Navigation
भारतीय अर्केस्ट्रामा नेपाली किशोरीको तस्करी र बेचबिखन Suresh Bidari | Jul 02, 2024

“नाच्ने हो, खान बस्न पैसा लाग्दैन, उल्टै पैसा दिन्छन्, जाने हो ?” आफन्त दिदीले राखेको यो प्रस्तावलाई झापा गाउँपालिका वडा नं. ७ शरणमती, झापाकी सृजना विश्वकर्माले आँखा चिम्लेर स्विकारिन् । ती दिदीको सर्त थियो, “तर कसैलाई नभनी जानुपर्छ ।”

सर्तअनुसार घरमा कसैलाई नभनी २०७७ सालमा १५ वर्षको उमेरमा तिनै दिदीको पछि लागेर सृजना भारत पुगिन् । उनीहरुले मोरङ पथरी घर भई मामाघर झापा उर्लाबारीमा हुर्केको बताउने विकास रिसालले सञ्चालन गरेको ‘पूजा म्युजिकल डान्स’ मार्फत नाच्ने काम गरे । 

investigation-1719398034.png
सृजना त्यतिबेला दुई महिना अर्केस्ट्रामा नाचेर फर्किइन् । “त्यहाँ अन्य महिला पनि थिए, सानी भएकाले मलाई सबैले माया गर्थे, तर पनि सुनसान लाग्यो, पटक्कै बस्न मन लागेन,” उनी सम्झन्छिन्, “लैजाने दिदीलाई नै घर पुर्‍याइदिनु भनिरहन्थेँ, केही दिनमा जाने भन्दाभन्दै २ महिना बित्यो, त्यसपछि बल्ल फर्कियौं ।”

पहिलो पटक २ महिना नाचेर फर्किएको भए पनि सृजना अर्केस्ट्रामा चरम शोषणमा परेकी एक पात्र हुन् । नेपालसँगै सीमा जोडिएका भारतका सहरी क्षेत्रमा मात्र नभई ग्रामीण क्षेत्रमा पनि अर्केस्ट्रा देखाइन्छ । विवाह समारोह, सांस्कृतिक कार्यक्रम र मेला महोत्सवमा देखाइने अर्केस्ट्रामा महिलालाई छोटा कपडामा अश्लील शैली र भावभंगीमा नाच्न बाध्य पारिन्छ ।

अधिकांश स्वेच्छाले नभई प्रलोभन, करकाप र जबर्जस्तीमा परेर नृत्य गर्न बाध्य हुन्छन् । पारिश्रमिक नदिने, कुटपिट तथा दुर्व्यवहार गर्ने, शारीरिक, मानसिक यातना दिने, यौन शोषण गर्नेसम्मका घटना अर्केस्ट्रामा भएका छन् । अर्केस्ट्रामा नेपाली महिलाहरूको ओसारपसार र बेचबिखन नै हुने गरेको छ ।

Srijana-Bishwokarma-1719900216.jpeg
झापाकी सृजना विश्वकर्मा । तस्बिर सौजन्य : सृजना विश्वकर्मा

सृजना यिनै घटनाकी भुक्तभोगी हुन् र चरम शोषणमा परेकी छन् भन्ने पत्ता लगाएपछि हामीले सम्पर्क गरी कुराकानीका लागि अनुरोध गर्‍यौं । उनी त्यसमा सहमत भइन् । हामीले उनले भोगेको समस्याका बारेमा लेख्ने तर नाम ठेगाना नखुलाउने भनेर कुराकानी सुरु गरेका थियौं ।

पछि कुराकानीका क्रममा नै उनले मेरो जीवन बर्बाद भएको थाहा पाएर अरु दिदीबहिनीले अर्केस्ट्रामा बेचिन नपरोस् भन्दै आफ्नो नाम ठेगाना लेखिदिँदा पनि फरक नपर्ने बताइन् र थप पीडा सुनाइन् ।

अर्केस्ट्रामा जानुअघि सृजना ती दिदीसँगै काठमाडौंको सुन्धारास्थित एक रेष्टुरेन्टमा वेटरको काम गर्थिन् । मासिक १२ हजार तलब आउँथ्यो । कोभिड महामारी सुरु भएपछि देशभर लकडाउन भयो । व्यापार ठप्प  । गाउँबाट उद्धारका लागि गाडी आएपछि उनी घर फर्किइन् ।क्वारेन्टाइन बसिन् ।

गाउँमा खासै काम थिएन । केही समयपछि नै तिनै आफन्त दिदीले भारतमा नाचेर बढी पैसा कमाइन्छ भनेर पहिलोपटक अर्केष्टा लगेकी थिइन् उनलाई ।  

तर दोस्रो पटक भने उनी आफैं साथी सीता (परिवर्तित नाम) लाई समेत लिएर अर्केष्टा पुगिन् । अर्केष्टा सञ्चालक विकास नेपाल आएको समयमा उनीहरुबीच सम्पर्क भयो । विकासले दुवैजनालाई दमकमा एकरात होटलमा बस्ने खर्च र बाटोमा लाग्ने भाडा दिएर लैजाने सहमति भयो ।

सुरक्षाकर्मीको आँखा छलेर बोर्डर पार

घरमा कसैलाई थाहा नदिई सृजना र सीता भदौ १२, २०७८ मा झापाबाट रात्रि बस चढेर वीरगन्ज पुगे । बिहान झिसमिसेमै बसपार्कमा झरे ।

एक जना मान्छे उनीहरूलाई लिन मोटरसाइकलमा आयो । दुवै जनालाई ई रिक्सामा राखेर वीरगन्जको मुख्य नाका नभई अर्को बाटोबाट भारत लग्यो । सृजनाका अनुसार विकासकी श्रीमतिसहित तीन जना युवतीहरू थिए ।

Birjung-1719901157.jpg
वीरगन्ज महानगरपालिका वाइपास सडकस्थित भानुचोक । तस्बिर : प्रणय साह

विकाससँग एउटा विवाहमा डान्स गरेबापत ३ हजार भारतीय रुपैयाँ दिने कुरा भएको थियो । सृजना त्यसमा सहमत भएर काममा लागिन् । विवाहको सिजन सकिएकाले धेरै काम भएन । विकाससँग दुरी बढेपछि उनकी श्रीमति एकजना साथी लिएर नेपाल फर्किएको सृजना बताउँछिन् ।

आफू विकाससँगै भारतमै बसेको उनले बताइन् । त्यसपछि सुरु भयो उनीमाथि शोषण । उनी स्मरण गर्छिन्, “विकास एक्लै भएपछि उसले मलाई मायाजालमा पार्‍यो, विवाह गर्ने भनेर सँगै बस्न थाल्यौं, गर्भ बसेपछि छोडेर आउन सकिनँ ।”

“विकास अरु केटीसँग लागेको थियो, विरोध गर्दा कुटेर टाउको फुटाइदियो । घर जान्छु भन्दा ढोका थुनेर राख्थ्यो,” ती कहाली लाग्दा दिन सम्झँदा सृजनाको भक्कानो फुट्यो ।

फागुन १७, २०७८ मा भारत बिहार सौनाहा बजारस्थित अर्केस्टामा छापा मारेर सञ्चालक विकासलाई भारतीय प्रहरीले पक्राउ गर्‍यो । विकास ७ महिना जेल बसेर छुटे ।

मोतिहारी पलनवा थानाले उद्धार गरेका सृजनासहितका युवतीहरू बरियारपुर थानास्थित बालिका गृहको संरक्षणमा रहे ।

साढे २ महिनापछि, जेठ ५, २०७९ मा माइती नेपालले उनीहरूलाई वीरगन्ज ल्यायो । त्यहाँ दुई दिन राखेर माइती नेपालको केन्द्रीय कार्यालय काठमाडौं पठाइयो ।

Birjung_Nepal-1719901156.jpg
यात्रुवहाक साना सवारी साधनमा निगरानी गर्दै माइती नेपाल, वीरगञ्ज शाखाका सीमा अनुगमन सहजकर्ताहरू । तस्बिर : प्रणय साह

सृजना पाँच महिनाको गर्भवती थिइन् । सृजना माइती नेपालमा बस्दा विकासले फोन गर्थे । उनी भन्छिन्, “विकासले ‘म तँलाई स्विकार्छु, राम्रो गर्छु । घरमा बस, अबदेखि दायाँबायाँ गर्दिनँ, विदेश जान्छु, काम गर्छु, कमाउँछु । छोरी पाल्छु, तँलाई राम्रोसँग राख्छु’ भनेर फकाउँथ्यो ।”

सृजनाका अनुसार विकासका काकाले भेटेरै “उसले छोड्यो भने मैले जिम्मेवारी लिने भएँ, उसले हेरेन भने हामी हेर्छौं ।” भनेर आश्वस्त पारेका थिए ।

सृजनाका अनुसार माइती नेपालमा कानुन व्यवसायीले विकासविरुद्ध जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता गर्ने भनेका थिए, तर उनी सहमत भइनन् । “उसको माया लाग्यो, बच्चा फाल्न पनि मन थिएन, ऊ जेलबाट छुटेर आएपछि उसैसँग बस्छु भनेर म त्यहाँबाट निस्किएँ,” सृजना भन्छिन्, “त्यहीँनेर मबाट ठूलो गल्ती भएछ ।”

उनले जोमाथि विश्वास गरेकी थिइन्, उही विकासले जेलबाट छुटेर आएपछि उनलाई स्वीकार गरेन । आफ्नो एउटा अर्धनग्न भिडियोका कारण विकासले आफूलाई अस्वीकार गरेको र विभिन्न आरोप लगाएको उनी बताउँछिन् । उनका अनुसार एक दिन गोलु सिंह भन्ने केटाले धाकधम्की दिएर कपडा खोल्न लगाउँदै उनको अर्धनग्न भिडियो खिचेको थियो ।

“भर्खर भर्खर गएको थिएँ, सँगै काम गर्ने दिदी गोलुसँग बोल्नुहुँदो रहेछ, मेरो भाइ हो भनेर बोल्न दिनुहुन्थ्यो । एक दिन तैंले कपडा खोलेर देखाइनस् भने गोली ठोकेर मारिदिन्छु, मारेर नालामा फालेँ भने नेपालबाट तँलाई खोज्न कोही आउँदैन, मुसा/चल्ला मरेजस्तै हुन्छेस् भनेर धम्क्यायो,” उनले भनिन्, “छाती देखाएको थिएँ, स्क्रिन रेकर्ड गरेर राखेको रहेछ, मलाई के थाहा ।”

त्यो भिडियो गोलु सिंहले सार्वजनिक गरिदिएका थिए । गोलु हत्या आरोपमा जेलमा परेको सृजना बताउँछिन् । यसले अर्केस्ट्रामा काम गर्नेहरूलाई आपराधिक समूहले समेत प्रयोग गर्ने गरेको देखिन्छ । त्यो भिडियोकै कारण आफूले सृजनालाई स्वीकार्न नसकेको विकासले बताए ।

राष्ट्रिय मानव अधिकार आयोगले गरेका अनुगमनका क्रममा नेपालबाट भारततर्फ विशेष गरी महिला तथा किशोरीहरूको ओसारपसार बढेको पाइएको छ । पहाडबाट ल्याइएका महिला तथा किशोरीलाई किनमेलका लागि, औषधि उपचारका लागि, सामान लिन जाने, पूजाका लागि जाने बहानामा बोर्डर पार गरी ओसारपसार हुने गरेको छ ।

सृजनालाई आफूमाथि पटकपटक धोका भएको र अन्यायमा परेको महसुस भएको छ । “मेरो जीवन बर्बाद पारेर ऊ (विकास) अर्कै केटीसँग बसेको छ,” डेढ वर्षकी छोरी हुर्काउने जिम्मेवारीमा रहेकी सृजना भन्छिन्, “जागिर खान जाऊँ भने सानो नानी छ, कसले काम दिन्छ र ? जीवन कष्टकर बनेको छ ।”

तर विकास भने आफू छोरीको जिम्मा लिन तयार भएको बताउँछन् । हामीसँग टेलिफोनमा कुुराकानी गरेका उनले भने, “छोरी सृजनाले नै राखे पनि सहयोग गर्छु, उसले पालन पोषण गर्दिनन् भने म मेरी छोरीलाई ल्याएर पाल्छु ।”

युवा उमेरमा साथीको लहैलहैमा लागेर आफूले अर्केस्ट्रामा काम गरेको बताउने विकासले भने, “अहिले सोच्दा त्यतिबेला ठीक काम गरिएनछ भन्ने लाग्छ ।”

सृजना भुलेर पनि अर्केस्ट्रामा नाच्न नजान सुझाव दिन्छिन् । “पिकअपमा नचाउँछन्, साटा बाँधेपछि खुट्टा दुखे पनि नाच्नुपर्छ, धेरै छाडा गीतमा नचाउँछन्,” सृजनाले भनिन्, “दर्शकलाई नाचेको मन परेन भने बन्दुक नै लिएर आउँछन्, दुर्व्यवहार गर्छन्, हातमा जे छ त्यसैले हिर्काइदिन्छन् ।”

तीन हजार भन्थे, पन्ध्र सय दिन्थे

फागुन १७, २०७८ मा सृजनासँगै उद्धार हुनेमा सिन्धुलीकी १८ वर्षीया रुपा (परिवर्तित नाम) र काभ्रेपलाञ्चोककी १४ वर्षीया अनिता (परिवर्तित नाम) हुन् । ज्याला मजदुरीबाट गुजारा गर्ने परिवारकी ३ सन्तानमध्येकी जेठी अनिता घरमा आमाबुबाको काममा सघाउँथिन् ।

साथी अञ्जु (परिवर्तित नाम) ले फेसबुकमा चिनेको वीरगन्ज घर बताउने रामबाबु यादवसँग उनको चिनजान भयो । रामबाबुले भारतमा ‘काप्या म्युजिकल डान्स’ चलाउँछु भनेर परिचय दिएका थिए, बेला बेलामा फोनमा कुरा हुन्थ्यो । एक दिन नाचेको ३ हजार भारतीय रुपैयाँ कमाइ हुन्छ भनेर रामबाबुले दुवै जनालाई प्रलोभनमा पारे ।

कसैलाई नभनी रुपा पुस १०, २०७८ मा गाउँकै साथी रञ्जुको साथमा घरबाट निस्किइन् । सिन्धुलीबाट गएका उनीहरूको भेट वीरगन्ज पावरहाउस चोकमा रामबाबुसँग भयो । उनले मोटरसाइकलमा चढाएर कच्ची बाटो हुँदै लगे । “नेपाल हो भन्थे, त्यहाँ पुग्दा थाहा भयो, भारत रहेछ, ‘काप्या म्युजिकल डान्स’ लेखेको वोर्ड थियो, अरु कोही थिएनन्, रामबाबु हामीलाई छाडेर घर जान्थे,” रुपा भन्छिन्, “हामी गएको एक महिनासम्म कुनै विवाह र पूजाहरू भएनन् । डेरामै बसिरहन्थ्यौं ।”

पछि आफूहरू बसेको ठाउँमा दुई जना नेपाली युवतीलाई पनि ल्याएको र माघ लागेसँगै विवाहको लगन सुरु भएकाले काम पनि थालेको उनी बताउँछिन् । तर एउटा बिहेको ३ हजार नेपाली रुपैयाँ दिन्छु भने पनि १ हजार ५ सय रुपैयाँ मात्र दिएको उनी बताउँछिन् । “भनेजति पैसा किन नदिएको ? भनेर सोध्दा ‘अहिले तिमीहरूलाई राम्रोसँग डान्स गर्न आएको छैन पछिपछि बढाइदिन्छु’ भनेर टार्ने गर्थ्यो,” रुपा भन्छिन् ।

कार्यक्रम सधैँ नहुने, साहुले खान र बस्ने सुविधा मात्रै दिएको हुँदा कमाएको पैसा नाच्दा लगाउने कपडा, मेकअपको सामान, मोबाइल र मन लागेको खानेकुराहरू किन्दा सकिने गरेको रुपाको अनुभव छ ।

रुपासँगै उद्धार हुने अनितालाई बुबाआमाले भक्तपुरमा भाइसँगै पढाइरहेका थिए । तर पढ्नै मन नलागेपछि कक्षा ८ को पढाइ हापेर घरबाटै भागेको उनी बताउँछिन् ।

पढाइ छाडेर काठमाडौंको बौद्धस्थित एउटा क्याफेमा मासिक १ हजार २ सय तलबमा १ वर्ष जति काम गरिसकेपछि उनीसहित ३ जना युवतीहरू घर परिवारलाई थाहै नदिई भारत गएका थिए । उनीहरू २०७८ को माघमा भैरहवा हुँदै ‘काप्या म्युजिकल डान्स’ पुगे ।
अनितालाई पनि एउटा पार्टीमा डान्स गरे बापत १ हजार ५ सय नेपाली रुपैयाँ मात्रै मिल्थ्यो । उनीसँगै गएकी एक जना काम ठीक लागेन भन्दै २ महिनापछि नेपाल फर्किइन् ।

अनिता फेसबुक म्यासेन्जरमार्फत परिवारको सम्पर्कमै थिइन् । एक दिन अनिताका बुबाले छोरी काठमाडौंमा छैन भनेर पत्तो लगाए । उनी भन्छिन्, “तँ तुरुन्तै घर आइज हेटौंडाभन्दा उता गइस् भने भारतमा तँलाई बेचिदिन्छ भनेर सम्झाएर बोलाउनुभयो ।”

उनी घर फर्कन पाइनन् । “नेपाल आउन खोज्दा साहूले ‘लगनको महिनामा जान मिल्दैन, अहिले गयौ भने पैसा दिन्न,’ भन्यो,” उनी त्यसपछि त्यही बस्न बाध्य भइन् ।  फागुन अन्तिममा सबै जनालाई घर पठाउने तयारी थियो । त्यसअघि नै भारतीय प्रहरीले छापा हानेर उद्धार गर्‍यो ।

घरमा हिंसा, अर्केस्ट्रामा बलात्कार

मोरङकी २५ वर्षीया सविना (परिवर्तित नाम) ले ३ कक्षासम्म मात्रै पढिन् । बुबा वैदेशिक रोजगारीका लागि कतार गए, आमाले गाउँघरमा खेतीपातीसँगै लुगा सिलाउँथिन् । उनी  आमालाई सघाउँथिन् र मेला पनि जान्थिन् । सोही क्रममा राहुल नाम गरेको केटासँग उनको भेट भयो । सम्बन्ध प्रगाढ बन्दै गयो । राहुलले प्रेम प्रस्ताव राख्यो, सविनाले स्विकारिन् । शारीरिक सम्बन्ध राख्दा बच्चा बस्यो । त्यसपछि राहुल विस्तारै टाढियो र सम्पर्कविहीन नै भयो ।

गर्भवती भएको थाहा पाएपछि परिवारले राहुलको बारेमा खोजी सुरु गरे । उसले आफ्नो बारेमा गलत जानकारी दिएको रहेछ, जति खोज्दा पनि भेटिएन । पछि बुबाआमाले अर्कै केटा खोजेर सबिनाको विवाह गरिदिए । सुरुका दिन राम्रैसँग बित्यो । छोरा जन्मियो । लुगा सिलाउने श्रीमान् लागूऔषधको कुलतमा फसे । कुटपिट गर्न थाले ।

विराटनगरमा सविनाले होटलमा काम गर्ने क्रममा प्रीति (परिवर्तित नाम) लाई भेटेकी थिइन् । प्रीतिकी आमाले त्यही होटलमा काम गर्थिन् । उनले “बिहारको आदापुर भन्ने ठाउँमा काम छ, जान्छौ ?” भनेर सोधिन् ।

“बच्चाको स्याहार, घरको काम गर्ने हो, महिनाको १० हजार भारु मिल्छ,” भनेपछि जान तयार भएको सविना बताउँछिन् ।

सल्लाहअनुसार नै उनी भारतको काम गर्ने भनिएको घरमा पुगेकी थिइन् । “म उनको घरमा गएँ, दूधको चिया दिएकी थिइन्, मैले त्यो खाएँ, त्यसपछि के भयो मलाई थाहा भएन,” सविना भन्छिन्, “जब होसमा आएँ । वरिपरि जंगल थियो । १५/१६ जना अरु केटीहरू थिए । केही रोइरहेका थिए ।”

उनले त्यहाँ नाच्ने मात्र नभई साहुनीको छोराछोरीलाई खाना खुवाउने, कपडा धुने काम गरिन् । साहुनी महिनावारी भएका बेला रगत लागेको कपडा धुन नमान्दा डाडु र दाउराले कुटेको उनी सुनाउँछिन् ।  उनी भन्छिन्, “छोटा लुगा लगाएर डान्स गर्नुपर्ने, नमाने कुटने गर्थे, धेरै यातना सहनुपर्‍यो ।”

उनका अनुसार त्यहाँ भारतीय प्रहरी समेत शारिरिक सम्बन्धको लागि आउँथे । उनलाई पनि शारीरिक सम्बन्धका लागि दबाब दिन्थे । उनी मान्दिनथिन् । एक दिन साहुनीले हातखुट्टा बाँधेर कोठामा मान्छे पठाइन् । उनले आफूलाई जोगाउने कुनै उपाय भेटिनन् ।

आफू धेरै पटकको प्रयासमा भाग्न सफल भएको उनी सुनाउँछिन् । भागेर नेपाल आउँदै गर्दा उनलाई भारतीय सीमा सुरक्षा बल एएसबीले रोकेर आफन्त नेपालको जिम्मा लगाइदिएको थियो ।  

बिहार र उत्तर प्रदेशका अर्केस्टामा विकृति

नेपालसँगै सीमा जोडिएका भारतका उत्तर प्रदेश र बिहारमा सयौंको संख्यामा अर्केस्टा खुलेका छन् । गाउँका सम्पन्न परिवारले आफ्नो रबाफ देखाउन यस्ता नाचहरू आयोजना गर्छन् । सहरमा जस्तो गाउँघरमा फिल्म हल, मलजस्ता मनोरञ्जनस्थल हुँदैनन्, ग्रामीण क्षेत्रका मानिसहरूले अर्केस्ट्राबाट मनोरञ्जन लिने गरेको प्रयास जुवेनाइल एन्ड सेन्टर, पूर्वी चम्पारण, बिहारकी जिल्ला परियोजना संयोजक आरती कुमारी बताउँछिन् ।

उनको संस्थाले सन् २०२१ मा भारतीय प्रहरीसँगको सहकार्यमा आदापुरस्थित कृष्णसिंह अर्केस्ट्रामा छापा मारेर विराटनगर घर भएकी एक नेपालीसहित बंगाली युवतीको उद्धार गरेको थियो । उनका अनुसार बिहारमा सन् २०१० पछि अर्केस्ट्रा मौलाएको छ । आरती कुमारी भन्छिन्, “अर्केस्ट्रा जिल्लाको श्रम संसाधन विभागमा दर्ता हुनुपर्छ, तर युवतीलाई शोषण गर्न सहज हुने हुँदा धेरै सञ्चालकले दर्ता नै नगरी चलाउँछन् ।”

राष्ट्रिय मानव अधिकार आयोगले गरेका अनुगमनका क्रममा नेपालबाट भारततर्फ विशेष गरी महिला तथा किशोरीहरूको ओसारपसार बढेको पाइएको छ । पहाडबाट ल्याइएका महिला तथा किशोरीलाई किनमेलका लागि, औषधि उपचारका लागि, सामान लिन जाने, पूजाका लागि जाने बहानामा बोर्डर पार गरी ओसारपसार हुने गरेको छ । कतिपयले विवाह गरेर नै तथा फेसबुक, इमोबाट चिनजानका आधारमा पनि भारततर्फ लाने गरेको आयोगको मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदन २०७९ मा उल्लेख छ ।

आरती कुमारीका अनुसार पछिल्लो समय अर्केस्ट्रा महिलाहरूका लागि नर्क बनेको छ । अर्केस्ट्रा दिन प्रतिदिन झन् अश्लील र विकृत बन्दै गएको छ । ग्रामीण क्षेत्रमा अर्धनग्न स्टेज प्रदर्शनका रूपमा चिनिएको छ । यसले आर्केस्ट्रामा नाच्ने पेसालाई अपमानित तुल्याएको आरती कुमारी बताउँछिन् । पुरुषहरू स्टेजमा चढेरसँगै नाच्ने, युवतीले लगाएको कपडाभित्र पैसा राखिदिने, चुम्बन गर्ने प्रयास गर्दछन् । सयौं मानिसको बीचमा यस्तो क्रियाकलाप हुन्छ ।

वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पस समाजशास्त्र विभागका प्रमुखसमेत रहेका उपप्राध्यापक वीरेन्द्र साह परम्परागत संस्कृतिसँग कुनै साइनो नै नभएको अर्केस्ट्रा पश्चिमी समाजबाट आएको बताउँछन् ।

“पहाडमा ‘दोहोरी’ गाएजस्तै मधेशमा ‘कवाली’ गाउने प्रचलन थियो, सात सहेलिया, अर्केस्ट्रा नाच पछि आएको हो, पछिल्लो समयमा परम्परागत संस्कृतिमाथि यो हाबी भयो,” साह भन्छन्, “हरे राम हरे कृष्ण भजन गाउँदा मानिस कम आउँछन्, अर्केस्ट्रा नचाउँदा सयौंको भीडले हेर्छ ।”

पत्रकार चन्द्रकिशोर विगतमा बाइजीको नाच हुने गरेकोमा त्यसैको विस्तारित रुप अर्केस्ट्रा भएको बताउँछन् । “ठूलाबडा भन्नेहरूले नेपालमा पनि भारतबाट ल्याएर बाइजीको नाच नचाउँथे, बन्द कोठामा हुने त्यो नाच उत्तेजक र अश्लील हुन्थ्यो, अर्केस्ट्रामा डिजे बजाएर सार्वजनिक ठाउँमा नाचिन्छ फरक त्यति हो,” उनले भने, “अब यो रोजगारी र फेसनसँग जोडिएको छ, विकृति र विसंगतिको पर्यायको रूपमा विकास भयो ।”

आत्मसम्मान र सामाजिक सम्मान दुवै नभएको यो पेसामा विभिन्न प्रलोभनमा परेर नेपालीहरू पनि पुगेका छन् । राष्ट्रिय मानव अधिकार आयोगको मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदन २०७९ मा अर्केस्टामा नाच्नका लागि मानव बेचबिखन तथा ओसारपसार हुने गरेको उल्लेख छ ।

भारतको कुमाउ विश्वविद्यालयको मनोविज्ञान विभागमा पीएचडी गर्दैगर्दा कविता थापाले सन् २०२१ मा ‘नेपालमा मानव बेचबिखनको खतरा’ विषयमा अनुसन्धानात्मक गरेकी छन् । उनको अनुसन्धान प्रतिवेदनमा नेपाली युवतीहरूलाई सांस्कृतिक कार्यक्रमको नाममा समेत भारतमा लगेर बेचिने गरेको उल्लेख छ । जसमा सन् २०१६–१७ मा माइती नेपाल वीरगन्ज शाखाले भारत बिहारको मोतिहारी र बगाहा क्षेत्रका अर्केस्ट्राबाट १२ जना युवतीलाई उद्धार गरेको उल्लेख छ । उनीहरूलाई एक हप्तासम्म तालिम दिएर अर्धनग्न शरीरमा कामुक नृत्य गर्न लगाइएको थियो । उनीहरूलाई राख्ने छाप्रोमा रातको समयमा पुरुषहरू आएर दुर्व्यवहार गर्नेसमेत उनको प्रतिवेदनमा उल्लेख छ ।

दिदीबहिनी नै बेचिए

झापाबाट २ जना युवती हराएपछि जिल्ला प्रहरी कार्यालय पर्साले भारतीय प्रहरीसँगको समन्वयमा खोजतलास गर्दा उनीहरू बिहारको छौडादानो थाना क्षेत्रमा राजेश भन्ने व्यक्तिले सञ्चालन गरेको अर्केस्ट्रामा रहेको पत्ता लाग्यो । माइती नेपाल र जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले साउन १०, २०७८ मा अर्केस्ट्राबाट ४ जनालाई उद्धार गरेर नेपाल ल्यायो ।

झापा बिर्तामोडकी २० वर्षीया लक्ष्मी दास, सुनसरीको इटहरीकी १९ वर्षीया खुश्बु विक, २० वर्षीया इनर्वा (क) र १६ वर्षीया इनर्वा (ख) (प्रहरीले मुद्दा दर्ता गर्दा दिएको नाम) थिए ।

इनर्वा (क) र इनर्वा (ख) दिदीबहिनी हुन् । पुर्ख्यौली घर भोजपुर देउराली भएका उनीहरूको आमाको निधन भइसकेको थियो । ४ जना छोरीलाई बुबा एक्लैले पाल्न सकेनन् । माइली र कान्छीलाई झापा हजुरआमासँग राखे ।

जेठी इनर्वा (क) र साहिँली इनर्वा (ख) लाई बिर्तामोडमा नातामा हजुरआमा पर्ने व्यक्तिको घरमा राखे । उनीहरू पाँच वर्षदेखि त्यहाँ बसेर घरायसी काम गर्नुको साथै पढ्थे पनि ।

फेसबुकमा साथी बनेकी लक्ष्मीसँग उनीहरूको कुरा भइरहेको थियो । खुश्बुसँग पनि चिनाजानी भयो । लक्ष्मी र खुश्बु डेढ वर्षदेखि सँगै रहेको बताउँथे । ०७८ असारमा उनीहरूले बिर्तामोडमा भेटघाट गरे । लक्ष्मी र खुश्बुले वीरगन्जमा एक दिन डान्स गर्दा १ हजार ५ सय कमाइ हुन्छ भनेर प्रलोभन देखाए ।

विश्वास गरेका साथीहरूले दिनमा २ जनाको गरेर ३ हजार रुपैयाँ कमाइ हुन्छ भनेपछि दिदीबहिनी दंग परे । काम गर्न बसेको घरमा थाहा नदिई ०७८ साउन ३ गते राति निस्किए । लक्ष्मी र खुश्बु बाटोमा कुरेर बसेका थिए । लक्ष्मीको आमाबुबा सीताराम दास (५५) र रिना दास (४८) घरमै थिए ।

साउन ४ गते दिउँसो बिर्तामोडबाट लक्ष्मीका आमाबुबासमेत ६ जना इटहरीसम्म आए । राति इटहरीबाट गाडी चढेका उनीहरू साउन ५ गते बिहान ८ बजेतिर वीरगन्ज बस पार्कमा पुगे ।

चियानास्ता खाने भनेर होटलमा लगे, नास्ता खाने बेलामा लक्ष्मीको मोबाइलमा फोन आयो । उनीहरूबीच गढीमाई मन्दिरमा भेट हुने कुरा भयो । त्यहाँबाट ६ जना ई–रिक्सामा चढेर मन्दिर पुगे । मन्दिरदेखि केही पर ३ वटा मोटरसाइकलमा आएका ४ जनासँग भेट भयो, उनीहरूले मोटरसाइकलमा चार जनालाई राखेर लगे । लक्ष्मीको बुबाआमा ई–रिक्सामा आए । “गएको दिन सबै सँगै बस्यौँ, त्यो ठाउँ भारत रहेछ भन्ने पछि मात्रै थाहा पायौं,” दिदीबहिनीले भनेका छन् ।

दास दम्पती उनीहरूलाई त्यहाँ छाडेर भोलिपल्ट नेपाल फर्किए ।  उनीहरूले आफूहरूलाई २५ हजार भारतीय रुपैयाँमा अर्केस्टा सञ्चालकलाई बेचेको ती दिदीबहिनी बताउँन् ।   

उनीहरूका अनुसार अर्केस्टामा बंगाली काजल भनिने महिला थिइन्, सबैले साहुनी भन्थे । खाना उनैले पकाएर दिन्थिन्, भाँडा माझ्न लगाउँथिन् । “उनैले ‘तिमीहरूले डान्स सिक्नुपर्छ, १ तारिखमा बाहिर जानुपर्छ,’ भनिन् र मोबाइल खोसेर राखिदिइन् । ४ दिनपछि नेपालबाट प्रहरीसहितको टोली पुगेर उद्धार गरेर ल्यायो ।”

लक्ष्मी र उनका बुबा सीताराम तथा आमा रिना तथा खुश्बुविरुद्ध पर्सा जिल्ला अदालतमा साउन १२, २०७८ मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता भयो । सीताराम र रिना फरार छन् ।

पर्सा जिल्ला अदालतको आदेशपछि लक्ष्मी दासलाई वीरगन्ज कारागारमा राखियो । खुश्बुलाई बाल सुधार गृहमा पठाइयो । इनर्वा (क) र इनर्वा (ख) पुनस्र्थापना गृहमा रहेको माइती नेपालले जनाएको छ ।

सरकारी वकिल कार्यालय पर्साले अदालतमा पेस गरेको जाहेरी दरखास्तमा भारत छौडादानो बस्ने बंगाली काजल भन्ने महिला, उनका श्रीमान् राजेश ठाकुर, राहुल यादव, प्रभात भन्ने व्यक्ति र पहिचान नखुलेका अन्य दुई जनालाई पनि पक्राउ गर्न माग गरिएको छ । काजल र राजेश अर्केस्ट्रा सञ्चालक हुन् । उनीहरूविरुद्धको यो मुद्दा पर्सा जिल्ला अदालतमा विचाराधीन रहेको सूचना अधिकारी अमृत मिश्र बताउँछन् ।

बालबच्चा लिएर अर्केस्ट्रामा

मंसिर २३, २०७८ का दिन भारतको मोतिहारी लखौरा थाना घर भएका नन्दकिशोर साह र उनकी श्रीमती रुबीले सञ्चालन गरेको ‘सुशीला एन्ड रिन्कु म्युजिकल अर्केस्ट्रा ग्रुप’ बाट ४ जनाको उद्धार भयोे । उद्धार हुनेमा १८ वर्षीया निता (परिवर्तित नाम) र उनका ३ वर्षीय छोरा तथा २० वर्षीया उर्मिला (परिवर्तित नाम) र उनकी साढे ४ वर्षीया छोरी थिए ।

निताको परिवार झापाको बिर्तामोडमा डेरा गरेर बस्थे । बुबा वैदेशिक रोजगारीमा गएका उतै दोस्रो विवाह गरेर बसे । आमा पनि विवाह गरेर गइन् । निता भाइ, बहिनी र हजुरआमासँग बस्थिन् । उनले प्रेमविवाह गरेकी थिइन् । दुवै जना घर बनाउने ठाउँमा काम गर्दथे ।

“एक दिन बच्चाहरू लिएर रातको १२ बजे भागेका थियौं, हिँड्दै केही पर पुगेका थियौं, अर्केस्ट्रा साहूले सबैतिर मान्छे खटाएको रहेछ,  बिहान ५ बजे हामीलाई फेला पारेर फर्कायो, त्यसपछि हामीले नेपाल आउन पाउँछौं भनेर आशा मारिसकेका थियौं ।”

भाउजू पर्ने पूजा राजवंशीले नाच्ने काम गर्ने हो, भारतको मोतिहारीमा चिनेको साथीले सञ्चालन गरेको क्लब छ, विवाह पार्टी भएको बेला नाच्नुपर्छ, नाच्न त्यही सिकाउँछ । दिनमा १ हजार ५ सय भारतीय रुपैयाँ दिन्छु भनेको छ भनेर नितालाई फकाइन् ।

पूजाका देवर मोटरसाइकल दुर्घटनाको मुद्दामा कारागारमा थिए । उनले आफ्नै देउरानीलाई उर्मिलालाई पनि फकाइन् ।

बिर्तामोडबाट कात्तिक २०, २०७६ का दिन निता ८ महिनाको छोरा र उर्मिला १८ महिनाको छोरी बोकेर रुबीको साथ लागेर हिँडेका थिए ।

रुबीले वीरगन्ज हुँदै रक्सौलबाट भारत लगिन् । बाटोमा कसैले सोधे भने ‘दिदीको घरमा मरण परेको छ, उहाँलाई पुर्‍याउन जाने हो भन्नू, नभए हामीलाई जान दिँदैन’ भनेर रुबीले सिकाएकी थिइन् । उनीहरूले भारतको मोतिहारी छौडादानोस्थित बेलागाउँमा लिएर गए, जुन ‘सुशीला एन्ड रिन्कु म्युजिकल अर्केस्ट्रा’ थियो ।

Nepal_Birjung-1719901158.jpg
नेपालकै प्रमुख प्रवेशद्वार मानिएको वीरगञ्जस्थित शंकाराचार्य गेट । तस्बिर : प्रणय साह

निता र उर्मिलाले १० हजार भारतीय रुपैयाँ एड्भान्स पाएका थिए । त्यसैले उनीहरूले साहू ठीकै रहेछन् भन्ने सोचेर काम थर्न थाले । कार्यक्रममा गएको बेला बच्चाहरू डेरामा साहूले नै हेरेर बस्थे ।

सुरुमा १० हजार रुपैयाँ दिए पनि पछि भने तलब नदिने, घरमा जान नदिने, घर परिवारका सदस्यसँग फोनमा कुरा गर्न नदिने, बन्धक बनाएर राख्ने, शारीरिक तथा मानसिक यातना दिन थालेको निता सम्झन्छिन् । वीरगन्ज घर बताउने दुई जना साथीहरूलाई त कता पठाए भन्ने पनि उनीहरूलाई थाहा छैन ।

आफूहरूले भाग्न प्रयास गरेको तर असफल भएको उर्मिला सुनाउँछिन् । “एक दिन बच्चाहरू लिएर रातको १२ बजे भागेका थियौं, हिँड्दै केही पर पुगेका थियौं, अर्केस्ट्रा साहूले सबैतिर मान्छे खटाएको रहेछ,  बिहान ५ बजे हामीलाई फेला पारेर फर्कायो,” उनी भन्छिन्, “त्यसपछि हामीले नेपाल आउन पाउँछौं भनेर आशा मारिसकेका थियौं ।”

माइती नेपाल वीरगन्ज शाखा सुपरभाइजर गोमा पौडेलका अनुसार गाउँलेले पूजा राजवंशीलाई दबाब दिएपछि उनैले उद्धारका लागि खबर गरेकी थिइन् र उनीहरूको उद्धार भएको थियो ।

“नेपाल लैजान आएको भन्दा सुरुमा केटीहरूले ‘हामी जाँदैनौं’ भनेका थिए । तैपनि हामीले उद्धार गर्‍यौं । छौडादानो चौकीमा आएपछि ‘तपाईंहरूले नल्याए मार्छ भन्ने डरले नेपाल नजाने भनेको हौं’ भन्दै थिए,” गोमा भन्छिन् ।

“एक पटक भाग्ने प्रयास गरिसकेका कारण उनीहरूलाई बन्धक नै बनाएर राखिएको थियो, बस्ने ठाउँ पनि सुरक्षित थिएन,” बाँसको खम्बा ठड्याएर टिनले बेरेको कम्पाउन्डभित्र टिनको छाना भएको दुईकोठे घरबाट उनीहरूको उद्धार गरिएको पौडेलले स्मरण गरिन् ।

निताका अनुसार सँगै नाच्ने झापाकी एक महिलाको खुट्टा भाँचिएको थियो । राम्रो उपचार नपाएर शरीर कमजोर हुँदै गएपछि उनी हिँड्न नसक्ने अवस्थामा पुगिन् । साहूले घरमा पुर्‍याइदिन्छु भनेर लगेको तर गाउँमा नपुगेको निता बताउँछिन् । “उनका बुबाआमा थिएनन्, कसले खोजी गर्ने ? उनीहरूले नै गायब बनाइदिए,” उनले भनिन्  ।

आर्थिक प्रलोभनमा फस्ने बढी

मानव बेचबिखन रोकथाम तथा नियन्त्रणका लागि काम गर्ने संघसंस्थाहरूको समूह छ, महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह नेपाल (एटविन) मा देशभरका ४३ वटा संस्था आबद्ध छन् । माइती नेपाल, आफन्त नेपाललगायत संघसंस्थाका देशका विभिन्न स्थानमा शाखा छन् ।

उनीहरूले सीमा क्षेत्रमा निगरानी गरेर बेचबिखनको जोखिममा परेका महिला तथा बालबालिकालाई पहिचान गरेर रोक्छन् । भारतीय सुरक्षाकर्मी र संघसंस्थासँगको सहकार्यमा बेचबिखनमा परेका कतिपयलाई उद्धार गरेर नेपाल ल्याउँछन् ।

आफन्त नेपाल वीरगन्ज शाखा प्रमुख सुनिता सापकोटा अर्केस्टामा साथी लैजाँदा थप रकम दिने प्रलोभनमा पार्ने गरिएको बताउँछिन् ।

अर्केस्ट्रामा युवतीहरू लैजानेले कमिसन पाउने भएकाले धेरै नेपाली त्यहाँ पुगेका झापाकी सृजनालाई पनि लागेको छ । “तीन जना लैजानले १० हजार रुपैयाँ कमिसन पाउने रहेछन्, त्यसैले नेपाल आएर फर्कदा अरु साथी लैजान्छन्,” सृजना भन्छिन् ।

“स्थानीय त बजार गर्न गएको भनेर जान्छन्, रोक्न सकिँदैन,” आफन्त नेपालकी सापकोटा भन्छिन्, “बाहिरबाट आएकालाई धेरै सोधपुछ गरे पछि बल्ल अर्केस्ट्रामा जान लागेको पत्ता लाग्छ ।”

सापकोटाका अनुसार लैजाने बेलामा ‘कसैले छुन पाउँदैन, आकर्षक कमाइ हुन्छ’ भनेर लगिन्छ । गइसकेपछि पैसा नदिने, अश्लील गीतमा नचाउने, भिडियो बनाउने, कुटपिट गर्नेे, यौन दुर्व्यवहार तथा बलात्कारसम्मका घटना भएका छन् ।  

माइती नेपालकी सुपरभाइजर पौडेलका अनुसार नाच्न जानेका वा नाच्न चाहने युवती अर्केस्ट्राका दलालहरूको निसानामा पर्ने गरेका छन् । सीमा क्षेत्रबाट उद्धार गरिएका अधिकांशलाई अर्केस्ट्राको बारेमा जानकारी नहुने गरेको उनी बताउँछिन् । “सुरुमा एड्भान्स पैसा दिने रहेछन्, त्यसपछि दिन्छुदिन्छु भनेर पैसा नै नदिने रहेछन्,” उनी भन्छिन्, “कतिलाई उतै रमाइलो लाग्दो रहेछ, कति फर्कन चाहेर पनि सक्दैनन् ।”

उद्धारमा चुनौती नै चुनौती

मानव बेचबिखन तथा ओसारपसारविरुद्ध काम गर्न नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो क्रियाशील छ । तर यसको संरचना केन्द्रमा मात्रै छ । भारतसँगको खुला सीमाबाट हुने मानव बेचबिखन रोक्न जिल्ला प्रहरी कार्यालय र सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी बलले भूमिका निर्वाह गर्दै आएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रवक्ता रहिसकेका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल अर्केस्ट्रा भारतीय भूमिमा सञ्चालन हुने हुँदा सूचना आएदेखि नै चुनौती सुरु हुने बताउँछन् ।

“सूचना आउनेबित्तिकै भारतीय सुरक्षा अधिकारीसँग अनौपचारिक ढंगले समन्वय गर्नुपर्छ, त्यसपछि उद्धार गर्न पनि सहज छैन, व्यक्तिगत सम्बन्ध राम्रो छ भने मात्रै अनुरोध स्वीकार गर्छन्, उनीहरूलाई खुसी पारिराख्नुपर्छ,” उनले भने, “दुवै देशका संघसंस्थासँग समन्वय गर्नुपर्ने हुँदा कतिपय अवस्थामा गोपनीयता कायम गर्न मुस्किल पर्छ ।”

उद्धार गरेर ल्याएपछि मुद्दा चलाउन खोज्दा वा चलाएपछि पीडित पक्षको सहयोगको पनि कमी हुने गरेको उनको अनुभव छ ।

“सीमा क्षेत्रभन्दा टाढाटाढा जिल्लाका विपन्न परिवारका, लैंगिक हिंसामा परेका महिलाहरू पीडित हुन्छन्, अभिभावक बल्लतल्ल आउँछन्, ‘मुद्दा मामिलामा को फस्छ ?’ भन्छन् । उजुरी नै गर्न मान्दैनन्,” डीएसपी खनाल भन्छन्, “बोर्डर छेउकै जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेपछि एक दुई पटक आउँछन्, बकपत्रमा नै नआउने गर्छन्, यसो गरिदिएपछि मुद्दा कमजोर बन्छ ।”

फकाउनेदेखि भारतसम्म लैजाँदा विभिन्न तहमा फरकफरक दलाल संलग्न हुने र सञ्चालक भारतीय हुने हुँदा अर्केस्ट्राका नाममा हुने मानव बेचबिखन नियन्त्रण चुनौतीपूर्ण रहेको उनले बताए ।

मानव बेचबिखन अनुसन्धान ब्युरोको जिल्ला जिल्लामा शाखा नहुनु पनि अर्को चुनौती रहेको उनको भनाइ छ ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्र कुनै पनि बहानामा नेपाली युवतीलाई शोषण गर्ने उद्देश्यले बोर्डर क्रस गराएर लैजाने कार्य बेचबिखनकै स्वरुप भएको बताउँछन् ।

अन्तरदेशीय तथा संगठित अपराध भएकाले मानव बेचबिखन मुद्दा दर्ता हुँदा भारतीय नागरिक नै भए पनि समातेर कारबाहीको दायरामा ल्याउन सकिने उनको भनाइ छ । उनी भन्छन्, “अर्केस्ट्रामा काम गर्ने युवती वा उनका अभिभावकले अपराध भएको उजुरी भने दिनुपर्छ ।”

पीडितले साथ नदिएको अवस्थामा मुद्दा कमजोर हुने तर्क प्रवक्ता मिश्रको छ । “उद्धार गरेर ल्याइसकेपछि पीडितले ‘मलाई जबर्जस्ती पक्रेर ल्याएका हुन्, मलाई केही भएको छैन, म आफ्नो इच्छाले नाच्न गएको हो । पैसा पनि लिएर आउँथे’ भनिदिए भने समस्या हुन्छ,” उनी भन्छन्, ‘सबैभन्दा पहिला पीडितलाई आफू पीडित हो, मैले न्याय पाउनुपर्छ भन्ने भावना जागृत गराउनुपर्छ ।’

मानव बेचबिखनको मुद्दा, श्रम शोषणमा फैसला

धनुषा जिल्ला घर भई भारत बिहार मोतिहारी जिल्ला पूर्वी चम्पारण थाना, छौडादानो नगर पञ्चायत वडा नं. ११ बस्ने २४ वर्षीया ममता कुमारी भन्ने अजिमा खातुन र विकास भन्ने विकेश कुमारले छौडादानोमा सञ्चालन गरेको ‘पायल राज म्युजिकल अर्केस्ट्रा’ मा पुगिन् । उनीहरू ‘लिभ इन रिलेसन’ मा रहेर अर्केस्ट्रा सञ्चालन गर्न लागे । विवाह पार्टीमा नाच्नका लागि युवतीको आवश्यकता पर्दथ्यो । बिहारमा नाच्ने युवतीहरू खासै नपाउने हुँदा उनीहरू सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली युवती खोज्थे ।  

उनीहरूले इनर्वा (ज), इनर्वा (झ), इनर्वा (छ) र इनर्वा (ङ) (प्रहरीले मुद्दा दर्ता गर्दा राखेको नाम) लाई फेसबुकमार्फत नै फकाए । इनर्वा (च) लाई सपना चौधरी नाम गरेकी महिलाले अर्केस्ट्रामा लगिन् । इनर्वा (घ) लाई फोनबाट बोलाएका थिए भने इनर्वा (ग) लाई हेमा कार्कीले लगेकी थिइन् । उनीहरूलाई  एउटा कार्यक्रममा डान्स गरेबापत २ हजार ५ सय रुपैयाँ दिने भनी प्रलोभनमा पारिएको थियो ।  

इनर्वा (ङ) लाई उद्धार गरी पाउँ भनी उनको श्रीमान्ले आफन्त नेपाल शाखा कार्यालय भरतपुर, चितवनमा निवेदन दिएका थिए । आफन्त नेपालले नेपाली तथा भारतीय सुरक्षाकर्मीसँगको समन्वयमा भदौ ९, २०७८ मा आदापुरस्थित अर्केस्ट्रामा छापा मारेर उनीहरूको उद्धार गर्‍यो । उद्धार गरिएकाहरू कोही १० महिनाअघि त कोही ३ वर्षअघि वीरगन्ज हुँदै भारतको छौडादानो पुगेका थिए । पीडितलाई उद्धार गरेको भोलिपल्ट अर्केस्टा सञ्चालक विकास र ममता पनि पक्राउ परे ।

राम्रो कमाइ हुने प्रलोभन दिएर बोलाए पनि छौडादानोमा रहँदा उनीहरूले कहिल्यै राम्रो व्यवहार नगरेको पीडितहरूको भनाइ छ । नाचगान गरेको रकमसमेत नदिई गालीगलौज, कुटपिट गरी शारीरिक तथा मानसिक यातना दिने, अँध्यारो कोठामा राख्ने, समयमा राम्रो खाना खान नदिने, आफ्नो आफन्त र परिवारलाई फोन गर्न, भेटघाट गर्न नदिई शारीरिक तथा मानसिक यातना दिई शोषण गर्ने, डर त्रास देखाई, एक ठाउँबाट अर्को ठाउँमा जानसमेत नदिई राखेको भन्दै पीडितहरू इनर्वा (ग) समेतले असोज ४, २०७८ मा पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरे ।

प्रहरीले पेस गरेको बयानअनुसार विकासले मुजुरा डान्स गराएको, पारिश्रमिक नदिई राखेको, अरु कसैले खोज्न आएमा बिक्री गर्ने उद्देश्यले उनीहरूलाई राखेको बताएका थिए । ममताले भारतमा युवतीहरू नपाउने हुँदा विकासले नै नेपालबाट ल्याउने र दुवै जना मिलेर अर्केस्ट्रा सञ्चालन गरी कमाएको पैसा आधाआधा बाँडिखाउँला भनेकाले आफूले नेपालका युवतीहरूलाई फकाएको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

अदालतमा विकास र ममताले बयान फेरेको देखिन्छ । दुवैले पैसाको प्रलोभनमा परेर युवतीहरूलाई नलगेको, विवाह ब्रतबन्धहरूमा नाचगान गर्न मात्र लगाएको, अश्लील कपडाहरू लगाउन नदिएको, घरपरिवारसँग कुरा गर्न भारतीय नम्बरको सिमकार्ड पनि दिएको, नेपालबाट लगेको नभई घरपरिवारका व्यक्तिले नै ल्याइदिएर पैसा लिएको दाबी अदालतमा गरे । युवतीहरूलाई बस्नका लागि बेग्लै कोठा दिएको र बिक्री गर्न राखेको होइन भनी बयान दिए ।

“मैले निजहरूलाई बेच्ने भनी नेपालबाट लगेको होइन, म काम गर्न आउनुभन्दा पहिलादेखि नै तिनीहरू त्यहाँ काम गर्दै थिए,” ममताले अदालतमा भनेकी थिइन्, “विकास मलाई छाड्न नेपाल आउँदै गर्दा हामी दुवैलाई पक्राउ गरिएको हो ।”

उनीहरूको बुबाआमासँग कुरा गराएको मोबाइलमा रेकर्ड रहेको भन्दै विकासले पैसा दिएको कागजमा लेखेर राखेको दाबी गरेका थिए ।

अदालतले पीडितहरू अर्केस्ट्रामा नाचगान गर्न आफैं भारत मोतिहारीको छौडादानो पुगेको, पीडितहरूको उद्धार भारत मोतिहारीको छौडादानोबाट भएको भन्ने नदेखिएको, काम दिएको तर पैसा नदिएको, बेचबिखन गर्ने उद्देश्यले लगेको वा बेचबिखन गरेको वा वेश्यावृत्तिमा लगाएको भन्ने नदेखिएको ठहर गर्‍यो ।

अर्केस्ट्रामा नाचगान गरिदिएबापत प्राप्त गर्नुपर्ने पारिश्रमिक नपाएको कारण पीडितहरूको श्रम शोषणसम्म भएको देखिएको निष्कर्ष निकाल्यो । विकास र ममतालाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण ऐन) २०६४ को दफा ४ (क) बमोजिम कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने कसुर कायम गरी पाउँ भन्ने वादी नेपाल सरकारको दाबी नपुग्ने भन्दै अदालतले सोही ऐनको दफा ४ (२) (ख) बमोजिम कसुर गरेको ठहर भयो ।  

चैत १६, २०७८ मा भएको पर्सा जिल्ला अदालतकोे फैसला आदेशमा पीडितहरूलाई शारीरिक मानसिक, यौनिक शोषण गरेको भन्ने नदेखिएको, केवल कामको पैसा नदिई श्रम शोषणसम्म गरेको देखिएको उल्लेख छ । विकास र ममतालाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५ (१) च बमोजिम जनही २ (दुई) वर्ष कैद हुने अदालतको आदेश छ । पीडितहरूले प्रतिवादीहरूबाट दफा १७ बमोजिम ५० हजार रुपैयाँ क्षतिपूर्ति भराई लिन पाउने आदेशमा उल्लेख छ । साथै विकास र ममताबाट अपराध पीडित राहत कोषमा ६ सय रुपैयाँ जम्मा गर्न लगाउने आदेश अदालतले गरेको छ ।  

नेपालको कानुनी व्यवस्था

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने, प्रचलित कानुनबमोजिम बाहेक मानिसको अङ्ग झिक्ने र वेश्यागमन गर्ने कार्यसमेत मानव बेचबिखन हो ।

किन्ने वा बेच्ने उद्देश्यले मानसिलाई विदेश लैजाने, वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाइफकाई प्रलोभनमा पारी, झुक्याई, जालसाज गरी, प्रपञ्च मिलाई जबर्जस्ती गरी, करकापमा पारी, अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितिको फाइदा लिई, बहोस पारी, पद वा शक्तिको दुरुपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धम्की दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लग्ने वा आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरु कसैलाई दिने कार्यलाई ओसारपसार गरेको मानिन्छ । ऐनका यी दुई बुँदालाई आधार मान्दा पनि सृजनासहितका पीडितहरू मानव बेचबिखन तथा ओसारपसार र तस्करीमा परेका स्पष्ट हुन्छ ।

मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कसुर गरेको, गरिरहेको वा गर्न लागेको थाहा पाउने जुनसुकै व्यक्तिले नजिकको प्रहरीमा उजुर गर्न सक्छन् । अभियोग लागेको व्यक्तिले आफूले कसुर गरेको छैन भन्ने प्रमाण पुर्‍याउनुपर्छ ।

कसुरअनुसार सजायको व्यवस्था पनि ऐनले गरेको छ । मानिस किन्ने वा बेच्नेलाई २० वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना, वेश्यावृत्तिमा लगाउनेलाई कसुरको मात्राअनुसार दस वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना, अंग झिक्नेलाई दस वर्ष कैद र दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना, वेश्यागमन गर्नेलाई १ महिनादेखि तीन महिनासम्म कैद र २ हजार रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।

किन्न, बेच्न वा वेश्यावृत्तिमा लगाउने उद्देश्यले मानिसलाई विदेश लैजानेलाई १० वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना, बालबालिका लगेको भए १५ वर्षदेखि २० वर्षसम्म कैद र १ लाख रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँ लैजानेलाई १० वर्ष कैद र ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना र बालबालिका लगेको अवस्थामा १० वर्षदेखि १२ वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिवाना लाग्छ ।  शोषण गर्ने उद्देश्यले नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा लैजानेलाई १ वर्षदेखि २ वर्षसम्म कैद विशेष लगेको भए २ वर्षदेखि ५ वर्षसम्म कैद सजाय छ । मानव बेचबिखन वा ओसारपसारको कसुर गर्न दुरुत्साहन, षड्यन्त्र वा उद्योग गर्ने वा मतियारलाई कसुर गर्दा हुने सजायको आधा सजाय हुन्छ ।

(यो खोज समाचार निमजिनको फेलोसिप कार्यक्रम अन्तर्गत अस्ट्रेलियन एडको सहयोगमा उत्पादन गरिएको हो । यो सामग्रीको पूर्ण जिम्मेवारी प्रकाशक र लेखकसँग मात्र रहने छ ।)

Read our guidelines for Republishing this story here.

Comments