Navigation
पारलैंगिक महिलामाथि बढ्दो हिंसा Manika BK Jul 07, 2025

पारलैंगिक महिला (ट्रान्स वुमन) संगीता अधिकारीले नागरिकता बनाउने प्रक्रिया पूरा गर्दा भोगेको दुर्व्यवहार अहिलेसम्म भुलेकी छैनन्  ।  प्रमुख जिल्ला अधिकारीले पारलैंगिक महिला भएको प्रमाण ल्याउन भने र डाक्टरले प्रमाणित गरिदिए नागरिकता दिने बताए । त्यसपछि संगीता भरतपुर अस्पताल पुगेकी थिइन्, जहाँ पुरुष डाक्टरले उनलाई शरीरको सबै कपडा फुकाल्नुपर्छ भने ।

--- ---

मधु (परिवर्तित नाम) ३९ वर्षकी भइन् । उनी पारलैंगिक महिला (Transwoman) हुन् । यौनकर्मी उनी रत्नपार्क र आसपासमा भेटिन्छिन् । 

दुई वर्षअघि उनी रत्नपार्कमै थिइन् । रात छिप्पिँदै थियो, ग्राहकको पर्खाइमा रहेकी उनी नजिकै दुई जना पुरुष आइपुगे । उनीहरूले मधुसँग कुराकानी गरे । उनीहरूले मधुलाई आफूहरूसँगै जान आग्रह गरे । 

dei-in-focus-1719398032.pngराति अबेर भइसकेकाले उनीहरूसँगै जान मधुले आनाकानी गरिन् । तर उनीहरूले मागेजति पैसा दिने भनेपछि मधु लोभिइन् । “ठमेलको एक होटलमा खाना खाने मान्छे आउँछन्, केही गर्नुपर्दैन, कम्पनी मात्र दिए पुग्छ, तिमीले चाहेको पैसा पाउँछौ भनेका थिए,” मधु सम्झिन्छिन् ।

मधु राजी भएपछि ३ जना ट्याक्सीमा चढे । रत्नपार्कबाट ट्याक्सी ठमेलतिर नभई सिंहदरबारतिर हुइँकियो । पछाडि सिटमा बसेकी उनी ठमेल भनेर किन यता आएको भन्दै कराइन् । ट्याक्सी अनामनगर पुगिसकेको थियो । उनले ती पुरुषसँग लिएको पैसा फिर्ता गरेर ओर्लिन खोजिन् । तर उनीहरूले ओर्लिन दिएनन् ।

उनीहरूले आफूहरूले भनेको ठाउँमा जानुपर्ने भन्दै धम्की दिए । अगाडि बसेको पुरुषको आदेशमा ट्याक्सी गुडिरहेको थियो । उनीहरूले मधुलाई मारेर खोलामा फाल्दिने भनेर तर्साए, मधुको कपाल लुछे, कुटे । मधुसँग विकल्प थिएन । उनी सबै सहेर र निक्कै डराउँदै ट्याक्सीमा बसेकी थिइन् । 

एकछिन पछि ट्याक्सी मैतीदेवी पुग्यो । मधुले त्यहाँ प्रहरी बिट देखिन् । सुनसान सडकमा गुडिरहेको ट्याक्सीको झ्यालबाट चिच्याउँदै प्रहरीसँग गुहार मागिन् । त्यसपछि चालकले ट्याक्सी रोके । “मैले चिच्याएको प्रहरीले सुनिसकेका थिए, त्यसैले गाडी रोके,” उनलाई त्यो दिनको अझै सम्झना छ, “मैले सबै कुरा प्रहरीलाई भनेँ, तर प्रहरीले उल्टै मेरै गल्ती देखाए ।”

मधुका अनुसार प्रहरीले रातिमा हिँडेको भन्दै उनलाई नै गालीगलौज गरे, तर ती पुरुषहरूलाई केही भनेनन् । उनी भन्छिन्, “किन राति हिँडेको भन्दै कराए तर तीे केटाहरूलाई यत्तिकै छोडिदिए, कुनै कारबाही भएन ।”

यो घटनापछि उनी डिप्रेसनमा गइन् । राति सुत्ने बेला उनलाई गाह्रो हुन्थ्यो । एक हप्ता त उनी बाहिरै निस्किन सकिनन् । “आफ्नो आर्थिक अवस्थाका कारण पनि मैले यौनकर्मीको काम छोडिनँ, तर दिनकै मलाई यो घटनाले डर लाग्थ्यो,” उनले भनिन् । 

उनले यौनकर्मी भएर जीविकोपार्जन गर्न थालेको थुप्रै वर्ष भयो । उनीमाथि यस्तो घटना भएको पहिलो पटक भने होइन । उनलाई काम गर्ने क्रममा पनि दुर्व्यवहार गर्ने उद्देश्यले धेरै पुरुषले जबरजस्ती गर्न खोज्छन् । 

--- ---

पारलैंगिक महिला (Transwoman) संगीता अधिकारी पुस २८, २०७७ मा पहिचानसहितको नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय चितवन पुगेकी थिइन् । त्यहाँ भोगेको दुर्व्यवहार उनले अहिलेसम्म भुलेकी छैनन् । उनलाई तत्कालीन प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पारलैंगिक महिला भएको प्रमाण ल्याउन भने र डाक्टरले प्रमाणित गरिदिए नागरिकता दिने बताए ।

त्यसपछि संगीता भरतपुर अस्पताल पुगेकी थिइन्, जहाँ पुरुष डाक्टरले उनलाई शरीरको सबै कपडा फुकाल्नुपर्छ भने । “मलाई नागरिकता चाहिएको थियो, आफ्नो शरीर पूरै नांगो पारेर नागरिकता लिन मन थिएन,” उनी सम्झन्छिन्, “एकदम असहज लागे पनि डाक्टरले त्यस्तो गर्नु नै पर्छ भन्नुभयो, महिला डाक्टर भएको भए सहज हुन्थ्यो ।” त्यसपछि उनले लिंग अन्य उल्लेख गरेको नागरिकता पाएकी थिइन् । 

नेपालको संविधान २०७२ को धारा १२ अनुसार वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बाबुको नामबाट लैंगिक पहिचानसहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्नेछन् । तर संविधानले दिएको अधिकार प्राप्त गर्दा पनि आफूमाथि दुर्व्यवहार भएको संगीता बताउँछिन् । 

--- ---

कोरोना महामारी (Covid-19) का समयमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका ६ जनालाई प्रहरीले चितवनमा चोरीको आरोप लगाउँदै पक्राउ गरेको थियो । नारायणगढ वडास्तरीय प्रहरी कार्यालयमा एक व्यक्तिले आफूमाथि लुटपाट भएको भन्दै उजुरी दिएका थिए । 

प्रहरीले अनुसन्धान नै नगरी आफूहरूलाई बाटोमा हिँडिरहेका बेला पक्रेको, पक्राउ पर्नेमध्येकै एक जनाले बताए । प्रहरीले चोरी गर्ने व्यक्तिलाई पक्राउ नगरी लैंगिक तथा यौनिक अल्पसंख्यकलाई पक्राउ गरेको भन्दै अधिकारकर्मीहरूले विरोध जनाए । १० दिन थुनामा राखेपछि उनीहरू धरौटीमा रिहा भएका थिए । 

कोरोना महामारीले समस्या भोगिरहेका बेला प्रहरीले बिनाकारण झूटो आरोपमा पक्राउ परेका उनीहरूसँग नागरिकता थिएन । त्यसैले स्थानीयस्तरमा वितरण गरिने राहतसमेत उनीहरूले पाएका थिएनन् । यस्तो स्थितिमा पक्राउ गरेर प्रहरीले दुर्व्यवहार गरेको लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय बताउँछन् । 

पारलैंगिक महिलाहरूलाई अरू समयमा पनि प्रहरीले दुर्व्यवहार गर्ने गरेको आरोप छ । यौनकर्मी पारलैंगिक महिलाहरू प्रहरी ग्राहक बनेर आफूहरूकहाँ आउने र दुर्व्यवहार गर्ने गरेको बताउँछन् । “सिभिलमा आएका पुलिसबाट म दुर्व्यवहारमा परेको छु,” एक यौनकर्मी पारलैंगिक महिलाले भनिन्, “धेरै पटक बिनापैसा पुलिसले मसँग यौनसम्पर्क राखेको छ ।”

पैसा माग्दा कुटपिट हुने गरेको उनी बताउँछिन् । “पैसा माग्दा तँलाई जेलमा हाल्दिन्छु भनेका छन् । कहिले त प्रहरी भ्यान बोलाइदिन्छन्, पिट्छन्, बाँसको भाटा बोकेर आउँछन् । कोहीसँग त पेस्तोलसमेत हुन्छ । धेरै डर हुन्छ । ज्यानको डर लाग्छ,” उनले थपिन्, “हामी उजुरी गर्न जाँदा केस नै लिन खोज्दैनन्, आफ्नो केस आफैँ सल्टाऊ भन्दै फर्काउँछन् ।” 

उनले बाटोमा हिँड्दा सर्वसाधारणले जथाभावी अपशब्दहरू प्रयोग गरेर दुर्व्यवहार गर्ने गरेको उनी बताउँछिन् । “बाटोमा हिँड्दा मान्छेले हेर्छन्, त्यो स्वाभाविक नै हो, तर ‘छक्का’ ‘हिँजडा’ भन्छन्, जुन हामी सुन्न चाहँदैनौं, केटीहरूले समेत हामीलाई मुख छाड्छन् ।”

--- ---

पुसको अन्तिमतिर मायाको संसार संस्थाकी अध्यक्ष सुनिता लामालाई भरतपुरस्थित वडा प्रहरीले कुटपिट गरी लाठी चार्ज गरे । भागदौड गर्ने क्रममा सुनिताको खुट्टा भाँचियो ।  

त्यस दिन सुनिता फायर क्लब गरेर चितवनबाट फर्कने क्रममा नारायणी नदीछेउमा चिया पिउँदै गफ गरिरहेका बेला वडा प्रहरीको समूहले अपमान गर्दै लाठी चार्ज गर्दा उनी भाग्ने क्रममा लडेर खुट्टा भाँचिएको बताउँछिन् । 

उनको चितवन मेडिकल कलेज (Chitwan Medical College) मा उपचार भएको थियो । यसपछि उनले उक्त घटनाबारे जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी थिइन् । प्रशासनले घटनाबारे छानबिन र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई पत्र लेख्यो । तर प्रहरी कार्यालयका तत्कालीन डीएसपी भेषराज रिजालले उनीहरूमाथि लाठी चार्ज नभएको बताए । उनले भने, “उनीहरूलाई हामीले कुटपिट गरेको छैन, प्रहरी भ्यान आउनेबित्तिकै भाग्ने क्रममा लडेर सुनिताको खुट्टा भाँचिएको हो, हामीले लाठी चार्ज गरेको छैन ।”

भरतपुर–३ स्थित वडा प्रहरी कार्यालयका तत्कालीन प्रमुख काशीराज थापाले पनि कुटपिट नगरेको दाबी गरे । उनी भन्छन्, “उनीहरूलाई कुटपिट गरेको छैन । हामीहरूलाई गलत आरोप लगाए ।”

प्रहरीले आफूहरूमाथि बारम्बार बिनाकारण दुःख दिइरहने सुनिता बताउँछिन् । उनी यौन पेसामा आबद्ध समुदायको हकअधिकारका लागि काम गर्छिन् ।

यो सामग्री पुन: प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो पुन:प्रकाशन नीति अनुसार प्रकाशन गर्नुहोस् । पुन:प्रकाशन निर्देशिका यहाँ छ ।

 

Comments