नेभिगेसन
नेपाल र भारतका राजमार्गमा ‘गुडिरहेको’ एचआईभी, जोखिममा ट्रक चालक र यौनकर्मी Yash Sadhak Shrivastava and Anita Bhetwal सोमबार, असार १५, २०८३

नेपाल र भारतका राजमार्गमा गुड्ने ट्रकका चालक र पारलैंगिक यौनकर्मीबीच हुने असुरक्षित यौन सम्पर्क, सामाजिक लाञ्छना, कमजोर रोकथाम कार्यक्रम र एआरटीको सीमित पहुँचले एचआईभी नियन्त्रण चुनौतीपूर्ण बनेको छ । जसले गर्दा नेपाल र भारत ओहोरदोहोर गर्ने ट्रक चालक र पारलैंगिक यौनकर्मी सबैभन्दा बढी जोखिममा परेका छन् ।

आफ्नो पुस्ताका धेरै चालकले जस्तै आँखैअगाडि एचआईभीबाट साथी बितेपछि मात्र उनले यसबारे थाहा पाए ।
त्यति बेला उनी भारतको राजस्थानमा गाडी चलाउँथे । एउटै कम्पनीमा काम गर्ने साथी यति बिरामी परे कि कुनै औषधीले काम गरेन । लगातार टाउको दुख्ने र पेट दुख्ने समस्या भयो । अस्पताल लगेर रगत जाँच गर्दा एचआईभी छ भनियो । 

investigation-1719398034.pngडाक्टरले आफन्त बोलाउन लगाए अनि उनलाई एउटा इन्जेक्सन लगाइदिएर घर पठाए । घर पुगेको डेढ घण्टामै ती साथीको मृत्यु भयो । “यो २२ वर्षअघिको कुरा हो । एचआईभी भन्ने सुनेकै मैले त्यही बेला हो,” उनले भने । 
समय यस्तो आयो, उनी आफैँ एचआईभी संक्रमित भए । 

१७ वर्षअघि जेठी छोरी पटक–पटक बिरामी पर्न थालिन् । दरभंगा अस्पतालमा परीक्षण गराउँदा एचआईभी देखियो । त्यसपछि श्रीमती र उनको रगत जँचाइयो, दुवैमा एचआईभी पाइयो । केही समयपछि त श्रीमतीको ज्यानै गयो । 

कसरी एचआईभी सर्‍यो त उनमा ? 

उनी भारतमा कहिले मारुती कार, कहिले ट्रक त कहिले पर्यटक बस चलाउँथे । गाडी चलाएर उनी जम्मु कश्मीरदेखि कन्याकुमारीसम्म भारतका २६ राज्य घुमेका थिए । दिल्ली विमानस्थलमा दुई वर्ष बसचालकको जागिर खाए । नेपालबाट ओडिशासम्म तीर्थयात्री ओसारपोसार गरे । 

कुनै बेला त स्टेयरिङ समातेको २४ घण्टासम्म पनि रोकिँदैनथे । छसात महिनामा एकपटक धनुषास्थित घर आइपुग्थे । 
“त्यति बेला राजमार्गको हरेक किलोमिटरमा त्यस्ता ठाउँ (यौनकर्म हुने क्षेत्र) थिए । मुम्बई, पुणे, मालेगाउँ, धुले, नासिकदेखि राजस्थानकै कोटपुतली, सीकर, जयपुर, किशनगढ र नाथद्वारा बाइपाससम्म,” उनले भने, “साथीहरू त्यहाँ जाऔँ भन्थे । हामी विभिन्न कम्पनीका पाँचसात जना ट्रक चालक समूहमै जान्थ्यौँ ।”

उनी त्यस्ता ठाउँमा एकपटक होइन, कैयौँपटक गए; एक ठाउँ मात्र होइन, अनेक ठाउँमा । कुन बेला आफूमा एचआईभी सर्‍यो, पत्तै भएन । 

एचआईभी देखिएपछि उनले भारत छाडे । गाडी चलाउन भने छाडेका छैनन् । ४८ वर्षका उनी अहिले प्रायः बस चलाउँछन्, कुनै बेला ट्याक्सी पनि । “कहिले त लगातार २४ घण्टासम्म पनि गाडी चलाउँछु,” उनले सुनाए । 

उनी जनकपुर प्रादेशिक अस्पतालबाट नियमित एआरटी (एन्टिरेट्रोभाइरल थेरापी) लिन्छन् । “गाडीमा मैले औषधी खाँदा कसैले देखिहाल्यो भने केको भनेर सोध्छन् । तर साँचो कुरा भन्दिनँ,” उनले भने, “गाडी लाइनमा मेरो स्वास्थ्य अवस्थाबारे कसैलाई थाहा छैन ।” 

धनुषाका ती चालकजस्तै भारतमा ट्रक चलाउने रोजगारी गदागर्दै एचआईभी देखिएर स्वदेश फर्किएका अरू पनि छन् । कोही त संक्रमण भएर पनि उतै ट्रक चलाइरहेका छन् । तर यस्ता संक्रमित चालकको स‌ंख्या कति छ भन्नेबारे आधिकारिक तथ्यांक कतै छैन । 

भारतका सिक्किम हुँदै पश्चिम बंगाल, बिहार, उत्तर प्रदेश र उत्तराखण्डसम्म १७ सय ५१ किलोमिटर लम्बाइमा नेपाल जोडिएको छ । खुला सीमा हुनुका साथै पासपोर्ट पनि नचाहिने कारणले सीमा वारपारमा खासै व्यवधान छैन । त्यही कारण रोजगारीको खोजीमा नेपालीहरू भारत जाने चलन छ । 

विभिन्न प्रतिवेदनअनुसार भारतमा १० लाखदेखि ३० लाखसम्म नेपाली छन् । नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२४ अनुसार भारतमा १० लाख नेपाली श्रमिक कार्यरत छन् । उनीहरू कोही ट्रक चालक छन्, कोही लरीचालक । ढुवानी मजदुर, सुरक्षागार्ड तथा अन्य अनौपचारिक र कम सीपयुक्त काममा पनि नेपाली संलग्न छन् । एचआईभी संक्रमणको बढी जोखिममा भने सवारी चालकहरू देखिन्छन् । संक्रमण भएका चालकबाट अरूमा एचआईभी सर्ने अर्को चिन्ता पनि छ । 

जोखिम भारतमा कार्यरत नेपाली चालकमा मात्र सीमित छैन । महामारी विज्ञसँग सम्बन्धित अध्ययनहरूले भारतभरका करिब ३६ प्रतिशत ट्रक चालक यौन सञ्जालका ग्राहक रहेको देखाएका छन् । सञ्जालमा महिला तथा पारलैंगिक यौनकर्मी र पुरुषसँग यौन सम्बन्ध राख्ने पुरुषहरू पनि समावेश छन् । जनस्वास्थ्यविद्हरूले यस्ता ट्रक चालकलाई उच्च जोखिम समूह र आम समुदायबीच संक्रमण जोड्ने ‘ब्रिज पपुलेसन’ का रूपमा व्याख्या गरेका छन् ।

लामो दूरीका ट्रक चालकलाई एचआईभी संक्रमणको उच्च जोखिम समूहमा राखेर भारत सरकारले रोकथाम तथा नियन्त्रणका लागि कार्यक्रम नै चलायो । राष्ट्रिय एड्स नियन्त्रण कार्यक्रम (एनएसीपी) सन् १९९२ देखि चार चरणमा सञ्चालन गरियो । त्यसका लागि विश्व बैंकले ८० करोड ७० लाख अमेरिकी डलर ऋण सहयोग गरेको थियो । यस कार्यक्रमलाई भारत सरकारले जनस्वास्थ्य क्षेत्रको सफल उदाहरणका रूपमा प्रस्तुत गर्दै आएको छ । 

अर्का एक चालकले बिहारको वैशालीस्थित आफ्नो गाउँमा हर्नियाको जाँच गराउँदा आफूमा एचआईभी संक्रमण भएको थाहा पाए । “ज्वरो आइरहन्थ्यो । अनेक औषधी खाँदा पनि तर निको भएको थिएन,” उनले सुनाए, “अर्कै समस्याको परीक्षण गराउँदा रिपोर्टमा एचआईभी पोजिटिभ पो आयो ।”

वर्षौँदेखि ट्रक चलाएका उनलाई उत्तरपश्चिम दिल्लीस्थित सञ्जय गान्धी ट्रान्सपोर्ट नगरमा रहेको अपोलो टायर्स फाउन्डेसन क्लिनिकबारे थाहा थियो । यो ठाउँ हुँदै दिनमा करिब ४० हजार ट्रक राजधानी भित्रिने–निस्किने गर्छन् । उनी आफैँ त्यहाँ पुगे, परीक्षण गराए । त्यहाँ पनि उही रिपोर्ट आयो ।

उनी अचेल ट्रक चलाउँदैनन् । औषधी अनियमित नहोस् भनेर उनले ११ महिनाअघि ट्रक चलाउन छाडेका हुन् । हरेक बिहान खाली पेटमा एआरटी गरेर उनको दिनचर्या सुरु हुन्छ । बिहान ६ बजे जुसको ठेला धकेल्दै नजिकैको अस्पतालअगाडि पेटीमा पुग्छन् । दिनभर जुस बेच्छन् । महिनामा लगभग सात हजार रुपैयाँ कमाइ हुन्छ, जुन आम्दानी ट्रक चलाउँदाको आधा मात्र हो । 

उनको अवस्थाबारे परिवारलाई थाहा छ । सुरुमा आफू निकै आत्तिए पनि अहिले त्यस्तो नभएको उनी सुनाउँछन् । “अहिले त्यति डर लाग्दैन । औषधी चलिरहेसम्म बाँचिन्छ,” उनी भन्छन् । 

अहिले उनी एचआईभीबारे पूरा जानकारजस्तै सुनिन्छन् । भन्छन्, “गल्ती गर्‍यो भने मात्रै संक्रमण हुन्छ भन्ने होइन, राम्रो मान्छेलाई पनि सर्न सक्छ । जसले त्यस्तो काम गर्दैन, उसलाई पनि रगतको माध्यमबाट सर्न सक्छ । एचआईभी सरेपछि तुरुन्तै थाहा नपाइन पनि सक्छ । आज केही भयो भने चारपाँच वर्षपछि मात्रै पनि लक्षण देखिन सक्छ ।”

माथि उल्लेख गरिएका दुई चालकमा एचआईभी संक्रमणको पहिचान ढिलो र संयोगवश भएको देखिन्छ । एक जनाले छोरीको रगत परीक्षण गरेपछि आफूलाई पनि शङ्का लागेर जचाउँदा थाहा पाए, अर्काले हर्नियाको जाँच गराउँदा । तर सडकमा गाडी हुइँक्याइरहँदा आफूमा कहिले एचआईभी सर्‍यो, उनीहरू कसैलाई पनि पत्तो थिएन ।

अर्का एक नेपाली चालकको भने कथा अलि फरक छ । उनी २०५७ सालमा पञ्जाबमा गम्भीर दुर्घटनामा परे । उनको दाहिने खुट्टा भाँचियो र खुट्टामा रड हालियो । त्यसकै सहारामा उनी फेरि गाडी चलाउन थाले । तर केही समयपछि खुट्टामा राखिएको रड नै भाँचियो ।

उनी सरकारी पटियाला मेडिकल कलेजको अस्पताल गए । त्यहाँ उनलाई १५ दिन राखियो, तीन दिन त उनी बेहोसमै थिए । उपचारका क्रममा उनलाई पटक–पटक रगत चढाइयो । 

फेरि लगाइएको रडले दुई महिनामै काम गर्न छाडेपछि उनी निजी अस्पताल पुगे । अस्पतालले उनलाई एचआईभी संक्रमण भएको जानकारी दियो । तर उनले पत्याएनन् । चार वर्षपछि बिहे गरे । एक छोरा र एक छोरी जन्मिए । 

जब उनी बिरामी भइरहन थाले, कमजोरी महसुस गर्न थाले, तब अस्पताल गएर जँचाए, फेरि एचआईभी पोजिटिभ देखियो । त्यसपछि बल्ल उनले औषधी लिन थाले । पञ्जाबमा दुर्घटनामा परेर रगत चढाउँदा एचआईभी सरेको उनको अनुमान छ । “किनभने म कहिल्यै यौनकर्मीकहाँ गएको थिइनँ,” उनी भन्छन् । 

उनका श्रीमती र छोराछोरीको रगत जँचाइएको छैन । श्रीमती छोरीसँग छुट्टै बस्छिन् । छोरा मामाघर छन् । “हामी पाँच वर्षदेखि छुट्टाछुट्टै बसिरहेका छौँ । श्रीमती र छोराछोरीलाई पनि एचआईभी भएको हुन सक्छ तर असर नदेखिएको हुन सक्छ,” उनी भन्छन् । 

अहिले उनी भारतमा लरी ट्रक छाडेर ट्याक्सी चलाउँछन् । बुटवलबाट ट्याक्सी चलाउँदै दिल्ली, पञ्जाबसम्म पुग्छन् । ट्याक्सी जतै चलाउँदै गए पनि प्रत्येक तीन महिनामा बुटवल आइपुग्छन् । तीन महिना हुन दुई साता बाँकी रहँदै बुटवलको एआरटी सेवा केन्द्रबाट उनलाई फोन आउँछ । नभए ह्वाट्सएपमार्फत सम्पर्क गरिन्छ । हरेक तीन महिनामा उनी एआरटी सेवा केन्द्रबाट औषधी लिन्छन् । 

ट्याक्सी चलाउँदा कहिलेकाहीँ उनी लगातार ३६ घण्टासम्म सडकमा हुन्छन् । त्यस्तो यात्रामा औषधी लिने समयको तालमेल बिग्रिन्छ । “काममा व्यस्त हुँदा कहिलेकाहीँ औषधी छुट्छ,” उनी भन्छन्, “प्रायः महिनामा एकदुई दिन औषधी छुट्छ । तर अहिलेसम्म रिपोर्ट ठीकै छ ।” 

उनलाई एचआईभी छ भन्नेबारे एआरटी सेवा केन्द्र मात्र जानकार छ, परिवारलाई समेत थाहा छैन । “यो मेरो व्यक्तिगत कुरा हो । अरूलाई भनिरहनु ठीक लाग्दैन । म आफ्नो जीवनसँग खुसी छु,” उनले भने ।

भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले प्रकाशन गरेको एक प्रतिवेदनअनुसार एचआईभीको संक्रमण दर निरक्षर वा प्राथमिक तहसम्म मात्र पढेका व्यक्तिहरूमा तुलनात्मक रूपमा बढी देखिन्छ । “ट्रक चालक वा सहचालकलाई जीवनसाथीका रूपमा उल्लेख गर्ने समूहमा संक्रमण दर सबैभन्दा बढी ०.५९ प्रतिशत पाइएको छ,” प्रतिवेदनमा भनिएको छ । 

राजमार्गको जीवनको अर्को कथा पनि छ । राजमार्गमा चालकहरूसँग डाक्टरभन्दा पनि नजिक रहेर सुरक्षित यौन सम्बन्धका विषयमा संवाद गर्नेहरू पारलैंगिक यौनकर्मी तथा आउटरिच वर्कर (गैरनाफामूलक रूपमा काम गर्ने समूह) हुन् । उनीहरू भारतका ट्रान्सपोर्ट नगर, ढाबा र सडक किनारमा रातभर काम गर्छन्, जहाँ ट्रकहरू रोकिन्छ न् र चालकहरू थकाइ मारिरहेका हुन्छन् ।

जोखिमयुक्त ‘जंक्सन’

साँझ पर्नासाथ ‘सञ्जय गान्धी ट्रान्सपोर्ट’ नगर कुनै बस्ती होइन, एउटा विशाल ‘स्टेजिङ ग्राउन्ड’ जस्तो देखिन्छ । एसियाकै सबैभन्दा ठूलो ‘ट्रक हब’ मानिने यहाँका भित्री सडक र खुला पार्किङ क्षेत्रमा सामानले भरिएका सवारीसाधन लामो पङ्क्तिमा उभिएका हुन्छन् ।

Injection-at-Indian-Truck-Hub-NIMJN-1782726561.jpg
सञ्जय गान्धी ट्रान्सपोर्ट नगरको सडकमा भेटिएको कन्डम र इन्जेक्सन ।
तस्बिर : यश साधक श्रीवास्तव/निमजिन

यहाँ सबै ठाउँमा बत्ती छैन । कतै ट्रकको हेडलाइट, कतै वर्कसपको बत्ती त कतै ढाबाबाट चुहिएको मधुरो प्रकाशले उज्यालो छरिरहेको हुन्छ ।

भित्री सडकछेउका केही पुराना भवन वर्षौंदेखि खाली छन् । ढोका भत्किएका छन्, तालाहरू कब्जामा झुन्डिएका छन् । यिनै भवनमा कतिपय रात्रिकालीन गतिविधि सञ्चालन हुन्छन् ।

बालादेवीले यही ठाउँमा ढाबा चलाएको तीन दशक भएको छ । ६० वर्षीया उनी साधारण सारी र चस्मा लगाएर काममा लाग्छिन् । काउन्टर पछाडिबाटै चालकहरूले उनलाई हालखबर सोध्छन् । उनी सहज रूपमा गफिन्छिन् । उनी र उनका करिब ३० वर्षका छोरा बिहान ९ बजेदेखि राति १२ बजेसम्म यही ढाबामा खटिन्छन् ।

ढाबाको काउन्टरपछाडि भित्तामा स्वास्थ्य सेवासम्बन्धी जानकारी भएको ब्यानर झुन्ड्याइएको छ, जहाँ एचआईभी परीक्षण र रेफरलसम्बन्धी विवरण लेखिएको छ ।

चालकहरू त्यसलाई हेर्छन् र त्यसको अर्थ बालादेवीलाई सोध्छन् । आफ्नो शरीरमा देखा परेका लक्षण, घाउ वा असहजताबारे भने उनका छोरासँग कुरा गर्छन् । बालादेवी ती कुरा सुन्छिन्, बुझ्छिन् र आवश्यक परे क्लिनिक पठाउँछिन् ।

पोलो टायर्स फाउन्डेसनसँग बालादेवीको सन् २००२ देखि सम्बन्ध छ । “पहिलो पटक अपोलो टायर्सका कर्मचारीहरूले मेरो ढाबानजिक सडक नाटक गर्दै ब्यानर टाँगेका थिए,” उनी सम्झिन्छिन्, “केही ट्रक चालक त्यस कार्यक्रमबारे सोध्थे । म भन्थेँ– अपोलो टायर्सले ट्रक चालकहरूका लागि क्लिनिक चलाएको छ, जहाँ डाक्टर पनि भेटिन्छन्, औषधी पनि पाइन्छ ।” 

आवश्यक पर्दा ढाबाको काम छोराले सम्हाल्छन् । “ऊ अपोलो टायर्स फाउन्डेसनको बैठकमा जान्छ, क्लिनिकसँग पनि आबद्ध छ । चालक बिरामी छ भने मलाई सोध्नै पर्दैन, आफैँ लिएर जान्छ,” छोराको कामबारे बालादेवीले भनिन् ।

ढाबामा रातिको भान्सा बन्द भएपछि १० देखि १२ जनासम्म महिला यौनकर्मी आउँछन्, जसलाई बालादेवी चिन्छिन् । उनीहरू नजिकैको पसलबाट १० रुपैयाँ पर्ने जुटको बोरा किन्छन् । त्यसलाई लिएर कोही पुराना खाली भवनतिर जान्छन्, कोही ट्रकमुनिको खाली ठाउँमा आफ्नो व्यवसाय चलाउन पुग्छन् ।

फरक–फरक ठाउँबाट आए पनि उनीहरूमाझ भेदभाव वा भिन्नता देखिँदैन । “जहाँ जान्छौ, जाओ तर मेरो होटलमा नआउनू,” बालादेवी उनीहरूलाई भन्छिन्, “तिमीहरूलाई बरु कन्डम वा अरू जे चाहिन्छ, लिएर जान सक्छौ ।”

रातिको समयमा उनीहरू काम गर्ने ठाउँबाट अपोलो टायर्स फाउन्डेसनको क्लिनिक देखिँदैन । तर ती पुराना भवनहरूबाट क्लिनिकका सूचनामूलक ब्यानरहरू देखिन्छन् । तिनै ब्यानरहरूले विज्ञापन गरेको सेवासम्म सम्बन्धित पक्षको पहुँच नपुगेको विषयबारे यस रिपोर्टमा उल्लेख गरिएको छ ।

मायरा मेहराफले त्यही ट्रान्सपोर्ट नगरमा एचआईभी आउटरिच कार्यकर्ताका रूपमा डेढ वर्षदेखि काम गरिरहेकी छन् । त्यसअघि तीन वर्ष उनले पारलैंगिक (ट्रान्सजेन्डर) समुदायमा एचआईभीसम्बन्धी सचेतना जगाउने काम गरिन् । 

साँझपछिको त्यहाँको दृश्य उनी यसरी वर्णन गर्छिन्, “६ बजेसँगै अँध्यारो हुन थालेपछि महिला यौनकर्मीहरू ट्रक चालकहरूकहाँ आउन थाल्छन् । म आफैँ पनि पारलैंगिक समुदायबाट भएकीले उनीहरूको समस्या बुझ्न जान्छु, त्यति बेला मलाई पनि कतिपयले यौनकर्मी ठानेर प्रस्ताव राख्ने गर्छन् ।”

चालकहरूसँग उनी सोझै स्वास्थ्यका विषयमा कुरा गर्दिनन् । “कहाँबाट आएको, त्यहाँ त धेरै आँप पाइन्छ नि भन्दै कुरा उप्काउँछु । उनीहरूलाई चासो लाग्ने कुरा निकाल्दा ध्यान तानिन्छ,” उनी भन्छिन् ।

कुरा गर्दै जाँदा जब अवस्था सहज हुन्छ, उनी एचआईभीबारे भन्न थाल्छिन् । कन्डम प्रयोग गर्न नमान्ने चालकहरू उनीसँग सीधै भन्छन्, “कन्डम लगाउँदा कुनै आनन्द आउँदैन । त्यसले कुनै अनुभूति नै हुँदैन ।”

मायराले ट्रान्सपोर्ट नगरमा बङ्गलादेश, भारतकै गुवाहाटी र आसामबाट आएका पारलैंगिक महिला (ट्रान्स वुमन) को समूह पनि भेटेकी छन् । उनीहरूलाई एचआईभीसम्बन्धी कुनै औपचारिक कार्यक्रमले छोएको छैन । 

रातमा २० देखि २५ जनासम्मसँग यौन सम्पर्क राख्ने गरेको उनीहरू बताउँछन् । यस्तो कसरी सम्भव हुन्छ भनेर मायराले सोध्दा उनीहरूको जवाफ हुन्छ, “हामी औषधी खान्छौँ । त्यो केही हरियो पातजस्तो ट्याब्लेट हुन्छ ।” उनीहरूलाई त्यस ट्याब्लेटको नाम नै थाहा छैन ।

यस क्षेत्रमा यौनकर्म गरेर कमाएको रकम पनि बाँड्नुपर्ने हुन्छ । केही क्षेत्रमा पारलैंगिक यौनकर्मीहरूले आफ्नो कमाइको निश्चित प्रतिशत ‘गुरु’ लाई दिनुपर्छ । ‘गुरु’ समुदायको वरिष्ठ सदस्य मानिन्छ । त्यो प्रतिशत पहिले नै तय गरिएको हुन्छ । 
कुनै रात ग्राहक कम भए शुल्क महँगो हुन्छ, ग्राहक धेरै भए सस्तो । “जो सुन्दर छैनन्, उनीहरूले त दुई सय रुपैयाँमै पनि काम गर्नुपर्छ,” मायराले सुनाइन्, “त्यसैले उनीहरूसँग ग्राहक बढाउनुको विकल्प हुँदैन ।”

चालक र यौनकर्मी दुवै जोखिममा

यूएनएड्सको एक प्रतिवेदनअनुसार सन् २०२२ मा विश्वव्यापी रूपमा पारलैंगिक महिलामा एचआईभी संक्रमणको जोखिम आम वयस्कको तुलनामा २० गुणा बढी थियो । सन् २०१० मा यो जोखिम ११ गुणा बढी रहेको थियो ।

भारतमा राष्ट्रिय एड्स नियन्त्रण कार्यक्रम (एनएसीपी) अन्तर्गत गरिएको तथ्यांकीय म्यापिङअनुसार वयस्क जनसंख्यामा एचआईभी संक्रमण दर ०.२० प्रतिशत छ । लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायमा यो दर ३.७८ प्रतिशत पुगेको छ । प्रमुख जोखिम समूहहरूमध्ये महिला यौनकर्मीमा संक्रमण दर १.८५ प्रतिशत र लागुऔषध प्रयोगकर्तामा ९.०३ प्रतिशत पुगेको देखिन्छ ।

एकीकृत जैविक तथा व्यवहारगत निगरानी (आईबीबीएस) सर्वेक्षणका अनुसार राजमार्गमा आधारित यौनकर्मीमा सन् २००४ देखि २०१६ सम्ममा एचआईभी संक्रमण दर घट्दो देखिए पनि केही क्षेत्रमा यो दुईतीन प्रतिशत हाराहारीमा स्थिर रहेको पाइएको छ । निरन्तर आवागमन, सीमापार यात्रा, ट्रक चालकसँगको सम्पर्क र कन्डमको अनियमित प्रयोगका कारण यो समूह अझै उच्च जोखिममा रहेको सर्वेक्षणले उल्लेख गरेको छ ।

नेपालमा भने एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) लिइरहेका पारलैंगिक व्यक्तिको संख्या ५१० रहेको अभिलेख छ । तर विज्ञहरूका अनुसार आफूमा एचआईभी भएको स्वीकार नगर्ने र आफ्नो अवस्था लुकाउनेहरू पनि हुन सक्ने भएकाले वास्तविक संख्या योभन्दा धेरै हुन सक्छ । 

“पारलैंगिक व्यक्तिलाई अपराधीकरण गर्ने कानुनले उनीहरूको स्वास्थ्य सुरक्षामा चाहिने सेवा र टेवाबाट टाढा धकेल्छ,” यूएनएड्सको प्रतिवेदनमा भनिएको छ, “धेरैजसो अवस्थामा पारलैंगिक व्यक्तिहरूले एकैपटक अनेक प्रकारका विभेद भोग्नुपर्छ । यही कारण उनीहरू यौनकर्ममा संलग्न हुने सम्भावना बढी हुन्छ ।”

दिल्लीको राजमार्ग बाइपास क्षेत्रमा काम गर्ने एक पारलैंगिक यौनकर्मीले आफू संक्रमित भएको नौ वर्षअघि एक गैरसरकारी संस्थामार्फत थाहा पाइन् । त्यति बेला उनलाई आफू उभिएको जमिन नै भासिएजस्तो भयो । 

उनले यसबारे कसैलाई सुनाइनन् । “घरमा राति लुकेर औषधी खान्थेँ । परिवारले देखे भने के खाइरहेकी यस्तो भनेर सोध्थे । म तौल बढाउने औषधी हो भन्थेँ । पछि उनीहरूलाई थाहा भयो । त्यसपछि म घरबाट निस्किएँ । त्यही बेलादेखि पारलैंगिक समुदायसँग छुट्टै बस्दै आएकी छु ।”

अहिले उनी यौनकर्मसँगै परामर्श पनि दिन्छिन् । नयाँ चालक भेटिनेबित्तिकै ‘कहाँबाट आएका हौ ?’ भनेर सोध्छिन् । “उनीहरू गाडीको तातो सिटमा बसेर आएको छु । अब गर्मी र थकान मेट्नुपर्छ भन्छन्,” उनले भनिन्, “उनीहरूको पनि त आवश्यकता हुन्छ ।” 

कन्डम नभएका चालकलाई उनी आफैँ कन्डम दिन्छिन् । कामपछि थप कन्डम पनि थमाउँछिन् । हरेकलाई एउटै कुरा दोहोर्‍याउँछिन्, “कन्डमबिना नगर्नू । कसैको अनुहारमा लेखिएको हुँदैन, को एचआईभी पोजिटिभ छ, को छैन भनेर ।”
रक्सी खाएर आएका चालकहरूले कतिसम्म दुःख दिन्छन् भन्ने पनि उनले भोगेकी छन् । “कतिपय चालक आउँछन् र भन्छन्– मैले त पञ्जाबमा कन्डमबिनै सम्बन्ध राखेको थिएँ, अर्कोसँग पनि गरेको थिएँ । कति मजा आउँछ !”

उनका अनुसार कतिपय चालकको कुरा सुन्दा उनीहरूले धेरै व्यक्तिसँग यौनसम्बन्ध राख्ने गरेको बुझ्न सकिन्छ । “केही ट्रक चालकले आफूमा एचआईभी सरे पनि भन्दैनन्,” उनी भन्छिन्, “यसले यौनकर्ममा लाग्नेहरू बढी जोखिममा छन् ।”
अतिरिक्त पैसाको लोभमा असुरक्षित सम्बन्ध राख्न नहुनेमा उनी स्पष्ट छिन् । “मलाई आफ्नो अवस्थाबारे थाहा छ । म किन अरूलाई पनि त्यस्तै अवस्थामा पुर्‍याऊँ ? मेरो जस्तो अवस्था अरूले भोग्न नपरोस्,” उनी भन्छिन् । 

दिल्लीका एक पूर्व ट्रक चालक सडकको जीवनलाई अलि सावधानीपूर्वक व्याख्या गर्छन् । “परिवारबाट टाढा हुन्छन्,” उनी भन्छन्, “लामो रुटमा गाडी चलाउँदा थकान हुन्छ । खुसी महसुस गर्न मान्छेलाई अरू कुरा पनि त चाहिन्छ । जतिसुकै राम्रो खाना खाए पनि चालकहरू सन्तुष्ट हुँदैनन् ।”

दिल्लीकै आजादपुर मण्डी क्षेत्रमा काम गर्ने एक पारलैंगिक यौनकर्मीका अनुसार एक चालकले कन्डमबिना सम्बन्ध राख्न जिद्दी गरे । त्यसपछि उनकी एक सहकर्मीले उपाय निकालिन् ।

उनले सुनाइन्, “उनी धेरै चलाख थिइन् । उनले कन्डम मुखभित्र राखेकी रहिछन् अनि थाहै नदिई चालकको यौनांगमा लगाइदिइछन् । त्यो चालकलाई पनि पत्तै भएन । पैसा पनि सबै लिइन् । चेतना हुनु नै सुरक्षा हो ।”

यता चालकहरूको अर्को कमजोरी नसा हो । सन् २०२० मा सेभ लाइफ फाउन्डेसनले भारतका १० सहरका १२ सय १७ ट्रक चालकबीच गरेको सर्वेक्षणअनुसार ३६ प्रतिशत चालकले कहिलेकाहीँ मदिरा वा लागुऔषध सेवन गरेर गाडी चलाउने स्वीकार गरेका थिए । करिब पाँच प्रतिशतले भने सधैँ त्यसरी गाडी हाँक्ने गरेको बताएका थिए । धेरै घण्टासम्म अनिदो रहनुपर्ने बाध्यतालाई उनीहरूले यसको मुख्य कारण भनेका छन् । 

“चालक वा सहचालक नसाबिना टिक्नै सक्दैनन्,” आजादपुरकी पारलैंगिक यौनकर्मी भन्छिन्, “जो लामो दूरीमा जान्छ, उसले पिउँछ नै । भाङ, गाँजा, मदिरा, कुनै न कुनै नसा पनि चाहिन्छ । नत्र शरीरले यति लामो यात्रा धान्नै सक्दैन ।”
काठमाडौंकी २६ वर्षीया पारलैंगिक यौनकर्मी आफ्नो जीवनको पहिलो यौन सम्बन्धबाटै एचआईभी संक्रमित भइन् । फेसबुकमार्फत भेटिएका एक पुरुषसँग सम्बन्ध राख्दा उनी जम्मा १७ वर्षकी थिइन् । पछि बिरामी परेर दुई महिनाभन्दा बढी समय अस्पताल धाइरहिन् । तर डाक्टरहरूले एचआईभीबारे कुनै संकेत गरेनन् ।

पछि उनले सामाजिक सञ्जालमार्फत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायसँग काम गर्ने अभियन्ता ‘नन–बाइनरी ट्रान्स’ बाबु दुमी राईसँग कुरा गरिन् । उनको सल्लाहमा परीक्षण गराउँदा एचआईभी देखियो । “मसँग सम्बन्ध राखेको व्यक्तिले कुरा लुकाएका कारण यौन सम्पर्क सुरक्षित हुन सकेन रहेछ,” उनी भन्छिन् । 

एचआईभी देखिएपछि उनी यूएसएआईडीको जनचेतनामूलक कार्यक्रममा सहभागी भइन्, परामर्श लिइन् र आफैँ यौनकर्मसँगै आउटरिचको काममा पनि लागिन् । 

उनको सम्पर्कमा चालक पनि आउँछन् । “चालकहरूमा अझै चेतनाको कमी छ,” उनी भन्छिन्, “यौन सम्बन्ध, एचआईभी र अन्य यौनजन्य संक्रमण (एसटीआई) बारे जनचेतना चाहिन्छ । धेरैलाई एसटीआईबारे थाहै हुँदैन । यौन सम्पर्क राख्दा कन्डम प्रयोग गर्न नचाहनेहरू हुन्छन् ।”

उनका अनुसार कुनै ग्राहकले यौन सम्पर्ककै क्रममा सुटुक्क कन्डम च्यातिदिन्छन् । “रातिको समयमा झन् गाह्रो हुन्छ, देखिँदैन । केही मिनेटको आनन्दले जीवन बिगार्नु हुँदैन भन्छु । कतिले तेरो ज्ञान तैँसँग राख् पनि भन्छन्,” उनी सुनाउँछिन् ।

ती पारलैंगिक यौनकर्मीका अनुसार पहिले यौनजन्य संक्रमण परीक्षण गर्ने क्लिनिकहरू थिए, अहिले छैनन् । “हिच्किचाउँदै भए पनि त्यस्ता ठाउँमा जाँच गराउन मानिस आउँथे । त्यो हाम्रो आफ्नै समुदायको ठाउँ हुन्थ्यो,” उनले भनिन्, “निजी वा सरकारी अस्पतालमा उपचार गर्न जाँदा फरक व्यवहार भोग्नुपर्छ । ट्रान्स भन्नेबित्तिकै अर्कै ग्रहको मान्छेजस्तो गरी हेर्छन् ।” विदेशी सहयोग घटेपछि एचआईभी अझ फैलिँदै गएको जस्तो लाग्छ उनलाई । 

यौनिक तथा लैंगिक अल्पसंख्यक र यौनकर्मी अधिकारकर्मी बाबु दुमी पनि अन्तर्राष्ट्रिय सहयोग घटेपछि उपचार र जाँचमा समस्या बढेको बताउँछिन् । 

अस्पतालहरूमा हुने विभेदका कारण आफ्नो समुदायलाई उपचारमा समस्या हुने गरेको उनले सुनाइन् । “काउन्टरदेखि काउन्सिलिङ कक्षसम्म पुग्दा बारम्बार तपाईँको लिंग के हो भनेर सोध्छन् । हामीले प्रमाणित गर्नुपर्ने हुन्छ । प्रक्रिया पनि यति झन्झटिलो छ कि हाम्रो समुदायका कतिपयले उपचार खोज्नै छाडिरहेका छन् । एचआईभी भएकाको उपचारमा सहज व्यवस्था मिलाइएन भने त्यसको असर अरू समुदायमा पनि फैलिन सक्छ,” उनले भनिन् । 

अधिकारकर्मी बाबु दुमी पैसा तिरेपछि कन्डम किन प्रयोग गर्ने भन्ने सोचका कारण यौनजन्य संक्रमण फैलने जोखिम उच्च रहेको बताउँछिन् । “परिवार र पार्टनरबाट टाढा रहेका चालकहरू यौन चाहना भएको बेला यौनकर्मीकहाँ पुग्छन्,” उनी भन्छिन्, “पैसा तिरेपछि कन्डम किन प्रयोग गर्ने भन्न थाल्छन् । अनि संक्रमण फैलिन्छ ।”

सीमामा चालकहरूको सकस

काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको एआरटी विभागमा कार्यरत डा. निकेश साहका अनुसार एचआईभी संक्रमण भएका छ हजारभन्दा बढीको नाम त्यहाँ दर्ता गरिएको छ । तीमध्ये करिब २५ सयले एआरटी लिइरहेका छन् । 

एचआईभी देखिएपछि एआरटी छुटाउनै नहुने डा. निकेश बताउँछन् । “एचआईभी शरीरबाट पूर्ण रूपमा हट्ने भाइरस होइन,” उनी भन्छन्, “यो शरीरमा कतै लुकेर बस्छ । औषधीले भाइरसलाई बढ्न दिँदैन । तर एकदुई दिन मात्रै औषधी छुट्यो भने भाइरस फेरि सक्रिय हुन थाल्छ । त्यसपछि पहिलो चरणको औषधीले काम नगर्न सक्छ ।”

डा. निकेशका अनुसार नेपाल, भारतलगायत धेरै एसियाली देशमा एआरटीको विकल्प सीमित छ । उनी भन्छन्, “एउटा औषधीले काम गरेन भने विकल्पमा जान्छौँ । तर त्यो पनि असफल भयो भने तेस्रो विकल्प नहुन सक्छ ।”

नेपाल सरकारद्वारा प्रकाशित नेसनल एचआईभी फ्याक्टसिट, २०२५ अनुसार एचआईभी संक्रमण भएका व्यक्ति देशभर ३४ हजार तीन सय ३७ जना छन् । एआरटी लिनेको संख्या भने २७ हजार ५४ छ । 

संक्रमित व्यक्तिभन्दा एआरटी लिनेको संख्या किन थोरै छ त ? राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्मा भन्छन्, “कोही भारत वा अन्य मुलुक गएका हुन सक्छन्, कसैले बीचैमा एआरटी लिन छाडेको हुन सक्छ, ठीक भयो भन्ने सोचेर एआरटी छाड्नेहरू पनि हुन सक्छन् ।”

शुक्रराज अस्पतालकै एआरटी विभागअन्तर्गत रहेको एएचएफ नेपालका कार्यक्रम संयोजक राधेश्याम श्रेष्ठका अनुसार हरेक महिना करिब १० देखि १२ जना औषधी लिँदालिँदै सम्पर्कविहीन हुने गरेका छन् । “अस्पतालले फोन गरेर औषधी सकिन लाग्यो कि भन्दै सोध्छ । यति गर्दा पनि केही एआरटी प्रयोगकर्ता सम्पर्कमै आउँदैनन्,” उनले भने । 

एएचएफले यसबारे गरेको अध्ययनमा कामका लागि भारत जानेहरूले औषधी छुटाउने गरेको पाइएको राधेश्यामले जानकारी दिए । “भारतमा पनि उनीहरूले सहज रूपमा औषधी पाउँदैनन् । पहिचान खुल्ने डर पनि उनीहरूमा हुन्छ,” उनले भने, “एचआईभीबारे खुलेर भन्नासाथ रोजगारी गुम्ने उच्च जोखिम हुने भएकाले कतिपय व्यक्ति औषधी नै नखाई बसेका हुन सक्छन् ।” 

प्रशासनिक कारणले नेपाली चालकलाई भारतमा औषधी पाउन समस्या रहेको राधेश्याम बताउँछन् । “भारतका एआरटी सेवा केन्द्रहरूमा औषधी लिन जाँदा रासन कार्ड, आधार कार्ड वा मतदाता परिचयपत्र देखाउन भनिन्छ, जुन नेपाली नागरिकसँग हुँदैन । एचआईभी कसरी सर्‍यो भनेर समेत सोध्ने गरिन्छ । त्यसैले खुल्न नचाहनेहरू औषधी नलिई फर्किन्छन् ।

केहीले भने नेपालका एआरटी सेवा केन्द्रहरूसँग फोन वा इमेलमार्फत सम्पर्क गरेर भारतस्थित एआरटी सेवा केन्द्रसँग समन्वय गराई औषधी लिने गरेका छन् । एएचएफ नेपालले केहीअघि नेपालगन्ज एआरटी सेवा केन्द्रका प्रतिनिधिलाई लखनउ एआरटी सेवा केन्द्र पठाएर औषधीको सहज पहुँच कसरी सुनिश्चित गर्न सकिन्छ भन्नेबारे छलफल गरेको थियो ।

भारतको उत्तर प्रदेशस्थित महाराजगन्ज जिल्ला अस्पतालमा कार्यरत राष्ट्रिय एड्स नियन्त्रण संगठन (नाको) का कर्मचारी क्रान्ति कुमारका अनुसार सुनौली सीमाबाट सबैभन्दा नजिक ३० किलोमिटर दूरीको सामुदायिक स्वास्थ्य केन्द्र लक्ष्मीपुर ब्लकमा एचआईभी परीक्षण तथा एआरटी सेवा उपलब्ध छ । करिब ६० किलोमिटर टाढा रहेको महाराजगन्ज अस्पतालमा पनि उक्त सेवा छ । 

भारतको नेसनल अपरेसनल गाइडलाइन फर एआरटी सर्भिसेसका अनुसार आधिकारिक परिचयपत्र नभएकै कारण बिरामीलाई उपचारबाट वञ्चित गर्न नहुने स्पष्ट व्यवस्था छ । तर नेपाली संस्था र चालकहरूले भारतमा सहज रूपमा एआरटी सेवा नपाएको गुनासोबारे जानकारी लिन नाकोसँग सम्पर्क गर्दा प्रतिक्रिया प्राप्त भएन ।

यो समस्या समाधानका लागि नेपाल र भारत सरकारबीच कुनै औपचारिक सम्झौता भएको छैन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, “मलेरिया लगायतका केही रोगका लागि औपचारिक सम्झौता र सहकार्य भए पनि एचआईभीका लागि त्यस्तो कुनै सम्झौता भएको छैन ।”

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका प्रमुख चिकित्सक डा. मनबहादुर केसी भारतमा नेपालीले एआरटी सेवा नपाएको विषयमा औपचारिक रूपमा कुनै गुनासो नआएको बताउँछन् । “भारतमा औषधी नपाएको गुनासो आएको छ कि छैन भनेर हामीले पहिले देशभरका ९६ वटै एआरटी सेवा केन्द्रसँग बुझ्नुपर्छ,” उनले भने, “समस्या भएको गुनासो पाइए सहयोगका लागि भारतसँग पहल गर्न सकिन्छ ।”

सहप्रवक्ता डा. समीरकुमार पनि समस्या देखिए र उजुरी बढे सम्बन्धित पक्षसँग छलफल गरेर समाधान खोज्न सकिने बताउँछन् ।

एचआईभी संक्रमण रोकथामका क्षेत्रमा दुई दशकदेखि कार्यरत स्पर्श नेपालका अध्यक्ष सुशील खत्रीका अनुसार यूएसएआईडीको आर्थिक सहयोगमा सन् २०१० देखि २०१५ सम्म नेपालको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र र भारतको राष्ट्रिय एड्स नियन्त्रण संगठनले संयुक्त कार्यक्रमहरू सञ्चालन गरेका थिए । तर सन् २०१५ को भूकम्प र त्यसपछिको कोरोना महामारीका कारण यस्तो समन्वय कमजोर बन्दै गयो । 

भारत रहँदा पनि औषधी नटुटोस् भनेर एएचएफ नेपालले भने भारत गएकालाई आवश्यक परे छ महिनासम्म औषधी उपलब्ध गराउने व्यवस्था मिलाएको छ । 

एएचएफले गौरीफन्टा (धनगढी) र सुनौली (रुपन्देही) नाकामा स्वास्थ्य सूचना केन्द्र स्थापना गरेको छ, जहाँ परीक्षण र परामर्श सेवा उपलब्ध छ । सेवा विस्तारका लागि बजेट अभाव रहेको एएचएफ नेपालका राधेश्याम बताउँछन् । सीमानाकामा एआरटी सेवा केन्द्र भने नेपाल र भारत कुनै पनि पक्षबाट खोलिएको छैन । 

सञ्जय गान्धी ट्रान्सपोर्ट नगर ट्रान्सपोर्ट वेलफेयर एसोसिएसनका अध्यक्ष सन्दीप जैन, जसले त्यही हबबाट तीन दशकदेखि आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनी भन्छन्, “दिल्लीबाट नेपाल जाने ट्रक तेस्रो दिन सुनौली पुग्छ । त्यहाँ ट्रक दुईतीन दिन रोक्नुपर्छ । त्यही दुईतीन दिनको समय नै समस्याको जड हो ।” 

केही महिनाअघि एक गैरसरकारी संस्थाका प्रतिनिधिले सन्दीपलाई एक चालकमा यसै गरी एचआईभी सरेको तर फेरि सम्पर्कमा नआएको घटना सुनाएका थिए । यसरी सम्पर्कमा नआएको व्यक्ति धनुषाका ती चालकजस्तै सधैँका लागि आफ्नै गाउँठाउँ फर्किएका पनि हुन सक्छन् । 

एचआईभी संक्रमण भएका धनुषाका ती चालकका अनुसार उनकै जिल्लाका एक जनामा पनि एचआईभी छ । उनी प्रायः भारततिर हुन्छन्, कहिलेकाहीँ दुईतीन महिनासम्म औषधी छुट्छ ।

“डाक्टरले उनलाई गाली पनि गरे,” उनले सुनाए, “औषधी नियमित खान सक्दैनौ भने बाहिर नजानू, नेपालमै बस्नू पनि भने । तर उनले बेवास्ता गरे । अहिले कमजोर देखिन्छन् उनी ।”

उनकै गाउँमा अरू दुई जनाले औषधी नखाँदा दुई महिनाभित्रै ज्यान गुमाएको पनि पनि उनले सुनाए ।

कोही उपचारमै नजाने र कोही एआरटी बीचैमा छाड्ने वा नियमित नगर्ने समस्या धेरैमा रहेको शुक्रराज अस्पतालका डा. निकेश बताउँछन् । “यसले एकातिर उनीहरूको ज्यान जोखिममा त पर्छ नै, उनीहरूले लापरबाही मात्र गरिदिए भने संक्रमण अरूमा सर्र्दै जान्छ,” उनी भन्छन् ।

डा. निकेश एचआईभी संक्रमण भएको व्यक्तिलाई सहज रूपमा स्विकार्ने वातावरण समाजमा नहुँदा पनि धेरै व्यक्ति औषधी उपचारबाटै टाढा रहेको हुन सक्ने बताउँछन् । “अहिले पनि धेरै मानिस एचआईभी शब्द सुन्नासाथ यो घातक रोग हो भन्ने ठान्छन्, तर्कन्छन्,” उनी भन्छन्, “एचआईभी संक्रमित भएका व्यक्ति पनि कसैलाई थाहा नपाऊन् भनेर कुरा लुकाउँछन्, उपचारबाट टाढिन्छन्, औषधी खान छोड्छन् वा नियमित फलोअपमा आउँदैनन् ।”

Dr-Nikesh-Shah-NIMJN-1782726560.jpg
डा. निकेश एचआईभी संक्रमण भएको व्यक्तिलाई परामर्श दिँदै । तस्बिर : अनिता भेटवाल/निमजिन

स्पर्श नेपालका सुशीलका अनुसार समाजको डर अरूभन्दा चालकमा बढी देखिन्छ । “निद्रा वा ग्यास्ट्रिकको औषधी वा भिटामिन भए उनीहरू खुला रूपमै खान्छन् तर एचआईभीको औषधी खाएको भन्न डराउँछन् । उनीहरूमा कामबाट हटाइएला कि भन्ने चिन्ता पनि हुन्छ । त्यही कारण औषधी लुकाउँछन्,” उनले भने । 

दिल्लीका एक चालक भने त्यस्तो डरबाट आफू धेरै हदसम्म बाहिर निस्किसकेको सुनाउँछन् । “हामीले यो कुरा लुकाएर राख्यौँ भने घाटा कसलाई हुन्छ ?” उनी भन्छन्, “भाइरस त हाम्रो शरीरभित्रै रहन्छ । लुकाएर बस्दा बिग्रिने त आफ्नै जीवन हो ।”

पञ्जाबमा रगत चढाउँदा संक्रमित भएका नेपाली चालक भने अझै डरबाट माथि उठ्न सकेका छैनन् । उनले यसबारे श्रीमतीलाई समेत सुनाएका छैनन् । 

नियन्त्रणमा अपर्याप्त बजेट

तथ्यांकले एचआईभी संक्रमण दर ओरालो लाग्दो देखाउँछ तर यसलाई बेवास्ता गर्ने अवस्था छैन । भारतमा एचआईभी प्रकोप सन् २०१० मा ०.३३ प्रतिशतबाट घटेर सन् २०२४ मा ०.२० प्रतिशतमा झरेको छ । राष्ट्रिय स्तरमा एक वर्षमा नयाँ संक्रमित एक लाख २५ हजार थपिने गरेकामा त्यो संख्या घटेर ६४ हजार पाँच सयमा छ, जुन ४९ प्रतिशतको गिरावट हो । एचआईभीका कारण हुने मृत्युदर पनि ८१.४ प्रतिशतले घटेको छ । 

नेपालको सन्दर्भमा सन् २००० मा पाँच हजार पाँच सय ५४ नयाँ संक्रमित देखिएका थिए, सन् २०२४ मा घटेर छ सय १४ मात्र नयाँ संक्रमित देखिए । तर यो उपलब्धि प्राप्तिका लागि जग बसाएका कार्यक्रमहरू अहिले यस क्षेत्रबाट बाहिरिँदै गएका छन् ।
सञ्जय गान्धी ट्रान्सपोर्ट नगर ट्रान्सपोर्ट वेलफेयर एसोसिएसनका अध्यक्ष सन्दीपको अनुमानअनुसार भारतमा अहिले ट्रक चलाइरहेका चालकमध्ये ६० प्रतिशत १५ वर्षयता मात्र यस पेसामा प्रवेश गरेका हुन् । सामान्यतया चालकले २०–२२ वर्षको उमेरमा काम सुरु गर्छन् र ४० वर्ष नपुग्दै अवकाश लिन्छन् वा अन्य काममा लाग्छन् । विगतमा सचेतना कार्यक्रममा सहभागी भएका, आफ्नै आँखाअगाडि सहकर्मीले ज्यान गुमाएको देखेका र एचआईभीको असर बुझेका पुराना चालकहरू घर फर्किसकेका छन् ।

अनि अहिले तिनै कतिपयका छोराले स्टेयरिङ सम्हालिरहेका छन् । “यो नयाँ पुस्तालाई पनि सचेतनाको उत्तिकै खाँचो छ,” सन्दीप भन्छन्, “घर फर्किएका पुराना चालकहरू छोराछोरीसँग एचआईभीबारे कुरा गर्दैनन् । हाम्रो समाज अझै त्यति खुला भइसकेको छैन ।”

पालमा गरिएको राष्ट्रिय जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले १५ देखि २० प्रतिशत युवामा मात्र एचआईभीसम्बन्धी ज्ञान भएको देखाएको एएचएफ नेपालका राधेश्याम बताउँछन् । “यसको अर्थ हामीले रोकथामबारे अझै चेतना बढाउन आवश्यक छ । अन्यथा संक्रमण दर फेरि बढ्न सक्छ,” उनी भन्छन्, “सन् २००४ ताका एचआईभी रोकथामका विषयमा व्यापक छलफल हुने गर्थ्यो । सचेतनामूलक सामग्रीहरू उत्पादन गरिन्थे । त्यसले काम गरेको थियो, अहिले त्यस्तो हुन छाडेको छ ।”

भारतको राष्ट्रिय एड्स नियन्त्रण कार्यक्रमसम्बन्धी विश्व बैङ्कको प्रतिवेदनले व्यवहार परिवर्तनको सञ्चार र सचेतना फैलाउने कार्यमा कमजोरी रहेको औँल्याएको छ । प्रतिवेदनअनुसार सामाजिक सञ्जालका अभियानहरू उच्च जोखिममा रहेका समूहसम्म पुग्न असफल भएका छन् । तिनले मुख्य रूपमा सर्वसाधारण जनतालाई मात्र समेटेका छन् । एचआईभी भएका व्यक्तिलाई लगाइने लाञ्छना न्यूनीकरणका लागि आम सञ्चार तथा स्थानीय सञ्चार माध्यममार्फत गरिएका प्रयासहरू पनि “सतही रूपमा मात्र राम्रा” देखिएको प्रतिवेदनमा उल्लेख छ । 

Apollo-Tyres-Foundation-clinic-NIMJN-1782726843.jpg
भारतको दिल्लीस्थित सञ्जय गान्धी ट्रान्सपोर्ट नगरमा कन्डमको प्रयोग र सुरक्षित यौन व्यवहारबारे जानकारी लिँदै ट्रक चालकहरू । तस्बिर : यश साधक श्रीवास्तव/निमजिन

अपोलो फाउन्डेसनको कार्यक्रम व्यवस्थापन गर्दै आएका अमितरञ्जन चौधरी यही विषय आफ्नो अनुभवका आधारमा स्पष्ट पार्छन् । “हामी विभिन्न स्थान जाँदा नयाँ चालकहरूलाई हाम्रो सेवा वा एचआईभीबारे सोध्छौँ,” उनी भन्छन्, “हामी २५ वर्षदेखि यस क्षेत्रमा काम गरिरहेका छौँ, तैपनि अझै यस्ता मानिस भेटिन्छन्, जसलाई यसको कुनै जानकारी नै छैन ।”

आर्थिक वर्ष २०२४/२५ मा अपोलोको कार्यक्रमअन्तर्गत ३५ स्थानमा ११ सयभन्दा बढी “पियर स्वयंसेवक” आबद्ध छन्, जसमा ८७ महिला र १०२ पारलैंगिक व्यक्ति संलग्न छन् । उनीहरू जनचेतना जगाउने कार्यमा खट्छन् । पुराना स्वयंसेवकले छाड्दै जाँदा समय–समयमा नयाँ स्वयंसेवकलाई आबद्ध गराइन्छ ।

६० वर्षकी बालादेवी अझै आफ्नो काउन्टर सम्हालिरहेकी छन् । उनका ३० वर्षीय छोरा कसैले नभनीकनै चालकहरूलाई क्लिनिकसम्म पुर्‍याउने गर्छन् । उनीहरूपछि आउने पुस्तामा पनि कसै न कसैले यो जिम्मेवारी सम्हाल्न आवश्यक देखिन्छ ।
भारत सरकारले एड्स नियन्त्रणका लागि सञ्चालन गरेको पाँचौँ चरण (सन् २०२१–२०२६) को “एनएसीपी” कार्यक्रममा पूर्ण रूपमा भारत सरकारको लगानी छ । यसमा पाँच वर्षका लागि १ खर्ब ५४ अर्ब ७१ करोड भारु (करिब १.६ अर्ब अमेरिकी डलर) विनियोजन गरिएको छ । २०२५ जनवरीमा संयुक्त राज्य अमेरिकाले “पेपफार” (प्रेसिडेन्ट इमर्जेन्सी प्लान फर एड्स रिलिफ) सहितका आफ्ना सम्पूर्ण वैदेशिक सहायता रोक्का गरेको थियो । तर भारत सरकारले पहिले नै यसको खर्च आफैँ बेहोरिसकेको कारण अमेरिकी निर्णयको असर अरू मुलुकको तुलनामा भारतमा कम देखियो ।

आर्थिक वर्ष २०२४ मा संयुक्त राज्य अमेरिकाले भारतमा एचआईभी/एड्स कार्यक्रमका लागि करिब १ करोड ७७ लाख ४० हजार अमेरिकी डलर परिचालन गरेको थियो । त्यस रकमले विभिन्न गैरसरकारी संस्था तथा विश्वविद्यालय (जस्तै– जोन्स हप्किन्स विश्वविद्यालय, पाथ, भोलन्टरी हेल्थ सर्भिसेज (भारत), सेयर इन्डिया, युनिभर्सिटी अफ वासिङ्टन, सत्त्वा कन्सल्टिङलगायतको साझेदारीमा एचआईभी परीक्षण, उपचार, प्रयोगशाला सुदृढीकरण र राष्ट्रिय एड्स नियन्त्रण संगठनलाई प्राविधिक सहयोग पुर्‍याएको थियो । 

अमेरिकी सहायता रकम रोक्काले त्यस कार्यक्रममा भने असर परेको छ । तेलङ्गाना राज्यमा विशेष गरी एचआईभी संक्रमितका लागि सेवा प्रदान गर्ने ३३ वटा क्लिनिक रकम कटौतीपछि सञ्चालनका लागि सङ्घर्ष गरिरहेका छन् । धेरै गैरसरकारी संस्था र ‘ड्रप–इन सेन्टर’ (परामर्श केन्द्र) कतै सीमित कर्मचारीका भरमा चलिरहेका छन् भने कतिपय बन्द भइसकेका छन् ।

अपोलो टायर्स फाउन्डेसनले भने यसअघि नै अन्तर्राष्ट्रिय सहायतामाथिको निर्भरता हटाइसकेको थियो । उसले एफसीआरएअन्तर्गत एउटा परियोजनाको पहिलो वर्षका लागि मात्र सन् २०१७ मा वैदेशिक अनुदान प्राप्त गरेको थियो । त्यसयता कुनै उल्लेख्य वैदेशिक रकम आएको छैन । अपोलो टायर्स लिमिटेडमा दिगोपन र सामाजिक उत्तरदायित्व विभाग सम्हालिरहेकी रिनिका ग्रोवर भन्छिन्, “हाम्रो ध्यान मुख्यतया एचआईभी रोकथामका लागि समुदाय, संस्था, कर्पोरेट क्षेत्र र सरकारलाई कसरी सँगै जोड्न सकिन्छ भन्नेमा केन्द्रित हुँदै आएको छ ।”

नेपालको अवस्था भने अझ बढी संवेदनशील र जोखिमपूर्ण छ । नेपाल सरकारले दाताबाट आउने कुल बजेटको पाँचदेखि सात प्रतिशत रकम मात्र एचआईभी कार्यक्रमका लागि छुट्याउने गरेको छ । ग्लोबल फन्डको अनुदान चक्र–७ (सन् २०२४–२०२७) अन्तर्गत नेपालले कुल चार करोड ४० लाख अमेरिकी डलर प्राप्त गरेकामा एचआईभी रोकथामसम्बन्धी कार्यक्रममा करिब छ लाख डलर मात्र विनियोजन गरिएको छ । 

आगामी चक्रका लागि पनि ग्लोबल फन्डको सहयोग त्यही स्तरमा रहने अनुमान गरिएको छ । तर रकम बाँडफाँट अझै अस्पष्ट रहेको सरकारी अधिकारीहरूको भनाइ छ । उनीहरूका अनुसार एचआईभीका क्षेत्रमा जाने हिस्सा यस पटक अझै घट्ने सम्भावना छ । हाल नेपालमा ग्लोबल फन्ड, अमेरिकी दूतावासको प्रत्यक्ष आर्थिक सहयोग, यूएनडीपी र एएचएफ सक्रिय दाता रहेका छन् ।

नेपालको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्मा एचआईभी कार्यक्रमका लागि दातृ निकायबाट आउने रकम र आफ्नै बजेट पनि बढाउनुपर्ने बताउँछन् । “हामीले जनचेतनामा अझै धेरै काम गर्नुपर्नेछ,” उनी भन्छन् ।

स्पर्श नेपालका अध्यक्ष सुशील एआरटीको उपलब्धतामा कुनै समस्या नभए पनि रोकथामको पहल अपर्याप्त रहेको बताउँछन् । “नेपालमा सरकार आफैँले शतप्रतिशत एआरटी औषधी खरिद गरेर वितरण गर्छ । एचआईभी संक्रमितलाई औषधीको अभाव छैन,” उनी भन्छन्, “तर रोकथामको पाटो अझै कमजोर छ । हामी उच्च जोखिम समूहमा महामारीकै चरणमा छौँ ।”

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश पनि सरकारले आफ्नो क्षमताले भ्याएसम्म प्रयास गरिरहे पनि अझै अपर्याप्त रहेको बताउँछन् । “एचआईभी संक्रमितको उपचार खर्चिलो छ तर यसको प्रत्यक्ष भार सरकार आफैँले बेहोर्दै आएको छ । तर हाम्रो प्रयास अझै अपर्याप्त छ । धेरै मानिसको परीक्षण हुन बाँकी छ । सामाजिक लाञ्छनाका कारण कतिपयले आफ्नो स्वास्थ्य अवस्था लुकाइरहेका हुन सक्छन्, कतिपय स्वास्थ्य प्रणालीको सम्पर्कबाटै बाहिर छन्,” उनी भन्छन्, “राज्य एक्लैले एचआईभी तत्कालै उन्मूलन गर्न सम्भव छैन । मुलुकको सीमित स्रोतसाधनको बाध्यता पनि छ ।”

एचआईभी रोकथामका लागि सचेतना अभियानको निरन्तरता कति महत्त्वपूर्ण छ भन्ने दिल्लीका संक्रमित पूर्वट्रक चालकको भनाइले पनि प्रस्ट पार्छ । उनले भनेका थिए, “जसरी पहिलेका चालकहरूलाई सचेत गराइएको थियो, नयाँ आएका चालहहरूलाई पनि त्यसरी नै सचेत गराउनुपर्छ, होइन र ?” 

महामारी नबनोस् एचआईभी

स्थलगत सचेतनाको कमी, संक्रमितहरूको पहुँच अभाव, सामाजिक लाञ्छना, बजेटको अपर्याप्तता एकातिर छ भने अर्कातिर नेपाल र भारतमा कन्डमको अभाव पनि बढ्दै गएको छ । जसका कारण यस क्षेत्रमा एआईभीले महामारीको रूप लिन सक्ने जोखिम छ ।

एएचएफ इन्डिया केयर्सका कन्ट्री प्रोग्राम डाइरेक्टर डा. भी. साम प्रसादका अनुसार पश्चिम एसियामा तनाव चर्किएको बेला भारतमा कन्डम आपूर्ति प्रभावित हुन सक्ने समाचारहरू आए । किनभने कन्डम उत्पादनका लागि आवश्यक पर्ने अमोनिया र सिलिकन अन्य देशबाट आयात गर्नुपर्छ । पश्चिम एसियाको जस्तो युद्ध लामो समय चल्यो भने कच्चा पदार्थ आयात रोकिन सक्छ । र, यसको असर भारतका ट्रक बिसौनीहरू समेत पर्न सक्छ । 

यता नेपालका यौनिक तथा लैंगिक अल्पसंख्यकका अधिकारकर्मी बाबु दुमी कन्डम अपर्याप्त हुनुमा सरकारकै कमजोरी रहेको बताउँछिन् । “नेपाल सरकारले यौनजन्य संक्रमण रोकथामका लागि भनेर कन्डम मगाउँदैन, परिवार नियोजनको साधनका रूपमा मात्र मगाउँछ । त्यसैले पनि बजारमा कन्डम अभाव हुन्छ,” उनी भन्छिन् । बाबु दुमीका अनुसार नेपालमा डेढ वर्षदेखि नै कन्डम अपर्याप्त छ । 

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेशको भनाइ पनि बाबु दुमीसँग मिल्छ । “नेपाल सरकारले सुरक्षित मातृत्व कार्यक्रमका लागि मात्र कन्डम खरिद गर्छ । विशेष रूपमा एचआईभी रोकथामका लागि भनेर कहिल्यै कन्डम खरिद गरेको छैन,” उनले भने, “पहिले वैदेशिक अनुदान उपलब्ध हुँदा कन्डम खरिद गर्न जिल्ला स्वास्थ्य कार्यालयहरूमा रकम पठाउने गरिन्थ्यो । तर अहिले त्यो अनुदान आउन बन्द भयो । त्यही कारण कन्डम अपर्याप्त छ ।”

गर्भनिरोधक सामग्री खरिदमा नेपाल सरकारले बजेट पनि घटाउँदै लगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्भनिरोधक सामग्री खरिदका लागि वार्षिक २५ करोड रुपैयाँ विनियोजन गर्दै आएको थियो । तर आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेटको सीमा घटाएर १७ करोड रुपैयाँ मात्र तोकिएको छ । 

यस्तै, नेपाललाई वार्षिक ३२ लाख अमेरिकी डलर सहयोग गर्दै आएको संयुक्त राष्ट्र जनसंख्या कोष (यूएनएफपी) ले पनि सन् २०२६ का लागि आफ्नो सहयोग घटाएर १० लाख ६० हजार अमेरिकी डलरमा सीमित गरेको छ । यसले गर्भनिरोधक सामग्रीको अभाव हुने परिवार कल्याण महाशाखाले बताउँदै आएको छ । त्यो भनेको कन्डम पनि अभाव हुन्छ भन्ने हो । नेपालमा कन्डमा उत्पादन हुँदैन । 

स्पर्श नेपालका सुशील कन्डमप्रति सरकारको बुझाइको दायरा नै साँघुरो रहेको बताउँछन् । “कन्डमलाई एचआईभी, हेपाटाइटिस र अन्य यौनजन्य संक्रमण रोकथामको दृष्टिकोणले हेरिँदैन,” उनी भन्छन् ।

कन्डम अभावको असरबारे लैंगिक अल्पसंख्यक तथा पारलैंगिक अधिकारकर्मी बाबु दुमी भन्छिन्, “कन्डम अभाव देखिन थालिसकेको छ । मलाई लाग्छ, आगामी वर्ष एचआईभी संक्रमण बढ्नेछ । मानिसले हाम्रो समुदाय सानो छ भन्लान् तर यही समूहबाट सम्पर्कमा आउनेहरूमार्फत संक्रमण विस्तारै एक–एक गर्दै फैलिन सक्छ ।”

सन् १९७८ देखि यातायात व्यवसायमा आबद्ध दिल्लीका ट्रान्सपोर्टर अशोक खुराना दिल्ली–रायपुर मार्गमा पर्ने मध्यप्रदेशको “मण्डला” भन्ने पुरानो बिसौनीलाई सम्झन्छन् । “त्यहाँ यौनकर्म यति धेरै हुन्थ्यो कि मण्डलामा नरोकिने कुनै गाडी नै हुँदैनथ्यो,” उनी भन्छन् । 

उनी सन् १९८६ ताकाको बम्बई (मुम्बई) लाई पनि सम्झन्छन्, जसलाई चालकहरू “ड्रिमल्यान्ड” भन्ने गर्थे । “त्यहाँ यौनकर्मीहरूको एउटा ठूलो हब थियो । धेरै चालक त्यहीँ एड्सको सिकार भए,” उनी भन्छन्, “भारतमा अहिले त निकै सुधार भएको छ । मैले अहिले कुनै चालकमा पनि एचआईभी सरेको सुनेको छैन । पहिले त हरेक दिन कुनै न कुनै चालकमा एचआईभी देखियो भन्ने सुनिन्थ्यो । कसैको मृत्यु भएको पनि सुनिन्थ्यो ।”

भारतका २६ राज्यमा गाडी चलाइसकेका धनुषाका संक्रमित चालकले ‘सुई’ (इन्जेक्सन) बाट लिन मिल्ने औषधी बनिरहेको सुनेका छन् । हरेक छ महिनामा एक खुराक लिए पुग्ने, अस्पताल धाइरहनु नपर्ने, समाज वा सहकर्मीले थाहा पाउलान् कि भन्ने डरले औषधी लुकाउनु नपर्ने हुनाले उनी त्यस्तो सुईको प्रतीक्षामा छन् । उनी भन्छन्, “छ महिना वा एक वर्षलाई पुग्ने सुई आउँछ भन्छन् । तर आउने पो कहिले हो !” 

एक पटक लिएपछि लामो समय काम गर्ने सुई कहिले आउँछ र सबैको सहज पहुँचमा पुग्छ भन्ने टुङ्गो छैन । तर यो एचआईभी भएका चालकहरूका लागि मुख्य सरोकारको विषय हो । किनभने उनीहरू गाडी चलाउँदै टाढा–टाढासम्म पुगेका हुन्छन्, जहाँ एआरटी सहजै उपलब्ध हुँदैन । 

दिल्लीका ती संक्रमित पूर्वचालक, जो अहिले हरेक बिहान जुसको ठेला चलाउँदै काममा निस्किन्छन्, आफ्नो अनुभवका आधारमा भन्छन्, “औषधी राजमार्गहरूमै उपलब्ध हुनुपर्छ । यसो भए चालकहरूलाई दुःख कम हुन्छ । अर्को देश वा ठाउँमा जाँदा कहाँ अस्पताल छ भन्ने हामीलाई कसरी थाहा हुन्छ र ?”

जब उनमा एचआईभी सरेको थाहा भयो, त्यसपछि उनको जीवनको पहिलो नियम नै औषधी समयमै लिनु बन्यो ।

राज्यलाई भने उनको सरल प्रश्न छ– के राज्य प्रणालीले पनि एचआईभीलाई मैले जत्तिकै गम्भीरतासाथ लिन सक्छ ? कि यो अझै पनि अन्य प्राथमिकतापछिको विषय नै रहन्छ ?

यो सामग्री हाम्रो पुन: प्रकाशन नीतिअनुसार तपाईँले पनि आफ्नो सञ्चार माध्यममा प्रकाशन गर्न सक्नुहुने छ। पुन: प्रकाशन नीति यहाँ छ । 

टिप्पणीहरू