Navigation
वैदेशिक रोजगारीमा श्रीमान्‌को मृत्यु, घरमा श्रीमतीमाथि हिंसा Pratibha Jha Dec 22, 2025

वैदेशिक रोजगारीका क्रममा विदेशमा श्रीमान् गुमाएका मधेशका केही महिलामाथि घरेलु हिंसा हुने गरेको छ । श्रीमान् बितेपछि वैदेशिक रोजगार बोर्डबाट पाउने राहत रकम परिवारका अरू सदस्यले लिने र महिलालाई बिचल्ली पार्ने गरेको पनि पाइन्छ । 

... ...

तीन वर्षअघि ऋण गरेर श्रीमान्‌लाई विदेश पठाएकी धनुषाको जनकपुरधामकी गुलेशन खातुन (३७) को सपना परदेशमै टुट्यो । कतार गएका श्रीमान् मोस्ताकिम नदाफ दोस्रो महिनाको कमाइ पठाउन नपाउँदै सदाका लागि अस्ताएपछि उनका लागि संसार अँध्यारो बनेको छ । 

features-1719398032.pngसन्तान र घरपरिवारको गुणस्तरीय जीवनयापनको आशामा गुलेशनले ऋण काढेरै भए पनि श्रीमान्‌लाई विदेश जान सघाएकी थिइन् । ५ वर्षअघि कतारमै गएर फर्किएका मोस्ताकिमलाई टाउको दुख्ने समस्या थियो, उनले औषधि पनि खाइरहेका थिए । त्यसैले विदेश नजान गुलेशनले आग्रह पनि गरेकी थिइन् । 

कतारबाट फर्केपछि घर बनाउँदा लागेको ऋण तिर्न र सन्तानको भविष्य सुधार्नका लागि मोस्ताकिमले एक पटक विदेश जान्छु भनेपछि उनले भारी मनले अनुमति दिएकी थिइन् । “साथीहरूले पनि विदेशको लालच देखाए र फेरि विदेश जान तत्पर हुनुभयो,” उनले भनिन्, “हामीले खुब सम्झायौँ, तपाईंको स्वास्थ्य बिग्रिरहन्छ, तपाईं विदेश नजानुस्, तर मान्नु भएन ।”

परिवारको सुझाव नमानी विदेसिएका मोस्ताकिम राति सुतेकै बेला हृदयाघात भएर मृत्यु भयो । वैदेशिक रोजगार बोर्डका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा मात्रै वैदेशिक रोजगारीमा रहेका २ सय २४ जना श्रमिकको हृदयाघातबाट मृत्यु भएको छ । बोर्डका अनुसार गत आर्थिक वर्षमा विदेशमा ज्यान गुमाउने १ हजार ५ सय ४४ जना श्रमिकमध्ये मधेश प्रदेशका मात्रै ३ सय ९६ जना छन् । यो तथ्यांकले वैदेशिक रोजगारीका क्रममा नेपाली पुरुषको ज्यान जाने गरेको र त्यसमा धेरै मधेशका रहेको देखाउँछ ।  

‘वुमेन्स इम्पावरमेन्ट, इक्स्टेन्डेट फेमली एन्ड मेल माइग्रेसन इन नेपाल’ शीर्षकको अध्ययनले खेतीपाती, घर खर्च र दैनिकी व्यवस्थापनमा महिलाको जिम्मेवारी बढ्ने, संयुक्त परिवारका महिलाले सम्पत्तिसँगै सन्तानको शिक्षामा सीमित अधिकार पाउने देखाएको छ । 

तर, श्रीमान्‌को निधन भएका महिलाको काँधमा घरको नियमित कामसँगै बालबच्चा हुर्काउनु र बढाउनुपर्ने मात्र नभई श्रीमान्‌ले विदेसिन लिएको ऋण तिर्न र परिवारको खर्च धान्नका लागि कमाउनुपर्ने पनि जिम्मेवारी थपिन्छ । तेहेरो जिम्मेवारी बोकेका महिलामाथि घरेलु हिंसा पनि हुन्छ । श्रीमान् बितेपछि वैदेशिक रोजगार बोर्डबाट पाउने राहत रकम परिवारका अरू सदस्यले लिने र महिलालाई बिचल्ली पारेका घटना पनि छन् । श्रीमान्‌को मृत्युपछिको कर्म पूरा हुन नपाउँदै गुलेशनलाई आपत्तमाथि थपिएको महाविपद्ले पनि यस्तै देखाउँछ । 

गुलेशनका श्रीमान् बितेपछि वैदेशिक रोजगार बोर्डबाट पाउने राहत रकममा सासू– ससुराको आँखा लाग्यो । र, उनले घरबाटै निष्कासित हुनुपर्‍यो । वैदेशिक रोजगार नियमावली, २०६४ अनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको कामदारको करार अवधिमै वा करार अवधि पूरा भएको एक वर्षभित्र मृत्यु भएमा नजिकको हकवालाले अहिले १० लाख रुपैयाँ आर्थिक सहायता पाउने व्यवस्था छ । 

त्यो सहायता रकमका लागि कामदारको मृत्यु भएको एक वर्षभित्र नजिकको हकवालाले वैदेशिक रोजगार बोर्डमा निवेदन दिनुपर्छ । कानुनले आर्थिक सहायता पाउने नजिकको हकवाला विवाहितको हकमा पति/पत्नीलाई मानेको छ । यसका लागि स्थानीयस्तरबाट नै सिफारिस भएर प्रक्रिया सुरु हुने गर्दछ ।

बोर्डबाट पाउने ७ लाख रुपैयाँ (अहिले १० लाख पाउने भए पनि उनका पतिको मृत्यु हुँदा ७ लाख रुपैयाँ पाउने कानुनी व्यवस्था रहेको) र बिमाबाट पाउने १४ लाख रुपैयाँ नै गुलेशनमाथि हिंसा र यातनाको कारण बन्यो । श्रीमान्‌को मृत्युपश्चात सासू–ससुरा र देवरले आर्थिक सहायता र बिमाबाट आउने रकम हामीलाई दिनुपर्छ भन्ने दबाब दिए । 

गुलेशनलाई बोर्डमा पेस गर्ने आवश्यक कागजात बनाउन वडामा पुग्न पनि कठिन थियो । मुस्लिम समुदायकी, त्यो पनि एकल महिलालाई एक्लै ओहोर–दोहोर गर्न सहज थिएन । गुलेशनका ससुरा वा घरका अरू कुनै पुरुष व्यक्ति नगएसम्म काम नै नहुने स्थिति बन्यो । ससुराले राहतस्वरूप आउने आधा रकम नदिए काम नगरिदिने वातावरणको सिर्जना भयो । पैसा दिन नमान्दा सासू–ससुराले गालीगलौज गरी घरनिकाला गरिदिए ।

“रातभरि झगडा भयो र मलाई बिहान ७/८ बजेतिर नै घरबाट निकालिदिए,” गुलेशन त्यो दिन सम्झिन्छिन् । देउरानीले केही दाल–चामल दिएर अलग गरिदिनू भने पनि सासूले एक सिन्को नदिएको गुलेशन बताउँछिन् । गुलेशनकी देउरानीले यो पारिवारिक मामिला भएकाले थप केही नबोल्ने बताइन् । उनका सासू–ससुराले पनि यसबारेमा कुराकानी गर्ने चाहेनन् ।  

घरबाट निकालिएको दिन ३ सन्तानसहित आफू भोकै बसेको र बेलुकीपख मदरसामा गएर समस्या सुनाउँदा गाउँका केही मानिसले दाल–चामल दिएको उनले बताइन् । “केही दाल–चामल पाएपछि मात्र मैले त्यो रात बच्चालाई खाना खुवाउन सकेँ,” उनी भक्कानिइन्, “म त्यो दिन याद गर्न चाहन्नँ ।”

त्यसपछि उनी तीनै सन्तान लिएर माइती पुगिन् र त्यहाँ ३ दिनसम्म बसिन् । त्यसपछि माइती र केही गाउँलेको सहयोगमा घर फर्केर उनले अंश बाँडफाँड गराई छुट्टै बस्न थालेकी छन् । 

३ जना बालबच्चा पढाउन, हुर्काउन उनी दैनिक १४/१५ घण्टासम्म काम गर्छिन् । एकल महिलाले पाउने सामाजिक सुरक्षा भत्ता, केटाकेटीले पढ्न पाउन छात्रवृत्तिले पनि केही भरथेग गरेकाले सन्तानलाई पढाउन सकिन्छ भन्ने उनलाई लागेको छ । “म नपढेकोले मसँग यस्तो घटना भयो, नपढेकाले श्रीमान्‌ले काम गर्न विदेश उड्नुपर्‍यो र उतै जीवन गुमाउनुभयो,” छिमेकीको खेतमा धान काटिरहेको बेला भेटिएकी उनले भनिन्, “म मेरो बच्चाहरू, छोरीलाई पढाउँछु ।”

Guleshan-Khatun-1-NIMJN-1766335445.jpg
गुलेशन खातुन । तस्बिर : प्रतिभा झा/निमजिन

धनुषाकै अर्की महिला रोशनी (परिवर्तित नाम) को पीडा पनि गुलेशनको भन्दा कम छैन । श्रीमान्‌को वैदेशिक रोजगारीकै क्रममा मृत्यु भएपछि उनी नाबालक छोराछोरीको मुख हेरेर बसिरहेकी थिइन्  । तर उनका सासू–ससुराले देखी सहेनन् । ४ वर्षको छोरा खोसेर रोशनीलाई सासू–ससुराले काखे छोरीसहित घरबाट निकालिदिए । 

रोशनीको नागरिकता नभएका कारण राहत सासू–ससुराले बुझे । पछि बुबा र गाउँलेको सहयोगमा प्रहरीमा उजुरी दिएपछि उनले नागरिकता पाए पनि राहत रकम पाइनन् । उनका अनुसार घरबाटै निकालिने कलहको बीउ राहत रकम नै थियो । 

श्रीमान् बितेको २ वर्ष पनि नपुग्दै घरबाट निकालिएकी उनी माइत गए पनि धेरै दिन त्यहाँ पनि बस्न सकिनन् । उनले अहिले नयाँ घरजम सुरु गरेकी छन् । तर छोराको मायाले अहिले पनि तड्पिरहेको उनी बताउँछिन् । 

गुलेशन र रोशनीले श्रीमान्‌को मृत्युपछि आउने राहत रकमका कारण थप पीडा भोग्नुपरे पनि धनुषाको धनषाधाम नगरपालिका–१ काशीपुरकी सोनिता सदा (२५) ले भने राहत रकम नै पाइनन् । ३ धुर घडेरीमा बाँसको छाप्रोमा ४ सन्तानसहित बसिरहेकी उनले ज्यालामजदुरी गरेर जीविकोपार्जन गरिरहेकी छन् । 

विदेश गएका उनका श्रीमान् मिर्गौलाको रोग बोकेर घर फर्किए । उपचार गराउँदा ६ लाख ऋण लाग्यो तर श्रीमान् बचेनन् । श्रीमान्‌को निधन हुँदा श्रम स्वीकृतिको म्याद सकिएको भन्दै राहत नपाएको उनी बताउँछिन् । 

गरिब परिवारकी उनको घरमा सासू–ससुरा छैनन् । देवर–जेठाजुलाई आफ्नै परिवारको पालनपोषणमा समस्या भएकाले हेर्ने कुरै भएन । त्यसैले आफूले कहीँकतैबाट कुनै सहयोग पाउन नसकेको गुनासो उनी गर्छिन् । 

श्रीमान् विदेश गएका महिला मात्र होइन, कमाउन भनेर आफैं विदेश गएर फर्किएका महिला पनि हिंसामा पर्ने गरेका छन् । जनकपुरकै मुसहर समुदायकी गिन्नी (परिवर्तित नाम) घरेलु कामदारका रूपमा कुवेत पुगिन् । त्यहाँ पुगेपछि उनीमाथि हिंसा भयो । काम गरेर बस्ने वातावरण भएन । यता घरबाटै पैसा पठाएपछि उनी त्यहाँबाट घर फर्किइन् । पैसा कमाउन गएकीलाई उल्टै पैसा तिरेर घर झिकाउनुपरेको भन्दै गाउँलेले कुरा काट्न थाले । घरमा पनि त्यही निहुँमा बारम्बार गाली बर्सिन थाल्यो । 

घरपरिवार र गाउँलेले गरेको व्यवहारले उनको बाटो बदलिदिएको छ । उनी अहिले आफूजस्ता महिलाले हिंसा सहनु नपरोस् भनेर प्रवासी परिवारको हकहितका लागि काम गर्छिन् । 

उजुरी नै पर्दैन 

वैदेशिक रोजगारमा रहेका परिवारका महिला घरेलु हिंसामा परिरहेको भए पनि यसको उजुरी भने धेरै पर्दैन । न्यायमा पहुँच दिन सहयोग गर्ने उमेश पासवानका अनुसार वैदेशिक रोजगारमा गएकाहरूको परिवारमा महिलाप्रति हिंसा भइरहे पनि मुद्दा दर्ता भने न्यून मात्रामा हुने गरेको छ । महिला हिंसा भएका घटनाको उजुरी आप्रवासी स्रोत केन्द्रमा आउने गरेको छ । मनोसामाजिक मुद्दामा स्रोत केन्द्रले सहजीकरण गर्ने भए पनि अरू मुद्दा प्रकृतिअनुसार अन्यत्र पठाउने गरिन्छ । 

मनोसामाजिक परामर्शदाता सरिता यादवका अनुसार हिंसाका घटनाहरू तत्कालै सम्बन्धित निकायसम्म पुग्दैनन् । घरपरिवारको कुरा भन्दै महिलाहरू खुल्न डराउने, बदनामीको डरले घरपरिवारकै अरू सदस्यले यस्ता घटना घरमै दबाउने, गाउँघर र समाजमै मिलाउन खोज्ने, पीडित महिला आफैं न्याय खोज्दै प्रशासनसम्म पुग्न नसक्नेलगायतका कारणले उजुरी कम पर्ने गरेको उनी बताउँछिन् । 

श्रीमान्‌ले पैसा पठाउँदा आफन्तले खोस्ने चाहेको अवस्थामा उक्त पैसा दिन नमान्दा कतिपय महिलाहरू उपर कुटपिट हुँदै आएको र उनीमाथि विभिन्न लाञ्छनासमेत लाग्ने गरेको मनोसामाजिक परामर्शकर्ता सरिता बताउँछिन् । “श्रीमान् विदेसिएपछि घरको सम्पूर्ण काम गर्ने जिम्मा श्रीमतीको काँधमा आउने गर्छ,” उनी भन्छिन्, “यस्ता कामकै क्रममा महिला घरबाहिर आउजाउ गर्दा लाञ्छनाको भारी पनि बढ्दै जान्छ र आफन्तबाटै कुटपिट र हिंसामा पर्नुपर्छ ।”

श्रीमान् विदेशमा रहेका महिलालाई गाउँसमाजकै मान्छेहरूले पनि नराम्रो नजरले हेर्ने र उनीसँग जबरजस्ती गर्न खोज्ने समस्याले पनि महिला असुरक्षित हुने गरेको सरिता बताउँछिन् । 

वैदेशिक रोजगारीबाट आएको पैसा पाउने महिलालाई घरपरिवारमा दिनहुँ तनाव हुँदा उनीहरू मनोसामाजिक समस्यामा समेत पर्ने गरेको पाइन्छ । शान्ति पुनःस्थापना गृह, धनुषा जिल्ला संयोजक रिना चौधरी वैदेशिक रोजगारकै कारण मानसिक यातना भोग्न बाध्य  महिलाहरूका घटना आफूहरूकहाँ आउने गरेको बताउँछिन् । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक मनोज यादवका अनुसार वैदेशिक रोजगारीकै कारण हिंसा हुने तथ्यांक राखिँदैन । “यहाँ वेदैशिक रोजगारको मुद्दा दर्ता गर्ने व्यवस्था छैन । तर ठगी, हिंसाको फाइल तयार गर्दा गहिरिएर पढ्दा मात्र कारण थाहा हुन्छ,” उनले भने ।

वैदेशिक रोजगारीका कारण परेका समस्याको गुनासो गर्ने निकाय वैदेशिक रोजगार विभाग हो । तर त्यहाँ पूर्णरूपले कामदारसँग प्रत्यक्ष जोडिएका विषय मात्र पुग्छन् । प्रहरी, प्रशासन र अदालतमा यी मुद्दा लैजाँदा वैदेशिक रोजगार मुद्दा नभनी प्रकृतिअनुसार मिल्ने अरू नाम दिएर दर्ता हुने गरेको छ । जसले गर्दा पीडितलाई न्याय पाउन झनै समस्या छ । 

यो सामग्री पुन: प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो पुन:प्रकाशन नीति अनुसार प्रकाशन गर्नुहोस् । पुन:प्रकाशन निर्देशिका यहाँ छ ।

Comments