राम्रो आम्दानी र परिवारको सुखसयलको सपना बोकेर घरबाट अमेरिकाको यात्रामा निस्किएका बझाङका ३२ वर्षीय रकमबहादुर (परिवर्तित नाम) मंसिर १५, २०८१ को बिहान ऋणमा डुबेर नेपाल फर्किए । लाखौँ रुपैयाँ ऋण काढेर १ वर्षअघि अवैध बाटोबाट अमेरिकाको यात्रामा निस्किएका उनी अमेरिका देख्नै नपाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए ।
नेपाल फर्किएको झन्डै ३ महिनापछि काठमाडौंको थापाथलीस्थित एकता कफी सपमा भेटिएका रकमबहादुरले भने, “मान्छेहरूले चिन्छन् भन्ने भयले मुख छोपेर हिँडेको छु ।”
मान्छेले चिन्छन् भन्ने डरले मुखै छोपेर हिँड्नुपर्ने उनले के गरेका थिए ? हामीले थाहा पाउन चाह्यौँ । हातले मुखको मास्क निकाल्दै उनले एक श्वासमा भने, “सपना देखियो, सम्पत्ति सकियो, बन्धक बनियो ।”
जसरी पनि अमेरिका जाने र त्यहाँ सुखी जीवन बिताउने सपना देखेर रकमबहादुरजस्ता केही नेपालीले अवैध बाटो हुँदै अमेरिकाको यात्रामा निस्कने गरेका छन् । तर अमेरिकालाई गन्तव्य बनाएर निस्किएका हरेक पाइला अमेरिका पुग्दैनन् । यसरी अवैध बाटोबाट अमेरिका जान चाहनेले बाटोमा धेरै नै दुःख र कष्ट सहनुपरेको छ ।
लाखौँ रुपैयाँ खर्च गरेर पनि अमेरिका पुग्न नपाई बाटैबाट फर्कनुपर्दा पैसा र समय दुवैको बर्बादी भइरहेको छ । केही कसै गरेर अमेरिका प्रवेश गरे पनि अमेरिकाले निष्काशन गर्ने गरेको छ । निष्काशनमै नपरे पनि कतिखेर के हुने हो ? कसो हुने भन्दै चिन्तामा पर्ने गरेका छन् । अवैध बाटोबाटै अमेरिका पुगेका एक युवाले हामीसँग यसअघि गलत बाटो अपनाएकोमा पश्चाताप लागेको बताएका थिए ।
रकमबहादुर अमेरिकामा त पुग्न सकेनन् । नेपाल फर्किएका उनी हिजोआज दिनमा कमै हिँड्डुल गर्छन् । हिँड्नै पर्दा पनि कसैले नचिनोस् भनेर मास्क लगाउँछन् । उनले बझाङमा रहेको आफ्नो गाउँमा पस्ने आँटसमेत गर्न सकेका छैनन् ।
प्लस टुसम्मको अध्ययन गरेका उनको काँधमा पारिवारिक जिम्मेवारी थियो । गाउँमै खेतीपाती गरेर बस्थे । “आफ्नो खेतको उब्जनीले वर्षदिन पनि खान पुग्दैनथ्यो,” रकमबहादुर भन्छन्, “परिवार पाल्न पनि केही गर्नै पर्ने थियो ।”
उनले देशमै रोजगारीका लागि थुप्रै अवसरको खोजी गरे । दिगो काम र सहज जीवनयापनका लागि १२ वर्ष भांैतारिँदा पनि कुनै काममा स्थापित हुन सकेनन् । सरकारी जागिरे बन्ने रहरमा ३ पटकसम्म लोकसेवा आयोगको परीक्षा दिए, तर नाम निस्किएन ।
त्यसपछि उनले सहज जीवनका लागि देखेको एउटै बाटो थियो– परदेशको । तर कुन देश जाने यकिन थिएन ।
विदेश गएका साथीहरूले सामाजिक सञ्जालमा बाँडेको खुसी देखेर उनी लोभिन्थे । उनी आफू पनि त्यस्तै जीवन बाँच्न चाहन्थे । लोकसेवाको तयारी गर्दैताका सामाजिक सञ्जालमै उनले भेटे– रुकुम पश्चिमका बलराम (परिवर्तित नाम) ।
बलराम तल्लो बाटो भनिने अवैध मार्गबाट अमेरिका पुगेको दुई वर्ष भएको थियो । बलरामसँग उनको अनलाइनमा बाक्लै कुराकानी भइराख्थ्यो । जीवनका दुःख साट्ने क्रममा एक दिन बलरामले ‘के पीर गर्छस्, हिँडेर अमेरिका आइज’ भनेको रकमबहादुर सुनाउँछन् । उनै बलरामले रकमबहादुरलाई तल्लो बाटोबाट अमेरिका पुग्ने तरिका मात्र सिकाएनन्, अमेरिकासम्म पुर्याउने रेशम शाहसँग सम्पर्क गराए ।
रुकुम पश्चिम राडीका रेशमसँगको सम्पर्कपछि रकमबहादुरको सपनाले थप बल पायो । रेशमले तारन्तार फोन गरेर आफूले थुप्रैलाई अमेरिका पठाइसकेको बताउँथे । नेपालदेखि अमेरिका पुग्ने रुट सहजै बताउँथे– दुबई, ब्राजिल, मेक्सिको हुँदै अमेरिका । दुबईबाट चार्टर्ड फ्लाइट चलाउने स्थिति भए झन् चाँडै अमेरिका पुगिने भन्दै उनले आशा बढाउने गरेको रकमबहादुर स्मरण गर्छन् ।
रेशमले नेपालबाट अमेरिका पुग्ने समय तोकेका थिए– दुई महिना । अमेरिका पुग्ने खर्च– ५५ लाख रुपैयाँ । रेशमको सर्त थियो– १५ लाख अग्रिम भुक्तानी गर्नुपर्ने र बाँकी यात्राकै क्रममा दिँदै जानुपर्ने ।
रकमले पनि अमेरिका जाने बाटो खर्च ऋण गरेर जुटाउने, दुई महिना कष्ट झेल्ने, त्यसपछि ऋण पनि तिर्ने र जीवन सुखसँग बिताउने सपना देखे । गाउँमा विदेश जाने भनेर ५ लाख रुपैयाँ ऋण लिए । बा–आमा र श्रीमतीलाई सुख दिने वचन दिएर घरबाट निस्किए । गाउँ छोडेर काठमाडौं आएपछि रकमबहादुर र रेशमको भेट भयो । यसअघि फोनमा कुराकानी गरिरहेका उनीहरूको पहिलो भेट असोज २८, २०८० मा काठमाडौंको मित्रपार्कमा भयो ।
रेशमले १५ लाख बुझाएपछि अमेरिका जाने प्रक्रियया सुरु गरिदिने भन्दै तत्काल पैसा जम्मा गर्न भने । आफैंले चिनेको साथी बलराम रेशममार्फत नै अमेरिका पुगेकाले विश्वास गरेर सुरुमा रकमबहादुरले भनेको व्यक्तिको खातामा ४ लाख रुपैयाँ हालिदिए । मंसिरको तेस्रो हप्ता काठमाडौंबाट उडाउने भन्दै बाँकी ११ लाख तयार पार्न भने । “त्यही बीचमा उनले एअरपोर्टमा सेटिङ मिलाउन १ लाख रुपैयाँ तत्काल चाहियो भन्दै पैसा मागे” रकमबहादुर सम्झन्छन् ।
रेशमले भनेअनुसार रकमले पैसा बुझाउँदै गए । रेशमले मंसिर २१, २०८० को टिकट दिए । दुबई जान एयर अरेबियाको टिकट बोकेर त्यो दिन उनी काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पुगे । “तर, विमानस्थल पुग्दा त्यो दिन एअर अरेबियाको उडान नै रहेनछ,” रकमबहादुर सम्झन्छन्, “टिकट नै डमी मात्र रहेछ, प्राविधिक गडबडी होला भनेर फर्किएँ ।”
त्यसपछि रेशमसँग सम्पर्क गर्दा थप ३ लाख रुपैयाँ मागे । उक्त पैसा बुझाएर रकमबहादुर भोलिपल्ट दुबई उडे । दुबई पुगेपछि अमेरिका पुर्याउने अर्का एजेन्ट भेटिए– कैलाश अधिकारी ।
चितवन स्थायी घर भएका कैलाशले रकमलाई बरदुबईको एउटा होस्टलमा लगे, जहाँ अमेरिका जाने सपना बोकेर घरबाट निस्किएका अरू मानिस पनि थिए । उनका अनुसार कैलाशले ‘दुबईबाट निकारागुवाका लागि चार्टर्ड फ्लाइट मिलाउँदै छु’ भनेर आश्वासन दिएका थिए ।
चार्टर्ड फ्लाइटमार्फत दुबईबाट निकारागुवा पुग्न कैलाशले थप १० लाख मागे । “कैलाशले उनको नाता पर्नेको खाताको नम्बर दिए,” रकमबहादुर भन्छन्, ‘त्यसअनुसार मैले रकम पनि हालिदिएँ, तर विमान कहिल्यै चार्टर्ड भएन ।’
कैलाश विमान चार्टर्ड हुने मिति सारिरहन्थे । उनकै भरमा रकमबहादुर एकपछि अर्को मिति पर्खिदै बस्थे । २ महिना ९ दिन दुबईको होस्टलमा बन्धकजस्तै बनेर बसेको उनी सुनाउँछन् । दुबईमा अध्यागमन दस्तुरबापत् २ लाख ९६ हजार रुपैयाँ तिरेको उनी बताउँछन् ।
रकमबहादुरले पटकपटक गरेर दलाललाई ३८ लाख ४० हजार रुपैयाँ बुझाए । तर, अमेरिका पुग्न पाएनन् । अनेक हन्डर खाँदै गिनी पुगेका उनी मंसिर १५, २०८१ मा इथियोपिया, दिल्ली हुँदै काठमाडौं ओर्लिए । गिनीबाट काठमाडौं आउन १ लाख २५ हजार रुपैयाँको टिकट काटेको उनी बताउँछन् ।
काठमाडौं आएपछि उनले जिल्ला प्रहरी परिसर, काठमाडौंमा कैलाश र रेशमलाई विपक्षी बनाई ठगी मुद्दा दर्ता गरे । उनकै जाहेरीका आधारमा अमेरिका पठाउने एजेन्टमध्येका रेशमलाई प्रहरी परिसरले पक्राउ त गर्यो । तर, उनी पैसा फिर्ता गर्ने सर्तमा छुटे । छुटेपछि रेशमले ६ लाख रुपैयाँ फिर्ता गरेको बताउने रकमबहादुर अरू पैसा फिर्ता आउने टुंगो नरहेको बताउँछन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी शिवराज बुढाथोकीका अनुसार अमेरिका जाने चक्करमा ठगिएका र उजुरी बोकेर आउने युवाको संख्या बढ्दो छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ३२ वटा निवेदन दर्ता भएका छन् । ३२ वटा निवेदनमा ९ करोड ७२ लाख ५७ हजार ठगी भएको उजुरी आएको डीएसपी शिवराज बताउँछन् ।
तर, अमेरिका जाने नाममा ठगिएका पीडितलाई न्याय दिन भने त्यति सहज नरहेको उनको भनाइ छ । शिवराज भन्छन्, “दलालले उनीहरूलाई फिर्ता गर्न नमिल्ने शीर्षकमा पैसा हाल्न लगाएका हुन्छन् ।”
अमेरिकी पठाउने नाममा ठग्नेहरूलाई कस्तो कारबाही हुन्छ त ? मानव बेचबिखन तथा अनुसन्धान ब्युरोका डीएसपी ज्ञानबहादुर विष्ट भन्छन्, ‘‘मानव तस्कर तथा ठगीको कसुरअनुसार सजाय दिन सकिन्छ ।’’
केही अवस्थामा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन आकर्षित भए पनि अमेरिका जाने केसमा सबै जानेरै हिँडेका हुनाले मुद्दा स्थापित गर्न गाह्रो हुने उनको तर्क छ ।
अपहरणको आरोपमा उल्टै जेल
अमेरिका जाने आसमा रेशमलाई पैसा बुझाउने रकमबहादुर एक्ला होइनन् । रकमबहादुरसँगै काठमाडौंका सडकमा भेटिने जजरकोटका इमानसिंह (परिवर्तित नाम) को कथा पनि उस्तै छ । अमेरिका पुग्ने सपना पूरा गर्न अवैध बाटो समाउँदा झेलेको कष्ट र ऋण सम्झिएर राम्ररी निदाउन नसकेको बताउने इमानसिंहले ३४ लाख १० हजार रुपैयाँ गुमाएको जानकारी दिए ।
जाजरकोटमा हुर्किएका इमानले सानैमा बुबाको काख गुमाए । आमाका एक्ला छोरा उनको काँधमा आमा र बहिनीको जिम्मेवारी थियो ।
प्लस टुसम्मको अध्ययन गरेका उनले एक समय नेपालीमै केही गरेर परिवार पाल्ने सोचेका थिए । उनले काठमाडौं आएर केही समय काम पनि गरे । तर कोरोना महामारी आएका बेलामा गाउँ फर्किन पनि ऋण गर्नुपर्यो । त्यसपछि देशमै केही गरेर परिवार पाल्न सकिन्छ भन्ने उनलाई लागेन ।
उनकै गाउँका अनुभवसिंह (परिवर्तित नाम) केही वर्षअघि तल्लो बाटो हुँदै अमेरिका पुगेका थिए । उनै अनुभवसिंहले इमानसिंहलाई रेशमसँग सम्पर्क गराइदिए । “अनुभवसिंहले ‘रेशम भन्ने व्यक्ति छन्, उनले तिमीलाई तल्लो बाटोबाट अमेरिका पठाइदिन्छन्’ भनेका थिए,” इमनसिंह सम्झन्छन् ।
उनले रेशमसँग सम्पर्क गरे । ५५/६० लाख रुपैयाँ खर्च गरे २ महिनामा अमेरिका पुर्याइदिने आश्वासन पाए । उनले त्यसका लागि सुरुमा १५ लाख रुपैयाँ तिर्नुपर्ने भयो । आफ्नै घरजग्गा धितो राखेर उनले असोज ९, २०७९ मा काठमाडौंको मित्रपार्कस्थित एक होटलमा रेशम शाहलाई पैसा बुझाए ।
“अमेरिका पुग्ने बाटो सहज छैन मलाई थाहा थियो” इमान सम्झन्छन् “दुबई हुँदै अजरबैजान, त्यहाँबाट टर्की–स्पेन–ब्राजिल हुँदै तल्लो बाटो गाडी, घोडा, डुंगामार्फत हामी सहजै अमेरिकी सीमा पार गराउँछौँ भनेका थिए ।” तर, यात्रा सुरु हुनुअघि नै उनले फेरि पैसा दिनुपर्ने भयो । मंसिर, २०७९ मै उनले १० लाख रुपैयाँ थप बुझाए ।
अमेरिका जाने सपनासहित हतारमा काठमाडौं आएका उनी २ महिना काठमाडौंमै रोकिए । असोज १०, २०७९ मा दुबईका लागि उडे । दुबईमा उत्रिएपछि उनलाई चितवनका कैलाशले बरदुबईमा रहेको होस्टलमा लगेर राखे । उनी अक्टोबर ६, २०२२ (असोज २०, २०७९) मा अजरबैजानका लागि उडे । उनको राहदानीमा अजरबैजानको अध्यागमनले एक महिनाको भिसा दिएको थियो । तर, भिसा सकिएपछि पनि उनलाई एजेन्टहरूले कतै लगेनन् । अजरबैजानको अध्यागमनले नियन्त्रणमा लिएर नोभेम्बर २३, २०२२ (मंसिर ७, २०७९) मा आफ्नै देश फर्किन भन्यो ।
त्यसपछि सम्पर्कमा आएका कैलाशले दुबई ट्रान्जिट हुँदै काठमाडौं फर्कने टिकट काटिदिए । “म दुबईबाट नेपाल फर्किन चाहन्थेँ,” इमान सुनाउँछन्, “तर कैलाशले दुबई विमानस्थलमै लुकेर बस्न भने ।”
यसपटक कैलाशले विमानस्थलमै दुई दिनसम्म लुकाएर राखेर इथियोपिया हुँदै ब्राजिलबाट अमेरिका जाने भनेर भिसा र टिकट दिए । नोभेम्बर २५, २०२२ (मंसिर ९, २०७९) मा साथीहरूसहित इथियोपिया उडे । त्यहाँबाट ब्राजिल उडाउने भनिएको थियो ।
उनी इथोपियाको होटलमै रहँदा नेपालबाट रेशमले फोनमा ‘त्यहाँबाट अगाडि जाने हो भने, थप १० लाख रुपैयाँ बुझाउनू’ भनेको इमानसिंहले बताए । “उनले धम्क्याउँदै ‘जसले थप पैसा दिन्छ, उसले मात्र ब्राजिलबाट तल्लो बाटो हुँदै अमेरिका जान पाउँछ’ भनेका थिए,” इमान सम्झन्छन्, “भनेको नमाने नेपाल फर्किएपछि पनि पैसा दिन नसक्ने भनेर धम्काएका थिए ।”
नोभेम्बर २७, २०२२ (मंसिर ११, २०७९) मा इमानले आफ्नी दिदीमार्फत रेशमलाई १० लाख रुपैयाँ पठाए । त्यसपछि ब्राजिलतर्फ लैजाने भन्दै डिसेम्बर २, २०२२ (मंसिर १६, २०७९) मा इथियोपियाको विमानस्थलमा लगियो । तर, त्यहाँबाट उनले ब्राजिलतर्फ जाने अनुमति पाएनन्, होटलमै फर्किनुपर्यो ।
त्यसपछि भने इमानले हरेस खाएका थिए । बढ्दै गएको ऋणको आयतन, परिवारको सम्झना र बाटोको हैरानीले उनी घर फर्किन चाहन्थे । उनले नेपालमा रहेका एजेन्ट रेशमलाई फोन गरेर भने, “अब नेपाल नै फर्किने व्यवस्था गरिदिनुस् ।” रेशमले जसरी पनि अमेरिका पठाएर छोड्ने वचन दिए । यही वचनको भरमा उनी थप ४ महिना इथियोपियामै रोकिए ।
एजेन्टले पैसा नभएर काम रोकिएको भन्दै थप ३ लाख ६० हजार मागे । उनको परिवारले ऋण गरेर उक्त रकम रेशमलाई बुझायो । त्यसपछि इथियोपियाबाट टर्की हुँदै ब्राजिलका लागि हिँडेका इमान अप्रिल ४, २०२३ (चैत ११, २०७९) मा किर्गिस्तान पुगे । ‘‘चार महिनासम्म किर्गिस्तानको राजधानी बिस्केकको एउटा अपार्टमेन्टमा लगेर मलाई राखिएको थियो,’’ उनी भन्छन्, ‘‘रेशमले त्यहाँबाट अघि बढ्न फेरि ५ लाख रुपैयाँ मागेका थिए ।’’
अमेरिका पठाउन नसके सबै पैसा फिर्ता दिन्छु भन्दै रेशमले अर्को आश्वासन दिए । थप ५ लाख दिएर किर्गिस्तानबाट टर्कीतर्फ उडेका उनलाई भनिएको थियो– स्पेन, पेरु, बोलिभिया हुँदै ब्राजिल लैजान्छौँ । तर, टर्कीमा अध्यागमनका अधिकारीहरूले पक्राउ गरेर ५ दिन अध्यागमन हिरासतमा राखे ।
“पछि राहदानी जफत गरेर टर्किस एअरलाइन्सले नै टिकट व्यवस्थापन गरेर अगस्ट २३, २०२३ (भदौ ६, २०८०) मा मलाई काठमाडौं पठायो,” इमान सुनाउँछन् ।
अनेक हन्डर खाएर नेपाल आइपुग्दा उनको थाप्लोमा ऋणको भारी थियो । नेपाल आउनासाथ घर फर्किन सकेनन् । रेशमलाई भेटे । रेशमले पुनः अमेरिका नै पठाउने बताए ।
थप पैसा नमाग्ने सर्तमा रेशमले सेप्टेम्बर ८, २०२३ (भदौ २२, २०८०) मा पुनः दुबई उडाए । त्यहाँबाट उज्वेकिस्तान हुँदै टर्की, स्पेन, बोलिभिया, ब्राजिल हुँदै अमेरिका छिराउने भनिएको थियो । उनी दुबईबाट २६ सेप्टेम्बर २०२३ (असोज ९, २०८०) मा उज्वेकिस्तानतर्फ उडे ।
त्यहाँको राजधानी तास्केनको होस्टलमा झन्डै एक महिना बसेर उनी अक्टोबर २३, २०२३ (कात्तिक ६, २०८०) मा टर्की पुगे । उनलाई टर्की अध्यागमनले नियन्त्रणमा लियो । अध्यागमनले आफैं टिकट बनाएर नेपाल फर्किन भन्यो । “त्यसपछि कैलाश अधिकारीले टर्कीबाट दुबई हुँदै काठमाडौंसम्मको टिकट काटिदिए,” इमान सम्झन्छन्, “दुबईको विमानस्थलमा झर्नासाथ कैलाशले नेपालको टिकट क्यान्सिल गरिदिएँ भन्दै बाहिर बोलाए ।”
३ महिना दुबईको होस्टलमा बसेपछि फेब्रुअरी ११, २०२४ (माघ २८, २०८०) मा किर्गिस्तानतर्फ उडे । यसपटक उनलाई किर्गिस्तानबाट टर्की, स्पेन, पेरु, ब्राजिल हुँदै अमेरिका जाने भनिएको थियो ।
तर, आफू किर्गिस्तान पुग्दा त्यहाँको रुट बन्द भएको भनेर श्रीलंका लगिएको उनी सुनाउँछन् । उनी श्रीलंका पुगेपछि रेशम र कैलाश सम्पर्कविहीन भए । ३० दिन श्रीलंकामा बसेको सुनाउने इमान होटलको पैसा तिर्न नसकेका कारण २ हप्ता बन्धक बनेको बताउँछन् ।
नेपालबाट पैसा मगाएर होटलको पैसा तिरेपछि उनी आफैं दुबई गए । उनी दुबईमा कैलाश अधिकारीलाई भेट्ने र पैसा फिर्ता माग्ने सोचमा थिए । यति बेलासम्म उनीहरूले अमेरिका पठाउन नसकेका अन्य नेपालीले पनि पैसा माग्न थालेका थिए । इमान कैलाशले बोलाएकै ठाउँमा गए । तर, इमानविरुद्ध कैलाशलाई अपहरण गरेको आरोपमा दुबई प्रहरीमा पहिल्यै उजुरी परिसकेको रहेछ । “पहिल्यै प्रहरीलाई खबर गरेर योजनाबद्ध तरिकाले बोलाएको रहेछ,” इमान भन्छन्, “त्यसपछि म फेरि दुबईमा पक्राउ परेँ ।”

डिसेम्बर १२, २०२४ (मंसिर २७, २०८१) मा दुबई अदालतले निर्दोष ठहर्याएपछि उनी नेपाल फर्किए । अहिले उनी पनि दलालले पैसा फिर्ता गर्छ कि भन्ने आशमा भौतारिरहेका छन् । कैलाश र रेशम दुवैलाई हामीले मोबाइल र म्यासेन्जरमा कल गर्यौं । हामीले कुराकानी गर्न खोजेको विषय उल्लेख गरेर सन्देश पनि पठायौँ । तर दुवैले फोन उठाएनन् ।
नेपाली युवाहरू अमेरिका जाने नाममा मात्रै ठगिएका छैनन् । अन्य रोजगारीका लागि जाने र ठगिनेहरूको वैदेशिक रोजगार विभागमा उजुरीको चाङ नै छ । २०८१ सालमा मात्रै वैदेशिक रोजगारीका नाउमा भएको ठगीका ४ हजार ३ सय केस दर्ता भएका छन् । यो तथ्यांक विभागको समग्र तथ्यांक हो । कुन देशका नाममा कति ठगिए भन्ने बेग्लोग्लै तथ्यांक भने विभागसँग छैन ।
डिपोर्ट हुने पनि उस्तै
अवैध बाटोबाट अमेरिका पुग्ने सपना बोकेर हिँडेकाहरू आधा बाटोबाट होइन, अमेरिकै प्रवेश गरेपछि पनि फर्कनुपरिरहेको छ । अवैध रूपमा अमेरिका प्रवेश गरेकालाई त्यहाँको अध्यागमनले पक्राउ गरेर डिपोर्ट गर्ने गरेको छ । यसरी डिपोर्ट हुनेको कथा पनि रकमबहादुर इमानसिंहको भन्दा फरक छैन ।
अमेरिकाबाट डिपोर्ट हुनेमध्येका एक हुन्– बर्दियाका खगेन्द्र हमाल । उनी हुँदाखाँदाको शिक्षकको जागिर छाडेर अमेरिका हिँडेका थिए । देश छोड्ने बेला उनलाई लागेको थियो, “अमेरिका पुगे जिन्दगीले काँचुली फेर्नेछ ।”
उनले अवैध बाटोबाट अमेरिका जान बाँकेका लालबहादुर रोकालाई २८ लाख रुपैयाँ बुझाए । दिल्ली–बार्सिलोना–मेड्रिट हुँदै मेक्सिकोबाट अमेरिका छिरे । अमेरिका छिरेलगत्तै पक्राउ परे । यसरी अवैध रूपमा अमेरिका छिर्ने अरूले जे गर्थे उनले पनि त्यही गरे । शरणार्थी बन्न मुद्दा हाले ।
उनलाई सोधियो, “किन अमेरिका आएको ?”
पुराना दिन सम्झँदै खगेन्द्रले भने, “देशमा अशान्ति छ, बस्न सक्ने स्थिति छैन भनिदिए ।” तर, उनले अमेरिकामा बस्ने अनुमति पाएनन् । अमेरिकी सरकारले डिपोर्ट गरेर फकाईदियो ।
मानव बेचबिखन तथा अनुसन्धान ब्युरोको पछिल्लो ७ वर्षको तथ्यांक अनुसार अमेरिका पुगेर खगेन्द्रजस्तै डिपोर्ट भएका नेपालीको संख्या ३ सय १३ जना छ । ब्युरोले डिपोर्ट भएर आएपछि आफ्नो सम्पर्कमा आएकाहरूको मात्र तथ्यांक राख्ने गरेको छ ।
सामाजिक सञ्जालमा देखिएको ‘सुख’ खोज्दा समस्या
अवैध बाटोबाट अमेरिका जान खोज्ने नेपालीहरूको संख्या घट्नुको साटो बढ्दै जानु केवल आर्थिक कारण मात्रै नरहेको समाजशास्त्री प्रणब खरेलको तर्क छ । उनका अनुसार बेरोजगारी, सामाजिक प्रतिस्पर्धा, भ्रमपूर्ण सफलताको कथा, दलाली सञ्जाल अनि राज्यको नीतिगत अक्षमताले गर्दा गैरकानुनी तरिकाबाट देश छोड्नेहरूको संख्या बढ्दा क्रममा रहेको छ ।
“नेपालमा दीर्घकालीन, मर्यादित रोजगारीको सुनिश्चितता छैन, विश्वविद्यालय पास गरेका युवाहरू खेतमा जान चाहँदैनन्, सरकारी जागिर छैन, निजी क्षेत्र कमजोर छ,” खरेल भन्छन्, “जनसंख्या उत्पादन र अवसर सिर्जनाबीचको अनुपात असन्तुलित छ, यस्तो सन्दर्भमा अमेरिका जाने सपना धेरैका लागि विवशता पनि बन्न पुगेको छ ।” प्रणवका अनुसार रोजगारी नहुनु मात्रै नभएर राजनीतिक अस्थिरता, सुशासनको अभाव, र राज्यले सिर्जना गर्न नसकेको भविष्यप्रतिको विश्वासले युवाहरूलाई देशभित्र बस्न कठिन बनाइरहेको छ ।
नेपाली समाजमा निर्धारण भएको अमेरिका, अस्ट्रेलिया, जापानजस्ता विकसित देशहरू पुग्ने नेपालीहरूको सामाजिक हैसियतको मापदण्डले पनि धेरै युवालाई ‘यहाँ केही हुन्न, अमेरिका पुगे पुग्छ’ भन्ने प्रवृत्तिगत सोचमा पुर्याउने गरेको प्रणव बताउँछन् । भन्छन्, “कतिपयले घर बेचेर वा ऋणमा डुबेर भए पनि त्यो सपना पछ्याउँछन् ।’’
जोखिम तथा ठगिएका कथा सुन्दासुन्दै पनि नेपालीले त्यही जोखिम मोल्न चाहनुको अर्को कारण खोतल्छन् उनी, “तपाईँका साथीहरू अमेरिका पुगेका छन्, छिमेकीका छोरा–छोरी अमेरिका पुगे, तपाईंले ढिला गर्नुभयो, पछि पछुताउनुहुनेछ भन्ने खालका मनोवैज्ञानिक दबाबले धेरै नेपाली युवालाई अमेरिका जान बाध्य बनाउँछ ।”
फेसबुक, टिकटक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालले पनि युवालाई अमेरिका पस्न प्रेरित गरेको प्रणव बताउँछन् । उनका अनुसार समाजिक सञ्जालमा अमेरिका पुगेका नेपालीहरूले आफ्नो जीवनको चम्किलो भाग मात्र देखाउँछन् । नयाँ घर, नयाँ गाडी, बाहिरको डिनर, रमाइलो ।
“यस्तो दृश्यले गाउँमा रहेका युवाहरूलाई झन् प्रेरित गर्छ, ऊ सफल भयो भने म पनि सक्छु, हामीले पनि प्रयास गर्नैपर्छ भन्ने मनोवृत्ति बलियो बनाउँछ,” उती बताउँछन् । उनीहरूले अवैध बसाइ, अपमानजनक श्रम, डर, डिपोर्टको खतरा, मानसिक तनावभित्र लुकेको पीडा देखाउँदैनन् । त्यसैले पनि साथीहरूको रमझम देखेर युवाहरू जोखिम मोलेरै भए पनि अमेरिका जान चाहेको प्रणव बताउँछन् ।
प्रमाणको अभावले कारबाही कठिन
वैदेशिक रोजगार विभागमा ठगीको उजुरी लिएर आउने नेपालीको संख्या दिनहुँ बढ्दो छ । विभागमा कमलप्रसाद भट्टराईले महानिर्देशकका रूपमा कार्यभार सम्हालेको धेरै भएको छैन ।
उनका अनुसार अहिले विभागमा दैनिक २० देखि २५ जना ठगीका उजुरी लिएर आउने गरेका छन् । विभागले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने म्यानपावर व्यवसायीका माध्यमबाट ठगिएकाहरूको मात्रै केस हेर्ने भएकाले अमेरिका जाने नाममा ठगिएकाहरू कम पुग्ने गरेको महानिर्देशक कमलप्रसाद बताउँछन् ।
व्यक्तिगत रूपले ठगिएको विषयको पनि यथेष्ट प्रमाण आएको खण्डमा विभागले अनुसन्धान गर्ने भएपछि केही अमेरिकी सपनाले ठगिएकाहरू पनि विभागमा पुग्ने गरेका छन् । तर, उनीहरूसँग पुग्दो प्रमाण नहुने उनी बताउँछन् । विभाग पुगेकाहरूलाई उनीहरूको कुरा सुनेर मानव बेचबिखन तथा अनुसन्धान ब्युरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाउने गरिएको छ ।
विभागले आर्थिक वर्ष ०७९/०८० मा ठगी केसमा संलग्न २५४ जनालाई पक्राउ गर्न अनुरोध गर्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्र पठाएको थियो । जसमध्ये ७१ जना पुरुष र १९ जना महिला गरी जम्मा ९० जना लाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
यसैगरी, ०८०/०८१ मा ८ सय ४० जनालाई पक्राउ गर्गका लागि विभागले पत्र काटेको थियो । त्यसमध्ये २ सय ७७ जना पुरुष र ७१ जना महिला गरी जम्मा ३ सय ४८ जना पक्राउ परे । ०८१/०८२ मा ८ सय ६६ जनालाई पक्राउ गर्न भनिएकोमा १ सय ९९ पुरुष र ७१ महिला गरी २ सय ७० जनालाई पक्राउ परेको उपत्यका अपराध अनुसन्धान कार्यालयको तथ्यांकमा उल्लेख छ ।
यी उजुरीहरूमा अमेरिका जाने नाममा ठगिएकाहरूको छुट्टै तथ्यांक भने समावेश गरिएको छैन । आर्थिक वर्ष ०८१/०८२ मा अपराध अनुसन्धान कार्यलयमै परेको ४०३ वटा उजुरीमध्ये ३२ वटा उजुरी अमेरिका जानेसम्बन्धी छन् ।
विभागका महानिर्देशक कमलप्रसादका अनुसार अवैध बाटोबाट अमेरिका जाने नेपालीहरू सचेतना नभएर हिँडेका हुन् भन्ने मान्न तयार छैनन् । “सबै कुराबाट सचेत हुँदाहुँदै पनि परेको बेहोर्छु भनेर उनीहरू हिँडिरहेका छन्,” उनी भन्छन्, “यसरी त्यहाँ पुगेकाहरूलाई पनि भोलिको त्यहाँको कानुनले समात्न सक्छ भन्ने जानकारी राम्रै छ ।”
यो विषयमा सरकार, केन्द्रीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारले बेलाबेला सचेतना दिँदै आएको उनी बताउँछन् । ‘‘बेलाबेला हामीले बोलिरहेका छौँ, रेडियो, टीभीमा हाम्रा धारणाहरू राखिरहेका छौँ,” महानिर्देशक भट्टराई भन्छन्, “अझै हामीले अरू प्रयत्न गर्न बाँकी छ तर त्योभन्दा व्यक्ति आफैँ तत्पर हुनुपर्छ, जानीबुझी जानेलाई चाहिँ केही पनि भन्न सकिँदैन ।”
यो सामग्री पुन: प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो पुन:प्रकाशन नीति अनुसार प्रकाशन गर्नुहोस् । पुन:प्रकाशन निर्देशिका यहाँ छ ।