शैक्षिक परामर्श, भाषा प्रशिक्षण तथा बोलीचालीका प्रशिक्षण क्रियाकलापहरू, लर्निङ सेन्टरका शैक्षिक क्रियाकलापहरू सञ्चालन गर्ने भनेर दर्ता भएको युरो स्कील्स करियर कन्सल्टेन्ट प्रालिले बेलायत पठाउने भन्दै ८ करोड बढी ठगेको छ । फरार रहेका ठगीमा संलग्न व्यक्तिलाई पक्राउ गर्न र आफूहरुलाई न्याय दिन सरकारले चासो नदिएको पीडितहरुको गुनासो छ ।
बेलायत जाने, पढ्ने र काम गरेर पैसा कमाउँदै परिवारको आर्थिक भारमा भरथेग गर्ने सपना थियो— रूपन्देहीको तिलोत्तमा घर भई काठमाडौं बस्दै आएकी बिनिसा थापा (२८) को । आफ्नो सपना पूरा गर्न उनी काठमाडौं महानगरपालिका वडा नं. ३१, बुद्धनगरमा रहेको युरो स्कील्स करियर कन्सल्टेन्ट प्रालिमा पुगिन् । 
२०८२ साल जेठको मध्यतिर कन्सल्टेन्सी पुगेकी उनको पोर्टफोलियो हेरेपछि कन्सल्टेन्सीले पढ्नका लागि होइन, काम गर्नै जानू भनेर सुझाव दिएको बिनिसाले बताइन् । कन्सल्टेन्सीको काउन्सिलर करुणा अधिकारीले बेलायतमा केयर गिभरका रूपमा काम गर्न जाँदा आकर्षक तलब हुने र पढाइका लागि महँगो ट्युसन फी पनि तिर्नु नपर्ने सल्लाह दिएकी थिइन् ।
यो सल्लाह ठिकै लागेर उनले केयर गिभरका रूपमा बेलायत जाने निर्णय गरिन् र युरो स्कील्सबाटै प्रक्रिया सुरु गरिन् । करुणाले छिट्टै बेलायतबाट प्रायोजन प्रमाणपत्र (सर्टिफिकेट अफ स्पोन्सरसिप) आउने भएकाले अन्तरवार्ताको तयारी गर्न र आवश्यक पैसा जम्मा गर्न भनिन् । त्यसपछि बिनिसाले पोहोर असार ८ गतेदेखि साउन २ गतेको बीचमा ८ पटक गरेर कन्सल्टेन्सीका सञ्चालक राज शाक्यको व्यक्तिगत खातामा ४० लाख ५० हजार रुपैयाँ बुझाइन् ।
पैसा बुझाएपछि पनि उनलाई कन्सल्टेन्सीले बेलायत पठाएन ।
कन्सल्टेन्सी धाउने क्रममा उनले थाहा पाइन्— बेलायतमा केयर गिभरमा पठाउने भनेर पैसा लिएका तर नपठाएका अरू व्यक्ति पनि रहेछन् । कन्सल्टेन्सीले कसैसँग ३५ लाख त कसैसँग ५८ लाखसम्म लिएको सुनेपछि मात्र उनले आफू ठगिएको थाहा पाइन् ।
उनीसहितका व्यक्तिले ठगीमा परेको भन्दै कात्तिक १३, २०८२ मा कन्सल्टेन्सीविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन् । विभागमा परेको १० वटा उजुरीमा कन्सल्टेन्सीले ८ करोड ३० लाख रुपैयाँभन्दा धेरै ठगेको दाबी गरिएको छ ।
कम्पनी रजिस्ट्रारको कार्यालयमा चैत ३०, २०८० मा दर्ता भएको युरो स्कील्स कन्सल्टेन्सीले स्थायी लेखा नम्बरको प्रमाण पत्रमा शैक्षिक परामर्श, भाषा प्रशिक्षण तथा बोलीचालीका प्रशिक्षण क्रियाकलापहरू, लर्निङ सेन्टरका शैक्षिक क्रियाकलापहरू सञ्चालन गर्ने उल्लेख छ ।
शैक्षिक परामर्शको कार्यक्रम सञ्चालन गर्ने कन्सल्टेन्सीहरू शिक्षा तथा खेलकुद मन्त्रालयको शैक्षिक परामर्श शाखामा पनि दर्ता हुनुपर्छ । तर शाखाका अनुसार त्यहाँ १ हजार ४ सय ६३ वटा कन्सल्टेन्सी दर्ता भएकोमा युरो स्कील्स करियर कन्सल्टेन्ट नामको कुनै पनि संस्था दर्ता छैन ।
करुणालाई वैदेशिक रोजगारीमा पठाउने प्रस्ताव गरेको यो संस्था वैदेशिक रोजगार विभागमा पनि दर्ता भएको देखिएन । यस्तै वैदेशिक रोजगार व्यवसायी महासंघको सदस्यको सूचीमा पनि हामीले युरो स्कील्स करिअर कन्सल्टेन्टलाई भेटेनौँ ।
यसलाई आधार मान्दा युरो स्कील्स कम्पनी रजिस्ट्रारको कार्यालय र करदाताका रूपमा आन्तरिक राजस्व कार्यालयमा दर्ता भए पनि अन्य नियामक निकायमा दर्ता नभई उसले गैरकानुनी रूपमा काम गरेको पुष्टि हुन्छ । वैदेशिक रोजगार ऐन, २०६४ अनुसार बिनाअनुमति वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न पाइँदैन ।
यो कन्सल्टेन्सीका सञ्चालक राज शाक्य फरार छन् । काउन्सिलर करुणा अधिकारी र बालकृष्ण शर्मालाई भने प्रहरीले पक्राउ गरेको छ । फरार राजलाई पक्राउ गर्न वैदेशिक रोजगार विभागले नेपाल प्रहरीलाई पत्राचार गरेको छ । उनी यूएईमा रहेको आशंकामा नेपाल प्रहरीले रेड कर्नर नोटिस पनि जारी गरेको छ । तर राज फेला नपरेकाले आफूहरूको रकम फिर्ता हुँदैन कि भनेर पीडितहरू चिन्तित छन् ।
पीडितहरूले समस्या समाधानका लागि प्रहरी र विभागले चासो नदिएको गुनासो गरेका छन् । “हाम्रो देशको न्यायिक प्रणालीनै पीडकलाई भीआईपी ट्रिटमेन्ट गर्ने खालको रहेछ,’’ ठगीमा परेकी धरानकी एन्साई राईले भनिन् । उनले पटक–पटक राज शाक्यको नाममा ४४ लाख रुपैयाँ जम्मा गरेकी थिइन् ।
ठगीमा परेकी रञ्जना भण्डारीका श्रीमान् रमेश शाहीले गुमेको रकम फिर्ता पाउने आशले सरकारी निकाय धाउँदा एक वर्ष बित्न लागे पनि कतैबाट न्याय नपाएको बताए । “दिनदिनै यही केसको लागि हिँड्दा भएको जागिर पनि जाला भन्ने डर,” उनले भने, “फेरि नहिँडे पैसा फिर्ता नआउला भन्ने पीर ।”
बाहिर जिल्लाबाट आएर काठमाडौंमा काम गर्दा भएको आम्दानीले हातमुख जोड्नै गाह्रो परेको र राम्रो कमाइको आशामा वैदेशिक रोजगारीमा जान पैसा हाल्दा डुबिएको भन्दै उनी चिन्तिन् छन् । भन्छन्, “जे गरे पनि सुख पाउन सकिएन ।”
पीडितहरूले प्रहरी प्रशासनप्रति गुनासो गरे पनि नेपाल प्रहरी त्यसलाई मान्न तयार छैन । नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले विभागबाट आएको पत्र प्रहरी प्रधान कार्यालयले सम्बन्धित प्रहरी चौकीमा पठाउने गरेको र मुद्दाको जानकारी विभागलाई नै हुने गरेको बताए । उनले भने, “अनुसन्धान प्रक्रिया केकस्तो भइरहेको छ, यस विषयमा वैदेशिक रोजगार विभागसँग बुझ्दा राम्रो हुन्छ ।”
त्यसपछि हामी विभागमा पुग्यौँ । विभागकी निर्देशकसमेत रहेकी प्रवक्ता बिन्दा आचार्यले यी मुद्दाका बारेमा चित्तबुझ्दो सूचना दिइनन् । त्यसपछि हामीले युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवलाई सम्पर्क गर्यौँ । हाम्रो कुरा सुनेका उनले यसबारेमा बुझेर जानकारी दिने बताए । त्यसको दुई घण्टापछि उनले नै सम्पर्क गरेर भने, “विभागले राजलाई खोजी गरेर पक्राउ गर्न प्रहरीमा पत्राचार गरिसकेको रहेछ, तर पक्राउ परेका छैनन्, म यसबारेमा गृहमन्त्रीसँग कुराकानी गरेर आवश्यक कदम चाल्न लगाउँछु ।”
पोहोर साउनमा पीडितहरू ठगिएको भनेर जतिबेला कन्सल्टेन्सीमा भेला हुन थालेका थिए, त्यसअघि नै राज फरार भइसकेका थिए । त्यसैले बिनिसाले प्रहरी लगेर कन्सल्टेन्सीकै कार्यालयमा बसेर करुणसँग साउन ६, २०८२ मा कागज गरिन् । ब्याजसहित जोडेर कन्सल्टेन्सीबाट असोजको मितिको ४२ लाख ४० हजार रुपैयाँको चेक लिइन् । राजले आफ्नो व्यक्तिगत खाताको चेकमा हस्ताक्षर गरेर कन्सल्टेन्सीमा छाडेका थिए । झगडा गर्ने, पैसा फिर्ता माग्नेलाई करुणाले त्यही चेक पछिको मिति राखेर दिने गरेकी थिइन् ।
कन्सल्टेन्सीबाट रमेशकी श्रीमती रञ्जनाले पनि राजको खाताको ३९ लाख ५० हजार रुपैयाँको चेक लिएकी छन् । चेक साट्ने मितिमा बैंक खातामा पैसा नभएको थाहा पाएको दुवै जना बताउँछन् । चेक नसाटिएपछि बिनिसाले राजलाई इमेल गरिन् । राजले बिनिसालाई मुद्दा मामिला जेसुकै गरे पनि आफूलाई कुनै असर नगर्ने भन्दै इमेलको उत्तर पठाएका थिए ।
हामीले पनि राजमाथि लागेको ठगीको आरोपबारे बुझ्न इमेल गरेका थियौंँ । उनको इमेलबाट अटो रिप्लाई आयो । जसमा उनले आफू अहिले केही गर्न नसक्ने अवस्थामा रहेको भन्दै सही समय आएपछि सम्पर्कमा आउने बताएका छन् । इमेल गर्ने सबैलाई अटो रिप्लाई हुने उनको सन्देशमा लेखिएको छ, “कृपया मैले इमेलको उत्तर दिन १ देखि ३ वर्षसम्म लाग्न सक्छ, त्यसैले यो विषयलाई लिएर नआत्तिनुहोला ।”
प्रायोजन प्रमाणपत्र नै नक्कली
कन्सल्टेन्सीले बेलायत पठाउनका लागि नक्कली प्रायोजन प्रमाणपत्र बनाएर झुक्याएको समेत पाइएको छ । यसरी विश्वासमा परेर ४४ लाख रुपैयाँ बुझाउनेमा धरानकी एन्साई छिन् । “तपाईंको कस (प्रायोजन प्रमाणपत्र) आयो भनेर पैसा जम्मा गर्न भनिएको थियो,” उनले भनिन्, “तर कन्सल्टेन्सीले देखाएको कस नै नक्कली रहेछ ।”
सञ्चालक राज र काउन्सिलर बालकृष्ण शर्माले वैशाख, २०८२ मै बेलायत उडाउने भनेर पैसा मागेपछि परिवारले घर धितो राखेर त्यो पैसा ऋणमा लिएको एन्साईले बताइन् ।
ठगीमा परेकी रञ्जना भण्डारीले डिपेन्डेन्टमा श्रीमान्सहित बेलायत जान भनेर ३९ लाख ५० हजार रुपैयाँ बुझाएकी थिइन् । उनका श्रीमान् रमेश शाहीले आफूहरूलाई पनि कन्सल्टेन्सीले बेलायतबाट आएको भन्दै प्रायोजन प्रमाणपत्र देखाइएको तर त्यो नक्कली भन्ने पछि थाहा भएको बताए ।
भिसा आउनुभन्दा अगाडि नै ८० प्रतिशत रकम दिनुपर्ने सर्त राखेको कन्सल्टेन्सीले पैसा दिँदै गएपछि लागत रकम पनि बढाउँदै लगेको एन्साई बताउँछिन् । “सुरुमा मलाई ५५ लाख तिर्नुपर्छ भनेका थिए, पछि पैसा तिर्दै गएपछि ५५ हैन ५८ लाख तिनुपर्छ भने,” उनले भनिन् । कन्सल्टेन्सीमा बिनिसाको कुराकानी करुणामार्फत भएको थियो भने एन्साईले अर्का काउन्सिलर बालकृष्ण शर्मामार्फत कुराकानी गरेकी थिइन् ।
यो कन्सल्टेन्सीलाई ४५ लाख रुपैयाँ बुझाउने पोखराकी एक महिला पनि हाम्रो सम्पर्कमा आइन् । तर उनले आफ्नो नाम र तस्बिर सार्वजनिक नगर्न आग्रह गरिन् । त्यसको कारण खुलाउँदै भनिन्, “आफन्तसँग पैसा लिएर कन्सल्टेन्सीलाई बुझाएको हो, मिडियामा आएको नाम फोटो ती आफन्तले देखे भने यसले त पैसा डुबाइछ भनेर घरमै बस्नै पो गाह्रो हुन्छ ।”
उनले पैसाको कारोबार र कुराकानी राजसँग नै गर्थिन् । अरूलाई जस्तै उनलाई पनि राजले प्रायोजन प्रमाणपत्र आयो भनेर पैसा असुली गरे । राजले प्रायोजन प्रमाणपत्र भनेर उनलाई एउटा पीडीएफ फाइल पठाएका र त्यो कोही कसैलाई नदेखाउन भनेका थिए । त्यो प्रमाण पत्रको प्रयोग गरेर अरुले भिसा प्रक्रिया गर्न सक्ने भएकाले राजले गोप्य राख्न भनेर ह्वाट्सएपमा पठाएको सन्देश देखाइन् ।
पहिला ३५ लाख लाग्छ भनेका राजले पछि पैसा दिँदै गएपछि ४५ लाख मागेको र बेलायतमा नभएमा स्कटल्यान्डमा पठाउनेसमेत आस देखाएको पोखराकी ती महिलाले बताइन् ।
नजिकका आफन्त बेलायत गएको देखेर रञ्जन दर्लामी पनि यो कन्सल्टेन्सीमा पुगेका थिए । उनको परिवारले सरसापट र ऋण गरेर २७ लाख रुपैयाँ बुझाएको छ । ऋणको ब्याज अहिले बुबाको पेन्सनबाट तिरिरहेका बताउने रञ्जन काठमाडौंको एउटा रेस्टुरेन्टमा कुकको काम गर्छन् । मासिक १५ हजार तलब बुझ्ने उनी यो रकमले कसरी ब्याज तिर्ने र गुजारा चलाउने भनेर पीडामा छन् । डुबेकै पैसाकै कारण राम्ररी निदाउनसमेत नसकेको उनी बताउँछन् ।
सहयोग गर्छु भन्नेले पनि ठगे
पैसा डुबेपछि धेरै दिनसम्म कोठा बन्द गरेर रोएरै बसेको बताउने बिनिसाको मोबाइलमा एक दिन एउटा टिकटक भिडियो आइपुग्छ । रेस्क्यु समाचार नामको टिकटकमा वैदेशिक रोजगारीमा समस्यामा परेकाहरूको भिडियो देखेपछि उनको आशा पलाउँछ । त्यसपछि आफूले टिकटकमै दिएको नम्बरबाट रेस्क्यु समाचारलाई सम्पर्क गरेको उनी बताउँछिन् ।
रेस्क्यु समाचारका सञ्चालकले अन्तरवार्ताका लागि बोलाएपछि उनी ठगीमा परेका अरू दुई साथी लिएर वैदेशिक श्रमिक हकहित संरक्षण समाजको कार्यालयमा पुग्छिन् । त्यहाँ पुगेपछि जनही ३ हजार रुपैयाँ लिएर उनीहरूले आफूहरूको अन्तरवार्ता लिएको र त्यो प्रयास मिडिया नामको टिकटकमा राखेको बिनिसाले बताइन् ।
रेस्क्यु समाचारका सञ्चालकले ठगीमा संलग्न राज विदेशमा रहेकाले ५ लाख रुपैयाँ दिएमा उसलाई पक्राउ गरिदिने भनेर पैसा मागेको पीडितहरू बताउँछन् । “उनीहरूले ३ जनासँग एक छिन् कुराकानी गरेको ९ हजार लिए,” बिनिसाले भनिन्, “फेरि ५ लाख मागेपछि उनीहरूले पनि ठग्न खोजेका हु्न भन्ने लागेर पैसा दिएनौँ ।”
हामीले रेस्क्यु समाचारको टिकटकमा भएको नम्बरमा सम्पर्क गरेका थियौँ । आफू रेस्क्यु समाचारको सञ्चालक डीबी लिम्बू बताउने उनले एउटा अन्तरवार्ताको ३ हजार रुपैयाँका दरले पैसा लिएको स्वीकार गरे । “अलिअलि खर्च त लाग्छ नि ! भिडियो बनाउनुपर्यो, अरू मिडियाका साथीभाइलाई बोलाउनुपर्यो, त्यसको खर्च लिएको हो,” उनले भने, “तपाईं पनि त मिडियामै हुनुहुन्छ, तपाईंलाई सबै थाहा छ नि !”
उनले पीडकलाई पक्राउ गर्नका लागि मिडियाका साथीहरू लिएर दुबई जानका लागि खर्च लाग्छ भनेको पनि स्विकारे । भने, “त्यहाँसम्म जानका लागि सबै रकम हामीले व्यहोर्न कहाँ सक्छौँ ? उहाँहरूले नै हाल्नुपर्छ ।”
ठगीमा परेको आफूलाई रकम उठाइदिने बहानामा जसले पनि ठग्न खोजेको भन्दै बिनिसा आक्रोशित भइन् । “डुबेको पैसा फिर्ता आउँछ कि भनेर धाउँदाधाउँदा वर्ष बितिसक्यो, अझै केही टुंगो छैन,” उनले आफ्नो माग सुनाइन्, “ठगिएको रकम फिर्ता आउनुपर्यो र ठगीमा संलग्नलाई कारबाही हुनुपर्यो ।”
— रिपोर्टिङमा सहयोग : अदिती श्रेष्ठ
यो सामग्री हाम्रो पुन: प्रकाशन नीतिअनुसार तपाईँले पनि आफ्नो सञ्चार माध्यममा प्रकाशन गर्न सक्नुहुने छ। पुन: प्रकाशन नीति यहाँ छ ।
टिप्पणीहरू