पहिलादेखि नै खानेपानीको समस्या रहेका गाउँका बासिन्दाको प्यास मेटाउन सुनकोशी, तामाकोशी र रोशी खोला किनारबाट पानी तानेर माथिका गाउँमा पुर्याइएका लिफ्टिङ आयोजनाहरूमा पोहोर असोजको बाढीपहिरोले क्षति गरेको छ । बाढीले क्षति गरेपछि निर्माणाधीन आयोजनाको काम पनि रोकिएको छ भने स्थानीयबासिन्दालाई पानीको समस्या छ ।
... ...
उदयपुरको कटारी नगरपालिका–१४ को सबैभन्दा माथि एउटा गाउँ छ– श्री रमाइलोडाँडा । गाउँको नाम श्री रमाइलोडाँडा भए पनि यहाँका अधिकांश बासिन्दासँग न त श्री छ, न रमाइलोपन । यहाँ छ त अभावै अभाव । त्यही अभावमध्येको एउटा अभाव पानीले श्री रमाइलोडाँडालाई सधैँ सताइरहेको छ ।
श्री रमाइलोडाँडा गाउँमा चैत ४, २०८१ को बिहान हामी पुग्दा नन्दमाया विक (६९) पानी लिन पँधेरो जाने तयारीमा थिइन् । डोकामा सिल्भरका खाली गाग्री हालेर नाम्लो मिलाउँदै गरेकी उनको दिन चर्या नै हो – ४ घण्टा हिँडेर एक गाग्री पानी ओसार्नु ।

नन्दमायाका देवर आइतबहादुर विक (५६) र देउरानी ओममाया विकका अनुसार छिटो हिँड्न सक्नेलाई पँधेरो जानआउन तीन घण्टा लाग्छ । तर कपाल सेतै भएकी नन्दमाया आफूलाई चार घण्टा लाग्ने बताउँछिन् । पानी भर्नका लागि चनौटे वा रानागाउँमा पुग्नुपर्छ ।
श्रीमान् वीरबहादुर विक (७२) हिँडडुल गर्न र बोल्न नसक्ने र ९ छोराछोरी सबै अन्तै रहेकाले उनलाई पानी बोक्न पालो घरमा कोही छैनन् ।पानीको अभावका कारण पशुपालन गर्न छोडेकी छन् । घरमा पालेका कुखुरालाई भाँडा माझेको पानी खुवाउने गरेको उनले बताइन् ।
श्री रमाइलोडाँडामा मात्र होइन, रामेछापको मन्थली र रामेछाप नगरपालिका साथै खाँडादेवी र सुनापति गाउँपालिका, सिन्धुलीको सुनकोशी, गोलाञ्जोर र फिक्कल गाउँपालिका, ओखलढुंगाको सुनकोशी गाउँपालिका, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका, रोशी, तेमाल र बेथानचोक गाउँपालिकाकाका केही गाउँमा खानेपानीको निक्कै ठूलो समस्या छ ।
पहिलादेखि नै पानीको समस्या रहेका यी गाउँका बासिन्दाको प्यास मेटाउन सुनकोशी, तामाकोशी र रोशी खोला किनारबाट पानी तानेर माथिका गाउँमा पुर्याइएका लिफ्टिङ आयोजनाहरूमा पोहोर असोजको बाढीपहिरोले क्षति गरेको छ । बाढीले क्षति गरेपछि निर्माणाधीन आयोजनाको काम पनि रोकिएको छ ।
त्यसो त पोहोरको मनसुनजन्य विपद्का कारण देशका ६६ जिल्लाका ५ लाख घरधुरीका २५ लाख जना प्रत्यक्ष प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले तयार गरेको पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद्पश्चातको पुनर्लाभ (पुनर्निर्माण तथा पुनःस्थापना योजना) अनुसार बाढीका कारण कुल ८ सय १२ वटा आयोजनामा क्षति पुगेको छ ।
जसमध्येमा संघ र प्रादेशिक खानेपानी आयोजनाहरू ७ सय ९९ वटा छन् । ती आयोजनाको पुनर्लाभका लागि ४ अर्ब २२ करोड ९४ लाख ९० रुपैयाँ लाग्ने अनुमान छ ।
बाढीपहिरोले धेरै क्षति गरेको बागमती प्रदेशमा प्रदेशअन्तर्गतको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयअन्तर्गतका संरचनाको पुनर्लाभका लागि ८८ करोड २१ लख ५७ हजार लाग्ने अनुमान प्राधिकरणको छ ।
बाढीपहिरोले मुहानबाट पानी ल्याएको आयोजनामा समेत क्षति गरेपछि यी ठाउँका बासिन्दालाई एक गाग्री पानीका लागि ३/४ घण्टा हिँड्नुपर्ने बाध्य छ । पानी नै नपाउने भएपछि गाउँलेले पशुपालन छाडेका छन् । गाउँमा पानीकै लागि झैझगडादेखि विस्थापनसमेत बढेको छ ।
श्री रमाइलोडाँडामा रहेका १५ घर विश्वकर्मा परिवारमध्ये अहिले ६ घर मात्र बाँकी रहेको आइतबहादुरले बताए । उनका अनुसार पानीको समस्या भएपछि उनका छिमेकी अन्तै बसाइँ सरे ।
रमाइलो डाँडाबाट तल सुसाउँदै बगिरहेको सुनकोशी नदी देखिन्छ । त्यही सुनकोशी नदीको पानी तानेर माथि गाउँमा ल्याउने योजनाअनुसार काम भइरहेको थियो । घुर्मीनजिकै बनाइएको लिफ्टिङ आयोजनाको संरचनामा गत असोजको बाढीले क्षति गरे पछि अहिले काम नै बन्द भएको छ । नन्दमाया सुनकोशी नदीतिर देखाउँदै भन्छिन्, “मेरो पालामा नआए पनि नानीहरूले त त्यो पानी पाउलान् कि !”

सिन्धुलीको खुर्कोटमा बीपी राजमार्ग छाडेर सुनकोशी तरेर सेलेघाटबाट १० किलोमिटर उकालो चढेपछि पुगिने चिसापानी, सिम्फुल र हुलाकडाँडा गाउँ मन्थली नगरपालिकामा पर्छन् । जिल्ला सदरमुकामसमेत भएको नगरपालिकामा बस्ने भए पनि यी गाउँका बासिन्दाले पानीका लागि १ घण्टा टाढाको धारामा धाउनुपरेको छ । तीनवटै गाउँका लागि पानीको स्रोत एउटै छ– तीनधारे ।
सबैभन्दा माथिको गाउँ सिम्पानीबाट पानी लिन झरेका मीनबहादुर श्रेष्ठ (६५) ले जिजुबाजेले नै भोगेको दुःख आफूहरूले पनि भोगिरहनुपरेको बताए । पानी भरेर सिम्पानीको घर पुग्न १ घण्टा लाग्ने उनले बताए ।
तीनधारेमा पनि बाह्रैमास पानी आउँदैन । हिउँदमा पानी सुक्दा २ घण्टा टाढाको लाम्पाते र धोबी खोलाबाट पानी बोक्नुपर्ने बाध्यता रहेको सरिता श्रेष्ठले (४०) बताइन् । लुगा धुन र पानी लिन आएकी उनले भनिन्, “मेरो घर सबैभन्दा सिरानमा पर्छ, १ घण्टा उकालो लाग्छ ।”
सिम्पानीनजिकैको सिम्फुल कुभिन्डेका खिलबहादुर श्रेष्ठ (६३) का अनुसार १० वर्षको अन्तरालमा गाउँनजिकैका दुईवटा पानीका मुहान सुकेका छन् । अहिले गाउँबाट १ घण्टा टाढाको खोरेपानी कुवाबाट पानी बोकेर जीविकोपार्जन गर्नुपरेको उनले बताए । उदयपुरको श्री रमाइलो डाँडामा जस्तै यहाँ पनि भाँडा माझेको लुगा धोएको पानीको भरमा पशुपन्छी पाल्ने गरिएको छ ।
गाउँभरिका मान्छेले एउटै धारोमा पानी भर्ने हुँदा धारामा भीड पनि हुने र पालो नपाउने हुँदा राति पनि पानी लिन जाने गरेको हुलाकडाँडाका कुलबहादुर थोकरले बताए ।
विद्यालयका बालबालिकालाई पनि पानीको अभावले सताएको छ । हुलाकडाँडामा रहेको श्री तिल्केथानगढी माविमा पानी बोकेर समस्या समाधान गरिएको छ ।
९० विद्यार्थी रहेको उक्त विद्यालयमा २० लिटरका ५ वटा ड्रममा दैनिक पानी बोक्ने गरेको विद्यालयका सहायक कर्मचारी अम्बिका कसाईले बताइन् । पानी बोकेर विद्यालय जाँदै गर्दा भेटिएकी उनका अनुसार लाम्पाते खोलाबाट पानी ल्याउन २ घण्टा लाग्छ ।

१० वर्षमा पनि पूरा भएन आयोजना
मन्थलीका यी गाउँहरूमा खानेपानी आपूर्तिका लागि करिब १० वर्षअघि सुरु गरिएको तामाकोशी इन्छिनगाउँ खानेपानी लिफ्ट आयोजनाको काम अझै पूरा भएको छैन । खानेपानी तथा सरसफाइ कार्यालय डिभिजन ४, मन्थलीले करिब १७ करोड रुपैयाँमा सम्पन्न गर्ने गरी २०७२ बाट आयोजनाको काम सुरु गरेको उपभोक्ता समितिका अध्यक्ष दीपक थापाले बताए ।
कार्यालयबाट कम बजेट आएका कारण आयोजनाको काम सम्पन्न हुन लामो समय लागेको उनी बताउँछन् । “१७ करोडको योजनामा वार्षिक २०–३० लाख बजेट आउँछ,” अध्यक्ष दीपक प्रश्न गर्छन्, “कसरी काम गर्नु ?”
उपभोक्ता समितिका यसअघिका अध्यक्ष कैलाश थापाको कार्यकालमा लिफ्टिङको बाँधको संरचना र ५ ठाउँमा लिफ्टिङका लागि ट्यांकी निर्माण भइसकेको थियो । उनको निधनपछि अध्यक्ष बनेका दीपकका अनुसार अहिले उपभोक्ताको घरघरमा पानी लैजाने पाइपको व्यवस्था र पाइप लाइन विस्तारको काम भइरहेको छ । अब छिट्टै उपभोक्ताको घर टोलमा पानी पुग्ने उनले बताए ।
यो आयोजनाका सञ्चालनका लागि ४ सय घरधुरी उपभोक्ताले प्रतिघर ३ हजार रुपैयाँ बुझाएको काजीमान श्रेष्ठले जानकारी दिए । “पहिलेको समितिले कति उपभोक्ताबाट, कति रकम उठाए कुनै कागजात र रेकर्ड छैन,” अध्यक्ष दीपकले भने “करिब ९ लाख रकम उठेको सुनेको हुँ, तर हिसाबको कागजात पनि छैन, बैंकमा मौज्दात पनि छैन ।”
बाढीले बगायो लिफ्टिङ
मन्थलीको हुलाकडाँडाको खानेपानी समस्या समाधान गर्न सुनकोशी नदी किनारदेखि पानी लैजाने अर्को निर्माणाधीन लिफ्टिङ आयोजना गत असोजमा आएको बाढीले क्षति गरेपछि अलपत्र छ ।
नबुघाट–हुलाकडाँडा लिफ्टिङ आयोजनाको नबुघाटमा निर्माण गरिएका इनार, पावर हाउस, पम्पसेट, सुरक्षा घरलगायत संरचनाहरूमा बाढीले क्षति गरेको रामेछाप नगरपालिका—६ का वडाध्यक्ष अशोक तामाङले बताए । जिल्ला खानेपानी कार्यालय रामेछापमार्फत उक्त आयोजनाको निर्माण भइरहेको थियो ।

उदयपुरको चनौटे गाउँमा लिफ्टिङ गरेर सुनकोशीको पानी ल्याउने निर्माणधीन आयोजना असोज, २०८१ म सुनकोशीमा आएको बाढीले बगाइदियो । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरले १७ करोड ९८ लाख रुपैयाँको लागतमा ५ वर्षअघि लिफ्टिङको काम थालेको थियो ।
बादुरा खोला दोभानको सुनकोशी किनारमा रहेको रिजर्भर, अटो फिल्टर ट्यांकी, पावरहाउस, इनार, सुरक्षा घरलगायत ग्याविन वाल र ग्याविन जाली घेराको संरचना निर्माण भएर आयोजना अन्तिम चरणमा पुगेका बेला बाढीले भत्काएको उपभोक्ता समितिका अध्यक्ष देवराज खनालले बताए । “विद्युत्को प्वाइन्टर सप्लाई पाइप मात्र जोड्न बाँकी थियो,” उनले भने, “सबै बाढीले बगाइदियो ।” आयोजनामा ३ करोड रुपैयाँ बराबरको क्षति भएको अध्यक्ष देवराजले दाबी गरे ।
निर्माण कम्पनीमार्फत बिमा दाबी गरेर क्षति भएको आयोजनाको काम पुनः सुरु गर्ने तयारी भइरहेको उनले बताए । यो आयोजना पूरा हुने म्याद भदौ, २०८२ सम्म छ ।
आयोजनाको संरचनामा पूर्णरूले क्षति भएपछि चनौटे, रानागाउँ, श्री रमाइलोडाँडालगायत गाउँका बासिन्दालाई वर्षौंदेखिको पानीको दुःख अन्त्य नहुने हो कि भन्ने चिन्ता छ । श्री रमाइलोडाँडाकी ओममाया विकले भनिन्, “अब कहिल्यै हाम्रो गाउँमा पानी आउँदैन ।”
कटारी नगरपालिका—१४ का वडाअध्यक्ष अम्बरबहादुर मगरका अनुसार यो आयोजनाले १४ सहित ११, १३ र १० नम्बर वडाका बासिन्दालाई पानी वितरण गर्ने योजना थियो ।

सिन्धुलीको दुम्जासाँधी मदुवाबगर गाउँमा पनि खानेपानीको पिरलो छ । सुनकोशी गाउँपालिका—२ को यो गाउँ बीपी राजमार्गनजिकै पर्छ ।
यो गाउँमा रहेका १३ घरपरिवारका लागि सञ्चालित लिफ्टिङ खानेपानी आयोजनाको इनार र सोलार असोजको बाढीले बगाएको उपभोक्ता भीमबहादुर खत्रीले बताए । बाढीले क्षति गरेको लिफ्टिङ आयोजना पुनः सञ्चालन गर्ने काम भएको छैन ।
लिफ्टिङमार्फत एक घर एक धारा रहेको गाउँमा वैकल्पिक व्यवस्था गरिए पनि पानीको दुःख छ । “दिनमा एक घण्टाको दरले पानी आउँछ,” भीमबहादुरले भने, “मान्छेका लागि जसोतसो पुगेको छ, तर बस्तुभाउलाई पानीको समस्या छ ।” लिफ्टिङ बगेपछि वडा नं.३ मा रहेको लछिनीडाँडाबाट पाइपमार्फत पानी ल्याएको खत्रीले जानकारी दिए ।
पहिले पनि त्यहीबाट पानी ल्याउने गरिएको थियो । हिउँदमा त्यो मूल सुक्ने र बर्खामा पहिरोका कारण पाइप बगाउने हुँदा जोखिम र समस्या रहेको उनको भनाइ छ ।
ट्र्याक्टर र मिनी ट्रकमा ओसारियो पानी
काभ्रेको तेमाल गाउँपालिका—८ को टेकानपुर गाउँमा रोशी गाउँपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिकाको सिमाना हर्कपुरबाट ३० वर्षअघि गाउँमा ल्याइएको खानेपानीको पाइप लाइनमा असोजको बाढीले क्षति गर्यो ।
त्यसपछि ट्र्याक्टरमा पानी ओसारेर टेकानपुर र टोड्केका १ सय ५० घरलाई खुवाइएको दमाई सिंह तामाङ (६१) ले जानकारी दिए । व्यापार, व्यवसाय रोजगारीका लागि स्वदेश तथा विदेशमा रहेका गाउँलेको आर्थिक सहयोगले यो सम्भव भएको थियो । “विभिन्न व्यक्तिहरूले ट्र्याक्टर र बोतलमा पानी ल्याएर हामी मान्छेलाई बचाए,” उनले भने “वस्तुलाई धेरै बिजोक भयो ।”
गाईवस्तुका लागि गाउँदेखि दुई घण्टा टाढाको मेछे गाउँबाट रातभरि पानी बोक्नुपरेको उनको भनाइ छ । पानीकै कारण मेछे गाउँका बासिन्दासँग झगडा भएको समेत उनी सम्झन्छन् ।
अहिले भने गाउँपालिकाले गरेको ५ लाख रुपैयाँ सहयोगबाट हर्कपुरको पाइपलाइन मर्मत गरेर गाउँमा पानी ल्याइएको खामसाङ दोङले जानकारी दिए । मुहानमै पानी सुक्दै गएकाले अर्को मुहानको खोजी भइरहेको उनको भनाइ छ ।
यो आयोजनालाई दीर्घकालीन व्यवस्थापनका लागि अन्य संघ संस्थाहरूसँग सहयोग मागे पनि सुनकोशी बृहत् खानेपानी आयोजनाका कारण सहयोग नपाएको जगत् दोङ लामाले बताए । “यो गाउँमा पानी ल्याउनका लागि करिब ५ वर्षदेखि सुनकोशी बृहत् लिफ्टिङ आयोजनाको काम भइरहेको छ,” उनले भने, “पूरा भएको छैन, त्यसैको कारण अन्य निकायले आयोजना सञ्चालन गरेनन् ।”
तेमाल गाउँपालिकाको सबै वडामा पानी पुर्याउने गरी निर्माण भइरहेको सुनकोशी बृहत् खानेपानी लिफ्टिङ आयोजनामा बाढीले क्षति गरेको छ । आयोजनाको काम अहिले ठप्प छ ।
तेमाल गाउँपालिकाका खानेपानी प्राविधिक इन्जिनियर डम्बर बोतालाका अनुसार गाउँपालिकामा १० वटा खानेपानी आयोजनामा पहिरोले क्षति गरेको छ । जसबाट ३ सय ७५ घरधुरीका करिब १५ सय नागरिक प्रभावित भए ।
गत असोजको बाढीले चुखाबेंसी पचुवाघाटमा रहेको आयोजनाको विद्युत् ट्रान्सफर्मर, पम्पसेट, पाइपलाइन, ट्यांकीलगायत संरचनामा क्षति पुर्याएको उपभोक्ता समितिका अध्यक्ष संग्रामजित लामाले बताए ।
करिब ७ करोड रुपैयाँ बराबरको क्षति भएको लामाको भनाइ छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरको ९० करोड रुपैयाँ लगानीमा करिब २ वर्षअघि आयोजनाको काम सकिएर गाउँमा पानी पुगेको थियो ।
समाधानको उपाय के ?
सिन्धुली, उदयपुर, काभ्रे, रामेछापका महाभारत पर्वतको उत्तरमा पर्ने सुनकोशी नदी वारिपारिका गाउँमा पहिल्यैदेखि पानीको दुःख थियो । जरुवा र तिरतिरे धारा पनि सुक्दै गएपछि झनै समस्या बढ्यो ।
नेपालको संविधानको धारा ३५ को उपधारा ४ मा स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचलाई नागरिकको मौलिक हकका रूपमा राखिएको छ । त्यसैले हरेक नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन सरकारको जिम्मेवारी हो ।
त्यही जिम्मेवारी पूरा गर्नका लागि पानीको स्रोत नै नभएका ठाउँहरूमा तल खोला किनारबाट पानी तानेर माथि गाउँमा पुर्याउने र वितरण गर्ने आयोजनाहरू सुरु ग्रिएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रकुमार श्रेष्ठले बताए ।
तर ती आयोजना पनि गत असोजमा सुनकोशी, तामाकोशी, रोशी खोला र अन्य खोलाहरूमा आएको बाढीले क्षति गरेको उनी बताउँछन् । आयोजना निर्माण गर्न व्यक्तिले जग्गा नदिने भएकाले खोला किनारको सार्वजनिक स्थलमै आयोजनाका संरचनाहरू निर्माण गरिएका कारणले पनि धेरै क्षति भएको श्रेष्ठले बताए ।

सम्बन्धित निर्माण कम्पनीमार्फत मर्मत तथा पुनर्निर्माणको काम भइरहेको खानेपानी तथा ढल व्यवस्थापन आयोजना रामेछापका प्रमुख सिनियर डिभिजनल इन्जिनियर हेराकाजी महर्जनले जानकारी दिए । यो घटनाले आगामी बन्ने आयोजनाहरू नदी, खोला किनारभन्दा केही उच्च भूभागमा निर्माण गर्नुपर्ने सिकाइ भएको महर्जनको भनाइ छ ।
खानेपानी लिफ्टिङ आयोजना दीर्घकालीन र भरपर्दो बनाउन प्राविधिक तथा व्यवस्थापकीय पक्षमा सुधार ल्याउनुपर्ने वाटर एड नेपालअन्तर्गतका (विकन) प्रोजेक्टका प्रमुख कवीन्द्र पुडासैनीको सुझाव छ ।
इन्जिनियरसमेत रहेका कवीन्द्रका अनुसार आयोजना दीर्घकालीन बनाउन स्थायी स्रोतको पहिचान, उपयुक्त प्रविधिको प्रयोग, र मर्मतसम्भारमा स्थानीय सहभागिता अत्यन्तै आवश्यक छ । “लिफ्टिङ प्रणालीमा पम्प सञ्चालनदेखि लिएर पानी वितरणसम्मको प्रक्रिया यथासम्भव वैज्ञानिक र व्यावहारिक हुनुपर्छ,” उनले भने ।
विभागीय समन्वय, दीर्घकालीन योजना निर्माण, सुरक्षित स्थानको पहिचान र विपद् व्यवस्थापनका लागि पूर्वतयारी आवश्यक रहेको उनले बताए । खानेपानी स्रोतको संरक्षण र प्रदूषण नियन्त्रणलाई समेत समान महत्त्व दिएर पूर्वाधार निर्माण गर्नुपर्ने उनको सुझाव छ ।
कभर तस्बिर : काभ्रेको तेमाल गाउँपालिका—८ को टेकानपुरमा पानी अभाव भएपछि गाडीमा ओसारेर वितरण गरिएको थियो । तस्बिर सौजन्य : खामसाङ लामा
यो सामग्री पुन: प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो पुन:प्रकाशन नीति अनुसार प्रकाशन गर्नुहोस् । पुन:प्रकाशन निर्देशिका यहाँ छ ।