२०७२ सालको भूकम्पपछि आकर्षक सामुदायिक विद्यालय भवनहरू त बने, तर लाभान्वित जनसंख्यालाई ख्याल गरिएन । जसले गर्दा सरकारले करोडौं रुपैयाँ लगानी गरेर बनाएका कतिपय विद्यालयका राम्रा र सुविधा सम्पन्न भवन भए पनि विद्यार्थी नै छैनन् ।
--- ---
भक्तपुरको चाँगुनारायण नगरपालिका–६ बेंसीटोलस्थित चेतना आधारभूत विद्यालयको ट्रसको भवन २०७२ सालको भूकम्पमा भत्कियो । त्यसपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चाँगुनारायणको तेलकोट भञ्ज्याङदेखि उत्तरतर्फको डाँडामा सुविधासम्पन्न चारकोठे पक्की भवन निर्माण गरिदियो । भवन टाढैबाट हेर्दा राम्रो देखिन्छ ।
तर, दुःखको कुरा, यो भवनमा पढ्ने विद्यार्थी भने छैनन् । भूकम्प गएकै महिनादेखि विद्यार्थी शून्य भएको विद्यालयमा पक्की भवन बने पनि विद्यार्थी फर्किएनन् । भवनको मूलढोकामा ताल्चा झुन्डिएको छ ।
नवनिर्मित आकर्षक भवन भए पनि विद्यार्थी नहुने यो एक्लो विद्यालय भने होइन । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीको तथ्यांकअनुसार भूकम्पपछि भवन बनाइएका ७ हजार ५ सय ७३ मध्ये ६५ वटा विद्यालयमा विद्यार्थी नै छैनन् ।
विद्यालय भवन असहज ठाउँमा हुनु, सामुदायिक विद्यालयले अभिभावकको विश्वास जित्न नसक्नु र रोजगारीका सिलसिलामा अभिभावकले बसाइँसराइ गर्नुलगायतका कारणले विद्यार्थी शून्य भएका हुन् । लाभान्वित जनसंख्यालाई ख्याल नै नगरी भवन पुनर्निर्माण भएको र सामुदायिक विद्यालयको गुणस्तर पनि सुधार हुन नसकेकाले विद्यार्थी आकर्षित हुन सकेका छैनन् । सरकारले करोडौं रुपैयाँ लगानी गरेर बनाएका कतिपय विद्यालयका राम्रा र सुविधा सम्पन्न भवन भए पनि विद्यार्थी नहुँदा राज्यको लगानी खेर गइरहेको छ ।
अरू त के कुरा, राजधानीमै त्यही अवस्था छ । भक्तपुरका बालविकास केन्द्रसहित १० सामुदायिक विद्यालयमा विद्यार्थी संख्या शून्य छन् । भूकम्पपछि सुविधा सम्पन्न भवन बनेका सिन्धुलीका ६, रामेछापका ८, नुवाकोटका ७, धादिङका १० दोलखाका १३ र काभ्रेका ११ वटा विद्यालयमा विद्यार्थी संख्या शून्य रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको इमिस रेकर्डमा उल्लेख छ । त्यसो त देशभरको कुरा गर्दा ९ सय ५८ वटा विद्यालयमा विद्यार्थी नै छैनन् । एक सयभन्दा कम विद्यार्थी भएका विद्यालयको संख्या १५ हजार २ सय ७३ छ ।
वैशाख १२, २०७२ मा गोरखाको बारपाक क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको ७.६ म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा ३१ जिल्लाका ९ हजार ५ सय ५३ विद्यालयमा पूर्ण क्षति र ८ हजार विद्यालयमा आंशिक क्षति भएको थियो ।
आंशिक क्षति भएका विद्यालय रेट्रोफिटिङ गरिए । पूर्णरूपमा क्षतिग्रस्त १७ वटा विद्यालय निर्माणधीन अवस्थामा छन् । अरू सबै विद्यालय बनिसकेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा), सानोठिमी, भक्तपुरको तथ्यांक छ ।
केन्द्रीय आयोजना कार्यान्वयन इकाइका उपआयोजना निर्देशक सुरेशकुमार वाग्लेका अनुसार भूकम्पबाट क्षति पुगेका ४९ हजार कक्षाकोठा निर्माण भइसकेका छन् । इकाइले एउटा कक्षाकोठा निर्माण गर्न २० देखि २२ लाख रुपैयाँ खर्च गरेको छ । जसअनुसार १ खर्ब ७ अर्ब ८० करोड खर्च भएको अनुमान छ । बाँकी १७ विद्यालयको निर्माण पूरा भएपछि मात्र वास्तविक खर्च विवरण तयार हुने उनको भनाइ छ ।
भूकम्पमा पूर्णरूपमा क्षतिग्रस्त ९ हजार ५ सय ५३ विद्यालयमध्ये ३ सय २७ वटा विद्यालय अन्यमा मर्ज भए । १ सय ५३ वटा विद्यालयका संरचनामा नै रहेनन् । क्षति भएका २९ वटा विद्यालयले पुर्निर्माणको माग नै गरेनन् । जग्गा अभाव भएका र विद्यार्थी न्यून भएका विद्यालय पुनर्निर्माणमा परेनन् । क्षतिग्रस्त विद्यालयमध्ये १ हजार ४ सय ९५ विद्यालयले पुनर्निर्माणको कार्यक्रम नपाएको इकाइको योजना शाखाले जनाएको छ ।
केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) ले धेरै साना तथा जग्गा नभएका र तत्काल मर्जमा जाने तयारी भएका बाहेक ‘गुणस्तरीय सिकाइका लागि सुरक्षित भवन’ भन्ने लक्ष्य तय गरेर विद्यालय पुनर्निर्माण गरेको थियो ।
६ वटा कक्षाकोठासम्म पुनर्निर्माण गर्ने जिम्मा विद्यालय व्यवस्थापन समितिलाई प्रदान गरिएको थियो । केही विद्यालय गैरसरकारी संस्थामार्फत, केही दाताको लगानीमा दाताबाटै निर्माण गरी काम सम्पन्न भएपछि सिधै विद्यालयलाई साँचो हस्तान्तरण गरिएको इकाइका उपआयोजना निर्देशक सुरेशकुमारले बताए ।
स्थानीय तहले प्रयास गर्दा पनि फर्किएनन् विद्यार्थी
बेंसीटोलमा २०५३ सालमा स्थापित चेतना आधारभूत विद्यालयले पहिला कक्षा ५ सम्म सञ्चालन अनुमति पाएको थियो । २०७१ सालसम्म जेनतेन चलेको उक्त विद्यालय भूकम्प गएको समय वैशाख २०७२ देखि विद्यार्थी नै नभएपछि बन्द हुन पुग्यो । विद्यालय बन्द हुँदा शिक्षक भने चार जना थिए ।
नयाँ पदस्थापन हुन पुगेका २ जना शिक्षकलाई स्थानीय अभिभावकले विश्वास नगरेपछि विद्यालयबाट काज लिएर अन्यत्र गए । पुराना एक शिक्षकले अवकाश लिए । २०७२ वैशाखको अन्त्यदेखि शिक्षक पनि कोही भएनन् र विद्यालयमा ताला लाग्यो । त्यसपछि मंसिर, २०७५ मा नगरपालिकाले शिक्षकहरूको काज फिर्ता र भर्ना अभियान चलायो ।
पुनर्निर्माण प्राधिकरणले आर्थिक वर्ष २०७६/०७७ मा ६९ लाख ६९ हजार रुपैयाँ लागतमा चारकोठे भवन निर्माण गरिदियो । पुरानो ट्रसको भवन भएकै ठाउँमा आधुनिक सुविधा सम्पन्न भवन बन्यो । ठाउँ अभावका कारण करिब ४५ डिग्री भिरालो भूभागमा विद्यालय भवन बनेको छ ।
विद्यालयमा थप ११ लाख रुपैयाँमा खानेपानीको धारा र बालमैत्री शौचालय पनि निर्माण भए । विद्यालयका कक्षाकोठा सजावट छन् । तर विद्यार्थी छैनन् ।
२०७४ मा स्थानीय तहको निर्वाचन भएपछि जनप्रतिनिधिको आँखामा चेतना आधारभूत विद्यालय परेको थियो । । विद्यालय मर्ज गर्ने कि चलाउने भन्ने विषयमा तत्कालीन नगरप्रमुख सोमप्रसाद मिश्रले नगर शिक्षा समितिमा छलफल गरेका थिए । नगर शिक्षा समिति र स्थानीय बुद्धिजीवीले विद्यालय पुनः सञ्चालन गर्ने सुझाव दिएपछि नगरपालिकाले काजमा रहेका शिक्षकलाई मंसिर १९, २०७५ मा फिर्ता बोलायो ।
विद्यालयमा काज फिर्ता आएका शिक्षक राजन फुँयाललाई प्रधानाध्यापकको जिम्मा दिएर नगरपालिकाकै पहलमा विद्यालय सुधारका लागि विभिन्न अभियान सञ्चालन गरियो । २०७५ को मंसिरदेखि नै विद्यालय र नगरपालिकाले भर्ना अभियानका लागि घरदैलो अभियान सञ्चालन गरे । बालबालिका तथा अभिभावकको विश्वास जित्नका लागि नगरपालिकासँग बजेट विनियोजन गरेर २ लाख ५० हजार रुपैयँमा पुरानो चारकोठे भवनमा रंगरोगन भयो । तैपनि विद्यार्थी आएनन् । पुरानो भवन अहिले पनि छ । दुइटामध्ये एउटा भत्किएको छ ।
“घरदैलो अभियान त सञ्चालन गरियो तर अभिभावकको मन जित्न सकिएन,” तत्कालीन प्रधानाध्यापक राजन स्मरण गर्छन्, “युग सुहाउँदो शिक्षाका लागि पूर्वाधार विकास भन्ने लक्ष्यका साथ जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) मा भवन निर्माणका लागि माग गरियो, स्वीकृत पनि भयो ।” जसअनुसार अहिलेको नयाँ भवन बनेको हो ।
२०७५ मा तत्कालीन प्रधानाध्यापक राजन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर मोक्तान र अन्य शिक्षाप्रेमीको आर्थिक सहयोगमा एउटा आन्तरिक कोष खडा गरेर विद्यार्थीलाई निःशुल्क स्टेसनरी सामान वितरण गर्ने घोषणा गरियो । ईसीडी र कक्षा एकका बालबालिकाको बसाइ व्यवस्थापनका लागि कार्पेटको व्यवस्थापन गरिएको छ ।
सोही कोषबाट आन्तरिक स्रोतको व्यवस्थापन गरेर तालिमप्राप्त मन्टेश्वरी शिक्षकको व्यवस्थापन गरे पनि शैक्षिक सत्र २०७५/०७६ मा विद्यालयमा चार जनाभन्दा बढी बालबालिका आउन सकेनन् । २०७५ मंसिरदेखि भर्ना अभियान चलाइएको थियो ।
नगरपालिकाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (इमिस) का अनुसार तीन शैक्षिक सत्रमा २०७९/०८०, ०८०/०८१ र ०८१/०८२ शैक्षिक वर्षमा ५ जनाभन्दा बढी बालबालिका भर्ना भएका छैनन् । भर्नाको समयमा ५ जना देखिए पनि नियमित विद्यार्थी कोही पनि आउउँदैनन् । भर्ना भएका पनि सबै पूर्वप्राथमिक तह (ईसीडी) का हुन् ।
इमिसमा चालु शैक्षिक वर्षमा ५ जना बालबालिका देखाए पनि एक जना पनि विद्यालयमा देखा नपरेको स्थानीय मञ्जु मोक्तानले बताइन् । “कहिलेकाहीँ एक जना मिस र एक जना सर आउनुहुन्छ, एकछिन् बसेर फर्कनुहुन्छ,” उनले भनिन् ।
काभ्रे स्थायी घर भई विद्यालय छेउमै कृषि पेसा गरेका भरत सापकोटाका अनुसार चेतना आधारभूत विद्यालयमा कहिल्यै बालबालिका देखिँदैनन् । “कहिले शिक्षक, मिस र कहिले फोटो र भिडियो खिच्ने व्यक्तिहरूबाहेक अरू कोही आउँदैनन्, ।”
चाँगुनारायण नगरपालिका–६ कै गडगडे आधारभूत विद्यालयको भूकम्पपछि पुनर्निर्मित भवन सुरक्षित तथा सुविधा सम्पन्न छ । तर, विद्यार्थी भने वार्षिक घट्दै गएका छन् । शैक्षिक २०७१/०७२ मा २१६ विद्यार्थी रहेको यो विद्यालयमा २०८१/०८२ मा विद्यार्थी घटेर ४५ भए । तर, चालु शैक्षिक सत्रमा बढेर ७५ जना भर्ना भएका छन्, जसमध्ये ईसीडीमा मात्रै ४० जना छन् ।
साबिक नगरकोट गाविसलाई अहिले चाँगुनारायण नगरपालिका–६ बनाइएको छ । वडाका अनुसार पर्यटकीय तथा पुरातात्त्विक महत्त्व बोकेको यो वडाका बेंसीटोलमा ४ हजार ९ सय २६ जनाको बसोबास छ । जसमध्ये ६७ प्रतिशत तामाङ समुदायको बसाइँ छ । बाँकी ३३ प्रतिशत दलित, ब्राह्मण, क्षेत्रीलगायत समुदाय छन् ।
चाँगुनारायण नगरपालिकाकै वडा नं. ४ झौखेलमा सुविधा सम्पन्न भूकम्पप्रतिरोधी चारकोठे भवन छ– गणेश आधारभूत विद्यालयको । जसमा बालमैत्री धारा र लैंगिकमैत्री शौचालय पनि छन् । २०७२ सालको भूकम्पले पुरानो कच्ची भवन पूर्णरूपमा क्षति गरेपछि आर्थिक वर्ष २०७६/०७७ मा यो भवन निर्माण गरिएको हो । भवन ६९ लाख ६९ हजार रुपैयाँको लागतमा बनेको हो । शौचालत तथा कम्पाउन्ड र बालमैत्री कक्षाकोठासमेत जोड्दा यो विद्यालयको पूर्वाधारमा ८० लाख रुपैयाँ खर्च भएको छ ।
भवन पुनर्निर्माणका लागि विद्यालयले जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) मा योजना माग गरेपछि आकर्षक र सुविधा सम्पन्न भूकम्प प्रतिरोधी भवन निर्माण भयो । तर ५ कक्षासम्म पढाइ हुने यो विद्यालयमा कक्षा २ भन्दा माथिल्लो तहमा विद्यार्थी नै छैनन् ।
विद्यालयले स्थानीय बासिन्दाको विश्वास जित्न नसकेपछि प्रत्येक शैक्षिक सत्रमा विद्यार्थी घट्दै गएका विद्यालयका प्रधानाध्यापक कल्पना न्यौपाने बताउँछिन् । उनले भनिन्, “स्थानीयले सामुदायिक विद्यालयलाई भरोसा गर्दैनन्, विद्यालयले पनि स्थानीयको माध्यम भाषा परिवर्तनको माग सुनुवाइ गर्न सकेन, त्यसैले माथिल्ला कक्षामा विद्यार्थी नै छैनन् ।”
५ कक्षासम्म पढाइ हुने गणेश आधारभूत विद्यालयमा भूकम्पअघिसम्म २ सय विद्यार्थी थिए । भूकम्पपछि हरेक वर्ष विद्यार्थी घट्दै गए । चाँगुनारायण नगरपालिकाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (इमिस) रिपोर्टअनुसार चालु शैक्षिक सत्रमा यो विद्यालयको पूर्वप्राथमिक तह (ईसीडी) मा ४० जना विद्यार्थी छन् ।
शैक्षित्र सत्र २०७६/०७७ देखि २०८१/०८२ सम्म विद्यालयमा एक जना पनि बालबालिका थिएनन् । शैक्षिक शत्र २०८१/०८२ मा सुरु गरिएको प्ले ग्रुप, नर्सरी र यूकेजी कक्षामा ४० जना विद्यार्थी भए । चालु शैक्षिक सत्रका ती कक्षामा ६४ विद्यार्थी छन् । एक कक्षामा ५ जना भए पनि त्यसभन्दा माथिका कक्षा खाली छन् ।
“पहिला इँटाभट्टामा काम गर्नेका छोराछोरी थिए, इँटाभट्टा हटेपछि परिवारहरू बाहिर गए र विद्यार्थी शून्य भए,” प्रधानाध्यापक कल्पनाले भनिन्, “अहिले व्यावसायिक रूपमा टनेलमा तरकारी खेती गर्ने किसान बाहिरबाट आएपछि विद्यार्थी थपिएका हुन् ।” एक कक्षामा भर्ना भएका विद्यार्थी यूकेजी उत्तीर्ण भएर गएका हुन् ।
यो विद्यालयमा अहिले प्रधानाध्यापक, एक अस्थायी शिक्षक र ईसीडीमा एक शिक्षक छन् । झौखेलमा सञ्चालन गरिएका इँटाभट्टा हटाएसँगै भट्टामा काम गर्ने श्रमिकका छोराछोरी विद्यालयमा नियमित नआएपछि विद्यालय खाली हुँदै गएको छ । १० वर्ष अगाडिसम्म विद्यालयमा विद्यार्थी खचखच हुन्थे तर पछिल्ला वर्षमा भने विद्यालयले अभिभावकको विश्वास गुमाउँदै गएको छ ।
“पहिला राम्रो थियो, स्थानीयका छोरीछोरी यही पढ्थे, तर पछिल्ला वर्ष क्रमिक रूपमा विद्यार्थी घटिरहेका छन्,” प्रधानाध्यापक कल्पनाले भन्छिन्, “हामीले स्थानीयका बच्चा ल्याउन माध्यम भाषामा परिवर्तन गर्नुपर्छ, त्यसका लागि शिक्षकको अभाव छ ।” मजदुर तथा श्रमिक परिवार एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सरिरहने भएकाले भर्ना भएका बालबालिका पनि विद्यालयमा नियमित उपस्थित हुने नसकेको कल्पना बताउँछिन् ।
कता जान्छन् बालबालिका ?
चाँगुनारायण नगरपालिकाले वडामा शिक्षाका लागि लगानी गरे पनि स्थानीय अभिभावकका छोराछोरीलाई आकर्षित गर्न सकेको छैन । स्थानीयका छोराछोरी उपत्यकाकै अरू विद्यालयमा दैनिक गाडीमा आउने–जाने गरेका छन् ।
वडाभित्र रोजगारी तथा जीविकोपार्जनका लागि वैकल्पिक मार्गको खोजीमा अन्य जिल्लाबाट आएका मजदुर तथा श्रमिकका छोराछोरी मात्र सामुदायिकमा भर्ना हुने गरेका छन् । काम पाउन छाडेपछि उनीहरू अन्तै सर्ने भएकाले बालबालिकाले शैक्षिक सत्र नै पूरा गर्न नपाउने चेतना आधारभूत विद्यालयका प्रधानाध्यापक राजन बताउँछन् ।
“विद्यालय पायक पर्ने ठाउँमा छैन, स्थानीयको खिचातानीका कारण अभिभावकले विद्यालयलाई विश्वास गरेनन्,” उनी भन्छन्, “अभिभावकको शिक्षक, जनप्रतिनिधि तथा सरकारी कर्मचारीका छोराछोरीले नपढ्ने विद्यालयमा आफ्ना छोराछोरी पढाउँदा प्रतिष्ठा नै कमजोर हुने बुझाइका कारण सामुदायिक विद्यालयका भवन सुविधा सम्पन्न भए पनि कक्षाकोठा रित्तिँदै गएका छन् ।”
चाँगुनारायण नगरपालिका–७ स्थित बागेहिणी माध्यमिक विद्यालय पनि भूकम्प प्रभावित विद्यालय हो । भूकम्पपछि चारकोठे आकर्षक तथा सुविधा सम्पन्न भवन बने पनि विद्यार्थी आकर्षण गर्न भने सकेन । सो विद्यालयमा पुनर्निर्माणपछि पनि ईसीडीमा मात्र बालबालिका भर्ना भएका छन् ।
नगरपालिकाको इमिस रिपोर्टअनुसार सो विद्यालयमा ईसीडीमा १६ जना, कक्षा १ मा ६ जना, कक्षा २ मा ६ जना, कक्षा ३ मा २ जना र कक्षा ५ मा ५ जना विद्यार्थी रहेका छन् भने बाँकी ६ देखि १० कक्षामा विद्यार्थी शून्य छन् ।
स्थानीय बासिन्दाको आवश्यकता र विज्ञको सुझावका आधारमा खोलिएका सामुदायिक विद्यालय अहिले रित्तिँदै गएकोमा दुःख लागेको चाँगुनारायण नगरपालिका–६ का वडाध्यक्ष धनबहादुर लामाले बताए ।
“विद्यार्थी आकर्षण बढाउन प्रयास गरिए पनि सकिएको छैन,” उनी भन्छन्, “स्थानीयका छोराछोरीलाई विद्यालय भित्र्याउने वातावरण नबनेसम्म सबै सामुदायिक विद्यालयले विद्यार्थी समस्या झेल्नुपर्ने निश्चित छ, यसका लागि गुणस्तर सुधारमा राज्यको ध्यान जान जरुरी छ यो काम वडाले मात्र गर्न सक्दैन ।”
विद्यार्थी संख्या कम तथा बन्द अवस्थामा रहेका विद्यालयलाई शिक्षा ऐन तथा नियमावलीअनुसार समायोजन तथा तह घटुवाको प्रक्रिया स्थानीय सरकारले अघि बढाएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता चन्द्रकान्त भुसालले बताए ।
के हो समस्या ?
सामुदायिक विद्यालयले अभिभावकको विश्वास जित्नका लागि पहिला सिकाइमा सुधार हुनुपर्ने, सिकाइ सुधारका लागि शिक्षक अद्यावधिक हुने, आफ्नो समय शतप्रतिशत विद्यालय सुधारमा लगाउनुपर्ने र आफूलाई विश्वास गर्नुपर्ने धारणा छ– प्रधानाध्यापक राजनको ।
“राज्यले शिक्षकलाई गरेको लगानी न्यून हुन सक्छ तर शिक्षकले निजीमा हुँदा शतप्रतिशत, अस्थायी, करारमा र राहतमा भए ७५ प्रतिशत र स्थायी हुनेबित्तिकै ५० प्रतिशत मात्र काम गर्ने प्रवृत्तिको अन्त्य गरेर पूरा समय दिनुपर्छ,” उनी भन्छन्, “पहिला शिक्षक, कर्मचारी र जनप्रतिनिधिले निजी विद्यालयको मोह छाडेर आफूलाई विश्वास गरेर आफूले पढाउने विद्यालयमै छोराछोरी पढाउनुपर्छ ।”
उनका अनुसार विद्यालयका विभिन्न गतिविधिमा हुने राजनैतिक हस्तक्षेपको अन्त्य गरी विद्यालय शान्ति क्षेत्रको अवधारणा कार्यान्वयन हुनुपर्छ ।
अनिवार्य तथा निःशुल्क शिक्षा ऐनले परिकल्पना गरेको लक्ष्य एवं उद्देश्यअनुरूप ऐन कार्यान्वयन गर्नुपर्छ । सबैलाई आधारभूत शिक्षामा पहुँच विस्तार गर्न अभिभावकको मागअनुरूपको माध्यम भाषा तथा अभिभावकमा जनचेतना अभिवृद्धि गर्नुपर्छ ।

अभिभावकको मोह निजी विद्यालयप्रति छ । अंग्रेजी भाषा भनेपछि हुरुक्कै हुने प्रवृत्ति बढेको छ । सामुदायिक विद्यालयले निजीसँग प्रतिस्पर्धा गर्नुभन्दा पनि सामुदायिक विद्यालयको गुणस्तर सुधारमा ठोस कदम चाल्नुपर्ने प्रधानाध्यापक कल्पना बताउँछिन् । “विद्यालयमा बालबालिका टिकाउन सकिएको छैन, यसका लागि शिक्षकको मात्र एकल प्रयासले सम्भव छैन,” उनी भन्छिन्, “सरोकारवाला सबैले सहयोग नगरे सामुदायिक विद्यालयको साख जोगाउन कठिन छ ।”
सरकारले अहिले कक्षा १ देखि नै अंग्र्रेजी विषयको पठनपाठन गराउँदै आएको छ । विद्यार्थी नहुनुमा माध्यम भाषाभन्दा पनि विद्यालयमा नियमित कक्षा सञ्चालन तथा सबै कक्षामा विषय शिक्षक व्यवस्थापन आवश्यक भएको त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका पूर्वसहायक डिन सहप्रध्यापक डा. कुस्मिला आचार्य बताउँछिन् ।
“कतै शिक्षक मात्र, कतै विद्यार्थी मात्र हुने परिपाटीको अन्त्य गरी शिक्षक दरबन्दी व्यवस्थापन, विद्यार्थीको सिकाइ उपलब्धि र शिक्षण सुधार गर्नुपर्छ,” उनी भन्छिन् । कतिपय सामुदायिक विद्यालयमा अहिले पनि नयाँ भर्ना पाउन नसकिने अवस्था सिर्जना भइसकेको छ । ती विद्यालयमा प्रधानाध्यापक, शिक्षक, अभिभावक, शिक्षक अभिभावकको एकता तथा विद्यालयप्रति अपनत्वको भावना विकास भइसकेको छ ।
प्रधानाध्यापक, शिक्षक एकता राम्रो भएको विद्यालयमा निजीबाट सामुदायिकमा विद्यार्थी हुन आउने गरेका छन् । शिक्षकको लगनशीलता, एकता र समुदायको सचेतना वृद्धि गर्नेबित्तिकै सामुयिक विद्यालयमा विद्यार्थी खचाखच हुने गरेको उनको धारणा छ ।
समायोजन उत्तम विकल्प
विद्यार्थी संख्या घट्दै गएपछि विद्यालय समायोजना तथा तह घटुवाको प्रक्रियामा जाने तयारीमा रहेको चाँगुनारायण नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख दिनेश अर्यालले बताए ।
“नगरपालिकाभित्रका विद्यार्थी अत्यन्तै न्यून भएका १६ वटा विद्यालयलाई के गर्ने भन्ने विषयमा अध्ययन गर्न विद्यालय राइट साइजिङ अध्ययन कार्यदल गठन गरेका छौं, कार्यदलले प्रतिवेदन बुझाउने तयारीमा छ, प्रतिवेदनको सुझावका आधारमा मर्ज गर्ने कि तह घटुवा गर्ने भन्ने विषयमा निर्णय गर्छौँ,” उनले भने ।
कार्यदलले कक्षा ८ सम्म सञ्चालन भएका आधारभूत तहमा सय जनाभन्दा कम विद्यार्थी भएका विद्यालयको तह घटुवा गर्न सिफारिस गरेको छ । सिफारिसअनुसार कक्षा ५ सम्म सञ्चालन भएका ८ वटा, कक्षा ८ सम्म सञ्चालन भएका ४ वटा र २ वटा माविको तह घटुवा गर्न सुझाएको छ ।
भवन के गर्ने ?
विद्यालय पुनर्निर्माणको अभियान सञ्चालन भइरहेको तत्कालीन समयमा शिक्षा मन्त्रालय र अर्थ मन्त्रालयलाई सुझाव दिएर आफू थाकेको भए पनि नसुनेको शिक्षाविद् डा. विद्यानाथ कोइराला बताउँछन् । “जति भने पनि अर्थमन्त्री र शिक्षामन्त्रीको टाउकोमा बत्ती बलेन,” उनले भने, “शिक्षा ऐन तथा नियमावलीका आधारमा नक्सांकन भएका विद्यालयमा पनि विद्यार्थी, जनसंख्या र भूगोललाई मध्यनजर राखेर भवन पुनर्निर्माण गरेको भए राज्यको लगानी बच्थ्यो पुनर्निर्माणका लागि खर्च भएको पैसा राज्यले गुणस्तर सुधारका लागि प्रयोग गर्न सक्थ्यो ।”
थोरै विद्यार्थी भएर तह घटुवा तथा बन्द भएका विद्यालय भवन अब पनि बालबालिकाको व्यक्तित्व विकासका लागि प्रयोग गर्नुपर्नेमा शिक्षाविद् डा. विद्यानाथ कोइरालाको जोड छ ।
उनका अनुसार ती विद्यालयमा भर्ना भएका थोरै विद्यार्थीलाई स्थानीयस्तरमा खुलेका निजी विद्यालयमा निःशुल्क पढ्ने व्यवस्था सरकार (स्थानीय सरकार) ले व्यवस्था गर्नुपर्छ ।
ती विद्यालयलाई बालबालिकाकै सिर्जना र पुरातात्त्विक सम्पदा संरक्षण गरेर संग्रहालयका रूपमा प्रयोग गराउनुपर्छ । “फुटसल, संग्रहालय, पुस्तकालय, ट्रेनिङ सेन्टर, कृषि केन्द्र, प्राविधिक तालिम तथा स्वरोजगारीको अवस्था सिर्जना गराउनुपर्छ,” उनी भन्छन्, “खेल्न आउने, रैथाने सीप र प्रविधि तालिम बालबालिकालाई रुचिअनुसार प्रदान गर्न सकेमा ती भवनबाटै बालबालिकाले गरिखाने सीप आर्जन गर्न सक्छन्, नत्र राज्यको लगानी खेर जाने निश्चित छ ।”
नयाँ सिर्जना गर्न बालबालिकालाई इन्टर्नका रूपमा परिचालन गर्न आफूले स्थानीय, प्रदेश र संघ सरकारलाई बारम्बार सुझाएको उनले बताए । “शिक्षा क्षेत्र राजनीति मुक्त हुन सकेन, यसलाई विशुद्ध ज्ञानआर्जनको थलोका रूपमा विकास गर्न राजनैतिक संवाद गर्नुपर्छ ” शिक्षाविद् विद्यानाथले भने, “यसो गर्न नसकेमा नेतालाई भोट पक्का, जनतालाई चोट पक्का हुने हुँदा सहमति गर्दै समस्या चिर्न आवश्यक छ ।”
यो पनि पढ्नुहोस् :
टहरामै ज्यान गुमाइरहेका छन् भूकम्पपीडित
भूकम्प प्रभावित विपन्नको छैन बलियो घर, राज्यको भएन भर
भूकम्प विस्थापितको पुनःस्थापनामा अर्बौँको लगानी, बालुवामा पानी
कभर तस्बिर : भक्तपुरको चाँगुनारायणमा रहेको गणेश आधारभूत विद्यालयको भवन । भूकम्पपछि पुनर्निर्माण गरिएको यो विद्यालयमा कक्षा २ भन्दामाथि विद्यार्थी नै छैनन् । तस्बिर : अमृता बुढाथोकी/निमजिन
यो सामग्री पुन: प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो पुन:प्रकाशन नीति अनुसार प्रकाशन गर्नुहोस् । पुन:प्रकाशन निर्देशिका यहाँ छ ।