गत भदौमा भएको जेन—जी आन्दोलनका क्रममा जेलबाट कैदीबन्दी भागेका र प्रहरी कार्यालयबाट हतियारसमेत लुटिएकाले केही भइहाल्ने हो कि भन्ने डर नागरिकमा छ।
भदौ अन्तिमतिर परासीबाट आफ्नो घर पोखरा आउँदै थिइन् नबिना गौतम । परासी—पोखरा ओहोरदोहोर गरिरहने नबिनालाई यसपटकको यात्रामा भने सुरुदेखि नै डर लागिरहेको थियो । बसमा सिट छेउमै एक जना शरीरमा चोट लागेका ज्याङ्गो मान्छे परे । उनको साथमा जेब्रा झोला पनि थियो । यात्रामा हरेकलाई शंकाको नजरले हेरिरहेकी नबिनाको मन झनै
आत्तियो । “मलाई त्यो बस छाडेर, कतै लुकेर बस्न मन लागेको थियो,” उनले त्यो दिनको अनुभव सुनाइन् ।
नबिनाको त्यो डरको कारण अरू केही नभएर जेन—जी आन्दोलनका क्रममा भदौ २४ गते भएको घटना हो । सुशासनको मागसँगै भएको आन्दोलनका क्रममा भदौ २३ गते काठमाडौंको संसद् भवनमा सुरक्षाकर्मीको गोली लागेर युवाहरूको मृत्यु भएपछि त्यसको भोलिपल्ट देशका धेरै ठाउँमा हिंसात्मक प्रदर्शन भएको थियो ।
त्यो प्रदर्शनका बेलामा नबिना परिवारबाट भन्दा टाढा परासीमा थिइन् । उनी बसेको ठाउँ नजिकै कारागार थियो । उनले परासीको कारागारबाट जेब्रा झोला बोकेर धमाधम निस्किएका कैदीबन्दी देखेकी थिइन् । बसमा त्यो दृश्य सम्झेर जेब्रा झोला र त्यो झोला बोकेको ज्याङ्गो मान्छेसँग डर लागेको उनले सुनाइन् ।
“म सुनवल थिएँ, आन्दोलनको बेला, त्यहाँ नजिकै परासी कारागार थियो, कति धेरै कैदीहरू निस्केका थिए, लाइन नै लगाएर,” उनले सुनाइनन् “त्यो बेला राति सुत्न पनि एकदम डर भयो ।”
यो दृश्य देखेको ६ दिनपछि पोखरा फर्किँदा त्रास भोगेकी उनी भदौ २४ गतेको घटनाले मनमस्तिष्कमा गहिरो असर परेको बताउँछिन् । “अहिले पनि बाटोमा जेब्रा झोला बोकेर हिँडेको मान्छे देख्दा डर लाग्छ,” सार्वजनिक स्थलमा यात्रा गर्दा कोही मान्छेलाई विश्वास गर्नसमेत नसकेको अनुभव उनीसित छ ।
पोखरा फर्किएर दसैंतिहारजस्ता चाडबाड मनाएपछि पनि उनको डर मेटिएको छैन । सुरक्षित रूपमा हिँडडुल गर्ने वातावरण अझै नबनेको उनको अनुभव छ ।
“पोखरामा पहिला राति हिँड्दा डर हुन्थेन, आजकल साँझसम्म घर आइपुग्नुपर्छ,” उनी भन्छिन्, “कोही आउँछ भन्ने टाइपको डर पसेको छ मनमा ।”
आन्दोलनका क्रममा जेलबाट कैदीबन्दी भागेका र प्रहरी कार्यालयबाट हतियारसमेत लुटिएकाले केही भइहाल्ने हो कि भन्ने डर रहेको उनी बताउँछिन् । कारागार व्यवस्थापन विभाग सूचना अधिकारी बालकृष्ण कटवालका अनुसार जेन—जी आन्दोलनपछि देशभरका २८ वटा कारागारबाट १४ हजार ५५५ कैदी फरार भएका थिए । विभागले असोज ३०, २०८२ मा सार्वजनिक गरेको विवरणअनुसार अझै पनि ५ हजार १४९ जना कैदी फरार छन् ।
देशमा सुशासनको माग राखेर भदौ २३ गते जेन—जीको आह्वानमा भएको प्रदर्शनलाई पोखराका राम (परिवर्तित नाम) ले पनि समर्थन गरेका थिए । त्यसैले २४ गते उनी प्रदर्शन गरिरहेकाहरूलाई पानी खुवाउने सोचेर साथीहरूसँगै घरबाट निस्किएका थिए ।
घरबाट न्युरोड हुँदै बगर चौकी पुग्दा उनले प्रहरी प्रशासन सबै बेहाल देखे । उनकै आँखा अगाडि प्रदर्शनकारीले प्रहरी चौकीमा पसेर हतियार लुटे ।
रामको समूहले हतियार लुटेर हिँडेका व्यक्तिलाई पछ्याए र ८ वटा हतियार र केही गोली फिर्ता गर्न सफल भए । “लुटपाट भएको ८ वटा हतियार त फिर्ता लिएर आयौँ, हरिचोकमा भेटियो,” उनी त्यो दिनलाई बिर्सनै सक्दैनन्, “हरिचोकमा हतियार र गोली लिएर हिँडेका समातेर ल्याएको हो, कति त भागे, बेहाल थियो त्यतिबेला ।”
लुटिएको हतियार प्रदर्शनकारीसँगै बोकेर आएका कारण कसैले फोटो खिचेर हतियार लुटेरा भन्दै सामाजिक सञ्जालमा हालिदेलान् कि भन्ने डर उनलाई अहिले पनि छ । “त्यहाँ देख्ने कतिपय पुलिसले सकारात्मक र नकारात्मक दुवै रूपमा लिएको छ,” राम भन्छन् ।
नेपाली सेनाका अनुसार जेन—जी आन्दोलनका क्रममा ३०७ वटा प्रहरी चौकीमा तोडफोड र आगजनी भयो । त्यसैक्रममा प्रहरी चौकीमा प्रवेश गरेका प्रदर्शनकारीले हतियार पनि लुटेर हिँडे ।
लुटेको हतियार देखाउँदै तस्बिर तथा भिडियो खिचे र सामाजिक सञ्जालमा राखे । नेपाल प्रहरीले तिनै तस्बिर तथा भिडियोका आधारमा आरोपीहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
काठमाडौंको महाराजगन्जको प्रहरी वृत्तका प्रहरीको हत्या, आगजनी तथा लुटपाट गरेको आरोपमा पक्राउ परेका टीकाराम बिकले प्रहरीसँगको बयानमा भनेका छन्, “...भिडियो फुटेजमा देखिएको प्रहरीको हतियार (सर्ट गन) मसँगै उक्त दिन मोटरसाइकलमा चढी चक्रपथसहित अन्य विभिन्न क्षेत्रमा सँगै घुम्ने नाम थाहा नभएको व्यक्तिलाई दिई निजले तत्काल सैनिकलाई त्यो हतियार दिएको थाहा पाएँ ।”
उदयपुर घर भई ललितपुर बस्ने टीकारामसँगै सिन्धुपाल्चोक घर भई काठमाडौं बस्ने होमप्रसाद पौडेललाई पक्राउ गरी प्रहरीले जिल्ला अदालत काठमाडौंमा ज्यानसम्बन्धी कसुर र आपराधिक उपद्रव गर्न नहुनेसम्बन्धी कसुरको मुद्दा दर्ता गरेको छ ।
होमप्रसादले बयानमा भनेका छन्, “प्रहरी कार्यालयभित्र रहेका प्रहरी कर्मचारीहरूको ज्यानै लिने गरी कार्यालयको तलाबाट आगो लगाउनेसमेतको कार्य गरी कार्यालयभित्र रहेको प्रहरीको जिन्सी सामान, हातहतियार तथा सोको खरखजना, प्रहरीको ह्यान्ड सेट, लत्ताकपडासमेत भीडले चोरी गरी लिएर गएको हो ।”
जिल्ला प्रहरी परिसर, काठमाडौंले आन्दोलनका क्रममा लुटपाट भएको हतियार लुटपाट र किनबेच गरेको आरोपमा काठमाडौंको स्वयम्भूबाट ५ जनालाई पक्राउ गरेर कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंबाट ६ दिन थुनामा राख्ने अनुमति लिएको छ ।
होमप्रसाद र टीकारामको बयानका साथै हतियार किनबेचको आरोपमा मानिस पक्राउ पर्नुले जेन—जी आन्दोनलका क्रममा भदौ २४ गते लुटिएका सुरक्षाकर्मीका हतियार जोकोहीको हातमा पुगेको बुझ्न सकिन्छ । जिम्मेवार नागरिकले हतियार बुझाए पनि आपराधिक मानसिकता भएका व्यक्तिहरूले ती हतियार दुरुपयोग गर्ने खतरा कायमै छ ।
आन्दोलनमा के कति हतियार लुटिए भन्ने यकिन तथ्यांक अहिलेसम्म पनि पाइँदैन । हामीले आन्दोलनमा हराएका हतियारका बारेमा नेपाल प्रहरीमा जानकारी मागेका थियौँ । असोज २३ गते प्रहरीले हराएका र चोरिएका हतियारहरूको विवरण सम्बन्धमा समिति गठन भइ विवरण संकलन भइरहेको र उक्त समितिको प्रतिवेदन पश्चात मात्र आधिकारिक तथ्यांक उपलब्ध गराउने जानकारी हामीलाई इमेलमार्फत दिएको थियो । कात्तिक १६ गते हामीले फेरि जानकारी माग्दा प्रहरीले हालसम्म पनि प्रतिवेदन तयार नभएको जवाफ दिएको छ ।
निमिजिनले प्रहरी स्रोतबाट पाएको जानकारीअनुसार देशरभबाट १ हजार १ सय ९० थान राइफल हराएका छन् ।
यस्तै ६ सय ४८ वटा पेस्तोल र रिभल्बर ३३ थान एएएमजीसहित अन्य ट्रेडिसनल हतियार ५८ थान लुटपाट र आगजनीमा परेका छन् । यस्तै ६ सय ८८ ग्यास गन, ३ सय ४४ थान सर्ट–गन, विविध प्रकारका सर्ट–गन ३ सय २८, फोल्डिङ र ननफोल्डिङ सर्ट–गन १५ थान र १२ बोर सर्टगन १ थान हराएको छ ।
फरार कैदीबन्दी र हतियार फिर्ता गर्ने अभियानमा प्रहरी
अरू सामान्य दिनमा जस्तै भदौ २४ मा आफ्नो काममा थिए शंकर सैंजू । न्यूरोडमा रहेको पोखरा महानगरको भवन जलाएपछि सहिद चोकमा रहेको जिल्ला प्रशासन कार्यालयतिर मोडिएका थिए प्रदर्शनकारी । कानुन व्यवसायी शंकरको कार्यालय त्यतै छ ।
आफ्नै कार्यालय वरपरको माहोल जताततै अशान्त बनेपछि उनी घर फर्किए बिन्दावासिनी । बगर चौकीबाट ५ मिनेटको दूरीमा छ उनको घर । उनी घर पुग्दा लुटिएका हतियार देखाउँदै बाइक पड्काउँदै उनको आँगनबाट प्रदर्शनकारीको एउटा समूह हिँड्यो ।
“डेढ सय जति बाइकमा अगाडि बन्दुक लिएर हिँडेका थिए, मेरो घरको अगाडि बाइकमा बन्दुक देखाउँदै गएका थिए,” शंकर सम्झन्छन् ।
त्यो देखेपछि उनले घरको गेटमा मोटो ताल्चा लगाएका थिए । कसैले घरभित्र छिर्न खोजेमा रोक्ने तयारी गरेको उनी बताउँछन् ।अधिवक्तासमेत रहेका शंकर लुटिएका हतियार फिर्ता गरेर सरकारले शान्ति सुरक्षाको प्रत्याभूति गर्नुपर्नेमा जोड दिन्छन् ।
प्रहरीले पनि जेलबाट भागेका कैदीबन्दी र लुटिएका हतियारको खोजीलाई तीव्रता दिएको दाबी गरेको छ ।
फरार कैदीबन्दी र हतियार फिर्ता ल्याउन प्रहरीले आवश्यक रणनीति लिएको नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले बताए । “यसलाई हामीले गम्भीर रूपमा लिएका छौँ, सबभन्दा पहिला शान्ति सुरक्षा कायम गर्नका लागि लुटिएका हतियार र फरार कैदीलाई नियन्त्रणमा लिनुपर्छ,” उनी भन्छन्, “यसका लागि हामीले आवश्यक रणनीति बनाएर काठमाडौं उपत्यकालगायत सातै प्रदेशमा टोली परिचालन गरिरहेका छौँ,” प्रवक्ता घिमिरेले भने ।
कानुनी कारबाहीलाई दिनुपर्छ तीव्रता
भदौ २४ धादिङको गल्छीका सागर रिमाल भाउजूलाई दिन करिब २ घण्टाको दूरीमा रहेको त्रिभुवन अन्तर्राष्ट्रि«य विमानस्थल पुगेका थिए । तर उनी विमानस्थल पुग्दा उडान र अवतरण प्रभावित भइसकेको थियो । पछि विमानस्थल नै बन्द भएकाले भाउजूको उडान रोकिएपछि गल्छी फर्किँदा उनले बाटोमा धेरै परिवर्तन देखे । उनले बिहान विमानस्थल जाँदा देखेको शान्त सडक बेलुकी फर्कने बेलामा युद्धभूमिजस्तै भइसकेको थियो । आकाशमा मडारिएको कालो धूवाँ, तोडफोड र कोलाहलले अत्यासलाग्दो बनाएको उनी बताउँछन् ।
बेलुकी घर फर्केर सामाजिक सञ्जाल हेर्दा उनले कारागारबाट कैदीहरू भागेको, प्रहरीको हतियार लुटिएको खबर सुने । हतियार लुटेर प्रहरीलाई लखेटेको भिडियो देखेपछि त उनी झनै आँत्तिए । भन्छन्, “भाग्यले सकुशल घर आइपुगेछु भन्ने लाग्यो ।”
आन्दोलनका क्रममा जलेका संरचनाले भन्दा सागरलाई कारागारबाट भागेका कैदी र लुटिएका हतियारको डरले अत्याउन थाल्यो । त्यसपछि उनीसहित टोलका युवाले मिलेर बस्तीको सुरक्षा दिने निर्णय गरे । “हतियार लुटेकाहरू र भागेका कैदीहरू कहाँ कतिखेर आउँछन् भन्ने थाहा हुँदैन भनेर हामी गाउँका मजस्तै युवा साथीहरू मिलेर आफ्नो घरवरिपरिको सुरक्षामा लाग्यौँ,” सागर भन्छन् ।
आन्दोलनपछि सुरक्षाको हिसाबले आफूलाई धेरै चिन्ता लागेको उनी बताउँछन् । “बाबा बित्दा जस्तो फिल भएको थियो, त्यस्तै भएको छ,” सागरले भने ।
नेपाल प्रहरीका पूर्व डीआईजी उत्तम कार्की प्रहरीले हतियार गुमाउनु नै कमजोरी भएको र त्यसको असरर सबैततिर देखिएका बताउँछन् । फिल्डबाट ‘विथड्रल’ हुँदा ‘लाउड भ्वाइस’ मा गर्नु नहुने उनले सुनाए ।
जेन—जी आन्दोलनका क्रममा भदौ २४ गते प्रहरीलाई वायरलेस सेटबाट ‘विथड्रल’ को निर्देशन दिइएको र त्यो नै गलत भएको उनी बताउँछन् । “मलाई के लाग्छ भने पहिला जुन ‘विथड्रलको अर्डर’ दियो नि ‘वायरलेस सेट’ बाट त्यो गलत भयो,” पूर्व डीआईजी उत्तम भन्छन्, “त्यसो नभईकन ‘तपाईँहरूको आफ्नो कार्यालय सुरक्षित राख्नुस्, आफू सुरक्षित हुनुस्’ भनेर अन्य कुनै माध्यमबाट भनेको भए यो अवस्था आउँदैन थियो होला ।”
आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनकारीले प्रहरी कार्यालयमा आगजनी गरेर लुटपाट मच्चाए । ड्युटीमा खटिएका प्रहरीमाथि नै आक्रमण भयो । तीन जना प्रहरीको ज्यान गयो भने २ हजार जना प्रहरी घाइत भए । अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका अभियुक्त मात्र होइन, अदालतबाट दोषी ठहर भएकाहरूसमेत जेलबाट बाहिर निस्किए ।
जेलभित्रका कैदी समाजमा निस्कँदा सुरक्षा चुनौती थपिनु स्वाभाविक रहेको सुनाउँछन् उत्तम । “अब स्वाभाविक रूपले बारमा रहेका अपराधी समाजमा आए, सुरक्षाकर्मीहरूको नै हत्या भएपछि सुरक्षा चुनौती पक्कै पनि बढ्छ,” उनी भन्छन् ।
यस्तो स्थितिमा सर्वसाधारणलाई सुरक्षित महसुस गराउन कानुनी कारबाहीमा अगाडि बढ्नुपर्ने उनको सुझाव छ । “कैदी पक्राउ गर्ने, हातहतियार लुट्ने, आगजनी गर्नेलाई कारबाही गर्दै गएपछि जेलबाट भागेका आपराधिक तत्त्वहरू डराउँदै जान्छन् र समाजको पुलिसप्रति भरोसा बढ्दै जान्छ,” पूर्व डीआईजी उत्तम भन्छन् ।
राजनीतिक गतिविधि र क्रान्तिहरू ‘भाइब्रेन्ट मुड’ मा भइरहनु सामान्य रहेको बताउँदै उनले अब सुरक्षा समाधानतर्फ लाग्नुपर्नेमा जोड दिए । मुलुक गतिशील भइरहन ‘रुल अफ ल’ महत्त्वपूर्ण रहेको उनले सुनाए ।
डरले निम्त्याउँछ स्वास्थ्यमै समस्या
पोखराकी रेश्मा श्रेष्ठलाई सानो आवाजले पनि मन अशान्त बनाउँछ । थोरै होहल्ला हुनेबित्तिकै फेरि कतै केही भयो कि भन्ने डर लाग्ने गरेको उनी सुनाउँछिन् । “भिडियोहरू कस्तो डरलाग्दो आयो नि ! त्यही भिडियो हेर्दा मान्छे ‘ट्र«मटाइज’ हुने, अलिकति डर के बाहिर निस्कँदा पनि सेफ फिलचाहिँ नहुने,” उनी भन्छिन्, “अझै पनि केही छ्यास्सछुस्स हुनेबित्तिकै त्यही याद आउने । झगडा भयो कि भन्ने हुने । कतै हल्ला बढी भयो भने डर लाग्ने ।”
जेन—जी आन्दोलनपछि मानिसमा देखिएका असरका बारेमा कुनै अध्ययन भएको पाइँदैन । तर डर त्रासले समस्या भएको भनेर अस्पताल पुग्ने बिरामी भने बढेका छन् । एन्जाइटीको समस्या लिएर आउने बिरामी केही हदसम्म बढेको मनोचिकित्सक डा. लिपा वैद्य बताउँछिन् । “अस्तिको आन्दोलनमा जुन भिडियोहरू भाइरल भए, त्यसपछि कैदीहरू भागेका कारण पनि घरमा केही हुन्छ कि भन्ने एउटा डर भयो,” उनी भन्छिन्, “त्यसको कारणले गर्दा एन्जाइटीको लक्षण लिएर आइरहेका छन् ।”
धेरै डर र त्रास मानिरहँदा एन्जाइटी हुने खतरा धेरै रहेको डा. लिपा बताउँछिन् । सामाजिक सञ्जालमा आएका हिंसात्मक भिडियोले पनि मन आत्तिने समस्या भएर बिरामी आइरहेको उनले सुनाइन् ।
हिंसात्मक वा आफूलाई मानिसक रूपमा असहज बनाउने भिडियोबाट टाढा रहन सुझाव दिन्छिन् डा. लिपा । उनले भनिन्, “समयमा सुत्ने, समयमा खाने, व्यायाम गर्ने र एकदम गाह्रो भयो भने मेडिकल सहायता लिने ।”
जेनजी आन्दोलनबारेका थप स्टोरी
ट्रमा सेन्टरमा रहेका जेन–जी आन्दोलनका घाइते के चाहन्छन् ?
भ्रष्टाचारको भारी मूल्य: ऐतिहासिक धरोहर बन्यो खरानी
जेन–जी आन्दोलनमा लुम्बिनी प्रदेशमा के–के भयो ?
कभर तस्बिर - जेन—जी आन्दोलनका क्रममा काठमाडौंको नयाँ बानेश्वरमा सुरक्षाकर्मीबाट लुटेको हतियार प्रदर्शन गर्दै प्रदर्शनकारी । तस्बिर : रजनीश भण्डारी/निमजिन
यो सामग्री पुन: प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो पुन:प्रकाशन नीति अनुसार प्रकाशन गर्नुहोस् । पुन:प्रकाशन निर्देशिका यहाँ छ ।


