७० हजार प्रयोगकर्ता जोडिएको एसएमसी मोबाइल एपबाट हजारौँ नेपालीको करोडौँ रुपैयाँ ठगी भएको बारेमा निमजिनले खोज गरिरहेको छ । हाम्रो पहिलो खोज एसएमसी मोबाइल एपमार्फत सर्वसाधारण नागरिक कसरी ठगीमा परे भन्नेमा केन्द्रित थियो । यो दोस्रो खोजमा भने हामीले मिहिनेत र परिश्रमबिना नै पैसा कमाउनले लोभमा एसएमसी एपमा फसेर लाखौं गुमाएका उदयपुरको नेपालटारका केही पीडितलाई भेटेका छौँ । यो स्टोरी एउटा गाउँमा एसएमएसी एप कसरी भित्रियो ? र यसबाट कस्ताकस्ता नागरिक कसरी ठगीमा परे भन्नेमा केन्द्रित छ ।
यो स्टोरीको पहिलो भाग पढ्नुहोस् : एसएमसी मोबाइल एपबाट हजारौँ नेपालीको करोडौँ ठगी
मदन भण्डारी राजमार्गको गाईघाट—कटारी खण्डको बीचतिर छ– नेपालटार बजार । उदयपुरको पुरानो सदरमुकाम उदयपुुरगढीको फेदीमा सानो उपत्यकाका रूपमा रहेको यही बजारनजिकै जस्ताले छाएको घरको आँगनमा भेटिइन्– रमा कार्की ।
घरछेउको बारीबाट खनेर ल्याएकोे बेसार खुर्कीखार्की गरेर सफा पारिरहेकी उनलाई आफन्तले साथ दिइरहेकी थिइन् । परिवारका अरू सदस्य बरन्डामा गफमा थिए ।
नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (निमजिन) को टिम ‘काइँला’ लाई खोज्दै बजारपारि रहेको यो घरमा पुगेको थियो । गाउँमा काइँला भनेर चिनिने भक्तबहादुर कार्कीलाई खोज्नुको कारण थियो– गाउँगाउँका लाखौँ नेपाली ठगिएको एसएमसी एपले उनलाई कसरी ठग्यो भनेर बुझ्नु ।
नेपालटार बजारका सबैलाई थाहा छ– सामान्य अक्षर पनि नचिन्ने र खेती किसान गरिरहेका काइँलाले एसएमसी एपमा लाखौँ गुमाएका छन् । बजारमा साना ठूला व्यवसाय गर्ने मात्र होइन, खेतीकिसानी गर्नेले पनि एसएमसीमा लाखौं गुमाएकै छन् । मिहिनेत र परिश्रमबिना नै पैसा कमाउनले लोभमा फसेर लाखौं गुमाएका उनीहरू सबैको पीडा एउटै छ ।
यस्तै पीडा बुझ्न भक्तबहादुरलाई खोज्दै बिहान ११ बजेतिर पुगेका हामीलाई बेसार सफा गरिरहेकी रमाले उनी घरभित्र रहेको बताइन् । कोठाभित्रको बिस्ताराबाट जुरुक्क उठेर हाँस्दै निस्किएका उनले भने, “तपाईंहरू आएको हिजै बजारमा थाहा पाएको थिएँ, मिडियाको अगाडि के अनुहार देखाउनु भनेर भागेको, आज त घरै पो आइपुग्नुभएछ ।” उदयपुरगढी गाउँपालिका–८ का उनी हामीसित कुराकानी गर्न तयार भए ।
माथिल्लो घरका दीपक भनिने टीकादेव गुरागाईंले एसएमसीमा लगानी गर्दा कमाइने प्रलोभनमा आफू फसेको उनले बताए । सुरुमा ३४ हजार लगानी गरेका उनले २३ हजार ६० रुपैयाँ फिर्ता पाएपछि थप लगानी बढाउँदै लगेर ३ लाख ३४ हजार रुपैयाँ पुर्याए । भक्तबहादुरले भने, “मैले घरमा ३४ हजार भनेको थिएँ, खासमा मैले गरेको लगानी ३ लाख ३४ हजार हो, त्यसमा २३ हजार ७ सय ६० रुपैयाँ फिर्ता आयो, अरू सबै डुब्यो ।”
उनले ३ लाख बढी डुबेको भनेपछि बेसार केलाइरहेकी रमाले कान ठाडा पारिन् । भक्तबहादुरको अनुहार हेरेर एकछिन् टोलाइन् र बोलिन्, “३०—३५ हजार लगानी गरेको भन्नुहुन्थ्यो, ३ लाख बढी पो डुबाउनुभएछ ।”
घरपरिवारलाई चिन्ता होला भनेर आफूले थोरै रकम मात्र डुबेको भनेर ढाँटेको भक्तबहादुरले स्पष्ट पारे । “यति धेरै डुबेको रहेछ, हामीलाई त के थाहा ?” छेउमा रहेकी रमा आफैँसित भन्दै थिइन्, “जति जे हुनु थियो, उहाँले मनमै राख्नुभएको रहेछ ।”
नेपालटार बजारकै सहकारीमा काम गर्ने दीपकले सहकारीको तालिममा चितवन जाँदा बाबुराम कार्कीबाट एसएमसी एपबारे थाहा पाएका थिए । त्यतिबेला बाबुरामले एसएमसीको अफिस भन्दै एउटा कार्यालयमा पनि लगे । “मलाई विश्वास लागेन र म यसमा लाग्दिनँ भनेर फर्केको थिएँ,” दीपक स्मरण गर्छन् ।
तर पछि बाबुरामले दीपकको ह्वाट्सएपमा एउटा लिंक पठाए । त्यही लिंकबाट एसएमसी एप डाउनलोड गरेका दीपक भन्छन्, “त्यही बाबुरामले पठाएको लिंकबाट एसएमसी नेपालटारमा प्रवेश गर्यो ।”
दीपकले लगानी गर्दा पैसा फिर्ता पनि पाए । त्यसपछि उनले एसएमसीको जालो नेपालटार बजारभर फैलाए । “धेरै अगाडिदेखि गरौँ, गरौँ भनिरह्यो । जंगलमा सखुवाको पात टिप्दा पनि यति पैसा आउँदैन यो कहाँबाट आउँछ ? यो हुने कुरै हैन भनेर मैले धेरै पटक दीपकलाई भनेँ,” लगानी गर्नुअघिका दिन सम्झँदै भक्तबहादुर भन्छन्, “म मान्दै मानिनँ । तर, दशा लागेर अन्तिममा फस्न पुगियो ।”
सुरुमा ३४ हजार लगानी गर्दा २३ हजार ६० रुपैयाँ फिर्ता पाएपछि हौसिएर उनले ऋण लिएरै एसएमसीमा लगानी गरेका थिए । “ऋण गरेर हालेको थिएँ,” भक्तबहादुर भन्छन्, “अब ऋण लाग्यो । रोएर हुँदैन । कराएर हुँदैन ।”
ऋण र तिनुपर्ने ब्याजको पिरलोले राति निद्रा लाग्न छाडेको उनी बताउँछन् । छोराछोरीलाई पढ्ने खर्च माग्दा दिन नसकेको तर एसएमसीमा लाखौँ डुबेकोमा उनी पश्चात्तापमा छन् ।
“यो ठगिन्छ—फसिन्छ भन्दा उसले (दीपकले) त्यस्तो हुनै सक्दैन भन्यो । दिन आएपछि यस्तै भयो,” उनले भने ।
मन बुझाउने बाटो— अरू पनि त ठगिएछन्
३ लाखभन्दा बढी गुमाएका भक्तबहादुर हामीसँग हाँसीहाँसी कुराकानी गरेका थिए । तर हाँसोकै बीचमा पनि उनी पटक–पटक रोकिएर र स्तब्ध बने । “पैसा गुमाएको पीडा लुकाउन पनि हाँसिरहनुभएको रहेछ,” रमाले भेद खोलिन् ।
भक्तबहादुरले मन बुझाउन हाँसोको सहारा मात्र लिएका थिएनन्, उनले अरू ठगिएका घटनालाई स्मरण गरेर पनि आफ्नो चित्त बुझाएका छन् । “जिन्दगीमा जाँड खाइँदैनथ्यो । जुवा—तास खेलिदैन्थ्यो, कहिले काहीँ खेल्नुपर्दो रहेछ,” केहीबेर रोकिएर उनी बोले, “जाँड—रक्सी र जुवा—तासको लत लागेको भए यो उमेरसम्ममा त्यति खर्च गरिन्थ्यो होला भनेर सम्झिन्छु ।”
उनले एसएमसीमै अरू ठगिएका घटना सुनाउँदै उदयपुरकै बेलकाका व्यापारीको डेढ करोड डुबेको त कहिले गाईघाटमा फोटोकपी पसलकी महिलाले सुन नै सकेको उदाहरण दिए । “पाँच रुपैयाँको फोटोकपी गरेर अब ती महिलाले कसरी जम्मा गर्लिन् लाख ?” उनले प्रश्न गरे ।
आफ्नो भन्दा धेरै ४ लाख रुपैयाँ आफ्नै दाइको परिवारले एसएमसीमा डुबाएको उनले सुनाए ।
एसएमसीमा आफू मात्र नभएर देशका गाउँगाउँका थुप्रै सोझासाझा नेपाली ठगिएको भक्तबहादुरले थाहा पाइसकेका छन् । तर, प्रहरीमा उजुरी दिन भने गएका छैनन्् । आफूलाई लहैलहैमा लगाउने उनै दीपकले उजुरी दिएको भक्तबहादुरले बताए । “म केही जान्दिनँ, मेरो सबै कागजात दीपकलाई दिएको छु, उसले नै हाम्रो तर्फबाट उजुरी गरेको होला,” उनले भने ।
नेपाल प्रहरीको साइबर ब्युरोमा ६ सय जनाभन्दा धेरैले दिएको २ सय ५५ वटा सामूहिक उजुरीमा १२ करोड ८ लाख रुपैयाँ ठगी भएको उल्लेख छ । ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार एसएमएसी एप नेपालमा ७० हजारभन्दा बढी डाउनलोड भएको पाइएकाले ठगिनेको संख्या धेरै छ ।
मान्छे फसाउन चिठ्ठामा कार
नेपालटारमा एसएमसी एप भित्र्याएका दीपक अरूले देखाएको लोभले फसेको बताउँछन् । उनी भन्छन्, “लोभले लाभ, लाभले विलाप भने जस्तो भयो ।”
उनले लगानी गर्दा सुरुसुरुमा पैसा फिर्ता पाएका थिए । त्यसपछि उनले श्रीमतीका साथै घरपरिवारका अरू सदस्य र नातेदारलाई समेत एसमएसीमा जोडे ।
उनकी श्रीमतीको नाममा लक्की ड्रमा नेपाली बजार मूल्यअनुसार करिब डेढ करोड रुपैयाँ पर्ने कम्पास गाडी परेको सन्देश र चिठ्ठी आयो । “एसएमसीको छाप लगाएको पत्रसँगै अमेरिकाबाट नेपाल पठाउन लागेको गाडी लोड भएको भिडियो पनि पाएँ,” उनी भन्छन्, “तर, कार पाइएन ।” उनलाई एनीले अमेरिकामा दर्ता भएको मोबाइल नम्बर प्रयोग गरेर ह्याट्सएपमा म्यासेज गरेका थिए । त्यही नम्बरबाट नाम अन्ना भनेर पनि केही पीडितसँग कुराकानी भएको थियो ।
कात्तिक ५ मा गाईतिहारको दिन कार परेको पत्र पठाउँदै उनलाई ह्वाट्सएपमा एनी भन्नेले परिवारसहितको एउटा भिडियो बनाउन निर्देशन दिएका थिए । त्यही निर्देशनको आधारमा उनले दुई छोरी र श्रीमतीलाई साथमा राखेर एसएमसीलाई धन्यवाद दिँदै भिडियो बनाएर पठाए ।
त्यो भिडियो उनले आफ्नो समाजिक सञ्जालमा पनि राखे । एनीले एसएमसीको सामाजिक सञ्जालमा सेयर गरे । फेसबुक, टिकटकसहितका सामाजिक सञ्जालमा त्यो भिडियो भाइरल भयो ।
भिडियो भाइरल भएपछि एसएमसीमा लगानी गर्न चाहनेले उनीसँग सोधखोज गरे । “सबैले मलाई पनि बनाइदेऊ भन्दै धाए, फलानालाई आयो मलाई चाहिँ किन नहुने भन्ने होडबाजी जस्तो भयो,” दीपक त्यो दिन सम्झँदै भन्छन् ।
तर, उनले कार पाउनु त परकै कुरा, आफ्नो र आफूमार्फत लगानी गरेकाहरूको रकम डुबेपछि उनी छाँगाबाट खसेझैँ भएका छन् । सिंगै गाउँले नै दीपकलाई दोष दिन्छ । उनी भने आफू पनि ठगिएको बताउँछन् । “मैले कसैको रकम लिएर खाएको छैन, म आफैँ पनि ठगिएको छु,” उनी भन्छन् ।
एसएमसीमै ४ लाखभन्दा बढी फसाएकी नेपालटारकै हीरा सुवेदी एसएमसीमा जोड्न दीपकलाई गाउँभरिकाले आग्रह गरेको बताउँछिन् । “तिहारको टीकाको अघिल्लो दिन उहाँ (दीपक) मेरो घरमा आउनुभएको थियो, लौ न मलाई पनि बनाइदिनुस् भन्दै तारन्तर फोन आएको आयै थियो,” उनले भनिन् ।
पिरामिड शैलीमा सञ्चालित एसएमसीमा थप सदस्य बनाएबापत् कमिसन बढ्ने लोभ पनि दीपकलाई एनीले देखाएका थिए । त्यसैले दीपकले सदस्य बनाएका थिए ।
आफूमार्फत सदस्य भएर लगानी गरेकाहरूको रकम डुबेपछि अब त नातासम्बन्ध नै टुट्ने अवस्था आएको उनी बताउँछन् । “ससुराली जाउँ, ज्वाइँले यस्तो गर्यो भन्ने हुन्छ,” उनी विवस सुनिन्छन्, “मावलीतिर जाउँ भान्जाभान्जीले यसरी डुबाइदियो भन्ने हुन्छ, आफन्तबाटै टाढिने अवस्थामा पुगेको छु ।”
उनले एसएससीमा निम्त्याउने बाबुराम कार्कीसँग पनि सम्पर्क गरे । तर बाबुरामले पनि ‘अरूले नै भनेर आफूले पनि लगानी गरेको र अहिले आफू पनि डुबेको’ बताएको दीपकले जानकारी दिए ।
बाबुरामबाट ह्वाट्सएपमा आएको लिंक अहिले बुझ्दै जाँदा डेनुका भन्ने अर्कै व्यक्तिको रहेको पाइएकाले बाबुरामविरुद्ध उजुरी गर्ने प्रमाण पनि नभएको उनी बताउँछन् ।
एसएमसी एपमा एउटाले थाहापछि उसले अर्कोलाई गर्दै गाउँभरि फैलिएको हीराको बुझाइ छ । एक जनाले १५/२० जना साथीलाई सदस्य बनाउँदा, एउटै सर्कल र व्यवसाय गर्ने समूह एसएमसीबाट ठगिएको उनले बताइन् ।
अमेरिकामा मान्यता पाएको र नेपालमा रोजगारी उन्मूलन गर्ने संस्थाको झूटो परिचय बनाएर डाउनलोड गर्न लगाइएको एसएमसी एपमा भिडियो हेरेर लाइक गरेबापत् पैसा दिने प्रलोभन देखाइएको थियो । सुरुमा एउटा भिडियो हेरेबापत् ३३ रुपैयाँ दिने र दिनमा १० वटासम्म भिडियो हेरेर ३३० रुपैयाँ कमाउने आश्वासन नेपालटारका पीडितहरूले पाएका थिए ।
पछि त्यसमा पैसा लगानी गरेपछि ब्याज, लाभांश र अरू सुविधा पाउने आश्वासन दिइएको थियो ।
थोरै लगानी गर्नेलाई तलब भन्दै सोचेभन्दा बढी रकम पनि फिर्ता दियो । लोभिएर नै लगानी हजार हुँदै लाखौँ पुर्याएको निमजिनको खोजमा पाइएको छ । चितवनमा केन्द्रीय कार्यालय रहने गरी कम्पनी रजिस्ट्रार कार्यालयमा जेठ २९, २०८२ मा दर्ता भएको एसएमसी एन्ड एड्भरटाइजिङ सर्भिस सेन्टरको प्रमाणपत्र पनि देखाएर उनीहरूलाई विश्वस्त पारिएको थियो ।
दसैँअघिसम्म एक जनाले एउटा मात्रै खाता खोल्न मिल्ने नियम थियो । आम्दानी हुने भएपछि परिवारको सदस्य सबैको खाता खोलेर लगानी पनि गरे । तिहारको बेला एक जनाले जति पनि खाता खोल्न मिल्ने नियम बनायो । त्यसपछि एकै जनाले धेरै खाता खोलेर लगानी गरे । लगानी र सदस्यका आधारमा के–१ देखि के–९ सम्मको तह विभाजन गरिएको थियो । तहअनुसार पैसा आउने भनिएको थियो । सदस्य बनाएबापत् मासिक तलब पनि भनेको थियो । त्यो रकम एपमा रहेको आफ्नो खातामा देखिन्थ्यो ।
के–फो र के–फाइभको तहमा पुग्नेलाई घर बनाउन, गाडी किन्न ऋण सुविधा दिने, स्वास्थ्य बिमा गरिदिने प्रलोभन पनि बाँडेको थियो । सामूहिक लगानीमा फर्निचर, कफी सप, सुपरमार्केट खोल्नसमेत कम्पनीले लगानी गर्नेसम्मको प्रलोभन थियो । कम्पनीको साधारण सेयरसमेत दिने भनिएको थियो ।
दसैतिहारमा लक्की ड्र खोलिएको थियो । केहीलाई गाडी, सुनका गहना, केहीलाई इलेक्ट्रिक र घरायसी सामान परेको भन्दै झूटो प्रचार गरिएको थियो ।
संगठित अपराधमा मुद्दा अघि बढाउँदै
साइबर ब्युरोले एसएमसीमा ठगी गरेको आरोपमा ३१ जनालाई प्रतिवादी बनाएर संगठित अपराधमा अनुसन्धान गरिरहेको प्रवक्ता दीपकराज बताउँछन् । आरोपितमध्ये २ चिनियाँसहित १५ जना पक्राउ परेका छन् ।
“१५ जनालाई नियन्त्रणमा लिएका छौँ, अरु सम्पर्कमै छन्,” उनले भने, “खातावाल र खाता भाडामा दिने नेपाली पनि समातिएका छन् ।
प्रहरीका अनुसार ठगी गर्नेहरूले खातावालालाई केही रकम दिएर उनीहरूको बैंक खाता र मोबाइल तथा इन्टरनेट बैंकिङ आफ्नो नियन्त्रणमा लिएर रकम कारोबार गरेका थिए । खातावाला व्यक्तिलाई आफ्नो खातामा कहाँबाट कति रकम आयो र गयो भन्ने पनि थाहा नभएको पाइएको छ ।
ठगिएकाहरूले रकम ट्रान्सफर गरेका ती खातामा एक जना चिनियाँ नागरिकको पहुँच रहेको पाइएको र उनी पनि पक्राउ परेको प्रवक्ता दीपकराजले जानकारी दिए । “नेपालीबाट उठाएको रकममा सिधै पहुँच राख्ने एडमिन नै चाइनिज देखिन्छ,” उनले भने ।
यो सामग्री हाम्रो पुन: प्रकाशन नीति अनुसार तपाईँले पनि आफ्नो सञ्चार माध्यममा प्रकाशन गर्न सक्नुहुने छ । पुन: प्रकाशन नीति यहाँ छ ।


