Navigation
लैंगिक तथा यौनिक अल्पसंख्यकले अझै भुलेका छैनन् अजितामाथिको अपराध  Manika BK | Jun 05, 2024

मकवानपुर हेटौंडाकी पारलैंगिक महिला (ट्रान्स वुमन) अजिता भुजेल माघ ४, २०७६ को बिहान हेटौंडा उपमहानगरपालिका ५ क्याम्पाडाँडास्थित सडक किनारामा मृत भेटिइन् । 

सामान्य आर्थिक अवस्था भएको परिवारमा छोराका रूपमा जन्मिएकी अजिताले उमेर बढेसँगै महिलाको पहिरन मन पराउन थालिन् । हुर्कने बढ्ने क्रममा आफूलाई महिलाको पहिचान दिएकी उनलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले अन्य लिंगको पहिचानसहित नागरिकता दिएको थियो । 

सडक किनारामा मृत भेटिएकी २९ वर्षीया अजिता मकवानपुरका लैंगिक तथा यौनिक अल्पसंख्यकहरूको अधिकारका लागि पनि क्रियाशील थिइन् । पोस्टमार्टम रिपोर्टअनुसार उनकोे टाउकोमा घना वस्तुले हानी घाँटीमा तार बेरेर हत्या भएको थियो । 

अजितालाई जबर्जस्ती करणी र हत्या गरेको र डाँका गरेको अभियोगमा जिल्ला अदालत मकवानपुरले हेटौंडाका भापु भन्ने सिमोन परियार, घनटाउके भन्ने सुशील थापा मगर, ह्याचर भन्ने बुद्ध लामा, आशिष वल र एक जना नाबालिग गरी ५ जनालाई माघ २०, २०७८ मा दोषी ठहर गर्दै सजाय सुनाएको छ ।

न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले सुशील, बुद्ध र आशिषलाई जबर्जस्ती करणी र कर्तव्य ज्यानतर्फ जन्मकैद र डाँकातर्फ जनही थप ९ वर्ष कैद तथा जनही ९० हजार रुपैयाँ जरिवाना तथा सिमोनलाई ११ वर्ष कैद र ९० हजार रुपैयाँ जरिवाना सुनाएको छ ।

यस्तै जन्मकैद पाउने ३ जनाबाट जनही ३ लाख रुपैयाँ क्षतिपूर्ति र सिमोनबाट १ लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको छ । अदालतले ४ जनाबाट जनही १३ हजार ६ सय रुपैयाँ बिगो भराउने आदेश पनि दिएको छ ।  

अजितालाई जबर्जस्ती करणी र हत्या गर्ने दोषीहरूले जिल्ला अदालतको फैसला र त्यसलाई सदर गर्ने पुनरावेदन अदालतको आदेशअनुसार यतिबेला जेलसजाय काटिरहेका छन् । तर पनि यो घटना सम्झँदा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका सदस्यहरू अहिले पनि डराउँछन् । 

अदालतले पीडित अजिताको परिवारलाई तत्कालै पीडित राहत कोषबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति दिन पनि आदेश दिएको थियो । 

अजिताको हत्यामा संलग्न नाबालिगलाई भने न्यायाधीश श्रेष्ठसहितको बाल इजलासले कर्तव्य ज्यानतर्फ १६ वर्ष ८ महिना र डाँकातर्फ ६ वर्ष गरी कुल २२ वर्ष ८ महिनाको जेल सजाय र ६० हजार रुपैयाँ जरिवानाको सजाय तोकेको छ । अदालतले अपराध हुँदाका बखत उनी नाबालिग रहेकाले १६ वर्ष ८ महिना मात्रै बाल सुधार गृहमा राख्न र जरिवानाको रकम स्थगन गर्न पनि आदेश दिएको छ । 

अभियुक्तहरूले गरेको बयानअनुसार थाना भर्‍याङमा भेटिएकी अजितालाई ७ हजार रुपैयाँ दिने भनेर सिमोनले चलाउँदै आएको ट्रकमा राखेर चार जनाले यौन सम्बन्ध राखेका थिए । यौन सम्बन्ध राखेपछि कबोल गरेअनुसारको ७ हजार रुपैयाँ नदिई ५ हजार रुपैयाँ मात्र दिए ।

अजिताले ५ हजार रुपैयाँ अस्वीकार गरिन् र ७ हजार रुपैयाँ नै चाहिने अडान लिइन् । विरोधकै क्रममा उनीहरूले अजिताको हत्या गरे र शवलाई क्याम्पाडाँडामा लगेर सडकमा फालिदिए । उनीहरूले अजिताको साथमा रहेको २३ हजार रुपैयाँ नगद, २ वटा सुनको औंठी र मोबाइलसहित लुटेर लगेका थिए । प्रहरीले अनुसन्धानका क्रममा त्यो मोबाइल हेटौंडाकै एलिसा पाख्रिन भन्ने डोलमाया तामाङले प्रयोग गरेको पत्ता लगाएपछि अभियुक्तहरू पक्राउ परेका थिए ।  

यो घटनामा दोषी ठहर भएकाहरूले जिल्ला अदालत मकवानपुरको फैसलाविरुद्ध पुनरावेदन गरे पनि उच्च अदालत पाटन, हेटौंडा इजलासले जिल्लाकै फैसलालाई जेठ ९, २०८० मा सदर गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र राजेश्वर तिवारीको संयुक्त इजलासले दिएको आदेशमा भनिएको छ, “...आधार, कारण र प्रमाणहरूबाट सुरु मकवानपुर जिल्ला अदालतलबाट मिति २०७८।१०।२० मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ, पुनरावेदक प्रतिवादीहरू तथा पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन ।”

यो मुद्दामा बहस गरेका अधिवक्ता मदन दाहालका अनुसार नेपालमै पहिलोपटक पारलैंगिक महिला (ट्रान्स वुमन) तथा यौनकर्मीमाथि पनि जबरजस्ती करणी हुन्छ भन्दै अदालतले दोषीलाई जन्मकैदको फैसला सुनाएको हो । जिल्ला अदालत र उच्च अदालतबाट भएको आदेशले यौनिक तथा लैंगिक समुदायलाई न्यायको ढोका खुलेको उनको भनाइ छ । 

अजितालाई जबर्जस्ती करणी र हत्या गर्ने दोषीहरूले जिल्ला अदालतको फैसला र त्यसलाई सदर गर्ने पुनरावेदन अदालतको आदेशअनुसार यतिबेला जेलसजाय काटिरहेका छन् । तर पनि यो घटना सम्झँदा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका सदस्यहरू अहिले पनि डराउँछन् । 

अजिताको हत्याबारे सुनेकी पारलैंगिक महिला जसिसा (नाम परिवर्तन) लाई हरेक रात त्यो घटनाले झस्काउँछ । नेपालमा यौनकर्मीलाई कानुनले मान्यता दिएको छैन । त्यसैले जसिसाले लुकीछिपी रातको समयमा यौनकर्मीका रूपमा काम गर्दै आएकी छन् । 

ग्राहकले पैसा नदिए पनि र गालामा थप्पड हाने पनि बाध्य भएर चुप लागेर बस्नुपर्ने बाध्यताका बीचमा आफूलाई निरीह पाउने गरेको उनी बताउँछिन् । फेरि पनि सहनुको विकल्प उनले अझैसम्म फेला पारेकी छैनन् । “आफ्नै अधिकारबारे बोले, अन्यायबारेमा बोले, पैसामा बार्गेनिङ गरे अजिताको जस्तै नियति भोग्नुपर्ने हो कि ?” जसिसा चिन्तित सुनिन्छिन् । 

कति ग्राहकले उनलाई मनलाग्दी गर्न खोज्छन् । कतिले आफू सन्तुष्ट नहुन्जेल उनलाई जान दिँदैनन् । बोलेअनुसारको पैसा पनि दिँदैनन् । उल्टै पैसा माग्यो भने मार्ने धम्की दिन्छन् । “यौन पेसामा न इज्जत छ, न ज्यानको सुरक्षा,” जसिसा भन्छिन् । 

“हाम्रो समुदायलाई यौन व्यवसाय गर्ने भनेर नराम्रो नजरले हेरिन्छ, तर किन यसरी ज्यानको बाजी राखेर गरिराखेका छन् भनेर राज्यले बुझ्न आवश्यक छ,” पारलैंगिक महिला जसिसाले भनिन् । 

“हाम्रो समुदायलाई पनि मान्छेजस्तो व्यवहार गर्नुपर्छ । महिला पुरुष जसरी अधिकार दिनुपर्छ भन्दै उनी बोल्थिन्,” अजितालाई सम्झिँदै अर्की पारलैंगिक महिला किरण थापाले थपिन्, “राज्यले त्यो कुराहरू सुनिदिएको भए उनको हत्या हुने थिएन । अहिले हामीसँगै हुन्थिन् ।” आफ्नो घनिष्ठ साथी अजिताका हत्यारालाई कारबाही गर्न र अजितालाई न्याय दिलाउन पारलैंगिक महिला किरण कम्मर कसेर लागेकी थिइन् ।

रातको समयमा काम गर्ने अरू साथीहरूको पनि अजिताको जस्तै ज्यानको खतरा भएको किरण बताउँछिन् । फोनवार्तामा उनले भनिन्, “अजिताले हजुरआमा, हजुराबाबाको लागि भनेर रातदिन काम गर्थिन् । जिम्मेवारीको कारण बाध्य भएर उनी रातमा काम गर्थिन् ।”

अजिताले बाल्यकालमै आमाबुबा गुमाएकी थिइन् । त्यसैले उनलाई हजुरबुबा र हजुरआमाले पालनपोषण गरेका थिए । अजिताको हत्याको एक वर्षमै हजुरबुबाको र ३ वर्षपछि हजुरआमाको निधन भइसकेको छ । 

अजिताले न्याय पाएकोमा फुपू सुनितालाई केही मात्रामा भए पनि सन्तोष मिलेको छ । उनी अजिताले जसरी अब उनका साथीहरूले अकालमै मारिनुनपरोस् भन्ने कामना गर्छिन् ।

अजिता सुनिताकै छोरीहरूसँग हुर्केबढेकी थिइन् ।  सुनिताका अनुसार अजिताले एसएलसीसम्म पढेकी उनी सानोतिनो सम्मानित जागिर गर्न चाहन्थिन् । यो बीचमा अजिता कामको खोजीमा धेरै ठाउँमा भौंतारिइन् । तर जागिर पाइनन् । घरखर्च सबै अजिताकै थाप्लोमा थियो ।

अजिता बाध्य भएर यौन पेसामा लागेको किरण बताउँछिन् । सरकार जबसम्म लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूप्रति संवेदनशील हुँदैन तबसम्म उनीहरू यसरी नै रातमा काम गर्न बाध्य हुने किरण बताउँछिन् । 

Read our guidelines for Republishing this story here.

Comments