अनियमित वर्षा, बेमौसमी हिमपात र लामो खडेरीका कारण जडीबुटीको फूल फुल्ने र फल्ने चक्र नै बिग्रिएको छ । यसले गरिब तथा सिमान्तकृत समुदायको हातमुख जोर्ने बाटो मात्र थुनेको छैन, पुस्तौंदेखि चल्दै आएको जडीबुटी चिन्ने, उपयोग गर्ने रैथाने ज्ञानसमेत लोप हुने जोखिम बढेको छ ।
म्याग्दीको धौलागिरी गाउँपालिका— १ मा परम्परागत शैलीका गुचमुच्च परेका घर रहेको गुर्जा गाउँ अल्पसंख्यक छन्त्याल जातिको थातथलो हो । समुद्र सतहबाट ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित गुर्जामा बसोबास गर्ने २ सय ३० घरपरिवारको मुख्य जीविकोपार्जन परम्परागत कृषि र पशुपालन हो । 
तामा, फलाम, सिसाजस्ता खनिजजन्य खानी उत्खनन गर्ने जातिका रूपमा परिचित छन्त्याल जातिले खानी बन्द भएपछि जडीबुटी संकलन र निकासी गरी जीविकोपार्जन गर्दै आएका छन् । ऐतिहासिक रूपमा खानी उत्खननमा पोख्त छन्त्याल समुदायको पछिल्लो समय आम्दानीको मुख्य स्रोत यार्चागुम्बा, रातो च्याउ र अन्य बहुमूल्य जडीबुटी संकलन तथा निकासी बन्दै आएको थियो । तर अहिले उनीहरूको मुख्य आम्दानीको स्रोतमा जलवायु परिवर्तनको कालो बादल मडारिएको छ । बढ्दो तापक्रम र अनियमित मौसमका कारण जडीबुटीको उत्पादन घट्दै जाँदा स्थानीय बासिन्दाको आयआर्जनमा असर परेको छ ।
अनियमित वर्षा, बेमौसमी हिमपात र लामो खडेरीका कारण जडीबुटीको फूल फुल्ने र फल्ने चक्र नै बिग्रिएको छ । यसले गरिब तथा सिमान्तकृत समुदायको हातमुख जोर्ने बाटो मात्र थुनेको छैन, पुस्तौंदेखि चल्दै आएको जडीबुटी चिन्ने, उपयोग गर्ने रैथाने ज्ञानसमेत लोप हुने जोखिम बढेको छ ।
बंगलादेश, भारत र नेपालमा जडीबुटी र वातावरण व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको प्राज्ञ सोलुसन फर सस्टेनेबल डेभलपमेन्ट (पीएसएसडी) का जलवायु परिवर्तन अनुकूलन विज्ञ डा. नवीनराज जोशीका अनुसार ४० भन्दा बढी प्रजातिका जडीबुटीको प्राकृतिक उत्पादन क्षमता घट्नुमा विश्वव्यापी तापमान वृद्धि नै प्रमुख कारण हो ।
त्यस्तै, दिगो कृषि तथा जैविक स्रोतका लागि एसिया नेटवर्क (एनसाव) का निर्देशक भीष्म सुवेदीका अनुसार जलवायु परिवर्तनले जडीबुटीको आन्तरिक रासायनिक संरचना र गुणस्तरमा समेत ह्रास ल्याएको छ । मिचाहा प्रजतिका झारको विस्तार र अव्यवस्थित दोहनले पनि यसलाई थप बल पुर्याएको छ ।
जलवायु परिवर्तनको असरले विश्वव्यापी जमिनको तापमान बढ्दा औषधिजन्य वनस्पति मात्र होेइन, अन्य जैविक वनस्पतिको पनि समयचक्र र विस्तारमा गम्भीर प्रभाव देखिन थालेको छ । बिरुवाहरूले आफ्नो जैविक स्वभाव र संरचना पनि बदल्न थालेका छन् ।
कृषि तथा बन विज्ञान विश्वविद्यालय हेटौंडाबाट वन औषधि सतुवाको अध्ययन गरेका र अहिले डिभिजन वन कार्यालय मरिन सिन्धुलीमा कार्यरत रेन्जर सुर्पन चोखालको अध्ययनले म्याग्दीका विभिन्न नर्सरीमा रोपिएका सतुवाका बिरुवाहरू ताप वृद्धिकै कारण परिपक्क नहुँदै सुक्ने र गाना कुहिने समस्या देखिएको पुष्टि गरेको छ ।
सतुवाका अध्येता सुर्पन भन्छन्, “धवलागिरि गाउँपालिका—४ खिवाङ्गमा सतुवा विस्तारै पछिल्ला वर्षमा छिटो फुल्ने, गाना परिपक्क नहुँदै बिरुवा मर्ने देखियो । अन्नपूर्ण गाउँपालिका—५ किन्दुमा सतुवाका बिरुवा देख्दा राम्रो तर गाना कुहिने समस्या देखियो ।” उनका अनुसार सतुवालाई प्रयोगशालामा परीक्षण गर्दा कुनै रोग देखिएन । यो समस्या ताप वृद्धिको प्रभावले परेको हुन सक्ने उनी बताउँछन् ।
हिमालय क्षेत्रको जलवायु परिवर्तन, वर्षा, हिमपातको ट्रेन्ड तथा बढ्दो ताप वृद्धिले जटामसी, कुटुकी, सेतकचिनी, वन लसुन, पाँचऔँले, यार्चागुम्बा, सतुवा, गुच्ची च्याउ, रातो च्याउलगायतका ४० भन्दा बढी प्रकारका जडीबुटीहरूले आफ्नो प्राकृतिक बासस्थानमा प्रजनन क्षमता (उम्रने, फुल्ने, फल्ने र फैलने) क्षमता गुमाउन थालेका प्राज्ञ सोलुसनका डा.नवीनराज बताउँछन् ।
यी जडीबुटी माथिल्लो क्षेत्रमा सर्न थालेको उनी दाबी गर्छन् । “मैले दार्चुला र जुम्लामा गरेको अध्ययनले २० वर्षअघिसम्म ३ हजार उचाइमा पाइने कुटुकी र जटामसी अहिले ३ हजार ४ सय मिटरमाथि मात्र पाइन थालेको पुष्टि भएको छ,” प्राज्ञ सोलुसनका डा. नवीनराज भन्छन्, “त्यति मात्र होइन, खुल्ला चरिचरन गराइने फिरन्ते भेडागोठको संख्या घट्दा भेडागोठ राखेका हिमाली चरनखर्कमा मौलाउने कटुकी जडीबुटी आफैँ हराउन थालेको पाएको छु ।”
बारीमा सार्दै जंगलको जडीबुटी
प्राज्ञ सोलुसनका डा. नवीनराज अनुसार जलवायु परिवर्तनका कारणले र अव्यवस्थित दोहनले जडीबुटीको प्राकृतिक बासस्थान नासिएको छ, उत्पादन घटेको छ । संकटापन्न यस्ता जडीबुटीको संरक्षण गर्न जंगलबाट खेतबारीमा स्थानान्तरण आवश्यक छ ।
जडीबुटीको प्राकृतिक उत्पादन घटेसँगै त्यसको बजार मूल्य र महत्त्वका आधारमा स्थानीय बहुमूल्य जडीबुटीको खेती गर्न अगाडि सरेका छन् । नर्सरीमा बिरुवा उत्पादन गरी कृषकले खेतबारीमा रोप्न थालेका पनि छन् । तर त्यसको आनुवांशिक गुणस्तर मापन र प्रोफाइल हुन सकेको छैन ।
डिभिजन वन कार्यालय म्याग्दीको अभिलेखले पनि जडीबुटी संकलनको ग्राफ ओरालो लागेको देखाउँछ । वन कार्ययोजनामा २ सय ८ प्रकारका जडीबुटी संकलन गर्न सकिने उल्लेख भए पनि म्याग्दीबाट निकासी हुने २६ प्रजातिका जडीबुटीको निकासी परिणाम बर्सेनि घट्दो छ ।
“कार्यालयले जारी गर्ने जडीबुटी संकलनको रेकर्डअनुसार जिल्लाको वनबाट बर्सेनि संकलन घट्दै गएको देखिन्छ,” उनी भन्छन्, “जडीबुटी उत्पादन वा संकलन घट्नुमा जलवायु परिवर्तन, विगतमा अव्यवस्थित संकलन, वनमा मिचाहा स्वभावका झार फैलिनु मुख्य कारण हुन सक्ने ठानेका छौँ ।”
संयुक्त राष्ट्रसंघअन्तर्गतको इन्टरगभर्मेन्टल प्यानल अन क्याइमेटचेन्ज (आईपीसीसी) ले फेब्रुअरी २०२२ को प्रतिवेदनले पनि हिमाली क्षेत्रका यार्चागुम्बा, पाँचऔँले, जटामसी र सतुवाजस्ता वनस्पतिहरूको अस्तित्व संकटमा रहेको औंलाएको छ । आईपीसीसीको छैटौं प्रतिवेदनका अनुसार जलवायु परिवर्तनले तापक्रम वृद्धि, अनियमित वर्षा र हिमपातले हिमालमा हिउँ पग्लने मात्र होइन, मानिसको खाद्यान्न, खानेपानी र सुरक्षित बासलाई संकटमा पारेको छ । पारिस्थितिक प्रणालीका जनावर र वनस्पतिहरू चपेटामा परेको प्रतिवेदनमा उल्लेख छ ।
सोही प्रतिवेदनका अनुसार अल्पाइन क्षेत्रका सानो आकारका गुराँसका प्रजातिहरू, हिमाली धुपीसमेतका वनस्पतिहरू, यार्चागुम्बा, पाँचऔँले, जटामसी, कुटकी, विष, सतुवा, पदमचालसमेतका जडीबुटीहरू र हिमाली चरन क्षेत्रमा फुल्ने फूलहरू संकटमा परेका छन् ।
पाटन क्याम्पस वनस्पति विभागका सहप्रध्यापक तथा वृक्षवलय विज्ञ (डेन्ड्रोक्लोनोलोजिस्ट) डा. नारायणप्रसाद गैरेका अनुसार विश्व ताप वृद्धिका कारण नेपालको उच्च पहाडी क्षेत्रका ओसिलो र सुक्खा भूगोलका वनस्पतिहरूमा फरक–फरक प्रभाव पारेको छ । विश्व ताप वृद्धिका कारण बढी पानी पर्ने ओसिलो क्षेत्रको वनस्पतिहरूको घनत्व एवं विकास बढेको छ । तर सुक्खाग्रस्त र वर्षा तथा हिउँ कम भएको क्षेत्रका वनस्पतिको विकास घट्दो छ । सलिसपत्र, चिमाली गुराँस, भोजपत्र आदि वनस्पतिहरूले बासस्थान छोड्ने क्रम बढेको छ । पानी र हिउँ पर्ने क्रम कम हुँदा हजारौँ वर्ष पुराना रूख सुक्ने वा मर्ने क्रम बढेको छ ।
डा. नारायणप्रसाद भन्छन्, “वनस्पति र जडीबुटी अन्तरघुलन भई बसेका हुन्छन् । वनस्पतिहरू बासस्थान छोडेपछि जडीबुटीहरू पनि माथि सर्न सक्छन् । अर्को वनस्पति माथिल्लो क्षेत्र सर्दा त्यहाँ भएका जडीबुटीको बासस्थान खुम्चिँदै नासिने खतरा रहन्छ । लेकाली क्षेत्रका रूखहरूको भित्री चक्रको अध्ययन गर्दा केही क्षेत्रका वनजंगलका पछिल्ला वर्षहरूमा चिस्यान कम हुँदै गएको भेटिएको छ ।
ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडिज (जीआईआईएस) का संस्थापक तथा वनस्पतिविद् उत्तमबाबु श्रेष्ठका अनुसार हिमपात न्यून हुनु र ताप वृद्धिका कारण यार्चागुम्बालगायत हिमाली वनस्पतिहरूको फूल फुल्ने, फल लाग्ने समय अघि सर्दै जाँदा प्रजनन प्रक्रियामा समस्या देखिएको छ । बासस्थान खुम्चिँदै जाँदा नयाँ बासस्थानमा अनुकूलन हुन नसक्ने वनस्पतिहरूको नास हुन सक्छन् ।
लामो समयको अन्तरालमा चाल नपाइने गरी हुने जलवायु परिवर्तन स्वाभाविक प्रक्रिया हो । तर मानवीय गतिविधिका कारण पछिल्ला दशकमा छिटोछिटो वातावरण परिवर्तन हुन थालेपछि वनस्पति, जडीबुटीसमेत पर्यावरणमै जटिलता देखिन थालेका छन् । हिमाली क्षेत्रमा गरिएको अध्ययनले हिउँदमा हिउँ पर्दा यार्चागुम्बा बढी फैलिएको र हिउँ कम पर्ने समयमा यार्चागुम्बा पनि ढिलो र थोरै उम्रेको भेटिएको वनस्पतिविद् उत्तमबाबुले बताए ।
पछिल्लो सात वर्षदेखि धौलागिरि फेदीको कालीबराह बुक्यान पुगेर यार्चागुम्बा संकलन गर्दै आएका रघुगंगा गाउँपालिका—७ चिमखोलाका कृष्ण पाइजा भन्छन्, “सुरुका वर्षमा दैनिक २ सय वटासम्म यार्चागुम्बा भेटिन्थे, अहिले दैनिक १५–२० वटा मात्र भेटिन्छन् ।”

म्याग्दीका गुर्जा र चुरेन हिमालमुनिका बुक्यान, धौलागिरि आइसफल र कालीबराह खर्क र रिखार क्षेत्रमा यार्चागुम्बा संकलन गरिन्छ । यार्चागुम्बाको उत्पादन घटेपछि सरकारी राजस्वबाहेक स्थानीय वडा कार्यालय र युवा क्लबहरूको आम्दानी पनि बन्द भएको रघुगंगा गाउँपालिका—७ चिमखोलाका वडाध्यक्ष थकप्रसाद पाइजाले बताए ।
वन विभागको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र (एफआरटीसी) ले प्रकाशन गरेको नेपालका उच्च पहाडी र हिमाली क्षेत्रका वनको अवस्थाबारे विस्तृत अध्ययन प्रतिवेदन ‘हाई माउन्टेन एन्ड हाई हिमालय फरेस्ट अफ नेपाल, २०२२) मा नेपालको हिमाली क्षेत्रमा विश्वको औसत तापक्रम वृद्धिभन्दा बढी औसत ०.०४५–०.०६ डिग्री प्रतिवर्षका दरले तापक्रम बढिरहेको छ । यस कारण होचो भागका वनस्पति तथा जडीबुटीहरू माथिल्लो क्षेत्रतर्फ सर्दै गएका छन् । प्रतिवेदनमा हिमालय जडीबुटी ४ मिटर र गुराँस ०.८८ मिटर प्रतिवर्ष माथि सार्दै गएको भेटिएको उल्लेख छ । प्रतिवेदनमा हिमाली क्षेत्रमा पाइने यार्चागुम्बा, कटुकीजस्ता जडीबुटीको उत्पादन घट्नुको साथै औषधीय गुणमा परिवर्तन देखिन थालेको छ ।
नेपाल वन अनुसन्धान तथा तालिम केन्द्र (एफआरटीसी) ले प्रकाशित गरेको ‘नेपालको वन स्रोत मूल्यांकन ०७९’ मा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार म्याग्दीको रघुगंगा र मंगला गाउँपालिकास्थित राष्ट्रिय तथा सामुदायिक वनमा पछिल्लो ५ वर्षमा चिराइतो, जटामसी, पाखनभेदलगायत जडीबुटीको उत्पादन ३०–३५ प्रतिशतले घटेको छ ।
म्याग्दीका डिभिजन वन कार्यालयका वन अधिकृत तथा जडीबुटीका विषय विज्ञ चन्द्रमणि सापकोटाका अनुसार जलवायु परिवर्तन, हिमपात र वर्षाको ढाँचामा परिवर्तन, अवैज्ञानिक संकलन विधि र फेरिएको चरनशैलीका कारण जडीबुटी उत्पादन अघिल्लो दशकको तुलनामा २०–४० प्रतिशतसम्म कमी आएको हो । उनी भन्छन्, “बहुउपयोगी धेरै रैथाने जडीबुटीसमेत नासिँदै छन् । सामुदायिक वनबाटै धेरै जडीबुटीको उत्पादन केही वर्षमै ह्वात्तै घटेको पाइन्छ ।”
वनजंगल संरक्षणका नाममा चरिचरन पूर्णरूपमा बन्द गरिँदा सामुदायिक तथा राष्ट्रिय वनको जैविक सन्तुलन गुम्दा अनावश्यक बिरुवा (इन्भेन्सिभ प्लान्ट) फैलिएको र जडीबुटीसमेत उपयोगी वनस्पतिको तीव्र ह्रास भइरहेको पाइएको छ ।
खुल्ला चरिचरन अनावश्यक बिरुवा उम्रन रोक्ने र चाहिने जडीबुटीजस्ता बिरुवा उम्रन सहयोग गर्ने एक किसिमको जैविक व्यवस्थापन हो । तर तीव्र फैलने प्रजातिका यस्ता अनावश्यक झार नियन्त्रण राख्ने खुल्ला चरन पद्धति बन्द हुनु वा वनजंगलमा चर्ने घरपालुवा पशुचौपायाको संख्यामा उल्लेख्य कमी आएपछि मिचाहा जातका झार फैलिने अवसर पाएको ‘पश्चिम हिमाली जडीबुटी विविधता तथा पारिस्थितिक प्रणालीको सहजशीलता प्रतिवेदन २०२२’ मा उल्लेख छ ।
हिउँदे वर्षा र हिमपात नहुँदा जंगली रातो च्याउ घट्दै
धवलागिरि गाउँपालिकाका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालका अनुसार गुर्जामा ५–७ वर्ष अघिसम्म हिउँदमा बाक्लो हिमपात हुन्थ्यो । पानी पथ्र्यो । त्यो वर्षाका कारण जेठमै राम्ररी जंगलभरि रातो च्याउ उम्रिन्थ्यिो । तर केही वर्षदेखि हिउँदमा हिउँ र पानी पर्न छोडेको छ । “जसले गर्दा गुर्जामा जंगली रातो च्याउ अहिले साउन/भदौमा मात्र उम्रन थालेको छ,” उनी भन्छन्, “त्यो पनि पहिलाभन्दा कम उम्रिन्छ ।”
जंगली जडीबुटीको उत्पादन घटेकाले संकलनसँगै व्यापार पनि घटेको छ । आम्दानी हुन छाडेपछि गाउँलेहरूले विकल्प खोज्न थालेको उनी बताउँछन् । रातो च्याउ संकलक र व्यापारीसमेत रहेका झकबहादुर भन्छन्, “वडाध्यक्ष नबन्दै गुर्जाबाट मात्र २० क्विन्टल र म एक्लैले १० क्विन्टल जंगली रातो च्याउ राजस्व तिरेरै सहरमा निर्यात गर्थ्यौँ । अहिले उत्पादन र संकलन दुवै घटेको छ ।”
उनका अनुसार गुर्जाका बासिन्दाले गतअसार–भदौको सिजनमा घरखर्च र आफन्तलाई कोसेलीबाहेक १० क्विन्टल रातो च्याउ प्रतिकेजी २२ सयका दरले निकासी गरेका छन् । तर डिभिजन वन कार्यालयको रेकर्डमा भने आर्थिक वर्ष २०८०/२०८१ मा म्याग्दीबाट जम्मा ५० केजी रातो च्याउ छोडपुर्जी लिएर निकासी भएको देखिन्छ ।
रातो च्याउलाई अन्य जडीबुटीलाई जस्तो वन कार्यालयबाट संकलन पुर्जी लिनुपर्ने र बजारमा लैजान छोडपुर्जी बनाउनुपर्ने भए पनि स्थानीय बासिन्दाले जंगलबाट संकलन गरेको च्याउ सोझै बजारमा बेच्ने गरेकाले यो तथ्यांक फरक परेको हो । वन अधिकृत चन्द्रमणि रातो च्याउको पनि राजस्व तोकिएकोले कानुनी रूपमा छोडपुर्जी बनाएर बजार लैजानुपर्ने भए पनि तरकारी खाने प्रयोजनमा उपयोग भइरहेकाले कडाइ नगरिएको बताउँछन् ।
हिमालमुनिका चरनखर्क र जंगलका खर्सु, सल्लाका डलेपडेका मुडामा उम्रने स्वादिलो र पौष्टिक यार्चागुम्बा र रातो च्याउ उम्रन निश्चित खुराक, तापक्रम र आद्रता चाहिन्छ । तर जलवायु परिवर्तनका कारण हिमपात हुन छोडेपछि लेकाली चरन बुक्यान र जंगलका काठहरू भिज्न नपाई सुक्खा हुन गई जंगली च्याउ उत्पादन हुन छोडेको हो ।
भारी हिमपात हुँदा भार थेग्न नसक्ने पुराना, जीर्ण रूखहरू ढल्थे, विस्तारै कुहिन्थे र त्यहीं च्याउ उम्रिन्थ्यो । पुराना ढलेपडेका मुढा कुहिए, नयाँ मुढा थपिएनन् । जसले गर्दा अहिले च्याउ उम्रने क्षेत्र पनि घटेको अन्नपूर्ण गाउँपालिका—८ राम्चेका कृषक भक्तबहादुर पुर्जाले सुनाए ।
डिभिजन वन कार्यालय म्याग्दीको अभिलेखअनुसार जिल्लामा उत्पादन हुने ३० क्विन्टल रातो च्याउमध्ये २० क्विन्टल त गुर्जामै मात्र उत्पादन हुन्छ । गुर्जाको रुखाचौर, इङ्ले, खोलाखर्क, लगवाङ, ताम्जा, फेसताङलगायत जंगलमा रातो, गुच्ची र खुत्तेच्याउ पाइन्छ । यार्चागुम्बा भने चुरेन, पुथा, गुर्जा र धौलागिरि हिमाल फेदीका बुक्यान क्षेत्रमा पाइन्छ ।
धवलागिरि गाउँपालिका—१ गुर्जाका वडाध्यक्षका अनुसार गुर्जाबाट यार्चागुम्बा, रातो, गुची, खुत्तेच्याउ, कटुकी, पदमचाल, पाँचऔँले, सिलाजित, विष, सतुवासमेत तीन दर्जनभन्दा बढी जडीबुटी निर्यात गरी बार्षिक सरदर ८० लाख बढी भित्रिने गरेको छ ।
डिभिजन वन कार्यालय म्याग्दीको पछिल्लो ५ वर्षयताको अभिलेखअनुसार पनि जिल्लाबाट संकलन र निकासी हुने रातो च्याउ, यार्चागुम्बा, सतुवा, निरमसी, विषजरालगायत बहुमूल्य जडीबुटीको उत्पादन घट्दै पाइएको हो । कपडा बुन्ने धागो बनाउने अल्लो प्रजाति सबैभन्दा बढी उत्पादन घट्ने वनस्पतिमा परेको छ ।
यो सामग्री हाम्रो पुन: प्रकाशन नीतिअनुसार तपाईँले पनि आफ्नो सञ्चार माध्यममा प्रकाशन गर्न सक्नुहुने छ । पुन: प्रकाशन नीति यहाँ छ ।
टिप्पणीहरू