असोज १७ गतेदेखि १९ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोले इलाममा मात्रै ३९ जनाको ज्यान गएको छ । बाढीले सडक, पुल, विद्युत्, खानेपानीजस्ता भौतिक संरचनामा पनि क्षति गरेकाले पूर्वको यो सुन्दर जिल्ला पीडामा छ । इलाममा माटोको सतहले थेग्नै नसक्ने गरी अति भारी वर्षा भएकाले पहिरो आएको जलवायु विज्ञले बताएका छ ।
--- ---
इलामको सूर्योदय–३ कि जानुका राई र उनका श्रीमान् सनवीर असोज १९ को बिहान सबेरै बाहिर ठूलो गड्यागुडुङ भएपछि उठेर घरबाट बाहिर निस्किएका मात्र के थिए पहिरोले बगाइहाल्यो ।
“ढोकाबाट बाहिर मात्र के निस्किएका थियौँ, पहिरोले पेलिहाल्यो,” झापाको बी एन्ड सी अस्पतालमा उपचार गराइरहेका सनवीरले भने, “बिहानको ३/४ बजेको थियो होला ।”
पहिरोले बगाएको घरबाट यी दम्पतीलाई गाउँलेले तत्कालै उद्धार गरे । तर सडक अवरुद्ध भएकाले एम्बुलेन्स तथा गाडी चल्ने स्थिति थिएन । त्यसैले दर्के झरीकै बीच गाउँलेले एक घण्टा बोकेर गाडी चल्ने ठाउँसम्म पुर्याउनुपरेको थियो । जानुकाको चोट लागेको खुट्टाको अप्रेसन गरिएको छ भने सनवीरको स्वास्थ्यमा सुधार आएको छ ।
अत्याधिक वर्षापछिको पहिरोमा पर्ने यी दम्पती एक्ला होइनन् । यस वर्ष असोज १७ गतेदेखि १९ गतेसम्मको अविरल झरीका कारण इलामका विभिन्न ठाउँमा गएको बाढी, पहिरोले ३९ जना (१८ जना पुरुष र २१ जना महिला) को ज्यान गयो ।
एक जना बेपत्ता छन् भने २६ जना घाइते भए । १०८ परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालय, इलामको तथ्यांक छ । इलाममा असोज १८ गतेदेखि १९ गते बिहानसम्म अत्याधिक वर्षा भएको थियो ।
बाढी र पहिरोले सडक, पुल, विद्युत्, खानेपानीजस्ता भौतिक संरचनामा पनि क्षति गरेकाले पूर्वको सुन्दर जिल्ला इलाम पीडामा छ । एकै रातको ठूलो वर्षाले गरेको क्षतिबाट तंग्रिन इलामलाई निक्कै समय लाग्ने देखिन्छ । दसैंका बेला पाहुना आएका समेतको ज्यान गएको छ ।
यो क्षतिमा ठूलो खालको पहिरोभन्दा पनि स–साना पहिरोका कारण भएको देखिन्छ । पहिरोले गाउँ वा टोल नै बगाएर वा पुरेरभन्दा पनि फरक–फरक ठाउँमा गएका साना पहिरोले घर पुर्दा भएको देखिन्छ । इलाम नगरपालिकाको घोषमा एउटा घर पुरिँदा ६ जनाको मृत्यु भएको छ ।
“१६ वटा घटनामा ज्यान गएको छ, स–साना पहिरोले गर्दा ठूलो क्षति हुन पुगेको छ,” इलामका प्रहरी प्रमुख एसपी एकनारायण कोइराला भन्छन्, “राति १० बजेदेखि ३ बजेसम्म परेको पानीले ठूलो क्षति गर्यो ।”
झरीले सडक र सञ्चार अवरुद्ध भएपछि घटनाको जानकारी लिन र घटनास्थलसम्म पुग्नै कठिन भएको उनको अनुभव छ । भन्छन्, “हिँडेर भए पनि पहिचान, उद्धार र राहतको काम गर्यौँ।”
राहत र उद्धारको काम अहिले पनि भइरहेको छ र यसमा स्थानीय तह पनि लागिपरेका छन् । तर राहतका लागि स्थानीय तहले संघीय सरकारसँग आस गरेका छन् । “विपद् व्यवस्थापन समितिको बैठकमार्फत संकटग्रस्त क्षेत्रका रूपमा निर्णय गरेर माथिल्लो निकायमा पठाएका छौँ, यो विषम परिस्थितिमा हामीले मात्र गर्न नसकिने अवस्था नभएकाले संघीय सरकारको आस गरिराखेका छौँ,” इलाम नगरपालिकाका मेयर केदार थापाले भने, “जिल्लामा साह्रै ठूलो क्षति पुगेको छ । सडक, विद्युत्, खानेपानीजस्ता समस्या छन् । तत्काल केन्द्रीय सरकारको विशेष प्याकेज आवश्यक छ ।”

इलाम नगरपालिकामा पर्ने माईखोलाको किनारमा रहेको टापु बस्तीका ३७ परिवार विस्थापित छन् । इलाम–१० का वडाध्यक्ष ओम प्रधानका अनुसार १७ जनालाई विद्यालयमा र बाँकीलाई त्रिपालमा राखिएको छ । उनीहरुलाई स्थायी रूपमा पुनःस्थापना गर्न समस्या रहेको वडाध्यक्ष ओमले बताए ।
बाँस झ्याङसहितको पहिरो
धेरै ठाउँमा बाँस झ्याङसहित पहिरो झरेको छ । घोषका बासिन्दा उमेश गुरुङका अनुसार बाँसको झ्याङसहित पहिरो झरेर पुर्दा एकै घरका ६ जनाको ज्यान गएको छ ।
माङसेबुङमा पनि बाँसको झ्याङनै झरेर मानवीय क्षति भएको छ । “साना–साना पहिरोले घर पुरेको छ, विशेष गरी बाँसको झ्याङ झरेर आएका छन्,” सन्दकपुर गाउँपालिकाको विपद् फोकल पर्सन रमेश भट्टराईले भने “हाम्रो पालिकामा चारवटा पहिरोले पुरेर ६ जनाको मृत्यु भएको छ भने एक जनालाई बाढीले बगाएको छ ।”
दसैंंका बेला परेकाले परिवारका सबै भेला भएर मानिसहरु सुतिरहेको रातको समयमा पहिरो गएकाले पनि धेरै क्षति भएको हो ।
सडक पूर्वाधारमा क्षति
पहिरोले गरेको क्षतिको पूर्ण विवरण आइसकेको छैन । अहिले पनि विवरण संकलनको काम जारी छ । प्रारम्भिक विवरणलाई आधार बनाउँदा सडक पूर्वाधारमा पनि धेरै क्षति पुगेको देखिन्छ ।

मेची राजमार्ग ठाउँठाउँमा अवरुद्ध हुँदा इलाम, पाँचथर, ताप्लेजुङसँगको सडक सम्पर्क टुटेको छ । सडक डिभिजन कार्यालय, इलामका प्रमुख पवन भट्टराईका अनुसार जोरकलशदेखि राँके खण्डमा अनेकन ठाउँमा पहिरो खसेको थियो । “बाटो खुलाउन निक्कै मिहिनेत गरिरहेका छौँ । मेची राजमार्गको अनेक ठाँउमा ठूलो क्षति पुगेको छ,” उनले भने ।
उनका अनुसार माईखोलानजिकैको राजदुवालीको पहिरोका कारण अझै केही समय मेची राजमार्ग सञ्चालन हुने देखिँदैन ।
“माईखोलानजिकको राजदुवालीमा निक्कै ठूलो समस्या छ, यहाँ बर्सेनि दुःख दिइरहेको छ, भासिने बाटो भएकाले केही समया लाग्ने देखिन्छ,” सडक डिभिजन कार्यालय, इलामका प्रमुख पवनले भने ।
वैकल्पिक सडकका रूपमा लिइएको कञ्चनजंघा–केचना सडक सडक खण्ड क्षतविक्षत् छ ।

बाढीले चारवटा मोटरेबल पुल बगाएको छ । केचना–कञ्चनजंघा सडकको माईखोला पक्की पुल, बेलासे बेलिब्रिज बगाएको छ । जोगमाई खोला र देउमाई खोलाको पुलसमेत बाढीले बगाएको छ ।
ग्रामीण सडक अधिकांश बिग्रिएका छन् । ग्रामीण सडक खुलाउन स्थानीय तहले प्रयास गरिरहेका छन् ।
इलाम नगरपालिकासहित विभिन्न क्षेत्रमा खानेपानी आयोजना बिग्रिएका छन् । विद्युत्मा क्षति पुग्दा गाउँ अन्धकार छन् । स्वतन्त्र ऊर्जा उत्पादक संस्था इपानका अनुसार इलाममा १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।
बाढीपहिरोको कारण ठूलो पानी
इलाममा धेरै क्षति हुनुको मुख्य कारण ठूलो पानी पर्नु नै रहेको प्रारम्भिक अनुमान गरिएको इलामका प्रहरी प्रमुख एसपी एकनारायणले बताए ।
जल तथा मौसम विज्ञान विभागको रेकर्डअनुसार पनि इलाममा अति भारी वर्षा भएको देखिन्छ । विभागका अनुसार असोज १८ गते बिहान ८ः४५ बजेदेखि १९ गते बिहान ८ः४५ बजेसम्मको २४ घण्टाको अवधिमा इलामको सूर्योदय नगरपालिकामा रहेका हिमाली गाउँ केन्द्रमा ३३२ दशमलव ६, कन्याम टि–स्टेट केन्द्रमा ३१४ दशमलव २ र इलाम टि–स्टेट केन्द्रमा २८० दशमलव २ मिलिमिटर पानी परेको छ । हिमाली गाउँ केन्द्रमा ४२ वर्षपछिको र इलाम टि–स्टेट केन्द्रमा २८ वर्षपछिको कीर्तिमानी वर्षा भएको हो ।
पहाडी क्षेत्रमा २४ घण्टामा १ सय मिलिमिटरभन्दा धेरै वर्षा हुनुलाई अति जोखिम मानिन्छ । “१ सय मिलिमिटरभन्दा धेरै वर्षा भएपछि नै पहाडमा जोखिम बढ्छ, यो वर्ष अति भारी वर्षा इलाममा भएको देखिन्छ,” जलवायुविज्ञ डा.धर्मराज उप्रेतीले भने, “माटोको सतहले थाम्न नसक्ने गरी पानी परेको देखिन्छ ।”
बंगालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीका कारणले यो वर्षा भएको थियो । “समुद्रको औसत तापक्रममा वृद्धि भई सिर्जना भएको जलवाष्पयुक्त वायुका कारण वर्षा भएको देखिन्छ,” उनले भने ।
असोजमा भारी वर्षा भएको यसपालि पहिलो होइन, पछिल्ला केही वर्षदेखि मनसुन बाहिरिने बेलामा विनाशकारी वर्षा हुने गरेको छ । पछिल्ला वर्षमा असोज, कात्तिकमा पूर्वी पहाडी जिल्लामा अति भारी वर्षा भएको छ ।
पोहोर असोजमा काठमाडौंं उपत्यकासहित पाँचथरमा भारी वर्षा भएको थियो । यस्तै कात्तिक, २०७८ मा पनि भारी वर्षाले पाँचथरमा ठूलो क्षति पुगेको थियो । “जलवायु परिवर्तनको असरले यस्तो भएको हो, पृथ्वीको तापक्रम बढेसँगै पानी पर्ने तालिकामा बदलिएको छ,” जलवायुविज्ञ डा.धर्मराजले भने ।
नेपालमा प्रायः असारको पहिलो हप्तादेखि असोजको दोस्रो हप्तासम्म मनसुनी वर्षा हुने गरेको छ । तर यसपालि जेठको तेस्रो हप्ताबाट मनसुन सुरु भएको थियो । इलाममा भारी वर्षा भएकै दिन असोज १९ मा मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कोशीका २९ हजार जना भन्दा बढी प्रभावित
असोज १८ गतेदेखि परेको झरीका कारण बाढी, पहिरो, डुबानबाट कोशी प्रदेशमा २९ हजार ३ सय ९२ जना प्रभावित भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दीपक पोखरेलले जानकारी दिए ।
६ हजार ४ सय ४८ घर विस्थापित भएका छन् । यो अवधिमा विपद्का घटना कारण ४८ जनाको मृत्यु भएको छ । पोखरेलका अनुसार धेरै इलाममा ३९ जनाको मृत्यु भएको छ ।
पाँचथरमा २, उदयपुरमा २ र भोजपुर, खोटाङ, सुनसरी र मोरङमा १–१ जनाको मृत्यु भएको छ । बाढी, पहिरो र डुवानमा परेका २ हजार १ सय ५ जनालाई उद्धार गरिएको छ । यीमध्ये २३ जनालाई हेलिकप्टरबाटा उद्धार गरिएको प्रहरीले जनाएको छ । बाढीपहिरोको पछिल्लो पाँच आर्थिक वर्षको तथ्यांक विश्लेषण गर्ने हो भने चालु आर्थिक वर्षको साउनदेखि असोजसम्मको २ महिना २२ दिनमा सबैभन्दा धेरै ५१ जनाको मृत्यु भएको देखिन्छ ।
छिमेकको दार्जिलिङमा १५ जनाको ज्यान गयो
इलामसँगै जोडिएको भारतको वेस्ट बंगालको दार्जिलिङ जिल्लामा पनि यो अवधिमा भारी वर्षाले ठूलो क्षति भएको छ ।
मिरिकमा रहेका पत्रकार दीप प्रधानका अनुसार १५ जनाको मृत्यु भएको छ । मिरिक क्षेत्र बढी प्रभावित भएको उनले जानकारी दिए । सडक, पुलजस्ता भौतिक पूर्वाधारका क्षेत्रमा पनि क्षति पुगेको उनले बताए ।
कभर तस्बिर - इलाम नगरपालिकाको घाेषमा गएको पहिरो । यो पहिरोमा परेर ६ जनाकाे ज्यान गएको छ । तस्बिर : विप्लव भट्टराई/निमजिन
यो सामग्री पुन: प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो पुन:प्रकाशन नीति अनुसार प्रकाशन गर्नुहोस् । पुन:प्रकाशन निर्देशिका यहाँ छ ।