झन्डै १५० रोपनी क्षेत्रफलको थुम्को परेको तिल्केचौरको अधिकांश जमिन चिरा परेको छ । जोखिमा रहेका कारण बसाइँ सरेकालाई सरकारी सहयोग दिने भनिए पनि कसैले रकम पाएका छैनन् । जोखिममै बसिरहेका परिवारलाई सुरक्षित ठाउँमा सार्न पनि पहल भएको छैन ।
--- ---
उदयपुरको कटारी नगरपालिका–१० सोरुङ छबिसेस्थित तिल्केचौरका बालकृष्ण थापाले गाउँघरको माया हुँदा हुँदै बसाइँ सर्नुपर्यो । बसाइँ सर्नु उनको रहर थिएन, बाध्यता थियो । जमिन नै चिरा परेर घर भत्किन आँटेपछि उनी तिल्केचौरबाट वैशाख १७, २०८१ मा कटारी नगरपालिका–५ स्थित बरमझिया झरे ।
गाउँबाट बसाइँ सर्ने उनी एक्ला होइनन्, छिमेकीहरू मीनबहादुर थापा, बालकृष्ण थापा, गीता गिरी, डाकबहादुर थापा, यज्ञबहादुर थापा र केशव बस्नेत पनि छन् । मीनबहादुर र डाकबहादुर भदौ १४, २०८१ मा कटारी नगरपालिका–१० सोरुङ छबिसेमै बसाइँ सरे ।
झन्डै १५० रोपनी क्षेत्रफलको थुम्को परेको तिल्केचौरको अधिकांश जमिन चिरा परेको छ । जमिनमा धाँजा फाटेपछि घर बस्नै नमिल्ने भएकाले ६ परिवार थातथलो छाडेर बसाइँ हिँडे । १७ घरपरिवार रहेको तिल्केचौरका १२ घर चर्किएकोमा अरू ६ परिवार अहिले पनि जोखिम मोलेर चर्किएकै घरमा बसिरहेका छन् ।
जोखिमा रहेका कारण बसाइँ सरेकालाई सरकारी सहयोग दिने भनिए पनि कसैले रकम पाएका छैनन् । जोखिममै बसिरहेका परिवारलाई सुरक्षित ठाउँमा सार्न पनि पहल भएको छैन । भूगर्भ विभागको प्रतिवेदनका आधारमा क्षति पुगेर बसाइँ सर्नुपर्ने अवस्थाका घरलाई स्थानान्तरणका लागि नगरपालिकाले विपद् व्यवस्थापन कोषमार्फत स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारको लागत सहभागितामा नयाँ घर बनाउन रकम दिने भनिएको थियो ।
तिल्केचौरमा देखिने गरी ५ वर्षअघि भदौ, २०७७ मा जमिनमा चिरा पर्न थालेको हो । त्यसअघि २०७२ सालको भूकम्पपछि सोरुङ खोलाभन्दा केही माथि रहेको आफ्नो बारी भासिए पनि खासै वास्ता नगरेको अशोक विष्ट बताउँछन् । तर, २०७७ सालमा भने जमिनमा धाँज फाट्ने क्रम बढ्दै गयो । जमिन भासिँदै गयो । घरहरू चर्किन नै थाले ।
त्यसको एक वर्षपछि १७ घर रहेको यो बस्तीका घर र वरपरको जमिन भासिने र धाँजा फाट्ने क्रम डरलाग्दो भयो । स्थानीय बासिन्दा डराए । वैशाख २८, २०७८ मा वडा कार्यालयमा समस्याबारेमा जानकारी गराए ।
जेठ १०, २०७८ मा तत्कालीन वडाध्यक्ष लीलाराज भट्टराई, प्रहरीचौकी सोरुङछबिसेका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधिले तिल्केचौरमा पुगेर स्थलगत अवलोकन गरे । डरलाग्दो रूपमा जमिन फाटेको देखेपछि टोलीले स्थानीय सरकारको रूपमा रहेको कटारी नगरपालिका र भूगर्भविद्हरूलाई जानकारी गराउने निष्कर्ष निकाल्यो ।
तत्काल ६ घरपरिवारलाई अन्यत्र सार्नुपर्ने गरी नगरपालिका र स्थानीय प्रशासनसहितको टोलीले सर्जमिन मुचुल्का तयार गर्यो । तर स्थानीय तहको चुनाव नजिकै आइरहेकाले मुचुल्का तयार पार्ने कामपछि थप प्रगति केही भएन ।
वैशाख ३०, २०७९ मा भएको स्थानीय तहको चुनाव लडेका प्रत्येक उम्मेदवारको नारा थियो– तिल्केचौरका बासिन्दालाई अन्यत्र स्थानान्तरण गर्ने ।
कटारी नगरपालिकाको मेयरमा राजेशचन्द्र श्रेष्ठ र १० नम्बरको वडाध्यक्षमा क्षेत्रबहादुर खड्का निर्वाचित भए । नयाँ आएका जनप्रतिनिधिले पनि यो बस्तीका बासिन्दाका लागि राहत र पुनःस्थापनाको काम नगरेको तिल्केचौरका बासिन्दाको गुनासो छ । जमिनमा धाँजा फाट्ने क्रम बढ्दै गएकाले अन्य परिवारसमेत विस्थापित हुने अवस्था छ ।
बसाइँ सरेकालाई आफ्नै गाउँ प्यारो
तिल्केचौरमा धराप बनेका घरमा डराइडराई बसिरहेकाहरू छिटोभन्दा छिटो यो ठाउँ छाडेर अन्त जान पाए हुन्थ्यो भन्नेमा छन् । तर बसाइँ सरेर गएकाहरूलाई भने गाउँको माया र झल्कोले सताइरहेको छ ।
कटारी नगरपालिका–५ बरमझिया बसाइँ सरेका बालकृष्ण थापा धाँजा फाट्ने र घर भत्किने डर रहेको भए पनि गाउँ नै प्यारो रहेको बताउँछन् । आफ्नो बाजेबराजु र पुर्खादेखि बस्दै आएको गाउँको छुट्टै माया रहेको उनी बताउँछन् । “गाउँमा हराम बिराममा सबैले सहयोग गर्थे, नुनतेल अैँचोपैँचो हुन्थ्यो,” उनी भन्छन्, “तर सहरमा त्यस्तो नहुँदो रहेछ ।”
कटारीमा झरेपछि यहाँको वातावरणमा घुलमिल हुन, समाजमा चिरपरिचत हुन समय लागेको उनको अनुभव छ । उनी भन्छन्, “खै ! जेजति गरे पनि गाउँको जस्तो आत्मीयता सबैसँग नहुँदो रहेछ ।”
पीडित सबै परेनन् लाभग्राहीको सूचीमा
१७ घरपरिवार रहेको बस्तीमा मीनबहादुर थापा, बालकृष्ण थापा, डाकबहादुर थापा, यज्ञबहादुर थापा र केशव बस्नेतको घरमा पूर्ण क्षति पुगेको र तत्काल स्थानान्तरण गर्नुपर्ने भन्दै भूगर्भविद् ठाकुर कँडेल नेतृत्वको टोलीले अध्ययन प्रतिवेदन प्रस्तुत गर्यो । भदौ १२, २०७९ मा कटारी नगरपालिका १० नं. वडाले लाभग्राहीको सूची तयार गर्यो । मीनबहादुर थापा, बालकृष्ण थापा, डाकबहादुर थापा, गीता गिरी, यज्ञबहादुर थापा र केशव बस्नेत सूचीमा छन् ।
मनसुजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनःस्थापना २०७७ को कार्यविधिअनुसार कटारी नगरपालिकाको नगर कार्यपालिका बैठकले ६ घरपरिवारलाई स्थानान्तरण गरी नयाँ घर बनाउन प्रतिपरिवार ४ लाख रुपैयाँ उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गर्यो । भदौ १७, २०८० मा भएको निर्णयअनुसार नगरपालिकाको १५ प्रतिशत, कोशी प्रदेश सरकारको ३० प्रतिशत र ५५ प्रतिशत संघीय सरकारको अनुदान रहने भनिएको थियो ।
कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठका अनुसार पहिलो चरणमा पूर्ण क्षति पुगेका ६ परिवारहरूलाई स्थानान्तरण गरेर विस्तारै अन्यलाई सार्ने योजनाअनुसार काम सुरु गरिएको थियो ।
तर ६ घरलाई मात्र लाभग्राहीको सूचीमा राखिएको भन्दै अन्य पीडितहरूले विरोध जनाएपछि स्थानान्तरणको काम रोकियो । जमिनमा धाँजा फाट्ने क्रम रोकिएन । घर भत्किएर बस्नै नसक्ने अवस्था आएपछि फागुन २४, २०८० मा अशोक विष्ट कटारी नगरपालिका–१० पाल्सिङमा रहेको आफ्नै ऐलानी जग्गामा बसाइँ सरेका थिए ।
स्थानान्तरणका लागि सहयोग पाउने भनेपछि पीडितहरूले अन्यत्र जग्गाको व्यवस्थापन गरी घर बनाएर सरे । तर लाभग्राहीहरूले अहिलेसम्म पहिलो किस्तासमेत पाउन सकेका छैनन् । “जमिन फाटेर घर भत्किएकाहरूलाई नयाँ घर बनाउन पैसा दिने भनेर लगत संकलन भयो, जसोतसो जग्गा खोजेर घर पनि बनाइयो,” पीडितमध्येका अशोक भन्छन्, “तर अहिलेसम्म सरकारबाट एक सुको पाएको छैन ।”
अशोक लाभग्राहीको सूचीमा छैनन् । कटारीमा आफ्नो ऐलानी जग्गा भएकै कारण लाभग्राहीको सूचीमा नराखिएको भन्दै उनी नगरपालिकाप्रति आक्रोशित छन् ।
कटारी नगरपालिकाका मेयर राजेशचन्द्र नगरपालिकाले जम्मा गर्नुपर्ने १५ प्रतिशत रकम विपद् व्यवस्थापन कोषमा जम्मा गरिसकेको तर प्रदेश र संघीय सरकारले रकम जम्मा नगरिदिँदा समस्या भएको बताउँछन् ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा रकम जम्मा गर्नका लागि प्रदेश र केन्द्र सरकारसँग निरन्तर संवाद भइरहेको छ । उनका अनुसार यसै आर्थिक वर्षमा कोषमा बजेट जम्मा हुने भनिए पनि पीडितहरूले यो आर्थिक वर्ष सकिनै लाग्दा पनि पहिलो किस्तासमेत पाएका छैनन् । संघीय तथा प्रदेश सरकारले तिल्केचौरका पीडितहरूकै लागि भनेर कुनै बजेट विनियोजन गरेका छैनन् ।
“जमिन नै चिरा परेपछि जग्गा बिक्री हुने त कुरै भएन, भएको अलिअलि सम्पत्ति र ऋणपान गरेर कटारीमा सामान्य घर बनाइयो, त्यो पनि सरकारले नयाँ घर बनाउन पैसा दिने भनेर,” बालकृष्ण थापा भन्छन्, “तर अहिलेसम्म कुनै सुरसार छैन ।’
सरकारले ६ घरपरिवार पनि व्यवस्थापन गर्न नसक्दा तिल्केचौरका अन्य बासिन्दासँग निराश छन् । भूपेन्द्र थापा भन्छन्, “मेरो घरभित्रबाट चिरा पर्न सुरु भएको छ, जसोतसो माटो हालेर पुर्ने कोसिस गरे पनि १/२ महिनामा झन् ठूलो हुन्छ, अब कहाँ जाने, के गर्ने अन्योलमा छौँ ।”
चट्टान नै चिरा
इलाका प्रशासन कार्यालय कटारीले चैत ६, २०७८ मा स्थलगत अध्ययनका लागि अनुरोध गरेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल सिस्मोलोजिस्ट ठाकुर कँडेल र जिओलोजिस्ट कविता कार्कीको टोलीले चैत १७ र १८, २०७८ मा तिल्केचौरमै पुगेर भौगोलक अध्ययन गरेको थियो । टोलीले भदौ १४, २०७९ मा कटारी नगरपालिकामा प्रतिवेदन बुझायो ।
अध्ययनमा संलग्न भूगर्भविद् ठाकुरका अनुसार तिल्केचौर क्षेत्रको चट्टान नै चिरा परेर कमजोर रहेकाले जमिन भासिएको छ । कुनै समयको ठूलो भुकम्पले त्यहाँको चट्टान कमजोर बनाएको र त्यसैको असर अहिले देखिएको उनको भनाइ छ ।
उनका अनुसार बस्तीको सिंगो पहाडको चट्टान नै चिरा परेको छ । कमजोर पत्थर र माटो मात्रै रहेका कारण जमिन भासिँदै गएको छ । भूगर्भविद् ठाकुरका अनुसार तिल्केचौरको सिंगो पहाड जुनसुकै बेला खस्ने खतरा छ । वर्षायाममा ठूलो पानी परेका बेला बस्न निकै जोखिम हुने उनले बताए ।
“हामीले त्यस क्षेत्रमा प्रारम्भिक रूपमा मात्रै अनुगमन गरेका हौँ, विस्तृत रूपमा अध्ययन गर्न बाँकी छ, त्यहाँको प्रशासनले विस्तृत अध्ययनका लागि बोलाएमा फेरि जान्छौं,” उनले भने ।
उनले तिल्केचौरको जस्तो स्थिति यसअघि अन्त नदेखेको पनि बताए । “हामीले धेरै ठाउँमा भौगर्भिक अध्ययन गरेका छौं, तर यस्तो अहिलेसम्म कहीँकतै देखा परेको थिएन,” भूगर्भविद् ठाकुरले भने, “यो प्रकृतिको जमिन धाँजा फाट्ने तरिका देशभर भएकामध्ये पहिलो हो ।”
उनका अनुसार ‘सिंकहोल’ का कारण जमिनमा धाँजा फाट्ने धेरै ठाउँमा देखिएको छ । जमिनको सतहको पानी धेरै निकालियो, विविधि कारण जमिनमुनिको पानीको बाटो छेकियो, चुनाजस्तो घुलनशील माटो पानीको सम्पर्कमा आयो भने जमिनमुनि ठूलो खाडल पर्न सक्छ । त्यो खाडलमा विस्तारै जमिनमा बाह्य वस्तुको दबाब परेर वा पानीले भिजेर कमजोर भएमा जुनसुकै बेला जमिनमा धाँजा फाट्न सक्ने उनले बताए ।

उनले वैशाख १९, २०८२ मा मकवानपुरको हेटौंडाको गैरीगाउँमा सडकमा गुडिरहेको गाडी जमिन भासिएर जमिनमुनि नै हराएको घटना यस्तै प्रकृतिको रहेको बताए । काठमाडौंको गोंगबु, कास्कीको पोखरामा पनि यस्ता घटनाहरू देखिएको भूगर्भविद् ठाकुरले बताए ।
ठूला निर्माण कार्यमा प्रतिबन्ध लगाउन, सडक मर्मत तथा अन्य निर्माणका लागि उत्खनन वा विस्फोट गरेर ठूला ढुंगा नहटाउन, रूख र घाँस रोप्ने बृहत् अभियान थाल्नुपर्नेमा जोड दिँदै उनले पक्की नाली बनाउन सके तिल्केचौरमा जमिन भासिने र धाँजा फाट्ने क्रम केही हदसम्म कम हुने उनको सुझाव छ ।
भूगर्भविद्हरूले जमिनमुनिका चट्टान चिरा पर्नेबारेमा अध्ययन गरी चार मुख्य कारण पहिचान गरेका छन् । भूगर्भविद् ठाकुरप्रसाद कँडेल र कविता कार्कीको टोलीले स्थलगत अध्ययनपछि सार्वजनिक गरेको प्रतिवेदनमा यान्त्रिक मौसमी प्रक्रिया, टेक्टोनिक बलहरूको प्रभाव, तापक्रम र दबाब परिवर्तनको असर र रासायनिक मौसमका प्रभावले चट्टान चिरा परेको उल्लेख छ । यी कारणहरूले चट्टानमा दरार र स्लोप सिर्जना गरी भूगर्भीय संरचनामा महत्त्वपूर्ण परिवर्तन ल्याउने गरेकोे भूगर्भविद् ठाकुरले बताए ।
अनुसन्धानकर्ताहरूका अनुसार जाडो र गर्मीको क्रममा पानी जम्ने र पग्लने प्रक्रियाले चट्टानमा सबैभन्दा बढी क्षति गर्ने गरेको छ । चट्टानका दरारमा पानी छिरेर जम्दा फैलिने र पग्लिँदा संकुचित हुने प्रक्रियाले चट्टानलाई विस्तारै तोड्ने काम गर्छ । विशेष गरी हिमाली क्षेत्रमा दिनरात र मौसमी तापक्रम परिवर्तनले चट्टानमा बारम्बार तनाव सिर्जना गर्ने गरेको सिनियर डिभिजनल सिस्मोलोजिस्ट ठाकुरप्रसाद कँडेलले बताए ।
यसैगरी, बिरुवाका जराहरू पनि चट्टानका स–साना दरारमा बढेर तिनलाई फराकिलो बनाउने गरेको पाइएको छ ।
भूगर्भविद् डा. सूचिता श्रेष्ठका अनुसार पृथ्वीको सतह क्षय हुँदै जाँदा चट्टानमाथिको दबाब कम हुन्छ । यो दबाब घटाउने प्रक्रियाले चट्टानलाई विस्तार गराएर दरार सिर्जना गर्छ ।
नेपालजस्ता भूकम्पीय क्षेत्रमा टेक्टोनिक प्लेटहरूको गतिविधिले चट्टानमा तनाव सिर्जना गर्ने गरेको छ । भूकम्प र फल्ट लाइनहरूमा हुने हलचलले चट्टानहरू चिरिने र नयाँ दरारहरू सिर्जना गर्ने काम गर्छ । यसका साथै सियर तनावले चट्टानहरूलाई एकअर्काबाट सारेर फ्याक्चर र फल्टहरू बनाउने गरेको पाइएको भूगर्भविद् डा. सूचिताले बताइन् ।
कसरी र किन भासिन्छ जमिन ?
जमिनको कुनै भागमा एकाएक आफैं भ्वाङ पर्नु वा भासिनुलाई भूगर्भविद्हरूले ‘सिंकहोल’ भन्छन् । जमिनको माथिल्लो भागमा कडा खालको माटो वा चट्टान हुन्छ । तल नरम अथवा पानीमा घुलनशील चट्टान अथवा माटो भएमा जमिनमुनिको सतहको पानीले त्यसलाई घोल्दै बगाएर लगेपछि जमिन भासिएर ‘सिंकहोल’ बन्छ ।
वरिष्ठ भूगर्भविद् प्रा.डा. मेघराज धिताल र खानी तथा भूगर्भ विभागका महानिर्देशक मोनिका झा जमिन भासिनु आफैंमा खतरापूर्ण हुने बताउँछन् । प्रा.डा. मेघराजले जमिन भासिने जोखिममा सबैभन्दा बढी पोखरा परेको र अन्य ठाउँमा पनि उत्तिकै सचेत हुनुपर्ने बताए ।
उनले पोखरामा धेरै त्यस्ता भूगोल रहेको आफ्नो अध्ययनको निष्कर्ष सुनाउँदै चुनढुंगाको चट्टान भएमा, गुफा वा भित्री च्यानल बढी रहेको खोक्रो ठाउँमा जमिन भासिने बताए । प्रा.डा. मेघराजले भने, “भौगर्भिक अध्ययनबिना पोखरी बनायौँ, सडक बनायौँ वा भूकम्प आयो भने पनि पहिलेको अवस्थामा परिवर्तन आउँछ, जमिन भासिने गर्छ ।”
उनका अनुसार जमिन भासिएर बन्ने दलदललाई चलाउँदा नजिकका अरू भौतिक संरचनामा पनि क्षति पुग्न सक्छ । उनले भौगर्भिक अध्ययनबिना भासिएको क्षेत्रमा जान पनि नहुने बताए ।
भूगर्भ विभागका महानिर्देशक मोनिकाले जमिन भासिने सम्भावना भएका क्षेत्रका पहिचान गरी खतरायुक्त स्थानबारे सचेतना प्रदान गरिरहेको बताइन् । उनले भनिन्, “स्थानीय तहमै गएर पनि जोखिमयुक्त स्थानको पहिचान गरी भौतिक संरचना निर्माण गर्दा सुरक्षा अपनाउन र त्यस्ता ठाउँमा संरचना नबनाउन आग्रह गरिएको छ ।” तर, कतिपय सम्बन्धित स्थानीय निकायले विभागको सुझावलाई कार्यान्वयन नगरेको गुनासो उनले गरिन् ।
यो पनि पढ्नुहोस् : भूकम्प विस्थापितको पुनःस्थापनामा अर्बौँको लगानी, बालुवामा पानी
यो सामग्री पुन: प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो पुन:प्रकाशन नीति अनुसार प्रकाशन गर्नुहोस् । पुन:प्रकाशन निर्देशिका यहाँ छ ।