Navigation
जेन–जी आन्दोलनमा लुम्बिनी प्रदेशमा के–के भयो ? Ranjita Adhikari Oct 09, 2025

जेनजी आन्दोलनबारे हाम्रो पहिलो स्टोरी - भ्रष्टाचारको भारी मूल्य: ऐतिहासिक धरोहर बन्यो खरानी

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशमा प्रदेश प्रमुखको कार्यालयसहित स्थानीय तहका प्रशासनिक भवन, वडा कार्यालय, अदालत, मालपोत, यातायात व्यवस्था कार्यालय, आन्तरिक राजस्व कार्यालय र इलाका प्रशासन कार्यालयमा तोडफोड र आगजनी भयो । प्रहरी कार्यालयहरू पनि सुरक्षित रहेनन् । तर भालुवाङमा रहेको प्रदेश राजधानी भने जोगियो । प्रदेश राजधानीको संरचना जोगाउन भालुवाङका बासिन्दाले पहल गरेका हुन् ।

... ...

भ्रष्टाचारको अन्त्य र सुशासनको माग राखेर जेनजी समूहले गरेको प्रदर्शनको एक महिना पूरा भएको छ । ७६ जनाको ज्यान जाने गरी भएको प्रदर्शनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन गर्दै फागुन २१, २०८२ मा प्रतिनिधिसभा चुनाव गराउने घोषणा गरेका छन् । जसअनुसार निर्वाचन आयोगले निर्वाचन क्यालेन्डर सार्वजनिक गरेको छ । features-1719398032.png

तर, प्रधानमन्त्री कार्कीले जेन–जीका प्रतिनिधिलाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्न सकेकी छैनन् । जेन–जीका फरक–फरक समूहले फरक–फरक माग राखेर सरकारलाई दबाब पनि दिइरहेका छन् । 

भदौ २३ मा युवा विद्यार्थीको प्रदर्शनमा गोली चलाउने आदेश दिएको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाललगायतलाई तत्काल पक्राउ गर्नुपर्ने माग जेन–जीको छ । 

जेन–जीका तर्फबाट तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न उजुरी परेपछि त्यसको काउन्टरमा नेकपा एमालेनिकट युवा तथा विद्यार्थीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, हामी नेपालका सुदन गुरुङलाई पक्राउ गर्न माग गरेका छन् ।

उनीहरूले प्रहरीमा बुझाएको जाहेरीमा मेयर बालेन र सुदनले भीडलाई उक्साउने र आपराधिक उपद्र गर्ने गरी गैरकानुनी कार्य गरेकाले मुलुकी फौजदार संहिता, २०७४ को दफा १७७, १७८, २४४ र २८५(२) को उपदफा (क) बमोजिम कारबाहीको माग गरिएको छ ।

प्रहरीले जेन–जीको उजुरीलाई गौरीबहादुर कार्की नेतृत्वमा रहेको भदौ २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगमा पठाएकोमा आयोगले यो स्टोरी तयार गर्दासम्ममा प्रहरीलाई नै फिर्ता गरेको छ । 

हामीले यो स्टोरीमा भने लुम्बिनी प्रदेशमा भएको जेन–जी आन्दोलनमा केन्द्रित गरेका छौं । 

... ...

जेन–जीको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जना मारिएको भोलिपल्ट भदौ २४, २०८२ मा बिहानैदेखि प्रदर्शन थालेका थिए । जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार भदौ २४ गते बिहान ७ बजे नै युवाहरूले घोराहीको तुलसीपुर चोकबाट जुलुस निकालेर प्रदर्शन गरेका थिए । दिन बढ्दै जाँदा प्रदर्शनमा सहभागीको संख्या पनि बढ्दै थियो ।

प्रदर्शनकै क्रममा बिहान ११ बजे घोराहीमा रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयमा तोडफोड र आगजनी भयो । यतिबेलासम्म देशका धेरै ठाउँमा सरकारी कार्यालय र प्रहरीका कार्यालयमा तोडफोड र आगजनी भइरहेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा आउन थालिसकेको थियो । जसले गर्दा दाङको घोराही, तुलसीपुरलगायतका क्षेत्रका बासिन्दाहरू पनि प्रदर्शनमा मिसिएर तोडफोडमा उत्रिएका थिए । उनीहरूले घोराहीमै रहेको ट्राफिक कार्यालयमा तोडफोड र आगजनी गरे । 

Genz-protest-Gharelu-Gorahi-Dang-NIMJN-1760025723.jpg
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनकारीले आगजनी गरेको कार्यालय  । तस्बिर : रञ्जिता अधिकारी/निमजिन

दाङका घोराही, तुलसीपुरलगायतका क्षेत्रमा रहेका सरकारी कार्यालयमा तोडफोड र आगजनीको क्रम बढ्दै गयो । दिउँसो करिब ३ बजेको समयमा एक हुल प्रदर्शनकारीले दाङको सदरमुकामा घोराही उपमहानगरपालिका १५ को वडा कार्यालयका सामान सडकमा ल्याएर आगजनी गरे । 

उनीहरूले वडा कार्यालयका सामान जलाएपछि घरेलु तथा साना उद्योग कार्यालयको पर्खाल भत्काए र कार्यालयका सरसामान सडकमा ल्याएर आगजनी गरे । भवनमा पनि आगो लगाए । 

प्रदर्शनकारीले नापी कार्यालय, मालपोत, सडक डिभिजन, ट्राफिक कार्यालय, घरेलु, नगरपालिकालगायत दाङका ४३ वटा सरकारी कार्यालयसहित ७० वटा संरचनामा क्षति पुर्‍याएका छन् । 

आगजनी हुने सरकारी कार्यालयहरूमा स्थानीय तहका प्रशासनिक भवन, वडा कार्यालय, अदालत, मालपोत, यातायात व्यवस्था कार्यालय, आन्तरिक राजस्व कार्यालय र इलाका प्रशासन कार्यालय छन् । 

निजीतर्फ राजनीतिक दलका नेता, जनप्रतिनिधि तथा नेतासँग निकट व्यवसायीका घर र व्यवसाय निसानामा परेका छन् । 

लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्रप्रसाद भट्टले प्रदेशका सबै जिल्लाको क्षतिको विवरण आइनसकेको बताए । “कतिपय व्यक्ति र संस्थाका प्रतिनिधि सम्पर्कमा नआएका कुल कति रकम बराबरको क्षति भयो भन्ने यकिन हुन सकेको छैन,” भट्टले भने ।

लुम्बिनी प्रदेशका निमित्त प्रमुख सचिव लीलाधर सुवेदीले भदौ ३१ मा सार्वजनिक गरेको विवरणअनुसार बुटवलमा रहेको प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको निवास र बुटवल सम्पर्क कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएको छ । लमही  नगरपालिका–६ मा रहेको भौतिक पूर्वाधारमन्त्रीको निवास र स्वास्थ्यमन्त्रीको निवासमा पनि क्षति भएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन–जी आन्दोलनका क्रममा प्रदेशमा भएको क्षतिको पूर्ण विवरण आइनसके पनि सबैजसो जिल्लामा ठूलो भौतिक क्षति भएको बताए । उनले पुनर्निर्माणको काम प्रदेश एक्लैले गर्न नसक्ने बताएका छन् । 

दमकलसमेत रहेन

प्रदर्शनकारीले तुलसीपुर उपमहानगरपालिकाको दमकलमा समेत आगो लगाएका छन् । यो दमकल तुलसीपुरसहित शान्तिनगर, बबई र दंगीशरण गाउँपालिकाका लागि पनि प्रयोग हुँदै आएको थियो । आगलागीबाट दमकल जलेपछि अब कहींकतै आगलागी भयो भने दमकलको उपलब्धता कसरी हुने भन्ने चिन्ता थपिएको छ । 

उपमहानगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख टोपबहादुर डाँगीले पालिकामा भएको एउटा दमकल पहिले नै बिग्रिएको र नयाँ दमकल पनि आगजनीका कारण जलेर ध्वस्त भएको बताए । 

वैकल्पिक रूपमा जेट पम्प जोडेर पानी फाल्ने गरी बनाइएको ट्र्याक्टर पनि जेन–जीकै आन्दोलनका क्रममा जलेर ध्वस्त हुँदा थप समस्या उत्पन्न भएको छ । विपद् व्यवस्थापन शाखा प्रमुख टोपबहादुरले ट्र्याक्टरमा जडान गरिएको जेट पम्प मर्मत गरेर विकल्प खोज्ने प्रयासमा लागेको बताए । 

प्रदेश राजधानी जोगियो

दाङको सदरमुकाम घोराहीमा तोडफोड र आगजनी भइरहँदा त्यहाँबाट मात्र ५० किलोमिटर पूर्वमा रहेको राप्ती उपत्यकाका बासिन्दा भने लुम्बिनी प्रदेश राजधानीका संरचनाको सुरक्षामा लागे । 

फलस्वरूप संघीय संसद्सहित संघीय राजधानीको प्रशासनिक क्षेत्र सिंहदरबार र ६ वटा प्रदेश राजधानीका संरचनामा तोडफोड र आगजनी हुँदा राप्ती उपत्यकामा रहेका प्रशासनिक कार्यालय तथा लुम्बिनी प्रदेश संसद् परिसर सुरक्षित रह्यो । 

भालुवाङस्थित लुम्बिनी प्रदेशका संरचनामा पनि तोडफोड र आगजनी गर्ने भन्दै केही प्रदर्शनकारी पुगेका थिए । तर स्थानीय बासिन्दाले यी संरचना बचाउनुपर्ने भन्दै आन्दोलनकारी युवाहरूलाई सम्झाइबुझाइ गरे । प्रदर्शनकारी प्रदेशसभा परिसरमा छिर्न खोज्दा अर्काथरी युवाले रोके । “हामीले तिरेको करबाट बनेको संरचना तोडफोड गर्नु हुँदैन, अर्बौँ खर्च गरेर बन्दै गरेको संरचना जोगाउनुपर्छ भनेर हामी लाग्यौं,” भालुवाङका युवा मञ्जित पोख्रेलले भने, “सबैको संयमताले प्रदेशका संरचना जोगायौँ ।”

सुरक्षाकर्मीसँगै स्थानीय बासिन्दा पनि प्रदेश कार्यालयका पर्खाल वरपर बसेका थिए । जसले गर्दा बाहिरबाट आएका प्रदर्शनकारीले तोडफोड र आगजनी गर्न पाएनन् । हुलहुज्जत गर्नेहरू पछि हटे । “हामीले कसैलाई पर्खालभित्र पस्न दिएनौं, छेकबार गरेपछि प्रदर्शनकारीहरू नारा जुलुस गरेर फर्किए,” उनले भने । 

GenZ-protest-Bhaluwang-NIMJN-1760029177.jpeg
भालुवाङमा पुगेका प्रदर्शनकारी र उनीहरूलाई सुरक्षाकर्मीले रोकिरहेको यो तस्बिर सामाजिक सञ्जालबाट लिइएको हो ।

सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएका र अहिले १३ देखि २८ वर्षबीचको उमेर समूहका पुस्ता जसलाई जेन–जी भनिन्छ । यही समूहले भ्रष्टाचारको अन्त्य र सुशासनको माग राखेर भदौ २३ मा काठमाडौंसहित देशका प्रमुख सहरमा प्रदर्शन गरेका थियो ।

त्यो प्रदर्शनका क्रममा काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् परिसरमा सुरक्षाकर्मीले गोली चलाउँदा १७ जना र सुनसरीमा थप २ गरी १९ जनाको मृत्यु भएको थियो । त्यसको भोलिपल्ट देशभर हिंसात्मक प्रदर्शन भएको थियो । जसमा अहिलेसम्म ७६ जनाको ज्यान गएको प्रहरीको तथ्यांक छ । 

जुन उमेर समूहको आह्वानमा प्रदर्शन भएको र देशव्यापी रूपमा जनधनको क्षति भएको थियो । त्यही उमेर समूहका युवाका कारण लुम्बिनी प्रदेशको राजधानीका संरचना सुरक्षित रहेको प्रदेश राजधानीमा कार्यरत सिनियर इन्जिनियर विमल गौतम बताउँछन् । “यहाँका युवा र सुरक्षाकर्मी र स्थानीयको सहकार्यका कारण लुम्बिनी प्रदेश राजधानीमा क्षति हुन पाएन,” उनले भने । राप्तीका बासिन्दाको सक्रियता र सकारात्मक भूमिकाका कारण संरचना बचेको भन्दै उनी प्रशंसा गर्छन् । 

लुम्बिनी प्रदेशसभा परिसरमा कार्यरत प्रहरी निरीक्षक गीताप्रसाद चौधरी राप्ती उपत्यकाको यो प्रदेश राजधानी क्षेत्रमा बाहिरका मानिसको बाक्लो बसोबास नरहेको र सबै स्थानीय बासिन्दा नै रहेकाले उनीहरूले आफ्नो ठाउँको संरचना जोगाएको बताउँछन् । उनी भन्छन्, “हामीले पनि सकारात्मक सहजीकरण गर्‍यौँ र समझदारी भयो, सबै संरचना बच्यो ।” 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन–जी आन्दोलनका क्रममा प्रदेशमा जनधनको क्षति भएको तर प्रदेश राजधानीका भौतिक संरचना भने स्थानीय बासिन्दाले नै जोगाएको बताए । त्यसका लागि प्रदेश मन्त्रिपरिषद्को बैठकबाटै स्थानीय बासिन्दालाई धन्यवाद दिने प्रस्ताव पारित गरिएको उनले सुनाए । 

GenZ-protest-Bhaluwang-stop-coruption-NIMJN-1760029574.jpeg
भालुवाङमा प्रदेश मन्त्रालयहरू रहेको परिसरको यो तस्बिर सामाजिक सञ्जालबाट लिइएको हो ।

प्रदेशसभा बैठकले असोज २०, २०७७ मा प्रदेशको नाम लुम्बिनी र प्रदेशको स्थायी राजधानी दाङको राप्ती र गढवा गाउँपालिकाका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाको भूभाग पर्ने भालुवाङमा बनाउने प्रस्ताव दुई तिहाइ मतबाट पारित गरेको थियो । त्यसबमोजिम मंसिर २०, २०७९ मा बुटवलबाट प्रदेश राजधानी दाङमा सारिएको हो । भालुवाङमा ३ अर्ब ९ करोड १ लाख २९ हजार रुपैयाँको लागतमा १० वटा मन्त्रालयका लागि भवनसहित १३ वटा संरचना निर्माण थालिएको थियो ।

प्रदेशमा ५ जनाको मृत्यु

प्रहरीका अनुसार जेन–जी आन्दोलनका क्रममा देशका विभिन्न ठाउँमा ज्यान गुमाउने ७५ जनामध्ये  ५ जनाको लुम्बिनी प्रदेशमा मृत्यु भएको छ । प्रदेशमा ४६ जना घाइते भएका छन् । मृत्यु हुने ५ जना  बाँकेको नौवस्तामा रहेको बाल सुधार गृहका बालबिज्याइँकर्ता हुन् । 

गैरकानुनी काममा संलग्न भएको आरोपमा पक्राउ परेका र अदालतबाट फैसला भएका नाबालिगलाई यो सुधार गृहमा राखिने गरेको थियो । जेन–जी आन्दोलनको बेला सुधार गृहबाट भाग्ने प्रयास गर्दा उनीहरूको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए । 

पाल टाँगेर सेवा सुरु 

जेन–जी आन्दोलनका क्रममा कार्यालय ध्वस्त भएपछि उच्च अदालत तुलसीपुरका साथै केही स्थानीय तह र सरकारी कार्यालयले लगत्तै पाल टाँगेर सेवा प्रवाह सुरु गरेका छन् । 

“पालिका र वडा कार्यालयका कागजपत्र सबै जलाइएका छन्,” घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले भने, “त्रिपाल टाँगेर सेवा दिन थालेका छौँ ।” पालिका र वडा कार्यालयका कागजपत्र सबै जलाइएका कारण काम अघि बढाउन समस्या भएको उनले बताए । 

यो सामग्री पुन: प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो पुन:प्रकाशन नीति अनुसार प्रकाशन गर्नुहोस् । पुन:प्रकाशन निर्देशिका यहाँ छ ।

Comments