Navigation
भारतीय गुम्बामा नेपाली बालकको तस्करी Kalpana Bhattarai | Jun 11, 2024

सिन्धुलीको मरिण गाउँपालिका–४ फूलबारीका ६ वर्षका राजकुमार थिङ घरनजिकै खेलिरहेका हुन्छन् । उनलाई भेट्नेबित्तिकै पल्लो गाउँ देउरालीका काना थिङले भारतको गुम्बामा पढ्न जाने प्रस्ताव राख्छन् । अबोध बालकलाई लोभ्याउँदै आश्वासन दिन्छन्, “भारतको गुम्बामा पढ्न गएमा ठूलो लामा भइन्छ, पैसा धेरै कमाइन्छ, बस्न, पढ्न र मिठोमिठो खान पनि सित्तैमा पाइन्छ ।”

‘खेल्ने’ र ‘कुद्‍ने’ उमेरका राजकुमार घरदेखि टाढा जान पाइने प्रस्तावमा दंग हुन्छन् । भिक्षु बनाउनलाई गुम्बामा लैजाने राजकुमारजस्तै उमेरका बालक खोज्दै २०७६ जेठको पहिलो साता फूलबारी पुगेका थिए– २८ वर्षका काना । मूलबाटैमा भेटिएका राजकुमारको पछि लागेर घरसम्मै पुग्छन् । राजकुमारलाई पढाउन भारत लैजाने प्रस्ताव कानाले उनकी आमा सुनिमायासँग राख्छन् ।

छोराले पनि गुम्बामा जान रहर गरेको र कानाको कुरा पनि ठिकैजस्तो लागेकाले सुनिमाया छोरालाई पठाउन तयार हुन्छिन् । राजकुमारलाई जस्तै उनका साथीहरू मिङमार मोक्तान (८) र मानबहादुर योञ्जन (१२) लाई पनि कानाले प्रस्ताव राखिसकेका हुन्छन् । मिङमारकी आमा अनिता र मानबहादुरकी आमा कान्छीमाया पनि छोरालाई पठाउन तयार हुन्छन् । गाउँमा सँगै खेल्ने, पढ्ने साथीसँगै जाने भएकाले छोरा पठाउँदा केही फरक पर्दैनजस्तो लागेर छोरालाई भारत पठाउँछिन् सुनिमाया ।

Rajkumar-Thing-house-Marin-sindhuli-1718036511.jpg
सोमराज थिङको घर । तस्बिर : कल्पना भट्टराई

कुन ठाउँको गुम्बामा, किन, कसरी र कति समयका लागि लगिँदै छ भन्ने कुनै जानकारी नभए पनि भारतको गुम्बामा लैजाने भनेकै आधारमा अभिभावकले आफ्ना छोराहरूलाई भारत पठाउँछन् ।

राजकुमार, मिङमार, मानबहादुर मात्रै नभई मरिणकै कपिलाकोट देउरालीका बुद्धबहादुर वल (१३), हरिहरपुरगढी र काभ्रेपलाञ्चोकको बनखुका गरी १८ जना बालकलाई २०७६ जेठमा सर्लाहीको मलंगवा सीमा नाकाबाट भारत लगिन्छ । १८ जनालाई उनीहरूकै अभिभावकले बोर्डर कटाइदिन्छन् । आफ्ना सन्तानलाई लालसिंह बल, कालसाङ लामा र कानाको जिम्मा लगाएर उनी घर फर्कन्छन् ।

०००    ०००

राजकुमारका बुबा आमाका अनुसार पढ्ने र ठूलो भिक्षु बन्ने सपना देखेर दक्षिण भारतको कर्नाटकको ड्रेपुङ गोमाङ गुम्बामा पुगेका उनी सुरुमा त्यहाँ रमाए पनि दिन बित्दै गएपछि घर फर्कन चाहन्छन् । गुम्बाका व्यक्तिमार्फत आमासँग कुराकानी हुँदा गुम्बामा कहिल्यै नफर्कने गरी घर आउन चाहेको भन्दै छिटो लिन आउनु भन्थे । छोरालाई लिन कहाँ जाने कसरी जाने केही थाहा नपाएका अभिभावक पढाइ सकेर मात्रै आउँछु भनेर गएको छोराले बीचमै फर्किने अड्डी लिएपछि दोधारमा पर्छन् र छोरालाई घर फर्काइदिन गुम्बाकै मान्छेलाई भन्छन् ।

राजकुमारले घर फर्कने अडान लिएर बस्नै नमानेपछि ड्रेपुङ गोमाङ गुम्बाका व्यक्तिले नै २०८० असारको पहिलो साता काठमाडौंको एउटा गुम्बामा ल्याएर राजकुमारलाई छाडिदिन्छन् । २०७६ सालमा छोरा पुर्‍याउन सर्लाहीको बोर्डरसम्म गएकी सुनिमाया चार वर्षपछि उही छोरा लिन आफैँ काठमाडौं पुगिन् । छोडेर आउँदा एक महिनासम्म आँखा ओभाएका थिएनन् । लिन जाँदा पनि त्यस्तै भयो । फरक यत्ति थियो, पहिले बगाएका आँसु बिछोडका थिए त पछि मिलनका ।

राजकुमार फर्किएको थाहा पाएपछि दोस्रो पटक हामी साउन २७, २०८० मा उनको घर सिन्धुलीको मरिण गाउँपालिका–४ च्यानेमा पुग्यौँ, त्यसको ६ महिनाअघि माघ २८, २०७९ मा हामी पहिलो पटक च्याने र वडा नं. ६ कपिलाकोटको देउराली पुगेका थियौँ । त्यतिबेला भारतका गुम्बाबाट फर्केर आएका केही बालक भेटेका हामी दोस्रो पटक त्यहाँ पुग्नुको उद्देश्य थियो– राजकुमार किन गुम्बामा जान तयार भए ? उनलाई कसरी भारतको गुम्बामा पुर्‍याइयो ? त्यहाँ केके भयो ? र उनी किन र कसरी फर्किए भनेर बुझ्न ।

साउने झरी र स्थानीय खोलाहरूको बाढी झेल्दै हामी पुग्दा राजकुमार साथीहरूसँग त्यसरी नै खेलिरहेका थिए, जसरी २०७६ सालामा कानाले भेट्दा खेल्दै थिए । “उता यसरी खेल्न पाइँदैनथ्यो, अनुशासन र नियम मान्नुपर्थ्यो,” खेल्न छाडेर हामीसँग कुराकानी गर्न थालेका उनले भने । भारतको गुम्बामा भएको व्यवहारबारे सोध्दा उनले डराइ डराइ उत्तर दिएका थिए । नाबालग उनीसँग हामीले अभिभावकको उपस्थितिमै कुराकानी गर्दा उनले निहुरिएर जवाफ दिने र बारम्बार हातका औँलाहरू खेलाउने गरिरहेका थिए ।

Somraj-Thing-Sindhuli-marin-1718036071.jpg
सोमराज थिङ (राजकुमारका बुबा) । तस्बिर : कल्पना भट्टराई​​​

घर फर्किएर गाउँकै खयरसाल माविमा कक्षा ४ मा भर्ना भएका उनको अनुभवमा यहाँ र त्यहाँको पढाइमा आकाश जमिनको फरक छ । गुम्बामा बिहान साढे ५ बजेदेखि रातिको १२ बजेसम्म पढ्नुपर्थ्यो। दिनभर पढेको पाठ राति नै बुझाउनुपर्थ्यो । सुत्ने बेला १ बज्थ्यो । कक्षा कार्य राम्ररी गर्न नसकेमा वा गल्ती भएमा पिटाइ खानुपर्थ्यो ।

“गुरुले जहाँ पायो त्यहीँ हिर्काउनुहुन्थ्यो, लठ्ठी र चार्जरको तारले समेत पिटाइ खाएको छु,” उनले दुःख सुनाए, “पिटाइ खाएको बेला घर र गाउँ सम्झिएर रुँदै बस्यौँ ।” पिटाइ खाने डरले कक्षा कार्य बुझाउने बेला सधैँ डर त्रासमा हुने गरेको उनको अनुभव छ ।

गुम्बामा लगाइने पूजाको समयमा हातबाट चिप्लिएर कप फुट्दा नराम्रोसँग पिटाइ खाएको स्मरण उनीसँग अहिले पनि ताजै छ । “शरीरभरि डाम थियो, अहिले सञ्चो हुँदै छ,” राजकुमार सुनाउँछन् ।

उनका अनुसार गुम्बामा पढाइ, खान र बस्ने सुविधा छ । तर, कुनै गल्ती भइहालेमा नराम्रोसँग कुटाइ खानुपर्छ, त्यसैले त्यहाँ बस्ने धेरै साथीहरू घर फर्किन चाहन्छन् । “दिनभरि पढ्दापढ्दै थाकिन्थ्यो, राति कक्षा कार्य नबुझाए सुत्नै पाइँदैनथ्यो,” राजकुमार भन्छन् ,“त्यो सहन नसकेपछि घर फर्किएँ, अब जाने मनै छैन ।” भारत जाँदा ६ वर्षका उनी अहिले १० वर्ष लागेका छन् ।

छोराले गुम्बामा भोगेका समस्याका बारे पहिला सुनिमायालाई केही थाहा थिएन । राजकुमारसँग फोनमा कुराकानी हुँदा सोधेको कुराको जवाफबाहेक सुरुमा अरू कुरा नभएको उनी बताउँछिन् । २०७६ सालमा गुम्बामा पुर्‍याइएका छोरासँग उनको दुई महिनापछि मात्रै पहिलो पटक फोन सम्पर्क भएको थियो ।

घर फर्किएपछि पनि राजकुमारलाई परिवारसँग घुलमिल हुन र खुलेर कुरा गर्न समय लागेको बुबा सोमराज बताउँछन् । भन्छन्, “विस्तारै विस्तारै सबै ठिक हुँदै छ ।”

बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा १५ को उपदफा २ अनुसार प्रत्येक बालबालिकालाई प्रचलित कानुनबमोजिम आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क रूपमा बालमैत्री वातावरणमा पाउने अधिकार दिइएको छ ।

दफा १५ कै उपदफा ३ मा प्रत्येक बालबालिकालाई आफ्नो विशेष शारीरिक तथा मानसिक अवस्थाअनुसार प्रचलित कानुनबमोजिम उपयुक्त अध्ययन सामग्री तथा शिक्षण विधिमार्फत शिक्षा पाउने अधिकार हुनेछ भनिएको छ । तर राजकुमारसहितका १८ जनालाई भिक्षु बनाउन भनेर भारत लैजानु, गुम्बामा उनीहरूले भागेका दुःख कष्टले बालअधिकारको हनन् भएको र उनीहरूमाथि अन्याय भएको पुष्टि हुने बालअधिकारीकर्मी मिलन धरेल बताउँछन् ।  

सरोकारवालाको बेवास्ता

जेठको हपक्कैको गर्मीको समय । सीमा कटाउन आएकी आमासँग बिदा भएर राजकुमारसहित  १८ जना बालक भारत छिर्छन् । उनीहरू लालसिंह बल, कालसाङ लामा र कानाको साथ लागेर भारतको राजधानी दिल्ली पुग्छन् । दिल्लीमा केही सयम राखेर कर्नाटक लैजान रेल चढ्ने क्रममा दिल्लीको निजामुद्दिन रेलवे स्टेसनमा अभिभाव र कागजातबिनाका १८ जना बालकलाई देखेपछि त्यहाँको प्रहरी झस्किन्छ र उनीहरूलाई नियन्त्रणमा लिन्छ ।

बालकहरू नेपाली रहेको थाहा पाएपछि प्रहरीले तस्करी भएको हुन सक्ने भन्दै तत्कालै दिल्लीस्थित नेपाली दूतावासमा खबर गर्छ । त्यो समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतकै भ्रमणमा हुन्छन् । प्रधानमन्त्रीको स्वागतमा व्यस्त दूतावासका अधिकारीले रेलवे स्टेसनमा समातिएका बालकहरूको अवस्था बुझ्न नेपाली संस्था आफन्त नेपाल (केआईएन) लाई पठाउँछन् ।

प्रहरीमा पुगेका आफन्त नेपालका तत्कालीन उद्धार अधिकृत नवीन जोशीको भनाइअनुसार ती बालक गैरकानुनी बाटोबाट ल्याइएको पुष्टि भएको थियो । तर उनीहरूलाई घर नफर्काई गन्तव्यमा जान दिइएको थियो । बालकहरूलाई प्रहरीबाट छुटाउन कर्नाटकको गुम्बाबाट कागजात मगाइएको थियो । उक्त कागजातमा ती बालकहरूलाई नौशिखा भिक्षु बनाउन लैजाने उल्लेख थियो । लैजाने व्यक्तिहरूसँग बालकहरूको जन्मदर्ताबाहेक अन्य केही कागजात नभेटिएको जोशी बताउँछन् ।

Gumaba-letter-to-Delhi-police-1718036167.jpg
कर्नाटकको गुम्बाबाट भारतीय प्रहरीमा पठाइएको पत्र ।

बालकलाई गुम्बामा जान दिए पनि जोशीले उनीहरू बेचबिखनको जोखिममा पर्न सक्ने भन्दै मानव बेचबिखन अनुसन्धान ब्युरो, बाल अधिकार परिषद् र मानव अधिकार आयोगलाई तत्काल उद्धार तथा स्वदेश फिर्तीका लागि पहल गर्न पत्राचार गरेका थिए ।

National-Human-Rights-Commission-Letter-1718036869.jpg
 
मानव अधिकार आयोगले प्रहरीलाई पठाएको पत्र ।

त्यसकै आधारमा असार ९, २०७६ मा मानव अधिकार आयोगले पनि पत्र लेख्दै ती बालकको उद्धार र स्वदेश फिर्ता गरी त्यसको जानकारी उपलब्ध गराउन मानव बेचबिखन ब्युरोलाई अनुरोध गरेको थियो ।

त्यसको जवाफमा ब्युरोले पठाएको पत्रमा अभिभावकको मञ्जुरी र स्वेच्छाका साथ पठाइएको र परिवारको सम्पर्कमा रहेको भनिएको छ । 

Police-Response-1718036869.jpg
मानव बेचबिखन ब्युरोले मानवअधिकारी आयोगलाई पठाएको पत्र ।

१८ जनामध्ये छेनम दोर्जे तामाङ, राजु भोलान र संगबहादुर वाइबाका अभिभावकसँग सम्पर्क नभएको व्यहोरा पत्रमा उल्लेख थियो । प्रक्रिया पूरा नगरी गैरकानुनी बाटोबाट गुम्बामा पुर्‍याइएका ती बालकहरूलाई स्वदेश फिर्ता गर्ने कि नगर्ने विषयमा सरकारी तथा गैरसरकारी संस्थाहरूबीच बैठक, छलफल र बहस भएको थियो ।

छलफलमा बालकहरूको हक, अधिकार र संरक्षणको कुरा पनि उठाइएको थियो । तर, पठाइएका ती बालकहरूको अवस्थाको खोजी गर्नु कसैको दायित्वभित्र परेन । ब्युरोका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) अनुपम राणा भन्छन्, “अन्तिममा पढाउन लागिएको भनी हल्का टिप्पणी गरी च्याप्टर क्लोज गरियो ।”

छोरालाई दिल्लीमा प्रहरीले रोकेपछि मात्रै गैरकानुनी बाटो प्रयोग गरी लगिएको थाहा पाएको राजकुमारका बुबा सोमराज थिङ बताउँछन् । उनका अनुसार मरिणकै इलाका प्रहरी कार्यालय कपिलाकोटमा बोलाएर छोरासँग फोन सम्पर्क हुने गरेको र सकुशल रहेको भनी कागजातमा सही छाप गर्न लगाएका थियो ।

असार २७, २०८० मा हामीले इलाका प्रहरी कार्यालय कपिलाकोटमा पुगेर फेला पारेका कागजातले यसलाई पुष्टि गर्छ ।  २०७६ को भदौमा ब्युरोले जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई र त्यसपछि सिन्धुलीले इलाका प्रहरी कार्यालय कपिलाकोटलाई पत्राचार गरेको अभिलेखबाट देखिन्छ ।

Police-Document-2-1718036867.jpg
प्रहरीले गरेको पत्रचार ।

कपिलाकोट प्रहरीको अभिलेखमा मरिण गाउँपालिका–६ का तत्कालीन वडाध्यक्ष कुर्साङ लामा र वडा नं. ४ का तत्कालीन वडाध्यक्ष धनबहादुर स्याङ्तानको रोहबरमा स्थलगत गाउँ सरजमिनको मुचुल्का बनाएर “सुरक्षित बसेको र पठनपाठन गरेको” भनी अभिभावकहरूलाई सहीछाप गर्न लगाइएको देखिन्छ ।

जब कि वडा नं‍. ६ का तत्कालीन वडाध्यक्ष कुर्साङ आफैं गाउँबाट बालकहरू संकलन गरेर भारतीय गुम्बामा पठाउँथे । गुम्बामा फोन सम्पर्क नगरी र उनीहरूको अवस्था नै नबुझी प्रहरीले अभिभावकले भनेका कुराहरूलाई मात्रै आधार बनाएर मुचुल्का बनाएको देखिन्छ ।

Man-Bahadur-Yonjan-House_1-1718036871.jpg
कपिलाकोटमा तयार पारिएको मुचुल्का ।

पालेर्मो प्रोटोकलको धारा ३ मा यसरी स्थानान्तरण गर्नुलाई बेचबिखनको परिभाषाभित्र समेटिएको छ । प्रोटोकलको धारा ३ मा शोषण गर्ने उद्देश्यले धम्की वा शक्ति वा अन्य कुनै प्रकारको बल प्रयोग गरी, पदको वा जोखिमयुक्त अवस्थाको दुरुपयोग गरी, कब्जा वा जालसाजी गरी, छलछाम गरी, पद वा जोखिमयुक्त अवस्थाको दुरुपयोग गरी वा अर्को व्यक्तिमाथि नियन्त्रण राख्ने, कुनै व्यक्तिको स्वीकृति प्राप्त गर्न रकम वा लाभ दिने गरी व्यक्तिलाई भर्ती गर्ने, ओसारपोसार गर्ने, स्थानान्तरण गर्ने, आश्रय दिने वा प्राप्त गर्ने कार्यलाई बेचबिखन भनेर परिभाषित गरेको छ ।

जसबाट ती १८ जना बालकहरू बेचबिखन र तस्करीमा परेको भन्न सकिन्छ । तर ती बालकहरूको ओसारपसारलाई ब्युरोलगायतका सरोकारवाला निकायले सामान्यीकरण गरे । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका तत्कालीन प्रहरी प्रमुख (एसपी) विनोद शर्मा भन्छन्, “प्रहरीले यस्तो गर्न त नमिल्ने हो, त्यो समयमा कसरी गल्ती भएछ ?” आफू कार्यालयमा भर्खरै हाजिर भएकाले घटनाको बारेमा जानकारी नभएको शर्माले बताए ।  

बालकको ओसारपसार : फाइदा कसलाई ?

मरिणबाट कतिको संख्यामा बालकहरू भारतका गुम्बामा गएका छन् भन्ने यकिन तथ्यांक छैन । मरिण–४ स्थित तामाङ घिलिन संस्थाका संयोजक काजीमान थिङ ५०/६० जना बालक गएको हुन सक्ने बताउँछन् ।

विपन्न अभिभावकले बालबालिकाको जीवन सुध्रिन्छ कि भनेर पढ्न पठाउने गरेको बताउने उनी धर्म र दर्शनको संरक्षण गर्ने नाममा सानै उमेरका बालकहरूलाई बाआमाबाट छुट्याएर लैजानु गलत भएको बताउँछन् । घरपरिवार र देशबाट टाढा राख्दा भाषा, संस्कृति र पहिचान गुम्ने चिन्ता थिङलाई छ ।

उनी भन्छन्, “अभिभावकले आफ्ना बालबालिका राम्रोसँग बसेको अनुमान गर्छन् । त्यहाँको वातावरण बालबालिकाका लागि अनुकूल छ कि छैन, कस्तो व्यवहार गरिन्छ जानकारी हुँदैन । गुम्बामा के–कस्तो हुन्छ, अध्ययन गरिएको पनि छैन ।”

अभिभावक र लैजाने व्यक्ति दुवैले परम्परागत धार्मिक, सांस्कृतिक संरक्षणको नाउँमा बालबालिकाको रुचि र मनोविज्ञान बुझेको देखिँदैन । जसले गर्दा बालकहरूको मानसिक, सामाजिक र संवेगात्मक विकासमा असर परेको छ । बौद्धदर्शनमा आचार्य गरेका थुप्तेन तामाङ भन्छन्, “सानो उमेरमा गुम्बामा पढाउन ल्याइएका बालकहरूमा एकहोरो हुने, एग्रेसिभ हुने, टोलाउनेलगायत समस्याहरू देखेको छु ।”

सानो उमेरमा पढ्न पठाएका आफन्तका बालबच्चा र गुम्बामा अध्ययन गरेका अन्य बालकहरूमा पनि यस्तो समस्या देखिएको थुप्तेनको अनुभव छ ।

गैरबौद्ध समुदायका बालक पनि गुम्बामा

बौद्ध धर्म र संस्कृतिको संरक्षणका लागि भन्दै गैरबौद्ध समुदायका बालकलाई पनि पढाइदिने प्रलोभनमा गुम्बामा लैजाने गरेको पाइन्छ ।

जस्तो कि २०७८ को भदौमा मुस्ताङको थासाङ गाउँपालिका–५ कुञ्जी र आसपासका १४ जनालाई लामा पढाइदिने बहानामा भारत लैजाँदै गर्दा पूर्वी नाका काँकडभिट्टाबाट उद्धार गरिएको थियो । जसमा दलित समुदायका बालक पनि थिए । 

लामाको कपडा लगाएर गैरकानुनी रूपमा ती बालकहरूलाई सीमा कटाउन लागिएको बेला उद्धार गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका तत्कालीन डीएसपी सुनिल दाहाल बताउँछन् । पूर्वका बालबालिकालाई पश्चिमका नाका र पश्चिमका बालबालिकालाई पूर्वका नाकाबाट ओसारपसार हुने गरेको प्रहरी अभिलेखबाट देखिन्छ ।

गाउँ–गाउँबाट बालकहरू संकलन गरी भारतीय गुम्बामा लैजाने चलन पुरानो भएको बौद्ध लेखक तथा अध्येता बसन्त महर्जन बताउँछन् । उनका अनुसार त्यसरी लगिएका बालकहरूका बारे वडा र पालिका कसैलाई थाहा हुँदैन । “कुन गुम्बामा लैजान लागिएको हो, कुन—कुन ठाउँबाट संकलन गरिएको हो, गुम्बामा लगेपछि के भयो ?” उनी प्रश्न गर्दै भन्छन्, “भारतका गुम्बामा कति संख्यामा बालकहरू पढिरहेका छन्, हामीसँग तथ्यांक छैन ।”

गुम्बाका बालकमाथि यौन दुर्व्यवहार

भारतका गुम्बा तथा धार्मिक संस्थामा राखिएका बालकहरूमाथि कुटपिट तथा यौन दुर्व्यवहार भएका घटना पनि बाहिर आएका छन् । सन् २०१८ मा दैनिक ट्रिब्युनको अनलाइन संस्करणमा छापिएको एउटा समाचारअनुसार १५ जना बालकमाथि कुटपिट तथा यौन दुर्व्यवहार भएको थियो ।

भारतको बिहारको बोधगयास्थित “प्रसन्न ज्योति बौद्ध विद्यालय तथा ध्यान केन्द्र” का प्रमुख बंगलादेशी नागरिक भन्ते संघ प्रिया सुजोयलाई प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि गुम्बाका बालकहरूलाई कुटपिट, यौन दुर्व्यवहार गरेको र नांगै नाच्न बाध्य पारेको आरोप थियो ।

उनी पक्राउ परेपछि अन्तर्राष्ट्रिय बौद्ध काउन्सिल (आईबीसी) ले आपत्कालीन बैठक बसी धार्मिक शिक्षाको नाममा बालबालिकाविरुद्धको जघन्य अपराधको प्रस्ताव पारित गरेको थियो । यस्तो अपराध गर्ने संस्थालाई काउन्सिलको सदस्यताबाट पनि निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । भारतमा आईबीसीमा दर्ता नभई सञ्चालन गरिएका गुम्बाहरूको संख्या धेरै छ ।

भारतकै देहरादूनस्थित डिकिलिङको शाक्य एकेडेमीका अध्यक्ष एवं प्रमुख लामा रिम्पोचे ज्ञानवज्रले २०७७ सालमा दसैं–तिहारको बिदामा घर फर्कन पाऊँ भन्दै निवेदन दिने ५१ जना नेपाली विद्यार्थीमाथि कुटपिट गरेको आरोप लागेको थियो । उनले निवेदन दिएका ६ देखि १७ वर्षसम्मका विद्यार्थीलाई कुटपिट गर्दै “बन्धक” बनाएका थिए । पीडित बालकहरूले नै यो घटना सार्वजनिक गरेपछि भारतस्थित नेपाली दूतावास र हेल्प क्रस नामक संस्थाले उनीहरूलाई उद्धार गरी नेपाल फर्काएको थियो ।

बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६४ को उपदफा १ मा बालबालिकाको अधिकार उल्लंघन गरेमा वा परिच्छेद ३ बमोजिम बालबालिकाप्रतिको दायित्व पूरा नगरेमा सो अधिकार प्रचलन वा दायित्व पूरा गराउनका लागि सम्बन्धित बालबालिका वा सरोकारवालाहरूले बालबालिका रहे बसेको स्थानीय तह, स्थानीय तहको न्यायिक समितिमा निवेदन दिन सक्नेछन् । तर यी विषयमा कुनै पनि उजुरी दर्ता गरिएको छैन ।

फर्किनेका व्यथा

राजकुमारसहितका १८ जना दिल्लीको निजामुद्दिन रेलवे स्टेसनमा फेला पारेपछि आफन्त नेपालले दिएको सूचनाका आधारमा मानव अधिकार आयोगले बालबालिका उद्धारका लागि मानव बेचबिखन ब्युरोलाई आग्रह गरेको थियो । आयोगको त्यो पत्रबाट हामीले बालकहरूको नाम र ठेगाना पाएका थियौँ ।

तिनै कागजातमा भएको ठेगाना खोज्दै हामी पहिलो पटक माघ २८, २०७९ मा सिन्धुलीको मरिण गाउँपालिका–४ च्याने र वडा नं. ६ कपिलाकोटको देउराली पुगेका थियौँ  ।

त्यतिबेला कपिलाकोटका कुलसाङ थिङ (१३) र दूधराज (१४) गएको साढे तीन वर्षमै घर फर्किएको जानकारी पाएका थियौँ । कपिलाकोटकै बुद्धबहादुर वल घर फर्किएको ८ महिना भएको थियो । गाउँमा कक्षा ६ मा अध्ययन गरेका बेला छिमेकी लालबहादुर वलले लामा पढेपछि धेरै पैसा कमाइन्छ भनेर फकाएपछि उनीहरू गएका थिए ।

Man-Bahadur-Yonjan-House-1718036867.jpg
मानबहादुर योञ्जनको घर । तस्बिर : कल्पना भट्टराई

मानबहादुरका दाजु सुशील पनि कर्नाटकको त्यही गुम्बामा अध्ययन गर्न गएका थिए । उनकी आमा कान्छीमाया छोराहरूकै जिद्दीले पढ्न पठाएको बताउँछिन । ठूलो छोरा सुशीलसँग गएको एक वर्षपछि मात्रै फोन सम्पर्क गरेको उनको स्मरणमा छ ।

घरदेखि झण्डै १ हजार ७०० किलोमिटर टाढा रहेका कान्छा छोरा मानबहादुरको सम्झनाले सताएको धेरै भयो । सुशील फर्किएको भए पनि मानबहादुर उतै छन् । उनी भन्छिन्, “छोरा फर्कियो भने नपठाउने विचारमा छु ।”

साढे तीन वर्षमै घर फर्किएका कुलसाङका अनुसार लामा अध्ययन कस्तो हुन्छ ? कसरी पढ्नुपर्छ ? पढेपछि के हुन्छ थाहा थिएन । त्यहाँको वातावरण र पढाइ आफूअनुकूल नभएपछि घर फर्किएको उनी बताउँछन् । “त्यहाँ जाँदा यहाँको पढाइ छुट्यो,” अहिले १६ वर्षका कुलसाङ भन्छन्, “अब गाउँमै लामा ज्ञान सिक्ने योजनामा छु ।”

त्यो ज्ञानले जीविकोपार्जनमा सघाउँछ कि सघाउँदैन थाहा छैन उनलाई । उनीसँग तत्काल अर्को विकल्प पनि छैन । उनीसँगै घर फर्किएका दूधराजले केही विकल्प नदेखेपछि काठमाडौंको एक होटलमा काम गर्न थालेका छन् । परिवारलाई पाल्नुपर्ने जिम्मेवारी उनको काँधमा छ ।

Marin-Gau-1718045069.jpg
मरिण गाउँ । तस्बिर : कल्पना भट्टराई

मरिण फूलबारीका सुशील तामाङ वैदेशिक रोगजारीमा मलेसिया जाने तयारीमा छन् । गुम्बाको लामा अध्ययन पूरा गर्न लामो समय लाग्ने ठानेर उनी फर्किएका थिए । उनका अनुसार गुम्बामा तिब्बतियन, रसियन र नेपाली विद्यार्थीलाई सँगै राखेर पढाइन्थ्यो । तर, आधार कार्ड बनाउँदा नेपालीलाई छुटाइन्थ्यो ।

१८ जना बालकलाई लगेजस्तै उनलाई लैजाने पनि काना नै थिए । कानालाई पनि गाउँका एक व्यक्तिले गुम्बामा पढाउन लैजाने भनी होटलमा बेचिदिएको उनीसँगै मिलेर बालकहरूलाई भारत लैजाने लालसिंह बलले बताए । लालसिंहका अनुसार  होटलमा काम गर्दा गुम्बाका व्यक्तिसँग भेट भएपछि कानालाई त्यहाँ लगिएको थियो ।

अध्ययनकै क्रममा रहँदादेखि नै कानाले गुम्बाकै लागि काम गर्दै आएका थिए । कानाले आफ्ना दुई छोरा मात्रै नभई गाउँबाट अन्य बालक तथा किशोरलाई लैजाने गरेको कान्छीमाया योञ्जन बताउँछिन् । कानाको दुई वर्षअघि भारतमै मृत्यु भएको लालसिंहले बताए ।

फेरि पढ्न सुरु गरे

कपिलाकोटकै सुपुवाङ लामा गुम्बामा पाँच वर्ष अध्ययन गरेर फर्किए । १३ वर्षको उमेरमा भारतको सिलगुढीको एक गुम्बामा पढ्न गाउँबाट उनीसहित १३ जना गएका थिए । पढ्न जाँदा वातावरण र विषयबार प्रस्ट जानकारी थिएन । सोही गुम्बामा अध्ययन गरिरहेका गाउँकै एक आफन्तले उनीहरूलाई लगेका थिए ।

१३ वर्षको उमेरमा गुम्बा गएका ५ वर्ष बसेर फर्किए । गुम्बा जानुअघि कक्षा ५ उत्तीर्ण गरेका उनी फर्केर कक्षा ८ मा भर्ना भए । तर गुम्बामा बस्दा आफ्नै भाषा बिर्सिएका थिए । नेपाली राम्रोसँग लेख्न र बोल्न नै नआएपछि उनले परीक्षा दिएनन् ।

उनीसँगै फर्किएका १० जनामध्ये अधिकांश वैदेशिक रोजगारीमा छन् । अहिले हरेक ठाउँमा शैक्षिक प्रमाणपत्र चाहिने भएपछि उनले भने गाउँमै फेरि पढाइ अघि बढाएका छन् । २३ वर्षको उमेरमा एसइईको परीक्षा दिइरहेका छन् । उनी भन्छन्, “गाउँमै लामा ज्ञान र सीप पनि सिकिरहेको छ, तर दुवैतिरको पढाइ पूरा गर्न नसकेकोमा पछुतो लागिरहेको छ ।”

उनको बुझाइमा लामा अध्ययन गर्न गाह्रो हुने भएकाले धेरैले बिचमै छाडेर आउने गरेका छन् । उक्त गुम्बामा ६ वर्षदेखि अध्ययन गरिरहेका भाइ वाङसेन पनि घर आएपछि फर्किनै मानेनन् ।

सुपुवाङका अनुभवमा पढाइ बिचमै छाडेर फर्किएकासँग धेरै ज्ञान नहुने, कतिपय भारतीय गुम्बाहरूमा सिकाइने ज्ञान नेपालको धर्म, संस्कृतिसँग मेल नखाने र प्रयोग गर्नसमेत नमिल्ने खालका छन् । उनले अध्ययन गरेको गुम्बामा सिकाइएको ज्ञान पनि गाउँघरको संस्कृतिसँग नमिलेको अनुभव छ उनीसँग ।

सुपुवाङको भनाइमा केही गुम्बाहरूले राम्रोसँग ज्ञान र सिप नसिकाउँदा दस वर्ष बसेर पढे पनि केही सिक्न नसकेका भिक्षुहरू पनि छन् । लामा ज्ञान र सिप लामो समय अध्ययन गर्नुपर्ने भएकाले जानुभन्दा अगाडि त्यहाँको पढाइ, संस्कृति र वातावरणको बारेमा बुझेर मात्रै जान उनी सुझाउँछन् ।

बौद्ध भिक्षु तथा लामाहरू भेला हुने भारतको बोधगयाको एक कार्यक्रममा भेटिएका भिक्षु साथीहरूको भनाइ उद्धृत गर्दै उनी भन्छन्, “सिक्किमका केही गुम्बाले अध्ययन गरिरहेका भिक्षुहरूलाई घाँस काट्न, गाई दुहुन र सरसफाइ गर्नेलगायत काममा लगाउने गरेका थिए ।”

बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा ६ मा प्रत्येक बालबालिकालाई आर्थिक शोषण हुनबाट संरक्षण हुन पाउने अधिकार हुनेछ भनिएको छ र बालबालिकालाई हानि हुने वा उनीहरूको शिक्षामा बाधा अड्चन पुग्ने वा स्वास्थ्य शारीरिक, मानसिक, नैतिक, सामाजिक विकासका लागि हानि पुग्ने कुनै पनि कामबाट संरक्षित हुन पाउने अधिकार हुनेछ भनिएको छ । तर गुम्बाका गएका बालकहरू यो अधिकारबाट वञ्चित भएको देखिन्छ ।

परिवारसँग बिछोडिएका बालबालिकामा मानसिक समस्या

सन् २०१० मा बेटर केयर नेटवर्क वर्किङ जर्नलमा प्रकाशित भएको ‘‘फेमिलिज नट अर्फानेजेज’’ शीर्षकको एक लेखका अनुसार आवासीय गृहमा कडा नियम हुने भएकाले त्यहाँ बस्ने बालबालिकाको परिवार र समाजसँग अन्तरक्रिया हुँदैन ।

त्यसले गर्दा ती बालबालिकालाई बाल्यकालदेखि किशोरावस्थासम्म सम्बन्ध स्थापित गर्न तथा राम्रो बनाउन कठिनाइ हुन्छ । त्यो अध्ययनमा आवासीय गृहभित्र बस्ने बालबालिकाको मानसिक विकास घर, परिवार र समुदायसँग घुलमिल भएका बालबालिकाको भन्दा ३३ प्रतिशत कम हुने पनि पाइएको छ ।

कान्ति बाल अस्पतालकी  क्लिनिकल बाल साइकोलोजिस्ट हसिना श्रेष्ठ बालबालिकालाई अध्ययन गराउन राखिने आवासीय विद्यालय तथा संस्थाहरूमा भयरहित वातावरण हुनुपर्ने बताउँछिन् । उनी भन्छिन्, “वातावरण राम्रो नभएमा जीवनभर मनोवैज्ञानिक समस्या पनि ल्याउन सक्छ ।”

श्रेष्ठका अनुसार बालबालिकामा डिप्रेसन, एन्जाइटी, टोलाउने, इरिटेट हुने, एकोहोरो हुने, तर्सिने, आत्महत्याको ख्याल आउनेजस्ता समस्या देखिन सक्छ । लामो समयसम्म परिवारसँग सम्पर्क हुन नपाउँदा बालबालिकाले भाग्न खोज्ने, आफूलाई हानि पुर्‍याउनेजस्ता गतिविधि गर्न सक्ने श्रेष्ठ बताउँछिन् ।

नेपालमै छन् उच्च शिक्षा पढाउने गुम्बा

नेपालको स्वयम्भू, चोभार, बौद्ध, फर्पिङलगायतका स्थानहरूमा सुविधासम्पन्न गुम्बाहरू बनिसकेका छन् । तर गाउँका ६–१७ वर्षका विपन्न बालकहरूलाई भारतमा गुम्बाहरूमा पठाउने गरिएको छ ।

नेपालमै उच्च शिक्षा पढाउने सुविधा सम्पन्न गुम्बाहरू भएकाले विदेशमा पठाउने आवश्यकता नभएको बौद्ध लेखक तथा अध्येता बसन्त महर्जन बताउँछन् । “अर्काको देशमा पढ्न पठाउँदा भाषाको समस्या हुन्छ, तिब्बतियन, हिन्दी र स्थानीय भाषामा अध्ययन गराइन्छ,” उनी भन्छन्, “नेपाल फर्किदा नेपाली भाषा बिर्सिसकेका हुन्छन् ।”

अंग्रेजी भाषा पनि पढाइएको खण्डमा युरोप र अमेरिका जान सक्ने, नभए गुम्बामा नै सीमित हुनुपर्ने महर्जन बताउँछन् । उनका अनुसार बालबालिकालाई देशमै राखेर आफ्नो कोर्स पढाउनु राम्रो हुन्छ । “हाम्रा बालबालिकालाई हाम्रै कोर्स पढाउन पायौँ भने विदेश गए पनि नेपालको धर्म, संस्कृतिको ज्ञान हुन्छ,” अध्येता महर्जन भन्छन्, “आफ्नो धर्म र संस्कृतिका बारे भन्न सक्छन् ।”

एउटा लामालाई राम्रोसँग हुर्काउन र पढाउन सकेमा उसले विदेशका अनुयायीलाई शिक्षा दिएर नेपालकै धर्म संस्कृतिको प्रचार गर्ने सम्भावना हुन्छ । नेपालको बौद्धधर्म, संस्कृति हेर्न र बुझ्न विदेशीहरू नेपाल आउने गरेको प्रसंग निकाल्दै महर्जन भन्छन्, “नेपालको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्छ ।”

अध्ययनका लागि बालबालिकालाई विदेश लैजानै हुँदैन भन्ने पक्षमा आफू नरहेको तर पहिलो प्राथमिकता नेपालकै गुम्बा र विद्यालयलाई दिनुपर्ने महर्जनले स्पष्ट पारे ।

--- ---

​गुम्बामा अहिले पनि बच्चाको माग
- लालसिंह बल, गुम्बामा बच्चा लैजाने व्यक्ति

Lalsing-Bal-Gumaba-ma-laijane-manche-1718038219.jpg
लालसिंह बल । तस्बिर : कल्पना भट्टरई 

भारतका गुम्बाहरूमा नेपालबाट कहिलेदेखि बालबालिका लैजान थालिएको हो कसैलाई थाहा छैन । सिन्धुलीको मरिणलगायतका ठाउँबाट २०५४/२०५५ सालदेखि बच्चाहरू लैजान लागिएको मलाई थाहा छ  ।

भारतको कर्नाटकको ड्रेपुङ गोमाङ गुम्बामा मात्रै ६० जनाले पढिरहेका छन् । गुम्बामा माग भएपछि गाउँबाट बालकहरूलाई संकलन गरेर लैजाने गरिएको छ ।

सीमा कटाएपछि गुम्बासँग सम्बन्धित व्यक्तिहरू लिन आउँछन् । भारतका विभिन्न ठाउँमा गुम्बाले चलाएका रेस्टुरेन्ट छन् । त्यहाँबाट मान्छे लिन आउने गर्छन् ।

हामीले जेठ, २०७६ मा १८ जना बालकलाई सर्लाहीको मलंगवाबाट दिल्लीमा पुर्‍याई तीन दिन राखेपछि रेल चढाउन लागिएको बेला प्रहरीले समातेको थियो । गुम्बाबाट कागजात मगाएपछि प्रहरीले छाडेको हो । नेपालबाट लैजाँदा कुनै कागजात र सिफारिस बनाइएको थिएन । वडाले सिफारिस दिन मिल्दैन भनेपछि त्यत्तिकै लगिएको हो । गुम्बाले बच्चा ल्याउन भनिरहेको थियो । लैजान हतार पनि थियो ।

यहाँबाट लैजाँदा खाना, खाजा र बाटो खर्चबाहेक केही पनि दिँदैनन् । उताको गुम्बाको सम्पर्क नम्बर भएको पर्चाबाहेक अन्य कुनै कागजात दिँदैनन् ।

पहिले पनि ८/९ जना बालकहरू तयार गरेर पठाउदा सुनौलीको बोर्डरमा प्रहरीले समात्यो । अभिभावकसँगै गएका बालकहरूलाई प्रहरीकोबाट निकालेपछि मंलगवाको नाकाबाट फेरि पठाइएको थियो ।

अहिले पनि गुम्बाले बच्चाहरू ल्याउन भनिरहेका छन् । यता वडाले सिफारिस दिएन । कागजातबिना सिमाना कटाउन गाह्रो हुन्छ । त्यसैले लैजान सकिनँ ।  

वडाले पनि सिफारिस नदिने र सिमानामा दुःख पाउने थालेपछि बालकहरू पठाएको छैन । बौद्ध दर्शन, धर्म र संस्कृति अध्ययन गराउनका लागि पठाइएको हो । उता के हुन्छ ? कस्तो शिक्षा पाउँछन् ? त्यसबारेमा धेरै थाहा छैन ।

Read our guidelines for Republishing this story here.

Comments