नेभिगेसन
समयमै उपचार नपाउँदा सर्पदंशका बिरामीले गुमाउँदै छन् ज्यान Chiranjibi Ghimire मंगलबार, असार ३०, २०८३

सर्पदंशका बिरामीले उपचारको सुविधा देशका सबै ठाउँमा छैन, उपचार हुने ठाउँमा पनि आवश्यक उपकरण नहुँदा सर्पदंशका बिरामीले उपचारकै अभावमा ज्यान गुमाइरहेका छन् । 

सिराहाबाट पढाउन भोजपुर पुगेका शिक्षक देवनारायण साह (३८) को पोहोर जेठमा सर्पले डसेर ज्यान गयो । सिराहा विष्णुपुर गाउँपालिका–७ का उनी भोजपुरको आमचोक गाउँपालिका–१० को लक्ष्मी माध्यमिक विद्यालयमा शिक्षक थिए । 

features-1719398032.png

जेठ २, २०८२ को राति ११ बजेतिर शौचालय जाँदा सर्पले डसेका उनलाई उचारका लागि धरान ल्याउन ७ घण्टा समय लागेको थियो । भोजपुरमै सर्पदंश उपचार केन्द्र नभएको र अस्पताल पुर्‍याउन समय लागेकाले भाइले ज्यान गुमाएको उनका दाइ रामनारायण बताउँछन् । उनी भन्छन्, “घटनाबारे त हामीले भोलिपल्ट मात्र थाहा पायौँ, उपचारमा लैजान बोलाएको गाडी आउन नै दुई घण्टा लागेछ, अस्पताल लैजान समय लाग्यो, बाटोमा नै मृत्यु भयो ।” 

रामनारायणलाई भोजपुरमै सर्पदंशको उपचार हुन सकेको भए भाइले ज्यान गुमाउँदैन थियो भन्ने लागेको छ । र, यसमा स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी जनस्वास्थ्य निरीक्षक शिवकुमार यादव पनि सहमत छन् । उनी भन्छन्, “समयमै उपचार पाएको भए उनको ज्यान जाँदैन थियो, धरान जानुपर्ने भएका कारण लामो समय लाग्दा बाटोमै ज्यान गयो ।” शिवकुमारका अनुसार जिल्ला अस्पताल भोजपुरमा सर्पदंशको उपचार सम्बन्ध तालिम लिएका एक जना स्वास्थ्यकर्मी छन्, तर अस्पतालमा सेवा सञ्चालनमा छैन ।

देवनारायणको मृत्युको घटनाले सर्पदंशका बिरामीले समयमै उपचार नपाउँदा ज्यान गुमाइरहेको देखिन्छ । पछिल्लो समयमा पहाडी जिल्लामा सपंदर्शका घटना बढ्दै गए पनि त्यहाँ उपचारको सुविधा छैन । जसले गर्दा सर्पदंशका बिरामीले लामो यात्रा गरेर तराइका जिल्लाम रहेको उपचार केन्द्रसम्म आउनुपर्ने बाध्यता छ । 

दमकस्थित रेडक्रस सोसाइटी उपशाखा दमकले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रका इन्चार्ज देवी भण्डारीका अनुसार सर्पले डसेका व्यक्ति उपचारमा ढिला आउँदा बचाउन गाह्रो हुन्छ । सर्पले डसेको व्यक्तिमा हुने प्रतिरोधात्मक क्षमता, सर्पले छाडेको विष, डस्ने सर्पको प्रजातिअनुसार यसको असर देखिने समय थोरै र धेरै हुने भन्दै उनी सर्पले डसेपछि जतिसक्दो छिटो अस्पताल पुग्नुपर्ने बताउँछन् । 

इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ७ वर्षअघि जारी गरेको ‘नेपालमा सर्पदंश व्यवस्थापनका लागि राष्ट्रिय निर्देशिका, २०१९’ अनुसार नेपालमा ८९ जातका सर्पको रेकर्ड (अभिलेख) रहेको छ । जसमध्ये १७ जातका सर्प अति नै विषालु छन् । घस्रक जन्तु (हर्पेटोफाउन) विज्ञ डा. केआर खम्बुका गोमन, करेत, भाइपर समूहको र राजगोमन समूह अत्यन्तै घातक विषालु सर्प हुन् । पछिल्लो समय राजगोमन सर्प पहाडी जिल्लामा पनि पाइन थालेको छ । माउन्टेन पिट भाइपर सर्प पहाडमा देखिने उनी बताउँछन् । 

उपचार सुविधा नभएका ठाउँमा त समस्या भयो नै । उपचारका सुविधा भएका ठाउँमा पनि आवश्यक उपकरण नहुँदा सर्पदंशका बिरामीले ज्यान गुमाइरहेका छन् । यस्तै मध्येकी एक हुन्— झापा कमल गाउँपालिका–३ की ४० वर्षीया सरस्वती लिम्बू । उनलाई गत असार २२ को बेलुकी खाना बनाइरहेको बेला सर्पले डसेको थियो । त्यसपछि तत्कालै दमकस्थित रेडक्रस सोसाइटीले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रमा लगियो । सर्पले डसेको करिब ३ घण्टापछि राति पौने ११ बजेतिर उनको उपचार केन्द्रमै मृत्यु भयो । 

“सर्पले डस्नेबित्तिकै धेरै पोलेर छटपटाउन थालिन्, सर्प पनि देखिएपछि टोकेको २० मिनेटमा उपचार केन्द्र पुर्‍यायौँ, त्यही निधन भयो,” उनका श्रीमान् ज्ञानबहादुर भन्छन्, “उपचार केन्द्रमा भेन्टिलेटर पनि रहेनछ । भेन्टिलेटर भएको भए बचाउन सकिन्थ्यो कि !” उनका अनुसार उपचार केन्द्रमा सरस्वतीले सास फेर्न गाह्रो भएर छटपटाउँदा–छटपटाउँदै प्राण त्यागेकी थिइन् ।

‘नेपालमा सर्पदंश व्यवस्थापनका लागि राष्ट्रिय निर्देशिका, २०१९’ ले पनि सर्पदंशका बिरामीलाई उपचारमा क्रममा उपलब्ध भएसम्म भेन्टिलेटरमा राख्नुपर्ने भनेको छ । गोमन, करेतजस्ता सर्पले डसेमा स्नायुमा असर गर्ने र त्यसले फोक्सोको मांसपेशीलाई पक्षाघात गराएर श्वासप्रश्वास बन्द गराउन हुँदा उनीहरूलाई बचाउन कृत्रिम श्वासप्रश्वास दिनुपर्ने निर्देशिकमा उल्लेख छ । निर्देशिका अनुसार एन्टिस्नेक भेनम नपाएको स्थितिमा पनि सर्पदशंका बिरामीलाई ३६ देखि ७२ घन्टा भेन्टिलेटरमा राखेर कृत्रिम श्वासप्रश्वास दिएर बचाउन सकिन्छ । 

तर दमकमा जस्तै धेरै सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटरको सुविधा छैन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार देशभर ९८ वटा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन् । काठमाडौं, ललितपुर, कास्की, पाल्पा, अछाम, डडेलधुरा, बाजुरा, डोटी र तराई तथा भित्री मधेसका जिल्लामा मात्रै सर्पदंश उपचार केन्द्र छन् । 

ती उपचार केन्द्र रेडक्रस, नेपाली सेना, नेपाल प्रहरी संघ, प्रदेश र स्थानीय सरकार मातहतका अस्पतालमा छन् । नेपाली सेनाका सूचना अधिकारी सहायक रथी राजाराम बस्नेत स्थानीय समुदाय र जनस्वास्थ्यसँग समन्वय गरेर सर्पदंश उपचार केन्द्र सञ्चालनमा जनशक्ति उपलब्ध गराएको बताउँछन् । 

नेपाली सेनाले जनशक्ति उपलब्ध गराएका १७ वटा सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर नभएको र भेन्टिलेटर आवश्यक पर्ने बिरामीलाई प्रादेशिक अस्पताल तथा नजिकैका सुविधा उपलब्ध भएका अस्पतालमा पठाउने गरेको जनाएको छ । २०६० सालमा पहिलो पटक सर्पदंशको उपचार सुरु गरेको सेनाले त्यसतताको २३ वर्षमा १ लाख ३४ हजार जनालाई उपचार सेवा दिएको जनाएको छ । 

पहाडका जिल्ला रहेका अस्पतालका स्वास्थ्यकर्मीलाई तालिम दिइएकोे भए पनि सर्पदंशको उपचारका लागि चाहिने एन्टिस्नेक भेनम र आईसीयू नभएका कारण उपचार हुँदैन । “सर्पदंशका बिरामी महिनामा ३/४ जना आइरहनुहुन्छ । तर, यहाँ उपचार गर्न सम्भव छैन,” जिल्ला अस्पताल ताप्लेजुङका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. किरन थापा भन्छन्, “गाइड–लाइनले ३ घण्टाको दूरीमा आईसीयू भए मात्र अब्जरभेसनमा राख्नु भन्छ । आईसीयूका लागि धरान नै पुर्‍याउनुपर्ने भएका कारण हामी राख्दैनौँ । सिधै रेफर गरेर पठाउँछौँ ।” 

आफूहरूसँग सर्पदंशबाट सर्पले डसेका बिरामीको उपचारका लागि चाहिने एन्टिस्नेक भेनम पनि नभएकाले सर्पदंशका बिरामीको उपचार नै नगर्ने उनले बताए । तर, मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारी सर्पदंश देखिएका ठाउँ र धेरै विषालु सर्प पाउने ठाउँमा एन्टिस्नेक भेनम पठाउने गरेको बताउँछन् । “अहिले एन्टिस्नेक भेनमको अभाव पनि छैन,” उनले भने, “विषालु सर्प पनि हुँदैन, कहिलेकाहीँ डस्यो भनेर सबैतिर एन्टिस्नेक भेनम राख्न थाल्यो भने पुर्‍याउनै सकिँदैन ।”

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७४/७५ यताको ९ वर्षमा देशभर सर्पदंशका १ हजार ३ सय ७२ घटना भएका छन् । जसमा २ सय ७६ जनाले सर्पदंशका कारण ज्यान गुमाएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । तर सर्पदंशका सबै घटना प्राधिकरणको रेकर्डमा पुग्दैनन् ।

सेनाले उपचार गरेका बिरामीको संख्या, अन्य अध्ययन अनुसन्धान र विश्व स्वास्थ्य संगठन डब्लुएचओको अनुमानलाई आधार मान्दा सर्पदंशका घटना धेरै नै छन् । डब्लूएचओका अनुसार नेपालमा वर्षमा २० हजार मानिसलाई सर्पले डस्छ र १ हजार जनाको मृत्यु हुने गरेको छ । 

सर्पले डसेपछि समयमै उपचार पाएकाले पाँचथरको फाल्गुनन्द गाउँपालिका–४ की सुशीला शेर्मा (२४) को ज्यान जोगिएको छ । उनलाई गाउँमा घाँस काट्दै गर्दा काँडाले घोचेजस्तो भएको थियो । तर, केही समयपछि दुखाइ बढ्दै गयो । उनलाई सर्पले डसेको शंका लाग्यो । घाँस पन्छाएर हेर्दा सर्प देखेको र त्यसैले डसेको भनेर यकिन भएको उनी सुनाउँछिन् । 

सर्प देखेपछि डराएकी उनले स्थानीय स्वास्थ्यकर्मीलाई फोन गरिन् । स्वास्थ्यकर्मीकै सल्लाहमा तत्कालकै उपचारका लागि दमक आएकी उनी गतहप्ता निको भएर घर फर्केकी छिन् । उनले भनिन्, “बाइकमा चार घण्टा लगाएर यहाँ (दमकस्थित सर्पदंश उपचार केन्द्रमा) आइपुगेँ र ज्यान बच्यो ।”

पहाडमा पनि विषालु सर्प देखिन थालेको सर्पदंशको उपचार केन्द्र आवश्यक भएको उनी बताउँछिन् । भन्छिन्, “अहिले त पहाडमा पनि करेत सर्प देखिन थालेको छ । करेतले डस्यो भने त उपचारमा आउँदा–आउँदै ज्यान जाने अवस्था छ ।”

घस्रक जन्तु (हर्पेटोफाउन) विज्ञ डा. केआर खम्बु पहाडी जिल्लाका सदरमुकाममा एउटा सर्पदंश उपचार केन्द्र स्थापन गर्न सके सर्पदंशबाट मृत्यु हुने संख्या कम गर्न सकिने बताउँछन् । “सर्पले डसेपछि समयमा उपचार गर्न सकिएन भने मानिसको ज्यान नै जान सक्छ,” उनी भन्छन्, “पहाडी जिल्लाबाट तराईका सर्पदंश उपचार केन्द्रमा ल्याउँदा लामो दूरी हुने भएकाले बाटोमा नै जान गएका घटना पनि छन् । तसर्थ, हरेक जिल्लाको सदरमुकाममा सर्पदंश उपचार केन्द्र स्थापना गर्नुपर्दछ ।”

अन्धविश्वास पनि अर्को कारण

सर्पदंशका बिरामीले समयमै उपचार नपाउनुमा अन्धविश्वास पनि कारण छ । ‘जर्नल अफ नेपाल मेडिकल एसोसिएसन’मा सन् २०२२ मा प्रकाशित स्नेकबाइट इन द हिल्स एन्ड माउन्टेन्स अफ नेपाल’ शीर्षकको अनुसन्धनात्मक आलेखमा अन्धविश्वास र गलत प्राथमिक उपचारका कारण ढिलो अस्पताल पुग्दा बिरामीको मृत्यु हुने गरेको उल्लेख छ । 

चेतनाको अभावका कारण धामीझाँक्रीको विश्वास गर्ने कारण मानिसले ज्यान गुमाइरहेको दमकस्थित रेडक्रस सोसाइटी उपशाखाले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रका इन्चार्ज देवी भण्डारीले बताए । “चेतनाको कमी हुँदा सर्पको डसाइपछि मान्छेको मृत्यु हुन्छ, विषालु सर्पले डसेपछि उपचारको सट्टा धामीझाँक्री र परम्परागत उपचारतर्फ लाग्ने गरेको कारण मृत्यु हुने गरेको पाइन्छ,” उनी भन्छन्, “देहातका बस्तीमा अहिले पनि यस्तो चलन छ ।” 

इन्चार्ज देवीको भनाइ सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ की इनर देवीको मृत्युको घटनामा ठ्याक्कै मिल्छ । इनर देवीलाई असार १, २०८२ को राति ११ः५० बजेतिर घरको आँगनमा सुतिरहेको समयमा पिठ्यँुमा विषालु सर्पको डसेको थियो । 

परिवारका सदस्यले उनलाई उपचारका लागि अस्पताल लैजानुको सट्टा धामीझाँक्रीकहाँ लगे । धामीले झारफुक गरेपछि विष नभएको सर्पले डसेको भन्दै घर लैजान भने । परिवारले घरमा भएको थानमा धुप लगाए । त्यसपछि इनरदेवी सुतिन् । करिब ४ घण्टापछि बिहान ४ बजे फेरि उनलाई गाह्रो भयो । त्यसपछि परिवारका सदस्य सहयोग माग्न छिमेकी गोसाइ चौधरी खवासको घरमा पुगे । 

उनले विषालु सर्पले डसेको हुन सक्ने भन्दै कल्याणपुरमा रहेको बरख गण सर्पदंश उपचार केन्द्रमा लगे । त्यहाँबाट अस्पताल लैजाँदा करिब ५ बजेको थियो । केही घण्टा त्यहाँ राखेपछि उपचार केन्द्रले नसक्ने भन्दै सिराहाको फूलकुमारी महतो मेमोरियल अस्पताल रेफर गर्‍यो । त्यस बेलासम्म ढिला भइसकेको थियो । असार ३, को दिउँसो करिब १२ बजे उनलाई अस्पतालले मृत घोषणा गर्‍यो । 

तर, परिवारको अन्धविश्वास त्यतिमै रोकिँदैन । मृत्युपछि पनि उनको परिवार झारफुक र धामीझाँक्री गर्न लागेको थियो । भारतका राम्रो झाँक्री भएको भन्दै आफन्तले मोबाइलबाट मृत्यु भइसकेकी इनर देवीको कानमा मन्त्र सुनाइयो । 

मृत्यु भइसकेकी उनको अन्धविश्वासकै कारण परिवार पोस्टमार्टमा गर्नसमेत तयार भएनन् । उनीहरूले सर्पले डसेका मान्छे केही दिनमा बौरने भन्दै प्रहरीलाई पोस्टमार्टमा गर्न दिएनन् । अर्को अस्पतालमा लगेर जाँच गर्दा पनि मृत नै भनेपछि मध्यरातमा उनको पोस्टमार्टमा भयो । “अन्धविश्वासको पछि नलागेको भए भाउजूको ज्यान जाने थिएन । मैले ढिला थाहा पाएँ, थाहा पाउनेबित्तिकै अस्पताल लगेको हो,” प्रहरीमा जाहेरी दिने गोसाइले भने । 

Prabin-Hemran-Jhapa-NIMJN-1784006932.jpg
प्रवीन हेमरम दमकको सर्पदंश उपचार केन्द्रमा उपचार गराउँदै । तस्बिर : चिरञ्जीवी घिमिरे/निमजिन

झापा गौरादह नगरपालिका– ५ बालुबथानका १८ वर्षीय प्रवीन हेमरमलाई पनि गत असार २५ मा विषालु सर्प ब्यान्डेड करेतले डस्यो । खेतमा आली लगाउने क्रममा देव्रे खुट्टामा डस्ने सर्प पनि उनले देखे । यो विषालु सर्प हो भन्ने पनि चिने ।

दमकमा रेडक्रस सोसाइटी उपशाखा दमकले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रदेखि उनको घर करिब १२ किलोमिटरको दूरीमा छ । सहजै यातायातका साधन पाइन्छ । तर, उनलाई सर्पदंश उपचार केन्द्रसम्म आइपुग्न दुई घण्टाभन्दा धेरै समय लाग्यो । कारण– सर्पदंश उपचार केन्द्र आइपुग्नुभन्दा पनि प्रवीनलाई धामीझाँक्रीकहाँ लगियो । 

“म पनि घरमा थिइनँ । छोरालाई सर्पले डसेछ । केही लाग्यो कि भनेर धामीकहाँ लगियो,” प्रवीनका बुवा सुनिराम भन्छन्, “पछि उपचार गर्न लैजानुपर्छ भन्ने भएपछि हामीले उपचारका लागि ल्यायौँ, धन्न ज्यान जोगियो ।” 

उपचार केन्द्रमा स्वास्थ्यकर्मीले भनेपछि मात्र सर्पले डस्दा धामीझाँकीकोमा जान नहुने कुरा थाहा भएको बताउँछन् । “सर्पले डस्दा धामीको विश्वास गर्ने हैन रहेछ,” उनी भन्छन्, “सकेसम्म चाँडो अस्पताल ल्याउनुपर्ने रहेछ ।”

सर्पले टोकेको ठाउँमा कुखुराको मलद्वार दल्ने, विद्युतीय करेन्टको झड्का लगाउने, ढुंगा दल्नेलगायत कुप्रथा बाँकी रहेकाका लागि जनचेतना जगाउने पर्ने इन्चार्ज देवी बताउँछन् । 

सर्पको डसाइबाट जोगिने उपाय

गर्मी तथा बर्खा सर्प धेरै देखिने र सर्पले डस्ने समय हो । सर्पको डसाइबाट जोगिन घर र गोठवरपरका सर्प बस्ने सक्ने प्वालहरू टाल्नुपर्छ । झाडी, फोहोर र ढुङ्गाका थुप्राहरू हटाउनुपर्छ । सर्प आहारा खोज्दै घरभित्र पस्ने भएकाले मुसा र भ्यागुताजस्ता सर्पका आहारलाई घरमा पस्न दिनुहुँदैन । 

घस्रक जन्तु विज्ञ डा. केआर खम्बुका अनुसार सर्पले आफूलाई असुरक्षित महसुस गरेमा प्रतिरक्षाका लागि मान्छेलाई आक्रमण गर्छ । “सर्पसँग डिफेन्सिप अर्गान हुँदैन । यसको डिफेन्सिप अर्गान मुखले टोक्ने हो,” उनले भने, “सर्प डर छेरुवा जन्तु हो । छुँदा पनि आक्रमण गर्छ । सर्पको शरीर नै भाइब्रेट हुने भएको हुँदा छुँदा पनि ठूलो साउन्ड सुन्छ ।”

बाटोमा सर्प देखेमा त्यसलाई चलाउने, समात्ने वा जिस्क्याउने काम गर्नु हुँदैन । उनी भन्छन्, “सर्प पाउने संवेदनशील ठाउँमा जाँदा गम्बुट, पन्जा लगाएर जानुपर्छ । हातखुट्टा खाली लिएर जानु हुँदैन ।” तराई वा ग्रामीण क्षेत्रमा भुइँमा नसुती खाटमा र अनिवार्य रूपमा झुल टाँगेर सुत्नुपर्ने, दाउराको थुप्रो, पराल निकाल्दा र घाँस काट्दा सिधै हात नहाली लट्ठीले चलाएर मात्र निकाल्ने गर्नुपर्छ । 

सर्पको डसाइबाट हुने मृत्यु घटाउन नागरिकले सावधानी अपनाउनु त छँदै छ, सरकारले पनि सर्पदंश उपचार केन्द्र थप्नुपर्ने, बजेट बढाउनुपर्ने र जनचेतना जगाउनुपर्ने विज्ञहरूको सुझाव छ । ‘जर्नल अफ नेपाल मेडिकल एसोसिएसन’ मा प्रकाशित ‘स्नेकबाइट इन द हिल्स एन्ड माउन्टेन्स अफ नेपाल’ शीर्षकको आलेखले सन् २०३० सम्म सर्पदंशबाट हुने मृत्यु आधा घटाउने विश्व स्वास्थ्य संगठनको लक्ष्य पूरा गर्नका लागि सरकारी स्तरमा उचित बजेट विनियोजन गर्न सुझाव दिएको छ ।

सर्पदंश उपचार केन्द्रको सुदृढीकरण र उपचारमा संलग्न व्यक्तिको क्षमता अभिवृद्धिका लागि चालु आर्थिक वर्षमा ५४ लाख १५ हजार रुपैयाँ मात्रै बजेट विनियोजन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

बजेट बढाएर समुदायलाई शिक्षित बनाउने, स्वास्थ्यकर्मीलाई विशेष तालिम दिने, सर्पले डसेपछि अनलाइनमार्फत सर्पको फोटो पठाएर विज्ञसँग सल्लाह लिनेसहितको टेलिमेडिसिन सेवा दिने व्यवस्था गर्न ‘स्नेकबाइट इन द हिल्स एन्ड माउन्टेन्स अफ नेपाल’ आलेखमा सुझाव दिइएको छ । 

यो सामग्री हाम्रो पुन: प्रकाशन नीतिअनुसार तपाईँले पनि आफ्नो सञ्चार माध्यममा प्रकाशन गर्न सक्नुहुने छ। पुन: प्रकाशन नीति यहाँ छ । 

टिप्पणीहरू