Navigation
अनलाइन बेटिङको जालो, युवा पुस्तामा डरलाग्दो लत Daya Dudraj Oct 16, 2025

कानुनले दण्ड सजायको व्यवस्था गरे पनि पछिल्लो समय धेरै युवाहरू अनलाइन जुवामा फसेका छन् । पछिल्लो पाँच वर्षमा अनलाइन जुवा खेलाएको अरोपमा प्रहरीले १ सय २७ जनालाई पक्राउ गरेको छ । उनीहरू बेटिङ कम्पनीका एजेन्ट रहेका प्रहरीले जनाएको छ । 

काभ्रेका युनिक श्रेष्ठ (२४) गत असार ३ मा चितवनको कुरिनटारस्थित बाह्रसिंगे रिसोर्टमा रमाइलो गरिरहेका थिए । तर, भोलिपल्ट बिहानै उनलाई इलाका प्रहरी कार्यालयले मुग्लिनले पक्राउ गर्‍यो । उनी पक्राउ पर्नुको कारण हो— अनलाइन बेटिङ । features-1719398032.png

युनिकले ५ वर्षदेखि वानएक्स बेटमा बेटिङ गर्दै आएका थिए । “मैले १२ कक्षाको परीक्षा दिएर घरमा नै बसिरहेको अवस्थामा मोबाइलमा फेसबुक चलाउने क्रममा बारम्बार वानएक्स बेटको प्रचार आयो,” प्रहरीसँगको बयानमा युनिकले भनेका छन्, “पैसा डबल हुने लोभले वानएक्स बेटमा बेटिङ गर्दै आएको हुँ ।”

मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ ले जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने व्यवस्था गरेको छ । यो ऐनअनुसार जुवा भन्नाले कुनै संयोगका आधारमा कुनै किसिमको चल वा अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने वा हार्ने वा जित्ने गरी बाजी थापी खेल्ने कुनै किसिमको खेल वा प्रक्रिया सम्झनुपर्छ र सो शब्दले आफूले जुवा नखेली अरूको हार वा जितमा आफूले कुनै चल अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी थापेको बाजी वा च्याँखेलाई समेत जनाउँछ ।

ऐनले पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई ३ महिनासम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना र जुवाबाट प्राप्त चलअचल सम्पत्ति जफत हुने व्यवस्था गरेको छ । दोस्रो पटक जुवा खेल्ने खेलाउनेलाई १ वर्ष कैद र ५० हजार जरिवाना र त्यसपछिको कसुरमा पटकैपिच्छे थप ३ महिनासम्म कैद र १० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ । 

कानुनले दण्ड सजायको व्यवस्था गरे पनि पछिल्लो समय धेरै युवाहरू अनलाइन जुवामा फसेका छन् । पछिल्लो पाँच वर्षमा अनलाइन जुवा खेलाएको अरोपमा प्रहरीले १ सय २७ जनालाई पक्राउ गरेको छ । उनीहरू बेटिङ कम्पनीका एजेन्ट रहेका प्रहरीले जनाएको छ । 

“नेपालको कानुनले अनलाइन जुवा खेल्न र खेलाउन वर्जित गरेको छ । तर, इजी मनीको लालसामा पछिल्लो समय धेरै युवाहरू अनलाइन जुवामा आकर्षित भएका छन्,” काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले भने, “यो नेपालमा गैरकानुनी हो भन्ने थाहा हुँदाहुँदै पनि खेल्छन्, त्यसैले त लाखौँ रकम डुबाए पनि उजुरी गर्ने आँट गर्दैनन् ।”

पक्राउ परेका युनिकले नै ५ वर्षदेखि बेटिङ गर्दै आएका थिए । कहिले जित्थे, कहिले हार्थे । तर, पछिल्लो समय उनले लगातार पैसा हारे । हारेको पैसा उठाउने लालसाले बाबुको पैसा पनि बेटिङमा लगानी गरे । 

“बुबाले सञ्चालन गरेको कम्पनी मैले नै हेर्दै आएको थिएँ, कम्पनीबाट आएको आम्दानी र किस्ताको रकमहरू पनि बेटिङमा हालेँ,” प्रहरीसँगको बयानमा युनिकले भने, “मैले तिर्नुपर्ने बैंकमा किस्ता रकम ७० लाख रुपैयाँ बाँकी भइसकेको थियो ।”

उनले आफ्नो कमाइसँगै, बुबाको कम्पनीको आम्दानी र बैंकको किस्ताको रकमसमेत बेटिङमा डुबाएको भए पनि त्यसबारे घरमा कसैलाई थाहा थिएन । निमजिनले प्राप्त गरेको प्रहरी प्रतिवेदन अनुसार युनिकको वानएक्स बेटको एपमा १ करोड ८ लाख ११ हजार १३ रुपैयाँ ४३ पैसाको कारोबार भएको देखिएको छ । 

बेटिङ गर्नेहरू रिसोर्टमा छन् भन्ने सूचना पाएपछि प्रहरीले अनुसन्धानका लागि उनलाई पक्राउ गरेको थियो । “अनुसन्धानका क्रममा हामीले उहाँलाई वानएक्स बेट चलाउनुहुन्छ भनेर सोध्दा स्विकार्नुभयो, त्यसपछि हामीले उहाँलाई पक्राउ गरेका हौँ,” इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले भने, “बाबुले किस्ता तिर्न दिएको पैसा पनि डुबाएपछि आत्माहत्या गर्ने योजनामा हुनुहुँदो रहेछ ।” 

युनिकजस्तै अनलाइन जुवामा लाखौँ डुबाउने युवा हुन्— धीरज (परिवर्तित नाम) । नवलपरासीको एउटा सामान्य परिवारमा जन्मिएका धीरजले २०२१ मा इलेक्ट्रोनिक्स इन्जिनियरमा डिप्लोमा सकेका थिए । डिप्लोमा सकेका उनलाई जागिरको चिन्ता थिएन । देशकै चर्चित कम्पनीमा जागिर खाएर जम्मा गरेका पैसा उनले बेटिङमा लगानी गर्न थाले । “आफ्नो खर्च कटाएर जोगाएको पैसा बचत गर्ने गरेको थिएँ, त्यही पैसा कतै लगानी गर्नुपर्‍यो भनेर मार्ग खोज्न थालेँ,” धीरजले भने, “अनलाइन बेटिङ साइट (मेटाबेट) को विज्ञापन देखेँ र त्यसमा क्लिक गरेँ । त्यो एक क्लिकले मेरो जीवनको मोड बदलियो ।” 

सुरुमा सानो रकममा बेटिङ सुरु गरेका धीरजले समयसँगै पैसा बढाउँदै गए । कहिले जित्ने कहिले हार्ने गरेका धीरज विस्तारै बेटिङको लतमा फस्न थालिसकेका थिए । “सुरु सुरुमा थोरै लगानी गरेको थिएँ, आम्दानी पनि हुन्थ्यो । सजिलै पैसा कमाइ हुने भएपछि मेरो बढी ध्यान त्यतै हुन थाल्यो । लगभग धेरै समय म बेटिङ नै गर्थेँ,” धीरजले भने, “धेरै आउँछ कि भन्ने लोभमा धेरै पैसा लगानी गर्दै गएँ तर सोचेजस्तो भएन । पैसा डुब्दै गयो । मैले ऋण लिँदै लगानी गर्न थालेँ ।” 

धीरजले बेटिङकै लागि आफन्त र नातागोतासँग पैसा लिए । तर, सबै पैसा हारे । उनको नाममा अहिले ३६ लाख रुपैयाँ ऋण छ । “घर जान सक्ने अवस्था छैन, मेरो परिवारसँगको सम्बन्ध पनि राम्रो छैन, विदेश जान पनि कसैले पत्याउँदैन,” धीरज निराश हुन्छन्, “के गर्ने कसो गर्ने केही मेसो छैन, प्रहरीकहाँ उजुरी दिन पनि जान सकेको छैन ।”

कसरी फस्छन् बेटिङको लतमा ?

“सुरुमा स–सानो रकममा जित हुन्छ, सजिलै पैसा आउने भएपछि त्यसमा खेल्न प्रोत्साहित हुनु स्वाभाविक हो,” अपराध महाशाखाका एसपी आचार्य भन्छन्, “विस्तारै पैसा डुब्दै गएपछि त्यही पैसा फिर्ता ल्याउने लालसामा थप पैसा डुबाएको पत्तो हुँदैन ।”

वानएक्स बेटमा बेटिङ गर्दै आएका सोलुखुम्बुका हिम्मत (परिवर्तित नाम) पनि फसेको पैसा फिर्ता ल्याउने लोभका कारण लतमा फस्ने स्विकार्छन् । “खाएर १० औँ हजार सकिँदा केही फरक पर्दैन तर बेटिङमा १ हजार मात्रै लस (हार्‍यो) भयो भने पनि धेरै पिरोल्छ,” उनले भने, “गुमाएको त्यो एक हजार कमाउनको लागि जे गर्न परे पनि तयार हुन्छन् र त्यो फिर्ता ल्याउने लालसामा लाखाँै गुमेको थाहै हुँदैन ।” 

पैसा गुमे पनि गुमोस् भनेर छाडेपछि पनि एजेन्टहरूले फोन गरेर विभिन्न आश्वासन दिएपछि खेल्न बाध्य हुने हिम्मत बताउँछन् । “सुरुमा त आफ्नै पैसा फिर्ता गर्नुपर्ने दबाब हुन्छ, पैसाको माया मारे पनि उनीहरूले विभिन्न आश्वासन देखाएर लगानी गर्न प्रेरित गर्छन्,” उनी भन्छन्, “कहिले पैसा डबल बनाउने भन्छन्, कहिले केटीलाई फोन गर्न लगाएर लगानी गर्न लगाउँछन् ।” बेटिङ छाडेर बस्दा पनि फोन र म्यासेज गरेर हैरान गर्ने गरेको उनी बताउँछन् । 

बेटिङमा हुने कारोबारका आधारमा कमिसन पाउने हुँदा एजेन्टहरूले धेरैभन्दा धेरैलाई बेटिङमा आकर्षित गर्छन् । उनीहरू सुरुमा सामाजिक सञ्जालमा विभिन्न आकर्षक विज्ञापनहरू गर्छन् । विज्ञापनका लागि सेलिब्रेटीहरूलाई पनि प्रयोग गरिन्छ । विज्ञापनबाट आकर्षित भएर सम्पर्कमा आएकाहरूलाई ‘पैसा डबल बनाउने’, ‘थोरै पैसा धेरै आम्दानी हुने’ भनेर विभिन्न आश्वासन देखाइन्छ । 

ह्वाट्सएपमार्फत सम्पर्कमा आएका बेटिङ साइट वुल्फ त्रिपल सेभेनका एक एजेन्ट (नाम उल्लेख गर्न नचाहने) का अनुसार खेल्न रुचि देखाउनेहरूलाई सुरुमा आईडी बनाइदिएरै खेल्न सिकाइन्छ । 

वुल्फ त्रिपल सेभेन नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रायोजक हो । त्यसैलाई आधार बनाएर एजेन्टहरूले वुल्फ त्रिपल सेभेन गैरकानुनी नभएको दाबी गर्छन् । “वुल्फ त्रिपल सेभेनको विज्ञापन एनपीएलमा देख्नुभएन ?, हाम्रो साइट लिगल हो,” ती एजेन्टले भने, “तपाईँले ढुक्क भएर खेल्दा हुन्छ, हाम्रो अफिस छन् नेपालमा पनि ।”

तर उनले अफिसको ठेगाना भने बताउन अस्वीकार गरे । उनले आफूहरू मासिक तलब पाउने कर्मचारी भएको दाबी पनि गरे । “अरू बेटिङ साइटहरूले मान्छे बनाएर पैसा उठाएअनुसार पे गर्छन्, हाम्रोमा त्यस्तो छैन,” उनले भने । 

खेल्न चाहनेहरूले आफूहरूले दिएको खातामा रकम जम्मा गरेपछि खेल्न पाउने उनले बताए । “सुरुमा हामी उहाँहरूलाई आईडी बनाउन लगाउँछौँ र खेल्न सिकाउँछौँ,” ती एजेन्टले भने, “सुरुमा हामी उहाँहरूलाई एउटा खातामा पैसा जम्मा गर्न लगाउँछौँ, खातामा पैसा जम्मा भइसकेपछि उहाँहरूको आईडी (वालेट) मा पोइन्ट देखिन्छ । सोही पोइन्टका आधारमा बेटिङ गर्न पाइन्छ ।”

बेटिङमार्फत कसरी बाहिरिन्छ पैसा ?

बेटिङ वालेटमा पोइन्ट किन्नका लागि बेटिङ गर्नेहरूले एजेन्टलाई पैसा पठाउने र त्यो रकम विदेश जाने उपत्यका अपराध अनुसन्धान महाशाखाका अनुसन्धान अधिकारी अर्जुन खड्काले बताए ।

उनका अनुसार नेपालमा इन्टरनेसनल र लोकल गरी दुईखाले बेटिङ साइट सञ्चालनमा छन् । इन्टरनेसनल साइटमा बेटिङ गर्नेहरूको धेरैजसो रकम बाहिरिन्छ ।

“वानएक्स बेट, वुल्फ त्रिपल सेभेनलगायतका साइट इन्टरनेसनल बेटिङ साइट हुन् । मेटाबेट, स्काई एक्सचेन्ज, माजाबेटलगायतका लोकल साइटहरू हुन्,” अर्जुनले भने, “लोकल साइटबाट भन्दा धेरै इन्टरनेसनल साइटबाट धेरै पैसा बाहिरिन्छ ।” 

इन्टरनेसनल बेटिङ साइटमा बेटिङ गर्ने व्यक्तिले सिधै लगानी गर्न सक्दैन । त्यसका लागि एजेन्ट बनाइएको हुन्छ । “हामीले सिधै बेटिङ वालेटमा पैसा लोड गर्न मिल्दैन,” वानएक्स बेट खेल्ने हिम्मतले भने, “पहिले एजेन्टहरूले पठाएको बैंक खाता वा वालेटमा पैसा पठाउनुपर्छ ।” 

त्यो पैसा एजेन्टहरूले देशबाहिर पठाउँछन । एजेन्टहरू एक जना मात्रै हुँदैनन् । “एक जनाले उठाएको पैसा विभिन्न व्यक्तिहरूको खातामार्फत सीमा क्षेत्रमा पुर्‍याइन्छ,” अर्जुनले भने, “बोर्डरबाट बाहिर पुर्‍याउन त्यति गाह्रो छैन ।”

Devices-used-in-betting-NIMJN-1760598225.jpg
फागुन ५, २०८१ फागुनमा बूढानीलकण्ठबाट बरामद सामग्री । तस्बिर : नेपाल प्रहरी

उपत्यका अपराध अनुसन्धान महाशाखाका अनुसन्धान अधिकारी खड्काका अनुसार लोकल बेटिङ साइटहरू प्रायः भारतीय नागरिकले सञ्चालन गर्छन् । उनीहरू ती साइट सञ्चालनका लागि नेपालमै आएको समेत पाइएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंले बेटबर्टर र माजाप्ले बेटिङ साइट सञ्चालन गरेको आरोपमा फागुन ५, २०८१ फागुनमा बूढानीलकण्ठबाट ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो । पक्राउ परेका अभिशेष मदेसिया, इरफान पठान, आरिफ हुसेन र अब्दुल कलामले २ अर्ब नेपाली रुपैयाँभन्दा बढीको कारोवार गरेको खुलेको थियो । 

त्यही दिन बूढानीलकण्ठकै मानसरोवर कोलोनीबाट सुभास चौधरीसहित २४ जना भारतीय नागरिक पक्राउ परेका थिए । उनीहरूले स्काई एक्सचेन्ज बेटिङ साइट प्रयोग गरेर १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३ सय ४० रुपैयाँको कारोबार गरेका प्रहरीले दाबी गरेको छ । 

क्रिप्टोबाट पनि बाहिरिन्छ पैसा 

महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यका अनुसार बेटिङ खेलाउनेहरूले क्रिप्टोजस्ता अभौतिक मुद्रामार्फत पनि पैसाको कारोबार गर्ने गरेका छन् । “बेटिङमार्फत कमाएको पैसा उनीहरू अभौतिक (भर्चुअल) मुद्रामार्फत कारोबार गर्छन्,” एसपी काजीकुमारले भने, “वाइनान्स वा ट्रस्ट वालेटहरू बनाएर कारोबार गरेको पाइएको छ । अभौतिक मुद्रा नेपालमा अवैध हो ।”

माघ १३, २०८१ मा काठमाडौं सोह्रखुट्टेबाट राजप्रकाश श्रेष्ठ र हरिचन्द्र भुजेल पक्राउ परेका थिए । उनीहरूले बेटिङ साइट मन्त्र१०८एनपीमार्फत २ करोड २९ लाख ३६ हजार ६ सय ३६ रुपैयाँका कारोबार गरेका थिए । त्यो रकम उनीहरूले यूएसडीटी भनिने टिथर अभौतिक मुद्रा र विभिन्न व्यक्तिसँग किनेको बैंक खाताहरूमार्फत कारोबार गरेका थिए । बेटिङ तथा बैंकिङ ठग गर्नेहरूले सिधासादा व्यक्तिहरूलाई केही रकम दिएर बैंक खाता खोल्न लगाउने र त्यो खातामार्फत आफूले अनलाइन कारोबार गर्ने गरेको पाइन्छ । 

माघ २७, २०८१ म बूढानीलकण्ठबाट पक्राउ परेका २४ जनाको समूहले पनि नेपालबाट उठाएको रकम अभौतिक मुद्रामार्फत भारतीय खातामा पठाएका थिए । 

अभौतिक मुद्रा अर्थात् भर्चुअल करेन्सीको भौतिक अस्तित्व हुँदैन । तर, यो विनिमयको यस्तो एकाइ हो जसलाई इन्टरनेटका माध्यमबाट अनलाइनमार्फत प्रयोग गर्न सकिन्छ । भर्चुअल समाजभित्रको कारोबारमा इन्टरनेटका माध्यमबाट भुक्तानी गर्न सकिन्छ ।

नेपालमा अभौतिक मुद्रामार्फत कारोबार गर्नु कानुनविपरीत हो । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाएको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा २६२ को उपदफा १ मा चलनचल्तीमा रहेको मुद्रालाई चलनचल्तीमा ल्याउन रोक लगाउने गरी कानुनबमोजिम अधिकार प्राप्त अधिकारीको आदेश भएकोमा त्यस्तो आदेश प्रतिकूल हुने गरी त्यसरी रोक लगाइएको मुद्रा चलन चल्तीमा ल्याउन, लेनदेन गर्न वा राख्न हुँदैन भनिएको छ । 

जसअनुसार नेपालमा भर्चुअल मुद्राको उत्पादन, बिक्री, कारोबार, सटही वा स्थानान्तरण बन्देज भए पनि बेटिङ खेलाउनेहरूले अभौतिक मुद्रामार्फत कारोबार गरेर नेपालभित्रका पैसा बाहिर लगिरहेका छन् । “इन्टरनेसनल बेटिङ साइटहरूको कारोबार क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा) बाट हुन्छ, यहाँका एजेन्टहरू पनि त्यसैमार्फत कारोबार गर्छन्,” अपराध महाशाखाका अनुसन्धान अधिकारी अर्जुनले भने, “एजेन्टहरूले यता बेटिङ खेल्नेहरूसँग उठाएको पैसा क्रिप्टोमा बिक्री गरिन्छ ।”

रेमिट्यान्स पनि प्रभावित 

क्रिप्टोकरेन्सीले रेमिट्यान्समा पनि प्रभाव पारेको अनुसन्धान अधिकारी अर्जुन खड्का बताउँछन् । “क्रिप्टोको कारोबार गर्नेहरूबीच नेपालबाहिर पनि सम्पर्क हुन्छ, नेपाल भित्रिनुपर्ने पैसा उतै बस्छ र बेटिङमा लगानी गरिएको नेपाली पैसा रेमिट्यान्सबाट आएको भनेर यतै बस्छ,” उनले भने, “एजेन्टमार्फत अन्य देशबाट नेपालमा पैसा पठाइन्छ, तर त्यो पैसा नेपाल आएको भने हुँदैन, त्यहाँको एजेन्टले नेपालको क्रिप्टो कारोबार गर्ने एजेन्टसँग कुरा गरेर नेपालमा अनलाइन बेटिङबाट उठेको वा अनलाइन ठगी गरेको रकम रेमिट्यान्स पाउने परिवारलाई दिइन्छ ।”

उपत्यका अपराध अनुसन्धान महाशाखाका अनुसन्धान अधिकारी अर्जुनका अनुसार धेरै नेपालीहरू यसरी ठगी र बेटिङबाट उठाइएको पैसालाई रेमिट्यान्सबाट आएको पैसा भनिरहेका छन् । “हामीले अनुसन्धान गर्दै जाँदा छोराछोरीले विदेशबाट पठाएको पैसा भन्नुहुन्छ, तर त्यो बाहिरबाट पठाइएको भने हुँदैन, बरु नेपालमै कसैको स्क्याममा फसेको पैसा हुन्छ,” उनले भने, “बेटिङको पैसा कुन–कुन खातामा ट्रान्सफर भएको छ भनेर खोज्दै जाँदा सामान्य व्यक्तिहरूको खातामा ट्रान्सफर भएको पाइन्छ ।”

म्याग्दीका विजय गुरुङ (२४) यस्तै उदाहरण हुन् । कम्बोडियाको एउटा होटलमा काम गर्ने उनकी दिदीले हरेक महिनाजसो विजयको खातामा पैसा पठाउँथिन् । तर गत असारमा आएको पैसाले उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंमा पुर्‍याएको छ । त्यतिबेला उनकी दिदीले दिएको पैसा कम्बोडियामै राखेर त्यसको सट्टामा नेपालमै बसेर बेटिङ वा स्क्याम गर्नेले उनको खातामा पैसा हालिदिएको प्रहरीको दाबी छ । बेटिङको पैसाको कारोबार खोज्दै जाँदा विजयको खातामा गएको देखिएपछि प्रहरीले उनलाई अनुसन्धानका लागि बोलाएको थियो । 

अवैध भए पनि अभौतिक मुद्राको कारोबार बढेकाले कानुन कार्यान्वयनमा थप काम गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । “हामीले यो पहिले ने गैरकानुनी भनेर कानुनले परिभाषित गरिसकेका छौँ, यसलाई कार्यान्वयनमा थप काम गर्नपर्ने देखिन्छ,” राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले भने, “प्रहरीहरूले पछिल्लो समय यस्ता कारोबार गर्नेहरूलाई पक्राउ गरिराख्नुभएको छ, पक्कै नियन्त्रित होला ।”

यो पनि पढ्नुहोस् - साइबर सुरक्षा फितलो, संवेदनशील डेटा जोखिममा

यो सामग्री पुन: प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो पुन:प्रकाशन नीति अनुसार प्रकाशन गर्नुहोस् । पुन:प्रकाशन निर्देशिका यहाँ छ ।

Comments