । शारीरिक हिंसा मात्र होइन, मानसिक तथा भावनात्मक दुर्व्यवहार, डर–धम्की, बेवास्ता, लापरबाही र यौन दुर्व्यवहारलाई समेत बाल हिंसाकै रूपमा हेर्नुपर्ने समितिको मान्यता छ ।

बाल संरक्षणको जिम्मा कसको ?

बालबालिकासम्बन्धी ऐनको दफा ५७ ले विद्यालय तथा बालबालिकासँग प्रत्यक्ष काम गर्ने सार्वजनिक निकाय, निजी क्षेत्र र सामाजिक संस्थालाई बाल हिंसा तथा बाल यौन दुर्व्यवहार रोकथाम गर्न, बाल संरक्षण सुनिश्चित गर्न र उजुरीमा तत्काल कारबाही गर्न संस्थागत बाल संरक्षण मापदण्ड निर्माण तथा लागू गर्नुपर्ने व्यवस्था गरेको छ ।

त्यसको अर्थ बालबालिका राखेर शिक्षा वा सेवा दिने संस्था स्वयंले पनि बाल संरक्षणको स्पष्ट प्रणाली बनाउनुपर्ने हुन्छ । त्यसैले गुरुकुलमा त्यस्तो नीति, उजुरी सुन्ने संयन्त्र, जोखिम पहिचान गर्ने व्यवस्था, शिक्षकको पृष्ठभूमि जाँच तथा बालबालिकासँग काम गर्ने व्यक्तिको निगरानी प्रणालीको व्यवस्था गरेर काम गर्नुपर्छ । 

बालबालिकासम्बन्धी ऐनमा स्थानीय तहभित्र भएको वैकल्पिक हेरचाहको व्यवस्था, पुनःस्थापना केन्द्र, अस्थायी संरक्षण सेवा, निगरानी कक्ष तथा बालबालिकाको शैक्षिक प्रयोजनका लागि चलाइएका मठ, गुरुकुल, गुम्बा, मदरसा, चर्चजस्ता आवासीय गृहको नियमित अनुगमन गरी त्यसको प्रतिवेदन स्थानीय अधिकारी तथा अन्य सम्बन्धित निकायमा पेस गर्ने भनिएको छ । 

बालबालिकासम्बन्धी ऐनको दफा ६१ मा बालबालिकाको अधिकारको सम्मान, संरक्षण र सम्वर्धन गर्न तथा बाल संरक्षण कार्यसमेत गर्नका लागि स्थानीय तहमा बालकल्याण अधिकारी रहने व्यवस्था छ । बालबालिकासम्बन्धी नियमावली २०७८ को नियम ८२ मा बालकल्याण अधिकारीलाई बालबालिकासँग सम्बन्धित सम्पूर्ण कामको जिम्मेवारी तोकिएको छ ।

भक्तिवेदान्त गुरुकुल बूढानीलकण्ठ नगरपालिकामा पर्छ । भक्तिवेदान्तमा ऋषि र ऋतिकामाथि भएको कुटपिट र यौन दुर्व्यवहारबारे ३ वर्षपछि मात्र थाहा पाएको नगरपालिकाकी बालकल्याण अधिकारी पुष्पा बमले बताइन् । “पीडित बालबालिकाका अभिभावकले उजुरी नदिएकाले समयमै थाहा पाउन सकेनौँ,” उनले भनिन्, “थाहा भएपछि इस्कोनका शिक्षक तथा पदाधिकारीहरूसँग घटनाबारे जानकारी लियौँ ।”

बालबालिकासम्बन्धी ऐनको दफा १६ ले परम्परागत शिक्षा संरक्षणका लागि गुरुकुल, गुम्बा वा मदरसाजस्ता संस्था सञ्चालन गरी बालबालिकालाई शिक्षा दिन सकिने व्यवस्था गरेको छ । तर त्यस्तो संस्था सम्बन्धित स्थानीय तहमा दर्ता हुनुपर्ने र स्थानीय तहले तोकेको सर्त तथा मापदण्ड पालना गर्नुपर्ने व्यवस्था त्यही दफामा उल्लेख छ । तर भक्तिवेदान्त गुरुकुल छुट्टै संस्थाका रूपमा दर्ता भएको प्रमाण फेला नपरेको बूढानीलकण्ठ नगरपालिकाका शिक्षा तथा युवा खेलकुद महाशाखा प्रमुख ललितविक्रम सिंह बताउँछन् ।

परम्परागत शिक्षण संस्था (सञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०७९ को परिच्छेद ३ (ख) मा परम्परागत शिक्षा प्रदान गर्ने शिक्षण संस्थाको सञ्चालन तथा व्यवस्थापनलाई समयानुकूल बनाई त्यस्ता शिक्षण संस्थाबाट सञ्चालन हुँदै आएका शैक्षिक कार्यक्रमलाई शिक्षा प्रणालीको मूल धारमा ल्याउने भनिएको छ । अर्थात् ती विद्यालय शिक्षा मन्त्रालयको नियमभित्र आउनुपर्छ । 

त्यस्ता संस्थाले अनौपचारिक रूपमा शिक्षा दिने भए पनि बिनादर्ता सञ्चालन गर्नु कानुनविपरीत भएको बाल अधिकारकर्मी परिषद्का पूर्वनिर्देशक मिलन बताउँछन् । 

ऋषि र ऋतिकामाथि कुटपिट र दुर्व्यवहारको घटना सार्वजनिक हुनुका साथै विभिन्न निकायबाट अनुसन्धान अघि बढेपछि अभिभावकले आफ्ना बालबालिकालाई निकालेका छन्, जसका कारण भक्तिवेदान्त गुरुकुल बन्द छ । घटनाबारे जानकारी पाउँदा गुरुकुल बन्द भइसकेकाले कानुनी कारबाहीबाट पछाडि हटेको बूढानीलकण्ठ नगरपालिकाका शिक्षा तथा युवा खेलकुद महाशाखा प्रमुख ललितविक्रम सिंहले बताए । 

ऋषि र ऋतिका दुवै अहिले पुर्ख्यौली गाउँकै स्कुलमा अध्ययनरत छन् । उनीहरू दुवैले अझै पढाइमा ध्यान केन्द्रित गर्न सकेका छैनन् । विद्यालय जान नमान्ने, रुने, रिसाउने र एक्लै बस्न खोज्ने स्वभावमा खासै परिवर्तन आएको छैन । 

यो सामग्री पुन: प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो पुन:प्रकाशन नीति अनुसार प्रकाशन गर्नुहोस् । पुन:प्रकाशन निर्देशिका यहाँ छ ।

टिप्पणीहरू