Navigation
नाच्ने क्रममा दुर्व्यवहारमा पर्छन् पारलैंगिक महिला Manika BK | Jun 07, 2024

लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायकी शिल्पिका (नाम परिवर्तन) आफूलाई पारलैंगिक महिला भन्न रुचाउँछिन् । इन्जिनियरिङ पढेर राम्रो जागिर खाने सपना पूरा गर्न सहर पसेकी उनका सपनाहरू फेरिएका छन् । उनी अहिले नृत्य गरेर जीविकोपार्जन गरिरहेकी छन् ।

सहर आएपछि उनले डिप्लोमा इन्जिनियरिङमा अध्ययन पूरा गरिन् । अध्ययनअनुसारको काम खोज्न भौतारिए पनि काम पाउन सकिनन् । त्यसपछि एउटा होटलमा काम गरिन् तर होटलमा उनलाई पहिचानको कारण जिस्काउने गरेपछि त्यहाँ उनको मन अडिएन । अनि उनी नृत्य पेसातिर लागिन् ।  “होटलमा म पुरुषकै गेटअपमा जान्थेँ,” उनी सम्झन्छिन्, “त्यहाँ कान्छी कान्छी भनेर जिस्काउने र दुर्व्यवहार हुन थालेपछि काम छोडिदिएँ । अनि साथीमार्फत नृत्यमा लागेँ ।”

२५ वर्षीया शिल्पिका पारलैंगिक महिला हुन् र नृत्य गर्छिन् भन्ने घरपरिवारलाई थाहा छैन । उनको पेसाका बारेमा सीमित साथीहरूलाई मात्र थाहा छ । “घरमा थाहा दियो भने स्विकार्दैनन्,” उनी भन्छिन्, “काम नगरेपछि कसरी बाँच्ने ? अरु काम नपाएपछि साथीमार्फत नाच्न सुरु गरेँ ।”

शिल्पिकाजस्तै अर्की पारलैंगिक महिला उषिशाले पनि नृत्यबाटै जीविकोपार्जन गर्दै आएकी छन् । पहिचानका कारण दुर्व्यवहार भएपछि उनी प्लस टुको पढाइ चटक्कै छाडेर साथीमार्फत नै नृत्यमा लागेकी हुन् । उषिशा पारलैंगिक हुन् र नृत्य गर्छिन् भन्ने परिवारलाई थाहा छ । घरपरिवारले उनलाई साथ सहयोग पनि गरेका छन् । तर छिमेकीले उनलाई देखिसहँदैनन् । त्यसैले उनी घरबाट टाढा शिल्पिकासँगै कोठा भाडामा लिएर बसेकी छन् ।

उनीहरूको समुदाय, पेसा र भोगाइ पनि एउटै छ । यी दुवैले समाजको तिरस्कारको सामना मात्र गर्नुपरेको छैन, कामका क्रममा सधैंजसो दुर्व्यवहारको सामना गर्नुपरेको छ । विशेषतः तराई मधेशका गाउँ तथा सहरमा हुने विवाह समारोह, मेला, उत्सव, सांस्कृतिक कार्यक्रम, व्रतबन्ध, पूजालगायत समारोहमा उनीहरूको नृत्यको माग हुने गर्छ । पूजाआराधनाजस्तो धर्म कमाउने समारोहमा पनि आफूहरूमाथि अधर्म हुने गरेको भन्दै शिल्पिका र उषिशा दुःखी छन् ।

शिल्पिकासँग त नृत्य गर्न गएको पहिलो दिन नै दुर्व्यवहार भोग्नुपरेको तितो अनुभव छ । नाचेरै जीविकोपार्जन गर्छु भनेर साथीहरूसँग नृत्य सिकेपछि उनी ३ वर्षअघि पहिलो पटक नृत्य देखाउन वीरगन्ज नजिकैको एउटा गाउँमा पुगेकी थिइन् । जहाँ उनीसहितको नृत्य टोलीलाई एउटै मात्र कोठा भएको होटलमा राखिएको थियो ।

होटलमा शौचालय पनि थिएन, शौचालयका लागि १० मिनेट टाढा जानुपर्थ्यो । शौचालय जाँदा उनीमाथि दुर्व्यवहार भयो, उनीभन्दा कम उमेरका किशोरहरूले मात्र होइन, ससाना केटाहरूले पनि उनलाई जिस्काए, केहीले त उनलाई छुन र समात्न खोजे । उनी अहिले पनि त्यो दिन सम्झन्छिन्, “सुरुकै दिन बेकार नाच्न थालेछु जस्तो भयो ।”

शौचालय जाने क्रममा हुने दुर्व्यवहारको बारेमा कसैलाई पनि भन्न सकिनन् । त्यतिबेला भनेर पनि केही नहुने रहेछ भन्ने उनले अहिले बुझेकी छन्, “समूहको लिडर आफैँ पनि दुर्व्यवहारमा पर्दा रहेछन् ।” यस्तो नृत्य गर्ने टिममा सबैजसो सदस्य मात्र होइन, टिम लिडर पनि पारलैंगिक नै हुन्छन् । यो टिममा रहने सबैजसोसँग दुर्व्यवहारको अनुभव छ ।

नाचेर जीविकोपार्जन गर्ने शिल्पिका र उषिशाजस्ता पाँच जना पारलैंगिक महिलासँग हामीले कुराकानी गर्‍यौं । कुराकानीका क्रममा सबैले आफूहरुमाथि कामका क्रममा यस्तो दुर्व्यवहार निरन्तर भइरहेको बताए । नेपालका साथ भारतमा समेत नृत्य देखाउने जाने उनीहरूले हरेक ठाउँमा फरक फरक खालको दुर्व्यवहार भोगेको सुनाए ।

“एकछिन् थकाइ मारेर नाच्छु भन्दा पनि नाचिहाल भने, बन्दुक देखाएपछि हामीले सकिनसकी नाच्नै पर्‍यो ।”

नृत्य गर्ने पोसाक लगाएर नाच्नका लागि तयार भएपछि, नाचकै बीचमा र नृत्य सकेपछि पनि दुर्व्यवहार नरोकिने उनीहरूको अनुभव छ ।

पारलैंगिक हो र नृत्य गर्न आएकी भनेर चिनेपछि त केटाकेटी, युवाले मात्र होइन, कपाल फुलेका र गाला चाउरी परेका पुरुषले पनि जे मन लाग्यो त्यही गर्ने र बोल्ने गरेको उनीहरू बताउँछन् । “नाचेकै ठाउँमा चिमोट्न आउने, गाली गर्ने, शरीरको जताततै छुन आउँछन्,” शिल्पिका भन्छिन्, “मनाही गर्दा पिट्छन् । आफ्नो नाच्ने कलालाई राम्रोसँग देखाउन पाउँदैनौं ।”

दुर्व्यवहारकै बीचमा पनि आफूलाई जसोतसो तयार गर्दै नाचेर मनोरञ्जन दिन प्रयास गर्ने उषिशा बताउँछिन् । “बाध्यताले चुप बस्नुपर्छ, आफूमाथि गलत भएको थाहा हुन्छ,” उनी भन्छिन्, “तर बोल्दा ज्यानै जान सक्छ भने सहनु त पर्‍यो नि ।”

कतिपय ठाउँमा त खाना र पानीबिनै दिनभरि नाचेको अनुभव पनि उनीहरूले सुनाए । आफैंले लगेको खाने समयसमेत नपाएर भोकै नाच्नुपरेका थुप्रै अनुभव आफूसँग रहेको शिल्पिका बताउँछिन् ।

कार्यक्रमस्थल नजिकमा शौचालय पनि नहुने र नाच छाडेर टाढाको शौचालय जान नदिने भएकाले पिसाब लाग्ला भन्ने डरले नाच सुरु हुनुअघि पनि आफूहरूले पानी नपिउने गरेको उनी बताउँछिन् ।

नाचेपछि उनीहरूले पाउनुपर्ने पारिश्रमिक पनि पूरा पाउँदैनन् । सट्टा गर्ने व्यक्तिमार्फत नाचेको पारिश्रमिक आइपुग्दा घटेर आउँछ ।

बिहानदेखि राति अबेरसम्म नाचेको पारिश्रमिक ठाउँअनुसार २ हजारदेखि ६ हजार रुपैयाँसम्म हुन्छ । त्यो पनि कतिले त आधा मात्रै दिने गरेको उषिशाले बताइन् ।

शिल्पिका  र उषिशा आफूहरूमाथि हुने दुर्व्यवहारको विद्रोह गर्न चाहन्छन् । तर समुदायको साथसहयोग नभएकाले विभेद र दुर्व्यवहारको सामना गरिरहनुपरेको उनीहरू बताउँछन् ।

भारतमा पेस्तोल देखाएर नाच्न बाध्य पारे

शिल्पिका र उषिशा एक दिन नृत्य देखाउनैका लागि सट्टामार्फत भारतको विहार राज्यको कुनै गाउँमा पुगेका थिए । उनीहरूलाई बेहुला पक्षबाट विवाह समारोहमा नाच्नका लागि बोलाइएको थियो । बेहुलाको घरबाट नाच सुरु गरेका उनीहरू नाच्दैनाच्दै जन्तीसँगै बेहुलीको घरमा पुगे । भोजपुरी र हिन्दी गीतमा नाचेर थाकेका उनीहरूले आरामको मौकै पाएनन् । आराम गर्न खोज्दा पेस्तोल तेस्र्याएर नाच्न बाध्य पारे ।

त्यो दिन सम्झँदा अहिले पनि डर लाग्ने गरेको बताउँदै शिल्पिकाले भनिन्, “एकछिन् थकाइ मारेर नाच्छु भन्दा पनि नाचिहाल भने, बन्दुक देखाएपछि हामीले सकिनसकी नाच्नै पर्‍यो ।”

विवाहमा नाच्न जाँदा आरामै नपाउने उनीहरूको अनुभव छ । केटाको घरमा, जन्तीसँगै जाँदा आउँदा बाटोमा र केटीको घरमा पनि नाच्नुपर्छ । शिल्पिका भन्छिन्, “त्यसै ल्याएको हो र ? तिमीहरूलाई पैसा दिएको छ, चुप लागेर नाच भन्दै धम्काउँछन् ।” बेहुली ल्याइसकेपछि पनि नाच्न दबाब दिन्छन् । रात पर्दै गएपछि सबै जना रक्सीले मात्तिँदै जाने र दुर्व्यवहार बढ्ने तथा उनीहरूले भनेको नमाने ज्यानकै खतरा हुने गरेको अनुभव उनीहरूसँग छ ।

दुर्व्यवहारका कारण पेसा नै छाडे

दुर्व्यवहारमा पार्नेमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका पारलैंगिक महिला मात्र होइन, यो समुदायका पारलैंगिक पुरुष, समलिंगी महिला, समलिंगी पुरुष, बाइसेक्सुअल महिला, क्वेयरहरू पनि दुर्व्यवहारमा परेका हुन्छन् ।

त्यस्तैमध्येका एक हुन्, समलिंगी पुरुष छोटु साह । दुर्व्यवहार सहनै नसकेपछि तीन वर्षसम्मको नृत्य पेसा त्यागेर उनी अहिले आफ्नै समुदायको अधिकारका लागि काम गर्दै आएका छन् । “वीरगन्जमा ट्रयाक्टरमा लगेको थियो जन्ती, त्यहाँ भएका केटाहरूले जथाभावी छोए, चुम्बन गर्न खोजे, अँगालो हाल्न खोजे,” उनी भन्छन्, “नचाहिँदो गर्न थालेपछि मैले भोलिपल्टदेखि नै नाच्न छोडेँ ।”

लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको हकअधिकारको क्षेत्रमा काम गर्ने संस्थामा आवद्ध उनी नृत्य पेसा गर्ने व्यक्तिहरूको अधिकारका लागि आफूले सक्ने काम गरिरहेको बताउँछन् ।

मधेसमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारका लागि काम गर्दै आएका लक्ष्मीस्वर यादवका अनुसार यो समुदायको व्यक्तिहरूमाथि असुरक्षा बढ्दै गएको छ ।

नाच्ने बेला अनुहारमा रक्सी छ्यापिदिने, कुट्ने पिट्ने, पैसा पनि नदिनेजस्ता दुर्व्यवहार भएको गुनासा बारम्बर आउने गरेका छन् । “नेपालभित्र त मैले सम्झाइबुझाइ सचेत गरिरहेको छु । तर भारतमा मैले केही गर्न सक्दिनँ । नाच्ने व्यक्तिहरूलाई नै सतर्क हुन भन्छु,” उनी भन्छन् ।

अलिअलि चिनजान भएकाले आफूले सहजै अरु काम पाए पनि अरुलाई यस्तो अवसर उपलब्ध नहुने छोटु बताउँछन्  । “उनीहरूले चाहेर नचाहेर पनि नृत्य पेसामा दुर्व्यवहार सहनुपरेको छ । उनीहरूका लागि सरकारले नै कदम अघि बढाउनुपर्छ ।”

दुर्व्यवहार गर्नेलाई ३ वर्षसम्म कैद हुने कानुन

मुलुकी अपराध संहिता, २०७४ अनुसार उनीहरूलाई नाच्ने क्रममा भएको गलत छुवाइ यौन दुर्व्यवहार हो । संहिताको दफा २२४ अनुसार कसैले कसैलाई यौन दुर्व्यवहार गर्न वा गराउनु हुँदैन । दफा २२४ को उपदफा २ अनुसार कसैले आफ्नो पति वा पत्नीबाहेक अन्य व्यक्तिलाई निजको मञ्जुरीबिना करणीका आशयले समातेमा वा निजको संवेदनशील अंग छोएमा वा छुन प्रयास गरेमा यौन दुर्व्यवहार गरेको मानिन्छ ।

भित्री पोसाक खोलेमा वा खोल्ने प्रयास गरेमा, निजले लगाने भित्री पोसाक लगाउन वा फुकाल्न कुनै किसिमको बाधा अवरोध गरेमा वा निजलाई अस्वाभाविक रूपमा कुनै एकान्त ठाउँमा लगेमा, यौनसम्बन्धी आफ्नो अंग निजलाई छुन समाउन लगाएमा, निजसँग अश्लील वा अन्य त्यस्तै प्रकारका शब्द मौखिक, लिखित वा सांकेतिक रूपमा वा विद्युतीय माध्यमबाट प्रयोग गरेमा, अश्लील चित्र वा तस्बिर देखाएमा, यौनका आशयले जिस्क्याएमा वा हैरानी दिएमा वा निजसँग अस्वाभाविक, अवाञ्छित वा अमर्यादित व्यवहार गरेमा पनि यौन दुर्व्यवहार गरेको मानिन्छ । यस्तो यौन दुर्व्यवहार गर्नेलाई दफा २२४ को उपदफा ३ बमोजिम तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

तर दुर्व्यवहारमा पर्नेहरूले उजुरी नै नगर्ने लक्ष्मीस्वर बताउँछन् । उनी भन्छन्, “दुर्व्यवहारको विरोधमा उजुरी दिनुपर्छ भन्दा पीडितहरूले नै उजुरी दिन चाहँदैनन् ।”

उजुरी गरे फेरि काम नपाउने, ज्यान मार्ने धम्की आउनेजस्ता कुराले गर्दा उजुरी दिन नखोज्ने र उजुरी दिए पनि एकैछिनमा मिलापत्र हुने गरेको लक्ष्मीस्वर बताउँछन् ।

Read our guidelines for Republishing this story here.

Comments