सस्तो मूल्यका प्रतिबन्धित औषधि सीमापारिबाट भित्रिँदा १५ देखि २८ वर्ष उमेर समूहका युवा कुलतमा परिरहेका छन् । कमजोर प्रणाली र बजेटको अभावले कुलतमा फसेका युवाहरूको पुनःस्थापनामा चुनौती रहँदै आएको छ ।
धनुषाको औरही गाउँपालिका–१ का नारद कुमार (परिवर्तित नाम) किशोरावस्थामै लागूऔषधको लतमा फसे । गाउँकै विद्यालयमा कक्षा ८ मा अध्ययनरत हुँदा साथीहरूको लहलहैमा सीमावर्ती क्षेत्र महिनाथपुर पुगेर नसालु पदार्थ सेवन गर्न थाले । 
दिन बित्दै गए, नारदलाई नसाको लत पनि बढ्दै गयो । पछि साथी नभए पनि एक्लै महिनाथपुरमा पुगेर नेपालमा प्रतिबन्धित नसालु पदार्थका ट्याब्लेट, कोरेक्स सिरपजस्ता औषधि खान थालेको उनी बताउँछन् । भन्छन्, “कहिले पकेटमा राखेर लुकाएर ल्याउने त, कहिले पारिबाटै खाएर आउने गर्न थालेँ ।”
सामान्य नसाबाट सुरु भएको यो लत समय क्रमसँगै गम्भीर बन्दै गयो । केही समयपछि पुनः अर्को साथीको संगतमा परेपछि खैरो हिरोइनजस्ता कडा लागूऔषध प्रयोग गर्न थालेको नारद बताउँछन् । नारदको बदलिँदो स्वभाव, कमजोर बन्दै गएको स्वास्थ्य अवस्था र दैनिक जीवनमा देखिएको बदलाबले परिवारलाई गहिरो चिन्तामा पारेको थियो ।
लामो समयसम्म सम्झाइ–बुझाइ गर्दा पनि सुधार नदेखिएपछि अन्ततः उनलाई उपचारका लागि सुधार गृहमा राखियो । हाल २५ वर्षका उनी ६ महिनाभन्दा बढी समयदेखि धनुषास्थित एक पुनःस्थापना केन्द्रमा बस्दै आएका छन् ।
लागूऔषधको कुलतमा फसेका नारद एक्लो होइनन्, मधेसका १५ देखि २८ वर्ष उमेर समूहका युवाहरूमा लागूऔषधको प्रयोग बढ्दै गएको छ । गत चैतको अन्तिम सातादेखि सुरु भएको लागूऔषध नियन्त्रणका लागि लागूऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानको दुई महिनामा मधेसमा ४ हजार ९ सय १६ जनालाई जाँच गर्दा २ सय ६४ जना लागूऔषध प्रयोगकर्ता फेला परेका छन् । जसमध्ये २ सय २० जनालाई अभिभावकको जिम्मा लगाएको र २३ जनालाई मुद्दासमेत चलाइएको मधेस प्रदेशका तत्कालीन प्रहरी प्रमुख गोविन्द थपलियाले बताए ।
गृह मन्त्रालयले प्रकाशन गरेको ‘नेपाल लागूऔषध प्रयोगकर्ता सर्वेक्षण, २०७६ अनुसार मधेस प्रदेशका लागूऔषध प्रयोगकर्तामा २० वर्षमुनिका १४.८ प्रतिशत छन् । देशभरमा कुल प्रयोगकर्तामध्ये त्यसको आधा अर्थात् ७ दशमलव ४ प्रतिशत मात्रै २० वर्षमुनिका छन् । यो तथ्यांकले मधेसका युवामा लागूऔषधको प्रयोग बढेको स्पष्ट हुन्छ ।
पारिवारिक निगरानीको अभाव, गलत संगत र नेपालमा प्रतिबन्धित औषधि सीमानजिकका भारतीय बजारमा सहजै पाउने र नेपालमा पनि सहजै भित्र्याउने हुँदा लागूऔषधको प्रयोग बढ्दै गएको छ । अहिले प्रहरीले दर्ता गर्ने कुल मुद्दामध्ये ३५ प्रतिशतभन्दा बढी लागूऔषधसँग सम्बन्धित रहेको जानकारी मधेस प्रहरीका तत्कालीन प्रमुख गोविन्दले कारागारमा रहेका कैदीबन्दीमध्ये करिब एक तिहाइ लागूऔषधसम्बन्धी मुद्दाकै भएको दाबी गरे । जिल्ला कारागारहरूबाट प्राप्त विवरणअनुसार २०७८ कात्तिकमा देशभरका कारागारमा रहेका २६ हजार कैदीबन्दी मध्ये २१ प्रतिशतभन्दा बढी लागूऔषध मुद्दाका रहेको लागूऔषध रोकथाम तथा नियन्त्रण राष्ट्रिय गुरुयोजनामा उल्लेख छ ।
लागूऔषधको कुलतमा फसेकै कारण पारिवारिक, सामाजिक र व्यक्तिगत जीवनमा युवाहरूले गहिरो संकट झेलिरहेका छन् । त्यसैमध्येका अर्का हुन्— धनुषाकै सहिद नगर नगरपालिकाका अमन कुमार (परिवर्तित नाम) । दुर्व्यसनका कारण २९ वर्षका उनको घरपरिवार मात्र होइन, वैवाहिक जीवनसमेत तहसनहस भयो । अमन भन्छन्, “लागूऔषधमै फसेका कारण श्रीमतीले साथ छाडिन् ।
अमन १० कक्षामै पढाइ छाडेकोमा पश्चाताप गर्छन् । उनले पनि नारदजस्तै कक्षा ८ मा अध्ययनरत हँुदा साथीभाइको लहलहैमा चुरोट तान्न सुरु गरेका थिए । त्यसपछि क्रमशः गाँजा खान थाले ।
अमनका अनुसार समय बित्दै जाँदा नजिकैको भारतीय बजार पुगेर ट्याबलेट र कोरेक्स (सिरप) जस्ता नेपालमा प्रतिबन्धित नसालु पदार्थ प्रयोग गर्न थाले । ती औषधि भारतीय बजारमा सहजै र सस्तो मूल्यमा पाइने हुँदा भारतीय बजारमा गएर सेवन गरी नेपाल फर्किने गरेको उनी बताउँछन् ।
त्यसले पनि सन्तुष्टि नदिँदा इन्जेक्सनमार्फत कडा खालका लागूऔषध लिन थालेका उनलाई नेपाल प्रहरीले लागूऔषधसहित पक्राउ पनि गरेको थियो । १८ महिना थुनामा बसेर छुटेका उनी अहिले सुधार केन्द्रमा बस्दै आएका छन् ।
लागूऔषध नदिएको झोँकमा साथीले रिसाएर प्रहरीलाई खबर दिएको र आफू पक्राउ परेको अमन बताउँछन् । उनी भन्छन्, “लागूऔषधको नसा धेरै नराम्रो हो, मेरो साथीले मलाई नै फसायो ।”
आफूले छाड्छु भनेर धेरै पटक अठोट गरे पनि यो लतबाट बाहिर निस्किन नसकेको उनले बताए । “मलाई थाहा छ, दुर्व्यसनले मेरो पूरा जीवन बर्बाद बनाएको छ,” अमन भन्छन्, “तर, पनि फेरि यसैमा फसिन्छ, सुध्रिन चाहेर पनि सकिरहेको छैन ।”
लतमा फसेकाहरूलाई लागूऔषध पाउन गाह्रो छैन । सीमापारिका बजारमा सस्तो मूल्यमा नसालु ट्याब्लेट, कोरेक्स र फेन्सिडल सिरपजस्ता रुघाखोकीका औषधि, सुईमार्फत प्रयोग गर्ने विभिन्न खालका औषधि र अन्य नसालु पदार्थ सजिलै पाइने र त्यसलाई सहजै नेपाल भित्र्याउन सकिने उनको अनुभव छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख, प्रहरी उपरीक्षक रुगमबहादुर कुँवर पनि खुला सिमानाको फाइदा उठाउँदै नेपालमा लागूऔषध भित्रने गरेको स्विकार्छन् । उनी भन्छन्, “सीमा पूर्णरूपमा बन्द गर्न सकिने अवस्था छैन, जनशक्ति र प्रविधि सीमित छन् ।” नेपाल भित्रिएका लागूपदार्थहरू एक प्रयोगकर्ताबाट अर्को प्रयोगकर्तासम्म पुग्ने गरेको उनको भनाइ छ ।
सीमा क्षेत्रका बजारबाट भित्रिएको लागूऔषध मधेसमा मात्र होइन, देशैभर पुग्ने गरेको र यो बढ्दो क्रममा रहेको लागूऔषध नियन्त्रण ब्युरोको तथ्यांक छ । उसका अनुसार आर्थिक वर्ष २०७७/७८ मा लागूऔषधसहित ४ हजार ६ सय २६ जना पक्राउ परेकामा आर्थिक वर्ष २०८१/८२ मा पक्राउ पर्नेको संख्या बढेर ७ हजार ८ सय ९० जना पुगेको छ ।
मधेस प्रदेश प्रहरीका तत्कालीन प्रमुख गोविन्दका अनुसार नेपालमा प्रतिबन्धित रहेका केही औषधिजन्य सामग्री भारतमा सहज रूपमा उपलब्ध हुने भएकाले सीमामा कडाइ गरिएपछि केही दुर्व्यसनीहरू सीमावर्ती भारतीय बजारमा गएर सेवन गरी पुनः नेपाल फर्कने गरेका छन् । यस्तो गतिविधि नियन्त्रणका लागि भारतीय सुरक्षा निकायसँग समन्वय गरी व्यापारीहरूलाई समेत कडाइ गरिएको उनले बताए ।
परिवारको लापरबाही र कमजोर प्रशासन
सुधार गृहमा बसेर लागूऔषधको लत छुटाएका अभिषेक मण्डल अहिले सामान्य जीवनमा फकेका छन् । उनका अनुसार परिवारको लापरबाही, प्रशासनको कमजोर निगरानीका कारण युवाहरू लागूऔषधको कुलतमा फस्दै गएका छन् । “छोराछोरीलाई राम्रो शिक्षा दिने भन्दै आफूभन्दा टाढा राख्ने चलन बढेको छ,” उनी भन्छन्, “बालबालिलाई बढी मात्रामा छुट दिने गरिएका कारणले पनि युवाहरू जानी नजानी दुर्व्यसनमा फस्दै गएका छन् ।”
अभिषेकजस्तै दुर्व्यसनमा फसेर पनि सुध्रिएका धेरै साथीले राम्रो काम गरिरहेको नारद र अमनले पनि देखेका छन् । त्यो देखेर त्यस्तै जीवन चाहेको अमन बताउँछन् । “मलाई पनि राम्रो व्यवसाय गरेर परिवारसँग बस्न मन छ,” उनी भन्छन्, “मैले एक समय पान पसल सञ्चालन गरेको थिएँ । राम्रो आम्दानी पनि थियो, तर दुर्व्यसनले सबै बिगारिदियो ।”
धनुषामा लागूऔषध प्रयोगमा फस्ने महिलाहरू पनि छन् । तर सामाजिक लाञ्छनाका कारण उनीहरू झन् लुकेका छन् र सुधार केन्द्रसम्म नै आउन सकेका छैनन् । नसामा फसेकी महिलाले पुनःस्थापना केन्द्र पुग्न चाहँदा परिवार र समाजकै विरोध सामना गर्नुपर्छ ।
जनकपुरधामस्थित नयाँ मुस्कान पुनःस्थापना केन्द्रका संयोजक रोशन झा लागूपदार्थ प्रयोगकर्तालाई समाजले अपराधीका रूपमा लिँदा समस्या हुने गवरेको बताउँछन् “ऊ अपराधी होइन, रोगी हो, उनीहरूलाई उपचारको खाँचो छ,” उनी भन्छन्, “लागूऔषध दुर्व्यसनीलाई आपराधिक हिसाबले होइन, रोगीको हिसाबले व्यवहार गरौँ ।”
धनुषामा निजी पुनःस्थापना केन्द्र सञ्चालनमा भए पनि सबै केन्द्र पीडितको पहुँचमा छैनन् । केन्द्रमा बसेर उपचार गर्न खर्चिलो छ । सरकारी सहयोग नभएका कारण नसाबाट मुक्त हुन चाहने धेरै युवा आर्थिक अभावका कारण केन्द्रमा भर्ना हुन सक्दैनन् ।
नियन्त्रणमा सबैको सहयोग आवश्यक
कतिपय युवा क्लब, समूह र सामाजिक संस्थाले लागूऔषधविरुद्ध सचेतना कार्यक्रम थालेका छन् । विद्यालयमा संवाद कार्यक्रम, प्रहरी–समुदाय सहकार्यमा विद्यालय स्तरमा लागूऔषधविरुद्धको सचेतना कार्यक्रम समेत सञ्चालन हुँदै आएको छ । चैत महिनादेखि मधेस प्रदेश सरकारको सहकार्यमा मधेस प्रदेश प्रहरीले आठवटै जिल्लामा लागूऔषध सेवनकर्ता खोजी तथा सुधार महाअभियान समेत थालिएको छ ।
तर पनि यो प्रयास समस्या बढ्ने गतिको तुलनामा अझै कमजोर छन् । दीर्घकालीन योजना र राज्यस्तरीय प्रतिबद्धता आवश्यक देखिन्छ । मधेस प्रदेश प्रहरीका तत्कालीन प्रमुख गोविन्द लागूऔषध नियन्त्रण प्रहरीको मात्र नभई समाज, नागरिक, तीनै तहका सरकार र सरोकारवाला निकायहरूको साझा जिम्मेवारी भएको बताउँछन् ।
“प्रहरीले ओसारपसार नियन्त्रण गर्ने काम गरिरहेको छ, तर समाजमा व्यावहारिक परिवर्तन र सचेतना अभिवृद्धि भए मात्र यो समस्या दीर्घकालीन रूपमा समाधान हुन सक्छ,” उनी भन्छन्, “त्यसैले यसलाई समाज र राष्ट्रकै साझा समस्याका रूपमा स्वीकार गरी सबै पक्ष एकजुट भएर लाग्न आवश्यक छ ।”
लागूऔषध रोकथाम तथा नियन्त्रण राष्ट्रिय गुरुयोजनाले नेपाल सरकारसहित स्थानीय तथा प्रदेश सरकार, निजी क्षेत्र, गैरसरकारी क्षेत्र, नागरिक समाजको भूमिका खोजेको छ । जसअनुसार प्रदेश सरकारले प्रदेशभित्र लागूऔषध रोकथाम तथा नियन्त्रणका लागि आवश्यक नीति लिने, सचेतना फैलाउने तथा तालिम र अभिमूखीकरण कार्यक्रम गर्नुपर्छ ।
तर प्रदेश सरकारसँग आवश्यक स्रोतको अभाव छ । मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोका अनुसार मधेस प्रदेश सरकारले लागूऔषधको नियन्त्रणका लागि चालु आर्थिक वर्षमा ७० लाख रुपैयाँ विनियोजन गरेको थियो । “प्रदेशका आफ्नो प्रहरी प्रशासन नहुँदा प्रदेशले सञ्चालन गर्ने अभियानका केही कठिनाइ भइरहेको हुन्छ,” उनले भने, “तर, पनि सीमित साधन स्रोतका बिच प्रयास गरिरहेका छौँ ।” विनियोजित बजेटमा सीमित रहेर प्रदेश प्रहरीको समन्वयमा लागूऔषध नियन्त्रका लागि महाअभियान सञ्चालन गरिएको उनले बताए ।
यो सामग्री हाम्रो पुन: प्रकाशन नीतिअनुसार तपाईँले पनि आफ्नो सञ्चार माध्यममा प्रकाशन गर्न सक्नुहुने छ । पुन: प्रकाशन नीति यहाँ छ ।
टिप्पणीहरू