Navigation
कलाकारको भेषमा मानव तस्करी: नेपालबाट क्यानडा-अस्ट्रेलियासम्म फैलिएको अवैध सञ्जाल Pushpa Thapaliya | Jun 02, 2025

सांस्कृतिक कार्यक्रमका लागि भन्दै मे २६, २०२३ का दिन ३८ जना कलाकारको टोली क्यानडा पुग्यो । एक हप्ताका लागि भनेर क्यानडा गएको यो टोलीका ४ जना मात्र काम सकेर त्यतिबेलै स्वदेश फर्किए । अरू सबै उतै बसे । 

features-1719398032.pngउता बस्ने सबै पूर्वतयारीअनुसार योजना बनाएर गएको आफूले पाएको टोलीसँगै गएका कलाकार सुधीर श्रेष्ठले बताए । 

“मेरो त बस्ने योजना नै थिएन, त्यसैले केही तयारी नगरी गएको थिएँ,” उनी भन्छन्, “अरू त योजना बनाएरै गएका रहेछन् ।” साथीहरूको लहलहैमा लागेर आफू पनि १५ महिना क्यानडा बसेको बताउने उनी अहिले भने स्वदेश फर्किएका छन् । क्यानडामा बसिरहँदा कलाकार बनेर नराम्रो उदाहरण बनेको महसुस भएपछि स्वदेश फर्किएको उनले बताए । 

चलचित्र प्रविधि संघका एक पूर्वसदस्य (नाम खुलाउन नचाहने) का अनुसार विदेशमा गएर उतै बस्न चाहनेहरूलाई कलाकारको आवरणमा लैजाने गिरोह नै सक्रिय छ । तर सुधीर आफ्नो समूहमा पर्नेहरू के कसरी गएका थिए, थाहा नभएको बताउँछन् ।

संघका ती पूर्वसदस्यका अनुसार अहिलेको ट्रेन्डलाई विश्लेषण गर्दा कलाको आवरणमा दुई प्रकारले तस्करी भइरहेको छ । 

पहिलो प्रकारका तस्करहरूमा कला क्षेत्रमै नाम चलेका र सक्रिय जीवन बिताइरहेका व्यक्तिहरू छन् । उनीहरू विदेशमा विभिन्न कार्यक्रम गर्छन् । विदेश लैजाने व्यक्तिलाई उनीहरूले सुरुमा आफ्नै असिस्टेन्ट बनाएर वा आफ्नो प्रोजेक्टमा कलाकारको काम गराउँछन् र सक्कली पोर्टफोलियो नै तयार गर्छन् । 

सिफारिसका आधारमा सक्कली सरकारी कागजात तयार पार्छन् र केही समय काम पनि गर्छन् । यो सबै प्रक्रियाका लागि उनीहरूसँग केही रकम लिइएको हुन्छ । यदि भिसा लागे टिकटबाहेक ३ देखि ५ लाख रुपैयाँ लिन्छन्, भिसा नलागे लगानी बिर्सनुपर्ने सर्त राख्छन् । फिल्म क्षेत्रले चिनेको या कागजपत्र मिलाउन सजिलो हुने मानिस नै उनीहरूको टार्गेटमा हुन्छन् ।

दोस्रो प्रकारका तस्करहरू भने संगठित भएरै लागिपरेका हुन्छन् । उनीहरूको विदेश लैजाने टार्गेट भनेकै कला क्षेत्र बाहिरका मानिस हुन्छन् । सबै कागजपत्र नक्कली तयार पारेका हुन्छन् । उनीहरू एक जना बराबर देश हेरेर १० लाखदेखि ३५ लाख रुपैयाँसम्म असुल्छन् । भिसा लाग्नुअघि नै उनीहरूले आधा रकम लिएका हुन्छन् । यसरी पैसा तिर्ने कतिपय विदेश जान पाउँछन् भने कतिपय पाउँदैनन् । 

नक्कली कागजात तयार पारेर कलाकारको आवरणमा मानव तस्करी भइरहेको सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक अशोक प्यासी राई पनि स्वीकार गर्छन् । कलाकारको नक्कली कागज बनाएर विदेश जाने गरेको आफूले पाएको राईले बताए । “म सांस्कृतिक संस्थानको महाप्रबन्धक हुँदा र त्योभन्दा पहिलेदेखि नै यसको दुरुपयोग भएको थाहा पाएको थिएँ,” उनले भने, “कलाकारहरूले फेक कागज बनाएको म आफैँले पनि भेटेको हो ।” 

आफ्नो नक्कली हस्ताक्षर र संस्थानको लेटरहेड दुरुपयोग भएको देखेर धेरै पटक आफैँ अचम्ममा परेको पनि राईले बताए । किर्ते कागज बनाउनेहरूको सञ्जाल नै भएको भन्दै उनले थपे, “सिंगै सिंहदरबार बागबजारको झोलामा अटाएको छ, यसले धेरै मानिसलाई पीडित बनाएको छ ।”

कलाकारको आवरणमा मानव तस्करी हुने गरेको भन्दै गायक स्वप्निल शर्माले करिब दुई वर्षअघि सामाजिक सञ्जाल फेसबुकमा सचेत गराएका थिए । उनले त्यतिबेला लेखेका थिए, “हामी (कलाकारहरू) ले कलाकारको भिसाको नाममा मानव बेचबिखनमा संलग्न अस्ट्रेलियाका आयोजकहरूलाई बहिस्कार गर्नुपर्छ ।” 

अस्ट्रेलियामा हप्तामा दुई पटकसम्म कार्यक्रम आयोजना हुने गरेको उल्लेख गर्दै गायक स्वप्निलले कलाकारको माग भएर नभई गैरकलाकारलाई कलाकारको आवरणमा अस्ट्रेलिया प्रवेश गराउनका लागि ती कार्यक्रम हुने गरेको आरोप लगाएका थिए । 

प्रमाणको अभावमा मुद्दा नै अघि बढ्दैन

२०७८ साल भदौको पहिलो हप्तातिर पर्यटन बोर्डका तत्कालीन प्रमुख कार्यकारी निर्देशक धनञ्जय रेग्मीको मोबाइलमा भारतको नम्बरबाट फोन आयो । फोन नयाँ दिल्लीस्थित नर्वेजियन दूतावासका कुनै कर्मचारीको थियो । उनले पर्यटन बोर्डको पत्र नम्बर ३०९–२०७८/७९ का बारेमा बुझ्न रेग्मीलाई फोन गरेका थिए ।

त्यो पत्रमा ब्लु बर्ड एच डी कम्पनीले निर्माण गर्न लागेको ‘तिम्रो नजर’ नाम गरेको चलचित्रको छायांकनका लागि नर्वे जान १४ जना कलाकारलाई भिसा उपलब्ध गराइदिन आग्रह गरिएको थियो । “दूतावासका कर्मचारीले म पर्यटन बोर्डको सीईओ हो/होइन भनेर सोधे,” रेग्मीले साढे ३ वर्षअघिको त्यो दिन स्मरण गरे, “म नै धनञ्जय रेग्मी र पर्यटन बोर्डको सीईओ हो भनेर यकिन गरेपछि ‘तिमीले फिल्म सुटिङ गर्न १४ जना कलाकारलाई नर्वेको भिसाका लागि सिफारिस गरेका रहेछौ, के उद्देश्यले हो’ भनेर उनले सोधे ।”

त्यसपछि आफू अलमलमा परेको र ‘कसकसको नाम छ, देऊ म एक घण्टापछि बुझेर खबर गर्छु’ भनेको रेग्मीले सुनाए । त्यसपछि बोर्डको सचिवालय र अरू पदाधिकारीलाई बुझ्दा कसैले पनि पत्र पठाएको नपाइएकोे रेग्मीले बताए । “मेरो नामबाट नक्कली पत्र पठाएछन्, चिनिएका कलाकारमा केकी अधिकारीको र आर्यन सिग्देलको नाम हालेछन्, कन्सुलेटले फोन नगरेको भए त मैले त थाहा नै पाउने थिइनँ,” रेग्मीले भने ।

नायिका केकी अधिकारीले आफूलाई यसबारे थाहै नभएको र किर्ते पासपोर्ट प्रयोग गरिएको दाबी गरिन् । “यो घटना हुँदा म विदेशमा नै कार्यक्रमहरूमा व्यस्त थिएँ । पछि मिडियाबाट मेरो नाम पनि फिल्म युनिटमा रहेको थाहा पाएँ,” उनले भनिन्, “म न फिल्ममा साइन भएकी हुँ, न मलाई यसबारे थाहा नै छ । उल्टै मेरो डकुमेन्टसमेत नक्कली बुझाइएको रहेछ ।”

फिल्म बनाउने टोलीमा चर्चित कलाकार भए सजिलै भिसा दिन्छ भनेर उनीहरूले आफ्नो नाम र फोटो दुरुपयोग गरेको केकीले दाबी गरिन् । “विदेश जान चाहने अन्य मानिसहरूसँग पैसा असुल गरिएको रहेछ,” केकीले भनिन्, “चर्चित कलाकारहरू नै अनुबन्धित छन्, त्यसैले शतप्रतिशत भिसा ग्यारेन्टी भनेर पैसा उठाएका रहेछन् ।”

आफ्नो नाममा किर्ते हस्ताक्षर गरेर नक्कली पत्र तयार पारी मानव तस्करी गर्न लागेको थाहा पाएपछि रेग्मीले यसबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी गरेका थिए । तर ब्युरोले थप प्रमाण जुटाउन नसकेको भन्दै यो मुद्दालाई अघि नै बढाएन । “हामीले पत्रको फोटाकपी मात्र पायौँ, त्यो फरेन्सिक जाँचका लागि योग्य पनि भएन र यो मुद्दा त्यत्तिकै रोकियो,” ब्युरोका तत्कालीन एसपी सुधीरराज शाहीले भने । 

तस्कर नै प्रभावशाली

फिल्म ‘हिम्मतवाली’ मा प्रमुख भूमिकामा अभिनय गरेका सुदर्शन गौतम कलाकार बनाएर मानव तस्करी गरेको अभियोगमा मुद्दा खेपिरहेका छन् । उनी क्यानडामा छन् भने उनको मुद्दा काठमाडौं जिल्ला अदालतले मुल्तबीमा राखेको छ । 

सुदर्शनसहितको टोलीले तीन नेपाली महिलालाई रुस, कोलम्बिया डोमिनिका हुँदै हैटी पुर्‍याएको आरोप छ । भारतको नयाँदिल्ली हुँदै गएका ती महिलाको साथमा हैटीमा छायांकन गरिने ‘संस्कार’ नामक नेपाली भाषाको फिल्ममा अभिनय गर्ने कलाकारको परिचय थियो । उनीहरूसँग हैटीले नै फिल्म बनाउन बोलाएको पत्र पनि थियो । पत्रमा पाँच नेपाली कलाकारलाई छायांकनका निम्ति हैटी बोलाइएको उल्लेख थियो ।

तर उनीहरूको गन्तव्य हैटी थिएन, उनीहरूलाई त्यहाँबाट पानी जहाजमा अमेरिका लैजान खोजिएको थियो । जसमध्येकी सुमित्रा कुँवरको खाना र पानीको अभावमा बिरामी परेर जहाजमै निधन भएको थियो । दुई जना महिलालाई अमेरिकास्थिति नेपाली दूतावासको समन्वयमा नेपाल फिर्ता गरिएको थियो । उनीहरूले जहाजमा निधन भएपछि कुँवरकोे शवलाई समुद्रमा फ्याँकिएको जानकारी दिएका थिए । 

ती महिलालाई अमेरिका लैजान लागेको आरोपमा आफूलाई फसाइएको र झूटो मुद्दा हालिएको सुदर्शनले दाबी गरे । क्यानडाबाट म्यासेन्जरमा कुराकानी गरेका उनले भने, “मेरोे त्यो मुद्दा मिलाइदिन्छु भनेर अहिले पनि नेपालमा बसेर बार्गेनिङ गरिरहेका छन्, मैले पैसा नदिएकाले नमिलेको हो ।”

नेपालबाट आफ्नो नाममा रेड कर्नर नोटिस जारी गरेको भनिएको तर इन्टरपोलमा बुझ्दा त्यस्तो कुनै रेकर्ड फेला नपरेको दाबी गरे । डरले आफू नेपाल नआएको उनले बताए । “धेरै पटक अमेरिकी र क्यानडा ओहोरदोहोर गरिरहेको छु, केही समस्या छैन,” सुदर्शनले भने, “नेपाल आउँदा समातेर जेल हालिदिए भने निस्किन सक्दिनँ कि भन्ने डर छ ।”

आर्थिक लेनदेनमा मुद्दा, सजिलै छुट्छन् तस्कर

सुलेमान शंकर ‘इकु’ भनेर चिनिएका कलकार सूर्यमान शंकरमाथि कलाकार भिसामा क्यानडा, अमेरिका र युरोपका विभिन्न देशमा पठाउने भन्दै १५ देखि २० लाख रुपैयाँसम्म ठगी गरेको आरोप छ । पीडितले दिएको उजुरीका आधारमा ब्युरोले उनलाई पक्राउ गरी मुद्दा चलाएकामा काठमाडौं जिल्ला अदालतले ५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ । 

अदालतमा विचाराधीन रहेको यो मुद्दामा आफू निर्दोष रहेको तर मुद्दाबारे थप नबोल्ने सुलेमानले बताए । उनले लेनदेन गरेको र समयमै पैसा चुक्ता गर्न नसक्दा झूटो मुद्दा परेको दाबी गरे । 

तर सुलेमानले सञ्चालन गरेको एसएमएस फिल्म प्रालिको ग्लोबल आईएमई बैंकको खातामा पैसा जम्मा गर्न लगाई आवश्यक कागजातसमेत नक्कली बनाउने गरेको सीआईबीका तत्कालीन प्रवक्ता होबिन्द्र बोगटीले दाबी गरे । 

सुलेमानमाथि लागेको आरोप मानव तस्करीजस्तो जघन्य अपराधको भए पनि प्रहरीले उनीमाथि आर्थिक लेनदेन मुद्दा लगाएको थियो । तर उनलाई लाग्नुपर्ने मुद्दा भने मानव बेचबिखन तथा ओसारपसार, ठगी र संगठित अपराधमा भएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका तत्कालीन प्रवक्ता एसपी गौतम मिश्रले बताए । 

विदेश जाने नियत भएकालाई रोक्नै गाह्रो

एक वर्षअघिको घटना, मार्च २४, २०२४ मा सिड्नीको वरउड पार्कमा अस्ट्रेलियास्थित लाहुरे टीभीले ‘‘लेट्स प्ले होली’’ कार्यक्रम आयोजना गरेको थियो । होली कार्यक्रम गर्न दुई अभिनेत्री र कार्यक्रम सञ्चालक दिनेश डीसी अस्ट्रेलिया गएका थिए ।

उनीहरूको टोलीमा पूजाविधि गर्नका लागि एक जना पण्डितलाई पनि राखिएको थियो । तर ती पण्डितलाई दूतावासले भिसा दिएन । ती पण्डितले एनआरएन अस्ट्रेलियाले निमन्त्रण गरेको र खान बस्न सबै व्यवस्था उसैले गर्ने भनेर लेखिएको सिफारिससहित दूतावासमा भिसा आवेदन दिएका थिए । 

उनले भिसा नपाएको समाचार सार्वजनिक भएपछि एनआरएन अस्ट्रेलियाले आफ्नो लेटरहेड र पदाधिकारीको हस्ताक्षर दुरुपयोग भएको भन्दै विज्ञप्ति निकाल्यो । र, यो कार्यक्रममा आफ्नो संलग्नता नभएको स्पष्ट पारेको थियो । लाहुरे टीभीले पनि आफूले पनि दुई अभिनेत्री र डीसीलाई मात्र आमन्त्रण गरेको स्पष्ट पारेको थियो । 

नेपालबाट यो कार्यक्रममा पाहुना संयोजन गरेका डीसी चलचित्र विकास बोर्डका अध्यक्ष छन्् । उनले नेपालबाट कार्यक्रममा ३ जना मात्र सहभागी हुने सम्झौता भएको र त्यसैअनुसार आफूले संयोजन गरेको भन्दै कार्यक्रम असफल बनाउन अनर्गल प्रचार गरिएको आरोप लगाए । उनले आफ्नो टोलीमा पुरोहित संलग्न नरहेको दाबी गरे । 

उनले आफू बोर्डमा आएपछि कलाकारको आवरणमा हुने मानव तस्करी रोक्न चलचित्र नीतिमा नै प्रस्ताव गरेर प्रधानमन्त्रीसमक्ष पठाएको बताए । 

उनले तर पनि विदेश जाने मनस्थिति बनाएकाहरूलाई कुनै हालतमा रोक्न नसकिने तर्क पनि गरे । “जसरी हुन्छ विभिन्न आवरणमा विदेश जाने नियत बनाएकाहरू विदेश गएरै छाड्छन्,” डीसीले भने, “अस्ट्रेलियाको भिसा अस्वीकृत भएका पण्डित अहिले कुन देश पुगिसके, खोज्ने हो भने थाहा हुन्छ ।”

Keki-Adhikari-1748866627.jpg
केकी अधिकारी । तस्बिर सौजन्य : सुरेन्द्र थापा

समाचारका हेडलाइनले समेत सास्ती दियो

- केकी अधिकारी, नायिका

जति बेला फिल्म सुटिङका लागि नर्वे जान लागेको भनेर भिसाका लागि आवेदन गएको थियो, त्यो समयमा म कामको सिलसिलामा देश बाहिर थिएँ । सरकारी कागज किर्ते गरेको भन्ने खबर आएपछि मलाई सीआईबीले मलाई बोलायो । त्यहाँ पुगेर कागजपत्रहरू हेर्दा थाहा भयो, मेरो पासपोर्ट, हस्ताक्षर सबै किर्ते गरिएको रहेछ । 

फिल्म बनाउने टोलीमा चर्चित कलाकार भए सजिलै भिसा दिन्छ भनेर उनीहरूले मेरो नाम र फोटो दुरुपयोग गरेका रहेछन् । 

विदेश जान लागेका अन्य मानिससँग पैसा असुल गरिएको कुरा पछि मात्रै थाहा पाएकी हुँ । चर्चित कलाकारहरू नै अनुबन्धित छन्, त्यसैले शतप्रतिशत भिसा ग्यारेन्टी भनेर पैसा उठाएका रहेछन् ।

मबाहेक अन्य कलाकारहरूले भने फिल्ममा साइन गरेका रहेछन् । उनीहरूको सक्कली नै प्रमाण पेस भएको रहेछ । तर फिल्म बनाउने प्रयोजनका साथ साइन गरिएकाले यसबारे को दोषी हो ? पत्ता लगाउने जिम्मा सरकारको नै हो । जसरी जस्तो सहयोग चाहिन्छ, म तयार छु ।

त्यो समयमा केही मिडियामा समाचार आएका थिए । पछि मैले सामाजिक सञ्जालबाट यसको स्पष्टीकरण दिएँ । त्यो समयमा समाचारमा आएका हेडलाइनहरूले मलाई निकै सास्ती दियो । अन्तर्राष्ट्रिय निकायमा कार्यक्रम गर्ने धेरै आयोजकहरूले मलाई तिनै हेडलाइनहरूले जज गरेर फिक्स भएको कार्यक्रमहरूमा पनि रद्द गरिदिनुभएको थियो । कुनै एक खराब हुँदैमा सबै मानिस त्यस्तै हुँदैन, मिडियाले कलाको आवरणमा भइरहेका मानव तस्करीबारे हेडलाइन बनाउँदा ध्यान दिऊन्, एकले गरेर पूरै क्षेत्रले सास्ती भोग्नु नपरोस् ।

(अधिकारीसँगको कुराकानीका आधारमा)

Ashok-Rai--1748864527.jpg
अशोकप्यासी राई । तस्बिर सौजन्य : कृष्पा श्रेष्ठ

कलाकार बनेर विदेश जाने र उतै भाग्ने प्रवृत्ति छ

-अशोक प्यासी राई, पूर्वमहाप्रबन्धक, सांस्कृतिक संस्थान

म महाप्रबन्धक हुनुभन्दा धेरै अगाडिदेखि यस्ता कार्यहरू भइरहेका थिए । कलाकार बनेर विदेश जाने र उतै भाग्ने प्रवृत्तिबारे म राम्रोसँग नै जानकार छु र थिएँ ।

मैले थाहा पाएलगत्तै यसलाई सफा बनाउन सांस्कृतिक संस्थानबाट कलाकारको परिचयपत्र लिएकाहरूका लागि हाम्रै वेबवसाइटमा नामसहित कार्ड नम्बर राख्न थालें । यो कलाकारको लिस्ट तपाईंले पनि वेबसाइट गएर हेर्न सक्नुहुन्छ ।

मेरो समयमा जापान जान भनेर गएका तर अध्यागमनबाट १७ जनाको टोली फिर्ता भएको भन्नेबारे आधिकारिक जानकारी पाएको छैन । तर यस्तो घटना भएन होला भनेर भन्न सक्ने स्थितिमा म छैन ।

हालका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निम्ता पठाएको भनेर उनकै हस्ताक्षरसहितको नक्कली पत्र लिएर अमेरिकी दूतावासमा भिसा माग्न जाने मानिसहरू भेटिने ठाउँमा मेरो कार्यकालमा मेरै हस्ताक्षर भएको पत्र बोकेर हिँडेनन् होला भन्ने ठोकुवा गर्न म सक्दिनँ । सिंगो सिंहदरबार झोलामा बोकेर बागबजारका गल्लीमा किर्ते गरेर यस्ता नक्कली कागजपत्र बनाउने गरेका छन् । 

(राईसँगको कुराकानीका आधारमा)

यो सामग्री पुन: प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो पुन:प्रकाशन नीति अनुसार प्रकाशन गर्नुहोस् । पुन:प्रकाशन निर्देशिका यहाँ छ ।

Comments