आपराधिक सोचका व्यक्तिले प्रेमको बहानामा झुक्काएर किशोरी तथा युवतीलाई ‘सेक्सटोर्सन’मा फसाएका घटना बढ्न थालेका छन् । तर, फितलो कानुनका कारण पीडकले उन्मुक्ति पाएका छन् भने पीडितहरू थप पीडामा परेका छन् ।
यसबारेमा विस्तृत चर्चा गर्नुअघि यो स्टोरीमा समावेश केही मुख्य शब्दबारे बुझौँ —
अनलाइन बुलिङ (Online Bullying) : अनलाइन स्पेसमा कसैको व्यक्तिगत विषयलाई लिएर मजाक गरिन्छ भने त्यो अनलाइन बुलिङ वा ह्यारेसमेन्ट हो ।
सेक्सटिङ (Sexting) : अनावश्यक रूपमा अश्लील खालका यौनजन्य म्यासेज लेख्नु सेक्सटिङ हो ।
सेक्सटोर्सन (Sextortion ): गोप्य वा अश्लील तस्बिर देखाएर धम्क्याउने, ब्ल्याकमेलिङ गर्ने वा आपराधिक लाभ लिने कार्य सेक्सटोर्सन हो ।
... ...
काठमाडौंकी करुणा (नाम परिवर्तन) लाई उनीभन्दा ७ वर्ष जेठा अभिनाश प्रधान (२६) ले इन्स्टाग्राममा एउटा नग्न तस्बिर पठाए । तस्बिरसँगै लेखिएको थियो, “मैले भनेको मानिनस् भने यो भोलि तेरो भाइको फेसबुकमा हुन्छ ।”
अभिनाश तिनै व्यक्ति थिए, जोसँग करुणा एक वर्षअघिसम्म प्रेमसम्बन्धमा थिइन् । सम्बन्धमा खटपट आएपछि करुणाले अभिनाशसँग ‘ब्रेकअप’ गरेकी थिइन् ।
ब्रेकअप सहन नसकेपछि अभिनाशले एआई अर्थात् कृत्रिम बुद्धिमत्ताको सहायतामा करुणाको नग्न तस्बिर बनाएर पठाएका थिए । अभिनाशले सो तस्बिर मात्रै पठाएनन्, त्यो तस्बिर देखाएर ‘ब्ल्याकमेल’ र हैरानी गर्न थाले ।
“मैले यो सब रिसको आवेशमा आई गरेको हुँ, करुणाले मलाई छोडेका कारणले मेरो चित्त नबुझेको हुँदा मैले त्यस्तो कार्यहरू गरेको हुँ,” प्रहरीसँगको बयानमा अभिनाशले भनेका छन्, “करुणाको नग्न तस्बिर मैले कसैलाई पनि पठाएको छैन, न त कहींकतै पोस्ट नै गरेको छु ।” नग्न तस्बिर देखाएर ‘ब्ल्याकमेल’ र हैरानी गर्न थालेपछि करुणाले दिएको उजुरीका आधारमा अभिनाश पुस ३, २०८१ मा पक्राउ परेका थिए । अभिनाशविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा छ । जसमा अदालतले चैत २५, २०८१ मा परीक्षण प्रतिवेदन झिकाउने आदेश दिएको छ ।
करुणाजस्तै आफ्नै प्रेमीबाट ब्ल्याकमेल र हैरानीमा परेकी छन्, रामेछापकी तपस्या (परिवर्तित नाम) । उनै आफ्नै उमेरका श्रीकृष्ण कार्की (१९) सँग प्रेमसम्बन्धमा थिइन् । स्कुलदेखिको उनीहरूको प्रेम खटपट परेपछि ‘ब्रेकअप’ भएको थियो । गत माघदेखि श्रीकृष्णले प्रेमसम्बन्धका बेलामा खिचिएका गोप्य तस्बिरहरू आफन्तहरूलाई पठाइदिन्छु भन्दै तपस्यालाई बारम्बार धम्की दिन थाले ।
“भेट्न मनिनस् भने तेरो फोटो परिवारलाई पठाइदिन्छु भनेर धम्की दिन्थ्यो,” तपस्याले प्रहरीसँगको बयानमा भनेकी छन्, “मैले वास्तै नगरी ब्लक गरेर बसेपछि सबै फोटोहरू परिवारका सदस्यहरूलाई मात्रै पठाएन, फेक आईडी बनाएर फेसबुकमा पनि सार्वजनिक गरिदिए ।” कृष्णविरुद्धको मुद्दा पनि काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।
करुणा र तपस्याको जस्तै गोप्य वा अश्लिल तस्बिर देखाएर धम्क्याउने, ब्ल्याकमेलिङ गर्ने वा आपराधिक लाभ लिन खोज्नेहरूबाट पीडित बनेका १२ सय किशोरीहरू पछिल्लो एक वर्षमा नेपाल प्रहरीको साइबर ब्युरोमा पुगेका छन् । र, यो संख्या बढ्दो छ ।
“अफलाइनमा हुने यौनजन्य हिंसा प्रविधिको विकाससँगै अनलाइनमा सरेको छ,” साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थी भन्छन्, “पछिल्लो समय यस्ता घटनाहरू बढिरहेको छ ।”
साइबर ब्युरोको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/२०८० मा यस्ता ९ सय २९ उजुरी दर्ता भएका छन् । त्यस्तै आर्थिक वर्ष २०८०/२०८१ मा १ हजार ३ सय ९६ वटा र आर्थिक वर्ष २०८१/२०८२ मा २ हजार ३ सय २२ वटा उजुरीहरू दर्ता भएका छन् । यी उजुरीहरू साइबर बुलिङ, सेक्सटोर्सन र सेक्सटिङसँग सम्बन्धित छन् ।
चाइल्ड सेफ नेट नामक एक संस्थाको ‘रोमान्स टु रिस्क’ अनुसन्धानले पनि चारमध्ये एक किशोरकिशोरी वा युवाले आफ्नो पार्टनरबाट अनलाइनमा दुर्व्यवहार भोग्ने गरेको देखाएको छ ।
वैवाहिक जीवनमै समस्या
साइबर बुलिङ, सेक्सटोर्सन र सेक्सटिङबाट पीडित हुनेमा किशोरकिशोरी र युवा मात्र छैनन् । विवाहित महिलाहरू पनि यस्तो समस्यामा फसेको साइबर ब्युरोको रेकर्डमा देखिन्छ । यसैमध्येकी एक हुन्, नुवाकोटकी शर्मिला (परिवर्तित नाम) । २९ वर्षकी उनका दुई सन्तान छन् ।
गाउँकै वर्कसपमा काम गर्ने भारतीय नागरिक अमरनाथ कुमार (२०) सँग उनको चिनजान भयो । शर्मिला अमरलाई भाइ भन्थिन् । तर उनीहरूको सम्बन्ध दिदीभाइमा मात्रै सीमित रहेन ।
अमरले भारत गएर पनि उनीसँग नियमित कुराकानी गरिरहे । शर्मिलाले अमरसँग कुराकानी गर्न र सम्पर्कमा रहन चाहिनन् । शर्मिलाका अनुसार उनले कुराकानी गर्न नचाहेपछि अमरले धम्की दिन थाले ।
“तेरो अश्लील तस्बिरहरू मसँग छ, भिडियो कलमा अंगहरू देखा, मानिनस् भने तेरो श्रीमान्लाई भनिदिन्छु भनेर धम्की दिएपछि मैले भिडियो कलमा आफ्नो गोप्य अंग देखाएँ,” शर्मिलाले प्रहरीसँगको बयानमा भनेकी छन्, “भिडियो कलमा मेरो गोप्य अंग देखाएर कुराकानी गर्दा उसले स्क्रिन रेकर्ड गरेको रहेछ, त्यही भिडियो मेरो श्रीमान् र देवरलाई पठाएछ ।”
त्यसपछि शर्मिलाको वैवाहिक जीवनमै धरापमा परेको छ । “मलाई धम्क्याएर मेरो वैवाहिक जीवन जोखिममा पार्यो,” शर्मिलाले बयानमा भनिन्, “मेरा दुई सन्तान छन्, उनीहरूका लागि भए पनि सम्बन्ध जोगाउनुपर्नेछ ।” अमरविरुद्धको मुद्दा पनि काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।
उजुरी गर्न नसक्नेले लिएको गलत बाटो
शर्मिला, तपस्या र करुणाले आफूमाथि भएको दुर्व्यवहारविरुद्ध प्रहरीमा उजुरी गरे । प्रहरीले उनीहरूका पीडकविरुद्ध मुद्दा दर्ता गरेको छ । उनीहरू न्यायका लागि लडिरहेका छन् । तर सबै पीडितले आफूहरूमाथि भएको अपराधका बारेमा उजुरी गर्न चाहँदैनन् । “सबै पीडितहरूले बोल्छन् भन्ने हुँदैन, धेरै घटनाहरू त दर्तै हुँदैन,” चाइल्ड सेफ नेटका अध्यक्ष तथा अनुसन्धाता अनिल रघुवंशीले भन्छन्, “कतिपय पीडितहरू घटना लुकाएर राख्छन्, त कतिपय पीडितहरू आत्महत्या पनि गर्छन् ।”
प्रेममा विश्वास गरेर पठाएका नग्न तस्बिर प्रेमसम्बन्ध बिग्रिएपछि प्रेमीले सार्वजनिक गरिदिँदा आत्महत्या गर्ने किशोरी हुन्, धादिङकी ललिता (परिवर्तित नाम) । कक्षा ११ मा पढ्दै गर्दा उनको आफ्नै उमेरका रुपेश (१६ वर्षका नाबालग भएका कारण नाम परिवर्तन) सँग २०७६ सालमा चिनजान भयो । उनीहरूको चिनजान साथी हुँदै प्रेममा रूपान्तरण भयो । दुवै जनाबीच प्रेम झाँगिँदै गयो ।
उनीहरूको प्रेम सुरु भएको वर्षदिन पुग्दै थियो । चैत, २०७६ को अन्तिम साता रुपेशले ललितासँग नग्न तस्बिर मागे । विश्वासका आधारमा रुपेशलाई ललिताले फेसबुक म्यासेन्जरमा पठाइन् ।
ललिताले पठाएको तस्बिर रुपेशले साथी अनिश रिमाललाई म्यासेन्जरबाटै फरवार्ड गरे । अनिशले जेठ १५, २०७७ मा ललिताको नग्न तस्बिर २०-२१ जना सदस्य भएको ‘कोभिड—१९ बोका ग्रुप’ नाम गरेको फेसबुक म्यासेन्जर ग्रुपमा पठाए ।
अनिशले डेबिड राइडर नामको फेसबुक आईडी बनाएर सोही तस्बिर देखाउँदै ललितालाई ब्ल्याकमेल गरे । चौतर्फी म्यासेज र नकारात्मक टिप्पणी हुन थालेपछि असार १०, २०७७ मा ललिताले आत्महत्या गरिन् ।
ललिताले आत्महत्या गरेको ५ वर्ष बितिसक्यो । रुपेश र अनिश दुवैलाई जिल्ला अदालत धादिङले आत्महत्या दुरुत्साहनमा दोषी ठहर पनि गर्यो । तर पनि ललिताका परिवार उनीहरूले न्यूनतम सजाय मात्र पाएको भन्दै अझै न्याय नमिलेको बताइरहेका छन् ।
ललिताले आत्महत्या गरेपछि परिवारले जिल्ला अदालत धादिङमा रुपेश र अनिशविरुद्ध साउन ९, २०७७ मा आत्महत्या दुरुत्साहन मुद्दा दायर गरेका थिए ।
यस्तै अनिशविरुद्ध साउन १२, २०७७ मै जिल्ला अदालत काठमाडौंमा विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुर गरेको भन्दै अर्को मुद्दा पनि दर्ता गरियो । काठमाडौं जिल्ला अदालतले पनि यो मुद्दामा अनिशलाई दोषी ठहर गरेको थियो ।
धादिङ जिल्ला अदालतलले अनिशलाई ५ हजार रुपैयाँ जरिवाना र ६ महिना कैद तथा रुपेशलाई ४ महिना कैद र ३ हजार ३ सय ३५ रुपैयाँ जरिवाना गरेको छ । तर रुपेश नाबालग रहेको भन्दै अदालतले बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ३६ को उपदफा ५ को घ अनुसार परिवारलाई जिम्मा लगाउने आदेश दिएको छ । रुपेशका परिवारले पीडित परिवारलाई २५ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने आदेश पनि अदालतले दिएको छ ।
“दुवै अदालतले दोषी ठहर गर्दा पनि उनीहरूलाई कानुनले निर्धारण गरेबमोजिमको सजाय तोकिएको छैन,” ललिताका दाइले प्रश्न गरे, “यो कसरी न्याय भयो ?” अदालतले न्यूनतम सजाय मात्र तोकेकामा उनको आपत्ति छ ।
काठमाडौं जिल्ला अदालतका तत्कालीन न्यायाधीश राजेन्द्र अधिकारीले अनिशलाई विद्युतीय कारोबार ऐनअनुसार दोषी ठहर गर्दै ६ महिना कैद र ६ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएका थिए ।
विद्युतीय कारोबार ऐन—२०६३ को दफा ४७ ले अधिकतम ५ वर्षसम्म कैद र एक लाख रुपैयाँसम्मको जरिवाना तोक्ने व्यवस्था गरेको छ ।
न्यायाधीशको स्वविवेकले फैसला भएका कारण सजाय घटेको हुन सक्ने जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका सहायक जिल्ला न्यायाधिवक्ता रोशन अवस्थीले बताए । “न्यायाधीशहरूले पनि आफ्नो विवेक प्रयोग गरेर फैसला गर्नुहुन्छ, अब यो केसमा पनि त्यस्तै भएको हुन सक्छ ।”
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्ले यस्ता घटनाका लागि अहिलेको कानुन पर्याप्त नभएको बताउँछन् ।
सामाजिक संरचनाको असर
नेपालको सामाजिक संरचनाको कारणले गर्दा महिलाहरूमाथि अनलाइनका माध्यमबाट हुने हिंसाका घटनाहरू बढेको समाजशास्त्री डा. मीना उप्रेती बताउँछिन् । “हाम्रो सामाजिक संरचनाले पुरुष र महिलालाई हेर्ने तरिका नै फरक छ, महिलाहरू कमजोर हुन् र पुरुषहरू बलिष्ट हुन्छन् भन्ने भावले हेरिन्छ,” उनी भन्छिन्, “र, समाजको त्यही कुरा सामाजिक सञ्जालमा रिफ्लेक्सन (प्रतिविम्ब) हुन्छ ।”
समाजशास्त्री डा. मीनाका अनुसार हिजोका दिनमा समाजमा देखिएको नेगेटिभिटी (नकारात्मकता) अहिले सामाजिक सञ्जालमा देखिन थालेको छ । “पुरुषहरूलाई समाजमा जे गर्दा पनि हुन्छ भन्ने छुट जस्तो छ नि !” उनी भन्छिन्, “सोही व्यक्तिले त्यही काम सामाजिक सञ्जालमा पनि गर्छ ।”
पुरुषलाई बलियो र जे गर्न पनि छुट हुने जस्तो बनाउन समाजसँगै परिवार पनि उत्तिकै जिम्मेवार रहेको उनी बताउँछिन् । “सामान्य उदाहरण— घरमा छोरा र छोरी भए पनि छोरीलाई नै काम गर्न लगाइन्छ, जबकि छोराभन्दा छोरी सानै हुन्छिन्,” समाजशास्त्री डा. मीना भन्छिन्, “परिवारले छोरा भएर पनि घरको काम गर्ने हो ? भनेर हुर्काउँछौँ, त्यसले गर्दा पनि उसले आफूलाई महिलाभन्दा माथिल्लो दर्जाको ठान्छ, र महिलालाई जे गरे पनि हुन्छ भन्ने मानसिकता निर्माण गरेर बस्छ ।”
ललिता र करुणाजस्ता किशोरीहरू सानै उमेरमा सेक्सटोर्सनबाट पीडित हुनुमा विद्यालय र अभिभावक पनि जिम्मेवार रहेको चाइल्ड सेफ नेटका अध्यक्ष तथा अनुसन्धाता अनिल बताउँछन् । “हामीले गरेको रिसर्चले प्रत्येक चार जनामध्ये एक जना अर्थात् एक चौथाइ किशोरकिशोरी तथा युवाहरू सेक्सटोर्सनको सिकार बनेका छन्,” उनले भने, “यसमा किशोर किशोरी मात्रै दोषी हुन् त ? होइन । स्कुल, कलेज र अभिभावकको पनि उत्तिकै भूमिका हुन्छ ।”
मोबाइल फोनको उदाहरण दिँदै उनी बालबालिका तथा किशोर भएका छोराछोरीले मोबाइल धेरै हेर्यो भनेर गाली गरेर मात्रै समस्याको समाधान नहुने बताउँछन् । भन्छन्, “मोबाइलमा के हेरिरहेका छन्, र के पढिरहेका छन् भनेर हेर्नु अभिभावक र स्कुल कलेजको पनि उत्तिकै जिम्मेवारी हो ।”
अनुसन्धाता अनिल ९२ प्रतिशत अभिभावकलाई अनलाइन सेफ्टीका बारेमा जानकारी नै नभएको दाबी गर्छन् ।
अपर्याप्त कानुन
अनलाइन माध्यमबाट हुने दुर्व्यवहार तथा हिंसाका घटनाका आरोपीहरूलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दायर गरिन्छ । तर, यो कानुन पर्याप्त छैन । “यो कानुन बन्दा प्रविधिको प्रयोग त्यति धेरै थिएन, अहिले यसको प्रयोगसँगै दुरुपयोग पनि उत्तिकै बढेको छ”, जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका सहायक जिल्ला न्यायाधिवक्ता रोशन अवस्थीले भने, “हाम्रो प्रविधिको ‘एडप्टेसन’ बढेको छ, तर त्यसको ‘रेगुलेसन’ को पाटोमा अलि ढिला छौँ ।”
संयुक्त राष्ट्रसंघ बालबालिकाको कोष (युनिसेफ) र ‘चाइल्ड सेफ नेट’ ले गरेको संयुक्त अनुसन्धानले पनि नेपालको कानुन पर्याप्त नभएका कारण पीडितले न्याय नपाउने निष्कर्ष निकालेको छ । डिसेम्बर, २०२४ मा सार्वजनिक भएको यो अनुसन्धान प्रतिवेदनमा नेपालको कानुनले घटनाको गाम्भीर्यलाई नबुझ्ने उल्लेख छ ।
“यो विषय यति धेरै गम्भीर छ, तर हाम्रो विद्यमान कानुनले त्यति गम्भीरताका साथ परिकल्पना गरेको छैन,” अध्ययनमा संलग्न अनुसन्धाता अनिल भन्छन्, “सुरुमा त त्यो हद म्याद नै ठिक छैन, पीडितले जुनसुकै समयमा उजुरी दिन पाउनुपर्ने व्यवस्था हुनुपर्छ ।” विद्युतीय कारोबार ऐन, २०६३ को दफा ७४ ले कसुर भए गरेको थाहा पाएको ३५ दिनभित्र उजुरी गर्नुपर्ने व्यवस्था गरेको छ । ३५ दिन नाघेपछि उजुरी लाग्दैन ।
“हाम्रो अनुसन्धानमा धेरै पीडितहरूले लामो समयपछि मात्रै आफूहरू दुर्व्यवहारमा परेको महसुस गरेको देखिन्छ,” अनुसन्धाता अनिल प्रश्न गर्छन्, “उसले सोच्नै सकेको हुँदैन, त्यस्तो अवस्थामा कसरी ३५ दिनभित्रै उजुरी दिन सकिन्छ ?”
पीडितहरूको सहजताका लागि ७७ वटै जिल्लामा साइबर सेल खोलिएपछि पीडितलाई उजुरीका लागि काठमाडौं नै धाउनुपर्ने बाध्यता नभएको साइबर ब्युरोका एसपी दीपकराज बताउँछन् । “पहिले हामी सबै घटना साइबर ब्युरोबाट नै उजुरी लिन्थ्यौँ, तर अहिले ७७ वटै जिल्लाहरूमा साइबर सेल छ,” उनले भने, “उहाँहरूले त्यतैबाट पनि उजुरी दिन सक्नुहुन्छ ।” जिल्लाबाट पनि उजुरी संकलन गरिने हुँदा पीडितलाई काठमाडौं धाइराख्नुपर्ने बाध्यता नरहेको एसपी दीपकराज बताउँछन् ।
तर, अनुसन्धाता अनिल ७७ वटै जिल्लामा उजुरी गर्न सक्ने व्यवस्था भए पनि दक्ष जनशक्ति र स्रोतसाधन नभएकाले धेरै पीडितले न्याय नपाउने बताउँछन् । “घटनाको प्रकृति बुझ्ने र त्यसलाई उचित रूपमा अनुसन्धान गर्न सक्ने जनशक्ति ७७ वटै जिल्लामा छन् त ?” उनी प्रश्न गर्छन् । उचित रूपमा अनुसन्धान गर्ने जनशक्ति नहुँदा घटना झनै गिजोलिने सम्भावना हुने उनी बताउँछन् ।
जोगिने कसरी ?
अनलाइनका माध्यमबाट हुने हिंसा तथा दुर्व्यवहारबाट जोगिनका लागि प्रयोगकर्ता स्वयं सचेत हुनुपर्ने साइबर ब्युरोका एसपी दीपकराज बताउँछन् ।
“कस्तो व्यक्तिसँग संवाद गर्दै छु र के संवाद गर्दै छु भनेर स्वयम् नै चनाखो हुनपर्छ,” उनले भने, “घटना घटिसकेको खण्डमा नजिकैको प्रहरी कार्यालयमा गएर तुरुन्तै उजुरी दिनुपर्छ, ताकि त्यसले थप असर गर्न नसकोस् ।”
यो पनि पढ्नुहोस् :
विद्यालयमा हुने ‘बुलिङ’ ले खतरामा बालबालिका
सामाजिक सञ्जालको चिनजानबाट बेचबिखनमा किशोरी
मानव बेचबिखनमा सामाजिक सञ्जालको प्रयोग
यो सामग्री पुन: प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो पुन:प्रकाशन नीति अनुसार प्रकाशन गर्नुहोस् । पुन:प्रकाशन निर्देशिका यहाँ छ ।