७० हजार प्रयोगकर्ता जोडिएको एसएमसी मोबाइल एपमार्फत हजारौँ नेपाली ठगिएको पाइएको छ । प्रहरीको साइबर ब्युरोमा ६ सय जनाको १२ करोड रुपैयाँभन्दा बढी रकम ठगी भएको उजुरी परेको छ । निमजिनले यो ठगी प्रकरणबारे डेढ महिनादेखि खोज गरिरहेको छ । यो पहिलो खोज एसएमसी मोबाइल एपमार्फत सर्वसाधारण नागरिक कसरी ठगीमा परे भन्नेमा केन्द्रित छ ।
कम्पनी रजिस्ट्रार कार्यालयमा जेठ २९, २०८२ मा एउटा संस्था दर्ता भयो– एसएमसीएन एड्भरटाइजिङ सर्भिस सेन्टर । 
चितवन खैरेनी नगरपालिका–६ मा सोनम खातुनको नाममा दर्ता भएको कम्पनीको १ करोड पुँजी थियो । कम्पनीको उद्देश्यमा विविध विषयमा विज्ञापन गर्न चाहनेबाट विज्ञापन संलग्न गरी पत्रिका, रेडियो, टीभी, इन्टरनेटबाट विज्ञापन गर्ने/गराउने, अनलाइन प्लेटफर्ममा विज्ञापन र प्रचारको योजना बनाउने, कुनै व्यक्ति र संस्थाको सोसल मिडिया व्यवस्थापन गर्नेलगायत छन् ।
उद्देश्य विज्ञापन गर्ने भने पनि यो कम्पनीको आवरणमा एसएमसी नामको मोबाइल एपबाट हजारौं नेपालीको करोडौँ रुपैयाँ ठगी भएको छ । ठगीमा परेको भन्दै साइबर ब्युरोमा अहिलेसम्म २ सय ५५ वटा सामूहिक उजुरी परेको छ । एउटै उजुरीमा परिवारका एकभन्दा धेरै जोडिएकाले उजुरी गर्नेको संख्या ६ सय जनाभन्दा धेरै छ । उजुरीका आधारमा १२ करोड ८ लाख रुपैयाँभन्दा धेरै ठगी भएको साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले बताए ।
एसएमसी एपमा ७० हजारभन्दा बढी नागरिक जोडिएको पाइएकाले ठगीमा पर्ने र ठगिएको रकम अझै धेरै हुने अनुमान छ । नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म (निमजिन) ले डेढ महिनादेखि गरिरहेको खोजका क्रममा यो एपबाट पूर्वमेचीदेखि महाकालीसम्मका मात्र नभई विदेशमा रहेका नेपालीसमेत ठगीमा परेको पाइएको छ ।
ह्वाट्सएप, फेसबुकसहितका अन्य सामाजिक सञ्जाल र व्यक्तिव्यक्ति हुँदै सर्वसाधारणमा फैलिएको एसएमसी एप डाउनलोड गरेर भिडियो हेर्दा पैसा आउने प्रलोभन देखाइएको थियो ।
भिडियो हेर्नेले दैनिक १ सय रुपैयाँको हाराहारीमा आम्दानी गर्ने र त्यो रकम तुरुन्तै वालेटहरूमा अनलाइन ट्रान्सफर हुने भनेर लोभ्याइएको थियो । जसबाट धेरै लोभिए र आफन्तहरूलाई पनि यो एप डाउनलोड गर्न लगाए ।
“एउटा भिडियो हेरेबापत सुरुसुरुमा ३३ रुपैयाँ दिन्थ्यो,” काठमाडौंकी अरुना लामा भन्छिन् । अरुनाले आफ्नो र आफूले एपमा जोडेका २ सय ६८ जनाको ५२ लाख रुपैयाँ ठगी भएको भन्दै ब्युरोमा उजुरी गरेकी छन् ।
इन्टर्नका रूपमा प्रवेश गरेका व्यक्तिलाई पछि लगानी गरे अझै बढी आम्दानी हुने प्रलोभन देखाइयो । ५० जनाभन्दा धेरैलाई सदस्य बनाएको बताउने ललितपुर भैँसेपाटीकी कोपिला राई भिडियो हेरेबापत रोजगारी दिने, लगानी गरेबापत ब्याज, लाभांश दिने प्रलोभनमा पारेर आफूलाई फसाइएको बताउँछिन् ।
यसमा ठगिनेमा विदेशमा रहेका नेपालीसमेत छन् । १० वर्षदेखि साउदी अरेबियामा रहेका आशिष लिम्बूले पनि २१ लाख रुपैयाँ ठगिएको बताए । “सुरुमा लगानी गर्दा केही बोनस पनि दिए । त्यसपछि राम्रो रहेछ भनेर लगानी गरेँ, अहिले फसेँ,” उनले भने, “लगानी गरेको सुरुसुरुमा जति पाउनुपर्ने हो, त्यो रकम आएको थियो ।”
पैसा फिर्ता गरेपछि राम्रै रहेछ भनेर आफन्त र साथीहरूलाई पनि सदस्य बनाएको बताउने उनी अहिले सबै ठगिएकाले पश्चात्ताप लागेको बताउँछन् । उनले साउदीबाटै प्रहरीमा जाहेरी दिने तयार गरिरहेको बताए ।
चिनियाँसहित ११ जना पक्राउ
दुई महिनाअघि एप चल्न छाडेपछि यसका प्रयोगकर्ता ठगिएको भन्दै प्रहरीमा उजुरी गर्न पुगेका थिए । त्यसपछि अनुसन्धान गर्दै अहिलेसम्म चिनियाँ नागरिकसहित ११ जनालाई पक्राउ गरेको प्रवक्ता अवस्थीले जानकारी दिए ।
पक्राउ पर्नेमा चिनियाँ नागरिक ३७ वर्षका हे जियाङजियाङ, रामेछापका मिलन श्रेष्ठ, तनहुँका सौगात थापा, नुवाकोटका वीरबहादुर तामाङ, चितवनकी सोनम खातुन, काठमाडौंकी मोनिका गुरुङ, धादिङकी गीता गुरुङ, पर्साका नासिर मियाँ अन्सारी र सायरा खातुन तथा बाराका रामनिवास प्रसाद कलवार रहेका ब्युरोले जनाएको छ । पक्राउ परेकी सोनमकै नाममा त्यो कम्पनी दर्ता भएको हो ।
ब्युरोका अनुसार उनीहरूमाथि संगठित अपराध निवारण ऐन, २०७० र मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत अनुसन्धान भइरहेको छ । ब्युरोले एसएमसी एप वा यस्तै खालका अन्य कुनै अनलाइन टास्कमा ठगिएको भएमा तुरुन्तै प्रहरीमा उजुरी गर्न पनि आग्रह गरेको छ ।
ब्युरोले भनेको छ– “एसएमसी एप वा यस्तै अन्य कुनै अनलाइन टास्कमा ठगिनुभएको छ भने तुरुन्त आफ्ना प्रमाणहरू यस कार्यालय वा नजिकको जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुहोस् ।”
घरमै बसेर भिडियो हेरेर पैसा कमाउने, थोरै लगानीमा उच्च प्रतिफल दिने, कुनै कम्पनीको अनलाइन प्रमोशन गरेबापत अनलाइन पैसा कमाइनेजस्ता प्रलोभन दिई ठगी गर्ने गिरोहले फैलाएको जालो हुन सक्ने भन्दै होसियार हुन पनि प्रहरीले आग्रह गरेको छ ।
झूटो प्रचारले लोभिए
एसएमसीको मुख्यालय अमेरिकाको न्युयोर्कमा रहेको र नेपालमा कार्यालय भवन निर्माणाधीन रहेको सन्देशसहितका प्रचार सामग्री सर्वसाधारणमाझ फैलाइएको थियो ।
प्रचार सामग्री फैलाउन एप प्रयोगकर्ता नै सक्रिय भए । उनीहरूले नयाँ प्रयोगकर्ता ल्याएमा थप रकम पाउने लोभ देखाइएको थियो ।
जसले धेरै लगानी गर्न सक्यो र धेरै सदस्य बनाउन सक्यो, उसलाई त्यति नै धेरै बोनस पाउने प्रावधान घोषणा भएपछि एकले अर्कोलाई सदस्य बनाए ।
“जसले धेरै सदस्य बनाएको छ, उसको पद बढाएर पैसा पनि बढी आउने प्रावधान राखेको थियो,” अरुनाले भनिन्, “काम थिएन, घरमै बसेर लगानी गर्दा पनि राम्रै आम्दानी हुने देखेर लगानी पनि गरेँ ।”
छानबिनमा संलग्न प्रहरीका अनुसार नेटवर्कका रूपमा विस्तार हुँदै संस्थामा लगानी गरेबापत निश्चित प्रतिशत आम्दानी हुने लोभमा धेरैले लगानी गरेको हुन सक्छन् ।
कम्पनीकै प्रतिनिधि हुँ भनेर ह्वाट्सएपमा आउने व्यक्तिले नेपालको उच्च बेरोजगारको दर घटाउने लक्ष्य राखेर खुलेको यो संस्थाको सम्बन्ध अमेरिकाको कोलोराडोमा समेत रहेको भनेर पीडितलाई भ्रम छरेको समेत पाइएको छ ।
अरुना भन्छिन्, “विदेशी संस्थाले नेपालमा रोजगारी उन्मूलन गर्न आएको भनेपछि असार १८ मा ९ हजार ९ सय लगानी गरेर सदस्य बनेको थिएँ ।”
अमेरिकामा दर्ता भएको कम्पनी, नेपालमा पनि कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको प्रमाण देखाएपछि आफू विश्वासमा परेर लगानी गरेको र आफन्तहरूलाई पनि लगानी गर्न लगाएको उनले बताइन् ।
पिरामिड संरचना र कमिसनको लोभ
एप प्रयोगकर्ताले इन्टर्न कर्मचारीका रूपमा भिडियो हेरेर पैसा पाउने र लगानी पनि गर्नु नपर्ने भनिएको थियो । प्रयोगकर्ताहरूलाई भिडियो हेरेबापत भन्दै उनीहरूको वालेटमा सानो सानो रकम ट्रान्सफर पनि भयो ।
त्यसपछि उनीहरूलाई जति धेरै लगानी गर्यो र जति धेरै सदस्य बनायो, त्यति नै धेरै भिडियो हेरेर दैनिक आम्दानी गर्न सकिने भन्दै लोभ्याएर पैसा हाल्न लगाएको पाइन्छ । ठगी गर्ने गिरोहले दिएका व्यक्तिका बैंक खातामा अनलाइन बैंकिङमार्फत पैसा ट्रान्सफर गर्नुपर्ने थियो । पैसा पठाएको स्क्रिनसर्ट पठाएपछि एपमा त्यहीअनुसार प्रयोगकर्ताको तह देखिन्थ्यो ।
३ हजार लगानी गरेमा के– वान तहको कर्मचारीको मान्यता पाउने र दिनमा पाँचवटा फिल्म हेरेर दैनिक आम्दानी एक सय रुपैयाँ पाउने भनियो । के–टु तहको कर्मचारी बन्न ९ हजार ९ सय लगानी गर्नुपर्ने, उसको आम्दानी दैनिक ३ सय ३०, के–थ्री तहको कर्मचारी बन्न ३३ हजार ८ सय लगानी गरेमा दैनिक १ हजार १ सय ४० रुपैयाँ आम्दानी हुने, के–फोर तहको कर्मचारी बन्न १ लाख १० हजार लगानी गर्नुपर्ने प्रावधान राखेको थियो ।
एसएमसी बन्द हुने बेलामा काठमाडौंकी अरुना के–फाइभमा पुगिसकेकी थिइन् । कम्पनीको रेकर्डमा दिनको १० हजार ८ सय तलब आउने सूचीमा उनी थिइन् । उनी भन्छिन्, “एपमा त मैले पाउने २२ लाख ७५ रुपैयाँ देखिन्थ्यो ।”
लगानी र सदस्य बनाएअनुसार घरमै बसेर आम्दानी हुने भएपछि एउटा सिंगै गाउँका सर्वसाधारणले लगानी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
एकै व्यक्ति दुई करोडसम्म ठगिएको प्रहरीले जनाएको छ । के–नाइन तहका कर्मचारी बन्न २ करोड १० लाख लगानी गरेपछि दैनिक ८ लाख ४० हजार, मासिक २ करोड ५२ लाख र वार्षिक ३० करोड ६६ लाख आम्दानी हुने प्रलोभन देखाइएको थियो ।
उपहार वितरण र आईपीको आश्वासन
दसैं–तिहारपछि कम्पनीको नाममा लक्की ड्र खोलिएको थियो । केहीलाई गाडी, सुनका गहना, केहीलाई इलेक्ट्रिक र घरायसी सामान परेको भन्दै सन्देशहरू फैलाइएको थियो । के– फो र के–फाइभ तहमा पुग्नेलाई घर बनाउन, गाडी किन्न ऋण सुविधा दिने, स्वास्थ्य बिमा गरिदिने प्रलोभन पनि देखाइएको थियो । ‘आईपीओ खुल्दा सेयर पनि दिने भनिएको थियो,” अरुनाले भनिन्, ‘५५ वर्ष पुगेपछि पेन्सन पनि हुन्छ भनेर कागज बनाउन लगाएर लगानी थप्न लगाएका थिए ।”
सामूहिक लगानीमा फर्निचर, कफी सप, सुपरमार्केट खोल्नसमेत कम्पनीले लगानी गर्नेसम्मको प्रलोभन रहेको पीडितहरूको गुनासो छ ।
ब्युरोका अनुसार वास्तविक कारोबार नगरी नयाँ सदस्यको पैसाबाट पुरानालाई प्रतिफल दिने ‘पोन्जी मोडल’ अपनाउँदै ‘ब्ल्याकरक’ जस्ता काल्पनिक कोषमा रकम राखे दैनिक १.२ प्रतिशत प्रतिफल दिने भन्दै सर्वसाधारणलाई एपमा पैसा हाल्न लगाइएको थियो ।
यो सामग्री हाम्रो पुन: प्रकाशन नीति अनुसार तपाईँले पनि आफ्नो सञ्चार माध्यममा प्रकाशन गर्न सक्नुहुने छ । पुन: प्रकाशन नीति यहाँ छ ।


