अन्नपूर्णको उत्तरी आधार शिविरमा बनेको एउटा हिमताल र त्यसमा देखिएको फेरबदलले जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्रमा भइरहेको भौगोलिक तथा वातावरणीय परिवर्तनलाई देखाउँछ । 
अन्नपूर्ण प्रथम हिमाल आरोहण मार्गको प्रवर्द्धनमा जुटेका अभियन्ता तेजबहादुर गुरुङ २०७३ सालमा उत्तरी आधार शिविरमा पुग्दा ५ वटा पोखरी थिए ।
४ हजार ५० मिटरको उचाइमा रहेका ती ५ वटा पोखरी बिलाएर अहिले एउटै ठूलो ताल बनेको छ । “हामीले पहिलो पटक ५ वटा पोखरी देखेकाले हिमतालको नाम पञ्चकुण्ड राखेका थियौँ,” उनी भन्छन्, “पछिल्लो ९ वर्षमा पञ्चकुण्डका ५ वटा कुण्ड पग्लेर एउटै ठूलो ताल बनेको छ ।”
अन्नपूर्ण प्रथम, नीलगिरि र तिलिचो हिमालको काखमा रहेको यो हिमताल म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ मा छ । नारच्याङ गाउँमा पर्ने यो हिमतालको नाम गुगल म्यापमा भने कसैले डिकिछो राखिदिए पनि गाउँपालिकाले पञ्चकुण्ड ताल भनेर बोर्ड राखेको छ ।
अन्नपूर्णको उत्तरी आधार शिविरमा तेजबहादुरले ५ वटा कुण्ड देख्नुभन्दा २५ वर्षअघि सन् १९९० को स्याटेलाइट तस्बिरमा त्यहाँ कुनै ताल वा पोखरी नै देखिँदैन ।
पर्वतारोहीका सहयोगीका रूपमा ३० वर्षअघि सन् १९९५ तिर मुस्ताङको लेते हुँदै आधार शिविरमा पुगेका इन्द्रसिंह शेरचनका अनुसार त्यसबेला त्यहाँ हिमनदीको छेउमा बरफमाथि साना पोखरी थिए । अहिले ताल रहेको ठाउँमा पहिला हिमनदी थियो । त्यही हिमनदीको छेउ हुँदै पर्वतारोहीहरू माथिल्लो आधार शिविर उक्लिन्थे । उसबेलाका आधार शिविर तिलिचो पिकतिरबाट आएको हिमपहिरोले बगाएपछि केही तल तिलिचो पिककै फेदीमा आधार शिविर बनाउने गरिएको छ ।
अमेरिकाको निकोलस कलेजका वातावरण विज्ञानका प्रोफेसर मौउरी पेल्टोको सन् २०२२ मा प्रकाशित ‘नर्थ अन्नपूर्ण ग्लेसियर रिच्योल एन्ड लेक डेभलपमेन्ट’ लेखका अनुसार सन् १९८८ सम्म पञ्चकुण्ड हिमताल थिएन । त्यहाँ करिब १.५ किलोमिटर लामो सक्रिय हिमनदी थियो ।
त्यहाँ सन् २००१ देखि मात्र प्रोग्लेसियरले हिमतालको आकार लिन थालेको हो । त्यसयता त्यो हिमतालको आकार तीव्र गतिमा बढिरहेको छ ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) की रिमोट सेन्सिङ तथा भू–सूचना विश्लेषक फिनु श्रेष्ठका अनुसार पछिल्लो १२ वर्षमा यो हिमतालको आकार ८ सय ४६ प्रतिशतले बढेको छ । अन्नपूर्णको फेदीमा बनेको ताल र तालमा देखिएको फेरबदलले जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्रमा भइरहेको भौगोलिक तथा वातावरणीय परिवर्तनलाई देखाउँछ ।
अन्नपूर्ण आधार शिविर क्षेत्रमा पर्यटकको खोज, उद्धार र सहयोगीका रूपमा सक्रिय इन्द्रसिंह भन्छन्, “हेर्दाहेर्दै हिमनदी पग्लेर ताल बन्यो, पर्वतारोहीहरू हिमाल चढ्न प्रयोग गर्ने बाटोमा परेका खर्पासहरू झन्झन् फाटेर खस्दै छन, केही वर्षमा हिमाल चढ्ने बाटो र हिमताल नासिन्छन् कि भन्ने डर लाग्छ ।”
इसिमोडका अनुसार अनुसार सन् २०१३ मा ०.०४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको हिमताल सन् २०२५ सम्ममा बढेर ०.३८८ वर्ग किलोमिटर पुगेको छ । सन् २०१३ मा देखिएको तालको आकार सन् २०१५ मा तीन गुणाले बढेर ०.११५ वर्ग किलोमिटर पुगेको थियो ।
ताल सन् २०२१ सम्म अझै बढेर ०.२१६ वर्ग किलोमिटर पुगेको थियो । त्यसपछि चार वर्षमा ताल विस्तारको तीव्रता डरलाग्दो देखिन्छ । सन् २०२२ देखि २०२५ को बीचमा तालको क्षेत्रफल झन्डै दोब्बरले बढेर ०.२८८ वर्ग किलोमिटर पुगेको छ ।
अभियन्ता तेजबहादुर जलवायु परिवर्तन र तापक्रम वृद्धिले यो तालमा परिवर्तन देखिएको बताउँछन् । यसबाट अन्नपूर्ण प्रथम हिमालको आधार शिविरको वातावरण नै संकटउन्मुख बनेको संकेत मिलेको भन्दै उनी चिन्तित छन् । भन्छन्, “तालका बीच–बीचका आइसल्यान्डहरू बिलाएर नासिएको देख्दा चिन्ता लाग्छ ।”
उच्च हिमाली क्षेत्रमा सधैँ हिउँ थपिरहँदा त्यो हिउँ जमेर बाक्लो बरफ बनेको हुन्छ । दुई हिमालका खोँच हुँदै माथिदेखि तलैसम्म हिउँ बरफ बनेर लत्रेको हुन्छ । यो बरफको लत्रो नै हिमनदी हो । भिरालो हिमाली भागमा हिउँ थुप्रिँदै गएपछि बेलाबेलामा हिमपहिरो जान्छ । कुनै बेलामा त हिउँसगै पहाडै पनि भत्केर खस्छ । हिमालको फेदीमा हिउँ, माटो र ढुंगा मिसिएर जमेको बरफ हुन्छ । जसलाई पर्माफ्रस्ट भनिन्छ ।
हिमनदी पग्लेर बाक्लो बरफमाथि बनेका पानीका पोखरीलाई प्रोग्लेसियल ताल भनिन्छ । प्रोग्लेसियल विस्तार हुँदै वा हिमनदीको बहाव क्षेत्रमा पर्माफ्रस्ट वा हिमनदी पग्लेको पानीलाई ढुंगा तथा माटोका ढिस्काहरूले छेक्दा ताल बन्ने गर्छ । अन्नपूर्ण प्रथम हिमालको फेदीमा विकसित यो हिमताल भने हिमनदीलाई ढुंगा तथा माटोका ढिस्काहरूले छेकेपछि बनेको हो ।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा पनि तापक्रम बढ्दै गएको छ । इसिमोडले सन् २०२३ मा सार्वजनिक गरेको हाई–विस प्रतिवेदनमा हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनको कारण हिमनदी छिटोछिटो पग्लिरहेको, हिमपात हुुने दिन घट्दै गएको र पर्माफ्रस्ट पग्लिरहेकाले हिमाली क्षेत्रमा ठूला परिवर्तन देखिएको उल्लेख छ ।
यी परिवर्तनका कारण हिमनदी पग्लने गति बढेको छ । तालभन्दा माथिल्लो क्षेत्रको हिउँ पग्लेर तालमा पानी बढेको छ । यस्तै तापक्रम पनि बढेपछि तालमै रहेको बरफ पनि छिटो छिटो पग्लेकाले आकार बढेको हो ।
जल तथा मौसम विज्ञान विभागले सन् २०२३ लाई चार दशक यताकै तातो वर्ष भनेको थियो । विभागका अनुसार सन् २०२३ मा नेपालका १२ वटा ठाउँमा अधिकतम तापक्रमको रेकर्ड ब्रेक भएको थियो । सन् २०२३ मा नेपालको औसत अधिकतम तापक्रम २७ दशमलव ९ (सामान्यभन्दा शून्य दशमलव ६ डिग्री सेल्सियस बढी) डिग्री सेल्सियस र औसत न्यूनतम तापक्रम १५ दशमलव ६ (सामान्यभन्दा शून्य दशमलव ५ डिग्री सेल्सियस बढी) डिग्री सेल्सियस मापन भएको थियो । विभागका अनुसार सन् १९८० को दशकमा नेपालको औसत वार्षिक अधिकतम तापक्रम २६ दशमलव ४ डिग्री सेल्सियस थियो ।
यो तापक्रम वृद्धिको असर हिमाली क्षेत्रमा पनि परेको छ । विभागकै रेकर्डमा सन् २०२४ को प्रारम्भ जनवरी–फ्रेबअरीमा हिमालय क्षेत्रमा हिमपात अति न्यून भएकाले हिमालय क्षेत्रमा हिउँको मात्रामा भारी कमी आएको थियो ।
नेपालको हिमालय क्षेत्रमा सन् २०२३ मा अत्यधिक तापवृद्धि हुनु र सन् २०२४ मा हिमपातमा अत्याधिक कमी आएकाले शताब्दीको अन्त्यसम्ममा हिमालय क्षेत्रमा पानीको उपलब्धता उच्च बिन्दुमा पुग्ने र क्रमशः घट्दै जाने चेतावनी पनि हाई–विस प्रतिवेदनमा दिइएको छ ।
इसिमोडका नदी बेसिन तथा क्रायोस्फियर क्षेत्रीय कार्यक्रम निर्देशक अरुणभक्त श्रेष्ठका हिमालय क्षेत्रको तापवृद्धि कम्तीमा १ दशमलव ५ डिग्रीमा सीमित गर्न सके मात्र पनि शताब्दीको अत्यसम्ममा हिन्दुकुश हिमालय क्षेत्रबाट ३० प्रतिशत हिउँ गुमाउँछौं । “ग्लोबल वार्मिङ १ दशमलव ५ प्रतिशत माथि गयो भने हिमालय क्षेत्रबाट ७० प्रतिशत बढी हिउँ पग्लने आंकलन छ,” उनी भन्छन्, “यसबाट हिन्दुकुश हिमालय क्षेत्रको नेपालका मुस्ताङ, मनाङ, डोल्पा, भारतको लद्दाखसहित, पाकिस्तान, अफगानिस्तानका हिमाली सुक्खा क्षेत्रमा पानी अभाव हुनेछ ।”
बढ्दो मानवीय गतिविधि
पर्वतारोहणको इतिहासमा जेठो हिमाल भनिने ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम फान्सेली पर्वतारोही मौरिस हर्गोजको नेतृत्वमा लुइस लचेन र दुई नेपाली शेर्पाले जुन ३, सन् १९५० मा सफल आरोहण गरेका थिए ।
उनीहरूले नीलगिरि साउथ हिमालको फेदीबाट नारच्याङ गाउँको सिरानमा पर्ने हुमखोला, भुस्केट मेलाको परम्परागत भेडा गोठालो मार्ग पछ्याउँदै अन्नपूर्ण प्रथम हिमालमा पुगेका थिए । त्यसको ६२ वर्षपछि सन् २०१२ मा लुकेको तर ऐतिहासिक पदमार्गलाई स्थापित गर्ने भन्दैै अन्नपूर्ण आधार शिविरमा पुगेका स्थानीय बासिन्दाले यो हिमतालको प्रचार थालेका हुन् ।
अन्नपूर्ण प्रथम आरोहणका लागि मात्र होइन, आधार शिविरमा रहेको हिमताल वसन्त तथा शरद ऋतुमा घुम्न आउने आन्तरिक पर्यटकको प्रमुख आकर्षण बनेको छ । पर्यटनलाई अन्नपूर्ण गाउँपालिकाले प्रमुख राजस्व स्रोत र स्थानीय बासिन्दाले राम्रो आम्दानीको माध्यम बनाएका छन् । पञ्चकुण्ड हिमताल र आधार शिविरमा जाने पर्यटकको सुविधाका लागि होटल व्यवसाय सञ्चालन गर्न व्यवसायीलाई गाउँपालिकाले यो वर्ष ७७ हजार रुपैयाँमा ठेक्का लगाएको छ ।
स्थानीय बासिन्दाले पदमार्ग स्थापित गरेपछि पछिल्लो समयमा यहाँ पुग्ने पर्यटकको संख्या पनि बढेको छ । अन्नपूर्ण प्रथम हिमाल आरोहणमा जाने पर्वतारोहीको तथ्यांक पर्यटन विभाग र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा रहने भए पनि हिमालको आधार शिविरमा अवस्थित पञ्चकुण्ड हिमताल हेर्न जाने नेपाली तथा भारतीय पर्यटकको तथ्यांक राख्ने कुनै निकाय छैनन् ।
तर पनि यो असोज र कात्तिकमा मात्रै पञ्चकुण्ड तालमा १२ हजार बढी पर्यटक पुगेको व्यवसायीको अनुमान छ । हुमखोलामा होटल व्यवसाय गर्दै आएका तेजबहादुर गुरुङ भन्छन्, “यो सिजनको असोज र कात्तिक तेस्रो सातासम्म अन्नपूर्ण बेस क्याम्पमा १२ हजारभन्दा बढी पर्यटक पुगे, अस्ति बेमौसमी हिमपात हुँदाको दुई दिनमा मात्र ३ सय पर्यटक बेस क्याम्पमै थिए ।”
पर्यटनसँगै ताल वरपर फोहोरमैला बढेको छ । अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुन पर्यटक आगमनबाट उत्साही भए पनि तालको भविष्य सम्झिँदा चिन्ता लाग्ने गरेको बताउँछन् ।
बेनीका पुराना पर्यटन व्यवसायी तथा राजनीतिज्ञ हरिकृष्ण श्रेष्ठ एकै सिजनमा १०–१५ हजार पर्यटक पुग्दा ताल प्रदूषण मात्र नभएर वातावरणीय असर पनि पर्ने बताउँछन् ।
हिमतालको पर्यावरण संरक्षण गर्न र जोखिम नियन्त्रणमा राख्न पर्यटकले पनि वातावरणमैत्री भ्रमण संस्कृति विकास गर्नुपर्ने पर्छ । “स्थानीय सरकारसमेत सरोकारवाला निकायले पनि पदमार्गमा हिमाली वातावरणसम्बन्धी सचेतनामूलक बोर्ड राख्ने, ताल संरक्षणका कार्यक्रम गर्दै जथाभावी मान्छेको प्रवेशमा रोक लगाउने, तालको पानी निकास हुने ठाउँमा स्थानीय ज्ञान र प्राविधिक ज्ञान दुवैको उपयोग गरी संरक्षणको कार्यक्रम सञ्चालन गर्नु आवश्यक हुन्छ,” इसिमोडकी फिनु भन्छिन् । इसिमोडले अन्य क्षेत्रका हिमतालमा यही अभ्यास गरेको उनी स्पष्ट पार्छिन् ।
जोखिम आकलनका लागि अध्ययन आवश्यक
अध्यक्ष भारतकुमार तालबाट निक्लने पानीको बाटो खुल्ला भएकाले तत्काल ताल फुट्ने जोखिम नरहेको बताउँछन् । तर उनी तालको पानीको निकास क्षेत्रमा तटबन्धलगायत संरक्षण आवश्यक रहेको बताउँछन् ।
इसिमोडकी फिनु पनि ताल फुट्ने जोखिम नरहे पनि तालको अवस्था पत्ता लगाउन जियो राडर, सिस्मिक र विद्युतीय ईआरटी उपकरणमार्फत अध्ययन आवश्यक भएको बताउँछिन् । “अन्नपूर्ण हिमतालको मोरिन बाँध भत्केर तत्काल हिमताल विस्फोटक हुनेजस्तो त देखिँदैन,” उनी भन्छिन्, “तर अन्नपूर्ण हिमनदीको ‘एक्टिभ लेयर’ टुटेको देखिन्छ भने ‘डेब्रिज कभर्ड ग्लेसियर’ तीव्रगतिमा पग्लेको देखिन्छ, जलवायु परिवर्तनले हिमनदीमा अचानक ल्याएको यो डरलाग्दो संकेत हो ।”
“अन्नपूर्ण हिमताल देख्दा जति मनमोहक छ, यसले भविष्यलाई भने जोखिममा पारेको लाग्छ,” पञ्चकुण्ड हिमताल अवलोकन गरेर फर्किएकी म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी अनिता आचार्यले भनिन् । ताल क्षेत्रको पर्यावरण संरक्षण र तटीय क्षेत्रमा जोखिम न्यूनीकरणको काम आवश्यक रहेको उनी बताउँछिन् । तालको पानी मिस्रीखोला हुँदै दानाको गुइँठेमा आएर कालिगण्डकी नदीमा मिसिन्छ ।
दुई वर्षअघि ताल रहेको ठाउँमा पुगेका टिकोट माविका प्रधानाध्यापक प्रदीप पुन अन्यत्र हिमताल फुटेको समाचार सुन्दा यो ताल पनि कुनै दिन फुट्ने त हैन भन्ने डर लाग्ने गरेको उनी बताउँछन् । “हाम्रो पालिकाले अन्नपूर्ण हिमताल र बेस क्याम्पमा पैसा मात्र फलेको देखेको छ, भविष्यको जोखिम देखेकै छैन,” उनी भन्छन्, “पालिका प्रमुख साथी पनि हुन, मेरो आग्रह के छ भने पालिकाले हिमतालसम्बन्धी विज्ञ ल्याएर अन्नपूर्ण हिमतालको विस्तृत अध्ययन गराओस् ।”
हिमताल संवेदनशील विषय भएकाले नियमित अनुगमन, जलप्रवाह मापन र तापक्रम रेकर्ड राख्न स्थानीय, प्रदेश र संघीय सरकारको ध्यान पुग्न आवश्यक छ । सामुदायिक सहभागितामा पर्यापर्यटन सञ्चालन गरेका पर्यटनकर्मी चित्रबहादुर तिलिजा भन्छन्, “हिमताल हेर्ने दृष्टिकोलाई सबैले बदल्न आवश्यक छ, यो केवल सौन्दर्य मात्र होइन, चेतावनी पनि हो ।”
यस हिमतालको अहिलेसम्म विस्तृत भौगोलिक जोखिम मूल्यांकन अध्ययन भएको छैन । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार र उपाध्यक्ष दिवाकुमारी तिलिजा तालको विस्तृत अध्ययन गर्ने कुनै प्रविधि, प्राविधिक ज्ञान, सीप र जनशक्ति पालिकासँग नभएकाले आफूहरूले आवश्यक प्रयत्न गर्ने बताउँछन् ।
यो सामग्री पुन: प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो पुन:प्रकाशन नीति अनुसार प्रकाशन गर्नुहोस् । पुन:प्रकाशन निर्देशिका यहाँ छ ।


