नेभिगेसन
आमाबाबुले नै यौन व्यवसायमा धकेल्छन् बादी किशोरीलाई Sonam Lama सोमबार, असार ३१, २०८१

सन् २०१६ मा भारतको पुनेस्थित एउटा बारबाट उद्धार हुँदा नमिता बादी (परिवर्तित नाम) १६ वर्षकी मात्र थिइन् । उद्धार हुँदा उनले बारमा काम गरेको २ वर्ष भइसकेको थियो । उनी कैलालीको सत्तीस्थित घर छाडेर आमाबुबासँग टिकुनियाबाट मथुरा हुँदै भारतको मुम्बई पुगेकी थिइन् ।

investigation-1719398034.png“मसँग परिवारको पछि लाग्नु र उहाँहरूले चाहेको काम गर्नुबाहेक अर्को विकल्प थिएन, सुरुमा श्रमिक भएर काम गरेँ, तर टिक्न गाह्रो भएपछि यौन व्यवसायमा लागेँ,” उनले सुनाइन् । उनलाई उद्धार गरेर सत्तीमा ल्याउनुअघि केही महिना माइती नेपालको आश्रयस्थलमा राखिएको थियो ।

सन् २०१८ मा आमाको निधन भएपछि नमिताले फेरि आफूलाई विकल्पविहीन ठानिन् र भारत फर्केर यौन व्यवसायमै लागिन् । जब कोभिड–१९ को महामारी सुरु भयो त्यसपछि त पछाडि फर्कने स्थिति नै रहेन ।

बाँच्नका लागि यौन व्यवसायलाई अपनाउने उनको समुदायले आफ्ना जवान छोरीहरूलाई चाहेर वा नचाहेरै पनि यौन व्यवसायमा धकेल्नु सामान्य थियो । “एकपटक पासोमा परेपछि उम्किन धेरै नै मुस्किल पर्छ, एउटा दलदल जसले अँठ्याएर राख्छ,” नमिताका यी शब्दले यस्तो परिस्थितिमा परेकाहरूले सामना गरेको कठोर वास्तविकतालाई प्रतिविम्बित गर्छ ।

एउटा अप्रिय विगत भोगेकी मालती बादी (परिवर्तिन नाम) आफ्ना आमा बुबालाई जिम्मेवार ठान्छिन् । उनले १२ वर्षकै उमेरमा भारतीय बजारको चमकधमक देखेकी थिइन् । जहाँ उनी आफ्नी काकीसँग पुगेकी थिइन्, पछि उनै काकीले कुनै एउटा दुर्गम गाउँमा उनलाई बेचिदिइन्, त्यहीबाट उनको उद्धार भयो । उद्धारपछि उनले नेपालमै घरजम गरेकी छन् । तर बिहे भएको ५ वर्ष बितिसक्दा पनि उनी पतिले आफ्नो नामबाट नागरिकता बनाइदिन्छन् कि दिँदैनन् भन्नेमा पक्का छैनन् ।

IMG_1419-1720773814.JPG
मालती बादी र उनकाे महेन्द्रनगरमा रहेको कोठा । तस्बिर : सोनाम लामा/निमजिन

मालती परिवारका सदस्यलाई सम्झन खोज्दा १२ वर्षको कोमल उमेरमा भोग्नुपरेका यातनाहरूका शृंखला मात्रै आफ्नो स्मृतिमा आउने सुनाउँछिन् । त्यतिबेला उनी काकीबाट भारतमा बेचिएकी थिइन् । “मलाई अझै पनि विश्वास छैन कि केही पैसाका लागि मलाई काकीले बेचिन् भनेर,” उनी सुस्केरा हाल्दै थप्छिन्, “वास्तवमै मलाई पढ्न भनेर भारत लागिएको थियो, तर म भारतमा एउटा घरमा काम गर्न पुगेँ, मैंले घर धनीसँग तलब मागेँ, उनीहरूले मलाई ‘तिमी सानै छौ, पैसा राख्न सक्दिनौ भनेर तिम्रो तलब काकीलाई दिएका छौँ’ भने ।”

मालतीले थप बोल्न खोजिन्, तर धेरैपटक यातना पाउँदा बेहोस भएकाले र उमेर पनि सानै भएकाले त्यति धेरै सम्झन सकिनन् ।

मानव बेचबिखनविरुद्ध काम गर्ने गैरसरकारी संस्था थ्री एन्जल्सकी बेलु नेपालीका अनुसार नेपाल–भारत सीमाको गड्डाचौकीबाट उद्धार गरेपछि मालतीले राम्रो सम्बन्ध छैन भन्दै आफ्नै बाबुलाई पहिचान गर्न अस्वीकार गरिन् । एक हप्ताको परामर्श र सोधपुछपछि मालतीले सम्झन सक्ने सबै विवरण दिइन् । मालतीले आफू बेचिएको घरमा राति दूधमा लागूऔषध मिसाएर खुवाएपछि आफू बेहोस भएको जानकारी दिएको बेलु सम्झन्छिन् । “शरीरभरि चोट र पीडा लिएकी उनले केही घण्टापछि बौरिएको बताइन्,” बेलुले भनिन्, “उनीहरूले घरमा र बाहिर दुवै ठाउँमा उनलाई प्रयोग गरे ।”

IMG_1531-1720776750.JPG
त्रिनगरमा रहेको प्रहरीको चेकपोस्टसँगै रहेको थ्री एन्जल्सको चेकपोस्ट । तस्बिर : सोनाम लामा/निमजिन

राष्ट्रिय जनगणना २०७८ अनुसार देशभरमा बादी समुदायको जनसंख्या ११ हजार ४ सय ७० छ  । जसमा ५ हजार ९ सय ९२ महिला छन् । सामुदायिक सशक्तीकरण तथा रूपान्तरण (कमिट) नेपालले २०७६ मा गरेको एक अध्ययन अनुसार ५ प्रतिशत मात्रै बादी महिला यौन व्यवसायमा संलग्न छन् । तर समाजले पूरै बादी समुदायलाई यौन व्यवसायी मान्छ ।

यो तितो सत्य हो कि,  अल्पसंख्यक र सिमान्तकृत समुदायमा पर्ने बादी महिलाकोमा ग्राहक बनेर पुरुषहरू आउँछन्, बादी महिलालाई उपयोग गर्छन्, गर्भवती बनाउँछन् र टाढिन्छन्, तर बादीहरू नै कलंकित बनेर समाजको घृणा सहन बाध्य छन् । “इमानदार भएर भन्नुपर्दा यौनकर्मी नहुँदा पनि हामीलाई यौनकर्मीका रूपमा लिइन्छ, देशभित्र र बाहिरबाट आउने ग्राहकका कारण यौन व्यवसाय फस्टाउँदै गएको भए पनि हामीलाई नै कलंकित र दुर्व्यवहार गर्नु अमानवीय छ,” स्मिता बादी भन्छिन् । राजापुरकी ३६ वर्षको उनी यौन व्यवसायमा लाग्दा २२ वर्षकी थिइन् ।

IMG_1102-1720774164.JPG
राजापुरमा हामीसितको कुराकानीमा स्मिता बादी । तस्बिर : सोनाम लामा/निमजिन

नाकाबाटै ओसारपसार

कैलालीको गौरीफन्टा नाकाबाट ओहोरदोहोर हुने सवारीसाधनमा एक्लै वा आफन्तसँग नाका पार गरिरहेका युवतीहरूप्रति कृष्णमाया रुम्बाले चनाखो भएर नजर लगाइरहेकी हुन्छिन् । सम्भावित मानव बेचबिखनका घटना रोक्नका लागि खटिएका प्रहरी र गैरसरकारी संस्थाका प्रतिनिधिका लागि यो नाका निक्कै संवेदनशील छ । रुम्बाले जाँच चौकीबाट गुज्रने हरेक सवारीसाधनलाई राम्ररी जाँच गर्ने र सीमा पार हुने युवतीसहित अन्य मानिसको अभिलेख राख्ने काम गर्छिन् ।

“आफन्त वा एक्लै यात्रा गरिरहेका उमेर पुगेका युवतीहरूका बाबुआमालाई टेलिफोनमा सोधपुछ गरी यकिन गरेर मात्र जान दिन्छौं, उनीहरू कसैसित जाँदै छन् भने उद्धार टोलीले रोकेर नाता खुल्ने कागजात माग्छ,” रुम्बा भन्छिन् ।

यो नाकाबाट हरेक दिन धेरै बादी युवतीहरू नाका वारपार गर्छन्, रुम्बा आफ्नो नियमित काममा हुन्छिन् । उनले युवतीहरूसँग आवश्यक कागजात तथा प्रमाणहरू माग्छिन्, यकिन गर्नका लागि परिवारका सदस्यलाई फोन गर्छिन् ।

“बादी महिलाहरूले यौन व्यवसायकै लागि सीमा पार गरेको बताउँछन्, उनीहरूसँग नाबालिग छोरीहरू पनि हुन्छन्, आमाबुबासँगै नाकामा ओहोरदोहोर हुने हुँदा उनीहरूलाई रोक्न र सोधपुछ गर्न पाइँदैन, यो साह्रै नै दुःखद् हो,” रुम्बा भन्छिन् ।

IMG_1540-1720774853.JPG
माइती नेपालकी कृष्णमाया रुम्बा गौरीफन्टा नाकामा निगरानी गर्दै । तस्बिर : सोनाम लामा/निमजिन

बेलुले भारतको रेड लाइट एरियाबाट उद्धार गरेकामा धेरै गैरदलित पनि छन्, तर गैरदलित र माथिल्ला दलितहरूबाट नै बादीहरूलाई कलंकित बनाइएको छ । “तपाईँ बादी हुनुहुन्छ भने पहिल्यै यौन व्यवसायी भइसक्नुहुन्छ,” उनी भन्छिन् । कैलालीबाट दैनिक हजारौं बादी युवतीहरू बेचबिखनमा परेर भारतको यौन बजारमा पुग्छन् । यसरी भारत पुग्नेमा गैरदलित पनि उत्तिकै हुन्छन् ।

बेचबिखनको तौरतरिकामा परिवर्तन भएको छ । खरिदकर्ता र तस्करहरूले सम्भावित पीडितलाई लोभ्याउनमा मोबाइल फोनको प्रयोग गर्छन् । तस्करहरूले केही समयमै बलियो नेटवर्क विस्तार गरेका छन्, एउटा निश्चित ठाउँमा पुगेपछि तस्करी गर्ने मान्छे फेरिँदै पीडितलाई गन्तव्यमा पुर्‍याउने गरेका छन् । फलस्वरूप खरिदकर्ता पक्राउ परे पनि मानव बेचबिखनको यो संगठित अपराधको जालोलाई ध्वस्त पार्न सकिँदैन ।

IMG_1526-1720775070.JPG
थ्री एन्जल्सकी प्रतिनिधि सीमा पार गर्नेको विवरण देखाउँदै । तस्बिर : सोनाम लामा/निमजिन

“नाका पार गराएमा दलालले प्रतिव्यक्ति १० हजार पाउने हाम्रो अनुमान छ,” माइती नेपाल धनगढीका संयोजक शिवचरण चौधरी भन्छन्, “हामीले सन् २०२३ मा १६६ जनाको उद्धार गरेका थियौँ, तर अदालतमा एउटा मात्र मुद्दा परेको छ ।”

सन् २०२१/२०२२ मा थ्री एन्जल्सले १ हजार १६ जनाको उद्धार गरेको छ । जसमध्येका ६४ जना महिलालाई सुरक्षित घरमा पुर्‍याइयो । यो तथ्यांकले भविष्यमा फेरि बेचबिखनमा पर्ने खतरामा रहेकाहरूलाई छोटो समयका लागि मात्र जोगाइएको देखिन्छ ।

बेचबिखनका घटना बढ्दै गए पनि अभिभावक तथा परिवारका सदस्य आफैँ यो जघन्य अपराधमा संलग्न भएकाले पीडितहरूले कानुनी उपचार पाउन सकेका छैनन् ।

बादी समुदायका सानै उमेरका किशोरीहरूलाई बेचबिखन गर्ने र यौन व्यवसायमा धकेल्ने खतरा बढी हुन्छ । परिवारकै सदस्यले बेचबिखन गर्ने मात्र नभई जबर्जस्ती यौन व्यवसायमा लगाउने तर पीडितले कानुनी उपचार नपाउने वा पीडितले न्याय नपाई मुद्दामा मिलापत्र हुने हुँदा स्थिति झनै खराब हुने गर्छ । यस्तो स्थितिमा पीडितहरू नै शत्रु ठानिन्छन् ।

IMG_1465-1720775693.JPG
ब्रम्हदेव नाकाको चेकपोस्ट । तस्बिर : सोनाम लामा/निमजिन

नेपाल र भारतका धेरै नाकामध्ये महेन्द्रनगरका गड्डाचौकी र ब्रह्मदेव दुइटा व्यस्त नाका हुन् । यी नाका नै तस्करहरूले प्रयोग गर्ने मुख्य नाका पनि हुन् । गौरीफन्टा नाकामा रुम्बाले जाँच गरेजस्तै बेलुले कञ्चनपुरको गड्डाचौकीमा नाका पार गर्ने युवती र उनीहरूसँग यात्रा गर्ने व्यक्तिमाथि नजर लगाइरहेकी हुन्छिन् । युवतीहरू किन भारत जाँदै छन् भनेर सोधपुछ गर्छिन्, सँगै जाने पुरुष भएमा नाता प्रमाणित हुने कागजात माग्छिन्, युवतीहरूले जे कामका लागि जाँदै छु भन्छन् त्यो हो कि होइन भनेर यकिन गर्न उनीहरूका परिवारलाई फोन पनि गर्छिन् ।

भारतको वनबासा हुँदै मुम्बई र दिल्ली पुग्न यी दुई नाका नै पायक छन् । “यहाँ धेरै साना बाटाहरू पनि छन्, जहाँ २४ घण्टै गस्ती सम्भव छैन, यी साना बाटाहरू तस्करले भाग्नका लागि प्रयोग गर्छन्,” बेलु भन्छिन् ।

IMG_1509-1720775362.JPG
बेलु नेपाली आफूले उद्धार गरेका महिलाहरूको तस्बिर देखाउँदै । तस्बिर : सोनाम लामा/निमजिन

गौरीफन्टा नाकामा कार्यरत सशस्त्र प्रहरी बलका गोविन्द जोशी तस्करहरूको सञ्जाल धेरै नै बलियो भएको र उनीहरूले आफ्नो मोबाइलबाट सबै अपडेट लिने गरेको बताउँछन् ।

गौरीफन्टा नाकाबाट मानव ओसारपसार गर्ने अधिकांश तस्करहरू वन गाउँमा बस्ने र त्यहीं उनीहरूले युवतीहरूलाई भेट्टाउने गरेको खुलेको छ । त्यहाँबाट दिल्ली वा मुम्बई जानुअघि उनीहरू उत्तरप्रदेशको पलियामा पुग्छन् । “अहिले सीमा क्षेत्रमा गस्तीका लागि गैरसरकारी संस्थाहरूले खटाएको टोलीले तस्करीका धेरै सम्भावित घटनाहरू रोक्न मद्दत गरेको छ तर यसलाई व्यवस्थित र दिगो बनाउन स्थानीय सरकारबाटै यस्तो प्रयास थाल्नुपर्छ,” जोशी थप्छन् ।

IMG_1516-1720776386.JPG
गौरीफन्टा नाकाको प्रहरी चेकपोस्ट । तस्बिर : सोनाम लामा/निमजिन

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार बेचबिखनमा परेका नागरिकको उद्धार र पुनर्स्थापनाको जिम्मेवारी सरकारको भए पनि पीडितको सुरक्षाका लागि कुनै संयन्त्र कार्यान्वयनमा छैन । बादी किशोरीहरू यो अर्थमा बढी जोखिममा छन्, जुनसुकै प्रयोजनका लागि भए पनि आमाबाबुसँग उनीहरू सीमा पार गर्दै छन् भने उनीहरूलाई कसैले पनि प्रश्न गर्दैनन् । राष्ट्रिय जनगणना २०७८ अनुसार कैलालीमा ७ सय ९१ जना र कञ्चनपुरमा २ सय ३९ जना बादी महिला छन् ।

बाबुआमाबाहेक अरूसँग यात्रारत भएमा मात्रै सीमामा खटिएका गस्ती टोलीले सोधपुछ गर्छ । सँगै जाने व्यक्तिबाट बेचबिखनमा पर्ने जोखिम नभएमा मात्रै उनीहरूलाई सीमा पार गर्न अनुमति दिइन्छ । रुम्बा गौरीफन्टा नाकाबाट आमाबाबुसँग यात्रा गर्ने बादी नाबालिगलाई रोक्न गाह्रो परेको बताउँछिन् । “बादी युवतीहरूले आमाबुबाको स्वीकृति लिएर यौन व्यवसायमा जान लागेको स्विकार्छन् । तर नाबालिगहरू उनीहरूका आमाबुबासँग छन् भने हामीले धेरै छानबिन गर्न सक्दैनौँ,” रुम्बा भन्छिन् । 

Read our Republishing Policy here.

टिप्पणीहरू