खाडीका देशमा हिंसामा परेका महिलाले नेपाल फर्केर उजुरी गर्ने गरे पनि यो मामिलामा मधेशका महिला पछि छन् । समाजमा पुनःस्थापना हुन गाह्रो पर्ने र समाजले पनि नराम्रो नजरले हेर्ने डरले उनीहरूले उजुरी नै गर्दैनन् ।
“एक दिन भोकै बस्न सकिन्छ, दुई दिन बस्न सकिन्छ, तर ३/४ दिनसम्म त कसरी भोकै बस्न सकिन्छ ?” धनुषाकी विनिता सदा (३३) को यो प्रश्नमा लुकेको छ उनी कुवेतबाट भागेर नेपाल फर्कनुको कारण । 
तीन जना बच्चा स्याहार्ने, घरको सरसफाइ गर्ने, खाना पकाउनेलगायतका काममा दैनिक १८ घण्टा खटिनुपर्ने तर भरपेट खानै नपाउने भएपछि कुवेतमा काम गरिरहेको घर छाडेर भागेको उनी बताउँछिन् ।
मालिकको घरबाट भागेपछि अनेकन हन्डर खाँदै नेपाल फर्केकी उनी कुवेत जाँदा र फर्कँदा लागेको ऋणले थिचिएकी छन् । कुवेतको नाम सुन्नेबित्तिकै झस्किने विनिता एउटै कुरा दोहोर्याउँछिन्, “महिला विदेशको काममा गए पनि घरको काममा जान नहुने रहेछ ।”
महोत्तरीको भँगाहा नगरपालिका–९ की संखुवाटोलकी इन्दलदेवी मुसहरनी (४५) सँग ओमान र कुवेतमा घरेलु कामदार भएको अनुभव छ । ओमानमा साढे २ वर्ष काम गर्दा कुनै समस्यामा नपरेकी उनी नेपाल फर्केर फेरि कुवेत पुगेपछि भने समस्यामा परिन् । कुवेतमा साहुको घरमा काम थालेको ५ महिनामा बिरामी परेपछि उनले न त उपचार पाइन्, न त उनलाई साहुले घर फर्कन नै दिए । बस्नै नसकेपछि विनिताले जस्तै इन्दलदेवी पनि साहुको घर छाडेर भागिन् र मुस्किलले घर फर्किइन् । उनी भन्छिन्, “मैले त्यहाँ (कुवेतमा) घरेलु कामदारको अवस्था एकदमै नाजुक देखेको छु ।”
घरेलु कामदारमाथि रोजगारदाताको नियन्त्रण रहने कुवेतमा कति नेपाली महिला कार्यरत छन् भन्ने यकिन तथ्यांक छैन । चैत ३, २०७३ मा सरकारले घरेलु कामदारका रूपमा खाडीका देशमा जान पूर्ण प्रतिबन्ध लगाएको छ । तर भिजिट भिसामा गएर उतै काम गर्ने, श्रीलंका र भारत हुँदै नेपाली महिला खाडीका देशमा गइरहेको पाइन्छ । मानव बेचबिखन अनुसन्धान ब्युरोले २०७५ सालयता कुवेतबाट २ सय २ जना महिलाको उद्धार गरेको छ ।
उद्धार गरिएका महिलाहरूको समस्या विनिता र इन्दलदेवीले भागेको भन्दा पनि दर्दनाक छ । पासपोर्ट जफत गरेर रोजगारदाताले नै राख्ने, तलब नदिने, दैनिक १७—१८ घण्टासम्म काम लगाउने गरेको फर्किएका महिलाहरू बताउँछन् । कुवेतमा घरेलु महिला कामदारमाथि शारीरिक तथा यौनिक हिंसासमेत हुने गरेको छ ।
खाडीका देशमा हिंसामा परेका महिलाले नेपाल फर्केर उजुरी गर्ने गरे पनि यो मामिलामा मधेशका महिला पछि छन् । समाजमा पुनःस्थापना हुन गाह्रो पर्ने र समाजले पनि नराम्रो नजरले हेर्ने डरले उनीहरूले उजुरी नै नगर्ने पौरखीका संस्थापक सदस्य सत्र गुरुङ बताउँछन् ।
डायस्पोरा स्टडिजमा प्रकाशित ‘साइलेन्स्ड सफरिङ : अनभिलिङ द प्लाइट अफ नेप्लिज वुमेन इन गल्फ कन्ट्रिज’ शीर्षकको अनुसन्धानमा कुवेत, साउदी अरेयिबा, कतार र बहराइनमा घरेलु कामदारका रूपमा गएका मधेशी महिलाहरूलाई अलग र जोखिमपूर्ण समूहमा राखिएको छ । मधेशी महिलालाई सस्तो श्रमिक र आज्ञाकारी ठानेर अत्यधिक काम लगाउने, तलब थोरै दिने, पासपोर्ट जफत गरेर राख्ने, घरमै थुनेर राख्ने र यौन शोषणसमेत हुने गरेको निष्कर्ष अनुसन्धानको छ । आफूमाथि हिंसा भए पनि लाज र डरका कारण मधेशी महिलामा मौन रहने गरेको अनुसन्धानको निष्कर्ष छ ।
“दिदीको कोठाबाट पनि भागेर बाटोमा टोलाइरहेको थिएँ, त्यही बेला प्रहरीले मलाई देख्यो र सोधपुछ गरेपछि थुनामा राख्यो, म १५ दिनसम्म थुनामा बसेँ र पछि दूतावासको सहयोगमा घर फर्किएँ,”
इन्दलदेवीलाई घरको कामका लागि भने पनि विनितालाई एजेन्टले झुक्याएर कुवेत पठाएका थिए । तर फर्किएर आएपछि उनले ती एजेन्टविरुद्ध उजुरी गरिनन् । उजुरी गरेपछि समाजमा पुनःस्थापित हुने डरले महिलाहरूले आफ्ना समस्या बाहिर ल्याउँदैनन् ।
आप्रवासी स्रोत केन्द्र चन्द्रपुर रौतहटका परामर्शकर्ता सुप्रिया ढकाल थापाका अनुसार यस वर्ष कुवेत पुगेकी चन्द्रपुरकी महिलालाई उद्धार गरेर नेपाल फर्काए पनि उनले पीडकविरुद्ध उजुरी दिन मानेकी छैनन् । घरपरिवार र सामजले स्वीकार गर्न नसक्ने डरले उनले मुद्दा नदिएको सुप्रिया बताउँछिन् । घरेलु कामदारमा विदेश पुगेर समस्यामा परेका महिलाहरूको परिवारले उद्धारका लागि निवेदन दिने तर घर फर्केपछि सम्भावित लाञ्छना र तिरस्कार सहनुपर्ने डरले उजुरी नदिने उनी बताउँछिन् ।
मधेश प्रदेशका १० वटा स्थानीय तहमा सञ्चाालिन वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको पुनःएकीकरण परियोजनामा १ हजार ५ सय ९१ वटा उजुरी दर्ता भएकामा महिलाको उजुरी १२ वटा मात्र छन् । परियोजनाले सामाजिक परामर्श दिएका ४ सय ७८ जनामा महिला २ जना छन् । वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्दै आएको सुरक्षित आप्रवासन परियोजनाको मधेश प्रदेश शाखामा चालु आर्थिक वर्षमा ९ सय १६ वटा मुद्दा दर्ता भएकोमा २० वटा मुद्दा मात्र महिलाको रहेको हेल्वेटासका वरिष्ठ कार्यक्रम अधिकृत देवनारायण मण्डलले जानकारी दिए ।
एजेन्टको विश्वासमा परेर विदेश
१२ वर्षअघि श्रीमान्ले दोस्रो विवाह गरेपछि दुई विनिता छोरासहित विचल्लीमा परेकी थिइन् । रोजगारीका लागि भारत गएका श्रीमान्ले उतै घरजम गरेपछि छोराहरूलाई हुर्काउन उनी आफैँले कमाउनुपर्ने अवस्था आयो । घरको जेठी बुहारी, ३ वटा स–साना देवरहरू, वृद्ध सासूआमा र आफ्नो दुइटा छोराहरू जम्मा ७ जनाको लालनपालनको जिम्मेवारी उनीमाथि आयो । विनिता भन्छिन्, “श्रीमान्ले घरसँगको नाता नराखे पनि आफूले परिवारभन्दा अरू कतै नजाने सोच राखेकी थिएँ ।”
गाउँमै खेतबारीमा काममा उनलाई १६—१७ वर्षका जेठा देवर कुलदीपले साथ दिएका थिए । तर घरको कमाइले परिवारको एकछाक टार्न पनि मुस्किल परेपछि विदेश जाने सोचेको उनी बताउँछिन् ।
पढ्न लेख्न नजान्ने, नेपाली भाषा पनि राम्रोसँग बोल्न नसक्ने विनिता मितकाकाको छोरीले विदेश पुगेर काम गरेको देख्दा हिम्मत आएको बताउँछिन् । त्यसपछि उनले विदेश जानका लागि उनै मितकाकाकी छोरीसँग प्रक्रिया बुझिन् । उनले एक जना महिला एजेन्टसँग सम्पर्क गराइन् । विनिता भन्छिन्, “मेरो राहदानी र अन्य सबै कागजात ती एजेन्ट दिदीले नै बनाइदिइन् ।” ती एजेन्टको घर झापा भन्ने थाहा पाए पनि अरू कुनै जानकारी नभएको र अहिले उनीसँग सम्पर्क नै नभएको विनिता बताउँछिन् ।
मुसहर समुदायकी सामान्य लेखपढ पनि गर्न नसक्ने विनितालाई ती एजेन्टले विमानस्थलमा कसैले सोधेमा ‘दुबई घुम्न जान लागेको भन्नू’ भनेर सिकाएकी थिइन् । कम्पनीमा काम गर्न भनेर हिँडेकी विनिता दुबई पुगेपछि मात्रै आफू कुवेतमा घरको काम गर्न आएको रहेछु भनेर थाहा पाएको बताउँछिन् । “दुबईमा ३ दिनसम्म हामीलाई होटलमा राखियो, त्यहाँ झापाका दुई जना महिलासँग मेरो भेट भयो, उनीहरूसँगको कुराकानीको क्रममा मलाई घरेलु कामदारमा पठाउन लागेको थाहा पाएँ,” उनी भन्छिन्, “थाहा पाएर पनि त्यति टाढाबाट मैले केही गर्न सक्दैनथेँ ।”
उनी कुवेत पुगिन् । दैनिक १८ घण्टासम्म भान्साकोठासहित घरको सम्पूर्ण काम गर्दाको शारीरिक थकाइ, एक्लोपन र काम बिग्रिँदा घरमालिकबाट पाएको शारीरिक र मानसिक यातना सहन नसकेपछि उनी काम छाडेर फर्किन चाहिन् । तर घरमालिक र एजेन्टले उनलाई फिर्ता हुन दिएनन् । मालिकले ६ सय कुवेती दिनारमा किनेर ल्याएको भन्दै त्यो पैसा फिर्ता गरे मात्र घर जान दिने बताएको विनिता बताउँछिन् ।
त्यसपछि उनी एक दिन बिहानै ४ बजे मालिकको घर छाडेर हिँडिन् । उनी तिनै मितदिदीकोमा पुगिन् । ती दिदीकी साथीले नेपाल पठाउन ४० हजार रुपैयाँ मागिन् । उनले नेपालबाट मगाएर पैसा दिइन् । तर घर आउन पाइनन् ।
पछि उनलाई सहयोग गर्ने व्यक्तिहरूले यौन शोषण गर्न खोजे । दिदीको कोठामा नै यौन शोषणको जोखिममा परेपछि उनले मितदिदीसँग गुनासो गरिन् । तर ती दिदीले ‘यहाँ यस्तै मान्छे भेटिन्छन्, तिमी जतिसक्तो छिटो घर जाऊ’ भनेको उनी बताउँछिन् । पैसा लिएकाले पनि घर नपठाए पछि उनी मितदिदीको कोठबाट पनि भागेर सडकमा पुगेको बेला प्रहरीले पक्रको थियो ।
“दिदीको कोठाबाट पनि भागेर बाटोमा टोलाइरहेको थिएँ, त्यही बेला प्रहरीले मलाई देख्यो र सोधपुछ गरेपछि थुनामा राख्यो, म १५ दिनसम्म थुनामा बसेँ र पछि दूतावासको सहयोगमा घर फर्किएँ,” विनिताले भनिन् ।
इन्दलदेवीलाई ओमानजस्तो भएन कुवेत
संखुवाटोल मुसहर बस्तीका ६५ वटा साँघुरा घरहरूमध्ये वैदेशिक रोजगारीमा जाने इन्दलदेवी एक्ली महिला थिइन् । ऋणको पहाड बिसाउन र श्रीमान्लाई सघाउन घरेलु कामदार बनेर ओमान पुगिन् । कागजात बनाउने क्रममा नै यो घरेलु काममा जान लागेको थाहा भए पनि, घरको भोक र बालबच्चाको अनुहार सम्झेर उनी पछि हटिनन् । एउटै सपना थियो— केही वर्षमा ऋण तिरेर परिवारलाई खुसी दिने ।
यो सपना पूरा गर्न उनी धनुषाकै एउटी महिला एजेन्टको माध्यमबाट ओमान पुगिन् । ओमानमा पुगेर उनले जसोतसो अरबी बोल्न सिकिन् । दिनभर बच्चाहरू हेर्ने, उनीहरूको खाना, नुहाउने, घरको सरफाइ गर्ने काम गरिन् । साढे २ वर्षपछि घर फर्किँदा मालिकले १ लाख १७ हजार रुपैयाँ इनाम दिए । सबै गरेर उनले २३ लाख रुपैयाँ ऋण तिरिन् ।
ओमानमा साढे २ वर्ष काम गरेर २३ लाख ऋण तिरेको भन्दै मुसहर बस्तीमा उनी एउटा उदाहरण बनिन् । ओमानबाट फर्केको ४ वर्षपछि फेरि उनी विदेश जाने निर्णयमा पुगिन् र यो पटक गन्तव्य बनाइन्— कुवेत ।
तर कुवेत यात्राले उनको जीवनको सबै आशा चकनाचुर पारिदियो । इन्दलदेवी भन्छिन्, “कुवेतमा मलाई शरीरले साथ दिएन, कुवेत पुगेको पाँच महिनामै बिरामी परेँ ।”
ज्वरो, कमजोरी, शरीर दुखाइले काम गर्नै नसकेपछि घर फर्किन चाहेकी उनलाई कुवेती मालिकले घर फर्कन दिएनन् । बाध्य भएर उनी एक रात घर छोडेर भागिन् । उनको साथमा कागजात थिएन । बाटोमा प्रहरीले भेटेर उनलाई पक्रिए । त्यतिबेला कुवेती प्रहरीले कागजातबिनाका कामदारलाई फिर्ता गर्ने अभियान चलाइरहेको थियो । यो अभियानमा ७ सय जना घरेलु कामदार पक्राउ परेका थिए ।
११ दिन थुनामा बसेर उनी सन् २०२४ को अन्त्यतिर घर फर्किइन् । “म फेरि कहिल्यै विदेश जाँदिनँ,” इन्दलदेवी भन्छिन्, “शरीरले पनि दिएन, मनले पनि दिएन ।”
यो सामग्री हाम्रो पुन: प्रकाशन नीतिअनुसार तपाईँले पनि आफ्नो सञ्चार माध्यममा प्रकाशन गर्न सक्नुहुने छ । पुन: प्रकाशन नीति यहाँ छ ।
टिप्पणीहरू