Navigation
रेड पाण्डा जोगाउन सामुदायको प्रयास Giri Raj Banskota Jan 17, 2026

रेड पाण्डालगायतका वन्यजन्तुको संरक्षणका लागि पूर्वी नेपालमा समुदायलाई नै अग्रसर बनाएर काम  गरिएको छ । 

पाँचथरको प्राङबुङ्ग तालखर्ककी बिमला तामाङ झोलामा खाजा राखेर घरबाट निस्किइन् । उनले खानेपानी, ठाउँ पत्ता लगाउने जीपीएस, लठ्ठी र फारम पनि झोलामा राखेकी छन् । 

features-1719398032.pngमंसिर–पुसको चिसो बिहानीमा उच्च पहाडी क्षेत्रमा ठण्डी त हुने नै भयो । तर ठण्डीलाई बेवास्ता गर्दै उनी बन्दोबस्तीका साथ जंगल गइन् । जलजले सामुदायिक वनभित्र उनी गोठमै बस्नुपर्छ । “गोठमा बस्ने हो,” उनले भनिन्, “हिउँदमा त ठिकै हुन्छ, बर्खामा अलि गाह्रो हुन्छ ।”

रेड पाण्डा संरक्षणमा सक्रिय बिमलाले हरेक तीन महिनामा यसैगरी जंगलमा गएर रेड पाण्डाको अध्ययन गर्छिन् । अध्ययन अनुसन्धान, रिपोर्टिङ र अनुगमनको सिलसिलामा उनी कहिलेकहीँ त तीन महिनाको बीचबीचमा पनि जंगल जान्छिन् । उनले वनमा गएर रेड पाण्डाको दिसा, उसको गतिविधि तथा अन्य मानवीय गतिविधि संकलन गरेर रिपोर्टिङ गर्नुपर्छ । 

उनी जलजले सामुदायिक वनको ‘वन अभिभावक’ हुन् । वनमा रेड पाण्डालगायतका वन्यजन्तुको संरक्षणका लागि समुदायलाई नै अग्रसर गराएर पूर्वी नेपालमा बिमलाजस्ता स्थानीय बासिन्दालाई स्थानीय वैज्ञानिकका रूपमा नियुक्त गरिएको छ ।

रेड पाण्डा पाइने वन क्षेत्रको अवस्थाको रिपोर्टिङ मात्र नभई सामुदायिक वनका क्षेत्रका बासिन्दालाई संरक्षण सचेतना जगाउन पनि उनीहरूले महत्त्वपूर्ण भूमिका खेल्छन् । उनीजस्ता वन अभिभावक पाँचथरमा १४, इलाममा १८ र ताप्लेजुङमा २१ जना छन् । देशका १३ जिल्लामा भने १ सय ४५ जना वन अभिभावक छन् । 

“घरबाट निस्किएर केही दिन जंगलमा काम गर्नुपर्छ, हामी घाँसदाउरा गर्दै हुर्केका लागि जंगल प्यारो नै हुन्छ,” बिमलाले भनिन्, “२०७३ सालदेखि यो काम गर्दै छु, सुरुमा महिलाले सक्छन् र भन्थे, अहिले भन्दैनन् ।”

आफ्नै घर नजिकैको भैँसेमा केही भारतीयले रेड पाण्डा पासोमा पारेर लैजान लागेको सूचना पाएपछि उनीसहित घरका अरू सदस्यले गएर तस्करलाई लखेटेका थिए । त्यो घटनापछि यो जन्तु जोगाउनुपर्छ भन्ने भावना बढ्दै गएको उनले सुनाइन् । यही हुटहुटीकै बेला वन अभिभावकको जिम्मेवारी पाइन् । 

जलजले समुदायिक वन भारतसँग जोडिएको छ । पैसा थेरै भए पनि आफ्नै ठाउँमा संरक्षणको काम गर्दा खुसी रहेको उनले सुनाइन् । “गाउँमा रेड पाण्डा हाम्रो सम्पत्ति भएकाले संरक्षण गर्नुपर्छ भन्ने भावना बढ्दै गएको छ,” उनले भनिन् ।

६–७ वर्ष बन अभिभावको काम गरेका ताप्लेजुङ याङवरक–३ तिरिङ्गेका विजय डाँगी वन क्षेत्र नै रमाइलो लाग्ने गरेको बताउँछन् । सयपत्री पोखरी सामुदायिक वन पाथिभरामा घाँसदाउरा गर्ने डाँगीको अनुभवमा मान्छेका गतिविधिले पाण्डा उकालो चढ्दै गएका छन् । 

“सुरुमा वनमा सर्भे गर्‍यौँ, पाण्डाको प्राकृतिक बासस्थान पहिचान गर्‍यौँ, ब्लक बनायौँ,” विजय भन्छन्, “पहिले हरेक महिना जंगल घुम्थ्यौँ, अहिले तीन महिनामा जंगल घुमेर पाण्डाको गतिविधि, चोरीनिकासी, वन फँडानीलगायका विषय हेर्छौँ ।”

मानवीय गतिविधिले असर

सन् १९९४ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले रेड पाण्डालाई संकटापन्न वन्यजन्तुको सूचीमा राखेको थियो । वन फँडानी, विकास निर्माण, चोरीतस्करीजस्ता गतिविधिका कारण रेड पाण्डा संरक्षणमा चुनौती थपिएको छ ।

यसलाई जोगाउन भन्दै अहिले रेड पाण्डामा आधारित पर्यटन प्रवद्र्धन, संरक्षणका काममा धेरैको चासो छ ।फोटोग्राफीदेखि महोत्सवसम्मका क्रियाकलाप हुन थालेका छन् ।

रेड पाण्डा नेटर्वकको अगुवाइमा सन् २०१६–१७ मा राष्ट्रिय सर्भे गरिएको थियो । त्यतिबेला देशभरका ३६ जिल्लामा सर्भे गर्दा २५ जिल्लामा यसको उपस्थिति रहेको तथ्य फेला परेको सर्भेमा संलग्न डम्बर विष्टले जानकारी दिए । नेपालसहित भारत, चीन, भुटान र म्यान्मार गरी पाँच देशमा मात्र पाइन्छ । बाँस र निगालोका पात खान रुचाउने रेड पाण्डा २ हजारदेखि ४ हजार ४ सय मिटरको उचाइमा पाइएको छ । नेपालमा २४ हजार वर्गकिलोमिटर क्षेत्रमा रेड पाण्डको प्राकृतिक बासस्थान रहेको अनुमान गरिएको उनले बताए । 

रारा, फोक्सुन्डो, लाङटाङ, सगरमाथा र मकालु बरुण राष्ट्रिय निकुञ्ज, ढोरपाटन सिकार आरक्ष, अन्नपूर्ण, मनास्लु, गौरीशंकर र कञ्चनजङ्घा संरक्षण क्षेत्र पनि रेड पाण्डा पाइन्छ । तर यसको मुख्य बासस्थान यी संरक्षण क्षेत्रभन्दा बाहिर रहेकाले समुदायमा  आधारित कार्यक्रम भइरहेको हो । पूर्वका तीन जिल्लाका ४२ सामुदायिक वन र दुई राष्ट्रिय वनमा रेड पाण्डा संरक्षणको काम भइरहेको छ । वनप्रतिको निर्भरता घटाउने उद्देश्यले स्थानीय बासिन्दालाई आयआर्जनका लागि गोठस्टे, अल्लोको कपडा बनाउने, होमस्टे तालिम दिइएको छ ।

“हामीले समुदायमा सचेतना जगाउने, अनुसन्धान, संरक्षण क्षेत्रका बासिन्दाको आजआर्जन वृद्धि, बहस तथा पैरवीको काम गरिरहेका छौँ,” रेड पाण्डा नेटवर्कका कार्यक्रम संयोजक सोनाम टासी लामा भन्छन्, “यो कार्यक्रमले पाण्डाको संख्याका साथै संरक्षणप्रति समुदाय र सरकारको चासो बढेको छ, सकारात्मक संकेत प्राप्त भएका छन् ।” 

इलाम र पाँचथरमा जीपीएस कलरिङ र क्यामेरा ट्रयापिङबाट रेड पाण्डाको अध्ययन पनि गरेका डम्बर विष्टका अनुसार मान्छेको गतिविधिले रेड पाण्डालाई असर परिरहेको छ । सडकलगायत निर्माणले प्राकृतिक बासस्थानमा नकारात्मक असर पारेको पाइएको उनले बताए । गोठ, कुकुर, वन खण्डीकरण र विनाश तथा अन्य मानवीय गतिविधिको असर देखिएको उनको अनुभव छ ।

डम्बरसहितले सन् २०२१ मा ‘मुभमेन्ट इकोलोजी जर्नल’ मा प्रकाशित लेखअनुसार वर्षभरिमा भालेले १.७३ र पोथीले ०.९४ वर्गकिलोमिटर क्षेत्रमा विचरण गरेका थिए । नेपाल र भारतको सीमा क्षेत्रका वनमा रेड पाण्डाले ओहोरदोहोर गरेको पाइन्छ । नेपालको रेड पाण्डाको अनुवांशिक विविधता (जेनेटिक डाइभरसिटी) अन्य ४ देशको तुलनामा कम रहेको विष्ट बताउँछन् ।

पर्यटक लोभ्याउने रेड पाण्डा 

“पाण्डा देखेपछि विदेशीहरू निक्कै बेर हेरेर बस्छन्, उनीहरूको मुहारमा खुसी प्रस्टै देखिन्छ,” इलामको दोबाटोका निमा शेर्पाले अनुभव सुनाए । उनले यो क्षेत्रमा विदेशीलाई रेड पाण्डा देखाउने गाइडको काम गरेको १२ वर्ष भइसकेको छ । यहाँको समुदायिक वनको वन अभिवाकसमेत रहेका निमाले धेरै विदेशी पर्यटकलाई पाण्डा देखाएका थिए ।

रेड पाण्डा हेर्न सामुदायिक वनले नियम बनाएको छ । वनमा प्रवेश गर्न १ हजार रुपैयाँ शुल्क र गाइडलाई दैनिक २ हजार रुपैयाँ ज्याला दिनुपर्छ । गाइडले रेड पाण्डा कहाँ छ भनेर पहिचान गर्छन् र पर्यटकलाई देखाउँछन् । 

“हाम्रो वनमा विदेशीहरू आउँछन्, भारतीय पर्यटक पनि रेड पाण्डा हेर्ने रुचि राख्छन्,” निमाले सुनाए, “दुई—तीन दिनमा पाण्डा हेर्न सफल भइन्छ, उसलाई असर नगर्ने गरी पाण्डा देखाइन्छ ।” 

पाण्डा हेर्न देश विदेशबाट पर्यटक आउँछन् । ९ देखि १२ दिनको इको ट्रिप प्याकेज बनाएर पर्यटकलाई ल्याइन्छ । 
“विगतमा हामीले कम भेट्थ्यौँ, अहिले विदेशीलाई समेत देखाउन पाएका छौँ, हाम्रो वनमा अहिले दुइटा बच्चा पनि छन्,” सिंहदेवी थुम्के सामुदायिक वन सूर्योदय नगरपालिका–१ इलामका अध्यक्ष राजेन्द्र ठकुरीले भने ।

सीमा क्षेत्रका सन्दकपुर, चारराते, फालोट घुम्न आउने भारतीय पनि रेड पाण्डा हेर्ने इच्छा गर्छन् । रेड पाण्डामा आफ्नो परिचय बनाएका निमाका अनुसार पर्यटक बस्नका लागि होमस्टेको संख्या बढाउँदै लगिएको छ । इलामको डोबाटेमा धेरै विदेशी पर्यटक आउने गरेका छन् । “डोबाटोमा पाँचवटा होमस्टे छ, नजिकैका गाउँमा पनि छ, पाण्डा देख्न पाउँदा विदेशी निक्कै खुसी मान्छन्, हामीलाई पनि फाइदा हुन्छ,” होमस्टे सञ्चालक साङ्गे शेर्पाले भने, “यहाँको होमस्टेमा सन्दकपुरलगायतका ठाउँ घुम्न आउने पनि बस्छन् ।”

ताप्लेजुङमा विदेशी पर्यटक लक्षित गरेर हिमालय हाब्रे सेन्टर बनाइएको छ । पाथिभरा जाने दर्शनार्थीले कहिलेकहीँ त्यहाँ पाण्डा हेर्न पाउँछन् ।

संरक्षणकर्मीलाई अवार्ड, विद्यालयमा पाठ्यक्रम

इलामको जौबारीमा वृक्षरोपण गरी पुनः वन निर्माणको काम गरेको भन्दै जौबारी रेस्टोरेसन कमिटीलाई भारतको बलिपाडा फाउन्डेसनले रिवाल्डिङ अवार्ड प्रदान गर्‍यो । यो अवार्ड पाउँदा निक्कै राम्रो काम गरेका रहछौँ भन्ने अनुभूति भएको कमिटीकी अध्यक्ष पेमा प्रधानले बताइन् । 

यो कमिटीमा २७ जना छन् । उनीहरू वृक्षरोपण, नर्सरी निर्माण, गोडमेल र संरक्षणमा खटिने गरेका छन् । “विभिन्न ठाउँबाट बिरुवा खोजेर रोपिएको थियो, अहिले यहाँ ठूलो नर्सरी तथा पानी पोखरी बनाइएको छ,” पेमाले भनिन् । त्यहाँ काम गरेबापत् पारिश्रमिक पनि पाउने उनले बताइन् ।

विद्यालय उमेरदेखि नै संरक्षणमा सचेतना जगाउनका लागि भन्दै रेड पाण्डा पाइने क्षेत्रमा स्थानीय पाठ्यक्रम बनाएर लागू गरिएको छ । कक्षा ६ र ७ मा रेड पाण्डाको संरक्षणबारे पढाइ हुन्छ भने विद्यालयहरूमा इको क्लब बनाइएको छ । ११ हजार १ सय ४६ विद्यार्थी इको क्बलका आवद्ध छन् । 

संरक्षण शिक्षा पढाउने शिक्षकलाई तालिम दिएर खटाइएको छ । विद्यार्थीका लागि इको ट्रिप, भित्तेपत्रिका, बुलेटिन प्रकाशन तथा रेड पाण्डा दिवसमा अतिरिक्त क्रियाकलाप गर्ने गरिएको छ । 

यो सामग्री हाम्रो पुन: प्रकाशन नीति अनुसार तपाईँले पनि आफ्नो सञ्चार माध्यममा प्रकाशन गर्न सक्नुहुने छ । पुन: प्रकाशन नीति यहाँ छ । 

Comments