आयोडिनयुक्त नुनको गुणस्तरीयताको अवस्थाको अध्ययन गरी सम्बन्धित निकायहरूसहितको एक संयुक्त कार्यदल यथाशीघ्र गठन गरी प्रतिवेदन यथाशीघ्र उपलब्ध गराउन संसदीय समितिले निर्देशन दिएको छ ।
--- ---
संसदीय समितिले नुनमा हुनुपर्ने आयोडिनको मात्रा तय गर्नका लागि छुट्टै कार्यदल बनाएर प्रतिवेदन पेस गर्न सरकारलाई निर्देशन दिएको छ ।
असार २६, २०८२ मा बसेको प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले आयो नुनमा आयोडिनको मात्रा धेरै भएको भन्दै मात्रा तय गर्नका लागि कार्यदल बनाउन भनेको हो । समितिको निर्णयमा भनिएको छ, “हाल सञ्चालनमा रहेको आयोडिनयुक्त नुनको गुणस्तरीयताको अवस्थाको अध्ययन गरी सम्बन्धित निकायहरूसहितको एक संयुक्त कार्यदल यथाशीघ्र गठन गरी समितिलाई जानकारी गराउन र समितिमा प्रतिवेदन यथाशीघ्र उपलब्ध गराउन वाणिज्य तथा आपूर्ति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिने ।”
नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिजम नेटवर्क (निमजिन) ले सातै प्रदेशबाट आयो नुनको नमुना संकलन गरी प्रयोगशाला परीक्षण गरेर आयोडिनको मात्रा बढी रहेको र यसले थाइराइडलगायतका रोगको जोखिम बढेको खुलासा गरेको थियो । त्यसपछि नुनमा हुन गरेको आयोडिनका बारेमा बहस सुरु भएको छ ।
त्यसै क्रममा समितिले राखेको छलफलमा सरकारले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा दुईवटा आयो नुनको आयोडिन परीक्षण रिपोर्टसमेत पेस गरेको थियो । विभागले जारी गरेको रिपोर्टअनुसार एउटा नमुनामा ४८.५ र अर्को नमुनामा ४७.८ पीपीएम आयोडिन पाइएको छ । निमजिनले माघ, २०८१ म गरेको परीक्षणमा भने ५२.२ पीपीएमसम्म आयोडिन पाइएको थियो ।

समितिको बैठकमा नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले समितिमा सरकारले उपलब्ध गराएकोे रिपोर्टमा विश्व स्वास्थ्य संगठनले तोकेको भन्दा बढी आयोडिन देखिएको भन्दै आयोडिनको मापदण्ड सच्याउन माग गरेका थिए । गलगाँड नियन्त्रण गर्न सरकारले २०५७ सालमा तोकेको मापदण्डअनुसार उपभोक्ताको भान्सामा पुग्दा नुनमा ३० पीपीएम आयोडिन हुनुपर्छ । यो मात्रा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेको मात्र नभएर हाम्रै छिमेकी देश भारतको भन्दा दोब्बर बढी हो ।
“डब्लूएचओले नुनमा आयोडिनको मात्रा १५–४० पीपीएम हुनुपर्ने भनेको छ । आज हामीलाई वितरण गरेको नुनको रिपोर्टमा त ४८.५ र ४७.८ पीपीएम आयोडिनको मात्रा देखाइएको छ । यो त डब्लूएचओले तोकेको भन्दा बढी छ । के नेपालीलाई जस्तो नुन खुवाए पनि हुन्छ भन्ने हो ?” उनले प्रश्न गरे ।
नुनमा हुनुपर्ने आयोडिनको मापदण्ड सच्याउन ढिला गर्न नहुनेमा सांसद श्रेष्ठले जोड दिए ।
बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले पनि यो नतिजा विश्व स्वास्थ्य संगठनले तोकेको भन्दा बढी भएको समितिमा जानकारी गराए ।
नेपालीले आवश्यकभन्दा बढी नुन खाइरहेको पनि उनले बताए । “खानुपर्ने ५ ग्राम हो, तर ९ ग्राम खाइरहेका छौँ, त्यो पनि डब्लूएचओले तोकेको भन्दा बढी आयोडिन भएको नुन छ,” उनले भने ।
नेपालको मापदण्ड नै उद्योगमा घटीमा ५० पीपीएम भनेकाले सच्याउन जरुरी रहेको उनले बताए । उनले भने, “१५–४० पीपीएम हुनुपर्नेमा त्योभन्दा बढी भएकाले अब नियमन गर्नुपर्छ, घटाउनुपर्छ ।”
सन् २०१६ मा पनि बालबालिकाको पिसाब जाँच गर्दा बढी आयोडिन पाइएको डा. विकासले समितिमा जानकारी गराए ।
नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले आयो नुनमा आयोडिन बढी भएपछि काठमाडौंमा रहेका आफन्तले नेपालगन्जको रुपैडियाबाट ढिके नुन ल्याउन लगाउने गरेको बताइन् । “हामी अहिले आयो नुनको चर्चा गर्दै छौँ, उपभोक्ताले के खाइरहेका छन्, एक पटक असनमा अनुगमन जाऔँ,” उनले भनिन्, “अरूको त कुरा छाडौँ, मेरो आफन्त थाइराइडको बिरामी हुनुहुन्छ, उहाँले मलाई रुपैडिहा (नेपालगन्जपारिको भारतीय बजार) बाट ढिके किनेर ल्याउनू भन्नुहुन्छ, मैले प्लेनमा लिएर आउने गरेको छु ।”
बैठकमा उनले निजमिनले सातै प्रदेशबाट नुन संकलन गरेर आएको नतिजा पनि जानकारी गराउँदै मापदण्ड सच्याउनुपर्नेमा जोड दिएकी थिइन् । “सातै प्रदेशको नुन परीक्षण गर्दा पनि उत्पादन स्थलमा हुनुपर्ने आयोडिनको मात्रा उपभोगको भान्सामा रहेको देखिएको छ,” उनले भनिन्, “डब्लूएचओले तोकेको मापदण्डअनुसार गर्ने जिम्मेवारी सरकारको हो कि नागरिकको हो ? हाम्रोभन्दा भारतमा कम मापदण्ड छ । हाम्रोमा मात्रै बढी कसरी भयो ?”
नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले आयोडिन आवश्यकताभन्दा बढी भएर स्वास्थ्यमा असर परेको सुन्नमा आएको भन्दै यसबारे जानकारी माग गरेका थिए ।
कांग्रेसकी सांसद रमा कोइरालाले नुनको कारण थाइराइड बढेको चिकित्सकहरूले बताउने गरेकाले मापदण्ड सच्याउनुपर्ने बताइन् । उनले भनिन्, “मलाई पनि स्वास्थ्यमा असहज हुँदा ढिके नुन खोजेर खान्छु । सरकारले आयो नुनका बारेमा क्लियर गर्नुपर्र्छ ।”
कांग्रेसकै सांसद सांसद सीता मिजारले सरकारले नुनका बारेमा स्पष्ट जानकारी दिन नसक्दा घरमा कुन नुन खाने भन्ने अन्योल रहेको बताइन् । “घरका नुन खाने विषयमा झगडाको विषयसमेत बनेको छ,” उनले भनिन्, “सिधे, ढिके र आयोडिन कुन खाँदा स्वास्थ्यलाई फाइदा हुन्छ, सरकारले स्पष्ट पार्नु जरुरी छ ।”
बैठकमा सांसदहरूले कम आयोडिन खान चाहनेले ढिके र सिदे नुन खाने गरेको बताए पनि निमजिनले गरेको परीक्षणमै ढिके र सिदे नुनमा पनि आयोडिनको मात्रा पाइएको थियो ।
निमजिनले माघ, २०८१ म विभागको प्रयोगशालामा गराएको परीक्षणमा ढिके नुनमा ३२.७ पीपीएम तथा भक्तपुरमा रहेको निजी क्षेत्रको जेष्ठ ल्याबमा जेठ, २०८२ मा गराएको सिदे नुनको परीक्षणमा २७.१७ पीपीएमसम्म आयोडिन पाइएको थियो ।
यो सामग्री पुन: प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो पुन:प्रकाशन नीति अनुसार प्रकाशन गर्नुहोस् । पुन: प्रकाशन निर्देशिका यहाँ छ ।