कुरा १२ वर्षअघिको हो । त्यतिबेला कोसिका (परिवर्तित नाम) आठ कक्षामा पढ्थिइन् । उनी राम्रोसँग पढेर आमाबुबाको सपना पूरा गर्न चाहन्थिन् । यही उद्देश्य र आत्मविश्वासका साथ उनी विद्यालयमा भर्ना भएकी थिइन् । 
सधैँझैं जस्तै त्यो दिन पनि उनी चिटिक्क भएर, सफा ड्रेसमा विद्यालयतिर लागिन् । अघिल्लो दिनका सबै अभ्यास सकेकाले शिक्षकले आफूलाई केही भन्दैनन् भनेर उनी ढुक्क थिइन् । तर, कक्षा कोठामा पुग्नेबित्तिकै सुनसान कक्षामा हाँसोको खित्का छुट्यो । होहल्ला भयो । खासखुस हुन थाल्यो । सबैले उनीतिर मात्रै हेरिरहेका थिए । “उनीहरुले ‘यो त केटा होइन, केटी रहेछ’ भन्दै मेरा लागि अन्टसन्ट भन्न थाले,” त्यो क्षण सम्झिँदै कोसिका भन्छिन् ।
उनी कक्षामा कोहीसँग केही नबोली चुप लागेर बेन्चमा बसिन् । शिक्षक आएपछि कक्षा एकछिन शान्त भयो । तर, फेरि शिक्षकले पनि उनकै हाउभाउबारे बोल्न थाले । साथीभाइ र शिक्षकलेसमेत आफ्नो पहिचानलाई लिएर जिस्क्याउन थालेपछि उनले पढाइ नै छाड्नुपर्यो । यसरी पढाइ छाड्ने उनी एक्ली छैनन् । आफ्नो पहिचानकै कारण पढाइ पूरा गर्न नपाउने कोसिकाजस्ता यौनिक तथा लैंगिक अल्पसंख्यकहरु आफूहरुको पढ्न पाउने अधिकार गुमाउनुपरेकोमा दुःखी छन् ।
कोसिकाको पहिचान थाहा पाएर साथीहरुले जिस्क्याएको दिन रुन्चे अनुहार बनाएर उनी घर पुगेकी थिइन् । उनको उदास अनुहार देखेर आमाले सोधिन्, “बाबु ! के भयो ?”
“अब म स्कुल पढ्न जादिनँ आमा” त्यतिखेर छोरा ठानिएकी कोसिकाले आमालाई भनेकी स्मरण गरिन्, “आज त मलाई अति नै गरे । सबैले जिस्काए । शिक्षकले पनि ।”
आमाले उनकोे हिम्मत बढाइन् । परिवारमा उनलाई सबैभन्दा बढी माया आमाले गर्थिन् । उनको दुःख, पीडा, समस्या उनले नबोल्दै आमाले थाहा पाउँथिन् । उनी आफ्ना समस्या आमालाई निर्धक्क सुनाउँथिन् । आफू पारलैंगिक महिला भएको कुरा पनि उनले सबैभन्दा पहिला आमालाई नै सुनाएकी थिइन् ।
आफूलाई पारलैंगिक महिला भन्न रुचाउने कोसिकाको जन्मिँदाको जैविक लिंग पुरुषको हो । घरपरिवार र समाजले उनलाई छोरा नै मान्यो । त्यसै रूपमा स्वीकार गर्यो । त्यसैले परिवारका सदस्यले पुरुषकै नामले उनलाई विद्यालयमा भर्ना गरिदिए । अनि, उनी पनि केटाकै लुगा लगाएर विद्यालय जान थालेकी थिइन् ।
उमेरसँगै कक्षा पनि बढ्दै गयो । विस्तारै उनको बानीबेहोरामा परिवर्तन देखिन थाल्यो । घरपरिवार, समाजले केटा ठाने पनि उनी आफूलाई महिलाका रूपमा चिनाउन चाहन्थिन् । “हिँड्दा म केटी जसरी हिँड्ने, बोली पनि केटीकै, स्कुलमा पनि केटी साथीहरूसँगै हिँड्डुल गर्थें, रमाउँथेँ, खेल्थेँ,” उनी सम्झिन्छिन् ।
आफूमा भएको परिवर्तनबारे उनी अनभिज्ञ थिइन् । “म किन केटा नभई केटीजस्तो भइरहेकी छु भन्ने थाहा थिएन,” उनी भन्छिन्, “स्कुलमा जिस्काउन थालेपछि अलिअलि बुझ्न थालेँ ।” स्कुलमा विद्यार्थीदेखि शिक्षकले जिस्काउन र विभिन्न उपनाम दिन थालेको भन्दै उनी त्यो आफूलाई मन नपरेको बताउँछिन् ।
उनको पहिचानकै कारण कक्षामा साथीहरू पनि घट्न थाले । छिमेकीले पनि उनको कुरा काट्न थाले । कक्षामा सधैँ उनी हाँसोको पात्र बन्न थालिन् । तर, एक दिन घरनजिकैको दाइमार्फत आफ्नो पहिचानबारे स्पष्ट भएको उनी बताउँछिन् । “म केटा भएर पनि केटीजस्तो भएको कसैले पचाउन सकेनन्,” उनी भन्छिन् ।
उनको पहिचानलाई साथीहरुले पचाउन नसकेपछि उनले पनि ती साथीहरुसँगै बसेर पढाइ अघि बढाउन सकिनन् । पढाइ पूरा गर्न नपाएकाले नै अहिले उनी बेरोजगारीको मारमा परेकी छन् । “पढ्ने मन हुँदाहुँदै पनि मैले आफूमाथि गरिने खिसीटिउरीका कारण पढ्न पाइनँ,” उनी सुनाउँछिन्, “अहिले एकदम नराम्रो लाग्छ । पढ्न पाएको भएँ जागिर पाउँथे कि । जागिर नभएकाले नै यौन व्यवसायमा लाग्न बाध्य भएकी छु ।” २७ वर्षीया उनी अहिले घरपरिवारसँग बस्दिनन् । चाडपर्वका बेला मात्र घर जान्छिन् ।
००० ०००
त्यस्तै, पारलैंगिक पुरुष एलिन (परिवर्तित नाम) ले पनि पहिचानकै कारण स्नातक पढ्न पाएनन् । परीक्षा दिने क्रममा शिक्षकले पहिचानकै कारण उनीसँग अभद्र व्यवहार गरेपछि उनको पढाइ बीचमै रोकियो । उनको जैविक लिंग महिलाको हो । महिलाका रूपमा जन्मिए पनि हुर्कंदैबढ्दै जाँदा उनले आफूलाई महिला नभई पुरुषका रूपमा स्वीकार गर्न थाले । स्नातक तह पढ्ने क्रममा उनी केटाकै पोसाकमा कलेज जान्थे । तर, उनको शैक्षिक कागजपत्रमा अझै पनि महिलाकै नाम छ । ‘केटी भएर किन केटा बनेको’ भन्दै शिक्षकले गाली गरेपछि आफूले पढाइ छोडेको उनी बताउँछन् ।
अहिले उनी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि काम गर्ने संस्था नील हीरा समाजमा काम गर्छन् । ‘पढाइका कारण धेरै दुःख पाएँ,” उनी भन्छन्, “पढाइ पूरा नभएकाले विभिन्न अवसरबाट वञ्चित हुनुपरेको छ ।”
उनीजस्तै पहिचानका कारण अपमानित भएर बीचमै पढाइ छोड्नेको संख्या धेरै छ । “नील हीरा समाजमा म जस्ता ९ जना छन्, जसले पहिचानकै कारण बीचमै पढाइ छोड्नुपरेको छ,” उनी भन्छन् ।
दाङकी एस (परिवर्तित नाम) ले पनि पढाइ पूरा गर्न नपाउनुको कारण पनि कोसिका र र एलिनको जस्तै छ । उनले पनि पारलैंगिक महिला भएकै कारण स्नातक पढ्न पाइनन् । विद्यालयमा पढाइने पाठ्यक्रममा समेत समुदायका बारेमा हुनुपर्ने उनी बताउँछिन् ।
“शिक्षकशिक्षिकालाई पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबारे जानकारी हुनुपर्छ,” उनी भन्छिन्, “अनि, सबै यसबारे सचेत हुनुपर्छ ।”
त्यस्तै, नील हीरा समाजको बाँके शाखामा काम गर्ने ७ जनाले पढाइ छोडेका छन् । यसैगरी चितवनमा पनि १ सय ७५ जनाले बीचमै पढाइ छोडेका छन् ।
सुदूरपश्चिम प्रदेशमा भने पहिचानका कारण पढाइ छोड्नेको संख्या धेरै छ । त्यहाँका ठुल्ठूला क्याम्पसमा समेत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मानिसले पहिचानका कारण अपमानित हुनुपरेको छ ।
चैत, २०८१ सम्मको तथ्यांक अनुसार लगभग ७ सय जनाले पढाइ छोडेको नील हीरा समाजका अनुसन्धानकर्ता पर्शु चौधरीले जानकारी दिए । प्रदेशको कैलाली बहुमुखी क्याम्पसमा दुर्व्यवहार गरेको कारण समुदायका तीन जना पारलैंगिक व्यक्तिले स्नातक तहको पढाइ पूरा गर्न नपाएको चौधरी बताउँछन् ।
नेपाल सरकारको शिक्षा ऐनअनुसार प्रत्येक नागरिकलाई गुणस्तरीय शिक्षामा समतामूलक पहुँचको अधिकार हुनेछ । शिक्षा प्राप्त गर्न कसैलाई पनि लिंगका आधारमा भेदभाव गर्न नपाइने भनिएको छ । तर, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिले विद्यालयमा हुने दुर्व्यवहारका कारण बीचमै पढाइ छोड्नुपर्ने बाध्यता रहेको छ ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका अधिकारकर्मी निरञ्जन कुँवर शिक्षा क्षेत्रमा काम गरिरहेका छन् । उनी बालबालिका साथै समुदायको शिक्षा क्षेत्रलाई विकास गर्न विभिन्न सचेतात्मक कार्यक्रमहरु गर्छन् । उनका अनुसार शिक्षा क्षेत्रमा कोही कसैले पनि विभेद गर्न पाउँदैनन् । महिला पुरुष जसरी समुदायका विद्यार्थीहरुलाई समान व्यवहार गरिनुपर्ने उनी बताउँछन् ।
साथै, सरकारले नेपाली पाठ्यपुस्तकमा समुदायको पहिचानलाई पढाउनुपर्ने र समुदायका बारेमा परिचय दिलाइयो भने समुदायलाई हेर्ने दृष्टिकोण फेरिन सकिन्छ । शिक्षक शिक्षिकाले पढाउँदा समुदायलाई असर पुग्ने शब्दावलीहरु प्रयोग गर्न नहुने कुँवर बताउँछन् । साथै समुदायको विद्यार्थीलाई समतापूर्ण व्यवहार र सामान्य रूपले व्यवहार गरिनुपर्ने उनी बताउँछन् ।
यो सामग्री पुन: प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो पुन:प्रकाशन नीति अनुसार प्रकाशन गर्नुहोस् । पुन: प्रकाशन निर्देशिका यहाँ छ ।


