लुम्बिनी प्रदेशमा जन्मेकी आर (परिवर्तित नाम) पारलैंगिक महिला हुन् । जैविक लिंगका आधारमा समाजले उनलाई पुरुषको पहिचान दिएको छ । तर, उनी आफूलाई पारलैंगिक महिला भन्न रुचाउँछिन् । अर्थात् उनी आफूलाई पुरुष नभई महिलाका रूपमा चिनाउन मन पराउँछिन् ।
यस आधारमा भने, समाजले उनलाई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको भनी पहिचान दिएको छ । आफूलाई यो समुदायमा राख्न पाउँदा उनी गर्व महसुस गर्छिन् । “मेरा लागि यो पहिचान मेरो आत्मविश्वास हो,” आर भन्छिन्, “मेरो गर्व हो ।” आफ्नो यसै आत्मविश्वास र गर्वलाई जोगाइराख्न उनले केही वर्षयता पहिचानसहितको नागरिकताका लागि संघर्ष गरिरहेकी छन् ।
१९ वर्षीया आर सानैदेखि केटाभन्दा पनि केटी साथीसँग बढी रमाउँथिन् । उनको जैविक लिंग केटाको भए पनि उनी आफूभित्र एउटा केटी रहेको महसुस गर्थिन् । त्यसैले सानोमा केटाभन्दा केटी साथीसँग उनको मिल्ती बढी थियो । केटी साथीहरूसँग भाँडाकुटी खेल्थिन् । आमाको फरिया अनि दिदीको लाली चोरेर लगाउँथिन् । “दिदीको गुलाबी रङको लाली खुब मन पर्थ्यो,” उनी भन्छिन्, “दिदी नहुँदा उनको लाली चोरी–चोरी लगाउँथें ।”
प्रकृतिले महिला र पुरुषलाई जैविक लिंगका आधारमा मात्रै छुट्याएको हुन्छ । तर, समाजले काममा पनि महिला र पुरुष भनी छुट्याइदिन्छ । यही धारणा बोकेको समाजमा हुर्किएकी आरले पनि केटीहरूका लागि छुट्याइदिएका ती सबै काम गरिन्, जो उनकी दिदीले गर्ने गर्थिन् । यो सबै काम गर्दा आफूलाई आनन्दको अनुभूति हुने उनी बताउँछिन् । “दिदीजस्तै म पनि घरमा कुचो लगाउँथें,” उनी भन्छिन्, “म अरू केटाहरूभन्दा फरक थिएँ । मलाई साथीहरू जसरी हिँड्न, बस्न मन लाग्दैन थियो । केटाभन्दा पनि केटीहरूले जसरी हिँड्न र बोल्न मन लाग्थ्यो ।”
आफ्नो यस व्यवहारका कारण उनी साथीहरूबीच हाँसोकी पात्र बन्थिन् । सहपाठीहरूले उनलाई खिसीटिउरी गर्थे । विभिन्न उपनामले जिस्काउँथे । आरलाई यसरी गिज्याउनेमा साथीभाइ र सहपाठी मात्र थिएनन्, शिक्षक पनि थिए । “केटा भएर कस्तो केटीजस्तो हाउभाउ गरेको भन्दै जिस्काउँथे,” आफ्नो तितो अनुभव साट्दै आर भन्छिन्, “केटा भएर किन केटी जसरी हिँडेको ? भनेर हैरान पार्थे ।”
साथीभाइ, सहपाठी र शिक्षकबाट आजित भएर उतिखेर आफूले स्कुल नै छोड्ने निर्णयसमेत गरेको उनी बताउँछिन् । छोरा ठानिएको रूपमा जन्मिएकाले आफूभित्रको छोरीलाई बुझ्न उनलाई त्यतिबेला निकै गाह्रो भयो । “यी र यस्तै कारणले ९ कक्षा पढ्दापढ्दै बीचमै छोडें,” उनी सुनाउँछिन् ।
घरपरिवारले पनि उनलाई छोराकै दर्जा दिएको थियो । आमाबुबा र घरका अन्य सदस्यले आरलाई छोराकै रूपमा चिन्थे । त्यसै रूपमा व्यवहार गर्थे । विद्यालय छोडेपछि गाउँमा यसै बरालिएर हिँड्ने छुट उनलाई थिएन । घरको आर्थिक अवस्था कमजोर भएकोले गाउँमा बेकाममा बस्न उनले पाइनन् । परिवारको बिहान–बेलुकाको छाक टार्न उनले केही न केही काम गर्नुपर्थ्यो । तर, गाउँघरमा खासै काम नपाएपछि उनी काम गर्न छिमेकी मुलुक भारत पुगिन् । त्यहाँ सानोतिनो काम गर्न थालिन् । “चिनजानको कोही थिएन, त्यहाँ पनि कामका लागि धेरै भौंतारिएँ,” उनी भन्छिन्, “भारतमा आफूले गर्न सक्ने काम जति सबै गरेँ ।”
पारिवारिक जिम्मेवारीले देश छुटायो र परदेश पुर्यायो । तर, जैविक रूपमा केटा भए पनि आफूलाई केटी ठान्ने मन छुट्न सकेन । यो कुराले उनको मन खाइरह्यो । भित्रभित्रै उकुसमुकस भइरह्यो । मनका कुरा मनमा गुम्सिरहे । “जति नियन्त्रण गर्न खोजे पनि मन छटपटाइरह्यो,” उनी भन्छिन्, “दुइटा कुरा बारम्बार मनमा आइरहन्थे । एक–आमाबुबालाई कसरी खुसी राख्ने र अर्को– आफ्नो पहिचानलाई कसरी चिन्ने ?”
संयोगवश भारतमा उनले आफूलाई चिन्ने मौका पाइन् । पारलिंगी व्यक्तिहरूको जैविक लिंग र लैंगिक पहिचान एकअर्कासँग मेल नखाने कुरा बुझिन् । “सुरुमा त आफूलाई अहिलेसम्म चिन्न नसकेकोमा दुःख लाग्यो,” उनी सुनाउँछिन्, “तर, जैविक अंगले केटा भए पनि म मनबाट केटी हुँ भनेर थाहा पाएपछि खुसीले गद्गद् भएँ ।” आफ्नो मनको कुरा घरपरिवारका सदस्यलाई सुनाउन चाहन्थिन् । तर, कसरी ? भन्ने यक्ष प्रश्न उनका सामुन्ने थियो ।
आफूसँग आफैं प्रश्न गर्थिन्– के म सधैँ यसरी नै बाँच्ने हो त ?
यो प्रश्न मनमा रातदिन ठोक्किरहन्थ्यो । घुमिरहन्थ्यो । एक दिन उनको मनले विद्रोह गर्यो । भन्छिन्, “अनि लाग्यो, हुँदैन । अब यसरी गुम्सिएर बाँच्नु हुँदैन । मैले खुल्नुपर्छ । सबैलाई आफूबारे विस्तारै भन्नुपर्छ ।”
भारत गएको दुई वर्षपछि उनी घर फर्किइन् । यति बेलासम्म उनलाई सबैभन्दा बढी माया गर्ने बुबा कालका गाँस बनिसकेका थिए । “घरमा बाबाले नै बढी माया गर्नुहुन्थ्यो,” उनी भन्छिन्, “उहाँ नै नभएपछि अरूलाई कसरी भन्ने समस्या आइलाग्यो ।”
तर, घरका अरू सदस्यले उनीबारे सुइँको पाइसकेका थिए । लैंगिक पहिचानकै कारण दिदीले उनलाई गाली गरिन् । उनलाई घरमा बस्न छटपटी भयो । यसपछि घर छोड्ने निधो गरिन् । भन्छिन्, “घरमा बाबाले बढी माया गर्नुहुन्थ्यो, उहाँ भएको भए साथ दिनुहुन्थ्यो तर उहाँ नै नभएपछि अरूले भन्ने बाटो रह्यो नै ।”
आफ्नो पहिचान र जागिरको खोजीमा उनी काठमाडौं छिरिन् । “राजधानीमा सबै मान्छे आफ्नो सपना पूरा गर्न र जागिरका लागि जान्छन् भनेर सुनेकी थिएँ,” उनी सुनाउँछिन्, “केही सपना बुनेर म पनि काठमाडौं आइपुगें ।”
लुम्बिनी प्रदेशबाट बस चढेकी उनी देशको राजधानी काठमाडौंको कलंकीमा ओर्लिइन् । कहाँ जाने, कसरी जाने अत्तोपत्तो थिएन । बस चालकका सहयोगले जसोतसो नील हीरा समाज पुगिन् । “संस्थाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मानिसलाई जागिर दिन्छ भन्ने सुनेकी थिएँ,” उनी भन्छिन्, “त्यतिखेर संस्थामा जागिर त पाइनँ । तर, आफूजस्तै धेरै साथीलाई चाहिँ भेट्ने मौका पाएँ ।”
आफूजस्तै साथीको संगतमा परेपछि उनी पनि महिलाको ‘गेटअप’ हिँड्न थालिन् । हर्मोनसम्बन्धी औषधि प्रयोग गर्न थालिन् । जसले गर्दा उनको स्वर र शरीरको बनावट परिवर्तन हुन थाल्यो । उनको आत्मविश्वास बढ्दै गयो । साथीहरूले पनि उनलाई पहिचानबारे थप हिम्मत दिँदै गए ।
००० ०००
आर काठमाडौं छिर्दासम्म उनको नागरिकता बनेको थिएन । सहर आएपछि उनले पहिचानसहितको नागरिकताबारे थाहा पाइन् । यति बेला परिवारले उनको पहिचानलाई स्वीकार गरिसकेको थिएन । जेनतेन हिम्मत जुटाएर आमासामु नागरिकताको कुरा राखिन् । आमाको कमलो मन । आमा साथ दिन तयार भइन् । “सहर आएपछि मात्र हो मलाई पहिचानसहितको नागरिकताबारे थाहा भएको,” उनी भन्छिन्, “आमाले पनि मिलेसम्म बनाउँला भन्नुभयो ।”
नागरिकताका लागि आवश्यक कागजपत्र तयार पारिन् । आमासँग सल्लाह गरेर नागरिकतामा राख्ने नयाँ नाम पनि सोचिन् । तर, त्यसका लागि जन्मदर्ताको नाम नै परिवर्तन गर्नुपर्ने भयो । अनि, वडा कार्यालय पुगेपछि त नयाँ नाम, नयाँ पहिचानसहितको नागरिकता बनाउने उनको सपनामा तुषारपात भयो । “नागरिकताको सिफारिस बनाइदिन भनेर वडा कार्यालय पुगें, त्यहाँका कर्मचारीलाई भेटें,” उनी सुनाउँछिन्, “नागरिकता पुरुषकै नाममा सिफारिस भयो ।”
कर्मचारीले पहिचानसहितको नागरिकताका लागि लिंग नै परिवर्तन गरेर आउनुपर्ने सुझाए । “सुरुमा त हामी अक्क न बक्क भयौँ,” उनी भन्छिन्, “मैले चाहेको नागरिकता बनाउन आमाको सिफारिसले मात्र नहुने रै’छ । त्यसका लागि त मैले लिंग नै परिवर्तन गर्नुपर्ने रहेछ । मैले डाक्टरको सिफारिस ल्याउनुपर्ने भयो ।”
वडा कार्यालयले सल्लाह दिए पनि उनका लागि त्यो काम त्यति सजिलो थिएन । नागरिकताको खाँचो परिरहेकाले उनले बाध्य भएर पुरुषकै नामको नागरिकता स्वीकार गर्नुपर्यो । तर, मनले महिला आरलाई पुरुषको नामको नागरिकता चित्त बुझेको छैन । उनलाई वडाका कर्मचारीले भनेको जस्तै मेडिकल रिपोर्ट ल्याउन मन छ । त्यो रिपोर्ट देखाएर महिलाका नाममा नागरिकता बनाउन मन छ । तर, त्यसका लागि लाखौँ खर्च गर्नुपर्छ । उनीसँग त्यति पैसा छैन । “त्यसमाथि लिंग परिवर्तन गरेरै जोखिम लिन चाहन्नँ,” उनी भन्छिन् ।
उनी अहिले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि काम गर्ने संस्थालाई आफ्नो नागरिकता बनाउन पहल गरिदिन अनुरोध गरिरहेकी छन् । विभिन्न कार्यक्रममा पहिचानसहितकै नागरिकताबारे आवाज उठाउँछिन् । भन्छिन्, “जति बोले पनि कसैले सुन्दैनन् । अगाडि हुन्छ भन्छन् तर सहयोग गर्न खोज्दैनन् । म राज्यलाई एउटा प्रश्न सोध्न चाहन्छु– खोइ मेरो पहिचानसहितको नागरिकता ?”
००० ०००
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा आरजस्तै धेरैले पहिचानसहितको नागरिकता पाएका छैनन् । जसले गर्दा उनीहरूले विभिन्न समस्या भोग्नुपर्छ ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मानिसको हकहितबारे आवाज उठाउने अधिकारकर्मी गौरी नेपालीका अनुसार नागरिकतामा आफ्नो इच्छाअनुसार लैंगिक पहिचान खुलाउन पाउनुपर्छ । “समुदायका धेरै व्यक्तिको लिंग परिवर्तन गर्न सक्ने आर्थिक क्षमता छैन,” उनी भन्छिन्, “सरकारले व्यक्तिको आत्मपहिचानलाई बुझेर पहिचानसहितको नागरिकता दिनुपर्छ ।”
राज्यले जबर्जस्ती यस्तो नियम लाद्न खोजेको उनको भनाइ छ । “राज्यले तिमीहरूले जसरी पनि लिंग परिवर्तन गर्नुपर्छ भन्छ तर यो गलत हो,” गौरी भन्छिन्, “कि राज्यले आफैंले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदिनुपर्यो । तर, यस्तो कुनै सुविधा छैन । नेपालमा भर्खरै त हर्मोन थेरापी भित्रिन थालेको छ ।”
पहिचानसहितको नागरिकताका लागि सरकारले माग्ने मेडिकल रिपोर्टलाई खारेज गर्नुपर्ने उनको भनाइ छ ।
आरलाई नागरिकता सिफारिस गर्ने वडा कार्यालयका वडाध्यक्ष दीपक पाण्डे आरको नागरिकताबारे आफूलाई जानकारी नभएको बताउँछन् । “मलाई यसबारे जानकारी छैन,” उनी भन्छन्, “यदि थाहा भएको भए, मैले सक्ने सहयोग गर्थें । जिल्ला प्रशासनको स्वीकृतिअनुसारको सिफारिस गरिदिन्थें । अहिलेसम्म उनीजस्ता मान्छे यहाँ नागरिकता बनाउन आएका छैनन् । सबै महिला वा पुरुषको नामबाट मात्र नागरिकता बनाउन आउँछन् । आरबारे पहिलो पटक सुन्दै छु ।”
यो सामग्री पुन: प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो पुन:प्रकाशन नीति अनुसार प्रकाशन गर्नुहोस् । पुन:प्रकाशन निर्देशिका यहाँ छ ।