Navigation
बजारमा थरीथरीका नुन, अलमलमा उपभोक्ता Makar Shrestha | Jun 11, 2025

काठमाडौं बानेश्वरकी नविना न्यौपानेले असनको एउटा पसलमा पाँच किलो सिधे नुन अर्डर गर्दा त्यही पसलका अरू ग्राहकले प्रश्न गरे, “यतिको नुन किन नि ?”

investigation-1719398034.pngउनले हत्तपत्त जवाफ फर्काइन्, “अहिले आयो नुनमा आयोडिन धेरै छ रे नि त, हामीले त एक वर्षदेखि यही नुन खाइरहेका छौँ, बजार आएको बेला एकै पटक लगेर राख्ने गरेका छौँ ।” 

उनी धूलो नबनाएको ढिक्के सिधे नुन किन्न बानेश्वरबाट असन पुगेकी थिइन् । “सबैतिर नपाइने भएकाले हामी सिधे नुन किन्न असनमै आउने गरेका छौँ,” उनले भनिन् । 

नुन किन्नुअघि उनी ढिके लैजाने कि सिधे भन्नेमा अलमलमा परिन् । आफन्तलाई फोन गरिन् । अनि असनबाट इन्द्रचोकतर्फ जाने मोडमा रहेको उमेश जयसवालको पसलबाट उनले पाँच किलो सिधे नुन किनिन् । “घरका सदस्य थाइराइड, प्रेसरका रोगी भएकाले पनि यो नुन प्रयोग गरिरहेका छौँ,” उनले भनिन् । 

नविनालाई नुन बेच्ने व्यापारी उमेशले आफूले पनि सिधे नुन खाने गरेको ग्राहकलाई बताउने गरेका छन् । 

आयो नुनमा आयोडिनको मात्रा उच्च भएको भन्दै उपभोक्ताहरूले भान्सामा नुन परिवर्तन गरिरहेका छन् । नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (निमजिन) ले सातै प्रदेशबाट आयो नुनको नमुना संकलन गरेर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परीक्षण गर्दा आयोडिनको मात्रा सरकारले तोकेको मापदण्डभन्दा बढी पाइएको थियो । माघ, २०८१ मा गरेको परीक्षणमा ढिके नुनमा पनि मापदण्डभन्दा बढी आयोडिन पाइएको थियो । 

कतिपय चिकित्सकले आयो नुनमा सोडियम क्लोराइड पनि बढी हुने भन्दै त्यसको विकल्पमा सिधे नुन तथा ढिके नुन खान सुझाव दिने गरेका छन् ।

सामाजिक सञ्जाल र मिडियामा आउने नुनसम्बन्धीका समाचार र जानकारीले उपभोक्ता आयो नुन, ढिके र सिधेमध्ये कुन नुन प्रयोग गर्ने भन्नेमा अन्योल छन् । यही अन्योलको स्थितिलाई प्रस्ट पार्नका लागि निमजिनले आयो नुन, सिधे नुन र बिरे नुनमा आयोडिन र सोडियम क्लोराइड के कति मात्रामा छ भन्नेबारे प्रयोगशाला परीक्षण गरेको छ । परीक्षणमा सिधे नुनमा पनि आयोडिन पाइएको छ तर त्यो आयोडिनको मात्र आयो नुनमा भन्दा कम छ । सोडियम क्लोराइड भने आयो नुन र सिधे नुनमा बराबरजस्तै छ । 

आयो नुन आयात तथा बिक्रीवितरणको एकाधिकार साल्ट ट्रेडिङ कर्पोरेसनसँग छ भने अन्य व्यवसायीले ढिके नुन, सिधे नुन र बिरे नुन आयात तथा बिक्रीवितरण गरिरहेका छन् ।

भन्सार विभागको पछिल्ला केही वर्षको तथ्यांक हेर्दा पनि सिधे नुनको कारोबार उच्च छ । व्यापारीहरू पनि सिधे नुनको प्रयोगकर्ता ह्वात्तै बढेको बताउँछन् । “पाँच वर्षअघि दिनमा चार/पाँच किलो पनि बिक्न गाह्रो थियो,” असनमा सिधे नुनको व्यापार गर्दै आएका उमेश भन्छन्, “अहिले कम्तीमा पनि दैनिक १५/२० केजी व्यापार हुन्छ ।” कुनै दिन त ५० केजीसम्म सिधे नुन बिक्री हुने गरेको उनको अनुभव छ । 

ढिके नुन फाट्टफुट्ट पसलमा बिक्री हुने भए पनि काठमाडौंको असनमा किराना सामान राखेको प्रायःजसो पसलबाट सिधे नुन बिक्री हुन्छ । “अहिले आयो नुनभन्दा सिधे नुन बढी बिक्री हुने गरेको छ,” असनकै व्यापारी सुरेश श्रेष्ठले भने । 

सिधे नुनकै व्यापार गर्दै आएका भक्तपुर राधेराधेका दुधेश्वरी जुस एन्ड फ्रुटका सञ्चालक डबल गुरुङ पनि सिधे नुनको माग उच्च रहेको बताउँछन् । बजारमा खुला पाइने यो नुन उनले प्याकिङ गरेर प्रति केजी २ सय १० रुपैयाँमा बेच्ने गरेका छन् । 

सिधेमा पनि आयोडिन 

आयोडिन र सोडियम क्लोराइड कम हुने भन्दै उपभोक्ताले सिधे नुन खाइरहेको पाएपछि निमजिनले यसमा हुने आयोडिन र सोडियम क्लोराइडको मात्रा परीक्षण गरेको हो । 

भक्तपुरमा रहेको जेष्ट ल्याबमा नमुना परीक्षण गर्दा सिधे नुनमा आयोडिन पाइयो । तर आयोनुनको तुलनामा सिधे नुनमा आयोडिनको मात्रा कम छ । सिधेको तीनवटा नमुना परीक्षण गर्दा भक्तपुरबाट संकलन गरेको प्याकिङ गरेको सिधे नुनमा १९.८७ पीपीएम आयोडिन पायौँ । 

Rock-Salt-test-report-NIMJN-Zest-lab-1749650029.jpg

त्यस्तै असनबाट लिएको ढिके सिधे नुनको नमुनामा २७.१७ पीपीएम आयोडिन पाइएको छ । असनबाटै लिएको मसिनो (गहुँको दाना जस्तो) बनाएर प्लास्टिकमा प्याक गरेको सिधे नुनमा भने ११.७४ पीपीएम आयोडिन पाइएको छ । बिरे नुनमा आयोडिन पाइएन ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नुनमा १५ पीपीएम आयोडिन हुनुपर्ने भनेको छ । तर नेपाल सरकारले भने त्यसको दोब्बर बढी ३० पीपीएम आयोडिन हुनुपर्ने मापदण्ड बनाएको छ । 

निमजिनले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा गत माघको अन्तिम हप्तामा गरेको परीक्षणमा आयो नुनमा सरकारले तोकेको मापदण्डभन्दा पनि बढी ५२.२ पीपीएम आयोडिन पाइएको थियो । 

मुटु रोग विशेषज्ञहरूले ब्लड प्रेसर (रक्तचाप) बढाउने एउटा कारण नुनमा हुने सोडियम क्लोराइड भएको बताउने गरेका छन् र उनीहरूले आयो नुनको सट्टामा सिधे नुन खान सुझाव दिने गरेका छन् । त्यसैले हामीले आयो नुन, सिधे र बिरे नुनमा सोडियम क्लोराइडको मात्रा पनि परीक्षण गर्‍यौँ । 

परीक्षणबाट सिधेमा ९८.१३, बिरेमा ९२.५० र आयोनुनमा ९८.७४ प्रतिशत सोडियम क्लोरोराइड पाइएको छ । जुन सरकारले तोकेको मापदण्डअनुसार नै हो । सरकारले माघ २३, २०५७ मा जारी गरेको मापदण्डअनुसार नुनमा सोडियम क्लोराइडको मात्रा ९६ प्रतिशतभन्दा कम हुनु हुँदैन । “बिरे नुनबाहेक अरु नुनमा मापदण्डभन्दा कम सोडियम क्लोराइड भएको पाइएन,” जेष्ट ल्याबकी म्यानेजिङ डाइरेक्टर शोभा बस्नेतले भनिन्, “आयो नुन र सिधे नुनमा सोडियम क्लोराइड उस्तै पायौँ ।”

माघमा हामीले संकलन गरेको आयो नुनको नमुनामा आयोडिनको मात्रा परीक्षण गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यस पटक सिधे नुन र बिरे नुन परीक्षण गर्न अस्वीकार गर्‍यो । त्यसैले हामीले भक्तपुरमा रहेको निजी प्रयोगशाला जेष्ट ल्याबमा नमुना परीक्षण गर्‍यौँ ।

त्यसका लागि हामीले धेरैजसो उपभोक्ताले खरिद गर्ने असनबाट ढिका र प्याकिङ गरेको मसिनो दानाको सिधे नुन खरिद गर्‍यौँ । असनबाटै ढिके नुन र बिरे नुनको नमुना पनि लियौँ । 

भक्तपुरको मध्यपुर थिमीमा रहेको दुधेश्वरी जुस एन्ड फुडबाट ढिकेलाई धूलो बनाएर लेबलसमेत लगाएको सिधे र बिरे नुनको नमुना लिएका थियौँ । जुन नमुनाहरू हामीले परीक्षण गरेका हौँ । 

नुनपिच्छे फरक गुणस्तर

२०५५ सालमा जारी भएको आयोडिनयुक्त नुन (उत्पादन तथा बिक्री वितरण) ऐन निमजिनले गरेको अघिल्लो रिपार्टिङका आधारमा सरकारले कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ । ऐनको दफा १४ को उपदफा ३ मा आयोडिनयुक्त वा आयोडिन नभएको नुनको उत्पादन, पैठारी, आपूर्ति तथा बिक्रीवितरण गर्न नहुने र गरेमा कारबाही गर्ने अधिकार बजार निरीक्षकलाई दिइएको छ । 

Pink-Salt-also-called-Sidhe-nun-1749625697.jpg
यसरी ढिक्कामा आउने सिधे नुनलाई व्यापारीहरूले आवश्यकता अनुसार मसिनो पारेर बेच्ने गरेका छन् । तस्बिर : मकर श्रेष्ठ/निमजिन

ऐनअनुसार आयोडिनयुक्त नुन भन्नाले ९६ प्रतिशत सोडियम क्लोराइड भएको धूलो वा दानादार ठोस अवस्थामा भएको हुनुपर्छ । यो सेतो, फिक्का गुलाबी, कैलो रंगको भए देखिने गरी माटो, गिर्खा, ढुंगा, फोहोरमैला नमिसिएको हुनुपर्ने ऐनमा उल्लेख छ । 

नुनमा हुनुपर्ने अन्य गुण भने स्वास्थ्य सचिव अध्यक्ष रहेको आयोडिन अभावजन्य विकार निवारण समितिले तोक्नुपर्ने हुन्छ । 

अहिले कायम भएको मापदण्ड गलगाँड नियन्त्रण गर्न २०५७ सालमा कृषि मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जारी गरेको हो । 

साउनदेखि ऐन लागू भएमा स्वास्थ्य सचिवको संयोजकत्वमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उद्योग वाणिज्य महासंघ, नुन आयात गर्ने संस्था, दुई जना विज्ञ, उपभोक्तासहितको समिति सक्रिय हुनेछ । यही समितिले नुनमा हुनुपर्ने गुणस्तर तोक्नेछ । 

२०५७ सालको मापदण्डअनुसार आयोडिनको मात्र उद्योगमा कम्तीमा ५० पीपीएम, भान्सामा पुग्दा ३० पीपीएम हुनुपर्ने उल्लेख छ । यो मापदण्ड विश्व स्वास्थ्य संगठनले तोकेको भन्दा तीन गुणा बढी हो । निजमिनले माघ, २०८१ मा गरेको नमुना परीक्षणका क्रममा आयो नुनमा आयोडिनको मात्रा बढीमा ५२ र कम्तीमा ३० पीपीएमम्म पाइएको थियो । पछिल्लो पटक गरेको परीक्षणमा ढिकेमा कम्तीमा ३० पीपीएम र सिधेमा ११ पीपीएमसम्म आयोडिनको मात्रा पाइएको छ । 

नेपालीको भान्सामा प्रयोग हुने नुनमा आयोडिनको मात्रा नुन पिच्छे फरक पाइएकाले सरकारले स्पष्ट मापदण्ड बनाउनुपर्ने वसन्त गिरीले बताए । वसन्त युनिभर्सिटी अफ बायोमिङ, अमेरिकाबाट रसायनशास्त्रमा विद्यावारिधि गरेर ललितपुरमा काठमाडौं एप्लाइड साइन्स एन्ड रिसर्च सेन्टर सञ्चालन गरिरहेका वरिष्ठ वैज्ञानिक एवं विश्लेषक हुन् । 

सरकारले बिक्रीका लागि अनुमति दिएको आयो नुनमा आयोडिन बढी भएको विभिन्न अनुसन्धानले देखाएको भए पनि अन्य नुन प्रयोगका बारेमा पनि सरकारले अध्ययन गरेर उपभोक्तालाई स्पष्ट जानकारी दिनुपर्नेमा उनको जोड छ । 

उपभोक्ताले थरीथरीका नुन उपभोग गर्ने भए पनि कुन खाने ? कुन नुनको विशेषता के हो ? भन्नेबारेमा सरकारले स्पष्ट पार्न नसकेको उनले बताए । 

सरकारले आयो नुनमा जस्तै सिधे नुनको आयातमा पनि भन्सार छुट दिने गरेको छ । आयो नुन प्रतिकिलो २६ रुपैयाँमा बिक्री हुन्छ भने सिधे नुनलाई कम्तीमा १ सय २० रुपैयाँ तिर्नुपर्ने हुन्छ । प्याकिङ गरेको नुनको मूल्य २ सय २० रुपैयाँसम्म निर्धारण गरेको पाइएको छ ।

“दैनिक उपभोग्य वस्तुको नियमन जरुरी छ,” वसन्त भन्छन्, “उपभोक्ताको भान्सामा जाने खाद्य पदार्थको गुणस्तर परीक्षण गर्ने र नियमन नगर्दा उपभोक्ताले बजारमा पाइने सामान खान योग्य होस् वा नहोस् खरिद गर्ने गरेका छन् ।” 

आयो नुनभन्दा सिधे नुनमा आयोडिनको मात्रा कम भए पनि प्रयोगमा सचेत हुनुपर्ने उनी बताउँछन् । “हामीले अहिले खाइरहेको आयो नुनमा आयोडिन बढी हुन सक्छ तर त्यसमा हुनुपर्ने अरू तत्त्व कति हुने यकिन गरिएको छ, संस्थागत रूपमा व्यवस्थित गरिएको छ,” वरिष्ठ वैज्ञानिक वसन्त भन्छन्, “तर, सिधे नुन कसले कहाँबाट ल्याएको हुन्छ ? स्रोत के हो ? नुनमा हुनुपर्ने तत्त्व सबै छ कि छैन ? नियमन गरिएको हुँदैन । स्वास्थ्यलाई प्रत्यक्ष असर गर्ने हेबी मेटलको मात्रा बढी पो छ कि ? जाँच गरिएको हुँदैन । कम्तीमा आयो नुनमा के खाइरहेका छौँ भन्ने थाहा त छ ।”

आयोडिनबाट जोगिन अन्य नुन प्रयोग गरे पनि सिधेलगायतका अरू नुनमा हुने हेब्बी मेटलले स्वास्थ्यलाई झन् असर गर्न सक्ने उनले बताए ।

जेष्ट ल्याबकी म्यानेजिङ डाइरेक्टर शोभा पनि सिधे नुनमा हेबी मेटलको समस्या हुन सक्ने बताउँछिन् । 

पाँच दशकअघि आयोडिनको कमीले नेपालीलाई गलगाँड आएपछि यसलाई नियन्त्रण गर्न आयोडिन मिसाइएको नुनमा सरकारले जोड दिएको थियो । गलगाँड नियन्त्रण गर्न नेपालमै आयोडाइजसमेत गरिन्थ्यो । आयोडिनयुक्त नुनकै कारण गलगाँड नियन्त्रणमा आएको सरकारको प्रतिवेदनमा उल्लेख छ । त्यसैले सरकारले अंग्रेजी महिना फेब्रुअरीलाई ‘आयोडिन मन्थ’ का रूपमा पनि मनाउने गरिन्छ । 

आयोडिनयुक्त नुन उपभोग नगर्दा हुने हानिबारे उपभोक्ताहरू सचेत हुनुपर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले बताए । “अहिले हामीले खाने नुन परिवर्तनको लहरले विगतको जस्तै गलगाँडको समस्या निम्तिन सक्छ । त्यसैले आयोडिन भएकै नुन खानु आवश्यक छ,” उनले भने । 

सरकारले पनि आयोडिनयुक्त नुनमा हुने आयोडिनको मात्राकै कारण स्वास्थ्यमा असर गरेको हो कि हैन भन्ने अध्ययन गरेर प्रस्ट पार्न सकेको छैन । उपभोक्ताले आफूखुसी भान्सामा नुन परिवर्तन गरिरहेका छन् । 

मासिक ३ लाख किलो आयात

भन्सार विभागको तथ्यांकअनुसार सिधे र बिरे नुन मासिक औसतमा ३ लाख किलोग्रामभन्दा बढी आयात हुने गरेको छ । भारत, चीन र पाकिस्तानबाट सिधे, बिरे नुन आयात हुने गरेको विभागको तथ्यांकले देखाउँछ । यो आर्थिक वर्षको ९ महिनामा २९ लाख किलो यो नुन आयात भएको छ । 

अघिल्लो आर्थिक वर्षमा ३० लाख किलो आयात भएको थियो । पछिल्लो ७ वर्षमा सिधे नुन आयात ह्वात्तै बढेको विभागको तथ्यांकले देखाएको छ । यो वर्ष २९ लाख किलोग्राम नुन आयात भएकामा कात्तिकमा सबैभन्दा कम १ लाख ३० हजार किलो आयात भएको छ भने सबैभन्दा बढी असोजमा ४ लाख ९६ हजार किलोग्राम आयात भएको देखिन्छ । 

Dr.-Prakash-Raj-Regmi-NIMJN-1749637517.jpgसबै नुन उत्तिकै जोखिम 

प्रा.डा. प्रकाशराज रेग्मी 
मुटुरोग विशेषज्ञ 

विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनअनुसार नेपालीे आवश्यकताभन्दा बढी नुन प्रयोग गर्छन् । मुटु रोग बढ्नुको एउटा कारण नुन पनि हो । हामीले खाने नुनमा रक्तचाप बढाउने सोडियम मात्रै नभई नुनमा आयोडिन पनि मिसिएर आउँछ । नुनमा हुनुपर्ने आयोडिनको मात्रा जति हुनुपर्ने हो, त्यो दोब्बरभन्दा बढी छ । 

हामीले शरीरमा चाहिनेभन्दा बढी आयोडिन खाइरहेका छौँ । यसले गर्दा थाइराइडको हर्मोनमा तल–माथि पारेको छ । थाइराइड हर्मोन कम भए पनि बढी भए पनि मुटुलाई असर गर्छ । नुनको अत्यधिक प्रयोगले सोडियम र आयोडिन बढी जान्छ । यसले मुटु र थाइराइड हर्मोनमा गडबढी गर्छ । 

आयो नुन, सिधे, बिरे, ढिके नुन हामीले प्रयोग गर्दै आइरहेका छौँ । अहिलेसम्मको धारणामा सिधे र बिरे नुनमा सोडियम र आयोडिन कम छ भन्ने हो । तर, अनुसन्धानले के देखायो त भन्दा सिधे, बिरे, आयो नुनमा पनि सोडियम क्लोराइड उत्तिकै छ । त्यसैले सिधे नुन खाँदा पनि आयो नुनले जतिकै हानि गर्छ भन्न सकिन्छ । 

मुटु स्वास्थ्यका लागि जुनसुकै नुन भए पनि थोरै मात्रामा प्रयोग गर्नु उचित हुन्छ । नुनमा चाहिनेभन्दा बढी आयोडिन भएकाले सरकारले पनि आयोडिनको मात्रा घटाउनुपर्छ । नुनलाई जतिसक्दो कम प्रयोग गर्ने सन्देश दिनु जरुरी छ । 

Dr.-Prakash-Budhathoki-1749655213.jpgआयोडिन र सोडियमको नयाँ मात्रा तोक्ने गरी ऐन संशोधनको तयारी

डा. प्रकाश बुढाथोकी 
प्रवक्ता, स्वास्थ्य मन्त्रालय

राजपत्रमा सूचना प्रकाशन नभएकै कारण  २०५५ सालमा जारी भएको ऐन कार्यान्वयनमा गएको थिएन । अहिले राजपत्रमा सूचना प्रकाशन भइसक्यो । अब हामी ऐन संशोधनको तयारीमा छौँ । नुनमा आयोडिनको मात्रा बढी भएपछि स्वास्थ्यमा देखिएको समस्यालाई समाधान गर्न नयाँ मापदण्ड बनाउन पनि ऐन संशोधन गर्न जरुरी देखिएको छ । 

त्यस्तै नुनको बिक्री निजी क्षेत्रलाई नदिने, नुनमा हुनु पर्ने आयोडिन र सोडियम क्लोराइडको मात्रा स्वास्थ्य मन्त्रालयको सिफारिसमा तोक्ने, अन्य खानेकुरामा राखिने नुनको मात्रा तोक्न पनि अब संशोधन हुने नुन सम्बन्धी कानुनमा समेट्न खोजिएको हो । 

अहिले नुनमा स्वास्थ्यलाई असर गर्ने आयोडिन र सोडियम क्लोराइड बढी भएको विभिन्न अनुसन्धानले देखाएको छ । यसलाई व्यवस्थित गर्न पनि कानुन संशोधनको खाँचो भएको हो । 

पहिलापहिला नुन खुला आउने, बिहान बेलुका मात्रै नुन भएको खानेकुरा खाने भएकोले आयोडिनको मात्रा बढी तोकिएको थियो । अहिले खाने संस्कार फेरिएको छ । जंक फुडमा पनि अत्यधिक मात्रामा नुन मिसाइएको हुन्छ । जसका कारण स्वास्थ्यमा समस्या देखिएको चिकित्सकले बताउने गरेको र मन्त्रालयले गरेको अध्ययनले पनि देखाएको छ । 

त्यसैले अब स्वास्थ्य मन्त्रालयकै सिफारिसमा नुनमा आयोडिनको मात्रा तोकिने गरेर ऐन संशोधन गर्दै छौँ । नुन खुवाउने दायित्व सरकारकै हुने भएकोले अहिलेको कानुनमा निजीलाई दिने जुन प्रावधान छ, त्यसलाई पनि हटाउँदै छौँ । 

यसको पहिलो भाग पढ्नुहोस् -  नुनमा झेल : उत्पादनमा हुनुपर्ने आयोडिनको मात्रा भान्सामा, रोगको जोखिम

यसको दोश्रो भाग पढ्नुहोस् - नुनको गुण तोक्ने २६ वर्षअघिको कानुनमा सरकारको अल्झन

यो सामग्री पुन: प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो पुन:प्रकाशन नीति अनुसार प्रकाशन गर्नुहोस् । पुन:प्रकाशन निर्देशिका यहाँ छ ।

Comments