उत्सव हुनुपर्ने महिलाको महिनावारी त विभेद बनिरहेको समाजमा पारलैंगिक पुरुष (ट्रान्सम्यान) को महिनावारी त उनीहरूलाई मानसिक रूपमा विक्षिप्त गराउने कारण बनिरहेको छ ।
बाग्लुङमा २९ वर्षअघि परिवारको छैटौं सन्तानका रूपमा जन्मिएका हुन् प्रतीक थापा मगर । जैविक रूपमा योनि र पाठेघर लिएर जन्मेका उनी आमाबाबुको कान्छी छोरी थिए । दाइहरूको साथमा छोरासरह हुर्किएका उनी सानैदेखि छोराले लगाउने कपडा लगाउँथे । 
१२ वर्षको उमेरमा महिनावारी भए । पहिलो पटक महिनावारी हुँदा उनलाई अलग राखियो, भान्साकोठामा जान रोक लगाइयो । उनका दाइहरूलाई कहिल्यै त्यसो गरिएको थिएन । त्यसैले १२ वर्षे किशोर मनभित्र उकुसमुकुस भइरहेको थियो ।
परिवारको व्यवहारले त्यतिबेला आफूलाई झनै पीडा थपिरहेको उनी स्मरण गर्छन् । पटकपटक महिनावारी दोहोरिँदा यस्ता व्यवहार पनि दोहोरिरहन्थ्यो । उनी आफूलाई अँध्यारो कोठामा बन्द गर्थे । आफ्नो मन र शरीरबीच उल्झिरहन्थे । कसैसँग पनि आफ्ना भावना साझा गर्न सक्दैनथे । उनी आफ्नो पहिचानको संकटमा पुग्थे ।
अहिले २९ वर्षको उमेरमा उनी जान्ने बुझ्ने भएका छन्, आफ्नो पहिचान गरेका छन् । तर पनि महिनावारीले उत्पन्न गर्ने समस्याबाट पार पाएका छैनन् । “महिनावारीले जे म होइन, त्यो भएको याद गराउँछ,” ट्रान्सम्यान प्रतिक भन्छन् ।
महिनावारी एउटा प्राकृतिक प्रक्रिया हो । समाजले प्राकृतिक प्रक्रियाका रूपमा नलिँदा महिनावारी विभेदको माध्यम बनिरहेको छ । उत्सव हुनुपर्ने महिलाको महिनावारी त विभेद बनिरहेको समाजमा पारलैंगिक पुरुष (ट्रान्सम्यान) को महिनावारी त उनीहरूलाई मानसिक रूपमा विक्षिप्त गराउने कारण बनिरहेको छ । महिनावारी शब्द सुन्नु पनि भावनात्मक रूपमा पीडादायी हुने गरेको प्रतीक बताउँछन् ।
पारलैंगिक पुरुषहरूको अधिकारका लागि पैरवी गर्ने संस्था युनिटी फर चेन्जका अध्यक्ष सुदीप गौतम पारलैंगिक पुरुषहरूका लागि महिनावारीले सधैँ ट्रिगर गरिरहने बताउँछन् । त्यसकारण पारलैंगिक पुरुषहरूले महिनावारीको समयलाई आफ्नो जीवनको कालो दिनको रूपमा व्याख्या गर्ने उनी सुनाउँछन् ।
महिनावारी नभएको समयमा आफूलाई पुरुष मानिरहने प्रतीकलाई महिनावारी हुनेबित्तिकै आफैंभित्र प्रश्न उठ्ने गर्छ । भन्छन्, “म पुरुष हैन ? म सम्पन्न छैन ? मसँग लिंग छैन ? म पूर्ण छैन ?” प्रतीकका अनुसार बायोलोजिकल्ली फिमेल जन्मेको महिलालाई जस्तै ट्रान्सम्यानहरूलाई पनि पहिलो पटक महिनावारी हुँदा आफ्नो घर छोडेर पाँच दिन, सात दिन, वा २२ दिन अर्काको घरमा लुकाएर राख्ने चलन छ । त्यसपछिको महिनावारीमा छुट्टै बस्नुपर्ने, मन्दिर जान नहुने, भान्सामा जान नहुनेजस्ता बन्देज लगाइन्छ । महिलामाथि भइरहेका यस्ता विभेदकारी नियम आफूहरूमाथि पनि लाद्दा पहिचानमै ठूलो प्रहार हुने गरेको उनी बताउँछन् ।
युनिटी फर चेन्ज र राधा पौडेल फाउन्डेसनले ट्रान्सम्यानहरूमा हुने महिनावारीको विभेदबारे गरेको अध्ययनले उनीहरूमा महिनावारी विभेद झन् जटिल र अदृश्य रहेको देखाउँछ । उनीहरूले लैंगिक पहिचान र महिनावारीको दोहोरो विभेद भोगेको अध्ययनको निष्कर्ष छ । अध्ययनले महिनावारीमा अलग राख्ने, धार्मिक वा सार्वजनिक स्थलहरूमा प्रवेश निषेध, खाद्य पदार्थ (दूध, फलफूल) मा बन्देजजस्ता विभेदकारी अभ्यासहरू ट्रान्सम्यानमा पनि हुने गरेको देखाएको छ ।
त्यस्तै, धेरै ट्रान्सम्यानहरूलाई महिनावारी प्याड किन्न जाँदा र सार्वजनिक शौचालय जेन्डर न्युट्रल नहुँदा दुव्र्यवहार सहनुपर्ने डर हुने गरेको छ । जसका कारण दिनभर एउटै महिनावारी प्याडको प्रयोग गर्नुपरेको र इन्फेक्सन (एसटीडी) हुने समस्या भोगेको यो अध्ययनमा उल्लेख छ ।
अध्ययनका अनुसार महिनावारीको समयमा मात्र नभई सामान्य अवस्थामा पनि सार्वजनिक शौचालयहरू जेन्डर न्युट्रल नहुँदा र पुरुष शौचालयमा हिंसाको डर हुने भएकाले धेरै ट्रान्सम्यानहरूले ९ देखि १० घण्टासम्म पिसाब रोकेर बस्न बाध्य हुने गरेका छन् ।
महिनावारीलगायत अन्य कारणले पारलैंगिक पुरुषहरूमा जेन्डर डिस्फोरिया हुने गरेको अध्ययनको निष्कर्ष छ । जुन अनुभव प्रतीकले आफैं भागेका छन् । जेन्डर डिस्फोरिया भनेकोे जन्मँदाको जैविक लिंग र उसको भित्री लैंगिक पहिचान बीच मेल नखाँदा उत्पन्न हुने गम्भीर मानसिक र भावनात्मक तनाव हो । ट्रान्सम्यानका लागि यो स्थिति केवल मनको कुरा मात्र नभएर सामाजिक, कानुनी र शारीरिक चुनौतीहरूसँग जेलिएको अवस्था हो ।
नर्भिक अस्पतालमा कार्यरत मनोचिकित्सक जस्मिन माका अनुसार उनीकोमा परामर्शका लागि पुगेका एक जनालाई स्तन मन पर्दैन थियो । बाहिर निस्कँदा उनी स्तनलाई कसिलो गरी बाँध्थे । जसले उनलाई सकस भइरहेको थियो । उनी स्तन निकाल्न चाहन्थे । तर पैसा नहुँदा शल्यक्रिया हुन सकेको थिएन । जसले उनलाई सकस मात्र नभएर मानसिक समस्यासमेत भइरहेको थियो ।
यस्तै परिवारले आफूहरूलाई बुझेन र स्वीकार गरेन भनेर पनि मनोपरामर्शका लागि आफूकहाँ ट्रान्सम्यानहरू आउने गरेको उनी बताउँछिन् ।
समाज, घरपरिवार र शारीरिक चुनौतीका कारण ट्रान्सम्यानहरूमा नकारात्मक सोचहरू आउने, आइसोलेटेड भएर बस्नेदेखि डिप्रेसन हुने र आत्महत्याको प्रयाससमेत गर्ने गरेको ट्रान्सम्यानहरूमा हुने महिनावारीको विभेदबारेको अध्ययनमा उल्लेख छ । यी उल्झनबाट बच्न पछिल्लो समय धेरै ट्रान्समेनहरूले पुरुषोचित गुणहरू (दाह्रीजुँगा पाल्ने, स्तन फाल्ने, पुरुषको लुगा लगाउने) आत्मसात गर्न हर्मोनल औषधिको सहारा लिन थालेको अध्ययनमा उल्लेख छ ।
पहिचानको संघर्ष
आफूले आफूलाई पुरुष माने पनि हरेक महिना हुने महिनावारीले प्रतीक आफ्नो लैंगिक पहिचान के हो भन्नेमा प्रस्ट थिएनन् । एकदिन पत्रिकामा पारलैंगिक महिलाको स्टोरी पढे । त्यसपछि उनले आफू पनि त्यही समुदायमा पर्ने महसुस गरे ।
स्नातक पढ्ने समयमा उनले स्मार्ट फोन पाए । इन्टरनेटको पहुँचमा पुगे । आफ्नो जस्तै अनुभव भएका व्यक्तिका कथाहरू इन्टरनेटमा खोजे । त्यसपछि आफूलाई लेसबियन हुन सक्ने अनुमान गरे ।
स्नातक पढिरहेको समयमा नै उनी साथीहरूका माध्यमबाट नीलहीरा समाजको एक कार्यक्रममा पुगे । त्यसपछि आफूजस्तै अरू मानिसहरूलाई पनि भेटे ।
उनीजस्तै अरू साथीले पनि महिनावारी हुँदा आफ्नो पहिचानमा असर पुगिरहेको जानकारी पाए । अनि बल्ल १८ वर्षको उमेरमा उनले आफूलाई ट्रान्सम्यान पहिचान गरे ।
तर, महिनावारी भइरहन्थ्यो ।
आफूभित्रको द्वन्द्व उनले परिवार, साथी र समाजमा बताउन सकेनन् । कारण उनी छोरीका रूपमा जन्मिएका थिए । समाजमा थाहा भए पागल भन्लान् भन्ने त्रासमा थिए । आफ्ना भावनाहरूसँग उल्झिँदा उनी मानसिक रूपमा गलिरहेका थिए ।
यो सकसबाट मुक्ति पाउनका लागि उनले पुरुषोचित गुणहरू (आवाज र अनुहार) अँगाल्ने निर्णय गरेर हर्मोनल औषधिको प्रयोग गरे । उनले हर्मोनको औषधि लिएको तीन/चार महिनापछि महिनावारी रोकियो । बिस्तारै आवाज परिर्वतन हुन थाल्यो ।
पुरुषहरू जसरी किशोरावस्थामा परिपक्व हुँदै जान्छन्, त्यसैगरी उनीमा परिवर्तन आइरहेको थियो । उनी हर्षित थिए । कारण, उनलाई महिला भएको याद गराउने माध्यम थिएन । त्योसँगै महिनावारी प्याड किन्न जाँदा दुव्र्यवहार सहनुपरेन, प्याड लगाउनै परेन, कहीँकतै रगत लाग्ला भनेर डराउनु परेन ।
उनी भन्छन्, “त्यसबेला मैले खुल्ला भएको महसुस गरेँ ।”
तर, समय एकनासले अघि बढेन ।
आर्थिक कमजोरी, काठमाडौं बाहिर बस्नुपर्ने बाध्यता, हर्मोनल औषधिले ल्याइरहेको परिवर्तनले निम्त्याइरहेको नयाँँ समस्याका कारण उनले हर्मोन पटक–पटक लिँदै छोड्दै गरे ।
यही बीचमा उनी बैंकको जागिर पाएर सिन्धुपाल्चोक पुगे । हर्मोन छुटिरहेको थियो । पुनः महिनावारी भयोे । त्यस दिन उनले सेतो पाइन्ट लगाएका थिए । सहकर्मीले रगत लागेकोे बताइदिएपछि उनी छाँगाबाट खसेजस्तो भए । उनी पुनः शून्यतामा पुगे ।
त्यसपछि निरन्तर महिनावारी हुन थाल्यो । त्यसबेला उनको मनमा अनेकौं आँधीबेहरी चलिरहन्थ्यो । “कसैले थाहा पाइहाल्यो भने के हुन्छ ? सामाजिक असुरक्षा महसुस हुन्थ्यो,” उनी भन्छन्, “कतिपटक त सुनकोशीमा हाम फालौंजस्तो लाग्थ्यो ।”
उनका अनुसार महिनावारी प्याड किन्न जान पनि अप्ठ्यारो थियो । “सबै चिनेजानेका थिए, म एक्लै बस्छु भन्ने सबैलाई थाहा थियो,” उनी भन्छन्, “कसलाई हो भन्ने प्रश्न आउला भन्ने डरले कहिल्यै सिन्धुपाल्चोकमा प्याड किन्ने हिम्मत आएन ।” सधैँ काठमाडौं आउँदा प्याड किनेर लैजाने गरेको उनी बताउँछन् ।
सिन्धुपाल्चोकमै रहँदा उनी पहिचानको दोहोरो भूमिकाको संकटमा पनि पुगे । अफिसमा कसैले पहिलो पटक सर भनेर सम्बोधन गरेपछि हर्षित भएका उनको त्यो खुसी एकैछिन पनि टिक्न पाएन । त्यहीँ काम गर्ने अर्को व्यक्तिले मिस भन्दा उनी खुत्रुक्कै परे ।
सहकर्मीले जस्तै कोही सेवाग्राहीले सर भन्थे त कोही मिस । उनी पलपल विक्षिप्त भए । पटक–पटक जेन्डर डिस्फोरियाको भुमरीमा फसेपछि उनले कामलाई निरन्तरता दिन सकेनन् ।
उनी जागिर छाडेर काठमाडौं फर्के ।
हर्मोन पुनः सुरु गरे । र, लोकसेवा तयारीमा जुटे ।
त्यसपछि सुरु भयो अर्को समस्या— डकुमेन्टेसनको । अनलाइन फारम भर्दा आफ्नै फोटो राख्नुहोस् भनेर रिजेक्ट भएको उनी सुनाउँछन् ।
हर्मोन पुनः बन्द गरे ।
महिनावारी सुरु भयो । यसपटक फरक तरिकाले रगत बगिरहेको थियो । चोट पटक लागेसरह । ओभरी पनि एकदम दुख्यो । परीक्षण गर्दा एकापट्टिको ओभरी सुन्निएको रहेछ ।
हर्मोन लिएपछि ६ महिनामा पाठेघरको स्क्यान गर्न फलोअपमा बोलाइएको थियो । उनी नियमित फलोअपमा गएका थिएनन् ।
स्वास्थ्य समस्या देखिएपछि उनी गाइनकोलोजिस्ट र इन्डोक्राइनोलोजिस्टको परीक्षण गर्न गए । “हर्मोनल औषधिले के असर हुन्छ ? यस्तो यस्तो भइरहेको छ भन्दाखेरि उनीहरू (चिकित्सक) ले पनि ठ्याक्कै नभन्दिने,” उनी भन्छन्, “अब तपाईँलाई पुरुष हुन मन छ भने लिनु । यदि छैन भने नलिए ठिक हुन्छ मात्र भन्थे ।”
अर्काइभ अफ मेडिकल रिसर्चमा प्रकाशित ट्रान्सजेन्डर पुरुषहरूको पहिचान विकासको प्रक्रियाको एक गुणात्मक विश्लेषण अध्ययनले महिलाबाट पुरुष (ट्रान्सजेन्डर पुरुष) बन्ने प्रक्रियामा विशेषज्ञको सल्लाहबिना जथाभावी प्रयोगले शारीरिक र मानसिक प्रभावहरू पर्न सक्ने देखाएको छ । हर्मोनको प्रयोगले प्रजनन् क्षमता, डिम्ब संरक्षणजस्ता विषयहरूमा गम्भीर नकारात्मक प्रभाव पार्न सक्छ । त्यसैले यस्तो हर्मोनको उपचारमा विशेषज्ञको परामर्श आवश्यक रहेको अध्ययनको जोड छ ।
तर प्रतीक हर्मोन उपचारमा विशेषज्ञको सल्लाह नै नपाएको र आफूखुसी प्रयोग गर्नुपरेको गुनासो गर्छन् ।
समाजले छोरी मान्छे भएपछि यही मात्र गर्नुपर्छ, छोरा मान्छे भएपछि यो–यो मात्र गर्नुपर्छ भनेर छुट्याइदिएको छ । छोरी मान्छे भएपछि विवाह गर्नुपर्छ अर्काको घर जानुपर्छ । बच्चा जन्माउनुपर्छ । अनि गृहस्थी धान्नुपर्छ भन्ने पितृसत्तात्मक सोचले ट्रान्सम्यानको पहिचानलाई स्विकार्दैन । जसका कारण परिवारले पनि इज्जतको डरले आफ्ना छोराछोरी लैंगिक तथा यौनिक अल्पसंख्यक भएमा स्वीकार्यता नपाउने सुदीप बताउँछन् ।
धेरैले बाल्यकालदेखि नै आफू अरूभन्दा फरक भएको अनुभूति गरे पनि समाजले तोकिदिएका लैंगिक घेराका कारण आफ्नो पहिचान व्यक्त गर्न वर्षौंसम्म संघर्ष गर्नुपर्ने अवस्था रहेको उनी बताउँछन् ।
सुदीपका अनुसार ट्रान्सम्यानहरूलाई आफ्नो स्तन मन नपर्ने भएकाले यसलाई लुकाउन बाइन्डरको प्रयोग गर्छन् । बाइन्डर अत्यन्तै कसिलो हुने भएकाले छाती दुख्ने, सास फेर्न गाह्रो हुने र स्तनमा गाँठागुठी आउनेजस्ता शारीरिक समस्याहरू निम्त्याउँछ ।
यी समस्या लिएर अस्पताल जाँदा पनि दुव्र्यवहार हुने सुदीप बताउँछन् । एसटीडीको समस्या लिएर गाइनकोलोजिस्टकोमा जाँदा यो पुरुषको लाइन होइन भन्ने, डाक्टरले पनि म पुरुषको उपचार गर्दिनँ भन्ने, आफ्नो पहिचान खुलाएर मनोपरामर्श लिन जाँदा पनि सामूहिक अभ्यास हुँदा गोपनीयताको हक हनन् हुने उनी बताउँछन् ।
स्वास्थ्यकर्मीहरूले नै सम्बन्धित विषयभन्दा बाहिर गएर तपाईँहरू सेक्स कसरी गर्नुहुन्छ ? जस्ता प्रश्नहरू गर्ने उनी बताउँछन् । जसका कारण धेरै व्यक्तिहरू अनैकौं समस्या झोलेर बस्ने तर स्वास्थ्य संस्था नजाने सुदीपले जानकारी दिए ।
नेसनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित ‘नेपाली चिकित्सा शिक्षामा एलजीबीटीक्यूप्लस पाठ्यक्रमको आवश्यकता’ शीर्षकको अध्ययनमा नेपाली स्वास्थ्य सेवामा यो समुदायको पहुँच असमान रहेको उल्लेख छ । यसको कारण पहुँचमा अवरोध, भेदभाव र स्वास्थ्यकर्मीहरूको पूर्वाग्रहको प्रभाव रहेको अध्ययनमा उल्लेख छ ।
अध्ययनका अनुसार नेपाली मेडिकल कलेजहरूमा एलजीबीटीक्यूप्लस विषय सतही छ, एचआईभी र एसटीडी मात्र सीमित विद्यार्र्थीहरूमा नकारात्मक दृष्टिकोण छ । जसले समग्र हेरचाहमा बाधा पुर्याउँछ । यी मुद्दाहरूलाई सम्बोधन गर्न चिकित्सा शिक्षामा परिवर्तन गर्नु आवश्यक छ । एलजीबीटीक्यूप्लसको सामग्रीलाई पाठ्यक्रमको अनिवार्य भाग बनाउनु, यौन झुकाव र लैंगिक पहिचानको व्यापकता बढाउनु र समावेशी र सम्मानजनक स्वास्थ्य सेवाहरू प्रदान गर्न प्रशिक्षण दिनुपर्छ ।
स्वास्थ्य संस्था मात्र नभई प्रतीक जस्ता ट्रान्सम्यानहरू अन्य महिनावारी विभेदजस्ता सामाजिक सांस्कृतिकलगायत कानुनी जटिलताहरूबाट पनि गुज्रनुपरेको नेपालमा ट्रान्सजेन्डरहरूमाझ गरिएको महिनावारी भेदभाव नामक अध्ययनमा उल्लेख छ ।
समावेशिताको खोजी
नेपालमा प्रतीकजस्तै समस्या झेलिरहेका ट्रान्सम्यानहरू कति छन् भन्ने यकिन तथ्यांक छैन । नेपालको राष्ट्रिय जनगणना २०७८ मा पहिलो पटक यौनिक तथा लैंगिक अल्पसंख्यकको जनसंख्यालाई समावेश गरिएको थियो । जसअनुसार २ हजार ९ सय २८ जना छन् । तर यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारका लागि काम गर्नेहरू यो तथ्यांकलाई अपूर्ण मान्छन् ।
उनीहरू यो संख्या २५ लाखसम्म हुन सक्ने अनुमान गर्छन् । धेरै व्यक्तिहरू सामाजिक लाञ्छना र गोपनीयताको डरले आफ्नो पहिचान खुलाउन हिचकिचाएका कारण जनगणनामा सबै नसमेटिएको उनीहरूको तर्क छ । त्यस्तै विश्वमा २ प्रतिशत व्यक्ति यौनिक तथा अल्पसंख्यकको पहिचानमा रहेको विभिन्न अध्ययनले देखाएको छ ।
महिनावारी विभेदका कारण मात्र ट्रान्सम्यानहरूले सम्मानपूर्वक बाँच्न पाउने हक, स्वतन्त्रताको हक, समानताको हक, सामाजिक न्यायको हक, र सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यको हकलगायत कम्तीमा १४ वटा मौलिक हकहरू हनन् भइरहेको युनिटी फर चेन्ज र राधा पौडेल फाउन्डेसनले ट्रान्सम्यानहरूमा हुने महिनावारीको विभेदबारे गरेको अध्ययनमा उल्लेख छ ।
यसबाहेक प्रजनन् अधिकारका विषयमा भइरहेका महिला र पुरुष केन्द्रित कानुनहरूमा यौनिक तथा लैंगिक अल्पसंख्यक शब्द थपेर वा जैविक रूपमा महिला जन्मिएका व्यक्तिहरू भन्ने शब्दावली प्रयोग गरेर ट्रान्सम्यानहरूलाई समेट्न आवश्यक रहेको सुदीपको तर्क छ । समावेशी समाज निर्माणका लागि विद्यालयको पाठ्यक्रम लैंगिक विविधताका विषयहरू समावेश गर्नुपर्ने उनीहरूको माग छ ।
पाठ्यक्रम विकास केन्द्रले २०७६ बाट नयाँ पाठ्यक्रम लागू गर्दा कक्षा ७ को ‘स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला’ पुस्तकमा रहेको ‘यौनिक परिचय, यौनिक पहिचान’ एकाइमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको प्रारम्भिक विषय समावेश गरेको छ ।
६–८ कक्षाको स्वास्थ्य तथा शारीरिक शिक्षा, ९–१२ कक्षाको सामाजिक अध्ययन र १२ को ‘लैंगिक सवाल’ लगायतका एकाइहरूमा समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी, दुई लिंगी आदि शब्दहरू समावेश भए पनि विषयवस्तु अपुरो र विखण्डित रूपमा रहेको भन्दै आलोचना भइरहन्छ ।
सुरक्षित र मर्यादित स्वास्थ्य सेवाका लागि चिकित्सा शिक्षाको पाठ्यक्रममा यस समुदायका बारेमा गहन विषयवस्तुहरू समावेश गर्नुपर्नेमा प्रतीक र सुदीप जोड दिन्छन् ।
संविधानले धारा १२, १८ र ४२ मा समानता, नागरिकता र सामाजिक न्यायको अधिकार सुनिश्चित गरेको छ । तर नागरिकता, विवाह दर्ता र मेडिकल प्रमाणजस्ता विभेदकारी प्रक्रियालाई हटाई पूर्ण कार्यान्वयन गर्नुपर्ने प्रतीक र सुदीप बताउँछन् ।
उनीहरूका अनुसार ट्रान्सम्यानहरू पनि स्नातक स्नाकोत्तरसम्म पठनपाठन गरेका छन् । हाम्रो आर्थिक समावेशिताका लागि रोजगारी, स्टार्टअप र आर्थिक नीतिमा समावेशी नीति अपनाउनुपर्ने उनीहरूको माग छ ।
यो सामग्री हाम्रो पुन: प्रकाशन नीतिअनुसार तपाईँले पनि आफ्नो सञ्चार माध्यममा प्रकाशन गर्न सक्नुहुने छ । पुन: प्रकाशन नीति यहाँ छ ।
टिप्पणीहरू