नेभिगेसन
नेपाली कला तथा मूर्ति तस्करीको अन्तर्राष्ट्रिय जालो, नेपालको फितलो अनुसन्धान Kalpana Bhattarai बिहीबार, असार १८, २०८३

अन्तर्राष्ट्रिय अनुसन्धान निकायहरूले नेपालबाट पुरातात्त्विक महत्त्वका चित्र तथा मूर्ति चोरीमा संलग्न भएको ठहर गरेका भारतीय मूलका अमेरिकी कला व्यापारी सुभाष कपुर, उनको समूह र उनले नेपालबाट चोरी तथा तस्करी गरेका घटनाबारेमा नेपालले गरेको अनुसन्धान भने फितलो देखिएको छ ।

काठमाडौंको इतुम्बहालले ४५ वर्षअघि भदौ २९, २०३७ को राति आफ्नो इतिहास गुमायो । त्यस दिन इतुम्बहालस्थित श्री भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत् महाविहारको आन्तरिक गर्भगृहमा झुन्ड्याइएका १५ औं शताब्दीका अमूल्य चित्र चोरिए । investigation-1719398034.png

महाविहारको जीर्ण छाना र भित्तामा प्वाल पारेर गगनसिंह भरु र उनका दुई पत्नी, ३०० वर्ष पुरानो चिन्तामणि लोकेश्वर र सन् १७०४ को एक दिव्य जोडी चित्र चोरिएका थिए । भोलिपल्ट बिहान पुजारी पुग्दा देवताको आसन खाली देखेपछि मात्रै चोरी थाहा भयो । 

त्यसको ४५ वर्षपछि फागुन २७, २०८१ मा इतुम्बहालको ती तीन पौभा चित्रसहित उपत्यकाका विभिन्न स्थानका २० वटा पुरातात्त्विक वस्तु नेपाल फर्काइयो । 

अन्तर्राष्ट्रिय अनुसन्धान निकायहरूले ती चित्रको चोरी र तस्करीमा भारतीय मूलका अमेरिकी कला व्यापारी सुभाष कपूरको संलग्नता रहेको ठहर गरेका छन् । अमेरिकाको न्युयोर्कस्थित म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयले सन् २०१९ (२०७६ साल) मा तयार पारेको आरोप पत्र, कार्यालयअन्तर्गतको पुरातात्त्विक सम्पदा तस्करी अनुसन्धान इकाइ (एटीयू) र अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तनका आधिकारिक कागजातले सुभाष र उनको समूहले नै नेपालबाट मूर्तिहरूको तस्करी गरेको देखाउँछ । सुभाष, उनको समूह र उनले नेपालबाट चोरी तथा तस्करी गरेका घटनाबारेमा नेपालको अनुसन्धान भने फितलो छ ।

सुभाष र उनका सहयोगीविरुद्ध अमेरिकाको अदालतलमा ८६ वटा फौजदारी कसुरमा मुद्दा दायर भएको छ । उनका सहयोगीहरूलाई अदालतले दोषी ठहर पनि गरिसकेको छ । भारतमा १० वर्षको जेल सजाय भोगिरहेका सुभाषको मुद्दामा अमेरिकी अदालतमा भने कुनै पैmसला भएको छैन । अमेरिकाको न्युयोर्कस्थित म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयका वकिल एल्विन एल. ब्राग, जुनियरको एक दशक लामो अनुसन्धान गरेका थिए । 

Manhattan-District-Attorney-Report-NIMJN-1782958552.jpg
म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयको आरोप पत्रमा उल्लेख भएका आरोपीहरू ।

यस्तै, अमेरिकी होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसनले पनि यसबारे गहिरो अनुसन्धान गरेको छ । उसका अनुसार न्युयोर्कमा ‘आर्ट अफ द पास्ट’ नामक ग्यालरी सञ्चालन गर्ने सुभाषको तस्करीको सञ्जालको एउटा माध्यम थियो— भारतको मुम्बईस्थित इन्डो–नेपाल आर्ट ग्यालरी । सन् १९५९ (२०१५/१६ साल) देखि मुम्बईमा बस्दै आएका बल्लभ प्रकाश र उनका छोरा आदित्यले यो ग्यालरी चलाउँथे । उनीहरूलाई नोभेम्बर ३०, २०१६ (मंसिर, २०७३) मा अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तनले पक्राउ गरेको थियो । उनीहरूलाई न्युयोर्क अदालतले दोषी ठहर गरिसकेको छ ।

अमेरिकाको होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसनका अनुसार सुभाषको सञ्जाल नेपालसहित, भारत, अफगानिस्तान, कम्बोडिया, थाइल्यान्ड, बंगलादेश, दुबई, हङकङ, इन्डोनेसिया र पाकिस्तानसम्म फैलिएको थियो । उनीहरूको चोरीको शैली पनि फरक थियो । उनीहरूले पहिले मन्दिर र सांस्कृतिक सम्पदाहरूमा पुगेर प्राचीन मूर्तिहरूको विस्तृत अवलोकन गर्थे । अन्तर्राष्ट्रिय बजारमा बढी मूल्य पाउने मूर्तिको पहिचान गर्थे । छनोटमा परेका मूर्तिसँग दुरुस्तै मिल्ने नाप, साइज र बनावटको नक्कली मूर्ति तयार पारिन्थ्यो । मौका छोपेर सक्कली मूर्ति चोर्ने र त्यसको ठाउँमा नक्कली मूर्ति राखिदिने गरिन्थ्यो । यसले गर्दा स्थानीय बासिन्दा र पुजारीहरूले वर्षौँसम्म पनि आफ्नो आराध्यको मूर्ति चोरी भएको पत्तै पाउँदैनथे । 

म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयअन्तर्गतको पुरातात्त्विक सम्पदा तस्करी अनुसन्धान इकाइ (एटीयू) का अनुसार सुभाषको सञ्जाल कतिसम्म बलियो थियो भने उनले अमेरिकामा मात्रै १४ करोड ३० लाख डलर मूल्य बराबरका २५ सयभन्दा बढी पुरातात्त्विक वस्तु तस्करी गरेका थिए । म्यानहट्टन जिल्ला न्यायाधिवक्ता एल्विन एल. ब्रागका अनुसार सुभाषले सन् १९९० देखि २०११ (२०४६/४७ देखि २०६७/६८ साल) सम्म २० वर्षभन्दा बढी समय यो सञ्जाल चलाए । उनको ग्यालरीबाट बेचिएका ७५ प्रतिशत सामग्री चोरी र गैरकानुनी हुने गरेको अनुसन्धानका क्रममा पत्ता लागेको कार्यालयले जनाएको छ ।

इतुम्बहालदेखि सिकागोको लिलामी बजारसम्म

इतुम्बहालबाट हराएको गगनसिंह भरुको चित्र सन् १९८२ (२०३८/३९ साल) मा न्युयोर्कका कला संग्रहकर्ता नवीन कुमारको हातमा पुग्यो । सन् २००३ (२०५९/६० साल) मा यो चित्र सिकागोको ‘आर्ट इन्स्टिच्युट अफ सिकागो’ मा १० लाख अमेरिकी डलर (अहिलेको विनिमय दरअनुसार १५ करोड ३३ लाख रुपैयाँ) मा लिलामीमा राखिएको म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको अनुसन्धानमा देखिन्छ ।

सन् २००३ (२०५९/६० साल) मा वासिङ्टन डिसीस्थित स्मिथ सोनियन इन्स्टिच्युसनअन्तर्गतको ‘नेसनल म्युजियम अफ एसियन आर्ट’ का ‘इम्याजिन एसिया फेम्ली प्रोग्राम’का संयोजक स्टेफन ट्रक्स एकर्डले ती पौभा चित्रलाई सिकागोको प्रदर्शनीमा देखे र नेपालको भनी पहिचान गरे ।

२००३ मा, वाशिंगटन, डी.सी. स्थित स्मिथसोनियन इन्स्टिच्युसनको राष्ट्रिय एसियाली कला संग्रहालयमा इम्याजिन एसिया परिवार कार्यक्रमका संयोजक स्टीफन ट्रुएक्स एकर्डले शिकागो प्रदर्शनीमा पौभा चित्रहरू देखे र तिनीहरूलाई नेपालको भएको पहिचान गरे।

स्टेफन कला संस्कृतिको अध्ययनका लागि नेपालका विभिन्न ठाउँमा पुग्ने गर्थे । त्यसै क्रममा ती पौभा चित्र चोरिनुअघि उनले इतुम्बहालमै अवलोकन र अध्ययन गरेका थिए । उनले संकलन गरेका ऐतिहासिक सम्पदाका तस्बिरहरू स्मिथसोनियनको अर्काइभमा अझै सुरक्षित छन् । 

प्रदर्शनीमा ती पौभाहरू देख्नेबित्तिकै स्टेफनले यो इतुम्बहालबाट चोरिएको जानकारी गराए । उनलाई ती पौभा चित्र इतुम्बहालबाट हराएको थाहा थियो । नेपालसँग गहिरो साइनो भएका उनले त्यसपछि काठमाडौं आएर यी चित्रहरू अमेरिकामा रहेको जानकारी दिएका थिए । फिर्ता ल्याउन आफूले पहल गर्ने आश्वासनसमेत दिए । 

अमेरिकाका कलाविज्ञ प्रतिपादित्य पालको सन् १९७४ (२०३०/३१ साल) मा प्रकाशित ‘द आर्ट अफ नेपाल : स्कल्पचर’ र त्यसको ४ वर्षपछि प्रकाशित ‘द आर्ट अफ नेपाल : पेन्टिङ’ पुस्तकहरूमा नेपालका कलाहरूको फोटोसहित विश्लेषण गरिएको थियो । जसले गर्दा चोरी हुनुभन्दा अगाडि नै यी चित्रहरूको अन्तर्राष्ट्रियस्तरमा पहिचान भइसकेको थियो । 

Gagansingh-Bharo-NIMJN-Manhattanda-1782958839.jpg
गगनसिंह भरु र उनका दुई पत्नीको ऐतिहासिक चित्र । 
तस्बिर साभार : म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालय

मार्च ७, २०२५ (फागुन २३, २०८१) मा म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयअन्तर्गतको पुरातात्त्विक सम्पदा तस्करी अनुसन्धान इकाइ (एटीयू) ले जारी गरेको विज्ञप्ति अनुसार इतुम्बहालबाट चोरी भएको केही समयमै गगनसिंह भरु र उनका दुई पत्नीको ऐतिहासिक चित्रलाई अवैध रूपमा स्विट्जरल्यान्ड पुर्‍याइएको थियो । त्यहाँ करिब दुई वर्षसम्म राखियो । 

पुरातत्त्व विभागकी पुरातत्त्व अधिकृत सरिता सुवेदीका अनुसार ती चित्रहरू चोरीका भएको र गैरकानुनी रूपमा तस्करी गरेर उनको हातमा पुगेको ठहर भएपछि पनि नवीन कुमारले दिन मानेका थिएनन् । त्यसपछि म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयअन्तर्गतको पुरातात्त्विक सम्पदा तस्करी अनुसन्धान इकाइ (एटीयू) ले पौभा चित्र जफत गरेको थियो । 

प्रमुख सहर ‘ट्रान्जिट प्वाइन्ट’ 

नेपालका प्राचीन सम्पदाहरू विदेश पुर्‍याउन तस्करहरूले एउटै सहरलाई मात्र प्रयोग नगरी लन्डन, बैंकक, हङकङलगायतका प्रमुख व्यापारिक सहरहरूलाई मुख्य ‘ट्रान्जिट प्वाइन्ट’ बनाउने गरेको पाइन्छ ।

एटीयूका अनुसार ललितपुरको बुङ्मतिबाट वि.सं २०३० को दशकमा हराएको ९ औँ शताब्दीको कालो ढुङ्गाको बुद्ध मूर्ति चोरी भएको एक दशकपछि लन्डनका एक कला व्यापारीसँग पुगेको थियो । ती व्यापारीले पुनः अमेरिकी संग्रहकर्तालाई बेचेपछि सन् २०१५ (२०७१/७२ साल) मा उक्त मूर्ति क्रिस्टिज न्युयोर्कको प्रतिष्ठित लिलामी घरमा बिक्रीका लागि राखियो । अन्त्यमा अमेरिकाकै मिसिगन विश्वविद्यालयको संग्रहालयमा दान गरियो । जहाँबाट एटीयूले दुई वर्षअघि यसलाई बरामद गरेको थियो ।

काठमाडौंको विष्णुदेवी मन्दिरको ढुङ्गेमूर्तिको तस्करीको रुट स्विट्जरल्यान्ड देखिएको एटीयूको अनुसन्धानमा देखिन्छ । सन् १९८४ (२०४०/४१ साल) मा उक्त मूर्तिलाई स्विट्जरल्यान्डबाट न्युयोर्क लगियो । जसलाई न्युयोर्कका प्रख्यात कला संग्रहकर्ता रोबर्ट ह्याटफिल्ड एल्सवर्थले खरिद गरेका थिए । त्यसको ९ वर्षअघि अस्ट्रियाली वास्तुकार कार्ल प्रस्चाले काठमाडौंको मन्दिरमै खिचेको फोटो नै यो मूर्ति नेपालकै हो भनी प्रमाणित गर्ने सबैभन्दा बलियो प्रमाण बनेको थियो । 

एटीयूका अनुसार डिसेम्बर ४, २०२३ (मंसिर १८, २०८०) मा नेपाललाई फिर्ता दिइएको १० हात भएकी दुर्गाको मूर्ति सुभाषकै गोदाममा फेला परेको थियो । त्यसको २०—२२ वर्षअघि यो मूर्ति सुभाषले बैंककबाट किनेर न्युयोर्क लगेका थिए । 

यस्तै, एटीयूका काठमाडौं उपत्यकाको मन्दिरबाट चोरी भएको चौधौँ शताब्दीको अर्को दुर्गाको मूर्ति डोरिस विनरको सञ्जालले सन् १९६० को दशकमा अमेरिका पुर्‍याएको थियो । सन् २०२२ मा न्युयोर्कको कला बजारमा देखिएपछि यसलाई जफत गरिएको थियो । यो मूर्ति निजी संग्रहकर्ताको हातमा पुग्दा पनि यसमा नेपाली भक्तजनले लगाएको चन्दन र टीकाको मिश्रणको अवशेष बाँकी नै थियो । 

यो मूर्तिको खोजी प्रक्रिया डोरिसकी छोरी न्यान्सी विनरमाथिको अनुसन्धानपछि सफल भएको हो । जो सन् २०२१ मा तस्करीको मुद्दामा दोषी ठहरिएकी थिइन् । उनकी आमाको भने निधन भइसकेको छ । 

विनरको संग्रहालयले नक्कली कागजात बनाएर १४ वर्षअघि क्रिस्टिज न्युयोर्कलाई बेचेको पद्यपाणिसहित कार्यालयले असार १०, २०८३ मा दुईवटा पुरातात्त्विक मूर्ति नेपाल फिर्ता गरेको छ । म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयले गरेको अनुसन्धानमा विनर आमाछोरीले पनि सुभाषसँग मूर्ति किनबेच गरेको पाइएको छ । 

त्यस्तै, सन् १९९० को दशकमा चोरी भई हङकङ पुर्‍याइएको भैरवको मुखौटा पनि न्युयोर्कका रुबिन र डलास म्युजियमसम्म पुगेका थिए । १६ औँ शताब्दीका सुनको जलप लगाइएका एक जोडी काँसका भैरव मुकुटहरू निकै विशिष्ट मानिएका छन् । ९ लाख अमेरिकी डलर (अहिलेको विनिमय दर अनुसार १३ करोड ८० लाख नेपाली रुपैयाँ) मूल्य तोकिएका यी मुकुटहरूले हिन्दु धर्मका त्रिदेवमध्येका एक भगवान् शिवको रूपलाई चित्रण गर्छन् । 

डिसेम्बर ४, २०२३ (मंसिर १८, २०८०) मा एटीयूले जारी गरेको विज्ञाप्तिमा सुभाष कपूरको नेटवर्कसँगबाट दुर्गाको मूर्ति, भैरवको मुखौटासहित चारवटा मूर्ति फेला परेको उल्लेख छ । यी मूर्ति र पौभा चित्रहरू नेपालको स्वामित्वमा आएका छन् । म्यानहट्टन महान्यायाधिवक्ता ब्रागले नेपालबाट सन् १९७० र १९८० को दशक (२०२७ सालदेखि २०४७ सालबीच) मा चोरी भएका यी सम्पदाहरू फिर्ता दिन पाउँदा गौरव अनुभूति भएको बताएका छन् । पुरातत्त्व विभागका फोटोग्राफर चिनिया ताम्राकार र विदेशी विज्ञहरूले खिचेका ऐतिहासिक फोटोहरू नै यी सम्पदा नेपालकै हुन् भनी प्रमाणित गर्ने मुख्य आधार बने । 

ब्रागले दीर्घकालीन अनुसन्धानले यी वस्तुहरू फिर्ता गर्न सफल भएकोमा उत्साहित भएको बताएका छन् । “यी तस्करी सञ्जालहरू व्यापक र जटिल छन्,” उनले भनेका छन् “तर, हामी तिनीहरूलाई ध्वस्त पार्न र उनीहरूले पुर्‍याएको क्षतिलाई पूरा गर्न आफ्नो काम जारी राख्नेछौँ ।” 

बेखबर पुरातत्त्व विभाग 

नेपालबाट दशकौंअघि हराएका मूर्ति, पौभा चित्र र पुरातात्त्विक वस्तुहरू विदेशी संग्रहालय तथा निजी ग्यालरीमा फेला परिरहेका छन् । तर, यी अमूल्य सम्पदाहरू कसरी विदेश पुगे र त्यसमा कसको संलग्नता थियो भनेर पुरातत्त्व विभाग अझै अनभिज्ञ छ ।

हराएको सम्पदा फिर्ता ल्याउनका लागि विभागले तयार पारेका १२ वटा अनुसन्धान प्रतिवेदनहरू हामीले अध्ययन गरेका थियौँ । ती प्रतिवेदनमा हराएका वस्तुको पुरातात्त्विक विवरण र ऐतिहासिक महत्त्वमा जोड दिएको भए पनि चोरीमा संलग्न गिरोह र तस्करीको रुटबारे केही उल्लेख छैन । 

Subash-Kapoor-Charged-NIMJN-1782958551.jpg
म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयको आरोप पत्रमा उल्लेख भएका सुभाषमाथिका अभियोग ।

सुभाषकै बारेमा र नेपालभित्र उनीहरूलाई सघाउने गिरोहको बारेमा कुनै अनुसन्धान पनि हुन सकेको छैन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा काम गरिसकेका प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटी चोरी भएका कला तथा पुरातात्त्विक वस्तुको अनुसन्धान गर्न निकै कठिन हुने बताउँछन् । उनका अनुसार यसका लागि छुट्टै युनिट खडा गर्नुपर्छ । “चोरी गरिएका सम्पदा नेपालमा फिर्ता ल्याउन र आएका सम्पदामा समन्वयकारी भूमिका निर्वाह गर्नुबाहेक अन्य जिम्मेवारी प्रहरीलाई दिइएको छैन,” उनले भने । 

पुरातत्त्व विभागकी पुरातत्त्व अधिकृत सरिता सुवेदीले कलाकृतिको चोरी तस्करी गर्ने सुभाष दोषी ठहर भएर भारतको जेलमा रहेको र उनलाई अमेरिकाले सुपुर्दगी माग गरेकाले नेपालले केही पनि गर्नु नपर्ने बताइन् । 

सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले विभागबाटै भनिएमा मात्रै आफूहरू अनुसन्धानमा जाने बताउँछन् । 

नेपालबाट जतिबेला मूर्ति र सम्पदा हराइरहेका थिए । त्यो बेला नै विदेशी अनुसन्धानकर्ता र कलाविज्ञहरूले तस्करीको सञ्जालबारे खुलासा गरे पनि त्यसलाई रोक्नका लागि नेपालले कुनै पहल गरेको पाइँदैन । 

सन् १९८९ (२०४६/४७ साल) मा प्रकाशित र फिलिस म्याकइनटसद्वारा सम्पादित पुस्तक ‘द इथिक्स अफ कलेक्टिङ कल्चरल प्रोपर्टीः हुज कल्चर ? हुज प्रोपर्टी ?’ मा समावेश कलाविज्ञ डाभिड सास्सुनको लेखमा नेपालका मूर्ति तथा पुरातात्त्विक वस्तुको चोरीमा युरोपेली र अमेरिकी कला विज्ञ मात्र होइनका साथै कूटनीतिक नियोगका कर्मचारी, विदेशी राजदूत र उनहरूका परिवारकोसमेत संलग्नता रहेको आरोप लगाएका छन् । उनले उच्चपदस्थ विदेशीहरूले कूटनीतिक सुविधाको दुरुपयोग गरेर नेपाली कलाकृतिहरू सुरक्षित रूपमा विदेश पुर्‍याउने गरेको लेखेका छन् । कतिपय अवस्थामा त यस्ता कलाकृतिहरूलाई ‘कूटनीतिक कार्गो’ भनी सिधै विमानस्थलबाट बाहिर पठाइन्थ्यो । जहाँ भन्सार र सुरक्षा निकायले जाँच गर्न पाउँदैनथे ।

पुरातत्त्व विभागको अभिलेखअनुसार २०४२ सालदेखि अहिलेसम्मको अवधिमा २ सय १ थान मूर्ति तथा पुरातात्त्विक वस्तुहरू विभिन्न देशबाट नेपाल फिर्ता ल्याइएका छन् । तर, यो संख्या चोरी भएका सम्पदाको तुलनामा निकै कम हो । विभागमा ४ सय ९ थान पुरातात्त्विक वस्तु चोरी भएको आधिकारिक उजुरी परेको छ ।

पुरातत्त्व विभागका अनुसार अझै पनि ९९ थान यस्ता मूर्तिहरू छन् । जसको दाबी प्रमाण पुगिसकेको छ तर फिर्ता आउन बाँकी छ । यी सम्पदाहरू हाल फ्रान्स, स्विडेन, बेलायत, स्विजरल्यान्ड, सिंगापुर, अमेरिका, अस्ट्रेलिया र चीनको बेइजिङस्थित संग्रहालयहरूमा छन् । सन् १९५० (विसं. २००७) पछि नेपालमा प्रजातन्त्रको उदयसँगै विदेशीहरूको आवागमन बढ्यो र त्यसैबेलादेखि पुरातात्त्विक वस्तुहरूको चोरी र निकासीले तीव्रता पायो । २००७ सालअघि कति सम्पदा बाहिरिए । त्यसको कुनै आधिकारिक तथ्यांक राज्यसँग छैन ।

इतुम्बहालका देवता ४५ वर्षपछि घर फर्किए पनि अझै हजारौँ ‘देवीदेवता’ हरू विदेशी संग्रहालयको चिसो छिँडीमा न्यायको पर्खाइमा छन् ।

सम्पदा चोरीको सबैभन्दा बिझाउने पाटो भनेको कडा सुरक्षा घेराभित्रबाटै वस्तुहरू गायब हुनु पनि हो । हनुमानढोकास्थित तलेजु भवानीको हार, जुन कडा सुरक्षामा हुनुपर्ने थियो । त्यो चोरी भएर अमेरिकाको ‘आर्ट इन्स्टिच्युट अफ सिकागो’ म्युजियममा पुगेको भेटिएको छ ।

त्यति मात्र होइन, छाउनी संग्रहालय (राष्ट्रिय संग्रहालय) भित्रबाटै प्रसिद्ध इस्लामिक ग्रन्थ ‘शाहानामा’ को प्राचीन प्रति हराउनुले सरकारी सुरक्षा संयन्त्रमाथि ठूलो प्रश्न उठाएको छ । संग्रहालयजस्तो संवेदनशील ठाउँबाट पुरातात्विक वस्तु हराउनुले मन्दिर र विहारमा रहेका हाम्रा खुला सम्पदाहरू कति जोखिममा छन् भन्ने पुष्टि गर्छ । 

पौभा चित्र फिर्ता गर्ने आधार

१५ औं शताब्दीका अमूल्य चित्र २०३७ सालमा चोरी भएपछि इतुम्बहालको आधा शताब्दी लामो सांस्कृतिक पर्व नै रोकियो । गुँला पर्वका बेला १५ दिनसम्म सर्वसाधारणलाई देखाइने ती पौभा चोरी भएपछि नियमित उत्सवहरू बन्द भए । केन्द्रका तत्कालीन अध्यक्ष चन्द्रबहादुर शाक्यले जनसेवा प्रहरी, पुरातत्त्व विभाग र विमानस्थलको भन्सारमा फोटोसहित निवेदन दिए । तर, केही समयमै प्रहरी कार्यालयमा आगलागी हुँदा मुद्दाको फाइल नै खरानी भयो । खोजी प्रक्रिया पुनः शून्यबाट सुरु गर्नुपर्‍यो । 

पुरातत्त्व विभागका फोटोग्राफर चिनिया ताम्राकारले खिचेको एउटा तस्बिर र अभियन्ता समूह ‘लस्ट आर्ट्स अफ नेपाल’ यी सम्पदा पहिचान र नेपाल फर्काउन कोशेढुंगा बने । फोटोग्राफर चिनियाले चोरी हुनुभन्दा दुई वर्षअघि खिचेको श्यामश्वेत तस्बिर यी सामग्री नेपालकै हो भन्ने अन्तर्राष्ट्रिय स्तरको प्रमाण बन्यो । 

‘लस्ट आर्ट्स अफ नेपाल’ नामक अभियन्ता समूहले विदेशी संग्रहालयमा पुगेका यी वस्तुहरूको पहिचान गरी जनचेतना फैलाउने काम गर्‍यो । सन् १९८१ (२०३७/३८ साल) मा प्रकाशित लैनसिंह वाङ्देलको पुस्तक ‘स्टोलन इमेज अफ नेपाल’ मा प्रकाशित तस्बिरहरूले पनि पहिचानमा ठूलो सघाउ पुर्‍याए । 

FBI-Nepal-Government-1782977131.jpg
अमेरिकी संघीय जाँच ब्युरोले नेपाल सरकारलाई पठाएको पत्र ।

फागुन, २०७६ मा अमेरिकी संघीय जाँच ब्युरो (एफबीआई) की फरिया एम. जिविनेजको टोली सीआईबीका अधिकारीसहित इतुम्बहाल आएको थियो । केन्द्रका अध्यक्ष प्रज्ञारत्न शाक्य भन्छन्, “उनीहरूले प्रमाण पुगेकाले पौभा चित्रहरू फिर्ता हुने आशा दिलाए तर त्यसपछिको दुई वर्षको मौनताले स्थानीयलाई पुनः निराश बनायो ।” त्यसको दुई वर्षपछि मात्रै अमेरिकाबाट अर्को अनुसन्धान टोली नेपाल आयो । 

युनेस्कोको सन् १९७० को महासन्धिबमोजिम ती सामग्री फिर्ता गर्ने कानुनी प्रक्रिया अघि बढ्यो । महासन्धिको चोरी निकासी भएका सांस्कृतिक वस्तु आधिकारिक प्रमाणका आधारमा सम्बन्धित राष्ट्रले फिर्ता पाउनुपर्ने प्रावधान छ । सरकारी प्रक्रियाबाट बजेट व्यवस्थापन गर्न समय लाग्ने भएपछि नेवा गुठी न्युयोर्कका अध्यक्ष विजयमान सिंहको नेतृत्वमा चन्दा संकलन गरियो । त्यही संकलित रकमबाट ढुवानी खर्च बेहोर्दै फागुन २७, २०८१ मा तीन पौभा र १७ मूर्ति नेपाल ल्याइयो । न्युयोर्क महान्यायाधिवक्ताले यी वस्तु कार्यवाहक महावाणिज्यदूत चक्रकुमार सुवेदीलाई हस्तान्तरण गरेका थिए । यी सम्पदाको नेपाली मूल्य करिब ४३ करोड रुपैयाँ आँकलन गरिएको छ । 

पुरातत्त्व विभागको तथ्यांकअनुसार अहिलेसम्म अमेरिकाबाट ७२ वटा पुरातात्विक वस्तु फिर्ता भइसकेका छन् । कानुन व्यवसायी सञ्जय अधिकारीका अनुसार अमेरिकाबाट सम्पदा फिर्ता ल्याउन म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयको सहकार्यले सहज भए पनि फ्रान्स र लस एन्जल्स काउन्टी म्युजियममा रहेका वस्तु फिर्ता ल्याउन अझै कानुनी जटिलता छ । इतुम्बहालका देवता ४५ वर्षपछि घर फर्किए पनि अझै हजारौँ ‘देवीदेवता’ हरू विदेशी संग्रहालयको चिसो छिँडीमा न्यायको पर्खाइमा भएको उनी बताउँछन् । 

रुबिन म्युजियममा नेपालका ६ सयभन्दा बढी वस्तु अनुसन्धानमा

असोज, २०६७ मा काठमाडौंमा आयोजित एउटा कार्यक्रममा न्युयोर्कस्थित रुबिन म्युजियमका प्रतिनिधि एडम स्वार्टले हिमालयन कलाको ठूलो संग्रह आफ्नो म्युजियममा रहेको दाबी गरे । अचम्मको कुरा त उनले प्रदर्शन गरेका कलाकृतिमध्ये ६ वटा नेपालका थिए । जुन उनले ‘फ्रान्सेली संग्रहकर्ता’ बाट लिएको स्वीकार गरे । 

संरक्षणकर्मी रवीन्द्र पुरीका अनुसार रुबिन म्युजियममा नेपालबाट चोरी भएका मूर्ति र कलाकृति भेटिने क्रम नयाँ होइन । सन् १९९९ (२०५५/५६ साल) मा इतुम्बहालबाट हराएको पुष्पमालाले सुसज्जित अप्सरा (विद्याधर) को आकृति त्यसको ४ वर्षपछि रुबिनको संग्रहमा पुगेको थियो । सामाजिक सञ्जालमार्फत सम्पदाको खोजी गर्ने समूह ‘लस्ट आर्ट्स अफ नेपाल’ ले उक्त विद्याधरको पहिचान गरेपछि मात्रै रुबिन म्युजियम दबाबमा परेको थियो ।

सम्पदा संरक्षणकर्मी रवीन्द्र फागुन, २०७८ मा विद्याधर फिर्ता गरेपछि रुबिन म्युजियमले इतुम्बहालसँग निकटता बढाएको बताउँछन् । रुबिनले इतुम्बहालमा संग्रहालय निर्माणका लागि २० हजार अमेरिकी डलर सहयोग गरेको छ । तर, यो सहयोगलाई उनी शंकास्पद मान्छन् । रुबिनमा चोरी भएर पुगेका नेपाली कलाकृति रहेको भन्दै उनी ती फिर्ता गर्न चासो नदिने रुबिनले इतुम्बहालमा संग्रहालय खोल्न पैसा दिएकोमा प्रश्न उठाउँछन् । 

संग्राहलयका अध्यक्ष प्रज्ञारत्न शाक्य भने संरक्षणका लागि बजेट अभाव हुँदा उक्त सहयोग स्विकार्नुपरेको बाध्यता सुनाउँछन् । उनी भन्छन्, “हाम्रा मूर्तिहरू चोरी भएर विदेश पुगेका छन्, तिनको सुरक्षाका लागि संग्रहालय चाहिन्थ्यो, तर बजेट थिएन । त्यसैले सहयोग लिनुपर्‍यो ।”

निमजिनले अप्रिल २६, २०२६ (वैशाख १३, २०८३) मा रुविन म्युजियमलाई पत्रचार गरेर त्यहाँ रहेका नेपालका सम्पदाका बारेमा जानकारी मागेको थियो । रुबिन म्युजियम अफ हिमालयन आर्टकी हेड अफ कम्युनिकेसन्स एन्ड मार्केटिङ स्यान्ड्रिन मिलेटका अनुसार केशचन्द्र महाविहार संरक्षण समाज (इतुम्बहाल) को संग्रहालय स्थापना योजनामा संस्थाले सहकार्य गरेको छ ।

म्युजियमले सम्पदाको सूचीकरण, अभिलेखीकरण तथा प्रदर्शनी व्यवस्थापनमा सहयोग गर्दै आएको छ । उनका अनुसार नेपालबाट हुने अवैध कला तस्करीबारे जनचेतना फैलाउन संग्रहालयमा विशेष प्रदर्शनी खण्डसमेत तयार गरिएको छ । 

उनका अनुसार म्युजियमले चोरी वा लुटिएका सांस्कृतिक सम्पदा संग्रह गर्ने म्युजियमको नीति छैन । नेपालका भनेर पहिचान गरिएका ६ सयभन्दा बढी वस्तुको उत्पत्ति र स्वामित्व इतिहासबारे अनुसन्धान भइरहेको बताउँदै उनले चोरी वा लुटिएको प्रमाणित हुने कुनै पनि वस्तु सम्बन्धित देशलाई फिर्ता गर्न प्रतिबद्ध रहेको बताएकी छन् । 

रुबिनको भूमिकाबारे नेपाली सम्पदा अभियन्ताहरूले उठाएका प्रश्नप्रति संवेदनशील रहेको उल्लेख गर्दै नेपाल हेरिटेज रिकभरी क्याम्पेनसहित सरोकारवालासँग खुला संवाद जारी राख्ने जनाएको छ ।

संरक्षणकर्मी रवीन्द्रका अनुसार ‘एसियन आर्ट’ तथा ‘नेपाल सेक्सन’ का नाममा हाम्रा सम्पदाको अन्तर्राष्ट्रिय बजारमा दोकान थापेका छन् । अन्तर्राष्ट्रिय कानुनअनुसार आफ्नो सम्पदा हो भनेर प्रमाणित गर्न सकेको खण्डमा ती स्वतः फिर्ता आउनुपर्ने प्रावधान छ ।

कहिलेकाहीँ त चोरी भएको व्यापक प्रचार मात्रै हुँदा पनि आफ्नो छवि बचाउन संग्रहालयहरूले सम्पदा फिर्ता गर्ने गरेका छन् । रुबिन मात्र होइन, न्युयोर्ककै मेट्रोपोलिटन म्युजियम अफ आर्टबाट पनि इतुम्बहालबाटै चोरी भएको टुँडाल फिर्ता आएको थियो । यी ठूला संग्रहालयहरूमा नेपालका लिच्छविकालीन र मल्लकालीन उत्कृष्ट कलाकृतिहरू सजिएका छन् ।

सम्पदाको अस्थायी प्रदर्शनी : सम्पदा हराउने माध्यम 

नेपाली कला र पुरातात्त्विक वस्तुको अन्तर्राष्ट्रियकरण गर्ने प्रयास २०११ सालदेखि २०२८ सम्मको राजा महेन्द्रको शासनकालमा निकै सक्रियताका साथ सुरु भएको देखिन्छ । तत्कालीन समयमा नेपालका विशिष्ट कलाकृति तथा पुरातात्त्विक वस्तुहरूलाई विश्वमा चिनाउने उद्देश्यले पुरातत्त्व विभागमार्फत अमेरिकाको न्युयोर्कस्थित ‘एसिया हाउस ग्यालरी’ मा प्रदर्शनीका लागि पठाइएको थियो । 

इतिहासकार महेशराज पन्तले हिमाल खबरमा प्रकाशित गरेको ‘कलैतिहासिक कि मूर्ति चोर ? कि दुवै ?’ शीर्षकको लेखमा ती कलाकृतिहरू राजा महेन्द्रकै प्रत्यक्ष चासो र निर्देशनमा पठाइएको उल्लेख गरेका छन् । उक्त प्रदर्शनीका लागि तयार पारिएको कलाकृतिको विस्तृत सूची अहिले ती सम्पदा नेपालकै हुन् भनी दाबी गर्ने सबैभन्दा बलियो ऐतिहासिक दस्ताबेज बनेको छ । 

प्रदर्शनीको यो सिलसिला केवल अमेरिकामा मात्र सीमित रहेन । २०४९ सालमा प्रकाशित ‘मूर्ति चोरी एक जटिल समस्या’ पुस्तकका अनुसार, सन् १९६६ देखि १९७७ (२०२३ देखि २०३४ साल) को अवधिमा तत्कालीन श्री ५ को सरकार र पुरातत्त्व विभागले फ्रान्स, जर्मनी र अमेरिकासम्म नेपाली कलाका प्रदर्शनीहरू आयोजना गरेका थिए । 

२०२३ सालको कात्तिकमा राजा महेन्द्रको फ्रान्स भ्रमणको अवसर पारेर पेरिसमा नेपाली कलाकृतिको ठूलो प्रदर्शनी गरिएको थियो । उक्त ऐतिहासिक यात्राको स्मरणमा निकालिएका सूचीपत्रहरूले नेपालको लिच्छवि र मल्लकालीन शिल्पको विशिष्टतालाई विश्व बजारमा विज्ञापन गर्ने काम त गर्‍यो । तर, सँगै तस्करहरूको ध्यान पनि नेपालतर्फ खिच्न पुग्यो ।

२००७ मा प्रजातन्त्रको आगमनसँगै नेपाल बाह्य विश्वका लागि खुला भयो । विदेशीहरूको सहज प्रवेश र नेपाली कलाप्रति अन्तर्राष्ट्रिय संग्रहकर्ताहरूको बढ्दो मोहले गर्दा हाम्रा दुर्लभ लेखोट पुस्तक, प्राचीन अभिलेख र मूर्तिहरूको अवैध बिक्री तथा बिदेसिने क्रमले डरलाग्दो रूप लियो । सरकारी स्तरबाट भएका आधिकारिक प्रदर्शनीहरूले नेपाली सम्पदाको बजार मूल्य अन्तर्राष्ट्रियस्तरमा स्थापित गरिदिएपछि कतिपय अवस्थामा प्रदर्शनीका लागि लगिएका सामग्रीको सुरक्षामा लापरबाही भएको र कतिपय उतैबाट गायब पारिएको तथ्यहरू पनि बाहिर आउन थालेका छन् ।

नेपालका मन्दिर र विहारका खुला सम्पदाहरू मात्र होइन, कडा सुरक्षा घेराभित्र रहनुपर्ने राजकीय संरक्षणका वस्तुहरूसमेत यही अवधिमा बाहिरिएका थिए । सन् १९६० को दशकमा (२०१५ सालपछि) सुरु भएको यो ‘कला पलायन’ को लहर ९० को दशक (२०४७ साल) सम्म आइपुग्दा एउटा संगठित अन्तर्राष्ट्रिय अपराधको रूपमा विकसित भयो । 

राजा महेन्द्रको शासनकालमा भएका ती प्रदर्शनीका सूचीपत्रहरूले हराएका मूर्ति खोज्न अहिले सघाइरहे पनि ती प्रदर्शनीले नेपाली सम्पदालाई जोखिममा पारेको इतिहासकार प्रा.डा.महेशराजको भनाइ छ ।

सम्पदा फिर्ताको सकस

१९७० मा युनेस्को महासन्धिले चोरी भएका पुरातात्विक वस्तु उत्पत्ति मुलुकमै फिर्ता हुनुपर्ने बाध्यकारी प्रावधान राखेको छ । नेपालमा यसको खोजी र फिर्तीको प्रक्रिया निकै लामो छ । सरोकारवालाको उजुरीपछि पुरातत्त्व विभागले प्रमाण संकलन गरी प्रतिवेदन तयार पार्छ । त्यसलाई संस्कृति मन्त्रालयमार्फत परराष्ट्र मन्त्रालय हुँदै सम्बन्धित देशको कूटनीतिक नियोगसम्म पुर्‍याइन्छ । 

तर, विभागकी प्रमुख सौभाग्य प्रधानाङ्गका अनुसार कूटनीतिक संवाद र प्रमाण पेस गर्ने कार्य झन्झटिलो छ । त्योभन्दा बढी समस्या बजेटको अभावले सिर्जना गरेको छ । वस्तु नेपालको हो भनी प्रमाणित भइसक्दा पनि ढुवानी र अन्य प्रशासनिक खर्चका लागि पर्याप्त बजेट नहुँदा फिर्ती प्रक्रियामा सोचेभन्दा बढी समय लाग्ने गरेको छ । फिर्ता आएका सम्पदालाई उनीहरूकै मूलस्थानमा पुनःस्थापना गर्ने कार्य झनै चुनौतीपूर्ण भएको उनले बताइन् । 

प्राचीन स्मारक संरक्षण ऐन, २०१३ र संविधानको धारा ४७ (घ) अनुसार सार्वजनिक सम्पत्तिको संरक्षण स्थानीय समुदाय तथा राज्य दुवैको दायित्व हो । स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको सिफारिसमा संरक्षणको पूर्ण प्रत्याभूति भएपछि मात्रै विभागले कवुलियतनामा गराई सम्पदा हस्तान्तरण गर्ने गर्छ । 

--- ---
कभर तस्बिर : फागुन २७, २०८१ मा फिर्ता गरिएका इतुम्बहालका तीन पौभा  चित्र । तस्बिर सौजन्य : प्रज्ञारत्न शाक्य
--- ---

यो सामग्री हाम्रो पुन: प्रकाशन नीतिअनुसार तपाईँले पनि आफ्नो सञ्चार माध्यममा प्रकाशन गर्न सक्नुहुने छ। पुन: प्रकाशन नीति यहाँ छ । 

टिप्पणीहरू