Navigation
कोभिड–१९ ले यसरी बढायो वन्यजन्तु अपराध कोभिड–१९ ले सिर्जना गरेको अस्तव्यस्तता र त्यसको विस्तार रोक्न देशव्यापी रूपमा गरिएको लकडाउनको अवधिमा नेपालमा वन्यजन्तुको अवैध चोरीसिकार फस्टायो Tufan Neupane & Bikram Khadka Comments

सिकारी फेरि पल्के चितवनमा

चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित मुख्यालयबाट झन्डै तीन किलोमिटर परको एउटा सामुदायिक वनभित्र २५ चैत २०७३ मा एउटा गैंडा मृत फेला परेयता १,२४४ दिनसम्म नेपालमा कहीँकतै अर्को कुनै गैंडा मारिएन । यसबीच लगातार तीन वर्षसम्म (वि.सं. २०७४,२०७५ र २०७६) ‘शून्य चोरीसिकारी वर्ष’ मनाइयो ।

१९ कात्तिक २०७७ मा नारायणी नदीको टापु मर्दी घोलमा शिकारीले गोली हानेर मारेका २०/२२ वर्षकी पोथी गैँडा र  उक्त गैँडाको तीन वर्षको बच्चा। तस्वीर- नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरो।

१९ कात्तिक २०७७ मा नारायणी नदीको टापु मर्दी घोलमा शिकारीले गोली हानेर मारेकाे गैंडा । तस्वीर- नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरो।


तर, कोरोना भाइरस महामारी नियन्त्रण गर्न २०७६ चैतदेखि झन्डै तीन महीनासम्म देशभर लगाइएको लकडाउन चितवनका गैंडाका लागि मात्र होइन, देशका अन्य संरक्षित क्षेत्रका दुर्लभ वन्यजन्तुका लागि समेत काल बन्यो । लकडाउन हटेपछि पनि त्यो बेला सल्बलाउन थालेका तस्कर–सिकारीहरू अझै सक्रिय रहेका देखिन्छन् ।


लकडाउनमा मानिस घरै बसेको र सुरक्षाकर्मीको ध्यान अन्तै मोडिएको अवस्थाको फाइदा उठाउँदै सुटुक्क वनजंगल छिरेका तस्कर–सिकारीले १७ भदौ २०७७ मा चितवन पश्चिमपट्टि नवलपुर जिल्लाको बाँदरझुला आइल्यान्ड क्षेत्रमा एक भाले गैंडालाई गोली हाने । चितवन राष्ट्रिय निकुञ्जका वार्डेन अणनाथ बरालका अनुसार गोली लागी घाइते त्यो गैंडा भाग्दै हरायो । तस्कर–सिकारीहरूले खाग–खुर निकाल्न पाएनन् । त्यो गैंडा २१ भदौमा मृत अवस्थामा फेला पर्‍यो ।

पछिल्ला ४१ महीनामा गैंडा मारिएको पहिलो घटना थियो, त्यो । त्यसपछि त गैंडा चोरी–सिकारीको नयाँ शृंखला नै सुरु भएझैं भयो । १९ कात्तिक २०७७ मा नारायणी नदीको टापु मर्दी घोलमा एउटा पोथी गैंडा र त्यसका बच्चा (केटा) मृत अवस्थामा भेटिए । खाग भने सिकारीले लगिसकेका थिए । ती गैंडाका माउ र बच्चा करिब तीन महीना पहिले अर्थात् लकडाउन अवधिमै मारिएका हुन सक्ने अनुमान निकुञ्ज अधिकारीहरूको छ ।


गैंडाका माउ–बच्चा मृत भेटिएको दुई दिनपछि अर्थात् २१ कात्तिकमा निकुञ्जको पश्चिमी क्षेत्रमा अर्को गैंडा मृत भेटियो । वार्डेन बरालका अनुसार यो गैंडा पनि करिब पाँच महीनाअघि अर्थात् लकडाउन अवधिमै मारिएको थियो । फेला पर्दा त्यसका कंकाल मात्रै बाँकी थिए ।


 

माघको अन्तिम साता मात्र प्रहरीले चितवनमा यस वर्ष चारवटा गैंडा मारेको अभियोगमा १४ जना पक्राउ गर्‍यो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरू यसअघि पनि चोरीसिकार, तस्करीलगायत आपराधिक कार्यमा बारम्बार जेल परेर छुटेकाहरू भएको दाबी गरेको छ । १४ जना पक्राउ पर्नुले लकडाउनको बेला वन्यजन्तुको चोरी–सिकारी फस्टाएको देखिन्छ । त्यस्तै लकडाउनको अवधिमा पश्चिम तराईको बर्दियादेखि बाँके, चितवन हुँदै पर्सासम्मका निकुञ्जहरूमा चोरीसिकारीको सक्रियता तीव्र देखियो । वैशाखको दोस्रो साता सगरमाथा राष्ट्रिय निकुञ्जभित्र ६ वटा कस्तुरी मारेको अवस्थामा भेटिए । पूर्वी तराईका पर्सा र सुनसरीका जंगलमा सुरक्षाकर्मी र सिकारीहरूको समूहबीच गोली हानाहान भयो । अहिले लकडाउनपछि पनि बर्दिया राष्ट्रिय निकुञ्जमा भएका घटनाले सिकारीहरू अझै निकुञ्जमै रहेको देखाउँछ । २१ मंसिरमा बुटवलमा गैंडाको खाग खरिद–बिक्री गर्न लागेको अवस्थामा प्रहरीले जाजरकोटका कर्णबहादुर रावल र सुर्खेतका भक्तबहादुर थापालाई पक्राउ गरेका थिए ।

रावल वैदेशिक रोजगारीमा जान पासपोर्ट बनाएर बसेका थिए । यसैबीच, लकडाउन भइदियो र अन्तर्राष्ट्रिय उडानहरू एक्कासि ठप्प भए । वैदेशिक रोजगारीमा जान नपाएको र स्वेदशमै पनि कुनै काम फेला पार्न नसकी फिट्फिटी परेका बेला रावल खाग ओसारपोसार गर्न राजी भएका थिए । डिभिजन वन कार्यालयको हिरासतमा रहँदा हामीसँगको कुराकानी गर्दै रावलले ‘बेरोजगार हुँदा थोरै भए पनि आम्दानी गर्ने लोभले आफू फसेको’ बताए ।


डिभिजन वन कार्यालय रूपन्देहीका प्रमुख बोधराज सुवेदी पछिल्लो समय वन्यजन्तुको सिकार तथा व्यापारसम्बन्धी अपराध बढेको बताउँछन् । ‘ठूला तस्करहरूले कोभिड–१९ का कारण रोजगारविहीन भएका सामान्य मानिसलाई प्रयोग गरेर यसको व्यापार गर्न खोजेको देखिएको छ,’ उनले भने ।


१ चैत २०७६ देखि हुने भनिएको गैंडा गणना कोभिड–१९ कै कारण स्थगित भयो जसकारण नेपालमा गैंडाको आधिकारिक तथ्यांकका लागि पाँच वर्षअघि गरिएको गणनामै भर पर्‍यो । उक्त गणनाबमोजिम नेपालमा ६ सय ४५ गैंडा रहेकामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६ सय ५ वटा थिए । स्थगित भएकाे गैंडा गणना ९ चैत २०७७ बाट सुरू भयाे । 

सन् २०१५ यता प्राकृतिक तथा चोरीसिकारका कारण चितवनमा मात्रै १ सय ५१ वटा गैंडा मारिइसकेका छन् । ‘यो निकै ठूलो संख्याको मरण हो । गैंडाको जन्मदर कति छ भन्ने यकिन नभएको अवस्थामा यही अनुपातमा मरे भने गैंडा छिट्टै सकिनेछन् । त्यस्तो डरलाग्दो अवस्था आउन नदिन रणनीति बनाएरै लागिरहेका छौँ,’ चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले भने । निकुञ्जभित्र गस्ती बढाउने तथा बाहिर समुदायसँग मिलेर काम गर्ने, चोरीसिकारविरुद्धका सुराकी सञ्जाललाई सक्रिय बनाउने, सामुदायिक वन रक्षकहरूलाई पनि सचेत गराउनेजस्ता काम गरिरहेको उनले बताए ।


त्यस्तै, पश्चिम तराईको बर्दिया राष्ट्रिय निकुञ्जभित्र पाल टाँगेर मज्जैले बसेका वन्यजन्तु सिकारीसँग ४ पुस साँझ निकुञ्ज र नेपाली सेनाको टोलीको मुठभेड भयो । बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी असीम थापाले गस्तीमा रहेका निकुञ्जका कर्मचारी र सुरक्षाकर्मीलाई देखेपछि सिकारीको समूहले गोली हानेको बताए । निकुञ्जको खयरभट्टी पोस्टबाट झन्डै ६ किलोमिटर उत्तर–पश्चिम गिठ्ठे खोलानेर दुवै तर्फबाट गोली हानाहान भएको थियो । निकुञ्जले सुर्खेत बराहा ताल गाउँपालिका–३ का चक्रबहादुर विष्ट र सोही ठाउँका गणेश तिवारीलाई हतियारसहित पक्राउ गरेको छ । निकुञ्जका सुरक्षाकर्मीले उनीहरूको साथबाट १७ थान गोलीसहितका तीनवटा भरुवा बन्दुक, गुलेली, जाल, हासिया र बारुद बरामद गर्‍यो । साथै सुरक्षाकर्मीले निकुञ्जभित्र लामै समय बस्न उनीहरूले ल्याएका बन्दोबस्तीका सामान र करिब ७० किलो वन्यजन्तुको सुकुटी पनि बरामद गरेको थियो ।

बर्दिया राष्ट्रिय निकुञ्जभित्र पाल टाँगेर बसेका शिकारीलाई बन्दोबस्तीका सामान र वन्यजन्तुको मासुसहित ४ पुस २०७७ मा निकुञ्जका सुरक्षाकर्मीले नियन्त्रणमा लिए। तस्वीर- बर्दिया राष्ट्रिय निकुञ्ज।


बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत थापाका अनुसार गत ९ असोजमा पनि निकुञ्जभित्र एउटा बाघ मृत अवस्थामा फेला परेको थियो । ‘सिकारीले थापेको पासोमा परेर उक्त बाघ मरेको थियो तर उनीहरूले लैजान पाएका रहेनछन् । अहिले त पासो मात्रै होइन, बन्दुकसँगै सिकारीहरू निकुञ्जभित्रै बसेको भेटियो,’ थापाले भने ।


 

चितवनमा गैंडाको चोरीसिकारमा यसअघि जेल परेर छुटेकाहरू पक्राउ

चितवन राष्ट्रिय निकुञ्जमा यस वर्ष चार वटा गैंडा मारेको अभियोगमा पक्राउ परेका १४ जनालाई २८ माघ २०७७ मा कसरास्थित निकुञ्ज कार्यालयमा सार्वजनिक गरिँदै। तस्वीर- नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरो।


चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार, राना भनिने जितबहादुर कुमाल, उनकी पत्नी इन्द्रा कुमाल, हरि मगर, हरि थारू, उनकी पत्नी विष्णु मायालु, शिवनारायण महतो, वीरमानसिंह प्रजा र अशोक काले भनिने शुकबहादुर गुरुङ पक्राउ परेका हुन् । उनीहरूले हुम्लाका दुईव्यापारीलाई खाग बेचेको र उक्त खाग चीनको तिब्बत पुर्‍याउन लागेको बरालले दाबी गरे । व्यापारी र सिकारीका सहयोगीसहित यो समूहका थप ७ जना पक्राउ पर्न बाँकी छन् ।


त्यस्तै, मुगुका तीन जना व्यापारीमार्फत गैंडाको खाग तिब्बत पुर्‍याउन सक्रिय अर्को समूहका पनि ६ जना पक्राउ परेको सीआईबीले जनाएको छ । सीआईबीका निर्देशक डीआईजी सहकुल थापाका अनुसार मेखबहादुर नेपाली, सोमबहादुर गुरुङ, दुर्गा हरिजन सार्की, कैलाश आले, योङ्दन तामाङ र नाङ्छे तामाङ पक्राउ परेका हुन् । उनीहरूमध्ये मुगुका योङ्दन र नाङ्छेसहित अर्का एक जना मुख्य व्यापारी रहेको प्रहरीले जनाएको छ । अर्का एक जना फरार रहेकोले प्रहरीले उसको नाम खुलाउन चाहेन । उक्त कार्यमा संलग्न थप पाँच जना फरार छन् । जसमध्ये एक जना सशस्त्र प्रहरी बलका सदस्यसमेत रहेको प्रहरीको दाबी छ ।


मुख्य सिकारी भनिएका जितबहादुर कुमाल यसअघि गैंडा मारेकै अभियोगमा दुईपटक जेल परिसकेका व्यक्ति हुन् । उनी एकपटक पाँच वर्ष र अर्कोपटक १० वर्ष जेल सजाय पाएर छुटेका थिए । ‘छुटेलगत्तै फेरि पनि सिकारमा लागिहालेछन् । यसपटक पनि पक्राउ परे,’ चितवन राष्ट्रिय निकुञ्जका प्रमुख बरालले भने ।


त्यस्तै, सिकारी भनिएका अर्का व्यक्ति वीरमानसिंह प्रजा पनि वन्यजन्तु अपराधमै यसअघि चार वर्ष जेल सजाय काटेर छुटेका हुन् । उनका बाबुआमा पनि गैंडा मारेको अभियोग पुष्टि भई १५ वर्षका लागि जेलमा छन् । यसैगरी, कैलाश आले चीनबाट गैरकानुनी रूपमा सुन लिएर आउँदै गर्दा पक्राउ परी जेल सजाय पाएका व्यक्ति हुन् । उनी दुई वर्ष जेल परेका थिए ।


मुगुका मुख्य व्यापारी भनिएका योङ्दन तामाङ पनि यसअघि जेल परिसकेका व्यक्ति हुन् । उनलाई प्रहरीले ८३ किलो रक्तचन्दनसहित पक्राउ गरेको थियो । छुटेपछि उनी वन्यजन्तुसम्बन्धी अपराधमा सक्रिय भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुसँग अन्तरवार्ताको हाम्रो प्रयासलाई निकुञ्जका अधिकारीहरुले अस्विकार गरे ।


सीआईबीको वन्यजन्तुसम्बन्धी अपराध हेर्ने पिल्लर ४ का प्रमुख, डीएसपी राजकुमार राईले यसअघि बारम्बार वन्यजन्तु अपराधमा संलग्न भएका व्यक्तिहरू नै यस वर्ष चितवनमा गैंडा मार्न र तिनका अंग बेचबिखन गर्न सक्रिय रहेको पाइएको बताए । ‘चितवनमा लगातार चारवटा गैंडा मारिएपछि अनुसन्धानमा लागेका थियौँ । धेरै निकायसँगको समन्वयबाट यो सफलता मिलेको छ,’ डीएसपी राईले भने, ‘अहिले पक्राउ परेकाहरू गैंडा मार्ने, खाग बेच्ने, सुन तस्करी गर्नेलगायत अपराधमा जेल सजाय भोगिरहेकाहरू छन् । जतिसुकै ठूला अपराधी भए पनि उनीहरू जोगिन सक्दैनन् भन्ने तथ्य फेरि स्थापित भएको छ ।’


चितवनमा गैंडा मार्ने र तिनको अंग बेच्ने कार्यमा संलग्न आरोपमा प्रहरीले केहीलाई पक्राउ गर्नुका साथै केही सामान बरामद गरे पनि खाग भने हालसम्म बरामद गर्न सकेको छैन ।



बाघ संरक्षणमा चुनौती


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सन् २०१५ को जनवरीयता बाघको छाला र अन्य अंगसहित ३१ वटा 'सिजर्स' गरेको छ । यी सबैको ‘फरेन्सिक परीक्षण’ नभएकाले नेपाल, भारत वा अन्य देशमध्ये कहाँका बाघका अंग हुन् भन्ने यकिन भएको छैन । संरक्षणकर्मी र प्रहरी अधिकारीहरू यीमध्ये थोरै मात्रै नेपालका संरक्षण क्षेत्रमा मारिएका हुन सक्ने अनुमान गर्छन् । तर, ९ असोजमा बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ मृत भेटिनु र केहीअघि बाँकेको मध्यवर्ती क्षेत्रमा बाघ मारेको घटनाले भने सिकारीहरू नेपालकै जंगलमा पनि पल्किसकेको देखाउँछ । डिभिजन वन कार्यालय बाँकेका प्रमुख राजु क्षेत्री यसै वर्ष बाँकेको निकुञ्जसंग जोडिएको वन क्षेत्रमा सिकारीले बाघ मारेको बताउँछन् ।


२० असार २०७७ मा लुम्बिनी प्रदेश प्रहरीको ‘क्षेत्रीय अनुसन्धान ब्युरो’ ले बाँकेको राप्ती सोनारी–१ तितिनघारीबाट बाघको छाला र १० केजी हड्डीसहित नवराज घर्ती मगर, तिलकसिंह घर्ती मगर र मनोज लामिछानेलाई पक्राउ गरेको थियो । उनीहरूसंगको बयानका आधारमा डिभिजन वन कार्यालय बाँकेले जिल्ला अदालतमा रेशमराज लामिछाने, प्रकाश लामिछाने, नरबहादुर घर्ती मगर, मोहन गिरी र गंगाराम डाँगीलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।


सरकारले देशव्यापी लकडाउन घोषणा गरेको एक सातापछि बाँकेको जंगलमा दुर्लभ वन्यजन्तु बाघमाथि सिकारीले गोली हानेका थिए । जुन कुरा उक्त बाघका अंग बेचबिखन गर्ने क्रममा करिब तीन महीनापछि सिकारी नै पक्राउ परेपछि खुल्न आयो । २५ मंसिर २०६४ मा वन्यजन्तुको अवैध व्यापारमा संलग्न रहेको अभियोगमा नवराज घर्ती मगरले जेल सजाय पाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसैगरी सीआईबीका अनुसार घर्तीबाट प्रहरीले बरामद गरेको मोबाइलको कल डिटेल्स विश्लेषण गर्दा उनी अर्का ‘बाघका अंग व्यापारी’ संग पनि सम्पर्कमा रहेको देखिएको छ ।


सीआईबीको टोलीले २७ माघ २०७६ मा दाङको तुलसीपुर नगरपालिका–५बाट सुरजित रामजा बुढा, अमबहादुर राना र रमित सुनारलाई पाटेबाघको एक थान छालासहित पक्राउ गरेको थियो । उनीहरूले बाँकेसंग सीमा जोडिएको दाङको वन क्षेत्रमा बाघको सिकार गरेको बयान दिएका थिए । डिभिजन वन कार्यालयले उनीहरूविरुद्ध जिल्ला अदालत दाङमा मुद्दा चलाएको छ । बाँकेको जंगलमा बाघ मारेर बिक्री गर्न खोज्दा पक्राउ परेका नवराज घर्तीको केहीअघि दाङमा पक्राउ परेका सुरजित रामजा बुढासंग मोबाइलमा बारम्बार सम्पर्क भएको देखिएको सीआईबीका एक अधिकृतले बताए । उक्त रेकर्ड प्रहरीले अदालतमा पेस गरेको छ । यी दुवै मुद्दा अदालतमा विचाराधीन छन् ।


पछिल्लो समय सीआईबीले ९ मंसिरमा दाङकै घोराही–८ नारायणपुरमा पाटेबाघको एक थान छाला बरामद गरेको छ । यो वर्ष सीआईबीले गरेका चारवटा ‘सिजर्स’ मध्ये यो एउटा हो । व्यापारीहरू भने ग्राहक बनेर गएका प्रहरीलाई छक्याएर उम्किन सफल भएका छन् ।


डिभिजन वन कार्यालय बाँकेका प्रमुख राजु क्षेत्री गतवर्षको तुलनामा यस वर्ष वन्यजन्तुसंग सम्बन्धित अपराध बढेको बताउँछन् । ‘अघिल्ला वर्ष यति धेरै मुद्दा हुँदैनथे । यस वर्ष त यसअघि नभएको बाघको चोरीसिकारसमेत भयो,’ उनले भने ।


लामो समय सीआईबीको वाइल्ड लाइफ पिल्लर प्रमुख भई काम गरेका र अहिले रूपन्देहीमा प्रहरी प्रमुख रहेका एसपी प्रवीण पोखरेल वन्यजन्तु अपराधमा जेल परेर त्यहाँबाट छुटिरहेका व्यक्तिलाई निगरानी राख्न जरुरी रहेको बताउँछन् ।

२० चैत २०७६ मा बाँकेको राप्ती सोनारी-१ तितिनघारीमा शिकारीले मारेको बाघको छाला। उक्त बाघको शिकार गर्न र अंग बेच्न संलग्न भएको आरोपमा प्रहरीले २० असार २०७७ मा तीन जनालाई पक्राउ गरेको छ। तस्वीर- लुम्बिनी प्रदेश प्रहरीको 'क्षेत्रीय अनुसन्धान व्यूरो'।

तराईका घना जंगलबीच राष्ट्रिय निकुञ्जमा पाइने पाटेबाघ गतवर्षको चैतमा २५०० मिटर उचाइमा डडेलधुरामा र यस वर्षको मंसिरमा ३१६५ मिटर उचाइमा इलाममा भेटिएर नेपालका लागि रेकर्ड बनेको थियो । सन् २०१८ को गणनामा नेपालमा २ सय ३५ वटा बाघ पाइएका थिए । जुन सन् २००९ को भन्दा झन्डै दोब्बर हो । जसले सन् २०२२ सम्म बाघको संख्या दोब्बर पार्ने अन्तर्राष्ट्रिय लक्ष्यनजिक नेपालले प्राप्त गरिसकेको देखाउँछ । तर, नेपालमा भइरहेका चोरीसिकार र अवैध व्यापारका घटनाले भने त्यसमा चुनौती थपेको छ ।


संयुक्त राष्ट्रसंघको ‘वल्र्ड वाइल्ड लाइफ क्राइम रिपोर्ट–२०२०’ ले पछिल्लो दशकमा बाघको चोरीसिकार र अवैध किनबेचका ठूला घटना मुख्य गरी थाइल्यान्ड र भारतमा भएका देखाएसंगै नेपाल, बंगलादेश र भुटानमा समेत अपराध बढिरहेको देखाउँछ । राष्ट्रसंघको ‘युनाइटेड नेसन अफिस अफ ड्रग्स एन्ड क्राइम’ ले ६ सयवटा घटनाको विश्लेषणबाट तयार पारेको उक्त रिपोर्टअनुसार, दक्षिण एसियाका केही क्षेत्र बाघको अवैध ओसारपोसारका लागि ‘हटस्पट’ बन्दै छन् । त्यसमा पनि चीनतर्फ निर्यातका लागि भारत र नेपालका नाकाहरू प्रमुख रहेको उक्त रिपोर्टमा उल्लेख छ । त्यस्तै, भारतबाट प्रकाशित ‘ह्यान्डबुक अन वाइल्ड लाइफ इन्फोर्समेन्ट इन इन्डिया’ ले पनि बाघको छाला र अंगको अवैध कारोबारका लागि भारतबाट बाहिरिने प्रमुख स्थलमार्गमा नेपाललाई चित्रण गरेको छ ।



बढ्दो अपराध


राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार आर्थिक वर्ष ०७६/७७ मा देशभर १ सय ६ वटा मुद्दा दर्ता गरिएका छन् । जुन अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बर हो । आर्थिक वर्ष २०७५/७६ मा देशभर ६४ वटा मात्रै मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष ०७६/७७ को पहिलो ८ महीनाको अपराध तथ्यांक र पछिल्लो चार महीना (चैतदेखि असार–कोभिडका कारण देशव्यापी लकडाउन गरिएको समय) को तथ्यांक बराबरजस्तै छ । वर्षभरका १ सय ६ वटा मुद्दामध्ये ४७ वटा मुद्दा पछिल्लो चार महीनामा चलाइएका थिए ।


६ वर्षदेखि वन्यजन्तु अपराधको वैज्ञानिक अध्ययनमा लागेका कुमार पौडेल कानुन कार्यान्वयन गर्ने इकाईहरू सक्रिय हुन नसकेका वा उनीहरूको प्राथमिकता बद्लिएको समयमा वन्यजन्तुको चोरीसिकार बढ्ने गरेको बताउँछन् । ‘नेपालमा अधिकांश गैंडा मारिएको माओवादी द्वन्द्व–कालमा हो । त्यो बेला सुरक्षाकर्मीको परिचालन सीमित हुन पुगेको थियो,’ उनी भन्छन्, ‘अहिले पर्सा, चितवन, बाँके, बर्दियाका घटनाले के इंगित गर्दै छन् भने ‘इन्फोर्समेन्ट एजेन्सी’ को सक्रियता कम हुँदा त्यसमा संलग्न मानिस प्रोत्साहित भएका छन् ।’


गतवर्षको चैतदेखि (लकडाउन सुरु भएको महीना) मंसिर २०७७ सम्म प्रदेश ५ मा अहिलेसम्मकै धेरै ‘सिजर्स’ भएका छन् । प्रदेश प्रहरीका अनुसार यस अवधिमा बाघको छाला दुई थान, जरायोको सिङ एक थान, सालकको छाला दुई थान र रेडपान्डाको छाला दुई थान बरामद भएका छन् । त्यस्तै प्रहरीले गैंडाको खाग एक थान, कस्तुरीको बिना दुई थान र चितुवाको छाला दुई थान बरामद गरेको छ । यो संख्या यही अवधिमा आजसम्म भएको बरामदमध्ये सबैभन्दा धेरै भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


सुदूरपश्चिम प्रहरीको पनि यस्तै तथ्यांक छ । धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार यही अवधिमा प्रहरीले चितुवाको छाला ६ थान, चित्तलको छाला एक थान र बादेलको कपाल ११४ ग्राम बरामद गरेको छ । रतुवा घोरलको छाला ५ थान र चितुवाका २२ वटा हड्डी बरामद गरेको प्रहरीले यही अवधिमा भालुको पित्त १ थान, करिब १८ केजी यार्चागुम्बा, सेतकलगायत अन्य जडीबुटीसहित २४ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एक जना अधिकृत यस्तो अपराध देशभर बढेको बताउँछन् । ‘खासगरी लकडाउनको अवधिमा निकुञ्ज र संरक्षित क्षेत्रमा चोरीसिकारीको बिगबिगी बढी थियो । त्यति बेला लामो दूरीका यातायातका साधन नचलेका कारण बजारमा पुर्‍याउन नसके पनि लकडाउनपछि उनीहरूले पहिले संकलन गरेका वन्यजन्तुका अंगलाई बजारमा ल्याउँदा पक्राउ पर्ने गरेका छन्,’ उनले भने ।

२७ माघ २०७६ मा दाङको तुलसीपुर नपा- ५ बाट प्रहरीले तीन जना व्यक्ति पक्राउ गर्दा बरामद गरेको बाघको छालाको नाप लिँदै प्रहरी। तस्वीर- नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरो।

 


चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति पूर्वअध्यक्ष एवं वाग्मती प्रदेशसभा सांसद कृष्णप्रसाद भुर्तेल मध्यवर्ती क्षेत्र सञ्चालनसम्बन्धी कानुनमा अन्योल रहेका कारण पनि कतिपय अपराध बढेको बताउँछन् । ‘राष्ट्रिय वन, निकुञ्ज र आरक्ष क्षेत्र संघीय सरकारले हेर्ने कानुन छ । तर, मध्यवर्ती क्षेत्र सञ्चालनबारे कानुनमा स्पष्ट व्यवस्था छैन,’ उनी भन्छन्, ‘निकुञ्ज र मध्यवर्ती क्षेत्र एकआपसमा जोडिएकाले त्यहाँ पर्यावरण संरक्षणको काम संघीय सरकारले गर्ने तर विकासको काम स्थानीय तहले गर्ने गरी स्पष्ट पार्नुपर्छ ।’ अहिले त्यस्तो कुनै स्पष्ट व्यवस्था नभएको र कानुनको निर्माण तथा कार्यान्वयन सम्बन्धमा प्रदेशसभा र प्रदेश सरकारले भूमिका खेल्न सक्ने अवस्था नभएको उनले बताए ।


राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र डब्लूडब्लूएफ नेपालले गरेको संरक्षण क्षेत्रमा कोभिड–१९ को प्रभावसम्बन्धी प्रारम्भिक अध्ययन (अप्रकाशित) मा बाघको बासस्थान रहेका तराईका घना जंगलमा लकडाउन र त्यसपछि धेरै चाप परेको उल्लेख गरेको छ । नेपालले देशव्यापी लकडाउन लगाएको पहिलो ४० दिनमा देशका ११ वटा संरक्षित क्षेत्रमा लकडाउन अघिभन्दा २७ प्रतिशत बढी अपराध भएको पाइएको उक्त अध्ययनको निष्कर्ष छ । पहिलो ११ महीनामा देशभर वन र वन्यजन्तुसंग सम्बन्धित ४ सय ८३ वटा घटना भएकामा लकडाउनको एक महीनामा मात्रै ५ सय १४ घटना भए । उक्त अध्ययन प्रतिवेदनमा भनिएको छ– ‘‘लकडाउनको पहिलो ४० दिनमा भएका वन र वन्यजन्तुसंग सम्बन्धित अपराधमध्ये आधाभन्दा बढी बाघको बासस्थान भएका तराईका पाँचवटा निकुञ्जमा भएको पाइयो । लकडाउन हुनुअघिको महीनाको तुलनामा लकडाउन भएपछिको महीनामा बाघको बासस्थान रहेका ती निकुञ्जमा भएका ‘गैरकानुनी क्रियाकलाप’ १६८ प्रतिशतले बढेको पाइयो ।’’


उक्त अध्ययनमा लकडाउनमा विदेशको काम, नेपालकै जागिर र व्यापार/व्यवसाय गुमाएका युवालाई सिकारीहरूले उपयोग गर्न सक्ने आँकलन गरिएको छ । भारतमा गरिएको अर्को अध्ययनको निष्कर्ष पनि यस्तै छ ।


वन्यजन्तुको व्यापारसम्बन्धी अनुगमन गर्ने सञ्जाल, ट्राफिक र डब्लूडब्लूएफ भारतको संयुक्त अध्ययन ‘कोभिड–१९ को संकटका बीचमा भारतीय वन्यजन्तु : अवैध चोरीसिकार र व्यापारसम्बन्धी एक विश्लेषण’ का अनुसार त्यहाँ बाघजस्ता ठूला वन्यजन्तुको अवैध ओसारपोसारका घटना केही बढेको पाइए पनि मुख्यत: मासुका लागि हुने चोरीसिकार बढेको छ । लकडाउन सुरु हुनुअघिका ६ हप्ता र त्यसपछिका ६ हप्तामा सार्वजनिक सञ्चारमाध्यमा आएका समाचारलाई आधार मानेर गरिएको उक्त विश्लेषणअनुसार पहिलो ६ हप्तामा ३५ वटा केस रिपोर्ट भएकामा लकडाउन सुरु भएपछिको त्यति नै अवधिमा ८८ केस रिपोर्ट भए । सुरुमा ८५ जना पक्राउ परेकामा पछिल्लो त्यही अवधिमा भने २ सय २२ जना पक्राउ परे । यो अध्ययनले लकडाउनको अवधिमा वन्यजन्तुले स्वच्छ पानी र कुनै अवरोधबिना घुमफिर गर्न पाए पनि समग्र रूपमा भने उनीहरूलाई प्रतिकूल प्रभाव परेको देखाएको छ ।


अफ्रिकादेखि रसियासम्म र सुदूरपूर्वदेखि अमेरिका वा दक्षिण पूर्वी एसिया सबैतिरबाट वन्यजन्तु संरक्षणमा लकडाउनको नकारात्मक असर परेको उल्लेख गर्दै उक्त अध्ययन प्रतिवेदनमा भनिएको छ– ‘आवतजावतमा लगाइएका प्रतिबन्धहरू र सुरक्षाकर्मी लकडाउनको अवधिमा लगाइएका प्रतिबन्धलाई कार्यान्वयन गर्न खटिनुपर्दा वन्यजन्तु अपराधीका लागि त्यसले अवसर सिर्जना गरेको देखिएको छ । लकडाउनका कारण सिर्जित बेरोजगारीको अवस्था, बन्द–व्यापार नहुनु र सहरबाट कामविहीन ठूलो संख्या गाउँ फिर्दा त्यसको चाप वन्यजन्तु संरक्षणमा पनि परेको पाइयो ।’


यसरी सुरक्षाकर्मी, संरक्षणकर्मी र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका व्यक्तिहरूको अनुभव तथा दृष्टिकोण र केही सीमित मात्रामा भएका यससम्बन्धी स्वतन्त्र अध्ययनका आधारमा लकडाउनको समयमा सुरक्षाकर्मीको परिचालन सीमित भएको, चोरीसिकार नियन्त्रणका लागि समुदायस्तरमा क्रियाशील संस्थाहरू निष्क्रिय भएका, बेरोजगार युवालाई तस्करहरूले प्रयोग गरेका जस्तो कारणले वन्यजन्तु अपराध बढेको देखिन्छ ।


जानकारहरूका अनुसार कोभिड–१९ ले पर्यटन क्षेत्रलाई पारेको प्रभाव पनि त्यसको एउटा कारणमध्ये हो किनभने राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रका लागि संघीय सरकारले विनियोजन गर्ने बजेट छाडेर ती क्षेत्रको आफ्नै आम्दानी भने करिब ९५ प्रतिशतसम्म पर्यटनमै निर्भर छ । राष्ट्रको जीडीपीमा करिब ७ प्रतिशत योगदान गर्ने पर्यटन क्षेत्रको सिधा सम्बन्ध स्थानीय अर्थतन्त्रसंग छ । संरक्षित क्षेत्र आसपासका होमस्टे वा अन्य स–साना व्यापार–व्यवसायमार्फत पर्यटनले त्यस क्षेत्रका बासिन्दालाई लाभ पुर्‍याएको हुन्छ । साथै निकुञ्जको आम्दानीमध्ये ३०–५० प्रतिशत मध्यवर्ती क्षेत्रको विकासमा समितिमार्फत खर्च गर्नुपर्छ । तर, कोभिड–१९ र त्यसको विस्तार रोक्न लगाइएको लकडाउनको असर पर्यटन क्षेत्रमा पनि नराम्ररी पर्‍यो । ‘त्यसको सिधा सम्बन्ध वन्यजन्तु अपराधको बढ्दो संख्यासंग छ,’ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका संस्थापक अध्यक्ष केशव देवकोटा भन्छन् ।


राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष ०७६/७७) अनुसार यो वर्ष पछिल्ला सात वर्षमध्ये सबैभन्दा कम पर्यटक संरक्षित क्षेत्रमा घुमे भने आम्दानी पनि सबैभन्दा कम भयो । आर्थिक वर्ष ०६९/०७० मा देशभरका निकुञ्ज र संरक्षित क्षेत्रले ४७ करोड १३ लाख ३९ हजार रुपैयाँ पर्यटनमार्फत आम्दानी गरेकोमा त्यसयता हरेक वर्ष (महाभूकम्पको वर्ष २०७२ लाई छाडेर) यो आम्दानी बढ्दो थियो । तर, आर्थिक वर्ष ०७६/७७ का पछिल्ला तीन महीना वैशाख–जेठ–असारमा एक जना पनि पर्यटक आएनन् भने लकडाउनको पहिलो महीना चैतमा पनि न्यून संख्यामा (करिब २७ हजार) मात्र पर्यटक पुगे । जबकि अघिल्लो वर्षको चैत, १२ महीनामध्ये धेरै पर्यटक भित्रयाउने दोस्रो महीना (करिब ८२ हजार) भएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र डब्लूडब्लूएफ नेपालले गरेको संरक्षण क्षेत्रमा कोभिड–१९ को प्रभावसम्बन्धी प्रारम्भिक अध्ययन (अप्रकाशित) ले यसरी निकुञ्ज र त्यस आसपासमा परेको आर्थिक चापले स्थानीय समुदायलाई प्राकृतिक स्रोतमा निर्भर हुनुभन्दा बाहेकको विकल्प नछोड्ने औंल्याएको छ । जसको अन्तिम असर वन र वन्यजन्तुसम्बन्धी अपराधको रूपमा देखापर्छ ।


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को वाइल्ड लाइफ पिल्लरका एक जना प्रहरी अधिकृत आफूहरूले लकडाउनमा वन्यजन्तु अपराध बढ्न सक्ने आँकलन गरेर त्यहीअनुरूपको सूचना माथिल्लो निकायमा पठाएको बताउँछन् । आधिकारिक रूपमा आफूलाई बोल्ने अनुमति नभएको भन्दै नाम उल्लेख नगर्ने सर्तमा ती प्रहरी अधिकृतले भने, “यस्तो राष्ट्रिय संकटका बेला सबैको ध्यान अन्यत्रै मोडिँदा वन्यजन्तु अपराध बढ्ने गरेको हाम्रो आफ्नै विगतले पनि देखाएको छ । अन्य देशमा पनि त्यस्तो देखिएको थियो । त्यसैका आधारमा हामीले बढ्ने आँकलन गरेका थियौँ । तर, निकुञ्ज वा अन्य संरक्षण क्षेत्रभित्र हाम्रो अधिकारक्षेत्र नपर्ने कारणले हामीले केही गर्न सकेनौँ । संरक्षण क्षेत्रभन्दा बाहिर मात्रै हामी क्रियाशील भयौँ ।”


बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असीम थापा लकडाउनको अवधि र त्यसपछि पनि चोरीसिकार नियन्त्रणमा आफूहरू क्रियाशील रहेको दाबी गर्छन् । ‘लकडाउनमा निकुञ्जभित्र सिकारीहरूको गतिविधि बढेको थियो । त्यसैले पनि हामी अहिलेसम्मै थप सक्रिय छौँ । यही सक्रियताले निकुञ्जभित्रै हतियारसहितका सिकारी पक्राउ गर्न सकेका हौँ,’ उनले भने ।


यता चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बराल निकुञ्जको एक्लो प्रयासले संरक्षण सफल नहुने बताउँछन् । त्यसैले निकुञ्जले विगतमा वन्यजन्तु अपराधमा संलग्न भएका व्यक्तिलाई संरक्षणमा सहभागी गराउने अभियान सुरु गर्न लागेको उनले बताए । ‘सजाय भुक्तान गरेर फर्किएका थुप्रै व्यक्ति समाजमा छन् । सिकारको सीप भएका उनीहरूलाई हामीले इंगेज गर्न सकेनौं भने तस्करहरूको समूहले प्रयोग गर्ने सम्भावना हुन्छ,’ उनी भन्छन्, ‘उनीहरूलाई सामाजिक जीवनमा फर्कन सजिलो होस् र संरक्षणमा योगदान पनि पुगोस् भनेर हामीले उनीहरूका परिवारसंग दुईपटक अन्तरक्रिया गरिसकेका छौँ । जेलजीवन बिताएर निस्किएका व्यक्तिलाई लक्षित कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ ।”


पूर्वसंरक्षण अधिकृत यादव पनि जनसहभागिताबिनाको संरक्षण अभियान सफल नहुने बताउँछन् ।


‘जनतालाई संरक्षणमा सहभागी गराएकै कारण चितवन राष्ट्रिय निकुञ्जमा पछिल्ला वर्षहरूमा ‘जिरो पोचिङ’ को उल्लास मनाउन पाएको हो,’ उनले भने, ‘अहिले कोभिड–कालमा समुदायमा आधारित संस्थाहरू र चोरीसिकार नियन्त्रण समूहहरू क्रियाशील हुन पाएनन् । त्यही मौकामा पोचिङ बढ्यो । अर्थात् जनसहभागिता घट्दा अपराध बढिहाल्ने रहेछ । त्यसैले संरक्षणमा जनसहभागितालाई दीर्घकालीन मन्त्र बनाउन जरुरी छ ।’


 

सन्तोषबल्लभ पौडेल , सहायक रथी– नेपाली सेना (प्रवक्तासमेत)


पछिल्लो समय जुन हिसाबले चितवनमा गैंडा मारिए, यो निकै चिन्ताको विषय हो । ‘जिरो पोचिङ’ क्षेत्रमै भएको वन्यजन्तुको सिकार र तिनका अंगको तस्करी रोक्न सबै सम्बन्धित निकायले ध्यान दिन जरुरी छ । हामीले विशेष अभियानको रूपमा ‘महाहन्ट अप्रेसन’ चलाएका छौँ । गस्ती बढाउने साथै जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउनेलगायतका गतिविधि जारी राखेका छौँ । नेपाली सेनाले चितवन र बर्दिया राष्ट्रिय निकुञ्जलाई बढी ‘फोकस’ गरेको छ । बाघ र एकसिंगे गैंडाजस्ता लोपोन्मुख वन्यजन्तु भएको उक्त क्षेत्र धेरै हिसाबले जोखिममा भएकाले त्यहाँ ‘फोकस’ गरिएको हो ।


कोभिडको जोखिमका कारण थुप्रै जेलबाट कैदीहरू छुटे । त्यस क्रममा कतिपय वन्यजन्तु अपराधी पनि छुटे । उनीहरू वन्यजन्तुका सम्भावित रुटबारे जानकारी राख्ने र सिकार गर्न सक्ने पनि थिए । जो जेलबाट छुट्ने बित्तिकै फेरि त्यही अपराधमा लागेका रहेछन् । चितवनको घटनाले त्यही देखायो ।


अर्को कुरा, सबैको ध्यान अन्यत्र मोडिएका बेला तस्करहरू सधैं सक्रिय हुन्छन् । हिजोको हाम्रो अनुभवले त्यस्तो देखाएको छ । अहिले कोभिड र त्यसपछिको लकडाउनमा पनि त्यही भएको हुन सक्छ । तर हामीले यसको आँकलन गर्दै कोभिडकै बीचमा पनि अप्रेसनहरू जारी राख्यौँ ।


चोरीतस्करीमा संलग्नव्यक्तिहरू पनि स्मार्ट निस्किन थालेका छन् । त्यसैले आगामी दिनमा हामीले विज्ञान प्रविधिको उच्चतम प्रयोग गर्नुपर्छ । निकुञ्ज क्षेत्रमा सीसीटीभी राखेका कारण पनि कतिपय अप्रेसनमा सफलता मिलेको छ । हामीले एम्बुस थाप्ने काम पहिलेदेखि नै जारी राखेका छौँ । नेपाली सेनाका तर्फबाट रोकथामका सबै प्रयास भएका छन् । जसलाई अझ बढाउनुपर्नेछ ।



हरिभद्र आचार्य, सूचना अधिकारी,  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

पछिल्लो समय वन्यजन्तु अपराधका घटना बढेको सरसर्ती हेर्दा मात्र पनि देखिन्छ । तर, यसका लागि कोभिड–काल र त्यसपछिको लकडाउनको भूमिका कति छ भन्नेबारे व्यवस्थित अध्ययन नगरी भन्न सकिन्न । हामीले अहिलेसम्म त्यस्तो अध्ययन गरिसकेर निष्कर्ष निकाल्न पाएका छैनौँ ।


तर सामान्य तथ्य के हो भने, कोभिड–१९ को सुरुवाती महीनामा हाम्रा सुरक्षा निकायका गस्तीहरू नियमित हुन सकेनन् । सामुदायिक स्तरमा सक्रिय चोरीसिकार नियन्त्रण समूहहरू र सुराकी सञ्जालले पनि सामान्य अवस्थामा जस्तो नियमित काम गर्न सकेनन् । यस्तो बेला स्वाभाविक रूपमा सिकारीहरू सक्रिय हुने भइहाले ।


यो बीचमा सबैभन्दा बढी स्तब्ध हुने घटना चितवन राष्ट्रिय निकुञ्जमा भयो । केही वर्ष जिरो पोचिङ इयर मनाइरहेका बेला यसपटक चारवटा गैंडा मारिए । नारायण नदीमा पछिसम्म पनि बाढी आएका कारण निकुञ्जभित्रका कतिपय टापुमा वरिपरिबाट सुरक्षाकर्मी नियमितजसो जान पाएनन्, त्यो अवस्थामा सिकारीले फाइदा उठाएको हुन सक्छ । तर अहिले भने स्थिति पूर्णत: नियन्त्रणमा छ । यद्यपि हामी सधैं सक्रिय हुनुपर्छ ।


कोभिड–१९ ले केही समय प्रभाव पारे पनि लगत्तैदेखि नेपाली सेनाको गस्ती बढाइएको छ । सबै निकुञ्ज तथा संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्रसम्ममा नेपाली सेनाले नियमित गस्ती गर्ने, सिकारीका योजनाहरूलाई काउन्टर दिने गरी सुरक्षा रणनीति बनाउने र त्यसलाई लागू गर्ने काम भई नै रहेको छ ।


चितवनमा भएको चोरीसिकारमा १०–१५ वर्ष जेलमा बसेर छुटेका कतिपय मानिस पनि संलग्न भएको पाइयो । यसले वन्यजन्तु अपराधमा संलग्न मुख्य व्यापारीहरूको जालो अझैसम्म तोड्न सकेका रहेनछौं भन्ने प्रमाणित भएको छ । मुख्य मानिस बाहिर भएकै कारण सिकारी जेलबाट छुट्नेबित्तिकै फेरि उनीहरूलाई प्रयोग गरेको पाइएको छ । मुख्य कारोबारी बाहिरै रहने तर मध्यमस्तरका एजेन्ट र सिकारी मात्र पक्राउ पर्ने गर्दा दीर्घकालका लागि समस्या बाँकी नै छ भन्ने देखिएको छ । थप सजगता जरुरी छ ।

###

Comments