बाढीलगत्तै नुवाकोट र रसुवा पुग्दा के देखियो भने वास्तविकता समाचारमा सुनिए र देखिएभन्दा निकै गहिरो र पीडादायी रहेछ।
बिहीबार बिहान नुवाकोटको विदुर हुँदै रसुवागढी–केरुङ जोड्ने मार्गमा पर्ने त्रिशूली बजार पुग्दा त्यहाँको बजार चिन्नै नसकिने गरी ध्वस्त भइसकेको थियो। घरहरू बगेका थिए। पुरिएका थिए। विदुर मात्र नभई नुवाकोटदेखि रसुवागढीसम्मका गाउँहरू शोकमा थिए। एक किसिमको शून्यता थियो। कसैले केही बोलिरहेका थिएनन्। आँखाबाट आँसु मात्र बगाइरहेका थिए।
सिंगो बजार हिलो, लेदो र गेग्रानले भरिएको थियो। सुरक्षाकर्मी एक्स्काभेटर लगाएर गेग्रान हटाउँदै, जमेको पानी फाल्दै र अवरुद्ध सडक खोल्ने प्रयासमा थिए।
घटना भएको बुधबार मैले काठमाडौँमै बसेर रिपोर्टिङ गरेको थिएँ। समाचार तत्कालै सम्प्रेषण गर्नुपर्ने भएकाले बिहीबार बिहानै विदुर आएँ। वास्तविकता सोचेभन्दा धेरै भयावह थियो।
सेनाले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र बनाएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाले हवाई तथा स्थलमार्गबाट घाइतेको उद्धार गरिरहेका थिए। शवहरू त्रिशूलीबाट निकालिँदै थिए। हराएका मानिस खोज्न आफन्तहरू आइरहेका थिए।
बिजुली थिएन। इन्टरनेट पनि राम्रोसँग चलेको थिएन। मल्टिमिडिया र भिडियोमा काम गर्नुपर्ने भएकाले दिनभरको सामग्री कसरी पठाउने भन्ने चुनौती सुरुदेखि नै थियो। लाइभ पनि गर्नुपर्ने थियो। बिजुली, ब्याट्री ब्याकअप र इन्टरनेटको अभावले लाइभ गर्न धेरै समस्या भयो।
त्यो रात हामी त्रिशूली बजारमै बस्यौँ। भोलिपल्ट बिहान त्यहाँबाट दुई घण्टा हिँडेर गेर्खुटार पुग्यौँ।
त्यहाँ पनि मैले घाइतेको उद्धारसम्बन्धी समाचार संकलन गरेँ, बाढी प्रभावितसँग कुरा गरेँ र वस्तुस्थिति बुझेँ। गाडी जाने ठाउँसम्म गाडीमा गयौँ, त्यसपछि गेर्खुटारबाट बेत्रावतीतर्फ पैदल हिँड्यौँ। तर माथिबाट थप बाढी आउन सक्ने जोखिम रहेकाले अघि बढ्न सकिएन। रात परेपछि जंगल काट्न नसकिने भएकाले विदुर नै फर्कियौँ। त्यो दिन पनि विदुरमै बास बस्नुपर्यो।
अर्को दिन रसुवासँग जोड्ने बाटो पछ्याउँदै बेत्रावतीतर्फ हिँड्यौँ। स्थानीयले हामीलाई नुवाकोट दरबार हुँदै जान सुझाए। तर नुवाकोट दरबार कटेपछि थाहा भयो, त्यहाँबाट लच्याङ जोड्ने बाटो पहिरोका कारण भासिएको रहेछ।
त्यहाँबाट बाहुनबेँसी निस्कने बाटो बिराएका कारण हामीलाई त्यस दिनको गन्तव्यमा पुग्न साह्रै कठिन भयो। बिहान ७ बजे हिँडेका हामी साढे ३ बजे मात्र लच्याङ, समरथली हुँदै बेत्रावती पुग्यौँ।
बेत्रावती जाँदै गर्दा दुई जनाले हात उठाएर हाम्रो गाडी रोके। उनीहरूलाई लिफ्ट दिएपछि थाहा भयो, बाढीबाट जोगिन भागेका उनीहरू घर हेर्न आएका रहेछन्। तीमध्ये एक थिए मदनलाल लावत। उनको परिवारका पाँच जना अझै हराइरहेका छन्।
बाढीले पूरै ध्वस्त बेत्रावती बजारका मदनले मलाई भत्किएका घरहरू औँल्याएर देखाउँदै भने, “यो बीचको घर मेरो हो । यो ठूलो दाइको घर हो । त्यो मेरी ठूली दिदी सन्तमायाको घर हो ।”
उनको घरमा लघुवित्तको कार्यालय थियो, दाइको घरमा कृषि कार्यालय।
“अफिसका सामान बाहिर छरपस्ट छन् । यहाँबाट हामीले केही पनि सामान निकालेका छैनौँ,” मदनले भने।
बाढीपछि मदनका भाइ–बुहारी, ठूली आमा, ठूलो दाइ र सानी आमा गरी पाँच जना सम्पर्कविहीन छन्।
“कतै हुनुहुन्छ कि, कसैले कुनै जानकारी दिन्छ कि भनेर हामी पर्खिरहेका छौँ,” उनले भने।
बेत्रावती केवल बजार थिएन, यो पर्यटकीय स्थल पनि थियो, धार्मिक स्थल पनि थियो।
“उत्तरगयाको पवित्र धाम हो यो । पुसे औँसीमा ठूलो मेला लाग्ने ठाउँ हो,” मदनले भने।
यहाँ कति मानिस बस्थे भन्ने प्रश्नको जवाफ भने उनीसँग थिएन।
भने, “यकिन नै छैन । कति मान्छे ओहोरदोहोर गर्थे, थाहै छैन ।”
त्यहीँ उनकी श्रीमती गीतामाया डंगोल थिइन्। घर देखाउँदै उनले भनिन्, “यो सबै मसानघाट जत्तिकै भयो के ।”
कुरा गर्दा उनको शरीर काँपिरहेको थियो।
उद्धारमा उपकरणकै अभाव
बेत्रावतीमा शव बाहिरै देखिन्थे। स्थानीयले शव राम्रोसँग व्यवस्थापन नभएको गुनासो गरिरहेका थिए। नजिकै प्रहरीहरू एउटा शव निकाल्दै थिए।
शव निकालिसकेपछि ती प्रहरीमध्ये चार जना हाम्रै गाडीमा कालिकास्थान पोस्टसम्म आए। उनीहरूमध्ये एक जनाले त्यतिबेला भनेको कुरा अझै मेरो मनमा गडेको छ, “डोरी र सुरक्षा उपकरणबिनै भत्किएको घरभित्र खोजबिन गर्न जानुपरेको छ सर । भित्र छँदाछँदै घर भत्किएको भए मेरो हालत के हुन्थो ?”
धेरै शव उठाउन बाँकी थिए। दुर्गन्ध फैलिएको थियो।
पशु उद्धारमा खटिएको स्नेहा श्रेष्ठ नेतृत्वको टोली त्यहाँ भेटियो। उनीहरू फसेका घरपालुवा पशु खोज्दै हिँडिरहेका थिए।
“मरेका गाईवस्तुहरू देखेँ । सायद तिनीहरू भाग्न सकेनन्, कतिलाई त बाँधेर राखिएको थियो होला,” श्रेष्ठले भनिन्।
पशु उद्धारमा लागिरहँदा उनको चिन्ता शव व्यवस्थापन नहुँदा फैलिन सक्ने महामारीमा बढी देखिन्थ्यो।
राति कालिकास्थानमा बस्यौँ। बिहानै हामी धुन्चेतिर हान्नियौँ। नपुग्दै हाम्रो गाडी बिग्रियो। पछि थाहा भयो, इन्धन प्रवाह गर्ने फित्ता बिग्रिएको रहेछ।
तत्कालै नबन्ने भएपछि हामीले त्रिशूलीबाट मेकानिक बोलाएर हेर्न लगायौँ। बाइकमा आएका मेकानिकले छ घण्टा लगाएर गाडी बनाए। त्यतिन्जेल साँझ परिसकेको थियो। हामी अरूको सहायता लिएर धुन्चेतिर अगाडि बढ्यौँ।
धुन्चेमा भेटिएका रसुवाका सांसद मोहन आचार्यले सरकार र स्थानीय तहबीच समन्वयको अभाव औँल्याए।
यस्तै, बागमती प्रदेशका सांसद इन्द्रप्रसाद गोतामेले रसुवाका छवटा जलविद्युत् आयोजनाका सुरुङभित्र थुप्रै मानिस रहेको र प्राविधिक तथा प्रविधिको अभावका कारण समयमै उद्धार हुन नसकेको सुनाए।
त्यहाँ पूर्वमन्त्री कुलमान घिसिङसँग पनि कुरा भयो। उनी हाइड्रोका सुरुङमा अड्किएकाहरूलाई तत्काल उद्धार गर्न दबाब दिइरहेका थिए। हवाई उद्धारले मात्र सम्भव नहुने भन्दै उनले सडक र पुल निर्माणमा जोड दिए।
धुन्चेबाट स्याफ्रुबेँसीतिर लम्कियौँ। स्याफ्रुबेँसीको बाटो र पूरै गाउँ नै बाढीले बगाएका कारण अगाडि बढ्न गाह्रो थियो। बत्ती र इन्टरनेट नहुँदा फोटो-भिडियो पठाउन निरन्तर समस्या भयो। फोटो नखिचेको बेला मोबाइल एयरप्लेन मोडमा राख्ने गर्यौँ।
“बिजुली नभएकाले यताउति आफ्ना मान्छेहरूसँग पनि कुरा गर्न सकेको छैन,” मेन्दो ग्याल्मोले सुनाइन्।
मैले उनलाई ‘म पत्रकार हुँ, तपाईंको कुरा सञ्चारमाध्यममा लैजान्छु, के भन्न चाहनुहुन्छ?’ भनेर सोधेँ।
“हराएका आफन्त खोजीदिनू। हामीलाई खान र बस्नको व्यवस्था गर्न भन्दिनू। हामीलाई अर्को चाहिएको छैन,” उनको जवाफ थियो।

विपद् रिपोर्टिङमा निस्कँदा
विपद् क्षेत्रमा रिपोर्टिङ गर्न जाँदा रिपोर्टरसँग समाचार संकलन गर्ने सीप मात्र भएर पुग्दैन, आफ्नै सुरक्षा र सञ्चारको वैकल्पिक योजना पनि हुनुपर्छ। पावर ब्यांक, सोलार चार्जरजस्ता सामग्री बोकेर जाने, इन्टरनेट नचले सामग्री अफलाइन रेकर्ड गरेर पछि पठाउने व्यवस्था मिलाउने र आफू कति समयसम्म सम्पर्कविहीन हुन सकिन्छ भन्नेबारे डेस्कसँग पहिले नै समन्वय गर्नु आवश्यक हुन्छ।
जंगल, सक्रिय पहिरो क्षेत्र वा रातको यात्रामा एक्लै हिँड्नु हुँदैन। सम्भव भएसम्म स्थानीय गाइड वा सुरक्षाकर्मीसँगै अघि बढ्नुपर्छ। त्यो साँझ जंगल नकाटी फर्कने हाम्रो निर्णयले एक दिन गुम्यो, तर सुरक्षाका हिसाबले त्यो सही निर्णय थियो।
विपद् रिपोर्टिङमा के देखाउने र के नदेखाउने भन्ने निर्णय पनि उत्तिकै संवेदनशील हुन्छ। शव, घाइते र शोकमा रहेका परिवारका दृश्य प्रयोग गर्दा समाचारको आवश्यकता र मानवीय मर्यादा दुवैलाई ध्यानमा राख्नुपर्छ।
अर्को महत्त्वपूर्ण कुरा फिल्ड नोट हो। हरेक दिनका घटना, नाम, ठाउँ र समय व्यवस्थित रूपमा टिपेर राख्दा तत्काल समाचार लेख्न मात्र होइन, पछि थप गहिरो वा खोजमूलक रिपोर्टिङ गर्न पनि त्यही अभिलेख उपयोगी हुन्छ।
(नेपाल इन्भेष्टिगेटिभ मल्टिमिडिया जर्नालिजम नेटवर्कका संस्थापक भण्डारी अर्गनाइज्ड क्राइम एन्ड करप्सन रिपोर्टिङ प्रोजेक्टका लागि खोज पत्रकारिता गर्छन्।)
टिप्पणीहरू