किसानले खेतबारीमा घातक विषादीको प्रयोग बढाइरहेका छन् । विषादीको प्रयोग हरेक वर्ष १० प्रतिशतका दरले बढ्दै गइरहेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको आँकडा छ । विषादीको बढ्दो प्रयोगले मानव स्वास्थ्य मात्रै होइन पर्यावरण र पारस्थितिक प्रणालीमा समेत गम्भीर असर परिरहेको छ ।
... ...
बाजुराका दीपकराज जैसीले भक्तपुरको चाँगुनारायण नगरपालिका—८ मा साढे ३ रोपनी जग्गा भाडामा लिएर दुई वर्षयता टनेलभित्र गोलभेँडा खेती गरिरहेका छन् । गोलभेँडा खेतीमा उनी रासायनिक मलका साथै वैशाखदेखि असारसम्म तीन महिना विषादी प्रयोग गर्छन् ।
भक्तपुरकै सूर्यविनायकस्थित गुन्डुमा विगत डेढ वर्षदेखि १० रोपनी जग्गा भाडा लिएर गोलभेँडालगायत तरकारी खेती गरिरहेका दाङका आत्मराम बुढाथोकी किराको प्रकोप धेरै भएकाले गोलभेँडामा हप्तामै २–३ पटक विषादी हाल्ने गरेको सुनाउँछन् । वर्षमै ३५ हजार रुपैयाँ विषादीकै लागि खर्च हुने गरेको उनी बताउँछन् ।
बालीभन्दा किरा बलिया हुँदा विषादी प्रयोगबिना उत्पादन हुनै छाडेको पनौती नगरपालिकाकी कृषक सीता दाहालले बताइन् । उनले भनिन्, “गोलभेँडामा विभिन्न पाँच थरीका विषादी हाल्ने गरेका छौँ, हप्तामै छरेको विषादीले कामै नगरेपछि कडा खालका विषादी छर्ने गरेका छौँ ।”
बाली नालीमा किरा देखिनेबित्तिकै किसानले विषादी खोज्ने प्रवृत्ति बढेको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार हरेक वर्ष १० प्रतिशतका दरले विषादी प्रयोग बढेको छ । बढ्दो विषादी प्रयोगले मानव स्वास्थ्य मात्रै होइन, पर्यावरण र पारस्थितिक प्रणालीमा समेत गम्भीर असर परिरहेको छ ।
कृषकले जथाभावी रासायनिक विषादी हाल्दा शत्रुनाशक प्राकृतिक किरा मर्ने र कडा खालको विषादी पनि सजिलै पचाउन सक्ने नयाँ किराहरू पैदा हुने जोखिम बढेको राष्ट्रिय कीट विज्ञान अनुसन्धान केन्द्रका कीटविज्ञ काशीनाथ चिलुवालले बताए ।
कृषिका पकेट क्षेत्रहरूमा केरा, टमाटर र आलुमा बढी मात्रामा विषादी प्रयोग भएको पाइने गरेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका कार्यालय प्रमुख भोजराज सापकोटाले बताए ।
राष्ट्रिय कृषि गणना, २०७८ अनुसार नेपालमा पछिल्लो समय रोग किराको वृद्धि ६०.८ प्रतिशत छ । बाली नालीमा विषादी प्रयोग गर्ने कृषक परिवारको संख्या २६.७ प्रतिशत छ । कृषि गणनाअनुसार देशमा किसान ४१ लाख ३१ हजार घर परिवार अर्थात् ६२ प्रतिशत कृषक छन् ।
तरकारीमा रासायनिक मल प्रयोग गर्ने कृषक २३ प्रतिशत छन् । तरकारीमा सुरक्षित विषादीको प्रयोग गर्ने ५३ प्रतिशत छन् । पछिल्लो समयमा मकै, गहुँ, आलुमा विषादीको प्रयोग गर्ने कृषक २ लाख ३२ हजार ८ सय ३६ छन् ।
गोलभेँडामा लाग्ने टुटा, बालीमा लाग्ने फौजीकिरा, धानमा लाग्ने फटके किरा, स्याउमा लाग्ने भुवादार लाइकिरासमेत बाहिरी मुलुकबाट आएका किरा भएको कीटविज्ञ काशीनाथ बताउँछन् । “विषादीको मात्रा बढ्नु र कडा खालको विषादी प्रयोगले पनि यस्ता किरा अरु बलिया बनेका छन्,” कीटविज्ञ काशीनाथले भने ।
गोलभेँडामा टुटा, डढुवा र लाइकिराले सताउने गरेको अनुभव पनौतीकी किसान सीता दाहालको छ । ती रोग किरा हटाउन बजारमा पाइने विषादी प्रयोग गर्दै आएको उनले बताइन् । बजारमा बिक्रीका लागि लैजानुअगाडि गोलभेँडालाई रातो र आकर्षक बनाउन पनि रासायनिक औषधि प्रयोग गर्ने गरेको उनले सुनाइन् ।
पनौती नगरपालिका—१० की वडा सदस्यसमेत रहेकी कृषक सुमित्रा अधिकारी विषादी प्रयोग रहर नभई बाध्यता भएको बताउँछिन् । “विषादी नहाल्दासम्म व्यापारीले खोजेजस्तो आकर्षक र गुणस्तरको गोलभेँडा र तरकारी उत्पादन गर्न कठिन छ,” उनले भनिन्, “बजार पाउनकै लागि कृषकले बाध्य बनेर विषादीको प्रयोग गरिरहेका छन् ।”
१२ वर्षयता तरकारी खेती गरिरहेका ललितपुर—२२ का जीवन केसी पनि विषादी प्रयोगबिना उत्पादन गर्न कठिन भइसकेको सुनाउँछन् । बागमती प्रदेशका पूर्वयातायातमन्त्री प्रेमभक्त महर्जनसँगको साझेदारीमा १ करोड रुपैयाँ लगानी गरी २५ रोपनी क्षेत्रफलमा उनले तरकारी खेती गरिरहेका छन् ।
गोबर र गहुँत मिलाएर झोल मलसँगै अर्गानिक विषादी हाल्ने गरे पनि त्यसले काम नगरेपछि रासायनिक विषादी हाल्ने गरेको उनले सुनाए । “डढुवा, रोगका साथै टुटा किराले दुःख दिइरहेकोले दुई दिनमै गोलभेँडामा विषादी हाल्नुपर्छ”, उनले भने ।
धेरै र आकर्षक उत्पादन गर्ने नाममा चाहिनेभन्दा धेरै मात्रामा रासायनिक विषादीको प्रयोग भइरहेको कृषि विज्ञहरू बताउँछन् । गोलभेँडाको बारीमा रोग किरा नियन्त्रणका लागि कृषकले ‘कारसजनिक’ विषादीको प्रयोग गरिरहेका छन् । यो कडा खालको ढुसी नाशक विषादी हो । “यस्तो विषादीमा क्यान्सर बनाउन सक्ने रसायनको प्रयोग हुन्छ”, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोखरेलले भने ।
विषादीको खतराको आधारमा चारवटा संकेतमा विषादीलाई वर्गीकरण गरिएको हुन्छ । हरियो, नीलो, पहेँलो र रातो । रातो संकेत गरिएका विषादी अति घातकमा दर्ज छन् । हरियो संकेत गरिएको विषादी औसतमा कम असर गर्ने र सुरक्षित मानिन्छ ।
खाद्य सुरक्षा मापदण्ड बमोजिम रोकावट (Enzyme Inhibition) ३५ प्रतिशत भन्दा कम भएकालाई खानयोग्य मानिन्छ जुन तलको टेबलमा हरियो रंगमा अंकित गरिएको छ । ३५ देखि ४५ प्रतिशत पाइएमा भने क्वारेन्टिनमा होल्ड गरी पुनःपरीक्षण गरिन्छ, जसलाई पहेँलो रंगमा अंकित गरिएको छ । त्यस्तै ४५ प्रतिशत भन्दा बढी पाइएमा नष्टै गर्ने प्रावधान छ । जुन रातो रंगमा अंकित छ ।
धेरै भिटामिनयुक्त र स्वस्थ्थ तरकारी मानिने भएकाले खपत बढिरहे पनि सागमा हालिने विषादी सबैको भान्सामा पुगिरहेको छ । शरीरका लागि आवश्यक पोषकतत्त्व पूर्तिका लागि भान्सामा पाक्ने सागसँगै हामीले विष पनि खाइरहेका छौँ । सागमा खान नहुने गरी विषादी प्रयोग भइरहेको केन्द्रीय कृषि प्रयोगशालाको नमुना परीक्षणबाटै पुष्टि भएको हो । केन्द्रीय कृषि प्रयोगशालाबाट २०८१ मंसिरको परीक्षणमा सागमा ३९ देखि ८२ प्रतिशतसम्म विषादीको रोकावट पाइएको छ ।
विषादी प्रयोगपछि पर्खिनुपर्ने समय पालना नगरेको र धेरै मात्रामा प्रयोग गर्दा प्रयोगशालाबाट विषादीको द्रुत अवशेष परीक्षण गर्दा रोकावट प्रतिशत बढी देखिन्छ ।
धेरै मात्रामा विषादी छर्ने र न्यूनतम होल्ड गर्ने समय ख्यालै नगरी बजारमा पुग्ने गरेकाले रोकावट प्रतिशत बढी देखिएको केन्द्रीय कृषि प्रयोगशालाका बाली संरक्षण अधिकृत महेश तिमिल्सिना बताउँछन् ।
केन्द्रीय प्रयोगशालाबाट हुने विषादी अवशेष द्रुत विश्लेषणको नमुना परीक्षणले विषादीको मात्रा मात्रै पत्ता लाग्छ । कुन खालको विषादी प्रयोग भएको रहेछ भनेर नमुना परीक्षणले केही बताउन सक्दैन । केन्द्रीय प्रयोगशालामा त्यस्तो प्रविधिसमेत छैन ।
कुन विषादी कति मात्रामा प्रयोग भएको रहेछ त भनेर थाहा पाउनका लागि केन्द्रीय कृषि प्रयोगशालाले प्रतिबन्धित कडा खालका विषादी प्रयोग भएको आशंका लागेमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा पठाउने व्यवस्था छ । तरकारीमा कुन विषादी हालिएको रहेछ भनेर परीक्षण गर्न यो वर्ष भने विभागको प्रयोगशाला नमुना नपठाएको केन्द्रीय कृषि प्रयोगशालाकी प्रमुख डा. शान्ता कार्कीले बताइन् । तरकारी पकेट क्षेत्रमा गएर अध्ययन गर्दा साग र गोलभेँडामा अगानोफस्फेट, कार्बाेमेट्स प्रकारका कडा खालका विषादी बढी नै प्रयोग भइरहेको पाइएको छ,” उनले भनिन् ।
भक्तपुर नगरपालिकाका कृषि अधिकृत रवि ख्याजू खेतबारीमा किराहरूको विषादी सहने क्षमता बढेपछि किसानले एग्रोेभेटबाट किनेर रातो संकेत गरिएका कडा र प्रतिबन्धित खतरनाक विषादी प्रयोग गरिरहेको बताउँछन् । रातो खालका विषादी अति खतरनाक छन् । कृषकले गोलभेँडा र तरकारीमा प्रयोग गरिरहेको पाइएको उनले जानकारी दिए ।
छिटो उत्पादन र फाइदा लिने धाउन्नमा कृषकले शत्रुजीव नियन्त्रणको लागि रासायनिक विषादीहरू प्रमुख अस्त्रका रूपमा प्रयोग गर्दै आइरहेका छन् । विषादीको प्रयोग हरेक वर्ष १० प्रतिशतका दरले बढ्दै गइरहेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको आँकडा छ ।
नेपालमा प्रतिवर्ष ३९६ ग्राम प्रतिहेक्टर विषादी प्रयोग गर्नु पर्ने मापदण्ड भए पनि तरकारी बालीमा औसत खास विष १६०५ ग्राम प्रतिहेक्टरका दरले प्रयोग भइरहेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको अध्ययनले देखाएको छ । कृषिमा प्रयोग हुने विषादीको झन्डै ८० प्रतिशत विषादी तरकारी बालीमा प्रयोग हुने गरेको सो अध्ययनले देखाएको हो । यो एक दशक अगाडिको सरकारी सर्वेक्षण हो । प्लान्ट क्वारेन्टाइनले हरेक एक दशकमा गर्ने विषादी प्रयोगको सर्वेक्षण नियमित नहुँदा विषादीको खपतको मात्रा र त्यसले पुर्यारहेको क्षतिको पछिल्लो विवरण आउन सकेको छैन ।
आफ्नै उत्पादन खान डराउँछन् किसान !
काभ्रे पनौती खोपासीकी सीता दाहालले घर परिवारमा प्रयोग गर्न भने अलग्गै खेती गरेकी छन् । आफूले प्रयोग गर्ने तरकारीमा भने उनले गाईको पिसाब, निम, बकाइनो, केतुके, पिना, सख्खर, साबुन, राजबेली, सिउडी, भिक्स झार मिलाएर बनाएको घरेलु विषादीसँगै प्रांगारिक जैविक मलको प्रयोग गरिरहेकी छन् ।
“ताजा सागदेखि हरेक हरिया तरकारी विषादीबिना उत्पादन नहुने र अन्नमा समेत प्रयोग गरिएको विषले स्वास्थ्यमा जोखिम पैदा गर्ने भएकाले किनेर खान आफैँलाई डर लाग्ने गरेको छ,” सीताले भनिन् ।
काभ्रेको धुलिखेल नगरपालिकाका वडा नं.१२ शंखूका राज गोले पनि आलु र टमाटरमा हप्तापिच्छे विषादी प्रयोग गर्नुपरेको सुनाउँछन् । “ती आलु र टमाटर खाँदा भोलि आफैँ रोगी भइन्छ कि भन्ने डर लाग्छ,” उनले भने ।
व्यावसायिक प्रयोजनका लागि रासायनिक विषादी प्रयोग गर्ने टनेल आसपासमै अर्गानिक उत्पादन गरे पनि त्यो उत्पादन शुद्ध नहुने र त्यसमा पनि विषादीको असर पर्ने कृषि विज्ञहरू बताउँछन् । “सँगैको टनेलभित्र तरकारीमा छर्ने रायायनिक विषादी हावा, पानी र माटोका माध्यमबाट अर्को अर्गानिक उत्पादन गरिरहेको टनेलका बोटबिरुवासम्म पुग्ने गर्दछ,” कीटविज्ञ काशीनाथ चिलुवालले भने, “कृषकले आफैंले उपभोगका लागि मात्रै अर्गानिक हिसाबले उत्पादन गरेको तरकारीमै पनि केही हदसम्म विष खाइरहेका छन् ।”
व्यावसायिक हिसाबले बिक्रीवितरणका लागि तरकारी खेती गर्ने कृषकले आफ्ना लागि छुट्टै घरेलु प्रांगारिक औषधिहरू निम, पाती, भाङ, टिम्मुर, खुर्सानी, गाईको पिसाब, धतुरोलगायतको प्रयोग गरी उत्पादन गर्ने गरेको पाइएको केन्द्रीय कृषि प्रयोगशालाका बाली संरक्षण अधिकृत महेश तिमिल्सेनाले बताए ।
सुरक्षा र सावधानीबारे बेपरवाह किसान
चाँगुनारायण नगरपालिकाका कृषक दीपकराज जैसी जोखिम मोलेर विषादी प्रयोग गरिरहेका छन् । “मास्क, टोपी, लगाउने गरेको छु, तर यसले मात्रै हुँदैन, शरीरका विभिन्न अंगमा विषादी छिर्छ, केही होला कि भन्ने चिन्ताले सताइरहन्छ,” उनी भन्छन् ।
पनौतिकी सीता दाहाललाई बारीमा विषादी छरेको दुई दिनसम्म घाँटी र शरीर चिलाउने, कोक्याउने, टाउको दुख्ने गर्छ । “बोटको फेदमा छर्दा त केही हुँदैन, आफ्नै टाउको माथि लगेर बोटको माथिसम्म छर्दा त आँखामै पर्छ,” उनले भनिन्, “हलक्क बढेका बोटमा विषादी छर्दा भने घाँटी खिर्याउने खसखस भएर हप्ता दिनसम्म निकै गाह्रो हुन्छ, विषादी कडा रहेछ भन्ने आफैँलाई अनुभव हुन्छ ।”
धुलिखेल नगरपालिका—१२ मा ७ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेका राज गोले मास्क, पन्जा, जिउ छोप्ने रेनकोटलगायतका पहिरन नलगाईकनै खेतको आलुमा विषादी छरिरहेको भेटिए । “विषादी छर्दा मास्क, पन्जा र रेनकोट लगाउनुपर्ने सुने पनि त्यसबारे होसियार छैनौँ,” उनले भने । ७ वर्षयता आलु खेती गरिरहेका उनले आलुको सिजनमा महिनामै ५ पटकसम्म विषादी छर्नुपरेको सुनाए । विषादी छर्दा कसरी छर्ने भन्ने अहिलेसम्म कतैबाटै तालिम नलिएको उनले बताए ।
ललितपुर महानगरपालिका—२२ चुनीखेलमा ४ रोपनी जग्गा भाडामा लिएर दुई वर्षयता तरकारी खेती गरिरहेका दैलेखका पुष्पक शाही आफैं एग्रोभेट सञ्चालक पनि हुन् । उनी अरू किसानलाई विषादी बेच्छन् । आफैं पनि तरकारी बालीमा विषादी हाल्दछन् । रासायनिक मलसँगै गोलभेँडामा विषादीका लागि राम्रै लगानी भएको उनी बताउँछन् ।
विषादीविरुद्ध नागरिक जाग्दै, स्थानीय सरकार उदासिन !
प्लास्टिक टनेलभित्र गोलभेँडालगायतका तरकारी खेती गर्ने क्रममा जथाभावी विषादीको प्रयोग भएकाले असर परेको भन्दै यस्तो कार्य तत्काल बन्द गर्न चाँगुनारायण नगरपालिका—८ का बासिन्दाले नगरपालिका र वडा कार्यालयलाई गुहारेका छन् ।
पुस २८, २०८१ मा स्थानीयले बासिन्दाले हस्ताक्षरसहित नगरपालिकालाई बुझाएको निवेदनमा चाँगुनारायण नगरपालिका—८ साबिक सुडाल—५ मा बस्तीवरपर आफू खुसी टनेल हाली खेतीपाती गर्नेहरूले हालेको विषादीबाट वरपर बसोबास गर्ने मानिसहरूलाई विभिन्न किसिमका रोग लाग्ने जोखिम बढेकाले नगरपालिकाबाट अनुगमन गर्न माग गरिएको थियो ।
“कृषकले के कसरी विषादी छर्किरहेका छन् भनेर जाँचबुझ गरिरहेका छौँ,” नगरपालिकाका कृषि अधिकृत सुरेश सिम्खडाले भने । विषादीको अधिक प्रयोगले समस्या आएको उनले बताए ।
यस्तै खेतीमा प्रयोग गरिएको विषादी र फ्याब्रिक कारखानाले टोलभरि वायु प्रदूषण गराइरहेको भन्दै माघ १८, २०८१ मा सूर्यविनायक नगरपालिका—८ सिपाडोलका बासिन्दाले पनि वडामा निवेदन दिएका छन् ।
वडा नं. ८ का वडासचिव मोहन गिरीले स्थानीयको निवेदनमाथि अनुगमन गरी वडाले आवश्यक कदम चाल्ने गरेको बताए ।
पनौतीकी स्वास्थ्य स्वयंसेविका ममता भारती अन्धाधुन्ध विषादी प्रयोग भइरहे पनि स्थानीय सरकार नियमन र नियन्त्रणमा रमिते हुँदा कृषक जोखिममा परेको बताउँछिन् ।
पनौती नगरपालिका कृषि अधिकृत सन्तोष पाण्डे कृषकहरू एग्रोभेटकै सल्लाहबाट विषादी खरिद गरी प्रयोग गरिरहे पनि ठीक मात्रामा र उचित विधिबाट नभइरहेको बताउँछन् । जनशक्ति थोरै भएकाले सबै कृषकको घरसम्मै सेवा दिन कठिन भएको उनले बताए । “कृषकबाट विषादी तोकिएभन्दा ज्यादा प्रयोग भइरहेको छ, अहिले असर नपरे पनि दीर्घकालीनचाहिँ देखिन्छ,” उनले भने, “कृषकहरू लगानी उठाउन र बाली जोगाउनमा केन्द्रित छन्, जनस्वास्थ्य र जोखिमबारे बेवास्ता गरिरहेका छन् ।”
रोग किरा नियन्त्रण, एग्रोभेटको अनुगमनमा प्रभावकारी काम गर्न नगरपालिकाले नसकेको उनले स्वीकार गरे । “हामी अनुदान वितरण र कागजी डकुमेन्ट बनाउनै वढी समय खर्चिएकाले रोग किरा नियन्त्रण, बाली संरक्षणमा कृषकलाई खेतबारीसम्म सेवा दिन सकेका छैनौँ, एग्रोभेटकै बदमासीका कारण थुप्रै समस्या र बेथिति पैदा गरेको छ,” चाँगुनारायण नगरपालिका कृषि अधिकृत सुरेश सिम्खडाले भने ।

सूर्यविनायक नगरपालिकाले नगरपालिकाभित्रका व्यावसायिक कृषकले अन्धाधुन्ध विषादी प्रयोग गरेको पाएपछि यो वर्ष विषादी प्रयोग गर्ने तरिकाबारे सचेतनामूलक कार्यक्रम गरिरहेको नगरपालिकाकी सहायक वाली विकास अधिकृत शान्तिला बुढाथोकीले बताइन् ।
भक्तपुर नगरपालिकाका प्राविधिक रवि ख्याजू विषादी छरेपछि न्यूनतम होल्ड गर्ने समयको कृषकले पालना गरे नगरेको बारे निगरानी र एग्रोभेटको नियमन नगरपालिकाले गर्न नसकेको बताउँछन् । “एग्राभेटको अनुगमन गर्न पनि स्थानीय तहसँग स्रोत साधन छैन । प्रदेशले चासो लिएकै छैन,” उनले भने ।
एग्रोभेटकै मनोमानी
जीवनाशक विषादी व्यवस्थापन ऐन २०७६ को परिच्छेद ६ मा जीवनाशक विषादीको जथाभावी प्रयोग गर्न तथा त्यस्तो विषादीको अवशेष तोकिएभन्दा बढी मात्रामा हुने गरी उत्पादन तथा बिक्री वितरण गर्नु हुँदैन ।
जीवनाशक विषादीको बिक्रीवितरण गर्ने व्यक्ति वा संस्थाले सुरक्षित जीवनाशक विषादी तथा सो विषादी प्रयोग र विसर्जन गर्दा लगाइने सुरक्षित पहिरनसमेत बिक्रीका लागि राख्नुपर्ने ऐनमै स्पष्ट छ ।
भेटनरी जेटीएको तालिमपछि पनौती खोपासीमा एग्रोभेट चलाइरहेका स्थानीय कृषक रामप्रसाद हुमागाइँ भन्छन्, “विषादी किन्ने कतिपय ग्राहकलाई मास्क, पन्जा र एप्रोन दिन्छौँ । विषादी किन्न धेरै ग्राहक आउने हुँदा सबैलाई दिन पुग्दैन ।”
पनौती नगरपालिका कृषि अधिकृत सन्तोष पाण्डे किसानले एग्रोभेटकै सल्लाहबाट विषादी खरिद गरी प्रयोग गरिरहे पनि प्रयोग ठीक मात्रामा र उचित विधिबाट नभइरहेको बताउँछन् । जनशक्ति थोरै भएकाले सबै कृषकको घरसम्मै सेवा दिन कठिन भएको उनले बताए ।
“कृषकबाट विषादी तोकिएभन्दा ज्यादा प्रयोग भइरहेको छ, अहिले असर नपरे पनि दीर्घकालीनचाहिँ देखिन्छ,” उनले भने, “कृषकहरू लगानी उठाउन र बाली जोगाउनमा केन्द्रित छन् । जनस्वास्थ्य र जोखिमबारे बेवास्ता गरिरहेका छन् ।”
एग्रोभेटले यो विषादी यस्तो हो यसरी प्रयोग गर्ने, प्रयोग गरेपछि यति दिन पर्खनुपर्दछ भनेर कृषकलाई विषादी किन्दा नै स्पष्ट बुझाउनुपर्छ । छाला, श्वासप्रश्वास, मुख, कुन–कुन अंग जोगाउनुपर्छ भनेर सिकाउनुका साथै विषादी छर्दा लगाउने आवश्यक उपकरण पनि दिनुपर्नेमा त्यसमा ग्याप रहेको वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोखरेलले बताए ।
सूर्यविनायकमा तरकारी खेती गर्दै आएका आत्मराम बुढाथोकी स्थानीय तहका कृषि प्राविधिकसँग आफ्नो पहुँच नपुगेकाले एग्रोभेटले जे भन्दछन् त्यसैअनुरूप छर्ने गरेको बताउँछन् ।

विषादीबारे तालिम, सचेतना र रोग किरा नियन्त्रणका लागि आवश्यक प्राविधिक सल्लाह कृषकसम्म पुग्न सकेको छैन । सरकारले केही कडा खालका विषादीलाई बिक्रीवितरण गर्न प्रतिबन्ध लगाएको छ । “प्राविधिकको सल्लाहमा आवश्यक मात्रामा मात्रै विषादी प्रयोग गर्नुपर्नेमा एग्रोभेटको व्यापारिक होडबाजीमा भइरहेको छ,” केन्द्रीय कृषि प्रयोगशालाका सूचना अधिकारी महेश तिमिल्सिनाले भने ।
प्रतिबन्धित विषादीको प्रयोग गर्न नपाइने उक्त ऐनले स्पष्ट गरेको छ । तर खुला सिमानाको फाइदा उठाउँदै एग्रोभेटले प्रतिबन्धित विषादीहरूको कारोबार पनि गरिरहेको पाइएको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोखरेल खुला सिमानाका कारण यस्तो क्रियाकलाप भइरहे पनि एग्रोभेटको अनुगमन कार्य प्रभावकारी नहुँदा नियमन र नियन्त्रणमा समस्या रहेको बताउँछन् ।
विषादीको प्रयोगले क्यान्सरको खतरा !
गोर्खाको गण्डकी गाउँपालिकामा ६१ जना क्यान्सरका र १५ जना मिर्गाैलाका बिरामी भेटिएपछि भदौ, २०८१ मा पशुपन्छी विकास मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको छ ।
बिरामी परेकामध्ये अधिकांश किसान हुन् । उनीहरूलाई क्यान्सर लाग्नुको कारण यो हो भनेर कार्यदलले किटान गर्न सकेन । गाउँपालिका अध्यक्ष दीपक तिमिल्सना क्यान्सरको कारण के हो राज्यले अनुसन्धान गरी यकिन गर्नुपर्ने बताउँछन् ।
कार्यदलले त्यहाँका किसानको तरकारी बालीको नमुना संकलनपछि विषादी परीक्षण गरेको थियो । तर कार्वामेट र अर्गानोफस्फेट समूहका कीटनाशक विषादीको अवशेषको रोकावट प्रतिशत ३५ भन्दा कम रहेको पाइएको थियो । घटनापछिको नमुना लिएकाले कृषकमा सचेतनाका कारण विषादी हालिए पनि परीक्षण गर्दा तरकारी प्रयोग गर्न योग्य देखिएको अध्ययन कार्यदलको ठम्याइँ छ ।
“कृषकका साथै कृषि नगर्ने मानिसहरू पनि क्यान्सर रोगी भेटिए, कृषकले विषादी छर्दा व्यक्तिगत सुरक्षा र सावधानी साथै छरेपछि पर्खिनुपर्ने समय अवधिको बेवास्ता गरेको पाइयो,” अध्ययन कार्यदलका संयोजक कीटविज्ञ काशीनाथ चिलुवालले भने ।
गण्डकीका किसानमा क्यान्सर हुनुको कारण पत्ता नलागे पनि सन् १९९७ मा अकुपेसनल मेडिसिन : स्टेड अफ आर्ट रिभ्युद्वारा प्रकाशित अमेरिकन अनुसन्धानले विषादीको प्रयोग गर्ने कृषक विभिन्न खालका क्यान्सरको जोखिम हुने गरेको फेला पारेको छ ।
अध्ययनले बिना सावधानी र उपकरणबिना विषादी प्रयोग गर्दा कृषकहरू सबभन्दा घातक खालका क्यान्सरको जोखिममा परेको पत्ता लगाएको हो । छाला, पेट, फोक्सो, अण्डाशयको क्यान्सर विषादी प्रयोग गर्ने कृषकमा पाइरहेको उक्त अध्ययनले पुष्टि गरेको छ ।
सन् २०१९ मा कृषि जर्नलमा प्रकाशित अनुसन्धानकर्ता ज्योति न्यौपानेको अनुसन्धानमूलक लेखमा विषादीको प्रयोगले मानव स्वास्थ्यमा तत्काल र दीर्घकालमा असर पार्ने उल्लेख छ । विषादीको प्रयोग गर्ने कृषकमा छाला चिलाउने, वान्ता आउने, आँखाको दृष्टि क्षमतामा समस्याजस्ता तत्कालीन असर पार्ने र दीर्घकालमा दम र क्यान्सरजस्ता घातक रोगको जोखिम बढाउने उक्त अध्ययनले बताएको छ ।
भक्तपुर क्यान्सर हस्पिटलका अन्कोपार्जिकल विभागका प्रमुख डा. उत्सवमान श्रेष्ठका अनुसार विषादी र क्यान्सरको सम्बन्ध नजिकको छ । क्यान्सरजन्य रासायनिक पदार्थहरूमा केही कीटनाशक हर्विसाइड र अन्य रासायनिक उत्पादनहरू पर्दछन् । “जब यी रसायनहरू शरीरमा लामो समयसम्म रहन्छन् । तिनीहरूले डीएनएमा पुर्याउने क्षतिले क्यान्सरको विकासमा योगदान दिन सक्छ,” उनले भने ।
डा. उत्सवमान विषादी छर्कंदा व्यक्तिगत सुरक्षा नअपनाउने कारण जोखिम बढिरहेको बताउँछन् । उनका अनुसार छाला फोक्सोसम्बन्धी क्यान्सर विषादीको सम्बन्ध छ । “बारीमा विषादी छर्दा छाला र कुनै अंग नदेखिने गरी गर्नुपर्छ,” उनी भन्छन्, “विषादी छर्दा श्वासभित्र जाने स्थानहरू नछोपिए सिधै गएर फोक्सोलाई नै असर गर्दछ । लामो समय यसरी नै प्रयोग गरेमा फोक्सोको क्यान्सर पनि हुन्छ ।”
विषादीसँग नियमित काम गर्ने कृषकहरू क्यान्सरको जोखिममा हुने भएकाले उनीहरूले वर्षमा एक पटक क्यान्सरको परीक्षण गर्नुपर्ने बताए । “जोखिममा रहेका कृषकको छाती, फोक्सो, पेट, छाला र आँखाको सामान्य स्क्रिन एक्सरे गरेपछि, शंका लागेमा जुन अंगमा लक्षण देखिएको छ, त्यसको सिटी स्क्यान्स गरेर क्यान्सर पत्ता लाग्छ,” उनले भने ।
वीर अस्पतालका क्लिनिकल अन्कोली डिपार्टमेन्टका प्रमुख प्रा.डा. विवेक आचार्य भन्छन्, “विषादी तोकिएभन्दा अत्यधिक मात्रामा प्रयोग गरेपछि रगतको क्यान्सर, पेटको क्यान्सर बनाउने, आमाशय (ब्राडर) को क्यान्सर बनाउन मुख्य रूपमा भूमिका खेल्छ ।” विषादीयुक्त खानाले मुटु, कलेजो, मिर्गाैलालगायत सबै अंगमा असर पार्ने उनले बताए ।
कृषकले व्यक्तिगत सुरक्षा र सावधानीको मापदण्ड पालना नगरी विषादीको प्रयोग गर्दा मुखबाट शरीरका विभिन्न अंगमा पुग्ने र यसले शरीरका महत्त्वपूर्ण भागमा असर पार्ने वीर अस्पतालका प्रा.डा. विवेक आचार्य बताउँछन् । “यसले पेटको क्यान्सर, रगतको क्यान्सर, कलेजोको क्यान्सर, पिसाबको क्यान्सर उत्पन्न गर्न सघाइरहेको छ,” आचार्यले भने ।
त्यस्तै, विश्वव्यापी क्यान्सरको प्रक्षेपण गर्ने संस्था ग्लोबल क्यान्सर अब्जरभेटरीको रिपोर्टले पनि नेपालमा क्यान्सर रोगीको अप्रत्याशित वृद्धि भइरहेको देखाएको छ । उसको आँकडाले सन् २०२२ मा मात्रै नेपालमा २२ हजार ८ वटा नयाँ क्यान्सरका केस फेला परेको देखाउँछ । जसमा महिला धेरै १२ हजार २ सय १६ थिए । सो वर्ष मात्रै १४ हजार ७ सय ४ जनाको क्यान्सरकै कारण मृत्यु भएको थियो । उक्त संस्थाले फोक्सोको, पेटको, मुखको, स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरले अग्रस्थान ओगटेको देखाउँछ ।
भक्तपुर क्यान्सर अस्पतालको पछिल्लो ५ वर्षको आँकडाले पनि क्यान्सरका बिरामीको संख्या बढेको देखाउँछ ।
राज्यको स्वास्थ्य नीति र क्यान्सरसम्बन्धी नीतिमा पनि विषादीका कारण क्यान्सरको जोखिम बढेकाले नियमन र नियन्त्रणमा सरकारले विशेष काम गर्नुपर्नेमा जोड दिइएको छ ।
विषादी प्रयोगबाट तत्काल टाउको दुख्ने, वान्ता आउने, वाक्वाकी आउने, हात काप्ने, बेहोस् हुनेलगायतका समस्या हुन्छन् । खतरनाक विषादीले दीर्घकालीन रूपमा क्यान्सर हुने, बच्चाहरूमा अपांगता गर्भपात, कलेजो खराबीजस्ता समस्या देखिएका छन् ।
गर्भावस्थामा विषादीयुक्त आहारविहारले जन्मिने बच्चा अपांगता, सुस्तमनस्थिति र मस्तिष्तकको ट्युमरसमेत हुने विषादी र क्यान्सरसम्बन्धी सन् १९९७ को स्टेड अफ आर्ट रिभ्युबाट प्रकाशित अमेरिकन अध्ययनले देखाएको छ । डा. आरोन ब्लेयर, डा.मेरी एच वार्ड साथै सेलिया होरजाहसको अध्ययनले यस्तो पाएको थियो ।
महाराजगन्जस्थित शिक्षण अस्पतालका डा. राजीव ओझाको अनुसन्धानले विषादीयुक्त तरकारी र फलफूलको सेवनबाट वृद्धवृद्धामा पार्किन्सन हुनुको एउटा महत्त्वपूर्ण कारण भएको पत्ता लागेको छ । सो अनुसन्धानमा बालबालिकामा जन्मँदै अपांगता हुने समस्या पाइएको उल्लेख छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार बर्सेनि विश्वभर ४० लाख व्यक्ति यस्ता विषादीका कारण प्रभावित छन् । त्यसमध्ये करिब ३ लाख जनाको विषादीका कारण मृत्यु हुने गरेको छ ।
उपभोक्ताले अपनाउनुपर्छ सावधानी
उपभोक्ता संरक्षण ऐन २०७५ को परिच्छेद ३ को उपभोक्ताको अधिकारमा वस्तु तथा सेवामा सहज पहुँच, छनोटको अधिकार गुणस्तर मूल्य र परिणाम साथै शुद्धता स्पष्ट उल्लेख छ । त्यस्तै उक्त दफाको (ङ) मा मानव जीउ गुणस्तरबारे सुनिश्चित गरिएको छ । ज्यानको स्वास्थ्य तथा सम्पत्तिमा हानि पुर्याउने वस्तु तथा सेवाको बिक्रीवितरणबाट सुरक्षित हुन पाउने अधिकार छ । उपभोक्ताले ती अधिकार राज्यबाटै वास्तवमा उपभोग गर्न नपाउँदा निरीह बन्नुपरेको छ ।
काठमाडौं महानगरपालिका जैसीदेवलकी ईश्वरी जोशी तरकारीदेखि पानीसम्म विषादीयुक्त हुँदा स्वास्थ्यबारे चिन्तित छन् । भात र अन्नभन्दा तरकारी बढी खान रुचाउने उनलाई अहिले विषादीको प्रयोग भएको सुन्दा तरकारीमा मन मर्दै गएको छ । “तरकारीको अलि बढी नै पारखी थिएँ, सागसमेत बजारबाट घरमा ल्याउन छाडिसकेको छु,” उनले भनिन् ।

६० वर्षकी आफ्नै आमा विष्णुमाया श्रेष्ठलाई दुई वर्ष अगाडि क्यान्सरका कारण गुमाएकी उनी आफ्नो र परिवारको स्वास्थ्यप्रति संवेदनशील र चिन्तित छन् ।
भान्सामा पुगेका तरकारी नुन पानी, पोटासलगायतका कुराले धोइपखाली गरी पकाउने गरेको उनले बताइन् । गोलभेँडामा धेरै विषादी हालेको देखेकी उनले नुन पानीले धोएर एक/दुई दिन फ्रिजमा राखेपछि मात्रै प्रयोगमा ल्याउने गरेको उनले सुनाइन् ।
वीर अस्पतालका डा. विवेक आचार्य किनेर ल्याएको तरकारी साग र गोलभेँडालाई पानीले सफा गर्ने र नुन पानीले पखाल्ने, केही दिन खुला हावामा त्यसै छोडेर राख्न सुझाउँछन् । “यस्ता उपाय अपनाउँदा मात्रै पनि विषादीको मात्रा थोरै कम गर्र्ने सकिन्छ ।”
तर सरकारले विषादीयुक्त तरकारीको उत्पादनलाई रोक्नुपर्ने उनको सुझाव छ । नाकाहरूमा विषादीयुक्त तरकारी र अन्न आउनै नदिने गरी सरकारले काम गर्नुपर्नेमा जोड दिँदै डा. विवेक भन्छन्, “राज्य यसमा जिम्मेवार हुनै पर्दछ, नत्र भोलि यसले विकराल रूप लिन्छ ।”
यो सामग्री पुन: प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो पुन:प्रकाशन नीति अनुसार प्रकाशन गर्नुहोस् । पुन:प्रकाशन निर्देशिका यहाँ छ ।