सिन्धुलीको दुधौली नगरपालिका– १० मा मदन भण्डारी राजमार्गसँगै जोडिएको छ, मंगलपुर गाउँ । जहाँ दुई दर्जन दनुवार परिवारको बसोबास छ । यो गाउँका जेष्ठ नागरिक वृक्षलाल अधिकारी दनुवार (७२) आफूहरूले २०१८ सालमा यो बस्ती बसाएको दाबी गर्छन् । उनी २०४९ सालमा तत्कालीन टाँडी गाविसको अध्यक्षसमेत भएका थिए ।
“हामीले त यहाँ २०१८ सालमा आएर बस्ती बसाएका हौँ नि,” उनले कुरा सुरु गरे, “ठूलोथुम्सीमा हाम्रो ठूलो बस्ती थियो, त्यही सालको बाढीले गाउँ नै बगाएपछि हाम्रो बस्ती उठ्यो र यहाँ आएर बसेका हौँ ।”
वृक्षलालका अनुसार मंगलपुरबाट एक घण्टा पैदल तल कमला नदी किनारमा रहेको ठूलोथुम्सीमा दनुवारहरूको ठूलो बस्तीसँगै उब्जनी खेत थियो । “त्यहाँ अहिले पनि राम्ररी तटबाँध लगाउने हो भने हजार बिघाभन्दा बढी जग्गा उकास हुन्छ,” उनले थपे, “तर दनुवारको कुरा कसले सुन्ने ? अलिअलि उकासेर खेती गर्छाैं, त्यो पनि बर्सेनि कहिले पुरिदिन्छ, कहिले बगाइदिन्छ ।”
दुधौलीमा मात्रै होइन, उदयपुरको कटारी नगरपालिका– ५ मा मदन भण्डारी राजमार्गसँगै जोडिएको अर्को दनुवार बस्ती गोहियाको व्यथा पनि उस्तै छ । दनुवारहरूले गोहिया भने पनि गैरदनुवारले यसलाई भुल्के भन्छन् ।
२०२९ सालको बाढीले झन्डै ३ किलोमिटर तल तावाखोला पारीको गोहिया बस्ती विस्थापित भएर यहाँ सरेको दनुवार समाज कटारीका अध्यक्षसमेत रहेका फूलदेव अधिकारी दनुवार (५०) बताउँछन् ।
“२०२९ सालको बाढीपछि बाजे, बुबाहरू यहाँ आउनुभएको हो,” उनले भने, “त्यसपछि केही जग्गा त उकास भयो, तर गैरदनुवारहरू आएर कब्जा गरे, हामीलाई दिएनन् ।”

गोहियाको जग्गा गैरदनुवारहरूले कब्जा गरेपछि ठूलो झगडा परेको फूलदेव स्मरण गर्छन् । “हाम्रो बाउ बाजेहरू जोत्न जाँदा हलो नै काटिदिएपछि झगडा भयो, दनुवारहरू स्थापित हुनै सकेनौँ,” उनले थपे, “त्यसपछि बाजे (शिव अधिकारी दनुवार) ले जिल्ला अदालत हुँदै पुनरावेदन अदालत राजविराज पुगेर २०४४ सालमा मुद्दा जित्नुभयो तर जग्गा आफ्नो नाममा पार्न सक्नुभएन ।”
जग्गा आफ्नो नाममा पार्नका लागि जिल्ला अदालतको फैसला ल्याएर वडामा कागजातहरू बुझाउने तयारी गरिरहेको उनी बताउँछन् ।
२०२९ सालको बाढीबाट विस्थापित भए पनि गोहियाभन्दा माथिल्लो क्षेत्रमा उनीहरूको खेतीयोग्य अरू पनि जमिन थियो । त्यो जमिन पनि २०४१ सालको बाढीले बगायो । “त्यहाँ बर्सेनि बर्खे धान मात्रै डेढ सय मुरी फल्थ्यो, नम्बरी र ऐलानी गरी ५ बिघा जमिनमा हिउँदे धान, अन्य बाली गरेर टन्नै खान पुग्थ्यो,” फूलदेवले थपे, “त्यो खेतको पनि हामी धेरैको हातमा लालपुर्जा छ, खेत बगरमा छ ।”

चुरेभन्दा उत्तर र महाभारत पर्वतको दक्षिणको भित्री मधेशमा पर्ने दुधौली र कटारीमा तीनवटा खोला कमला, तावा र ककुरुको वारिपारि बस्ती बसाएका कछारिया दनुवारहरू पटक पटकको बाढीको चपेटामा छन् । कमलासँगै चुरे र महाभारतबाट आउने खहरेले उनीहरूको जग्गा जमिन बगर बनाउने गरेको छ ।
यी खोला किनारमा घरखेत बनाएर बसेका दनुवार बाढी तथा कटानबाट विस्थापित हुँदै जमिनदारबाट बटियादार र सुकुम्बासी बनेका छन् । विसं. २०१८, २०२९, २०४०, २०४१, २०४५ साल र त्यसयता पनि पटक पटक आएका बाढीले आफूहरूको जमिन कटान गरेको वृक्षलाल स्मरण गर्छन् ।
रेशराज अधिकारीले विद्यावारिधि उपाधिका लागि २०७२ सालमा त्रिभुवन विश्वविद्यालयमा पेस गरेको शोधप्रबन्धमा पुर्ख्यौली रूपमा प्रशस्त जग्गाजमिन र खोलाकिनारको बसाइ रोज्ने दनुवारहरू भूमिहीन हुनेतर्फ उन्मूख रहेको उल्लेख छ । उनीहरूको जमिन घट्नुको एउटा कारणमा खोलाकिनारका जग्गा बाढीले बगाउनु र बगर बन्नुलाई मानिएको छ । यो शोधअध्ययन सिन्धुलीको तत्कालीन हतपते गाविसका दनुवारमा केन्द्रित थियो । हतपते अहिले दुधौली नगरपालिको १ र २ मा पर्छ ।
जग्गा जमिन कटानबाट सुकुम्वासी बने पनि आफूहरूको संरक्षणमा तीनै तहका सरकारले कार्यक्रम गर्न नसकेको आरोप दनुवारहरू लगाउँछन् । “अघिल्लो वडाध्यक्षका पालामा गुरुयोजना बनाउने काम भयो, तर बजेट कसैले हालेनन्,” फूलदेवले भने, “हामी जमिनदारबाट बटियादार भयौं ।”
दनुवार समुदायको हारगुहारपछि कटारी-५ का तत्कालीन वडाध्यक्ष शंकर राईको पहलमा तटबाँधका लागि गुरुयोजना बनाउने काम भए पनि बजेट बजेट कतैबाट नपाएको उनले स्पष्ट पारे । अदालतको फैसलाको छायाकपी र लालपुर्जा देखाउँदै फूलदेवले आफूहरूको खेत उकास्न कसैले तटबाँध नलगाएको गुनासो गरे ।
“हाम्रो खेत त २०४० सालपछिको बाढीले बगर बनाइदिहाल्यो नि,” कटारी ३ देवीधापका वृक्षलाल धामी दनुवार (५९) ले भने, “त्यतिबेला सरकारले उकास भयो र आम्दानी भयो भने मात्रै कर तिर्नू भन्ने निर्णय गरेको थियो, पछि उकास पनि भएन । त्यतिकै खोला भएर गयो ।” ४० घरपरिवार दनुवारको मात्रै बस्ती रहेको देवीधापका दनुवारहरूको २० विघा बढी खेत तावाखोलाले बगर बनाएको छ ।
विगतमा मात्रै होइन, अहिले पनि उस्तै छ विपद्
मंगलरपुरमा वृक्षलालको घरभन्दा २ सय मिटर तल छ, हीरावती धामी दनुवारको घर । ३ वर्र्षअघि कमला नदीले ससुरा रामदेव अधिकारी दनुवारलाई बगाएर बेपत्ता बनाएको थियो ।
“सासु र म ठूलोथुम्सीमा धान गोड्न गएका थियौँ, ससुरा हामीलाई बोलाउन आउनुभएको थियो,” उनले भनिन्, “हिँड्दै गर्नु, हामी आउँछौं भनेर फर्कायौँ, तर घर आइपुग्नुभएको रहेनछ, पछि थाहा भयो नदीले बगाएको रहेछ ।”

हिजोआज पनि ठूलोथुम्सीमा खेती गर्न जाँदा वर्षामा डर लाग्ने गरेको उनले सुनाइन् । “ठूलो बाढी आयो कि चिन्ता लाग्छ, बिहान हेर्न जाँदा बाढीले धान, मास सबै पुरिराखेको हुन्छ, कहिले त खेत नै काटिसकेको हुन्छ ।”
आफूहरूसँग पुर्ख्यौली खेतहरू नरहेको देवीधापकै शशी धामी दनुवार पनि बताउँछन् ।
देवीधापमा मात्रै होइन, कटारी नगरपालिका-४ को तल्लो कटारीको दनुवार बस्ती पनि ककुरु खोलाको बाढीका कारण वर्षौदेखि आजित छ । “बाढीले दनुवारहरूलाई खेतविहीन बनाएको छ,” दनुवार जागरण समाजका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका लीला अधिकारी दनुवारले भने, “कटारीका जमिनदार भनेकै दनुवार थिए, अहिले भन्दा भनेको जस्तो हुन्छ ।”
लीलाका छिमेकी सन्तोषकुमार दनुवार ज्यामी हुँदै मिस्त्री भएका छन् । २०४५ सालको बाढीले उनको परिवारको अढाई बिघा खेत ककुरु खोलाले बगाएको थियो । “खेत खोलाले लगेपछि बटिया गर्ने, ज्यामी गर्ने गरेर पेट पालेका छौँ,” सन्तोष भन्छन् ।
सन्तोषकै गाउँका सागर अधिकारी दनुवारको पनि स्थिति उस्तै छ । ककुर खोलाको बाढीले १९ कट्ठा जति खेत बगाएपछि ज्यामी काम गरेर जीविकोपार्जन गरिरहेको सागर बताउँछन् ।
“घडेरीबाहेक जग्गा सबै ककुरु खोलाको बगरमा छ, त्यत्रो पैसा तिनुपर्ने,” चैत १७, २०८१ मा कटारी नगरपालिकाको राजस्व शाखाका कर्मचारी हीरालाल अधिकारी दनुवारसँग कटारी-४ कै बबना दनुवार गुनासो गर्दै थिइन् ।
तिरो तिर्न आएकी बबनाको लालपुर्जाको विवरण कम्प्युटरमा हेरेपछि हीरालालले ६ कट्ठा जग्गाको ३ हजार बढी राजस्व रहेको बताएका थिए । तर बबना जमिन सबै खोलाले बगर बनाएकाले त्यत्रो राजस्व नतिर्ने अडानमा थिइन् ।
हीरालालले फेरि हिसाबकिताब गरेर छुट दिन मिल्ने जति घटाएर २ हजार राजस्व बुझे । “कसैले तटबाँध लगाइदिँदैनन्, कर मात्रै लिने ?” बबना बर्बराउँँदै तिरो तिरेर नगरपालिकाको गेटबाट बाहिरिइन् ।
औलोसँग लडेर बसेका दनुवार
“कमला र त्रिजुगा नदीको आसपासतिर बसोबास गर्ने एक अल्पसंख्यक जाति,” नेपाली बृहत् शब्दकोशमा उल्लेख छ । दनुवारलाई नेपाल सरकारले अति सीमान्तकृत आदिवासी जातिमा सूचीकृत गरेको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपालमा दनुवारहरूको जनसंख्याको ८२ हजार ७ सय ८४ छ । यो भनेको कुल जनसंख्याको ०.२८ प्रतिशत हो ।
सन् १९५४ मा यूएसएडको सहयोगमा नेपालमा औलो नियन्त्रण परियोजना सुरु हुनुअघि तराई र भित्री मधेसमा पर्ने खोँच क्षेत्रमा औलोका कारण ज्यान जाने खतरा थियो । त्यसैले तराई मधेश क्षेत्रमा आदिवासी समुदायबाहेक पहाडी समुदाय र अन्य समुदायले बस्न रुचाउँदैन थिए ।
तर दनुवारहरू भने औलोसँग लडेर नै नदी किनारमा बसेका थिए । “पहाडेहरू साँझ परेपछि डाँडा चढिहाल्थे हामी मात्रै यहाँ बस्थ्यौं,” दनुवार जागरण समाजका पूर्वकेन्द्रीय सदस्य वैजनाथ अधिकारी दनुवारले भने, “अरू त थाहा भएन हामी घुँघी खान्छौं त्यसैका कारण पनि घुँघी र माछाले दनुवारहरूलाई औलो जित्ने बल दिएको बुढापाकाहरू भन्थे ।”
वैजनाथले घुँघी र माछा खाएकाले औलो जित्ने गरेको कथनको वैज्ञानिक रूपमा पुष्टि हुन कुनै अध्ययन र अनुसन्धान भएको भेटिएको छैन । तर खानपान र परम्परागत रूपमा प्रयोग गर्दै आएका जडीबुटीका कारण मानिसको रोग प्रतिरोधात्मक क्षमता बढ्ने हुँदा दनुवारहरूमा पनि यस्तो क्षमता हुन सक्ने बताउँछन्, सिन्धुलीको दुधौली नगर अस्पतालका एमबीबीएस डाक्टर मन्दिप अधिकारी दनुवार ।
“दनुवारले खाने घुँघी, गँगटा, माछामा प्रोटिन पाइने हुँदा शरीरलाई फाइदा पुग्छ, रोग नलाग्ने भन्ने त हुँदैन, माटोमुनि हिलोमा पाइने घुँघी खाँदा शरीरको रोग प्रतिरोधात्मक क्षमताचाहिँ बढाउँछ,” मंगलपुरका स्थानीय बासिन्दा डा. मन्दिपले भने । दनुवार बुढापाकाहरूका अनुसार उनीहरूले घुँघी, सिठुवा, माछा, गँगटा र सिकार गरेर अन्य वन्यजन्तुको मासु खाने गरेका थिए ।
“पहाडेहरू दिनभरि कटारी बजारमा किनमेल गरेर साँझ शिखरपुरको डाँडा चढेर टौवामा बस्थे,” समाजका पूर्वकेन्द्रीय सदस्य लीला अधिकारी दनुवारले थपे, “नत्र त औलोले पेट सुन्निएर चार दिनभन्दा बढी बाँच्दैनथे, दनुवारहरूलाई भने यसको असर पर्दैनथ्यो ।”
त्यति बेला दनुवारहरू जमिनदार र सम्पन्न पनि थिए । तत्कालीन कटारी गाउँपञ्चायतका पहिलो प्रधानपञ्च नै सुन्दरलाल कुमार दनुवार भए । पञ्चायती व्यवस्थाको राजनीतिक अभियान ‘गाउँ फर्क अभियान’ पछि सुन्दरलाल प्रधानपञ्च मनोनीत भए । दनुवार बाहुल्य बस्ती भएकाले त्यसपछिका चुनावमा पनि दनुवार नै प्रधानपञ्च निर्वाचित भए । “२०३२ सालमा हजुरबुबा अवधलाल धामी प्रधानपञ्चमा निर्वाचित हुनुभयो, त्यसबेला खेतको उत्पादनले मज्जाले खान पुग्थ्यो,” कटारी-३ का वृक्षलाल धामी सम्झिन्छन्, “पछि खेत बग्यो, उकास्न सकिएन दनुवारहरूलाई अहिले खेतीपातीले वर्षभरि खान पनि समस्या छ ।”
बाढीको जोखिम रहेका बस्ती
सिन्धुलीको दुधौली नगरपालिका-३ को झुंगा, कालापानी, २ को बंका, एकहटिया, नाँगे, ६ को हर्षाही, जगाडी, ११ को पत्रिङ्गा, टाँडी, मैनी, धनसरी, मरघट्ट, ४ को डकाहा, कर्माहा, खनियाँ, ५ को सिर्थौली, १० को मंगलपुर, कर्ताघाट, ९ को खिरियानी, नर्कटे, जितपुर, लालपुर ८ को बटाहालगायतका ठाउँको जमिन बर्सेनि कमला र तावा नदीले कटान गर्ने गरेको छ ।
त्यसैगरी, उदयपुरको कटारी नगरपालिकाको वडा नम्बर ३ को ताराघारी, देवीधाप, हडैया, बलिया-२ को गिद्धावर, सिमानपुर, कल्याणपुर, ५ को भुल्के, खैरेनी, तीनतले, ७ को रिस्कु, बिहीबारेको दनुवार वस्तीमा तावा, ककरु र वैद्यनाथ खोलाले दुःख दिने गरेको छ । वडा नम्बर ४ को तल्लो कटारी, तित्रिबोट, जहडीका दनुवारहरूलाई ककुरु खोलाको पीर छ ।
दुधौली नगरपालिका-११ टाँडीका हरिलाल अधिकारी दनुवार भन्छन्, “बर्सेनि खेत काट्छ, कहिले उकास्छ केही भर छैन, कहिले त पानीमै डुबेर धान निकाल्नुपर्छ ।”
खेत कटान हुने, धान बगेर जाने र दुःख पाउने दनुवारहरूको नियति नै बनिसकेको दनुवार जागरण समाजका केन्द्रीय सदस्य योगेन्द्र दनुवार बताउँछन् ।
सोच्दैनन् सरोकारवाला
आदिवासी जनजातिहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणा पत्रको धारा २९ को उपधारा १ अनुसार आदिवासी जातिसँग उनीहरूको वातावरण तथा भूमि वा क्षेत्र र संसाधनका उत्पादन क्षमताको संरक्षण तथा सुरक्षा गर्ने अधिकार छ । यस्ता संरक्षण तथा सुरक्षाका लागि राष्ट्रले बिनाकुनै भेदभाव आदिवासी जातिका लागि सहयोग कार्यक्रमहरू तयार गरी कार्यान्वयन गर्नुपर्छ ।
आदिवासी जनजातिहरूको अधिकार र दिगो विकास कार्यायोजना २०७९ ले आदिवासी जनजातिको पहिचान, विकास तथा सवलीकरणका लागि उनीहरूले भोगचलन गरेको परम्परागत भूमिमाथिको स्वामित्व प्रत्याभूत गर्नेलगायतका थुप्रै अधिकार सुनिश्चित गरेको छ । तर ती अधिकार कागजमै सीमित छन् । “राज्यले थुप्रै अधिकारहरू कागजमा लेखे पनि कार्यान्वयनमा आएको छैन,” दनुवार समुदायको अध्ययन गरिरहेका उदयपुरका पुराना पत्रकार यमन डोने ‘औलो विजय’ भन्छन्, “सबै अधिकारहरू पाउने भए दनुवारहरूको अवस्था यस्तो हुँदैनथ्यो नि ।”
आफूहरूले आफ्नो पीरमर्कासमेत सुनाउन नपाएको गुनासो दनुवारहरूको छ । “हामीलाई कहिल्यै पनि कुनै छलफलमा समेत बोलाइँदैन, दनुवारको कुरा सुनाउने ठाउँसमेत छैन,” दनुवार जागरण समाज सिन्धुलीका अध्यक्ष श्रवण अधिकारी दनुवार भन्छन्, “अहिलेसम्म तीनै तहको सरकारले यस विषयमा कहिले पनि सोधेको छैन ।”
दुधौलीकै डकाहास्थित सरस्वती क्याम्पसको व्यवस्थापन समिति अध्यक्षसमेत रहेका पूर्वसांसद विषमलाल अधिकारी दनुवारले दनुवारहरूको बस्ती र जग्गा संरक्षणकै लागि भने कुनै सरकारले काम गर्न नसकेको बताए । “दनुवारकै लागि भनेर त अहिलेसम्म कुनै पनि कार्यक्रमहरू आएका छैनन्, कमला करिडोर भनेर कामचाहिँ सुरु भएको छ,” उनले भने, “दनुवारहरूका लागि मात्रै कुनै पनि सरकारले सोचेको छैन ।”
२०७८ को जनगणनाअनुसार दुधौली नगरपालिकामा २४.६ प्रतिशत अर्थात् १५ हजार ५ सय ७० जना दनुवार छन् । तर दुधौली नगरपालिकाको वार्षिक नीति, कार्यक्रम तथा बजेटमा उनीहरूकोे खेत संरक्षण गर्ने, उनीहरूको विकासका लागि कुनै पनि योजनाहरू तय भएको देखिँदैन । “हामीले दनुवारहरूकै लागि भनेर योजना त बनाउने गरेका छैनौं, सबैको लागि बनाएको योजनाले पनि त दनुवारलाई काम गर्छ,” दुधौली नगरपालिकाका उपमेयर चन्द्रकिशोर थारू दनुवारले भने, “दनुवार समुदायकै लागि भनेर कार्यक्रम बनाउने प्रयास भएको छैन ।”
१०.६ प्रतिशत अर्थात ५ हजार ५ सय २५ जना दनुवार रहेको कटारी नगरपालिकाको स्थिति पनि उस्तै छ ।
“दनुवारहरूकै लागि भनेर त हामीले योजना ल्याएका छैनौं, तर दनुवार समुदायले लाभ पाउने गरी त तटबाँधलगायतका काममा बजेट छुट्याउने गरेका छौं नि,” कटारीका मेयर राजेशचन्द्र श्रेष्ठले भने, “दनुवार समुदाय भनेको यहाँको आदिवासी समुदाय हो उहाँहरूले ल्याउनुभएका मागहरूमा त हामीले हुन्न भन्ने कुरा नै भएन नि ।” उनले कटारी-४ मा दनुवारहरूका लागि घर निर्माण गरिदिएको जानकारी दिए ।
तर दनुवार समुदायले भने आफूहरूको पहुँच नहुँदा कुनै पनि योजना दनुवारमुखी बन्न नसकेको गुनासो गर्ने गरेका छन् । “हाम्रो वडामा मात्रै ३ सय बढी दनुवार छौँ, अधिकांश बाढीपीडित छौँ, नगरमा जति भने पनि सुन्ने हैन,” दनुवार जागरण समाजका केन्द्रीय सदस्यसमेत रहेका कटारी-५ का योगेन्द्र दनुवारले भने, “दनुवार समुदायका लागि योजना बन्नु, छलफल हुनुलाई यहाँ महत्त्वमा राखिँदैन ।”
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले भने सरकारले गरिब, अति सीमान्तकृत, दलित समुदायका लागि नीति बनाएको बताए । “विपद् प्रभावित निजी आवास प्रबलीकरण पुनर्निर्माण कार्यक्रममा उनीहरूलाई प्राथमिकतामा राखिएको छ,” प्रवक्ता केसीले भने, “विपद् प्रभावित भएको प्रमाणित भएपछि अन्यलाई दिइने सुविधाभन्दा थप ३ लाख सीमान्तकृत समुदायलाई दिने नीति छ ।”
प्रवक्ता केसीका अनुसार अति सीमान्तकृत समुदायको आफ्नो नामको जग्गा भएको र बाढीले बगाएको प्रमाणित भए प्राधिकरणले घडेरी नभएको अवस्थामा घडेरी किन्न ३ लाख रकम दिन सक्छ । अन्य समुदायलाई भन्दा अति सीमान्तकृत समुदायलाई बाढीपहिरोबाट प्रभावित हुँदा थप राहत दिइने पनि प्रवक्ता केसीले बताए ।
समुदायमा आधारित प्रकोप जोखिम व्यवस्थापन कार्यक्रम सञ्चालन गर्दै आएको दान चर्च एड इन नेपाल (डीसीए नेपाल) का विपद्विज्ञ दिनेश गुरुङले विगतमा भएका विपद्को पाठ सिक्दै आगामी दिनमा हुने विपद्को क्षति न्यूनीकरणमा जुट्नुपर्ने बताए । “त्यसरी लामो समय बाढीबाट प्रभावित भएका समुदायलाई आगामी जोखिमबाट बचाउन विशेषगरी स्थानीय सरकार लागिपर्नुपर्छ,” उनले भने, “विपद्पछि राहत होइन, विपद्बाट जोगाउन पर्याप्त लगानी गर्नुपर्यो नि ।”
गुरुङका अनुसार विपद्बारे पूर्वसूचनाको जानकारी दिने, उनीहरूलाई विपद्बाट बचाउन सुरक्षित स्थानमा राख्ने, क्षमताको विकास गर्ने सामुदायिक तहमा पूर्वतयारीलगायता कार्यक्रम गरी जनधनको सुरक्षा गर्नुपर्ने हुन्छ ।
फेरि स्थापित हुने आशा
नदी किनारमा बस्ने दनुवार समुदायलाई खोला तथा नदीले कटान गरेको क्षेत्रलाई बलियो तटबाँध गरी आफ्नो स्वामित्वको जग्गा उकास्न पाए पूर्ववत् स्थितिमा फर्कने आशा छ ।
“बलियो तटबाँध लगाउने हो भने अहिले पनि ठूलोथुम्सीमा हजार बिघाभन्दा बढी खेतीयोग्य जमिन उकास्न सकिन्छ,” दुधौली मंगलपुरका वृक्षलाल अधिकारी दनुवारले भने, “२५ वर्षदेखि सबै सरकारलाई भन्यौँ, तर दनुवारको कुरा कसले सुन्ने ?” उनका अनुसार २०५० सालदेखि माग राख्दा पनि सुनुवाइ भएको छैन ।
“चुनावका बेला तपाईंहरू चुनाव लड्ने मान्छे यसमा पहल गरिदिनुस् न भन्दा गर्दै छु गर्दै छु भन्छन्, कहिले गर्ने बगिसक्यो,” वृक्षलालले थपे ।

उदयपुरमा पनि वैद्यनाथ, तावा, ककुरु नदीको कटान दिगो रूपमा रोक्न सके दनुवार समुदायको जग्गा उकास्न सकिने देखिन्छ । “उकास्ने हो भने त थुप्रै जग्गा छ नि तर कसले उकास्ने ?” कटारी-३ का दनुवार जागरण समाजका पूर्वकेन्द्रीय सदस्य वैजनाथ अधिकारी दनुवार भन्छन्, “उकास्नुको साटो बर्सेनि कटान हुन्छ, हेर्दै बस्दै गर्नुपर्छ ।”
जमिन नदी कटानले मासिएसँगै दनुवार युवाहरूले वैदेशिक रोजगार, बनिबुतो, चालक, सहचालक गरेर गुजारा गरिरहेका छन् ।
जमिनदारको नातिनातिनाहरू अहिले ज्यामी, मिस्त्री, ड्राइभर भएर पेट पालेका छन्,” कटारी-३ का दनुवार जागरण समाजका पूर्वकेन्द्रीय सदस्य वैजनाथले थपे, “यस विषयमा गम्भीर भएर सोच्ने बेला भएको छ ।”
कभर तस्बिर : कटारी ५ मा रहेको तावा खोलाको नदी कटान क्षेत्र, जहाँ दनुवारहरूको सयौं विघा जमिन बगर बनेको छ । तस्बिर : ऋषिबहादुर राई
यो सामग्री पुन: प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो पुन:प्रकाशन नीति अनुसार प्रकाशन गर्नुहोस् । पुन:प्रकाशन निर्देशिका यहाँ छ ।